Saturday, March 2, 2013

मसीको शहरमा (जयपुर लिटरेचर फेस्टिभल)

नयाँ दिल्लीबाट पाँच घण्टा बस यात्रापछि पुगिने जयपुर गुलाबी शहर (पिंक सिटी) नामले चर्चित छ। राजस्थान प्रान्तको राजधानी जयपुरका दरबार, किल्ला र घरहरू प्रचलित गुलाबी रंगले पोतिएका छन्। डिग्गी प्यालेस तीमध्ये एक हो जहाँ सात वर्षयता वर्षेनी साहित्यको कुम्भ आयोजना हुन्छ। यही पिंक सिटी वर्षारम्भ अर्थात् जनवरी छेक मसीको शहर (इंक सिटी) मा अनुदित हुन्छ।
छेउछाउका देशहरू हिउँदको चिसोले कठ्यांग्रिइरहेका बेला जयपुर अघिल्लो बिहीबार (जनवरी २४) देखि पाँच दिन लगातार गर्मियो- विवादास्पद अभिव्यक्ति, उत्तेजक वादविवाद र छेडखानीले।

सन् २००६ बाट सुरु फेस्टिभलमा भाग लिनेका टाउका गन्दा उबेला औंलाका गिर्खा भरिन्नथे। पर्यटकीय नगरी घुम्न आएका पाहुना पनि डिग्गी प्यालेसभित्र यस्तो के गर्न लाग्या होलान् भन्दै गम खान्थे। फेस्टिभलले यति बिघ्न आकार लिइसक्यो। अब त सहभागी थेग्न बाह्रैमास तयारी गर्नुपर्छ। त्यतिले के पुग्थ्यो! आँधीसरी बत्तिएका दर्शक सम्हाल्न ट्राफिक र सुरक्षाकर्मी लगाउनुपर्छ- साहित्यको नाममा!
एसियाको सर्वाधिक ठूलो यो साहित्य महोत्सवलाई विश्वकै ठूलो भनी दाबी गरिनुमा अधिकांश भारतीय, त्यसपछि क्रमशः एसिया, अफ्रिका तथा अन्य महादेशबाट मेला भर्न आउनेको अद्भूत जमघटले काम गरेको छ। लाग्छ, जयपुरमा साहित्यिक तीर्थाटन भइरहेको छ। शिल्पी, भक्तजन र तीर्थयात्री हर वर्ष धाइरहेछन्। फेस्टिभलमा महिला दर्शक बढी छन् भन्ने त्यति बेला थाहा हुन्छ, जब तपार्इं ट्वाइलेटको ढोकानेर पुरुषको भन्दा उनीहरूको लाइन लामो देख्नुहुन्छ।
...
विवादको इपिसेन्टर
अघिल्ला वर्षझैं यो वर्ष पनि फेस्टिभल विवादमुक्त रहेन। 'मुस्लिम संवेदना भड्काउने' सलमान रुस्दीको आगमन हल्लाले पोहोरको फेस्टिभल तात्तिएको थियो। आखिर उनी जयपुर आएनन्।
जसै महाश्वेतादेवीको किनोट स्पिचसँगै उद्घाटन सत्र सकियो, पाकिस्तानी लेखक जमिल अहमदले प्रख्यात आख्यानकार शादत हसन मन्टो गतिला लेखक नभएको भनी दिएको अभिव्यक्तिसँगै कचकचको शृंखला सुरु भयो। तेस्रो दिन समाजशास्त्री आशिष नन्दीले दलित र निम्न वर्गलाई 'होच्याएको' अर्थ लाग्नेगरी बोलेपछि त के चाहियो! उसै त फेस्टिभलकै दौरान घोषणा गरिने डिएससी साउथ एसियन लिटरेरी प्राइजको रस्साकस्सी सतहमा छाइसकेको थियो। जति छुपाउन खोजे पनि लेखक उदय प्रकाश र मोहम्मद हनिफमध्ये एकले पाउने ठानिएको पुरस्कार अन्ततः जीत थायिलले हत्याए। पुरस्कारको निर्णय समितिमा काठमाडौंकी सुवानी सिंह पनि सदस्य थिइन्, छिन्। हर्ताकर्ताचाहिँ अरु नै थिए कि!
