Saturday, December 29, 2012

कुरा खस्रा मिठा 1



रक्सी पुरानै

१२० औं माओ त्सेतुङ दिवसको छेक पारेर किरात एकेडेमीले लेखक झलक सुवेदीलाई 'किरात एकेडेमी राष्ट्रिय पुरस्कार' दियो। सम्मानपत्र र ५० हजार रुपैयाँ राशिको थैलो पनि बुझायो।
प्रमुख अतिथि डाकिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आउन निर्धारित समयभन्दा डेढ घण्टा ढिलो भयो। 'यदा यदा ही धर्मस्य...' को ब्यानरमुनि हिन्दु राष्ट्र मागसहित राप्रपा नेपालका रथयात्रीले बाटैमा अल्झाएछन्। यता पुरस्कारदाताहरू प्रचण्ड पर्खेको पर्ख्यै।
मूल कुरो पुरस्कार दिने हो। दिने एकेडेमी र लिने सुवेदी टाइममा आएकै छन्। एक व्यक्तिका लागि हलभरिका सहभागीलाई घण्टौं कुराउनु सर्वथा अनुचित हो। 'नयाँ संस्कृतिको बाहक' एकेडेमी पनि 'पुरानै संस्कृति' को ढर्राबाट मुक्त भएको देखिएन।  देश फेछर्ौं भन्नेहरूले कार्यक्रम गर्ने शैली र संस्कृतिचाहिँ फेर्नुपर्दैन?
…ठूल्ठूला कुरा' बदल्न भनेर उपाध्यक्ष बाबुराम भट्टराई सरकारमा गएकै छन्। ससाना भनिएका विषयवस्तु त लेखक, कलाकारहरूले बदले पनि भयो नि हौ गाँठे।

...
नश्ल होइन, एजेन्डा
किरात एकेडेमीको पुरस्कार दुईले पाइसके। पोहोर 'उर्गेनको घोडा' का उपन्यासकार युग पाठकले, यसपालि …ब्रिटिश साम्राज्यका नेपाली मोहरा :  गोर्खा भर्तीको नालिबेली' का लेखक झलक सुवेदीले। संयोग, दुवै परेछन् बाहुन। अनि पोहोरझैं यसपालि पनि मञ्चमा अध्यक्ष भूपाल राई र एमाओवादी नेता गोपाल किरातीबाहेक सप्पै बाहुनै बाहुन।

उपन्यासकार पाठकले ट्याक्क कुरो मिलाए, …नश्लले होइन, एजेन्डाले हामी एक ठाउँ उभिएका हौं।'
...
झलक/प्रचण्ड दोहोरी

प्रमुख अतिथि प्रचण्ड र पुरस्कार थाप्ने सुवेदी दुवै परेछन् कास्कीका। जमानाका विद्यार्थी नेता सुवेदीले मिलाएर ठोके, 'जब प्रचण्ड आन्दोलनमा लाग्छन्, मलाई समर्थन गरुँ गरुँ लाग्छ। तिनै प्रचण्ड जब सत्तामा जान्छन्, मलाई ढुंगा हानुँ हानुँ लाग्छ।'
प्रचण्ड पनि के कम। आफ्नो पालोमा भन्दिए, …मलाई पनि कलाकार भेट्दा कलाकार हुन मन लाग्छ। खेलाडी भेट्दा खेलाडी हुन मन लाग्छ। लेखक भेट्दा लेखक पो हुनुपर्ने रहेछ भन्ने लाग्छ। कहिलेकाहीँ त लाग्छ, कुन दिनमा यो बाटो लागिएछ।'
मने प्रचण्डका रहर जो छन्!
...

पावरफुल फोटोग्राफर

पंक्तिकारले कतै पढेको थियो – प्रेसले सबैखाले तानाशाहीको विरोध गर्छ किनकि त्यसपछि उसको तानाशाही सुरु हुन्छ।
कुनै कुनै समारोहमा जाँदा वक्तालाई घेरिरहेको फोटोग्राफर समूह हेर्दा सत्य हो कि जस्तो लाग्छ। यसरी झुम्मिन्छन्, दर्शकहरुले देख्नका लागि त्यहाँ केही बाँकी रहन्न।
त्यसमाथि किताब, सिडी विमोचन भइसकेपछि पुग्ने कुनै कुनै फोटोग्राफरले तस्बिर प्रयोजनका लागि फेरि प्रमुख अतिथि र लेखक, कलाकारलाई उभ्याउँछन्। अनि विमोचन गरेजस्तो गराउँछन्। फोटो खिचेर हिँड्छन्।
एकेडेमीको कार्यक्रममा पोहोर पनि यस्तै भयो। कवि विनोदविक्रम केसीको किताब विमोचनमा ढिलो पुगेका फोटोग्राफरले यसै गरे। पंक्तिकारले अन्यत्र पनि यस्तो देखेको छ।

यसपालि 'प्रतापी प्रचण्ड'लाई समेत फेरि उभ्याउने सामर्थ्य राखे फोटोग्राफरले। उनी र सुवेदी फेरि उभ्भिए। प्रचण्डले पुरस्कार दिएजस्तो गरे, सुवेदीले थापेजस्तो। ओहो, फोटोवालेहरूले पनि खिचेजस्तोमात्रै गरेको भए!
कडै हुँदारा'न् यी फोटोग्राफर।
...
प्रचण्डको उमेर बढेछ
लेखक खगेन्द्र संग्रौला प्रचण्डलाई 'साथी प्रचण्ड' भनी बोलाउँछन्। प्रचण्डचाहिँ संग्रौलालाई 'खगेन्द्रदाइ' भनी बोलाउँथे। यसपालि भने उनले 'खगेन्द्रजी' भनी बोलाए। संग्रौलाले के ठाने कुन्नि! पंक्तिकारले चाहिँ ठान्यो, 'प्रचण्डको उमेर बढेछ।'
Nagarik Push 14 Saturday 2069 Collage First Issue....
 

1 comment:

  1. Thanks for sharing, nice post! Post really provice useful information!

    Giaonhan247 chuyên dịch vụ vận chuyển hàng đi mỹ cũng như dịch vụ ship hàng mỹ từ dịch vụ nhận mua hộ hàng mỹ từ trang ebay vn cùng với dịch vụ mua hàng amazon về VN uy tín, giá rẻ.

    ReplyDelete