Saturday, December 1, 2012

पारिजातकी सखी / बारम्बार आउने अजी

बसन्त बस्नेत
लेखक पारिजातकी एक अमेरिकी साथी थिइन् बारबरा अजिज। प्रत्येक वर्षजसो नेपाल आएको आयै गर्छिन्।
म्हेपीमा बस्थिन् पारिजात। अरु अमेरिकी पर्यटकझैँ हिमाल, पहाड, लुम्बिनी हेर्न पाइएला भन्ने आशले नेपाल आएकी अजिजले काठमाडौँ आएपछि पहिलोपल्ट पारिजातबारे सुनिन्। उनीसँग भेट्ने इच्छा देखाइन्।
पारिजातको घर छिर्न लाग्दा एक जनाले चियोचर्चो गर्‍यो। पञ्चायत उत्कर्षमा पुगेको बेला थियो।
आफ्नो बारे बताएपछि अजिजले सोधिन्, 'तिमीचाहिँ को हौ?'
'म सीआइडी हुँ।'
एउटी कुँजी, अपांग महिला लेखकमाथि राज्यको यति कडा निगरानी देखेपछि अजिजले पारिजातको सौर्य थाहा पाइन्।

अजिज ती महिला थिइन्, जसले पारिजातसँगको संगतपछि नेपाललाई सुन्दर प्रकृतिको देश हो भन्ने बनिबनाउ चस्मा खोलिन्। सट्टामा वर्गीय दृष्टिकोण राखेर हेर्न सिकिन्। असमान समाज व्यवस्था बदल्न नयाँ चस्मा लगाइन्। पारिजातलाई रोलमोडल मान्ने अजिज उनीप्रतिकै अतिशय सम्मान दर्शाउन नेपाल आएको आयै गर्छिन्।
पारिजात बितेको दुई दशक पुग्न लाग्यो। यी आमै भने यस्तै के के सम्झेर नेपाल आइरहन्छिन्। पारिजातकी बहिनी सुकन्यालाई भेट्छिन्। नेपाली साथीहरू भेट्छिन्। परिवर्तनमुखी पत्रकारिता र मानव अधिकारसम्बन्धी बहस गर्छिन्।
टाढाबाट नेपाल र नेपाली सम्झेर बारम्बार आइरहने अजी। अर्थात् बारबरा अजिज।
...
सिक्किम नाम्चीस्थित निर्माण प्रकाशनले पारिजातका ठूलादेखि फुट्कर कृतिसमेत मिलाएर छ खण्डमा 'पारिजातका संकलित रचना' छपाएको छ। छैटौँ खण्डमा पारिजातका अखबारी निबन्ध र अन्तर्वार्ता छापिएका छन्। तीमध्ये एउटा निबन्ध छ – 'पत्र :  बारबरा अजिजलाई'। त्यसमा अजिज एउटी संघर्षशील महिला योद्धाका रुपमा वर्णित छिन्।
पाँचथरको सप्तमी बजारमा पढ्दाताक स्कुले समयको कुनै एक दिन मैले अजिजको नाम सोही किताबमा फेला पारेको थिएँ। केटाकेटी दिमागले उनी को हुन् भन्ने उति नखुट्ट्याए पनि पारिजातजस्ती लेखकले सम्बोधन गरेर पत्र लेखेकी पात्र हुनाले उनी ठूलै महिला हुन् भन्ने परेको थियो।
काठमाडौँ छिरेको तीन वर्ष नबित्दै मैले अजिजलाई दुईपटक भेटिसकेँ। पोहोर साउनमा त्रिभुवन विश्वविद्यालयस्थित सिनासमा, अनि यसपालि असोज २६ गते पारिजात स्मृति केन्द्र रातोघर रविभवनमा। सिनासमा यी ७८ वर्षे अजी (नेवारी भाषामा अजीको अर्थ बज्यै हुन्छ) ले कम्ती खतरा भाषण गरिन् त!! लेखक स्नेह साय्मीले फेसबुकको भित्तोमा उनी फेरि आउने सूचना के टाँसेका थिए, कामधन्दा छाडेर उतै हुर्रिइहालेँ।
