Friday, August 17, 2012

घुम्ने मेचमाथि अशोक राई

२०३५ सालमा नेता अमृतकुमार बोहराबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका एमाले उपाध्यक्ष अशोक राई अनुशासित नेता मानिन्छन्। अहिले उनै राईलाई पार्टी 'अनुशासन उल्लंघन गरेको' भनी बोहराले अनुशासन आयोग अध्यक्षको हैसियतमा स्पष्टीकरण पत्र काटेका छन्। त्यसैले राईको चर्चा गर्माइरहेको छ र सँगै उनले नेतृत्व गर्ने भनिएको नयाँ दलको पनि। राजधानीको बुद्धनगरस्थित स्वप्नवाटिका विद्यालयमा बिहीबार दिउसो भेटिएका अन्तर्मुखी स्वभावका राईमा बाह्य चर्चाको असर देखिन्नथ्यो। उनी उस्तै शान्त, धीर र संयम भेटिए। समसामयिक राजनीति र पार्टी गठनको भावी योजनाबारे नागरिकका बसन्त बस्नेतले राईसँग गरेको कुराकानी : 

  • नयाँ पार्टी बन्ने कुरो कहाँ पुग्यो?
  • केही मुद्दामा असहमति राखेर अन्तरपार्टी संघर्ष चलाइरहेका छौं। त्यसरी अघि बढ्दा हाम्रा मुद्दा समाधान हुँदैन भन्ने सन्देश हामीलाई प्राप्त भइसकेपछि हाम्रा मुद्दा लिएर जाने शक्ति निर्माण गर्न लाग्छु भन्ने सोच आएको हो।
  • प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टीमा लाग्ने कि नयाँ बनाउने?
  • आदिवासी जनजाति महासंघले विकल्प शक्ति निर्माण गर्न र अवधारणगत स्पष्टता ल्याउन केही साथीहरुको कार्यदल बनाएको रहेछ। त्यसमा हामी जाने नै भन्ने त होइन तर छलफल हुनसक्छ।
  • यत्रो वर्ष लगानी गरेको पार्टी छाड्न लाग्दा कस्तो लागेको छ?
  • तपाईंले भावनात्मक कुरा गर्नु भो। हरेक मान्छेमा भावनात्मक पक्ष हुन्छ। बुद्धिको पक्ष पनि हुन्छ। राजनीति मूलतः बुद्धिसँग सम्बन्धित हुन्छ। त्यस हिसाबले हेर्दा भावुक हुनुपर्ने आवश्यकता छैन। आफूले पार्टी छाड्दैमा त्यो पार्टीसँग सम्बन्धित नेता/कार्यकर्ता सबैसँग सम्बन्ध नहुने भन्ने हुँदैन। वैयक्तिक सम्बन्ध विगतझैं सुमधुर रहनु स्वाभाविक छ। मुद्दाहरुमा फरक भइसकेपछि पार्टीचाहिँ साधन हो, साध्य होइन।
  • एमाले किन छाड्नुपरेको?
  • एमालेले हामीले अघि सारेका मुद्दा र विचार उपयुक्त ठानेन। हामीले आफ्ना विचार र मुद्दा त्यागेर एमालेमै बसिरहनु उपयुक्त ठानेनौं।
  • तपार्इं एमालेको उपाध्यक्ष। उपाध्यक्ष छुट्टै र पार्टी छुट्टै भन्ने हुन्छ र?
  • हुँदैन। तर नरो वा कुन्जरो वा अश्वत्थामा हतोहतः भनेजस्तो भएको छ अहिले। 
  • तपाईंले बनाउन लागेको पार्टीमा कति कार्यकर्ता जालान् त?
  • एमालेका साथीहरुलाई मैले खुलस्त भनेको छु– मैले पार्टी छाड्ने हो, फोड्ने होइन। अरु कतिले छोड्छन्, त्यो म ग्यारेन्टी गर्न सक्दिनँ।
  • तर पार्टी फोड्ने समूहको नेतृत्व तपार्ईंले नै गरिरहेको भन्छन् नि?
