Saturday, December 29, 2012

कुरा खस्रा मिठा 1



रक्सी पुरानै

१२० औं माओ त्सेतुङ दिवसको छेक पारेर किरात एकेडेमीले लेखक झलक सुवेदीलाई 'किरात एकेडेमी राष्ट्रिय पुरस्कार' दियो। सम्मानपत्र र ५० हजार रुपैयाँ राशिको थैलो पनि बुझायो।
प्रमुख अतिथि डाकिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आउन निर्धारित समयभन्दा डेढ घण्टा ढिलो भयो। 'यदा यदा ही धर्मस्य...' को ब्यानरमुनि हिन्दु राष्ट्र मागसहित राप्रपा नेपालका रथयात्रीले बाटैमा अल्झाएछन्। यता पुरस्कारदाताहरू प्रचण्ड पर्खेको पर्ख्यै।
मूल कुरो पुरस्कार दिने हो। दिने एकेडेमी र लिने सुवेदी टाइममा आएकै छन्। एक व्यक्तिका लागि हलभरिका सहभागीलाई घण्टौं कुराउनु सर्वथा अनुचित हो। 'नयाँ संस्कृतिको बाहक' एकेडेमी पनि 'पुरानै संस्कृति' को ढर्राबाट मुक्त भएको देखिएन।  देश फेछर्ौं भन्नेहरूले कार्यक्रम गर्ने शैली र संस्कृतिचाहिँ फेर्नुपर्दैन?
…ठूल्ठूला कुरा' बदल्न भनेर उपाध्यक्ष बाबुराम भट्टराई सरकारमा गएकै छन्। ससाना भनिएका विषयवस्तु त लेखक, कलाकारहरूले बदले पनि भयो नि हौ गाँठे।

Sunday, December 23, 2012

ध्रुवेको डायरी

मेरो नाम ध्रुव हो। म एक सामान्य हात्ती हुँ। परिस्थितिले मलाई 'ध्रुवे' बनाइदियो।

डायरी लेख्न थालेको धेरै भएको छैन। मेरो पढ्नेलेख्ने बानी पटक्कै छैन। म ठूलो भएको पढेर हो र?

तर यहाँ प्रेमको कुरो छ। प्रेमले मान्छेलाई कि कवि बनाउँछ भन्छन्, कि पागल। मैले दोस्रो बाटो रोजें त के बिराएँ?

बुधबार बेलुकी ममाथि गोली हानियो। शरीरमा रगतका छिर्काहरू लत्पतिएका छन्। कुनै पनि बेला मारिन सक्छु भन्ने लागेपछि डायरी मेन्टेन गर्न थालेको छु। क्रान्तिकारी स्टाइल!म ३५ वर्षको भएँ। नेपालीको औसत आयुभन्दा हात्तीको उमेर २० वर्ष बढी छ। नेपालीले के फूर्ति लाउनु हामीसँग?
हिटलिस्टमा मेरो नाम चढाएको छ रे सरकारले। नानीदेखि लागेको बानी गएको छैन। इतिहासमा कसले कति मारेको छ, तिनलाई पनि मार्नुपर्योल। नत्र मलाई पनि आममाफी दिनुपर्यो। ठूलालाई चैन, सानालाई ऐन गर्न पाइन्छ लोकतन्त्रमा?

***
हात्तीले प्रेम गर्नु हुँदैन भनेर कहाँ लेखेको छ? मान्छेलाई लाग्दो हो- हावामा हात हल्लाउँदै गफ दिने, दुई खुट्टा टेकेर हिँड्ने, कुम जोर्नेमात्रै प्रेम बुझ्दछन्।

Monday, December 17, 2012

प्रेमका लागि क्यानडा

Photo : Bijay Gajmer/Nagarik
महाराजगन्जको अपार्टमेन्टमा एक्लै छिन् लेखक मञ्जुश्री थापा। क्यानडा उड्न ठिक्क परेकी।
क्यानडामा उनको के छ?
के छ होइन, को छ?
क्यानडामा छन् डेनियल ल्याक। अर्थात् मञ्जुश्रीका मायालु। नत्र उनी कहिले अमेरिका, कहिले नेपाल बसिरहेकी हुन्थिन् - पुराना वर्षहरूमा झैं।
'म मेरो प्रेमका लागि क्यानडा बसिरहेकी छु,' आइतबार बिहान टोरन्टो उड्नुअघि मञ्जुश्रीले मनको कुरा कहिन्। हामी (लगभग मेरै उमेरको फोटोपत्रकार विजय र म) कुत्कुतियौं।
'ल, किन हाँस्न खोज्या?'
'सकसक लागेर।'
'कुनै पनि नेपाली पुरुषभन्दा बढ्ता स्वतन्त्रता मैले पाएँ,' छ अंग्रेजी पुस्तककी लेखक बोलिन्, 'घरिघरि अत्यास लागेर आउँछ, मेरो जिन्दगी नै कम्प्युटरअगाडि बसेर बित्न लाग्यो कि भनेर।'