पंक्तिकार नयाँ दिल्ली फर्कंदा नन्दीमाथि सख्त कारबाही गरिनुपर्ने मागले जवाहरलाल नेहरु विश्वविद्यालयका भित्ता रंगिइसकेका थिए। भूकम्प जाँदा इपिसेन्टर कहाँ हो भन्ने जिज्ञासा महŒवपूर्ण हुन्छ। धेरै परसम्म धक्का महसुस भए पनि केन्द्रको असर सर्वाधिक हुन्छ। भारतभरि विरोधका धक्का फैलिँदैगर्दा हामी त्यसको इपिसेन्टर खपेर फर्कंदै थियौं।
...
भारतको राजनीतिक मानचित्रझैं प्राज्ञिक भूगोल पनि होराइजन्टल छ। राजधानी दिल्लीको प्रभाव नगन्य छ। केन्द्रमा कोही छैन।
बङलोर र कलकत्ताकेन्द्री कला, साहित्य र बौद्धिक व्यायामलाई आफूतिर खिच्दैछ जयपुर। जयपुरमा त्यस्तो के छ जसले सबै उमेरका मानिसलाई आफूतिर एकोहोर्‍याउँछ! जुनसुकै पेशा, वर्ग र पृष्ठभूमिका मानिस त्यहाँ पुग्न खोज्छन्! भारत एकपल्ट जयपुरतिर आकृष्ट हुन्छ! मानव सागर उर्लिन्छ, मानौं जनआन्दोलन चलिरहेको छ!
लेखकसँग हात मिलाएका छन्, तस्बिर खिचाएका छन्, पुस्तक छानेका छन्, किनेका छन्। भीडमै कोही डेटिङमा छन्। वक्तातिर कान र ध्यान लगाउने कति हुन्छन् कुन्नि! कम्तिमा सबैले जयपुर पुग्नुमै गौरव मानेका छन्। यसरी धेरैजसो तीर्थालु ख्याल ख्यालैमा पठन संस्कृतितिर लहसिएका छन्। साहित्यका यतिविधि 'उपभोक्ता' जम्मा भएका ठाउँमा कर्पोरेट मालिकहरू समेत आकर्षित छन्।
कर्पोरेट दुनियाँको आक्रामक प्रवेश भएयता त्यसले असली साहित्यको हुर्मत लिएको ठान्छिन् लेखक अरुन्धती रोय। 'द गड अफ् स्मल थिङ्स'का लागि म्यान बुकर प्राइज जितेकी उनी मसीको यो महाकुम्भमा सरिक हुन्नन्। कसैका लागि फेस्टिभल तीर्थ हो, कसैका लागि अर्थ न बर्थ।
विशुद्ध साहित्य त्यहाँ पनि हुँदैन, जहाँ राज्यको 'संरक्षण' छ। एकताका सोभियत एकदलीय राज्यसत्तादेखि यहाँको पञ्चायतसम्मले कला साहित्य संवर्द्धन गर्ने नाममा लेखक, कलाकार, प्राज्ञलाई भाट बनाएकै हुन्। शुद्धता कहीँ पनि हुँदैन। वित्तीय पुँजीवादलाई मात्रै दोष लगाएर 'समाजवादी'हरू चोखो पल्टिन मिल्दैन। आग्रह नभएको केही चीज हुँदैन। साहित्य अपवाद होइन, हुँदैन।
...