  • यो कुनै पूर्व निर्धारित गुट होइन। अशोक राईले आफू नेता बन्न निर्माण गरेको समूह पनि होइन। हामी एउटा विचार र मुद्दा निकालेर अघि बढ्दै जाने सिलसिलामा एउटै निष्कर्षमा पुग्यौं। कुरो त्यतिमात्रै हो। एमाले नै त्यस्तो पार्टी थियो, जसले सही विचार सही निष्कर्ष अघि सारेको थियो। दुर्भाग्यको कुरा, संविधान सभामा ती निष्कर्ष कार्यान्वयन गर्न स्थायी कमिटीका बहुमत साथीहरु लाग्नु भो। ती कार्यान्वयन हुन सकेनन्। फलतः संविधान सभा भंग हुन पुग्यो। संविधान सभा भंग भएपछि हामीले भन्यौं–  'एमालेका ती निर्णय नै सही छन्। ती विचारले नै सबै जाति, भाषा, धर्म र संस्कृति मिलाएर अघि लैजान सक्छन्। हामीले त्यसो भन्यौं तर पार्टीका अन्य नेताले भन्नु भो– 'हुँदैन हुँदैन, ती निर्णय गलत गरिएछ। त्यसैले ती निर्णय कार्यान्वयन गरियो भने यो मुलुकमा रक्तपात हुन्छ, झगडा हुन्छ, झमेला हुन्छ।' त्यसपछिको स्थायी कमिटीमा मिश्रित नामाकरण गरी बहुपहिचानका सात प्रदेशको प्रस्ताव लिएर आउनुभयो। हाम्रो असहमति यसैमा हो।
  • पहिचान भनेपछि भाषा, सभ्यता, भूगोल सबै पर्ने भए, तपाईंहरुले चाहिँ जातिमा मात्रै जोड दिनुभएछ नि त?
  • यो गलत प्रचार हो। जाति भनेपछि नश्लीय कुरा पनि त्यहाँ हुन्छ। भूमि, भाषा र संस्कृति, ऐतिहासिकताको कुरा पनि हुन्छ। जाति भनेको जातजस्तो वा अरु कुनै चीजजस्तो कुरा होइन। बरु ती सबै चीजको अभिव्यक्ति त्यहाँ भइरहेको हुन्छ। हाम्रो पार्टीले जातीय, भाषिक, ऐतिहासिक र साँस्कृतिक आधारमा प्रदेशको नामकरण गरिनेछ भनी संविधान सभा चुनावको घोषणापत्रमा नै अघि सारिसकेको थियो।
  • यो कुरा कार्यकर्तालाई बुझाउन गएको भए हुँदैनथ्यो?
  • हुन्थ्यो। तर मुख्य कुरा निर्णय गर्ने निकायका बहुमत साथीहरुले अस्वीकार गरेको विचारलाई कार्यकर्ताले उल्टाउने परिवेश छ कि छैन त पार्टीभित्र? मैले त्यो परिवेश देखिनँ। रेलको डब्बा जतिसुकै लामो भए पनि इन्जिन जुन लिकमा चढ्छ, अरु डब्बाहरु त्यहीसँग तानिएर जानैपर्ने नियम हुन्छ। पार्टी पनि त्यस्तै हो। नेतृत्वले जता स्टेयरिङ घुमायो, सिंगै पार्टी त्यो दिशामा जान्छ।
  • नेपालमा अहिले त्यस्तो कुन पार्टी छ, जोसँग तपाईंहरुको विचार अधिकांश मिल्छ?