अजिजले महिला आन्दोलनकी प्रतीक योगमायाबारे किताब लेखिन्। एसियाली अनुसन्धान केन्द्रले प्रकाशन गरेको तीन नेपाली आन्दोलनकारी महिलामध्ये एक थिइन् योगमाया। किताबमा योगमायाका कविताहरू पनि समेटिएका छन् जहाँ अजिजको टिप्पणी उल्लिखित छ। एकतन्त्रीय राणाशासनविरुद्ध जनचेतना फैलाउन पहिलोपटक महिला संगठन खोलेर संगठित आन्दोलन छेड्ने योगमायालाई पश्चिमा समुदायमा चिनाउन अजिजले गरेको योगदान प्रशंसित छ।
न्युयोर्कमा जन्मे पनि अरबी मूलको आफ्नो परिचय लुकाउन चाहन्नन् अजिज। युनिभर्सिटी अफ लन्डनबाट सोसियल एन्थ्रोपोलोजीमा पीएचडी उनी हिजोआज प्राज्ञिक परिचय लुकाउँछिन्। आफूलाई ठान्छिन् सिर्फ एक पत्रकार। हो, उमेरको असी वर्षछेउ पुग्दै गर्दा उनी न्युयोर्कको असाध्यै व्यस्त र महँगो वाल स्ट्रिटमा रेडियो स्टेसन चलाइरहेकी छन्। प्यासिफिका डब्लुबीएआई रेडियोमा उनको 'ताहरिर :  द भ्वाइस् अफ अरब वर्ल्ड' नामक कार्यक्रम श्र्रोताहरूबीच चर्चित रहेछ। ताहरिर, जसको अर्थ स्वतन्त्रता भन्ने लाग्छ।
'अमेरिका बसेर बरु अमेरिका स्वयंबारे विरोध गर्नु सजिलो छ, तर इजरायलविरुद्ध बोल्नु कठिन, किनकि अमेरिकी नीतिनिर्माणको तहमा यहुदीको संख्या धेरै छ, त्यही कठिन काम बारबराले गरिरहनुभएको छ,' यति भनेर सायमीले उनलाई बोल्न आग्रह गरे। अजिजवाणी रेकर्ड गर्नुपर्‍यो भनेर रेकर्डर यस्सो उनीछेउ पुर्‍याएको। बुढीले त झन्डै मारिन्। रेकर्ड गर्नै दिइनन्।
रेडियो चलाउने मान्छे रे! आफूले बोलेको चाहिँ रेकर्ड गर्नै नदिने! एकछिन त रिस पनि उठ्यो।
'सरी' भनेर रातोघरको पूर्ववत् स्थानमा रातो हुँदै पलेटी कसेँ। पोहोर पुसमा गायत्री चक्रवर्ती स्पिभाक आउँदा पनि यस्तै भएको थियो। स्पिभाक तयार थिइन्, रेकर्डरले धोका दियो। यसपालि रेकर्डर तयार थियो, अजिजले धोका दिइन्।  
'जर्नलिस्ट्स क्वेस्ट फ्रम काठमान्डु टु कायरो' शीर्षकमा डा. अजिज बोल्न थालिन्। यता नोटबुकमा बलपेनको म्याराथन सुरु भो।
.......
'नथिङ इज् अब्जेक्टिभ, एन्ड नथिङ इज आउट अफ पलिटिक्स।'
सुरुमै आमैले अल्मल्याइन्। 'वस्तुपरक र निष्पक्ष सूचनाका लागि ज्यान दिन तयार' पत्रकार एकछिन वाल्ल परे।
'त्यसैले हामी कुनै न कुनै कोण समात्छौँ, आवश्यकता हेरी दृष्टिकोण फेछर्ौैँ पनि,' मोटा बाइँ लगाएका हात कसिलो पारामा उज्याउँदै अजिज अघि बढिन्, 'हामीले सधैँ राजनीतिक कुरा गर्नुपर्छ, तर पार्टीको कुरा होइन।'
उफ, पार्टीको कुुुरा नगरेर कस्तो राजनीतिक कुरा गर्नुपर्ने हो!