जयपुरमा एउटा न एउटा वक्ताले खोँचे थापिहाल्छ। कुनै न कुनै निहुँ झिक्छ। साहित्य मिमांसा छायाँमा पार्दिने उही हुन्छ। मिडिया कभरेज उसैले पाउँछ। गुणवत्तामा सबल दरिने वक्ता र सत्रले त्यसको नोक्सानी झेल्नुपर्छ। हल्का, धार्मिक जातीय संवेदनशीलता भड्काउने सामग्री प्रत्येक ब्रोडसिटको पहिलो पृष्ठमा छाउँछन्। मानौं, फेस्टिभल त्यत्तिका लागि हो। अनि, आशय मोडेर, मसला थपेर स्टोरी पकाउन कोहीभन्दा कोही कम छैन। आशिष नन्दीको सन्दर्भमा यस्तै देखियो। (हेरौं, उज्ज्वल प्रसार्इंको रिपोर्ट)
खैर अतिमै सही, भारतमा आलोचनात्मक चेत बलियो बन्दैछ। कहिलेकाहीँ त्यसले केवल खण्डन र रोषको भूमिकामा आफूलाई उभ्याउँछ। प्रतिपक्षमा कोही नउभिनु भन्दा सकिनसकी आफ्नो स्पेस निर्माण गर्न खोज्नु 'अग्रगामी' जो हो।
...
'के नेपाल ठूलो छ?'
नेपाली साहित्यको घेरो कत्रो छ भन्ने थाहा पाउन सीमाना बाहिर जानू। नजिक भएकाले जयपुर गए पनि भयो। हुनुपर्ने जति नभएको होला, तर यहाँको साहित्यमा कत्ति धेरै काम भएका छन्। तर, नेपाली साहित्यको हैसियत भनौं वा हविगत! यो आफ्नै जयगान गाउन मग्न 'राष्ट्रवादी सोच' भन्दा अझै बाहिर गएको देखिँदैन। नतिजा, साहित्यको मानचित्रमा नेपालको नक्सा लगभग भेटिँदैन। 'जय नेपाल, सुन्दर शान्त विशाल' र 'के नेपाल सानो छ?' का डिस्कोर्समा नदौडेको भए, साहित्यिक कृतिमाथि आलोचनात्मक चेत तिखारेको भए, कृति सिरानीमा हालेर नसुतेको भए कम्तिमा दक्षिण एसियाली डोमेनमा हामीले आफूलाई बलियो मेरुदण्डसहित उभ्भिइसकेका हुने थियौं। घाटा, अर्को वर्ष जयपुरमा नेपालबाट जो गए पनि दर्शकदीर्घामा बस्नेछ। सत्रका लागि कोही सिफारिस छैन। सिर्जनाको यति ठूलो खजाना भए पनि साँचो अर्थमा के नेपाल ठूलो छ?
...
बत्तीमुनि सफ्ट पावर
आफूलाई विश्वको सर्वाधिक ठूलो लोकतन्त्र दावी गर्ने भारतले भौतिक विकासमा आफूलाई जति द्रूत गतिमा लगिरहेको छ। बौद्धिक स्पेसमा पनि आफू बलियो रहेको देखाउन चाहन्छ। तथ्यका लागि सरकारी प्रयत्नहरूमात्रै होइन, प्राज्ञिक जमघट, जयपुरे काँटका मेला, अनगिन्ती पुस्तक प्रदर्शनीजस्ता सामुदायिक र निजी प्रयत्नहरू छन्। भारतीय कला र साहित्यको प्रवर्द्धन गर्ने मामलामा उनीहरू धेरै अगाडि छन् पनि। शान्ति निकेतन हुँदै जयपुरे शैलीसम्म पुगेको उनीहरूको प्राज्ञिक कर्मले भारतको अकाट्य सफ्ट पावर बन्ने चाहना संकेत गर्छन्। तर त्यहीँ बस्दा-बस्दै समाचार पढ्न पाइयो- डेली न्युज एन्ड एनालाइसिस (डिएनए) ले लेखेको थियो- 'यति ठूलो बौद्धिक समारोह गर्ने जयपुर स्वयंमा अति थोरै पुस्तकालय र शिक्षण संस्था छन्। कस्तो विरोधाभास!'
बत्तीमुनि अँध्यारो भनेको यही होला!
...