  • समग्र विचारको हिसाबले त नेकपा एमाले। त्योसँग सहमत भएरै म अहिलेसम्म क्रियाशील छु। राज्य पुनर्संरचनाजस्तो असाध्यै महŒवपूर्ण र संवेदनशील विषयमा एमालेसँग असहमति सिर्जना भएको छ। राज्य पुनर्संरचनाको अघिल्लो निर्णय हामीले असाध्यै सही र सर्वसम्मत ढंगले गरेका थियौं। पछि उहाँहरुले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गर्नुभयो। संविधान सभा अवसानपछि एमालेले लिएका राजनीतिक निर्णयमा धेरैजसो असहमति बढेर गएको छ।
  • झलनाथ खनाल र केपी ओली पक्षबीच पछिल्ला महिनामा भएको आन्तरिक एकतासँग तपाईंहरु असन्तुष्ट हो?
  • एकतासँग त किन असन्तुष्ट हुने र! पार्टीका निर्णय पछिल्ला दिनमा उल्टाउने कार्यमा जेएन (झलनाथ) र केपी सँगै रहनुभयो। तर यति नै आधारमा उहाँहरुको एकता भयो भन्ने मलाई लाग्दैन किनकि त्यो एकतालाई नजिकैबाट हेर्ने एक जना मान्छे म पनि हुँ।
  • कुनै पार्टीले पहिले गरेको निर्णय गलत गरिएछ भन्ने लाग्यो र सच्च्याउन चाह्यो भने सच्चिन पाउँदैन? तपाईंहरु त जनवादी केन्द्रीयता पनि भन्नुहुन्छ?
  • तपार्इंले परम्परागत प्रणालीको कुरा गर्नुभयो। यो सामान्य मुद्दाहरुका सन्दर्भमा लागु हुने कुरा हो। २०४२ सालबाट हामी यो विषयमा छलफल गर्दै आइरहेका छौं। निरन्तर सर्वसम्मत निर्णय गर्दै आइरहेका छौं। यो निर्णय गलत भयो, सच्च्याउँ भनेर औपचारिकरुपमा केन्द्रीय कमिटीमा यो विषय कहिले पनि ल्याइएन। बरु जस्केलाबाट यसलाई उल्टाउने काम गरियो। यी सबै कुराको साक्षी म छु। अरु केन्द्रीय सदस्य साथीहरुले पनि हेरिरहनुभएको छ। जब  राज्यको पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँट समितिले एकल पहिचानसहितको १४ प्रदेश पास गर्‍यो। तब पार्टीभित्र यसलाई उल्टाउने प्रयत्न सुरु भए। अन्तिम बेलातिर उच्चस्तरीय सुझाव आयोग बन्यो। त्यसले काम गर्ने सिलसिलामा पार्टीभित्रका केही नेता साथीहरुको प्रयास त्यहाँ देखियो। आफैंले पठाएका दुई जना प्रतिनिधिलाई स्वतन्त्र र स्वविवेकले आयोगमा काम गर्न दिनुपर्ने थियो। त्यसो नगरेर 'छ प्रदेशमा जाऊ' भनी दबाब दिइयो। एकल पहिचानका पक्षमा दुई तिहाई मत बन्ने वातावरण देखिएपछि पछाडिको ढोकाबाट उल्टाउने प्रयत्न भयो। मेरो गुनासो त्यहाँ हो। तपाईंले भनेको जस्तो गर्ने हो भने त केन्द्रीय कमिटीमा गएर भन्नुपर्थ्यो– हामीले गलत निर्णय गरेछौं, सच्च्याऔं भनेर। त्यो आउँदै आएन। हात्तीवनमा पुगेर छ प्रदेश कि आठ प्रदेश भन्नेखालका कुरा आए। त्यसपछि केन्द्रीय कमिटीमा छलफलको माग भयो। त्यहाँ विगतको निर्णय उल्टाउने ठाउँमा पुगेनौं। यद्यपि असहमति देखा परे। संविधान सभामा अरु पार्टीले मानेनन् भन्ने नाममा आफ्ना निर्णय मनाउन प्रयत्न नै नगर्नेखालको जुन प्रयास भयो, यसले नेतृत्व पंक्तिको विश्वासमा संकट उत्पन्न गर्‍यो। त्यसैले अहिले एमालेले एकल पहिचानको मुद्दा छाड्यो कि छाडेन भन्नेमात्रै होइन, विश्वसनीय ढंगले आफ्नो निर्णय कार्यान्वयन गर्ने कोसिस गर्‍यो कि गरेन भन्ने पनि प्रश्न हो।
  • एमालेको सिद्धान्त सही, नेताचाहिँ गलत भन्न खोज्नुभएको?
