Sunday, March 31, 2013

गुडबाई अचेबे : अफ्रिकाको लोकबोली

Chinua Achebe
सन् १९९९। अमेरिकाको बोस्टनमा अर्नेष्ट हेमिङ्वेको जन्मशताब्दी उत्सव चल्दै थियो। 'लेखनमा अफ्रिका' विषयक सत्रमा एक प्रौढ बोले, 'हेमिङ्वेले अफ्रिकाको परिवेश उतारेका कृति पढ्दा मैले मेरो अफ्रिका भेटिनँ, किनकि हेमिङ्वेका अफ्रिकीहरू मैलेझैं बोल्दैनथे, व्यवहार गर्दैनथे।'
विख्यात अमेरिकी आख्यानकारमाथि अफ्रिकाबाट आएको कालो वर्णको बूढोले गरेको कटाक्ष हेमिङ्वे–उपासकहरूलाई कसरी पचोस्! हलमा खासखुस सुरु भयो, खिसिट्युरीमा पुगेर टुंगियो। छलफलका लागि फ्लोर ओपन भएपछि एक महिलाले सोधिन्, 'अफ्रिकामा त्यस्तो के नै छ र, गतिलो साहित्य लेख्नलाई?'
छिटफुट संख्यामा आएका अफ्रिकीहरू प्रश्नकर्ताविरुद्ध हुटिङ बर्साउन थाले। शालीन विद्रोही छवि बनाएका बाबैले चर्को प्रतिवाद गर्ने कुरै थिएन। थपक्क माइक्रोफोननेर गए। प्रत्येक शब्दका अघिल्ला अक्षरमा दबाब दिँदै फगत यत्ति बोले, 'रिड, वर्, बुक्स।' (प्रश्न गर्नुपहिले हाम्रा किताब पढ्नूस्।'
'त्यही त, म तपाईंलाई प्रश्न सोधिरहेकी छु।'
'त्यही त, म तपार्ईंकै प्रश्नको जवाफ फर्काइरहेको छु। पहिले हाम्रा किताब पढ्नुस्, अनि टिप्पणी गर्नूस्।'
हेमिङ्वे, जोसेफ कोन्राडलगायत महामनिषीका किताबमा वर्णित अफ्रिका भनेको असभ्य, पशुतुल्य मानिसहरूको जंगला मुलुक हो। कुनै मानवीय मूल्य नभएकाहरू भनी चित्रित अफ्रिकीबारे पहिलोपल्ट कसैले यति बुलन्द प्रतिवाद गरिरहेको थियो।
उनी चिनुआ अचेबे थिए, जो अघिल्लो बिहीबार बिते।
अचेबे, जसको उपन्यास 'थिङ्स फल अपार्ट' एक करोड प्रतिभन्दा बढी बिक्री भयो। विश्वका ४५ भाषामा अनुवाद भयो। अचेबे, जो अंग्रेजी भाषामा अफ्रिकी लोकबोली उतार्थे। नोबेल पुरस्कारको सर्टलिस्टमा कयौंपल्ट चुनिए पनि 'हार्ट अफ् डार्कनेस' का उपन्यासकार जोसेफ कोन्राडविरुद्ध तिख्खर आलोचना गरेकै कारण अस्वीकृत भए। नोबेलको दुर्भाग्य! अचेबे सबै महादेशका पाठकबाट धुमधाम पुरस्कृत भए।

Thursday, March 28, 2013

'वाचपोस्टबाट खसिरहेको हात्ती'

झापा– भारतबाट प्रवेश गर्ने जंगली हात्तीबाट वर्षेनि प्रभावित झापाको सीमावर्ती गाविस बाहुनडाँगीका बासिन्दा चैनले बस्न, निदाउन पाउँदैनन्। स्कुले बालबालिका ध्यानले पढ्न पाउँदैनन्। कुन बेला हात्ती आएर ज्यान लिने हो, उनीहरूलाई डर भइरहन्छ।

हात्ती आतंकले ग्रस्त बाहुनडाँगीमा आइतबार राति नौ बजेसम्म काठमाडौंबाट आएका लेखक पत्रकारहरू जम्मा भएर गाउँलेका पीडामा मलम लगाए। सान्त्वना दिए, दुःखी भए। स्थानीयहरूले पीडा सुनाएर हलुंगो महसुुस गरे। त्यसपछि सुरु भयो रमाइलो।
त्यहाँ थिए– खगेन्द्र संग्रौला, नारायण ढकाल, राजव, नयनराज पाण्डे, बुद्धिसागर, युग पाठक, मनु मन्जिल, भूपिन, ब्रजेशलगायत लेखक। त्यसैगरी थिए– नारायण वाग्ले, केदार शर्मालगायत मूलधारका पत्रकार।

जनाब, इलेक्सन कब होगा?

