Saturday, March 2, 2013

ठेला तानिरहेको कोलकाता

मिथिला एक्सप्रेस हावडा रेल स्टेसनमा रोकियो। बि-१ लेखिएको डिब्बाबाट बाहिरिनेबित्तिकै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दायाँ हात हल्लाएर हामीलाई स्वागत गरिन्। लगत्तै नियोन लाइट जडेको होर्डिङ बोर्डभित्र सुत्त पसिहालिन्।
फागुन पहिलो साता। बिहान साढे पाँच बजे। हामी भारतको पुरानो राजधानी कलकत्ता (कोलकाता) आइपुगेका छौं। भारत-नेपाल जनमैत्री साँस्कृतिक मञ्च कोलकाताले 'नेपाली लिटरेरी सिम्पोजियम' मा भाग लिन हामीलाई डाकेको छ।

...
नेपालीहरूले सुनेको पुरानो कलकत्ता ब्रिटिसहरूले आफ्नो जिब्रोअनुकुल क्यालकटा बनाए। अंग्रेज खेदेपछि भारतीयहरूले मातृ लवजका आधारमा शहरका नाउँ राख्न थाले। क्यालकटा र कलकत्ता बंगाली कोलकातामा अनुदित भए।
इलाममा गत वर्ष यसै महिना आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा कोलकाताबाट नारायणप्रसाद होमगाईं गएका थिए। बस, उनलाई जुक्ति फुर्‍यो- यस्तै सम्मेलन कोलकातामा किन नगर्ने!
प्रवासी नेपालीका नाममा खुलेका २६ वटा ठूला र २६ वटै साना गरी ५२ संगठन बनेका थिए। तिनका मुख ५२ दिशातिरै फर्केका थिए। दैनिक ६० लाख मान्छे ओहोरदोहोर गर्ने कोलकाताका सडक जति नै फराकिला भए पनि अफिस लाग्ने र छुट्ने बेला ठेलमठेल हुन्छ। निजी इच्छाका आधारमा खुलेका हाम्रा 'गौरवशाली संगठनहरू' लाई एकैपल्ट सडकमा छाडिदिने हो भने ट्राफिक जाम झनै लम्बिन्छ। यस्तोमा ठूलादेखि भुरेटाकुरे संगठन समेतलाई एक ठाउँ उभ्याउने होमगाईंको सपनाले आकार पाउनु सजिलो थिएन।
नेपाली राजनीतिक दलका भ्रातृसंस्थाका रूपमा खोलिएका ती संगठनको छाता संस्थाका रूपमा 'भारत नेपाल जनमैत्री सांस्कृतिक मञ्च' खोलियो होमगाईंकै नेतृत्वमा। संगठनहरूबीच दूरी घट्दै गयो। त्यसैको परिणाम हो, यसपालिको सम्मेलन, जसलाई कवि तथा कोलकातास्थित नेपाली महावाणिज्यदूत चन्द्र घिमिरे, अर्का कवि तथा नायब महावाणिज्यदूत जीवराज घिमिरेलगायतले मन फुकाएर सघाए। दिल्लीस्थित नेपाली दुतावास, बीपी कोइराला भारत नेपाल प्रतिष्ठान, अगमसिंह गिरी प्रतिष्ठानले सहयोग गरे। त्यहाँका उच्च ओहदामा रहेकादेखि श्रमिकसम्मले समय दिए, गाँस काटेर भाषा साहित्यको मेलालाई दिए। विद्यार्थीहरू रातदिन खटे। उनीहरूको प्रयत्नबाट नेपाल र भारतका विभिन्न भागमा छरिएर बसेका नेपाली जाति, नेपालीभाषी एक ठाउँमा उभिए। नेपाली भाषा र सभ्यता अझै बलियो र फराकिलो पार्ने सपथ खाए।
...