  • पछिल्लो दिनमा त नीति सिद्धान्त पनि गलत भयो।
  • पछिल्लो भनेको आठौं महाधिवेशनपछि?
  • आठौं महाधिवेशनका कुरा अहिलेसम्म हामीले मानिरहेकै छौं। तर राज्य संरचनाको यति संवेदनशील मुद्दामा हामीले सही निर्णय गर्न सक्यौं भने यो मुलुक अग्रगतिमा जानेवाला छ। त्यही भएर पार्टीले जुन प्रकारको ढुलमुल, अस्थिर, गलत र अविश्वसनीयखालको भूमिका खेल्यो, यसबाट यो नेतृत्वले हाम्रा मुद्दालाई सही निष्कर्षमा पुर्‍याउँदैन भन्ने ठहरका साथ हामी अहिले संघर्षमा छौं।
  • यस्तो संघर्षका लागि तपाईंहरुलाई विदेशी दातृसंस्थाले पैसा दिएका छन् रे? 
  • यस्तो निरीह र गलत प्रचार किन भइरहेको छ मैले बुझ्न सकेको छैन। कुनै विदेशीले कुनै पार्टी फोड्न र वितण्डा मच्चाउन सहयोग पुर्‍याइरहेको छ भन्ने जानकारी हुनेले त सार्वजनिक गरेर त्यस्ता गलत तŒवलाई कारबाहीमा लैजानुपर्छ। तर कुनै पक्षले राजनीतिक मुद्दा उठाएका कारणले व्यक्ति र समूहलाई अपव्याख्या र गलत प्रचार गर्ने, चरित्र हत्या गर्ने प्रयास भनेको असाध्यै निन्दनीय कार्य हो। 
  • अघिल्लो हप्ता प्रस्तावित 'सामाजिक लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्र्टी'मा तपाईंलाई अध्यक्ष बन्न प्रस्ताव आएको थियो रे। किन आँट नगर्नुभएको?
  • मलाई कुनै पार्टी बनेको पनि थाहा छैन। अध्यक्षता गर्न …अफर' आएको पनि छैन।
  • आयो भने अध्यक्ष बन्नुहुन्छ?
  • मैले आफू नेता हुनका लागि कुनै शक्ति वा समूहको परिकल्पना गरिराख्या छैन। म सामूहिक नेतृत्वमा विश्वास गर्छु।
  • तपाईंले बनाउने पार्टी कस्तो हुनेछ?
  • नेपालको वर्तमान अन्योल र उत्पीडनमा परेका जनताको चाहना र भावना बोक्ने पार्टी कस्तो हुनुपर्ला भन्नेबारे हामी छलफलकै क्रममा छौं। 
  • मार्क्सवादप्रतिको प्रतिबद्धतामा पुनर्विचार हुन्छ?
  • मार्क्सवाद विज्ञानसम्मत दर्शन हो। त्यसैले पुनर्विचार गर्नेभन्दा पनि रचनात्मक ढंगले कार्यान्वयन गर्नेछौं।
  • मार्क्सवादी भएर जाने हो कि भनिदिने मात्रै हो?