एक पाकिस्तानी कथाको सार यस्तो छ :  खस्रो दाह्री भएको एक शासक हजामकहाँ जान्छ। हजामलाई उसका कडा दाह्री काट्न सधैं हम्मे पर्छ। एकदिन दाह्री काट्दा काट्दै हजामले सोध्छ, 'जनाब, इलेक्सन कब होगा?' (महाशय, चुनाव कहिले हुन्छ?' चुनाव शब्द सुन्नेबित्तिकै शासकको गालाका रौं ठाडा हुन्छन्। हजामलाई दाह्री काट्न सजिलो हुन्छ।
यो देशको शासन हाँकिरहेका शासकहरूको दाह्री कस्तो प्रकारको छ, पंक्तिकार अनभिज्ञ छ। तर जे गर्न कुर्सीमा गएका हुन्, त्यही गर्न अनिच्छापूर्ण अन्योल जारी राखेपछि उनीहरूलाई एकपल्ट माथिको कथाको हजामलेझैं सोध्नुपर्ने भएको छ, 'जनाब, इलेक्सन कब होगा?'
राष्ट्रपति रामवरण यादवका सुपुत्र तथा कांग्रेस नेता चन्द्रमोहन यादव र धनुषास्थित उनकै क्षेत्रबाट उठ्ने तयारी गरिरहेका त्यसै क्षेत्रका पूर्वसभासद् तथा एमाले नेता रघुवीर महासेठले आफ्नो विजयको सुनिश्चितताका लागि ढालेका खसीबारे सुनेपछि जोकोहीले भन्न सक्छ, अब यो देशमा छिट्टै चुनाव हुन्छ।

रेफ्री मैदानमा, दलहरू बाहिर?

यो देशमा जम्मा दुई खालका नागरिक छन्– एक प्रचण्डले प्रधानमन्त्री बनाइसकेका। अर्को, प्रचण्डले प्रधानमन्त्री बनाउन बाँकी।
प्रचण्ड डिजाइनअनुरुपको प्रधानमन्त्री–दौडमा केही शीर्षस्थ नेता छँदैथिए। स्वच्छ छविको व्यक्ति खोजिएको हास्यास्पद विगतको हुबहु सिको गर्दै 'स्वतन्त्र व्यक्ति' लाई प्रधानमन्त्री बनाउने प्रचण्ड प्रस्तावले यो देशका प्रत्येक नागरिकलाई आफूभित्र स्वतन्त्र व्यक्तित्व का अंशहरू कति प्रतिशत छन् भनी घोत्लिन विवश तुल्यायो। यद्यपि फाइनल दौडमा भने रेफ्रीलाई सामेल हुन 'बाध्य' बनाइएको छ। रेफ्री, अर्थात्, प्रधानन्यायाधीश खिलराज रेग्मी (आइन्दा उनलाई यस्तो सम्बोधन नगर्नु भनी सर्वोच्च अदालतले फर्मान जारी गरेको छ। त्यसैले यो अन्तिम सम्बोधन) यो दौडको अन्तिम रेखाको रिबन नाघ्ने पहिलो व्यक्ति हुन पुगेका छन्।

Saturday, March 9, 2013

केही खस्रा कुराहरु.. (कुरा खस्रा मिठा- 2)


जय नेपाल बन्द

नेकपा–माओवादीसहित पाँच दल मिलेर बुधबार नेपाल बन्द गरे। भोलिपल्टै मधेसी जनअधिकार फोरम नेपाललगायत पाँच दलले 'हामी पनि छौं है' भन्ने हिसाबकिताबले अलिअलि नेपाल बन्द गरे।
जुनसुकै दल, धर्म, वर्ण, रंग र लिंगका भए पनि बन्दकर्ताले सर्वसाधारणको भेट्ने भनेको गाली नै हो। एक मित्र बन्दकर्तालाई उडाउँदै थिए, 'म नेपालमै छु भन्ने बल्ल महसुस भयो।'

बन्दकर्तालाई गाली गर्नेहरूले पनि पुनर्विचार गर्ने बेला भने आएकै छ। बन्दले ९५ प्रतिशत सास्ती दिए पनि पाँच प्रतिशत फाइदा गर्छ। सकारात्मक सोच्न सिकाउनेहरू कहाँ गए भन्या!
बन्द शहरको खुला सडकमा हात हल्लाउँदै हिँड्नुको मजै अर्को। फुटबल र क्रिकेट खेलिरहेका बच्चाको प्रहारबाट टाउको जोगाउन सकियो भने अरुबाट 'प्रोब्लम' छैन। हिँड्दा यताउति नियाल्नुभयो भने वर्षौं नभेटेका साथीहरू उसैगरि हावामा हात हल्लाइरहेका भेटिन्छन्। दुःखसुखका कुरा गर्ने मेलो बन्दले दिएन त? उसमाथि बन्दको दिन अफिसतिर हिँडाएर वैद्यले निःशुल्क आयुर्वेदिक उपचार पनि गरिदिए, शारीरिक व्यायाममार्फत्। उनलाई पनि साधुवाद। अशक्त, रोगीहरू हिँडेरै अस्पताल पुगे। उनीहरूले दुःख पाए त के भयो! त्यति पनि नभएको बन्द के बन्द?
बरु दोस्रो दिनका बन्दकर्ताप्रति पंक्तिकारको असन्तुष्टि छ। सडकमा यतिविधि गाडी कुदिरहेथे, बाटो काट्नै मुस्किल। यो त बन्दकै बेइज्जती भयो। त्यसमाथि हुँदै नभएका प्रधानमन्त्री खिलराज रेग्मीको अहिल्यै राजीनामा माग्न बन्द गर्नु पनि के गर्नु, कसो उपेन्द्र यादवज्यू? मानिसहरू त भन्दैछन्, वैद्यले रोगको जरो कहाँ छ, डाइग्नोसिस गर्नै सकेनन्। कसो वैद्य बा?

