Sunday, December 9, 2012

नवीन K यात्रा

बुढानीलकन्ठ स्कुलको एउटा विद्यार्थी 'म पनि गाउन सक्छु' भन्दै आयो- संगीतकार गोपाल योन्जनको घरमा। तिनताक योन्जनको घरैमा रेकर्डिङ स्टुडियो थियो।
योन्जन! आफ्नो समयका डन म्युजिसियन। जोकसैलाई 'बाल' नदिने। सिर्जनाको मूल्यमा कत्ति सम्झौता नगर्ने। धेरै गायक उनीकहाँ आउँथे। कति त फेल भएर जान्थे। एसएलसी रिजल्ट कुर्दो लजालु ठिटोले सामुन्ने उभिएर गीत पो गाउँछु भन्छ ए!
'नारायणगोपालका मीत' ले आँखा झिम्क्याए। स्टुडियो पठाए। कन्ट्रोल रुममा बसेर ढाडस दिए।
क्यापमाथि पहिलोपटक हेडफोन लगाएको १६ वर्षे माइक्रोफोननेर उभियो। अनि आफ्नै कम्पोजिसनमाथि यस्तरी सुर हाल्यो कि! योन्जन त स्तब्ध। पुलकित हुँदै कानबाट हेडफोन हटाए। एकै टेकमा भन्दिए- 'ओके।'
गीत थियो 'जिन्दगी बगेको खोला हो।' गायक- 'द स्टिल ह्विल्स' ब्यान्डका नवीन भट्टराई।
उही हो त्यो बेलाको लजालु केटो, जसले आज नेपाली संगीतको व्याकरण बदलेको छ। उही बाजा, तुकबन्दी मिलेका एकनासका गीत, स्थायी र अन्तराको नियममा हिँड्ने बानी परेको संगीतलाई नयाँ गोरेटोमा हिँडाएको छ। त्यसैले आज ऊ सबैले चिनेको नवीन के भट्टराई भएको छ।

...
नवीन त्यो बेला संगीतमा छाउँदैथिए, जुनबेला रेडियो नेपालको एकछत्र सूचना साम्राज्य तोड्दै एफएम खुल्न थालेका थिए। नारायणगोपाल, भक्तराज आचार्य, बच्चुकैलाश, प्रेमध्वज प्रधानको दबदबा थियो। नेपाली संगीतले उत्कर्ष छोएको बेला नयाँ धारको कुरा गर्नु चुनौती थियो।
नवीनले त्यसलाई सफलतापूर्वक सामना गरे। 'आँखामा तिमीलाई' रेकर्ड गराए। तु. सुपरहिट। पपगीतलाई हेर्ने नजरिया बदल्न यो गीतले सघायो।
के थियो 'आँखामा तिमीलाई' मा, जसले नवीनलाई यति साह्रो हिट बनायो? 'यसको शब्द,' छिर्केमिर्के क्यापभित्र टाउको हल्लाउँदै सोफामा ढल्केका नवीनले नागरिकसँग भने, 'स्रोताहरूलाई नयाँ खालको लागेछ।'
हुन पनि 'आँखामा तिमीलाई' मा स्थायीमात्रै छ। त्यही एउटा स्थायी गाएको गायै!
अग्रजले टिप्पणी गरेछन्, 'कस्तो गीत गाएको यो, अन्तरा नै नभएको!'