  • मार्क्सवाद सागरजस्तो हो। जोसँग जत्रो भाँडो छ, त्यसले त्यत्ति नै उभाएर लिने। सागरमा गागर भनेझैं गाग्रीको साइजअनुसार मान्छेले त्यसलाई ग्रहण गर्ने हो। त्यस कारण आफ्नो मुलुकको वस्तुस्थितिअनुसार शोषण उत्पीडन अन्त्य गर्न के/कति आवश्यक छ, त्यो लिन सक्नुचाहिँ रचनात्मकता हो।
  • त्यसो भए मार्क्सवाद पहिलेचाहिँ मागनिर्देशक सिद्धान्त थियो, अबचाहिँ …चाहिएजति लिनूस्' भनेजस्तो भएछ, होइन?
  • होइन, मार्गनिर्देशक सिद्धान्त नै भने पनि आफ्नो मुलुकका लागि के/कति काम लाग्छ, त्यति लिने भन्नेमात्रै हो।
  • पार्टीहरु नयाँ चुनावमा जाने कुरा गर्दैछन्, तपाईंहरुचाहिँ संविधान सभा पुनर्स्थापना भन्दै हुनुहुन्छ नि?
  • यो मुद्दा हामीले जेठ १५ गतेदेखि नै उठाएको हो। त्यसैले यो मुद्दा लिएर जान्छौं।
  •  
  • चुनाव भयो भने भाग लिने?
  • चुनाव त त्यति सजिलै होलाजस्तो लाग्दैन। अहिलेको अन्योल चिर्न संविधान सभा पुनर्स्थापना नै सबैभन्दा सहज बाटो हो। दलबीचको सहमति प्राथमिक कुरा हो। सहमतिबाट सभा पुनर्स्थापना दोस्रो बाटो हो। त्यसपछि मात्रै मुलुक संवैधानिक बाटोबाट अगाडि जान्छ। त्यसपछि सरकार पनि बन्न सक्छ। यति सजिलो बाटो हुँदाहुँदै जटिल,  द्वन्द्वोन्मुख र मोर्चाबन्दीको बाटो हिँड्न किन दलहरु उद्दत छन्, मैले बुझ्न सकेको छैन।
  • अरु चाहिँ तपाईंहरु द्वन्द्वोन्मुख र मोर्चाबन्दीको बाटोमा हिँड्न खोज्नुभएको आरोप लगाउँदैछन् नि?
  • हामीले त संविधान सभाले राज्य पुनर्संरचना गर्ने सिलसिलामा समिति र आयोगहरुले अघि सारेका निष्कर्षलाई टुंगो लगाउँ भनिरहेका छौं। त्यो बाटोबाट संविधान दिन नसक्नु हाम्रो असफलता हो। हामीले मुलुकलाई शान्ति दिन्छौं भनेका थियौं। संविधान पनि दिने भनेका थियौं। अहिले संविधान छैन। शान्ति पनि संकटापन्न छ।
  • त्यही भएर जनता पनि निराश छन्। त्यो मनोविज्ञानलाई नयाँ पार्टी बनाएर 'क्यास' गर्न सकिएला?
  • 'क्यास' गर्ने होइन, निराशामा आशा जगाउने हो। अन्योलमा मार्गदर्शन गर्ने हो। यसका लागि दलबीच जुन विषयमा विवाद भएर संविधान आउन सकेन, त्यही विषयमा सहमति गरेर संविधान जारी गर्ने भन्ने हो।
  • माओवादी फुट्यो, तपाईंहरु फुट्दै हुनुहुन्छ। कांग्रेसको पनि घरझगडा छ। आफ्नै दलमा मिल्न नसक्नेले अरु दलसँग सहमति गर्लान्?