भाकपा (फ्युजनवादी)?

तस्बिर आफैं बोल्छ। दुई साताअघि कोलकाता जाँदा शरत बोस रोडमा पंक्तिकारले गज्जबको दृश्य देख्यो। तस्बिरमा के छ – भत्किन लागेको छाप्रो छ। सँगै 'ओम' लेखिएको मन्दिर जोडिएको छ। फोहोर सडकको छेउमा निम्न वर्गका महिला लुगा धोइरहेछन्। छाप्रो र मन्दिर दुवैलाई जोडेको छ भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को साइनबोर्डले।
Photo: Basanta
धर्म भनेको त अफिम हो भन्थे 'सर्वहाराका गुरु' कार्ल मार्क्सले। मार्क्सको नाममा खोलिएको पार्टीको बोर्ड र हिन्दु धर्मको मन्दिरको यो 'फ्युजनवाले' तस्बिरले चाहिँ के भन्न खोजेको होला! खुट्याउन नसकेर पंक्तिकार अलमल्ल पर्‍यो। अनि अर्थ लगाउने जिम्मा विद्वान पाठकलाई सुम्पिनु उचित ठान्यो।

Saturday, March 2, 2013

कोलकातामा सानो नेपाल

Ma pani. hehehe

कोलकातामा नेपालीका नाममा खुलेका सानाठूला गरी ५२ वटा राजनीतिक/गैरराजनीतिक संगठन छन्। तीमध्ये २६ वटाको चहलपहल बढी छ। त्यहीबीचमा ५३ औं संस्था खुलेको छ, जसका सदस्य कुनै पनि दलका भ्रातृ संस्थासँग आबद्ध छैनन्।
'भोलिका लागि आजका हातहरू' त्यस संस्थाको नाम हो, जसका सदस्यले फेसबुकको माध्यमबाट एकअर्कालाई भेटे। अब्राहम लिंकनको लोकतन्त्रसम्बन्धी परिभाषाको नक्कल गर्दै उनीहरूले नारा सिर्जेका छन्, 'नेपालीले, नेपालीको, नेपालीलाई।'

ठेला तानिरहेको कोलकाता

मिथिला एक्सप्रेस हावडा रेल स्टेसनमा रोकियो। बि-१ लेखिएको डिब्बाबाट बाहिरिनेबित्तिकै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दायाँ हात हल्लाएर हामीलाई स्वागत गरिन्। लगत्तै नियोन लाइट जडेको होर्डिङ बोर्डभित्र सुत्त पसिहालिन्।
फागुन पहिलो साता। बिहान साढे पाँच बजे। हामी भारतको पुरानो राजधानी कलकत्ता (कोलकाता) आइपुगेका छौं। भारत-नेपाल जनमैत्री साँस्कृतिक मञ्च कोलकाताले 'नेपाली लिटरेरी सिम्पोजियम' मा भाग लिन हामीलाई डाकेको छ।

मसीको शहरमा (जयपुर लिटरेचर फेस्टिभल)

नयाँ दिल्लीबाट पाँच घण्टा बस यात्रापछि पुगिने जयपुर गुलाबी शहर (पिंक सिटी) नामले चर्चित छ। राजस्थान प्रान्तको राजधानी जयपुरका दरबार, किल्ला र घरहरू प्रचलित गुलाबी रंगले पोतिएका छन्। डिग्गी प्यालेस तीमध्ये एक हो जहाँ सात वर्षयता वर्षेनी साहित्यको कुम्भ आयोजना हुन्छ। यही पिंक सिटी वर्षारम्भ अर्थात् जनवरी छेक मसीको शहर (इंक सिटी) मा अनुदित हुन्छ।
छेउछाउका देशहरू हिउँदको चिसोले कठ्यांग्रिइरहेका बेला जयपुर अघिल्लो बिहीबार (जनवरी २४) देखि पाँच दिन लगातार गर्मियो- विवादास्पद अभिव्यक्ति, उत्तेजक वादविवाद र छेडखानीले।