तस्बिर : विजय राई / नागरिक |
तीर्थ श्रेष्ठका पिताले पोखरा टुँडिखेल जाने बाटोमा घर बनाउँदै थिए। छेवैमा एउटी विधवा लाहुरेनीको घर थियो। सानो भुइँतले घरको आँगनमा फक्रिरहेको लाहुरे फूल। कवि तीर्थ झस्के, 'के विधवा लाहुरेनीको आँगनमा लाहुरे फूल लर्किनु संयोग थियो? वा उनकै भाग्यमाथि व्यंग्य? वा बितेका पति सम्झने रहरको फल?'
तीर्थलाई जवाफ सोध्ने हिम्मत आएन। केही महिनापछि उनको प्रश्न कविता भयो, 'लाहुरेफूल, म तिम्रो नाम फेर्न चाहन्छु।' यो ०४३ सालतिरको कुरा हो।
'गरिमा' मासिक पत्रिकामा सो कविता छापिएपछि तीर्थ देशभर हिट भए। साथीभाइले 'लाहुरे कवि' भनी कहिले माया गरे, कहिले खिज्याए। तिनै लाहुरे कविले शनिबार ४० मुक्तक सुनाएर बर्खे झरीमा रुझिरहेको राजधानी गर्माए।तीर्थलाई जवाफ सोध्ने हिम्मत आएन। केही महिनापछि उनको प्रश्न कविता भयो, 'लाहुरेफूल, म तिम्रो नाम फेर्न चाहन्छु।' यो ०४३ सालतिरको कुरा हो।
तीर्थलाई मुक्तकको मञ्चमा कुनै साहित्यिक प्रतिष्ठानले होइन, प्रभु फाइनान्स कम्पनी एन्ड प्रभु मनी ट्रान्सफरले उभ्याएको थियो। प्रेम, रोमान्स र विरहका मुक्तकले माहोल जुरुक्कै बनाए तीर्थले। चार पंक्ति मुक्तकका अभिव्यक्तिले तन्नेरीहरु तरंगित भइरहे। यत्तिमै उनी रोकिएनन्। समाज र देशका विकृति, विसंगतिप्रति कटाक्ष हानिरहे। दर्शकदीर्घामा बसेका नेतादेखि बुद्धिजीवीसम्मलाई चार लाइन आक्रमणले दुई घन्टासम्म घाइते बनाइराखे।
संगीत नाट्य कला प्रतिष्ठानका सदस्यसचिव रहेका तीर्थ ब्रेन ह्यामरेज भएपछि राजीनामा दिएर घरै बसे। पहिले प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उनले व्यापार पनि गरिहेरे। किलाकाँटीको उद्योग पनि खोले। पछि थाहा लागेछ– यी दुवै कर्म उनको होइन। 'व्यापार र राजनीति दुवैमा दिलचस्पी भएन,' नागरिकसँग आइतबार अलि लामै गफिए, 'त्यसपछि त फुलटाइम कवि।'
मोफसलका कवि तीर्थ पोखरा बसीबसी सेलिब्रेटी छन्। धेरैले उनका कविता कण्ठस्थ पारेका छन्। अंग्रेजीमा अनुवाद गरेर बिएड दोस्रो वर्षमा पढाइ हुन्छ उनको लाहुरे फूल कविता। मुक्तककार भएर काठमाडौं छिरेका तीर्थको असली परिचय भने कवितामै छ। 'सिंहदरबार' कविता खगेन्द्र नेपालीले बिबिसीबाट वाचन गरेको उनी सम्झन्छन्। 'बाघ, तानसेन' लगायत कविताबाट हिट तीर्थका कविता 'आमा'लाई नेपथ्यका अमृत गुरुङले आवाज भरेका छन्। 'हिउँमा लेखिएका नामहरु' कवितालाई अर्का गायक आभासले स्वर दिएका छन्।
सेलिब्रिटी कविको भाउ कति छ त! गोजी टकटक्याउँदा कविता शीर्षकमा दाम झरेको तीर्थलाई खासै थाहा छैन। धरहरामुनि टुसुक्क बसेका 'लाहुरे कवि' निवृत्त हुन लागिसके। कविताको पेन्सन आएको होइन। आँखा चिम्रा पारेर एक पंक्ति बोले, 'रोयल्टी पाएको खासै याद भएन भाइ।'
नागरिकमा २०६९ भदौ १८ गते प्रकाशित
लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु
-तीर्थ श्रेष्ठ
बासनारहित तर प्लाष्टिक होइनौ
तिमी लाहुरे फूल !
म यतिखेर युद्धमा क्षत–विक्षत मेरा पति संझिरहेकी छु
काँचो धागोले बेरिएको चिठ्ठी
लास गन्हाउने पेन्सन
त्यही पेन्सनको आडमा बाँचेको जिन्दगी
जेनतेन सोचिरहेकी छु
मेरो पतिको जिन्दगी भरिको कमाइ
म विधवाको टाउको लुकाउने थलो
र त्यसकै ढोकाअघि निर्लज्ज फक्रिरहेको
तिमी लाहुरे फूल !
भो भैगो कति नुनचुक छर्छौ – यो घाउमा
धेरै भयो जिन्दगी नै घाउ भएको
धेरै भयो जिन्दगी नै पीडा भएको
एकछिन सुस्ताउन देऊ लाहुरे फूल !
म घाउको पत्र पल्टाएर
सन्धिको इतिहास फेर्न चाहन्छु
म घाउ थमथम्याएर
रगतको ब्यापार बन्द गर्न चाहन्छु
म इतिहासको यो कालो पानालाई च्यातेर फाल्न चाहन्छु
पर्ख ! लाहुरे फूल,
म तिम्रो नाम फेर्न चाहान्छु ।
तस्बिर : विजय राई/ नागरिक |
No comments:
Post a Comment