हुग्ली नदीको किनारमा कोलकाता शहर बसेको छ। व्यापारका लागि प्रसिद्ध यो शहर शिक्षा, कला, साहित्य, संगीतका लागि नामी छ। कोलकाता नदीनाला, ऐतिहासिक सम्पदा कम, मानवीय श्रमको नतिजाका कारण आजको अवस्थामा छ। के छ कोलकातामा त्यस्तो, जसले यसलाई अरु शहरभन्दा पृथक बनाएको छ? अर्घाखाँची गोखुंगा-६ बाट सिए पढ्न गएका २२ वर्षे जिज्ञासु तन्नेरी ओम खनाल भन्छन्, 'अरु शहरमा कसले कति कमायो वा कुन पदमा छ भन्नेबाट मान्छेको नापजोख गरिन्छ। कोलकातामा कसले कति पढेको छ, कसको बौद्धिक क्षमता कति छ भन्ने हेरिन्छ।'
गत साल विद्या बालनको फिल्म 'कहानी' ले धेरैलाई झैं पंक्तिकारलाई पनि छोयो। त्यसको पुलिस पात्र 'राना' भन्छ, 'कोलकाता यस्तो शहर हो जहाँ प्रत्येक व्यक्तिका दुइटा नाम हुन्छन्।'
अर्थात्, दुइटा पहिचान।
अर्को ठाउँमा अन्डरवर्ल्डको एजेन्ट भन्छ, 'होश गर्नू म्याडम, कोलकाता तिमीले सोचेभन्दा धेरै खतरनाक शहर हो।'
कहानीका अधिकांश दृश्य खिचिएको शरत बोस रोडमा रहेको 'नेपाल स्वीट्स' नजिकै श्री होटलमा हामी बसेका छौं। कालीघाट, भिक्टोरिया पार्क, बिरला मन्दिर, लेक गार्डेन- यी सब पैदलबाटै तय गर्छौं। कवि श्यामल, लेखक युवराज नयाँघरे, मणि लोहनी, नगेन्द्रराज रेग्मी, रमेश पौडेल, राधेश्याम लेकालीको टोलीमा म मिसिएको छु। दार्जिलिङबाट आएका युवा कवि मनोज बोगटी र सिलिगुढीका राजा पुनियानी छन्। घरि सँगै हुन्छन्, घरि छुट्टिन्छन्।
अनेकौं फ्लाइओभर नाघ्दै प्रिन्सेप घाट पुगेका छौं। सरस्वती पुजाको यो साँझ झकिझकाउ छ। छेवैको हुग्ली नदीस्थित पुरानो बन्दरगाह किनारमा लहरै राखिएका छन् आराम बेन्चहरू। सारी र ब्लाउजमा सजिएर आएका यौवनाहरूका कपालमा सम्याउँदै गरेका 'कलकत्ते काइँयो' हरू बेन्च र चउरभरि भेटिन्छन्।
...
कोलकाताका सडकहरूमा कि त फ्रिडम फाइटर छन्, कि त कवि। स्वतन्त्रता संग्राममा उत्सर्ग गरेका भगतसिंह, सुवासचन्द्र बोसदेखि उनका दाजु शरत बोससम्म। कवि टैगोरदेखि नजरुल इस्लामसम्म। त्यहाँका सडकहरू उनीहरूकै नाममा राखिएका छन्। पार्कहरूमा भने अंग्रेज महारानी भिक्टोरियादेखि उपरी तहका मानव छन्। तिनका छेउछाउमा मानिसहरू आफूजस्तै अर्को मान्छेलाई राखेर ठेला तानिरहेका भेटिन्छन्। 'कहानी' मा भनिएको ठिकै हो- कोलकाताका मान्छेका मात्रै होइन, स्वयं कोलकाताका पनि दुइटा हुलिया छन्। विश्वविद्यालय परिसरमा उफ्रिँदै ग्र्याजुएसनको टोपी उडाइरहेको सोफिस्टिकेटेड कोलकाता। एक्काइसौं शताब्दीको हाइवेमा मान्छे राखेर काँधले ठेला तानिरहेको कोलकाता।
हामी मेट्रो चढेर ठेला तानिरहेको कोलकाता हेर्दैछौं।
रवीन्द्र सदन आइपुगियो। स्टेशनका भित्ताभरि नोबेलविजेता बंगाली कवि रवीन्द्रनाथ टैगोरका काव्य हरफ लेखिएका छन्। किरिङमिरिङ बंगाली अक्षर फुटाउन सकेनौं। तै पनि टैगोरले लेखेको। पक्कै 'ठूलै कुरो' होला!
