Sunday, August 5, 2012

यातनाशिविरमा एक साँझ

सांगीतिक समूह 'आरम्भ' ले इलाममा पाँच वर्षअघि गणेश रसिकको एकल कन्सर्ट आयोजना गरेको थियो। चौथो गीत गाइसकेपछि रसिक बोले– 'अब सुन्नुहोस्, यातना नम्बर पाँच।'

आफ्ना प्रिय साँस्कृतिक अभिभावकलाई एकाग्र भएर सुनिरहेका दर्शकहरू रौसे रसिकको आफैँप्रति क्रूर व्यंग्य सुनेर गलल्ल हाँसे। इलाम जिविस हल गुन्जियो–

धेरै सम्झे धेरै हुन्छ
थोरै सम्झे थोरै हुन्छ
नसम्झेमा केही पनि छैन
तिमीलाई दिएको मेरो माया। 


किन हो थाहा छैन, आफ्नो समयका प्रभावशाली गायक, संगीतकार र गीतकार रसिक एउटा कलाकारका रुपमा आफूलाई उति भाउ दिन खोज्दैनन्। आफूलाई सुन्न प्रज्ञा प्रतिष्ठानमा शनिबार ओइरिएको भिडतिर फर्केर उनले उसैगरी खिज्याए आफूलाई, 'धैर्य गर्नूस्, अब यातना धेरै बाँकी छैन।'

घरि पारिजात, रामेश, मञ्जुल र समवयीहरू सम्झँदै, घरि देशको माटो। घरि सेवारो भन्दै, घरि बेठी लगाउँदै। घरि घरबेटी नानीसँग बास माग्दै। घरि सगरमाथा चढ्दाचढ्दै हिउँले पुरेका कुङ्गाका फुपाजु सम्झँदै रुने याङ्जी नानाको आँसु पुछ्दै। रसिकले गाए १६ गीत। हजार र पाँचसयका टिकट काटेर उनलाई सुन्न गएका दर्शकले यत्तिकै कहाँ छाड्थे! बुढ्यौली टेक्दै गरेको उमेरमा २० हिउँदबर्खा घटाएर उनीहरूले मन परेका गीत रसिककै गलाबाट दोहोर्‍याई दोहोर्‍याई सुने।

लेखक अभि सुवेदीले सरल र विनयी रसिकबारे बोले। रसिकले चाहिँ उनले लेखेको गीत 'सेवारो' गाए। सांगीतिक समूह 'लेकाली' मा धेरै वर्ष रसिकसँग कुम जोरेर गाएका हिरण्य भोजपुरेले चरम गरिबीका दिनहरूमा संगीत साधना गरेको सम्झे, 'अहिले यस्तो भइयो। पहिले यति दुब्ला थियौँ हामी, रसिकको कानमात्रै देखिन्थ्यो, मेरो नाकमात्रै।'   

रसिक साँझको प्रायोजक 'लिबर्टी' ह्विस्कीको ब्यानरमुनि रसिकले बोत्तलबाट गिलासमा पानी सार्दै पिइरहे। चित्र राखिएको भए पनि मापसे गर्ने 'लिबर्टी' थिएन। 'यातना शिविर' को मञ्चमा 'नो–मापसे' कलाकार रसिक थिए, सरकारमा मापसेविरोधी बाबुराम। कुरा मिल्यो।

जेहोस्, दर्शकले लिबर्टीका लागि पैसा तिर्न नमिल्ने भए पनि लिबर्टीले रसिकका लागि पैसा तिर्‍यो। नेपालको प्राज्ञिक सांस्कृतिक उन्नयनमा लिबर्टीहरूको भूमिका कम छैन– कसैलाई मन परे पनि, नपरे पनि।
धीर समुद्री छालझैँ अन्तराहरू सुनाइरहे रसिकले। बीचमा केही जोकहरू पनि। संगीत र साहित्यसम्बन्धी जोक सुनेर कोहीकोही चाहिँ झन् 'गम्भीर' भइरहेका थिए।  

photo : Nagarik
साझा प्रकाशनदेखि ठुल्ठूला संस्थान हाँके रसिकले जमानामै। रसिकले चुनाव लडे, चुनावले पनि उनलाई लडायो। अगणित घामपानी झेलेका जमानाका हाकिम र नेता यी अहिले चिया कृषक भएर इलामको फिक्कल रम्फोकमा बसेका छन्। उनले खोलेको रेडियो फिक्कलले भूगोलले छुटयाएका मेचीवारि र पारिका नेपालीभाषीलाई जोडिदिएको छ। हाई होस् या लो, जुनसुकै प्रोफाइलमा रमाए पनि रसिक यस्सै चर्चित छन्। सबै उनलाई आफ्नो बनाउन चाहन्छन्। आफ्नो नामलाई उनीसँग जोड्न चाहन्छन्, इलामेली हुन् या भोजपुरे, दार्जिलिङ सिक्किमका नेपालीभाषी हुन् या हङकङेली।

भ्रम नरहोस्, रसिक कसैका पनि होइनन्। किनकि उनी सबैका हुन्।

रसिक जन्माउने भोजपुरको गाउँ छिनामखुले उनलाई भव्य सम्मान दियो। 'छिनामखु सरोकार समाज' ले आयोजना गरेको रसिकको एकल साँझ 'गाउँको माया' हेर्न आएका दर्शकमध्ये अधिकांश पूर्वेली थिए। लोकप्रिय गायिका भइसकेकी आफ्नी बुहारी झुमा लिम्बुसँग उनले केही गीतमा स्वर मिलाए। रसिकले तिनलाई क्रान्तिकारी, प्रगतिशीलदेखि प्रतिक्रियावादी र बुर्जुवासम्मका बिल्ला झुन्डयाउन मिल्ने गीतहरू सुनाए। एउटै व्यक्तिले कसरी 'सबै पार्टी' का गीत गाउन सके!

