स्थान : नगरकोट हिलसाइड भिलेज रिसोर्ट। समय : मंगलबार साँझ सात बजे। हामी १२३ नम्बरको कोठा आइपुगेका छौँ। युग यस कोठामा बसेर दोस्रो उपन्यासलाई आखिरी स्पर्श दिइरहेका छन्। काठमाडौँबाट युग चढेको मोटरसाइकल पछ्याउँदै पत्रकार जनकराज सापकोटासँग म नगरकोट हुइँकिएको हुँ। युगलाई हामीले लखेटिरहेको थाहा भयो कि भएन होला!
युग काठमाडौँ झरेको जानकारी उनको एमफिलको थेसिस हेरिरहेका प्राध्यापक/लेखक अभि सुवेदीले दिएका थिए। लेखकलाई थाहा नदिई उनी बसेको ठाउँ र उपन्यासको तयारीबारे बुझ्ने इच्छा लाग्यो। जाँदाजाँदै तेलकोटमाथिको बाटोमा जनकले भनेका थिए, 'यहाँमाथिका डाँडामा जग्गा दलालहरू नक्सा बोकेर चोरऔँलाले तलका बस्तीतिर इशारा गर्दै गरेका भेटिन्छन्, उनीहरूले जुन प्लटतिर औँल्याएका हुन्छन्, साता दिन नबित्दै डोजर आएर खार्न थाल्छ।'
डाँडामा रिसोर्टहरू छन्। तीमध्ये कुनै रिसोर्टमा युग छन् – ड्रइङ पेपरमा उसैगरी नापनक्सा कोरेर बसेका। रिसोर्टका भाइहरूले सोचेछन्– यो नयाँ जग्गा दलाल रहेछ। उनीहरूलाई थाहा होस् कसरी– ती पेपरमा उपन्यासका प्लटहरूको चार्ट कोरिएको छ भनेर! रिसोर्टका रवीन्द्र बस्नेतले भने, 'रिसोर्टमा धेरै पाहुना आइसके, लेखक आएको चाहिँ यो पहिलो हो।'
२२ दिन बसे युग। सात दिनसम्म एउटा वाक्य पनि लेख्न सकेको होइन। लियो टोल्सटोयको अन्ना केरेनिना, जेम्स ज्वाइसको युलिसिस, गणितका केही किताब पढ्दै बसेछन्। सातौँ दिनमा बल्ल पहिलो वाक्य लेखे रे। त्यसलाई हेरेर भावुक भए होलान्, लामो प्रसव वेदनापछि पृथ्वी देख्न पाएको बच्चो हेरेझैँ। फाइनल टच दिन आएका लेखक त पूरै पुनर्लेखन गर्न पो थालेछन्।
युगको आगामी उपन्यासको पहिलो ड्राफ्ट मैले २०६७ कात्तिकमै पढ्न पाएको थिएँ। 'उर्गेनको घोडा' पढ्दाको रोचकता यसमा छँदै थियो। उनले त्यतिखेर 'चुरे–मध्यरेखा' नाम दिएका थिए। राजनीतिक कारणहरूले सिर्जित आन्तरिक बसाइसराइको थिम समातिएको उपन्यास मार्मिक थियो। गरिमा लगायत केही पत्रिकामा त्यसका अंश छापिए पनि। त्यसपछि आफ्नै छायाँसँग उदास कविले आइन्दा कविता नलेख्ने शपथ खाएजस्तो उनले डेढ वर्ष सम्बन्धविच्छेद गरे उपन्याससँग। उनी अखबारको स्तम्भकार र सम्पादक हुन लागे। समयले उनलाई फेरि उपन्यासकार हुन फुर्सद दिएको छ। त्यसो त बीचबीचमा उनको आख्यानका पात्रहरूमाथि सर्भे चल्दै थियो। भिडियो क्यामेरा बोकेर कहिले भित्री मधेसका गाउँ पुग्थे। सिग्रेट उडाउँदै तिनका फुटेज हेर्थे र उपन्यासको डिजाइन गरिरहन्थे।
यो तपाईँको पाँचौ ड्राफ्ट हो?'