...
भारतीय भाषा परिषद् भवनमा भव्य समारोहबीच सिम्पोजियम उद्घाटन भयो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँला र पश्चिम बंगालका शिक्षामन्त्री तथा रंगकर्मी ब्रत्य वसुले पानस जलाए। नेपाल र भारतका राष्ट्रिय गान एउटै मञ्चमा घन्किँदा भावुक भएका सहभागीबीच दुबैले ओजिला मन्तव्य दिए। काइँलाले भने, 'राजनीतिले हामीलाई बेग्लै राष्ट्रियतामा विभाजित गरे पनि हाम्रो जातीत्व सुरक्षित रहन्छ। यहाँ हामी एउटै उद्देश्य बोकेर आएका छौं- साहित्यका माध्यमबाट विश्वमा नेपाली पहिचान उँचो बनाउन। सद्भाव, सिर्जनाका चरु बोकेर हामी यो जग्गेमा भाग लिन आएका छौं।'
वसुले थपे, 'अरुलाई नबुझी आफूलाई बुझ्न सकिन्न। पहिचान यसरी निर्माण हुन्छ। हामी एक्लै बाँच्न सक्दैनौं। त्यसैले सँगै मिलेर बस्नुपर्छ।'
हक्की शिक्षामन्त्रीको आह्वान थियो, 'नेपाली साहित्यलाई बंगालीमा, बंगाली साहित्यलाई नेपालीमा अनुवाद गरौं। शिक्षा, संस्कृति, अर्थतन्त्र, प्रविधिमा मिलेर काम गरौं। यी नछोइएका रेखाहरू हुन्। हामी दुई भिन्न समाजहरू मिलेर यिनीहरूलाई सँगै छोऊँ।'
सिक्किम एकेडेमीका चान्सलर पेम्पा तामाङ, साहित्य अकादमी विजेता कवि मनप्रसाद सुब्बा, जीवन नामदुङ, देहरादुनका कवि भुपेन अधिकारी, असमका कवि नव सापकोटा, डा. शान्ति थापा, काठमाडौंका समालोचक निनु चापागाईं, खगेन्द्रप्रसाद लुइँटेललगायत तीन सय लेखक सहभागी थिए।
कोलकाताका नेपालीहरूबीच परिचित तथा भारतका विभिन्न ठाउँमा संघर्षमय जीवन बिताएका लेखक मोदनाथ प्रश्रितलाई त्यहाँका नेपालीले विशेष सम्मान दर्शाए। पञ्चायतकालताका नेपाली जनमैत्री संघ स्थापना गर्न प्रश्रितले गरेको अगुवाई सम्मानको कारक थियो।
भारतका लागि नेपालका कार्यवाहक राजदूत खगनाथ अधिकारीले 'पिटे पनि आमा जाति, पोले पनि घाम' टाइपको कविता सुनाए। कवि चन्द्र घिमिरेले बंगाली कविहरुमाझ कवि श्यामलको सम्मानमा कविता पढे। गजलको बिस्तारवादी लहरो उता पनि पुगेकै रहेछ। सम्मेलनभर राम्रैगरी झाँगियो।
...
पेम्पा तामाङको कार्यपत्र रहेको सत्रमा बोल्दै कवि मनप्रसाद सुब्बाले भारतका नेपाली जाति राष्ट्रिय पहिचानको संकटबाट जेलिएको पीडा यसरी सुनाए-
'तिमी कहाँबाट आएको?'
'दार्जिलिङबाट।'
'ए, नेपालबाट?'
'...।'
'के भाषा बोल्छौ?'
'नेपाली।'
'ए, त्यसो भए तिमी नेपाली!'
