![]() |
| Bhimbahadur Tamang. NC Leader |
शुक्रबार बिहान ११ बजे – वानेश्वर थापागाउँ भीमबहादुर तामाङको कोठामा आइपुगे कांग्रेस नेता शशांक कोइराला। तामाङले राधेश्याम अधिकारीलाई डाके। कानुनविद् तथा कांग्रेस नेता अधिकारी– जसकहाँ तामाङ १५ वर्षयता बसिरहेथे।
ग्यारेजमाथि तामाङको कोठा छिरे अधिकारी। टेबुलमा आर्थर कोइस्लर, रिचर्ड राइटलगायतको 'द गड द्याट फेल्ड' किताब पल्टिरहेको थियो।
७८ वर्षे तामाङ केही दिनयता त्यो किताब पढिरहेका थिए। उनले त्यो किताबबारे कोइराला र अधिकारीलाई सुनाए।
शशांकले कुरा मोडे, 'सहमतिको सरकार कसरी बनाउने?'
अधिकारीले थपे, 'अनि सहमति भएन भने? के गर्ने?'
तामाङले आत्मविश्वासपूर्वक जवाफ दिए, 'अरु के उपाय छ र! चुनावमा जाने।'
'विश्वसनीय चुनावका लागि चुनावी सरकार तुरुन्त बन्नुपर्छ,' उनैले थपे।
त्यसपछि तामाङ उठे। आफ्नै हातले चिया पकाए। चियाको चुस्की लिँदै उनीहरूले एक घन्टाजति कुरा गरे।
ग्यारेजमाथि तामाङको कोठा छिरे अधिकारी। टेबुलमा आर्थर कोइस्लर, रिचर्ड राइटलगायतको 'द गड द्याट फेल्ड' किताब पल्टिरहेको थियो।
७८ वर्षे तामाङ केही दिनयता त्यो किताब पढिरहेका थिए। उनले त्यो किताबबारे कोइराला र अधिकारीलाई सुनाए।
शशांकले कुरा मोडे, 'सहमतिको सरकार कसरी बनाउने?'
अधिकारीले थपे, 'अनि सहमति भएन भने? के गर्ने?'
तामाङले आत्मविश्वासपूर्वक जवाफ दिए, 'अरु के उपाय छ र! चुनावमा जाने।'
'विश्वसनीय चुनावका लागि चुनावी सरकार तुरुन्त बन्नुपर्छ,' उनैले थपे।
त्यसपछि तामाङ उठे। आफ्नै हातले चिया पकाए। चियाको चुस्की लिँदै उनीहरूले एक घन्टाजति कुरा गरे।
बेलुका तामाङ एउटा बिहेको निम्तो मान्न गए। राति फर्केर सामान्य अवस्थामा आराम गरे।
शनिबार बिहान
तामाङ नित्य मर्निङ वाक गर्दैथिए। चिसो मौसममा सामान्य स्वाँस्वाँबाहेक अन्य समस्या देखिएको थिएन।
अचानक तामाङ छट्पटाए। थाहा पाउनेबित्तिकै अधिकारी दौडेर उनको कोठा पुगे। पाखुरामा समातेर बिछ्यौनामा ढल्काए। भित्तेघडीमा आठ बजेर पाँच मिनेट गएको संकेत थियो।
अधिकारीले त्यहीँ बस्ने इन्जिनियर लक्ष्मण खड्कालाई गुहारे। खड्का आइपुग्नेबित्तिकै तामाङलाई भुइँतलामा ओराल्न भने। आफू ग्यारेज दगुरे। ८ः१५ मा उनीहरू त्यहाँबाट नर्भिक अस्पताल, थापाथली हिँडे। नर्भिक पुग्दा ८ः१९ भएको थियो।
डाक्टरले नाडी छामे। चिसो भइसकेको थियो। धुकधुकी बन्द भएको संकेत थियो।
…चेतना छैनजस्तो देखिन्छ,'डाक्टर बोले।
तुरुन्त अक्सिजन लगाए।
आइसियुमा लगेको एक घन्टा १६ मिनेटपछि अर्थात् ९ः२५ बजे उनीहरूले घोषणा गरे– तामाङ रहेनन्।
अधिकारीलाई राम्रो थाहा छैन– त्यसबेला आफूसँगै डाक्टरलाई सुन्ने को–को थिए।
एकैछिनमा कांग्रेस सभापति सुशील कोइराला लगायत दलका नेता आइपुगे। त्यसपछि पार्टीले जिम्मा लिइहाल्यो। छिनभरमै अस्पताल परिसर भरियो। तामाङ सबैका भए।
..............