होइन, अन्तिम हो।' पातलो फ्रेम भएको चस्माभित्र उनी हाँसे। मार्लबोरो सिग्रेटले उनको दायाँ हातका माझी औँला र चोरऔँलाको बीचबाट धूवाँ फाल्यो।
चार वटा घर भएको रिसोर्टको शून्यता भयानक छ। युग बसेको कोठा सबैभन्दा तल्लो हो। अलि पर्तिर खोल्सी कराएको आवाज आउँछ। राति बाघ कराएको सुन्दा रहेछन् युग। एक दिन बिहान रिसोर्टमा सोधेछन्। भाइहरूले भन्दिएछन्, कहिलेकाहीँ बाघ आउँछ। डराए कि भनी चेक गर्न उनीहरू रातिराति आउन थालेछन्। कोठामा बत्ती बलिरहेकै छ। गुनुनुनु बतास चल्छ, फेरि थाम्मिन्छ। यता युगको नयाँ अनुच्छेद पूरा हुन्छ। उनीहरूले ठानेछन्– लेखक हुँ भन्छ, बाघको डरले रातभर सुतेनछ।
रिसोर्ट बसेर उपन्यास लेख्ने युग पहिलो नेपाली लेखक भने होइनन्। नारायण वाग्ले पल्पसा क्याफे लेख्दा काभ्रेको बल्थली रिसोर्ट बसेका थिए। अर्का आख्यानकार नारायण ढकालले पोखरा बसेर प्रेतकल्प लेख्न खोजेका थिए। ढकालपत्नीले घरैलाई रिसोर्ट ठान्न भनिछन्। लेखन अवधिभर जागिर र दैनिकीबाट छुट्टी लिएर लेखे। थुप्रै लेखक नगरकोट आउँछन्, प्रकृतिसँग मुग्ध भएर फर्कन्छन्, अनि साहित्य रच्छन्। युगचाहिँ नगरकोट बाहिरको समाज उतार्न नगरकोट आएका छन्।
भोलिपल्ट बिहान हामीभन्दा सबेरै जनक बिउँझिए। बाहिरफेर हेरिसकेपछि हामीलाई उठाए र भने, ल हेर्नुस्, हामी सबै आकाशमा छौँ जस्तो लाग्यो, कुहिरोले जमिन कतै छैन झैँ लाग्छ।'
जोगीको जुरोजस्ता बादलका असंख्य टुक्राहरू ताँती लागेर बसेका छन्। घरिघरि मौसम खुलेजस्तो हुन्छ। फेरि एक छिनपछि भुइँकुहिरो दगुर्दै आइहाल्छ। रिसोर्टमास्तिरका खुड्किलाहरूबाट फुत्रुकफुत्रुक उफ्रँदै झरेका बालकहरूझैँ यो पनि उफ्रँदै आयो। कुहिरोको आफ्नै अनुशासन छ। युग यही कुहिरोभित्र कतै छन्।
उपन्यासको कथानक सार्वजनिक गरिहाल्न चाहन्नन् युग। केही रहस्य बाँकी राख्न चाहन्छन्। आफ्नो कथा लेखिसकेपछि के लेख्ने भन्ने संकट धेरै प्रतिभाशाली लेखकसँग छ, युगको बुझाइ। माइग्रेसनको कथामात्रै होइन यो,' लामो कपाल सम्याउँदै उनले एक लाइन फुत्काए, यो त अजीबको प्रेमकथा हुनेवाला छ।' अरु बेलाभन्दा लामो भएछ युगको कपाल। पाठकहरूलाई छोेटा उपन्यास सुम्सुम्याउने मन हुन सक्छ।
व्यावसायिक प्रकाशन गृह भटाभट आउन थालेपछि प्रतिभाहरूको भाउ बढ्दो छ। कैयन् लेखक आफैँ किताब छाप्ने, आफैँ बेच्ने/बाँड्ने, पाठकसँग आफैँ अन्तर्क्रिया गर्दै हिँड्ने झन्झटबाट मुक्त हुँदैछन्। किताबप्रतिको गम्भीरता र खटाइ पनि बढ्दो छ। लेखक सदाशय र करुणाको पात्र होइन, बिस्तारै बौद्धिक सेलिब्रिटी हुँदैछ। युग त्यसका उदाहरण हुन्। एकचोटि लेखेपछि लेखेँ लेखेँ' भन्ने स्वच्छन्द ढर्राबाट उनी मुक्त छन्। आफ्नै उपन्यासमाथि निर्मम अपरेसन गर्दै अन्तिम तयारीमा जुटेका छन्।