Friday, December 14, 2012

लो प्रोफाइलका अग्ला मान्छे

Bhimbahadur Tamang. NC Leader
शुक्रबार बिहान ११ बजे – वानेश्वर थापागाउँ भीमबहादुर तामाङको कोठामा आइपुगे कांग्रेस नेता शशांक कोइराला। तामाङले राधेश्याम अधिकारीलाई डाके। कानुनविद् तथा कांग्रेस नेता अधिकारी– जसकहाँ तामाङ १५ वर्षयता बसिरहेथे।

ग्यारेजमाथि तामाङको कोठा छिरे अधिकारी। टेबुलमा आर्थर कोइस्लर, रिचर्ड राइटलगायतको 'द गड द्याट फेल्ड' किताब पल्टिरहेको थियो।

७८ वर्षे तामाङ केही दिनयता त्यो किताब पढिरहेका थिए। उनले त्यो किताबबारे कोइराला र अधिकारीलाई सुनाए।

शशांकले कुरा मोडे,  'सहमतिको सरकार कसरी बनाउने?'

अधिकारीले थपे, 'अनि सहमति भएन भने? के गर्ने?'

तामाङले आत्मविश्वासपूर्वक जवाफ दिए, 'अरु के उपाय छ र! चुनावमा जाने।'

'विश्वसनीय चुनावका लागि चुनावी सरकार तुरुन्त बन्नुपर्छ,' उनैले थपे।

त्यसपछि तामाङ उठे। आफ्नै हातले चिया पकाए। चियाको चुस्की लिँदै  उनीहरूले एक घन्टाजति कुरा गरे।

म सँग एउटा तारा छ मायाको

केटी :  'म सँग एउटा तारा छ मायाको
      यसलाई एउटा आकाश देऊ
केटा :  मसँग एउटा डुंगा छ मायाको
      यसलाई एउटा सागर देऊ।'
  –गीतकार :  वाशु शशि
    गायक :  गणेश रसिक र झुमा लिम्बु (ओरिजनलचाहिँ   थाहा भएन। झुमाको ठाउँमा अर्कै हुनुहुन्थ्यो) 

Sunday, December 9, 2012

नवीन K यात्रा

बुढानीलकन्ठ स्कुलको एउटा विद्यार्थी 'म पनि गाउन सक्छु' भन्दै आयो- संगीतकार गोपाल योन्जनको घरमा। तिनताक योन्जनको घरैमा रेकर्डिङ स्टुडियो थियो।
योन्जन! आफ्नो समयका डन म्युजिसियन। जोकसैलाई 'बाल' नदिने। सिर्जनाको मूल्यमा कत्ति सम्झौता नगर्ने। धेरै गायक उनीकहाँ आउँथे। कति त फेल भएर जान्थे। एसएलसी रिजल्ट कुर्दो लजालु ठिटोले सामुन्ने उभिएर गीत पो गाउँछु भन्छ ए!
'नारायणगोपालका मीत' ले आँखा झिम्क्याए। स्टुडियो पठाए। कन्ट्रोल रुममा बसेर ढाडस दिए।
क्यापमाथि पहिलोपटक हेडफोन लगाएको १६ वर्षे माइक्रोफोननेर उभियो। अनि आफ्नै कम्पोजिसनमाथि यस्तरी सुर हाल्यो कि! योन्जन त स्तब्ध। पुलकित हुँदै कानबाट हेडफोन हटाए। एकै टेकमा भन्दिए- 'ओके।'
गीत थियो 'जिन्दगी बगेको खोला हो।' गायक- 'द स्टिल ह्विल्स' ब्यान्डका नवीन भट्टराई।
उही हो त्यो बेलाको लजालु केटो, जसले आज नेपाली संगीतको व्याकरण बदलेको छ। उही बाजा, तुकबन्दी मिलेका एकनासका गीत, स्थायी र अन्तराको नियममा हिँड्ने बानी परेको संगीतलाई नयाँ गोरेटोमा हिँडाएको छ। त्यसैले आज ऊ सबैले चिनेको नवीन के भट्टराई भएको छ।