'हामी पार्टी होइन, दृष्टिकोणको कुरा गर्छौँ, रेडियो पत्रकारिता पढाउँदा विद्यार्थीलाई यसै भन्ने गरेकी छु,' अजिजले भनिन्, 'रेडियोमा पनि।'
यति भनेर उनले ओढिराखेको बर्की ख्वास्स झारिन्। मेरी आमै! उनले पहिरिएको टिसर्टमा त उनकै रेडियोको विज्ञापन पो रहेछ। टिसर्टमै विज्ञापन – पैसै नलाग्ने। 
अजिजले अगिल्लो वर्ष सिनासमा आफू किन विश्वविद्यालयीय सैद्धान्तिक ज्ञानको चंगुलबाट फुत्केर पत्रकारितामा लागेँ भन्नेबारे लामो व्याख्यान दिएकी थिइन्। गिनेचुनिएका बुद्धिजीवीलाई ललकार्दै उनले केवल प्राज्ञिक विलास समाज परिवर्तनका लागि पर्याप्त नहुने, यसका लागि सर्वसाधारणबीच जानैपर्ने, त्यसका लागि पत्रकारिता सबैभन्दा बलियो माध्यम हुने जिकिर गरेकी थिइन्।
अजिज त बुद्धिजीवी र पत्रकारबीच सेतुका रुपमा उभिइन्। मैले नै कत्ति स्वनामधन्य प्राज्ञ, प्राध्यापक र बुद्धिजीवी भेटेको छु, जो पत्रकारलाई कुनै कामका मान्छे ठान्दैनन्। अनि पत्रकार, जो प्राध्यापक, बुद्धिजीवीलाई देशनिकाला नगरी देश उँभो लाग्दैन भन्ने ठोकुवा गर्छन्।
जो एकअर्कालाई दुई कौडीको माल ठान्दैनन्, सौभाग्य वा दुर्भाग्यले अजिज यी दुवै थिइन्।
तर्क र बहसले पत्रकार र बुद्धिजीवी दुवैलाई कायल पारेकी अजिजले यसपालि पनि फुल फ्लेजेड पर्फमेन्सलाई निरन्तरता दिइन्। 'म त बुढी भइसकेँ, अझै अशक्त र निमुखाका खातिर डटिरहेछु,' मुन्द्रा लगाएकी अजीले दुवै हातका पाँच–पाँच औँला परस्परमा खप्ट्याएर पड्काइन् र पत्रकारतिर संकेत गरिन्, …हाम्रो उद्देश्य केवल राम्रो लेख्नु वा रिपोर्टिङ गर्नु होइन, बरु देश र जनताका लागि केही सार्थक कलम चलाउनु हो।'
अजिज ठ्याक्कै १० वर्षअगि काठमाडौँ आउँदा नेपाल सशस्त्र द्वन्द्वमा थियो। त्यो बेला काठमाडौँबाट छापिने एक अंग्रेजी दैनिकको अंक उनले संग्रह गरिराखेकी रहिछन्। हामीलाई देखाइन् र पहिलो पृष्ठको एक समाचार पढिन्। त्यसमा लेखिएको थियो – 'विकास र शान्ति स्थापनाका लागि बेलायतले अनुदान दिने। आतंकवादविरुद्ध लड्न भनेर सैन्य सहयोग पनि दिने।'
नेपालको विद्रोह दबाउन बेलायतले पैसा दिन लागेको समाचार पढ्दा आफू त्यसबेला स्तब्ध भएको उनले बताइन्। हाम्रो लागि त त्यो के नौलो कुरा थियो र!