बिन्दास छन् युग। कहिले रातभर जागै लेख्छन्, कहिले कैयन् दिन लेख्दैनन्। खाना र निद्राप्रति बेर्पाह छन्। पात्रहरूसँग लगातार खेल्दा अस्थिरता उत्पन्न हुन्छ कि! चेनस्मोकरझैँ धुवाँ फालेको फाल्यै गर्छन्। साना कुइनेटाहरूमा छट्पटिन्छन्। हामीसँग भेट्ने बेला उनी धेरै दिन घरबाहिर गएकी आमाले बच्चालाई दूध चुसाएपछि सन्तुष्ट भावमा हेरेझैँ देखिन्थे।
युग भन्छन्, मधेसको सेटिङमा लेख्दा त्यहीँका विम्ब खेलाउन सक्नुपर्छ। जिन्दगीका उकाली ओरालीहरूमा' जस्ता भावुक शब्द लेखेर हुँदैन। कहिल्यै पहाड नदेखेको मधेसीलाई उकाली र ओराली कसरी बुझाउने? त्यसका लागि नयाँ भाषा खोजी गर्नुपर्छ। मेरो अहिलेको प्रयत्न त्यही हो।'
युगले कस्तो उपन्यास ल्याउँछन्, हेर्न बाँकी छ। नपढी अनुमान गर्नु उचित हुँदैन। तर, उनको आख्यान साधना वन्दनीय छ। उपन्यास लेख्नु र लेख लेख्नु एउटै होइन। अर्को शताब्दीले पढ्ने गरी कुछ नयाँ' आविष्कार गर्ने कि निर्जीव अक्षरका पहाड उभ्याउने? लेखकमा गम्भीरता आवश्यक भइसकेको छ। रिसोर्टमा बसेर युगले उपन्यास लेख्नुको अर्थ हो– किताब लेख्दा गम्भीर हुनु। एकोहोरिनु, आफूलाई थकाउनु, गलाउनु र निरन्तर अभ्यासपछि कृति पाठकलाई हस्तान्तरण गर्नु। किताब लेख्न सबै लेखक रिसोर्ट नै जानुपर्छ वा पर्दैन – युगको उपन्यास चर्चा हुन थालेपछि अवश्य बहस हुनेछ। केही अग्रज र समकालीन लेखकले केही कप कफी र केही बोत्तल मदिरा पक्कै खर्च गर्नेछन्। रिसोर्ट जानु नै गम्भीरता मान होइन, बरु कामप्रति एकाग्र हुनु भन्नेचाहिँ अवश्य हो। युग र केही नेपाली लेखकमा त्यो गम्भीरता छ।
एक दशक कान्छो उमेरका पत्रकार जनकसँग युगले राणाकालीन दरबार र चालचलनबारे धेरै कुरा सोधे। जनकले रिपोर्टिङका क्रममा सिकेका अनुभव बाँड्दै गर्दा युग आज्ञाकारी उत्सुक बालकझैँ हत्केलामा मुन्टो अड्याएर सुनिरहे। भने, रिपोर्टर हुनुपर्ने रहेछ।'
युगको सेलफोनमा पत्नी कल्पनाको कल आयो। केही मिनेट बोलेपछि मसँग कुरा गराए। युगपत्नीले फर्काइन्, फेसबुकमा तपाईँ आविष्कारक खोज्न नगरकोट गएको स्टाटस देखेकी थिएँ।'
शालीन ठट्टा गरेँ, केही नयाँ खोजी गरूँ भनी घर छाड्ने दोस्रो व्यक्ति हो तपाईँको लोग्ने।'
पहिलोचाहिँ को हो?'
गौतम बुद्ध।'
युगकी यशोधरा दंग परिन्। किनकि उनलाई आफ्नो लोग्ने जेसुकै खोज्न गए पनि घर फर्कन्छ भन्ने पूरै विश्वास छ।
(नागरिक अक्षरमा २०६९ भदौ ९ गते प्रकाशित)
No comments:
Post a Comment