फेरि 'ब्रिटिश राज'
हिन्दी, उर्दुलगायत भारतभर बोलिने भाषाको आयतन खुम्चिँदैछ। पप कल्चरबाट साहित्य अछुतो छैन। मातृभाषाको स्पेस अंग्रेजीले ओगट्दैछ। लगभग सबै सत्र 'ब्रिटिश राज' कै भाषामा हाँकिने जयपुर फेस्टिभलजस्ता मेलाले तिनैको मलजल गर्दैछन्। ग्लोबलाइजेसनको डिङ हाँक्दै पहिलो विश्वको भाषामार्फत् त्यहीँको संस्कृति र साहित्यको बढ्तै प्रवर्द्धन गर्ने, यस्सो देखाउनलाई घरिघरि मातृभाषामा जिब्रो फड्कार्ने प्रवृत्ति बढ्दो छ। अंग्रेजीमा लेख्नेका अघिल्तिर भारतीय र अन्य भाषामा लेख्ने कहाँ छन्! यसर्थ भारत र दक्षिण एसियाको राष्ट्रिय संस्कृतिलाई उत्रो टेवा दिएको अनुभूति यो पंक्तिकारले गरेन। 'इस्मत एन्ड एनी' सत्रमा बोल्दै लेखक जावेद अख्तर र सइद साहिद मेहदीले यही दुखेसो पोखे। आफ्नो पालोमा लेखक उदय प्रकाशले स्थानीय भाषा र संस्कृति कमजोर हुने भय दर्शाए।
जावेदले आफूलाई स्थानीय भाषाको पक्षमा जोडदार उभ्याए। हिन्दी र उर्दु दुवै भाषाको संगमस्वरूप हिन्दुस्तानी भाषा भनिनुपर्छ भन्ने महात्मा गान्धीको प्रस्ताव सही भएको उनको विचार थियो। 'हिन्दी र उर्दुका ९० प्रतिशत शब्द र अर्थ दुवैमा समानता छ,' उनले भने, 'हामी भने बुझेको शब्दलाई हिन्दी मान्छौं, कुनै शब्द नबुझ्नेबित्तिकै भन्दिन्छौं, ए, यो त उर्दु रहेछ।'
उर्दुका अक्षर हेर्दा नबुझिने किरिङमिरिङ धर्साजस्ता देखिए पनि वास्तवमा दुवै सजिला भएको उनले तर्क गरे। आफ्नो प्रस्तुतिका पालामा पूरै फर्ममा हुन्छन् जावेद। कुरैकुरामा भन्दिए, 'आफ्नो लिपि भनेको आफ्नै सहरको गल्लीजस्तो हो, जुनसुकै कुनाकाप्चा पनि सजिला लाग्छन्। पहिलोपटक आफू पुगेको सहरका भने सजिला गल्लीसमेत घुमाउरा लाग्छन्। भाषा र लिपि भनेको पनि तिनै नयाँ र पुराना सहरका गल्लीजस्तै हुन्, सुरुमा अप्ठेरा लाग्छन्।'
अंग्रेजीमा लेख्नेहरूको बढ्ता हाइहाई हुने, भारतीय लेखकले कम कभरेज पाउने कारणले आफ्नो भाषामा लेख्नेहरूले कुण्ठित हुनुपर्ने दिन आउन सक्छ। भारतको राष्ट्रिय संस्कृतिले भोगिरहनु परेको दशा सरुवा रोग भएर यतातिर नफैलिएला भन्ने के छ? आखिर नेपालको राजनीतिमात्र नभएर कला संस्कृति पनि 'इन्डिया-अब्सेस्ड' जो देखिन्छ।
...
साहित्य कुटनीति
विनोद मेहताले काठमाडौंमा भनेका थिए, 'जसरी यहाँका मानिसहरु भारतमुखी छन्, त्यसरी नै भारतीयहरू पाकिस्तानमुखी छन्।' जयपुर निम्ता गरिएका केही लेखकले पाकिस्तानी भएकैले दुतावास र स्थानीय प्रशासनमार्फत् दुःख पाए। त्यसपछि उनीहरु फेस्टिभल गएनन्। केही लेखकको भिसा रोकियो। मोहम्मद हनिफजस्ता नियमित आगन्तुक 'आफ्नै कारण' देखाएर यसपल्ट गएनन्। भनिन्छ, बिग्रिरहने भारत-पाक सम्बन्ध क्रिकेट कुटनीतिले जोड्छ। साहित्यले त झन् धाँजा पार्छ कि जस्तो पो देखियो! शशि थरुरलगायतले बोलेका केही सत्रहरूमा त भारत-पाक तनाव नराम्ररी प्रतिबिम्वित नै भएको थियो।
पुरस्कार सम्मान भारतमा पनि विवादमुक्त छैनन्। उदय प्रकाश र मोहम्मद हनिफमध्ये एकले पाउने भनी अड्कल गरिएको डिएससी लिटरेरी प्राइज अन्ततः जीत थायिलले पाए। पुरस्कारका लागि अस्वस्थ प्रतिस्पर्धा देख्दा मनमा प्रश्न उठ्यो- यो बानी कसले को बाट सिक्यो- भारतले नेपालबाट कि नेपालले भारतबाट?