'रहरै रहरमा' एल्बम निकालिसकेका किशोर गायक आफ्नो शैलीप्रति अनभिज्ञ थिएनन्। बरु 'कुछ नवीन गरुँ' भन्ने उनको प्र्रयत्नको प्रतिफल थियो त्यो। प्रश्न र आलोचनाबीच गीत यति चल्यो कि, विनाअन्तराको यही गीतले नवीनको करिअरमा अन्तर ल्याइदियो।
'गीत भनेको यति नै अन्तराको वा अन्तरा अनिवार्य भएको हुनुपर्छ भन्ने छैन,' थोरै बोल्ने, बोली रोकेर छोटो इन्टरल्युड झैं घरिघरि शर्माउने गायकले तार छोइरहेका खिरिला औंला गितारबाट निकाले। अनि दार्शनिकझैं बोले, 'संगीत नदी हो, जुन बाटो भएर जहाँसम्म बग्छ, बग्न दिनुपर्छ।'
'स्थायीवाले गायक' को गीत कम्पोज गर्ने शैली पनि नवीन। अहिलेसम्म बदलिएको छैन। नवीन पहिले संगीत कम्पोज गर्छन्। संगीतको फ्रेमभित्र शब्द खोज्छन्। बीचबीचमा शब्द बदलिरहन्छन्। जोकसैका गीत गाउँदैनन्। गीतकारले गीत बुझाइसकेपछि पनि धर पाउँदैन।
अर्थात्, सामान्य प्रचलनभन्दा ठीक उल्टो। सामान्यतयाः हुनेगर्छ के भने - गीतकारले गीत दिन्छ। संगीतकारले आफ्नो हिसाबकिताबले धुन हाल्छ। अनि गायकले आफ्नो पालोमा गाउँछ। हिजोआज त यी तीनको परस्पर भेटघाट पनि प्रायः हुन छाडेको छ। जस्तो कि, देविका प्रधानको 'एउटा परदेशी आई' गीत चर्चित भएकै दुई दशक पुग्यो, रचनाकार ललिजन रावल र गायिका प्रधानको अझै भेट भएको छैन।
यो अवस्था नवीनमा लागु हँुदैन।
'हामी आपसमा सल्लाह गर्दै गीत निर्माण गर्छौं,' ३९ वर्षे स्टार गायक गीत निर्माणको प्रक्रिया खुलाउँछन्।
हार्मोनियम, किबोर्डमा संगीत रच्ने प्रचलन नवीनमा लागु हुँदैन। गितार उनको प्रिय बाजा। उनी त्यसमैमा गीत रच्छन्। नवीन निवासमा डेरा बस्ने नागरिककर्मी प्रकाश तिमल्सिना भनिरहेथे, 'हरेक बिहान चार बजे उठेर गितारमा साधना थाल्छन्। कन्सर्टका लागि काठमाडौं वा नेपालबाहिर गएका बेला बिहानपख घरै रित्तो भएजस्तो हुन्छ।'
पिंक फ्लोयडका फ्यान उनी प्रायः अरुका गीत गाउँदैनन्। सुरेशकुमारका भने पारखी रहेछन्। बजारमा आउन लागेको एघारौं एल्बम 'काठमाडौं' का लागि दार्जिलिङे गायकसँग एउटा गीत उपहार मागेछन्। सुरेशकुमारले पनि आफ्नो स्टार फ्यानलाई उपहार दिएछन्, 'फिकाफिका छ तिमीविना मेरो यो जिन्दगी...।'
एल्बम बजारमा आउन पाएको छैन। युट्युबमा भने पहिल्यै हिट।
गितारमै र पपगीतलाई गीत नमान्ने जमाना थियो। सर्वत्र रेडियो नेपाल हावी। त्यसको आफ्नो परम्परा हुने नै भयो। त्यसो त स्वर परीक्षा पास नगरी गीत गाउन नपाइने। हदै मेहनत गर्ने चलन एकातिर थियो। अर्कातिर चर्को कर्मचारीतन्त्रबीच आफूलाई स्थापित गराउनुपर्ने चुनौती। नवीन यस अर्थमा भाग्यमानी ठहरिए। पछि त जो पनि गायक हुन थाल्यो भनेर बग्रेल्ती आलोचना सुनिन थाले। 