इजिप्ट जाने सम्बन्धमा यस्तै भएछ अजिजलाई। इजिप्सेली विद्रोह हेर्न कायरो जाँदा उनले देखिछन्, जताततै अमेरिकी छन्। अनि छन्, अमेरिकी पत्रकार। 'त्यसपछि म इजिप्ट गइनँ, किनकि त्यो त अमेरिकीले भरिएको थियो, इजिप्ट पुग्दा इजिप्सेली नभेटेर उही अमेरिकी नै भेट्नुपर्छ भने किन गइराखूँ म इजिप्ट?' अजिजले जवाफी प्रश्न गरिन्।
युद्धैयुद्धले जेलिएको मध्यपूर्वको मानचित्र एकएक गर्दै डुलेकी अजिजले केवल स्टोरी सेल गर्न नगएको जिकिर गरिन्।
अमेरिकाको आलोचनात्मक विवेकमा काफी खोट भए पनि बाँकी विश्वले भ्रम पालिराखेको उनको ठहर थियो। जस्तो कि, अमेरिकीहरू सामान्यतयाः एउटामात्रै समाचार च्यानल हेर्न वा पत्रिका पढ्न रुचाउने गरेको उनले खुलाइन्। यस्तो किन त?
अरु सुन्न पढ्न लागियो भने त कन्फ्युज्ड भइहालिन्छ नि भन्दा रहेछन् उनीहरू। जब कि दल र व्यावसायिक घरानापिच्छेका धारणा प्रसार गर्ने मिडियाको बोलवाला छ अमेरिकामा। यस्तोमा कसरी तथ्य वा वस्तुपरक (अब्जेक्टिभ) सूचनाको आश गर्ने, प्रायोजित सूचनामा को भर परिरहने? अमेरिकाको दैनन्दिन राजनीतिदेखि हुनलागिरहेको राष्ट्रपति चुनावसम्मै कर्पोरेट लगानी छ।
'नोम चोम्स्कीलाई ईश्वरले आशीर्वाद दिऊन्,' उनले हँसाइन्, 'तर, अमेरिकामा कर्पोरेट प्रेसको काम छैन भन्ने पुष्टिचाहिँ भइसकेको छ।'
कर्पोरेट मिडियाको खिचातानीमा तपाईँको रेडियो सर्भाइभ गर्न सक्ला त? अथवा बाँच्यो भने पनि त्यसको जनमानसमा के प्रभाव रहला? त्रिभुवन विश्वविद्यालयबाट सहभागी शिक्षक नीति अर्यालको प्रश्न।
'हो, हाम्रो अवस्था चिन्ताजनक हुनसक्छ,' अजीले दाँतका दुई पंक्तिबीच जिब्रो लगिन्, यताउता चलाइन् र थपिन्, 'तै पनि के गर्ने र, आशा नगरेर।'
'त्यसका लागि हामीले मिसन पत्रकारिताको धार त्याग्नु हुँदैन', उनले भनिन्।
रिपब्लिका दैनिककी पत्रकार अस्मिता मानन्धरले फरक मत राखिन्, 'यो व्यावसायिक पत्रकारिताको समय हो, खै म त कुनै मिसनमा छु जस्तो लाग्दैन।'
'तिम्रो आफ्नो मिसन नहोला, तर अरु कसैको मिसनमा त काम गरिरहेकी हुनसक्छ्यौ नि,' अजिज बहसमा उत्रिन्, 'सामान्य अवस्थामा थाहा हुन्न, खास समय आउन देऊ, आफैँ थाहा पाउँछौ यो मिसन हो कि होइन भनेर।'
सन्नाटा।
'ए साँच्ची, तिम्रो उमेर कति भो?'
'२२ वर्ष।'
'ओहो, २२ वर्षको उमेरमा त मेरो पनि कुनै मिसन थिएन।'
हलमा हाँसो गुन्जियो। भुइँमा खसालेको बर्को अजिजले ओढिन्।
रेडियोको विज्ञापन छोपियो।
Nagarik, Mangsir 16, Saturday 2069

No comments:

Post a Comment