धादिङबेसीमा कुरूप प्रहसन

धादिङ सदरमुकाम धादिङबेसीमा मंगलबार दिउसो कुरूप प्रहसन मञ्चित भयो। नेपाली राजनीतिमा यो पहिलो घटना भने होइन। दलहरूको ताल हेर्दा भन्न सकिन्छ - यो अन्तिम पनि होइन। सोमबार हत्या गरिएका युवा विजय तामाङको शव जिल्ला अस्पतालबाट निकालेर ट्रकमा राखियो। शोक र भयमिश्रित आँखाले हेर्ने स्थानीयको लर्को थियो। टन्नै सुरक्षाकर्मी तैनाथ थिए किनकि सम्भावित मुठभेडको आतंक थियो।
बौद्धमार्गी धार्मिक भेषमा लामा भिक्षुहरू मौन मुद्रामा अघि लागे। बुद्ध धर्म र तामाङ संस्कार जनाउने ध्वजापताकासँगै अघि बढेको जुलुसमा आमा, दिदी, बहिनीहरू रुँदै मिसिए। ट्रकमा राखिएको शवछेऊ आकाश थर्किने गरी उनीहरू रोए। हेर्दाहेर्दै कम्युनिस्ट पार्टीको हँसिया हतौडा कोरिएको रातो झन्डा बोकेर एकीकृत नेकपा माओवादीका नेता कार्यकर्ता आए। ब्यानरमा लेखिएको थियो- 'एमाओवादी धादिङ जिल्ला कमिटी सदस्य विजय तामाङ (कमरेड पेमा) को कांग्रेसी गुन्डाद्वारा गरिएको पाशविक हत्याको घोर भर्त्सना गर्दैछौं।'

जन्मदिनको डायरी

एक जापानी हाइकुको सार यस्तो छ : 'मेरो जन्मदिनमा/एक दिन लामो लाग्छ/ एक वर्षचाहिँ छोटो।' तीन पंक्तिमा लेखिएको यस जापानी कविताले जन्मदिनको महत्व छोटोमा धेरै भनेको छ। विश्वमा सबैभन्दा बढी गाइने गीत 'ह्याप्पी बर्थ डे टु यु' हो। जन्मदिवस मनाउनु ठीक हो कि होइन भनेर यदाकदा बहस हुने गरेका छन्। कसैकसैले त 'जो कोही जन्मिनु कुनै उत्सव मनाइरहनुपर्ने विषय होइन। मानिस त आफ्ना कामका आधारमा महान र साधारण ठहरिने हो। महानहरूको स्मृति दिवस मनाइनुचाहिँ उचित हो' समेत भन्ने गरेका छन्। प्रत्येक व्यक्ति आफ्नो अस्तित्वको शर्तमा महान हो। यदि ऊ महान होइन भने कोही पनि महान होइन। जन्मदिन मनाउनु उचित हो कि होइन भन्नेमै यति साह्रो विवाद हुनुले पनि यो कति महत्वपूर्ण दिन रहेछ भन्ने पुष्टि हुन्छ।

नारायणगोपालले गाएथे चुनावी गीत

स्वरसम्राट नारायणगोपालका निजी मामिलामा थोरै व्यक्ति जोडिए। जो–जो जोडिए, उनको जीवनलाई पूरै प्रभावित पारे। गीतकार नगेन्द्र थापा तीमध्ये एक हुन्।
कवि ईश्वरवल्लभले चिनाइदिएका हुन् नगेन्द्रलाई नारायणगोपालसँग। तिनताक गोपाल योन्जन र नगेन्द्र दार्जिलिङको हिमालय कला मन्दिरमा सँगै काम गर्थे। २०१९ सालतिर।
नारायणगोपाल त्यत्तिखेरै चर्चित। नगेन्द्र पनि दार्जिलिङको साहित्यिक जमातमा छाउँदै थिए। नारायणगोपाललाई नचिन्ने कोही थिएन। 'स्टारडम' ले खडा गरेको दूरी छँदै थियो।
मुडी स्वभावका थिए नारायणगोपाल। हत्तपत्त कसैसँग घुलमिल नहुने। तैपनि उनीसँग नगेन्द्रको यति छिटो हिमचिम भो, मानौं उनीहरू वषर्ौंअघि भेटेका थिए।

Saturday, December 1, 2012

पारिजातकी सखी / बारम्बार आउने अजी

बसन्त बस्नेत
लेखक पारिजातकी एक अमेरिकी साथी थिइन् बारबरा अजिज। प्रत्येक वर्षजसो नेपाल आएको आयै गर्छिन्।
म्हेपीमा बस्थिन् पारिजात। अरु अमेरिकी पर्यटकझैँ हिमाल, पहाड, लुम्बिनी हेर्न पाइएला भन्ने आशले नेपाल आएकी अजिजले काठमाडौँ आएपछि पहिलोपल्ट पारिजातबारे सुनिन्। उनीसँग भेट्ने इच्छा देखाइन्।
पारिजातको घर छिर्न लाग्दा एक जनाले चियोचर्चो गर्‍यो। पञ्चायत उत्कर्षमा पुगेको बेला थियो।
आफ्नो बारे बताएपछि अजिजले सोधिन्, 'तिमीचाहिँ को हौ?'
'म सीआइडी हुँ।'
एउटी कुँजी, अपांग महिला लेखकमाथि राज्यको यति कडा निगरानी देखेपछि अजिजले पारिजातको सौर्य थाहा पाइन्।