हाक्पारेदेखि, बेठी लगाउँदाका गीत। बताससँगै उडेर जाने सिम्मादेखि आँगनीमा बास माग्न पुगेको परदेशीसम्मका कथा। पिखुवा तर्दो भरियाको पसिनादेखि, देश खोज्नेहरुलाई आफ्नै आँखाको नानीमा एकपटक हेर्ने सल्लाह। बाख्रा धपाउनेदेखि मायालु फकाउनेसम्मका कामनाहरू। लाग्थ्यो, रसिक फगत् गाइरहेका थिएनन्, बरु कथा भनिरहेका थिए। इतिहास सुनाइरहेका थिए। उनी कोरिँदै मेटिँदै गइरहेको देशको मानचित्र पढाइरहेका थिए।

नाति, नातिना खेलाएर बस्नुपर्ने बेला काठमाडौँमा परिवार छाडेेर इलाममा बिन्दास बाँचिरहेका रसिक खतरनाक एकान्तप्रेमी हुन्। पुराना दिनहरूलाई सम्झनाको फ्रेममा दुरुस्तै खिचेर राखेका रहेछन्। विस्मृतिमा पुरिन लागेका रिल एकेडेमीको स्टेजमा घडीको उल्टो दिशाबाट घुम्न थाले। छिनामखुवासीका अघिल्तिर रसिक एकपल्ट फेरि छुकछुके तर निर्दोष बालक भए।

रसिकले कविताका हरफझैं छोटा वाक्य बोले। अनि हार्मोनियमका पर्दामाथि खिरिला औंलाहरूलाई दुई भिन्न वाक्यका बीच इन्टरल्युडजस्तो बनाएर जोडे। उनी जे बोल्थे, त्यसैलाई संगीत दिन्थे। हार्मोनियमसँग सुर मिलाएर बोल्दा उनको बोली गीत बन्थ्यो।

रसिकले पञ्चायत देखे, भोगे। देशविदेशदेखि सिस्नुघारीहरूसम्म टेक्दै हिँडे। इतिहास र भविष्यको दसगजानेर उभिएको मानिसको आत्मस्वीकृति लेखे 'दसगजामा उभिएर' किताबमा। जीवनको यो कालखन्डमा आइपुगेर रसिकले आफ्नो जीवन इलामलाई दिइरहेका छन्। इलाममा जन्मेर हुर्कनेहरु आज कोही परिबन्द त कोही रहरले इलामबाहिर छन्। भोजपुरमा जन्मेका यी रसिक आफ्ना दामलेझैं लाहुर नगएर इलाम गए। आज इलामलाई कि प्रकृतिले दिइरहेछ, कि रसिकले दिइरहेछन्।

अरु त लिनेमात्रै हुन्।  

घर नगएको एक वर्ष पुग्न लागेछ। रसिकले मलाई चारखोल पान्थरतिर पुर्‍याए। जसै उनको एकल कन्सर्ट सकियो, म कतै नहेरी हुरुरुरु बाहिरिएँ। बाहिर आउँदा काठमाडौंमा पो थिएँ। मजस्तै थुपै्रलाई रसिकले कत्तिखेर आ–आफ्नो घर पुर्‍याइसकेछन्।
कन्सर्ट भएको साँझ काठमाडौंमा सिमसिम पानी परिरहेको थियो। रसिकले घर पुर्‍याएर आमाको छेउमा थपक्क छाडिदिएको म बिस्तारै ब्युँझिएँ। कमलादीको सडक किनारामा बररर आँसु झारें। 
..........

हामी बसेको सिटअघिल्तिरको एक पंक्ति पद तथा गोपनीयताको शपथग्रहण गरेझैं एउटा पुस्तिका समाइरहेको थियो। त्यसमा रसिकका गीतहरू थिए। मैले साथी अन्जान थेबेलाई कोट्याएँ– 'त्यो मेरो सिडी किन नफर्काएको?'
उसले बेपर्वाह भन्दियो, 'हराएँ।'

इलाम एफएममा काम गर्दाताक रसिकले मलाई उनका गीतहरु समेटिएको सिडी थमाएका थिए। मैले सुन्नै नपाई अन्जानले खोसेर लगेको थियो। इलामस्थित उसको कोठामा पाँच वर्षअघिको कुनै दिन पुग्दा देखें– उसले असाध्यै सुन्दर पाराले रसिकका गीतहरु डायरीमा सारेको रहेछ। 

अन्जान– एक बेइमान रसिक–अनुरागी। मलाईजस्तै उसलाई पनि रसिकका 'यातनाहरू' प्रिय छन्। सायद अब उसले सिडी फर्काउँदैन। 

नागरिक अक्षरमा २०६९ साउन २० गते शनिबार प्रकाशित

No comments:

Post a Comment