'झिँगाले जानेको कुरा कति गाउनु' भनेर स्थापित स्वनामधन्य गायकहरू पपगायकलाई उडाउँथे। हुन पनि कतिपय गीत सुन्दा तिनीहरू संगीतका बाइप्रोडक्ट लाग्थे। पूर्वीय शास्त्रीय संगीतलाई आदर्श मानेर गीत गाइने समयमा पाश्चात्य बाजा बजाउँदै नयाँ शैलीका गीत गाउनेलाई कतिले 'अल्लारे, ट्यापे, अर्थ न बर्थका गीत गाउने हिप्पी' जस्ता नामले खिसिट्युरी गरे।
नवीन यस अर्थमा भाग्यमानी ठहरिए। तर उनको 'भाग्य' चिठ्ठा परेर खुलेको थिएन, एकाग्र साधनाले निर्मित थियो।
रेडियो नेपालले पपगीत अति कम बजाउने। त्यसो त ओमबिक्रम विष्ट, हरिश माथेमा, भीम तुलाधर आइसकेका थिए। जसै नवीन मिस्सिए, उनले सफलताको उचाइ छोए। २०५३ सालमा पहिलो एल्बम 'रहरै रहरमा' प्रकाशित भयो। सुपरहिट 'आँखामा तिमीलाई' सहित 'सम्झना तिम्रो मिठो छ, भिजेको नजर, आकाश रुन्छ' ले स्रोताको माया पाए। 'रहरै रहरमा' नवीनको त्यो मोड थियो, जहाँबाट कहिल्यै पछाडि फर्कनु परेन।
अघिल्लो पुस्ताले नवीन संगीतको वैधानिकतामाथि प्रश्न उठाउन छाडेको थिएन। तर नवीनका समकालीन पनि 'खतरै' थिए, जस्तो कि - मोहन भुसाल, दीपक बज्राचार्य, निमा रुम्बा : जो नयाँ शैलीलाई गुणस्तरीय भाकामा पस्कन्थे। नयाँ पुस्ता यिनकै गीतमा लहसियो।
कत्तिले यिनैका गीत सुन्दै प्रेम गरे। नेपाली पपगीत कसैका भ्यालेन्टाइन गिफ्ट हुनथाले। पपगीत सुनाएरै प्रणययाचना गर्ने भेटिए। पपगीतमै मिलन र रोमान्सहरू भए। टाढा हुने, विदेशिने, फर्कने, बिछोडिनेहरूले पपगीतमै रोए। विदेशी गीतमा रत्तिने बानी परेको एउटा सहरीया पुस्ताले पहिलो पटक नेपाली गीत सुन्यो। नवीन भट्टराईहरू नायक भए।
तत्कालीन युवराज श्री ५ दीपेन्द्र 'आँखामा तिमीलाई' का बहुधा फ्यान थिए। एमाओवादी अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहाल अस्तिमात्रै फेसबुक स्टाटसमा नवीनकै गीत लेखेर मनको बह पोख्दैथिए,
'खाँदै नखाको विषले ज्युँदै मार्‍यो
बोल्दै नबोले नि बात लाग्यो।'
नवीन प्रभाव!
'रहरै रहरमा' को एक वर्षपछि नवीनले दोस्रो एल्बम निकाले - 'आभास।' आठ गीत समेटिएको एल्बमका सबै गीत सुपरहिट। 'साँझपख एकान्तमा, तिमीलाई म दोबाटोमा, लाखौं पटक, रात बित्यो हेर तिम्लाई सम्झेर, खुसियाली अझै, जाऊ न जाऊ तिमी, भौतारिरहेको थिएँ, आँखामा हेरें'। बस्! नवीन, नवीन, नवीन। एफएमहरूमा, अखबारहरूमा, कन्सर्टहरूमा, जमघट र पार्टीहरूमा, पिकनिकहरूमा, बाटो, चोक र गल्लीहरूमा। म्युजिक अवार्डहरू नवीनलाई। सम्मान पुरस्कारहरू नवीनलाई। विदेशका कार्यक्रमबाट निम्ता नवीनलाई। नवीनको जस्तो गितार। नवीनको जस्तो क्याप। संगीत पारखीहरूबीच 'नवीन