'हामीलाई सधैं यस्तो आरोप लगाइन्छ,' उनले आक्रोश पोखे, 'किनभने हामी नेपाली बोल्नेको होइन, बंगाली भाषा बोल्नेको राज्यभित्र छौं।'
...
'नेपाली हिन्दी और मैथिली बिचके साहित्यिक सम्बन्ध' शीर्षक कार्यपत्र प्रस्तुत गर्दै डा. राम अहलाद चौधरीले ओजिलो प्रस्तुति दिए।
बंगला र नेपाली साहित्यको अन्तरसम्बन्ध विषयक छलफलले पनि धेरैको ध्यान तानेको थियो। प्रसिद्ध लेखक रामकुमार मुखोपाध्यायले अध्यक्षता गरेको सत्रमा हरेन घोषको कार्यपत्र थियो भने बनारस हिन्दु विश्वविद्यालयको नेपाली भाषा विभाग हेर्ने प्राध्यापक डा. दिवाकर प्रधानले टिप्पणी गरेका थिए। दोस्रो दिन बेलुकी नेपाली कलाकारहरूले आकर्षक सांगीतिक प्रस्तुति दिए।
नेपाली साहित्यका तीन किताब बंगाली भाषामा अनुवाद गरेका ८१ वर्षे हरेन घोष सम्मेलनस्थल घुमिरहेछन्। उनको निर्वासन नामक कृति दार्जिलिङको साझा पुस्तक प्रकाशनले सन् १९९३ मा प्रकाशन गरेको थियो। नेपाली भाषा लेख्न नआउन भए पनि बोलीमा पकड छ। बिस्तारै बोल्छन्। नेपाली भाषाको सम्मेलनमा उनी छलफल गर्न आएका छन्।
३४ वर्ष लामो कम्युनिस्ट सरकार हराएर शक्तिमा छाएकी तृणमुल कंग्रेस नेतृ ममता बनर्जी अहिले पश्चिम बंगालकी मुख्यमन्त्री छिन्। दिल्लीको प्रभुत्वलाई बेलाबखत चुनौती दिएर मिडियामा छाइरहने उनी आफ्ना अलोकप्रिय निर्णय, कार्यशैली तथा विपक्षीप्रति अनुदार व्यवहार देखाएकाले चर्चा थपिरहन्छिन्। अहिले कोलकातामा ममता दिदी र सौरभ गांगुली दादा चर्चित छन्। कोलकाता दिदी र दादाको शहर भएको छ। कार्टुन बनाएको निहुँमा कलाकार र प्रोफेसर थुन्ने दिदी जनजीवनमा सामान्य सुधारसमेत ल्याउन नसकेको भनेर आलोचित छिन्। 'यिनमा राजनीतिक संस्कार पटक्कै छैन,' कोलकातावासी केही नेपाली भन्दै थिए, 'यस्तै तालले यिनले फेरि जित्न गाह्रै छ।' कोलकातामा एउटा भनाई चर्चित रहेछ, 'कुनै पनि राज्यको प्रमुख पदमा महिला बसिन् भने त्यहाँ युद्ध र झैझगडा रोकिन्छ, ईर्ष्या सुरु हुन्छ।' नारीवादीहरूलाई नोट अफ् डिसेन्ट लेख्ने छुट छ।
कोलकाताबाट फर्कने बेला भयो। गह्रुँगो मन लिएर हामीलाई छाड्न हावडा स्टेशनमा आए संयोजक होमगाई, र कोलकाता बसाइभरि साथ दिएका मित्र ओम खनाल। यसपालि भने ममता दिदी थिइनन्। बदलामा महात्मा गान्धी र जवाहरलाल नेहरू बिदा गर्न उभिएका थिए। उनीहरूको मूर्तिलाई बायाँ पार्दै हामी फेरि मिथिला एक्सप्रेस चढ्यौं। ठेला तानिरहेको कोलकाता बिस्तारै पछि छुट्यो।
Nagarik, 2069 Fagun 19 Akshyar

No comments:

Post a Comment