Sunday, December 9, 2012

धादिङबेसीमा कुरूप प्रहसन

धादिङ सदरमुकाम धादिङबेसीमा मंगलबार दिउसो कुरूप प्रहसन मञ्चित भयो। नेपाली राजनीतिमा यो पहिलो घटना भने होइन। दलहरूको ताल हेर्दा भन्न सकिन्छ - यो अन्तिम पनि होइन। सोमबार हत्या गरिएका युवा विजय तामाङको शव जिल्ला अस्पतालबाट निकालेर ट्रकमा राखियो। शोक र भयमिश्रित आँखाले हेर्ने स्थानीयको लर्को थियो। टन्नै सुरक्षाकर्मी तैनाथ थिए किनकि सम्भावित मुठभेडको आतंक थियो।
बौद्धमार्गी धार्मिक भेषमा लामा भिक्षुहरू मौन मुद्रामा अघि लागे। बुद्ध धर्म र तामाङ संस्कार जनाउने ध्वजापताकासँगै अघि बढेको जुलुसमा आमा, दिदी, बहिनीहरू रुँदै मिसिए। ट्रकमा राखिएको शवछेऊ आकाश थर्किने गरी उनीहरू रोए। हेर्दाहेर्दै कम्युनिस्ट पार्टीको हँसिया हतौडा कोरिएको रातो झन्डा बोकेर एकीकृत नेकपा माओवादीका नेता कार्यकर्ता आए। ब्यानरमा लेखिएको थियो- 'एमाओवादी धादिङ जिल्ला कमिटी सदस्य विजय तामाङ (कमरेड पेमा) को कांग्रेसी गुन्डाद्वारा गरिएको पाशविक हत्याको घोर भर्त्सना गर्दैछौं।'
त्यसपछि शान्तिका दूत गौतम बुद्धको वचन मान्ने भिक्षुका ध्वजा र क्रान्तिकारी एमाओवादी चिनाउने परस्पर विरोधी झण्डाहरू एउटै र्याोलीमार्फत् सदरमुकाम परिक्रमा गरे। भिक्षुहरु त मौन थिए। हेन्डमाइक बोकेर एमाओवादी कार्यकर्ताले चर्का नारा उछाल्न थाले- 'कांग्रेसी गुन्डा मूर्दावाद।' शोक र सहानुभूतिका भावनाभन्दा राजनीतिक नाराले त्यहाँ प्राथमिकता पाए।
एमाओवादी कार्यकर्ताले नारामा स्वर थपे। मृतकका आफन्त कोही चूपचाप, कोही रोइकराइ गरिरहेका थिए। शोकर्या्लीका कतिपय तरुनी तन्नेरी सहभागी एकअर्काको कम्मर समातेर हाँस्दै, छिल्लिँदै थिए। कोही रमिता हेर्नलाई आफूसँगै हिँड्न उक्साइरहेका थिए। सँगसँगै हिँडिरहेका बौद्धमार्गी र कम्युनिस्ट झन्डा दुवैका पछि लाग्नेको संख्या ठूलै थियो। दुई भिन्न दर्शन बोक्ने झन्डाहरु भयभीत माहोलमा परस्पर ठोक्किँदै फहराउनु अनौठो दृश्य थियो। शायद शोकले निहुरिएका अनुहारहरूले आफ्नो शीरमाथि कुन कुन रंगका झण्डा फहराइरहेका छन् हेर्न भ्यानन् वा वास्ता गरेनन्। वास्तवमा त्यहाँ भद्दा प्रहसन आयोजित थियो। विषयवस्तुको वास्तविकतातिर जान कसैले टाउको दुखाएन। घटनाले राजनीतिक रूप लियो। वा भनौं, दिन खोजियो।
धादिङ कांग्रेस सभापति रामनाथ अधिकारी आफ्नै कार्यालय अघिल्तिर गुन्जिएका गालीगलौजपूर्ण नारा टुलुटुलु हेरिरहेका थिए। पंक्तिकारले उनको प्रतिक्रिया जान्न चाह्यो। भन्दै थिए- 'राजनीतिक कारणबाट भएको घटना होइन यो। राजनीतिक नै हो भने पनि दोषीलाई कारबाही हुनैपर्छ। जे कारण र उद्देश्यले भए पनि कसैको ज्यान जानु उचित हुँदैन।' उत्तेजित नाराको प्रतिवाद गर्ने मुडमा थिएनन् उनी। सके यो उनको परिपक्वता थियो। धादिङका पाका पत्रकार सीताराम बर्मा भन्दै थिए- राजनीतिक दलमा सदस्यता लिएकै भरमा दोषीले उन्मुक्ति पाउनुहुँदैन।