लहर' चल्यो। यहीबीच कसैले बीचमा भन्दियो पपकिङ भनेर। यो कति वैधानिक छ थाहा छैन। कतिवटा, वा कस्ता गीत गाएपछि किङ भइन्छ थाहा छैन। पपसम्राटमात्रै होइन, राष्ट्रनायक, राष्ट्रकवि, आदिकवि, गजलसम्राट आदि कसले घोषणा गरेको चाहिँ सही, वैध वा आधिकारिक हो त्यो पनि थाहा छैन। तर कतिपय अलंकारहरू जनताले थाहै नपाई अनुमोदन गरिसकेका हुन्छन्। नवीनको बारेमा पनि यो लागु हुनसक्छ।
गीतमा जति मुखर छन् नवीन, त्यत्ति बोल्दैनन्, खुल्दैनन्। साथीभाइदेखि जानीफकारसम्म यसै भन्छन्। हदै अन्तर्मुखी।
नवीनका अग्रजहरूले पनि पपगीत नगाएका होइनन्। यी गायकले पपगीतको नवीन मार्ग खने। बीचमा कति छुटे, हराए। कति नयाँ आए, बिलाए। नवीन अहिलेसम्म हिँडिरहेछन्।
१० एल्बम प्रकाशित छन नवीनका। 'रहरै रहरमा' बाट सुरु उनको यात्रा 'स्मृति, आभास, समर्पण, सम्झना, नवीन, स्मृति रिलोडेड, द ब्लू, जी मेजर, नक्षत्र' सम्म डोरिएको छ। लाखौं क्यासेट बिके। क्यासेटको जमाना अब गयो। युट्युबको जमाना छ। युट्युबमा सर्वाधिक खोजिने नेपाली गायकमा नवीनसमेत पर्छन्। पछिल्लो गीत 'तिमीलाई मन पराउँछु' पाँच लाख ३७ हजार पटक हेरिएको छ।
शान्त स्वभावका नवीनले दर्जनौं प्रेमगीत गाए। फिदा फ्यानहरुलाई सयौंपटक स्टेजअघिल्तिर उफारे। अहिले उनको झुकाव जीवनवादी गीतहरूमा छ। त्यसो त प्रेम कहाँ जीवनबाहिर छ र!
'जीवनका संवेदना झल्काउने, दार्शनिक पृष्ठभूमि भएका गीत गाउने रहर छ,' ३९ वर्षे गायक लजालु गायक खोल्छन्, 'थुप्रै गाइसकें पनि।' जस्तो कि,
पेट मिचीमिची हाँसे पनि
छाती पिटीपिटी रोए पनि
समयसँगै चल्नु छ
एकदिन सबैले ढल्नु छ
पहिले क्यासेट बिक्रीका आधारमा लोकप्रियता नापिन्थ्यो। अहिले पाइरेसीको राज छ। नवीन आफैंचाहिँ त्यसलाई हाकाहाकी अस्वीकार्छन्, 'गीत राम्रो बनाए अहिले पनि सिडी बिक्छ, गीत राम्रो नबनाउने अनि पाइरेसीलाई दोस्ने?'
शब्दशब्दमा नयाँपन भएका गीत चाहिन्छ - नवीनलाई यस्तै लाग्छ। थोरै बोल्ने नवीन मिडियाबाट ठगिएको दुखेसो गर्छन्। उनी आफैं एप्रोच गर्न अप्ठेरो मान्छन्। एक, त उनी स्वभावगत कारणले खुल्दैनन्। दुई, 'राम्रो गाउने कतिपयको गीत टिभीमा विरलै बज्छ, किनकि कतिपय भिडियो निर्माताहरू टिभीमै काम गर्छन्, जसकहाँ उनीहरू पुगेका हुँदैनन्,' उनी ठान्छन्।
बाहिर लाखौं फ्यान छन्, शिरीषमार्गभित्र नवीनको आफ्नो संसार भन्नु सानो छ - आमा निर्मला, पत्नी नवीना राजभण्डारी, सात महिनाको छोरा र बहिनी ज्योत्स्ना। सानो नवीन-संसारमा यति पात्र छन्। तैपनि हरक्षण एैकान्तिक सुखमा हुन्छन् नवीन। एक्लो हुनु खास कुरा होइन, एकान्तको अनुभूति ठूलो हो। नवीनभित्रको एक्लो पात्र हरक्षण नयाँ संगीतको आविष्कारमा तल्लीन हुन्छ। कन्सर्टका क्रममा अमेरिका जाँदा सात वर्षअघि पिता गुमाए नवीनले। त्यसबारे लेख्यो भने अर्को स्टोरी तयार हुन्छ।