  • निश्चितरुपमा यो हामी नेताहरुको असफलताको ठोस प्रमाण हो। हामी आफ्नै पार्टीभित्र मिल्न सकेका छैनौं। संविधान ल्याउन असफल भएका छौं। अब शान्ति ल्याउन पनि हामी सफल हुन्छौं कि हुन्नौं त भन्ने प्रश्न खडा भएको छ।   
  • कार्यकर्तालाई यत्रो वर्ष मार्क्सवाद र बहुदलीय जनवादले प्रशिक्षित गर्नु भो, अब नयाँ कुरा गर्दै जाँदा अप्ठेरो हुन्न?
  • जीवन गतिशील छ भन्ने कुरा पनि बताएकै छौं हामीले। राजनीति पनि गतिशील हुन्छ। दुनियाँको परिवर्तनशील भूमिका बुझेर व्यवहारमा प्रयोग गर्न सकियो भने साँचो अर्थमा क्रान्ति र परिवर्तन सम्भव हुन्छ। त्यो विधि र दर्शन पनि …स्कुलिङ' को क्रममै बताएका हुनाले जारी परिवर्तनमा मानिसलाई अन्योल, भ्रम र असन्तुष्टि नहोला। 
  • दुइटा महाधिवेशनमा कार्यकर्ताले सर्वाधिक मत तपाईंलाई दिए। तर जिल्ला अध्यक्षहरु चाहिँ तपाईको नयाँ पार्टी बनाउने अभियानको विरूद्धमा देखिए नि?
  • एमालेमा हजारौं दक्ष, योग्य र अनुभवी कार्यकर्ताको पंक्ति छ। त्यसले मलाई असाध्यै माया गरेको छ। म उहाँहरुप्रति ऋणी पनि छु। जिल्ला अध्यक्षको सन्दर्भमा चाहिँ संचार माध्यममा उहाँहरुलाई मेरो विरुद्धमा रहेको भन्ने ढंगले  प्रोजेक्सन'  गरियो। मसँग आउँदा चाहिँ उहाँहरु असाध्यै मैत्री र मेरा मुद्दामा पूर्ण सहमत पाएँ।  पार्टीमै रहेर यी मुद्दा कार्यान्वयन गर्ने कोसिस गरौं' भन्ने उहाँहरुको आशय थियो। मैले …पार्टीमा रहेर अधिकतम् कार्यान्वयन गर्ने कोसिस गरें र त्यो अति सन्तृप्त अवस्थामा रहेकाले मलाई अब विश्वास छैन। तपाईंहरुलाई विश्वास रहुन्जेल रहन सक्नुहुन्छ, मचाहिँ रहन सक्दिनँ' भनें। जिल्ला अध्यक्षहरुसँग भएको कुरा यही नै हो।
  • अब बन्ने पार्टीको मूल लक्ष्यचाहिँ के हुन्छ?
  • यसबारे धेरै काल्पनिक कुरा नगरौं। हामी कस्तो शक्ति, कस्तो पार्टी, केका लागि, के आधारमा, कस्तो दर्शन र सिद्धान्त भन्ने कुरामा छलफल नै गर्नेवाला छौं। अझै अन्तरपार्टी संघर्षमै छौं तर पछिल्लो पटक अध्यक्षसँग भएको कुराकानीले अन्तरपार्टी संघर्ष टुंग्याउनुपर्ने बेला आएछ भन्ने महसुस भएको छ।
  • नयाँ सपनाले डोरिएर भन्दा पनि आफ्नै पार्टीसँगको इबीले पो पार्टी खोल्न लाग्नुभएको?
  • त्यो अनुमान गर्ने कुनै ठाउँ छैन। हामी त्यस्तो कुनै ठाउँ नै दिँदैनौं।
  • एमालेमा यत्रो वर्ष लगानी गरेकोमा कतै पछुतो त छैन?