विजयको हत्याको १२ घण्टा नबित्दै दार्खा गाउँका भीषण सिंखडाको समेत हत्या भइसकेको छ। राजनीतिक इच्छा नजोडिएको यस घटनालाई पनि दलीय रंग दिन सक्दो मेहनत गरिँदैछ। थाहा छैन, यो शृंखला कसले कहाँसम्म तन्काएर लैजान्छ। अहिलेलाई मंगलबारे र्याहलीकै कुरा गरौं। जुनसुकै कारणले भए पनि विजय र भीषणको ज्यान जानु सबैका लागि पीडाकै विषय बन्नुपर्ने हो। यसलाई अलिकति समीक्षा गर्दा- एक, विजयसँग जोडिएको घटना प्रहरी अनुसन्धान र स्थानीयको टिप्पणी सुन्दा बिल्कुलै राजनीतिक देखिँदैन। दुई, प्रचार गरिएझैं विजय एमाओवादीका जिल्ला कमिटी सदस्य होइनन्। उनी थोरै सांगठानिक गतिविधि गर्ने सामान्य कार्यकर्ता हुन्। तीन, कसैको मृत्युको भावनात्मक आवेगबाट मुक्त भएर इतिहास खोतल्ने हो भने मृतक र आरोपित हत्यारा दुवै चोखा भेटिँदैनन्।
तथ्य यही हो, जो एमाओवादी, कांग्रेस, अन्य दल र स्थानीय सबैलाई छर्लंग छ। यति बुझीबुझी पनि पूर्व सभासद् तथा एमाओवादी केन्द्रीय नेता पुष्पविक्रम मल्ल किञ्चित धक नमानी थपक्क ट्रकमा चढे र जुलुसको नेतृत्व गरे। राजनीतिमा नैतिकता भन्ने कुरा पनि हुन्छ भन्ने तथ्यलाई माटोमा मिलाउँदै जीवनकालमा एमाओवादी र कांग्रेसको 'श्री' जोगाउन पसिना नबगाएका व्यक्तिहरूका नाममा राजनीति गर्न खोजे। झट्ट हेर्दा देखिन्थ्यो, अहो, एमाओवादीले ठूलै जुलुस निकाल्यो। मृत्यु, रगत, आँसु जहिले पनि सेन्सेसनल हुन्छन्। पुष्टि गर्ने आधार कमजोर छ भन्ने जानीजानी कांग्रेसको नाम किटेर आरोप लगाउँदै एमाओवादीले पीडितको रगत र आँशुलाई दुरुपयोग गर्योज। सत्तामा बसेको दलले फेरि एकपल्ट अपरिपक्वता दर्शायो।
ठिक एक वर्षअघि कांग्रेसले यस्तै घटना गराएको थियो। चितवनमा तरुण दलका नेता शिव पौडेल मारिएपछि उसले देशभरि मच्चाएको उधुम जनताले बिर्सिसकेका छैनन्। खास केही व्यक्तिका अन्तर्निहित स्वार्थलाई जब राजनीति खोल भिराइन्छ, त्यसपछि शिव र विजयहरू 'राष्ट्रिय गौरव' का नायक हुन्छन्। बितेर जानेहरूप्रति श्रद्धाञ्जली दिनुुको सट्टा तिक्त कुरा किन गरेको भन्ठान्नेहरू पनि होलान्। इतिहासले जब मूल्यांकन गर्न थाल्छ, को बाँचेको छ, को बितेको छ भन्ने प्रश्नको त्यति ठूलो महŒव हुन्न। भोलि कुनै एमाओवादी समर्थकले कांग्रेसको अर्को सामान्य समर्थकमाथि यस्तै कुनै व्यक्तिगत इबी वा लेनदेनको विषयलाई आधार बनाएर आक्रमण गर्योक भने जसरी त्यसको औचित्य पुष्टि हुँदैन, त्यसरी नै एक वर्षयताका यी दुई घटनाको पक्षमा तर्क बलिया हुन सक्दैनन्। प्रश्न भनेको यो हो।
मृतक, घाइते वा जोकोही पीडितलाई दलीय रंग दिएर गौरव गरिने अभियानले सभ्य समाज निर्माणलाई सघाउँदैन। त्यसरी नै राजनीतिक दलसँगको आबद्धता देखाएकै आधारमा कुनै दोषीले अभयदान पाउनुहँुदैन। राजनीतिक एजेन्डा गुमाउँदै गएपछि दलहरूले जनतालाई मोहनी लगाइरहन अतिरिक्त जादू टुना गर्न थाल्छन्। सोझा कार्यकर्ता र कतिपय सर्वसाधारण त्यसैलाई सही थाप्दै प्रदर्शनमा होमिन्छन्। स्वभावैले समूहगत तनावहरूले प्रतिशोधको भावना बढाउँछन्। जब मान्छेमा अन्धभक्ति जुर्मुराउँछ, सत्य चूप लाग्छ। त्यसको परिणाम कस्तो आउँछ, यसै भन्न सकिन्न।
धादिङबेसीमा पोखिएको रगत जसको भए पनि कमसेकम मान्छेको हो। झट्ट हेर्दा मृतकको पक्षमा देखिएको शोकर्यािलीभित्र अनेकन स्वार्थका कथा छिपेका छन्। बौद्ध ध्वजासँगै दलीय झण्डा खप्ट्याइएको शोकर्या लीका सहभागी धादिङवासीहरू, के तपार्इंहरूलाई घटनापछाडि लुकेका तथ्यका पाना पल्टाउने फुर्सद र हिम्मत छ? कम्तीमा रगतको खोलो बगिरहेको जमिनमा शान्तिको कामना गर्ने बौद्धमागी ध्वजा र हँसिया हतौडा कोरिएका राता झण्डाहरूले यसको जवाफ नदिई सुखै छैन।

No comments:

Post a Comment