कलेजमा विज्ञानका विद्यार्थी नवीनले पछि संगीतमा बिम्युज गरे। अहिलेचाहिँ उनको झुकाव ज्योतिशास्त्रमा छ। 'साइन्स अफ् लाइट,' ज्योतिषशास्त्रलाई उनी यसरी बुुझाउँछन्, 'क्वान्टममा हेर्नुपर्छ यसलाई, जस्तो कि कहिले प्रकाशले फोटोनको काम गर्छ, कहिले वेभको।' प्रकाशले यसबारे टन्न किताब सँगालेका छन्। कतै गएर पढेका होइनन्। स्वाध्यायनले नै करिब 'ज्योतिषी' बनाइसक्यो।
जीवनबारे उति महत्वाकांक्षी छैनन् नवीन। 'स्टारडम' को लोभमा नपरेको जिकिर गर्छन्। 'मान्छे सधैं उचाइमा रहँदैन, विगतमा हाइहाइ बटुलेको मान्छे आज हराउन पनि सक्छ,' परिपक्वता दर्शाए, 'तर कोही पनि विगतमा बाँच्नुहुँदैन, वर्तमान बिर्सेर विगतमा बाँच्नेहरु सधैं दुःखी हुन्छन्।'
नवीन आफैं भने अझै लाइमलाइटमै छन्। हरेक एल्बममा कम्तीमा तीनवटा गीत हिट भएकै हुन्छन्। पछिल्लो समय फिल्मबाट समेत अफर आउन थालेको छ। आउँदै गरेको फिल्म 'च्यालेन्ज' मा संगीत निर्देशक भएका छन् नवीन। एघारौं एल्बम 'काठमान्डु' को प्रवर्द्धनमा लाग्नु त छँदैछ। व्यस्त छन् नवीन तर धपेडी देखिँदैन।
पपगीतभित्रै पनि अनेकन् 'जान्रा' हुन्छन्। अथवा भनौं पपगीत नै आफैंमा एक जान्रा हो। यद्यपि नवीनले गाए- भियना वाल्ज, पप, रक, ब्लुज, रक र रागको फ्युजन, हेभी मेटल। 'हट' गीतका यी 'कुल' गायकको जीवनशैलीमा उस्तो तीव्रता छैन।
नवीना- अर्थात् आफ्नै फ्यानलाई पत्नी पाएका छन् यी गायकले। कस्तो संयोग! नाम पनि उस्तै सुनिने। पोखरा कन्सर्टमा जाँदा भेटेछन्। प्रेमकथा लामो छैन। छोट्छोटो सल्लाहपछि बिहे भइहाल्यो। 'बिहेबारी पनि ज्योतिषविज्ञानभन्दा पर हुँदोरहेनछ,' एक धर्को जिम्मेवार मुस्कान दिँदै नवीनले भने, 'वास्तवमा कत्ति रहस्यहरु हुन्छन् हगि, विज्ञानले पनि व्याख्या गर्न नसक्ने।'
हो, हो। त्यही भएर त ईश्वरले गीत बनाइदिएका!!
शिरीषमार्गभित्र केही रुखहरू छन्, केही घरहरू। तिनैमध्ये एक घर नवीनको हो। पत्नी नवीना एक भारी पुग्ने क्याप धोइरहेकी छन्। यी क्यापहरू जो पपगायक पति नवीन के भट्टराईले घरमा, साथीहरूको माझमा, जमघटहरूमा सुल्टो फर्काएर लगाएका छन्। कन्सर्टहरूमा उल्टो फर्काएर फ्यानहरूलाई फिदा बनाएका छन्।
यतिका धेरै क्यापहरू!
'भएको सम्पत्ति नै यही हो।'
हामी हास्छौं।
'फ्यानहरूले दिएका हुन्, जहाँ गए पनि उहाँलाई क्याप उपहार आइहाल्छ।'
'फ्यान हुनभन्दा झेल्न गाह्रो छ भाउजु। उदाहरण जो तपाईं स्वयं हुनुहुन्छ।' 

No comments:

Post a Comment