  • किन पछुतो हुनु? मैले परिवर्तनका लागि काम गरेको हुँ। एमाले परिवर्तनका लागि जबसम्म अगुवा पार्टी थियो, तबसम्म म त्यसमा रहेको छु। यसै कारण पञ्चायती निर्दलीयता समाप्त भएको छ। पछिल्लो समय गणतन्त्र आयो। संघीय राज्य हुने, धर्मनिरपेक्ष राज्य हुने, सबै जाति भाषा धर्म र संस्कृतिले समानताको हक पाउने भनेर संविधानले लिएर आइसकेको छ। यी सबै कुराका लागि एमालेले राम्रो भूमिका खेल्दै आइरहेको छ। त्यो पार्टीको सदस्यका रुपमा रहन पाउनुलाई मैले गौरव अनुभूति गरेको छु। पार्टीले पुनर्संरचनाको संवेदनशील मागलाई विगतमा सर्वसम्मत ढंगले निर्णय गर्दै आएको हो। तर पछिल्लो समय साथीहरूले ती निर्णय कार्यान्वयन गर्न अस्वीकार गर्नुभो। अस्वीकारमात्रै होइन, घुमाउरो ढंगले उल्टाउने कोेसिस गर्नु भो। त्यसलाई त अरु शब्द पनि प्रयोग गर्न सकिन्छ तर अहिले नगरुँ। त्यस किसिमले आइसकेपछि अब मैले सहकार्यको सम्भावना देखिनँ।
  • यति भनिसकेपछि अब एमालेमा रहने सम्भावना त शून्य प्रतिशत रह्यो होइन?
  • यो कुरा मैले भन्ने होइन। यदि यी मुद्दालाई एमालेले सही ढंगले सम्बोधन गर्छ भने म एमालेमै रहनेछु।
  • त्यो भनेको एमालेले कुनै हालतमा गर्दैन। नगरेपछि जाने भन्ने नै हो, होइन?
  • अब त्यो नगरेपछि हामी रहँदैनौं।
  • नयाँ पार्टी कहिले बन्छ त?
  • हामी छलफलकै प्रक्रियामा छौं। ठ्याक्कै तिथिमिति निर्धारण भइसकेको छैन।
  • एमालेबाहिरका नेताहरुसँग पनि कुरा भइरहेको छ?
  • भइरहेको छ।
  • के भन्नुहुन्छ उहाँहरु?
  • उहाँहरुको भनाइ एउटै छ– पहिले एमाले छाडेर त आउनूस्। त्यसपछि छलफल गरौंला। (लामो हाँसो)
  • तपाईंलाई मात्रै पार्टी छाड्न लगाएर बेवारिसे बनाइदिने त होइनन्?
  • त्यसो होइन। अरू पार्टीका साथीहरू 'तपार्इं अझै अन्तरपार्टी संघर्ष भन्दै हुनुहुन्छ, त्यसरी त कसरी नयाँ पार्टी बन्न सक्छ र' भन्नुहुन्छ।
  • माओवादी र कांग्रेसका नेता पनि तपाईंको पार्टीमा आउने भएका हुन्?
  • व्यक्तिगतरुपमा कसैले निर्णय गर्छ भने मेरो भन्नु केही छैन। तर पार्टी नै कस्तो बनाउने, कहिले बनाउने, केका लागि र के आधारमा बनाउने भन्नेबारे हाम्रो केही निर्णय नभएकाले अहिलेसम्म कुनै ठोस कुरा भएको छैन।
  • गोरेबहादुर खपांगीलगायत् मिलेर जनमुक्ति पार्टी बनाउनुभएको थियो, त्यो खासै प्रभावशाली भएन। तपाईंहरुको पनि त्यही नियति नदोहोरिएला भन्ने के छ?