साझा संस्कार फैलाउँदै
जेहोस्, जयपुरजस्ता महोत्सवबाट भारतले साझा संस्कार बिस्तार गर्दैछ। थुप्रै मेलाहरूबीच जयपुरको आयतन भने विश्वव्यापी फैलिँदैछ। त्यसैलाई हेरेर न्युजविककी टिना ब्राउनले यसलाई 'द ग्रेटेस्ट लिटरेरी सो अन द अर्थ' जिकिर गरेकी होलिन्। भारतका सबै प्रमुख अखबारले जयपुरलाई उच्च प्राथमिकता दिन्छन्। टाइम्स अफ् इन्डियाको स्थानीय संस्करण जयपुर टाइम्सलगायतले त विशेष परिशिष्टांक नै छाप्छन्।
फेस्टिभलमा जान रेल चढ्दै गर्दा युवा कवि भूपिन व्याकुललाई लागेको थियो- 'गएका बेला यस्सो एकदुई कविता सुनाऊँ। अरुका पनि सुनूँ।'
त्यसका लागि केही कविता बोकेर गएका उनले थाहा पाए, यताका साहित्यिक समारोह-प्रकृतिसँग फेस्टिभल मेल खाँदैन। मञ्चमा आसन ग्रहण भन्दै सभापति राख्ने, प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, अतिथिको लर्को लगाउने, पालैपालो खादा ओढाउने, ब्याज झुन्ड्याउने, स्वागत मन्तव्यदेखि कृतज्ञताका नाममा अजीर्ण बौद्धिकता पस्कने, कविता र मन्तव्यले रात पार्ने, प्रमुख अतिथिको पालो आउँदा दर्शकदीर्घामा स्वयंसेवकबाहेक कोही नहुने परम्परागत ढर्राबाट आयोजक मुक्त छन्। भूपिनजस्तै धेरै लेखक 'ब्रेनवास्ड' हुने कारण संवादमा आधारित यसको कार्यक्रम शैली, सहभागीले प्यानलिस्टसँग प्रत्यक्ष सोध्ने, उत्तिखेरै जिज्ञासा मेटाउने मौका, छोटा सत्र हुन्। मन लागे पूरै हेर्ने नत्र उही समयमा स्थान फेर्दै चाहेको सत्र रोज्ने व्यवस्था, पुस्तकका स्टल आदिले आगन्तुक विकर्षित हुन पाउँदैनन्। कविको अघिल्लो इच्छा पूरा हुने कुरै थिएन। सट्टामा 'अरुको सुन्ने' पछिल्लो इच्छा दर्जनौंपटक पूरा भएको थियो।
'पिओर लिटरेचर' को विशुद्धतावादी आग्रह जयपुरसँग छैन। राजनीति, धर्म, अर्थतन्त्र, समाजशास्त्र, विज्ञान, संगीतलगायत विषय साहित्यभन्दा टाढा छैनन्, यिनलाई पनि साहित्यले आफूभित्र समेट्नुपर्छ भन्ने मान्यता मेलाले स्थापित गरिसकेको छ। साहित्यको यो जयपुरे शैली नेपाललगायत अन्यत्र छरिइसकेको छ।
भूपिनलाई मसीको महाकुम्भले के पाइन हाल्दियो कुन्नि! उनी आइन्दा 'व्याकुल' फुर्को डिलिट गर्ने मुडमा छन्।
Nagarik 2069 Magh 

No comments:

Post a Comment