  • राजनीति हो। नियति जे पनि हुन सक्छ। पाँच जनाले स्थापना गरेको कम्युनिस्ट पार्टी आज झांगिएर देशमा धेरै प्रधानमन्त्रीहरु जन्माउन सफल भइसकेको छ। मुलुकमा धेरै परिवर्तन ल्याउने पार्टी त्यही भएको छ। प्रवासमा केही नेता मिलेर बनेको नेपाली कांग्रेस आज सशक्त पार्टीका रुपमा आएको छ। टंकप्रसाद (आचार्य) जीहरुले बनाएको प्रजा परिषद्ले २००७ सालमा क्रान्ति गर्‍यो। त्यसपछि त्यो दल धेरै फले/फुलेको देखिँदैन। राजनीतिमा जुनसुकै नियति पनि हुन सक्छ।
  • माओवादीसँग मिलेर जाने सम्भावना कत्तिको छ?
  • माओवादीको अवस्था जहिल्यै ढुलमुल। संविधान सभा निर्वाचनको बेला संघीयताबारे रंगीन पृष्ठमा रंगीन सपनाहरु उसले बाँड्यो। त्यही भएर महिला, मजदुर किसानको राम्रो भोट पनि उसले पायो। त्यसैले ऊ सबैभन्दा ठूलो दल भएर आयो। पछि समितिभित्र छलफल भइरहेका बेला १६/१७ प्रदेशको खाका उसले बाँडेको छ। ती वैज्ञानिक छैनन्। एमालेले अघि सारेको १५ प्रदेशको खाका एकदमै वैज्ञानिक छ। तर त्यो बेला माओवादीले दिएको सुझाव अहिले पनि समितिको प्रतिवेदनमा सुरक्षित छ। त्यो ठीक र वैज्ञानिक छैन। विचार र नीति पनि एमालेकै वैज्ञानिक छन्। तर्कसंगत छन्। मान्छेहरुलाई चित्त बुझाउन सकिनेखालका छन्। प्रयोग गर्न पनि सम्भव छ। माओवादीको चाहिँ विचार उग्रवामपन्थी छ। आत्मनिर्णयको अधिकारको कुरा गर्दा छुटि्टन पाउने अधिकार, बहुराष्ट्रिय राज्यजस्ता अवस्तुवादीखालका कुरा ल्यायो। पछिल्लो समय ६ देखि ८ प्रदेशका कुरा एमाले कांग्रेसले हात्तीवनमा प्रस्तुत गरे। प्रचण्डले 'हुन्छ हुन्छ जस्तोखालको कुरा गर्नु भो' भन्ने कुरा आयो। तर पछि १० प्रदेशको कुरा गर्नु भो। फेरि ११ प्रदेशको कुरा गर्नु भो। त्यसकारण माओवादीको विचार के हो त भन्ने प्रष्ट छैन। 
  • त्यसो भए तपाईंहरु आत्मनिर्णय नमान्ने?
  • माओवादीले भनेको जस्तो बहुराष्ट्रिय राज्य मान्दैनौं। बहुल जातीय राज्य हुन्छ, बहुराष्ट्रिय होइन। सबै  जाति भाषा क्षेत्र वर्ण र लिंगका जनता मिलेर यो राष्ट्रलाई अगाडि लैजानुपर्छ। राज्य सञ्चालनमा उनीहरुको पनि समानुपातिक समावेशी सहभागिता हुनुपर्छ। हामी यसमा जोड दिन्छौं। आत्मनिर्णयको अधिकारचाहिँ माओवादीले व्याख्या गरेको जस्तो होइन, संयुक्त राष्ट्र संघले भनेको जस्तो मान्छौं। एमालेले पनि यसबारे सर्वसम्मत निर्णय गरेको छ।
  • स्वायत्तताचाहिँ?
  • संघीयता भइसकेपछि स्वायत्तता स्वतः जोडिएर आउँछ। विना स्वायत्तताको संघीयता त पहिलेको जिविस र अञ्चलको संरचनाजस्तोमात्रै हुन्छ। 
  • तस्बिर :  भास्वर ओझा
  • अन्तर्वार्ताको पूर्ण पाठ र अडियो नागरिकन्युजडटकममा।      









  

No comments:

Post a Comment