दोलखाको झुलेमा १९९० सालमा जन्मे उनी। 'म ७८ वर्षको भएँ,' उनले निकटलाई केही दिनअघि बताएका थिए।
सामान्य परिवारका तामाङको पढाइलेखाइमा औधी रुचि थियो। विकट गाउँमा जन्मेर मेहनतसाथ पढे। पछि उनी 'भीमबहादुर मास्टर' नामले कहलिए। वरपरका स्कुलमा शिक्षक हुँदैनथे। 'भीमबहादुर मास्टर' एक्लै भ्याउँथे।
कांग्रेसको राजनीतिमा आकर्षित थिए तामाङ। २००७ सालको क्रान्तिका छाप मनमा थिए। बीपी कोइराला उनका रोलमोडल। २०१४ सालमा पार्टी सदस्यता लिए।
सीमित राजनीतिक अधिकारसमेत पञ्चायतले हरेपछि सुवर्णशमशेरको नेतृत्वमा तानाशाहीविरुद्ध तामाङले बन्दुक बोके। २०२८ सालमा बीपीको क्रान्ति आह्वानलाई साथ दिने निर्णय गरे। पछि बनारस गए। प्रदीप गिरी, चक्रप्रसाद बाँस्तोला, शैलजा आचार्यसँग उनको घनिष्टता बढ्यो। गिरीले सम्पादन गर्ने 'रहर' पत्रिकामा मिलोभान जिलास (युगोस्लाभियाली नेता) बारे तामाङले विचारोत्तेजक लेख लेखे। उनी पटक–पटक जेल परे। बीपीको मेलमिलाप नीतिसँगै नेपाल फर्कनेमा तामाङ पनि थिए।
आन्दोलनका क्रममा दमननाथ ढुंगानासँग नजिकिए उनी। ढुंगानासँग्ा आखिरी दिनसम्म दोस्ती जम्यो।
एमालेको नौमहिने सरकार ढलेपछि २०५२ साल भदौमा शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस राप्रपा र सद्भावना पार्टीको सरकार बन्यो। पदका लागि कहिल्यै मरिहत्ते नगर्ने तामाङ पहिलोपल्ट कानुनमन्त्री बनाइए।
मन्त्री तामाङलाई राधेश्याम अधिकारी भेट्न क्वार्टरमा पुगेका थिए। कुरैकुरामा मन्त्रीले एकदिन यसै भनिदिए, 'मन्त्रीबाट हटेपछि कि दमनजीकहाँ नत्र तपाईंकहाँ बस्न आउँला है।'
अधिकारी अचम्भित भए। मन्त्रिक्वार्टरमा बस्न थालेपछि अब किन आफ्नोमा सहज मान्लान् जस्तो लागेछ।
नभन्दै २०५४ वैश्ााखको पहिलो साता झोला र सानो बाकस बोकेर तामाङ अधिकारी निवास छिरे। कांग्रेसका कतिपय मन्त्री एक–एक गर्दै भ्रष्टाचार र अनियमिततामा मुछिइरहेको गाइँगुइँ चल्दैगर्दा तामाङ औधी सामान्य हैसियतमा फर्केको देखेर अधिकारी नतमस्तक भए। तुरुन्त ग्यारेजमाथिको अट्याच बाथरुम भएको कोठा उनका लागि छुट्ट्याइदिए।
स्टुडियोझैं देखिने अर्को कोठा थियो। त्यो पनि तामाङलाई नै। भेट्न आउनेको घुइँचो देखेर अधिकारीले केही सातालगत्तै त्यसमा अरु दुई कोठा थपेर जिम्मा दिए।
उनको दाम्पत्य सुमधुर भएन। साथीभाइ र शुभचिन्तकले सोध्दा त्यसबारे नकोट्ट्याउन आग्रह गर्थे। छोरा दीपकसँग सम्बन्ध राम्रो भएन तामाङको। छोरी आफ्नो घर गइहालिन्। भतिजा युवराज र रामसँग बस्थे उनी। २०५४ सालदेखि तिनै कोठाहरूमा दिनचर्या गुजारेका तामाङले आखिरी श्वास पनि त्यहीँ फेरे।
अधिकारीले वषर्ौंपछि उनका छोराछोरीलाई शनिबार दिउँसो देखे तर त्यसबेला बुबाको चोला उठिसकेको थियो।
.....
आगन्तुक र कार्यकर्तासँग गफिने। पढ्ने। बगैंचामा माटोसँग खेल्ने।
अन्तिम दिनसम्म तामाङको दैनिकी यस्तै थियो। शरीरलाई बुढ्यौलीले गाँज्दैथियो। उनमा त्यसको अनुभूति वा असर देखिन्नथ्यो।
नयाँ किताब पढ्नु। नयाँ कुरा गर्नु। नयाँ पुस्ताका बालबालिकासँग खेल्नु। बगैंचामा नयाँ बिरुवा सार्नु। अनगन्ती 'नयाँ' गर्नु– तामाङको स्वभाव थियो।
उनको बगैंचाको लोकतन्त्रमा गोदावरी, सयपत्रीदेखि 'क्याक्टस'सम्म सबै बिरुवा थिए। जस्तो कि उनको पुस्तक र्याकको लोकतन्त्रमा कम्युनिस्ट ग्रन्थदेखि बिल क्लिन्टनको अटोबायोग्राफी 'माइ लाइफ' सम्म थिए। मनोविज्ञानका किताबमा औधी रुचि थियो उनको।
प्रजातान्त्रिक समाजवाद र साम्यवाद ल्याउन लडेकाहरू सत्तामा पुगेपछि मिलोभान जिलासले भनेझैं …नयाँ वर्ग' मा बढोत्तरी हुँदैथिए। तामाङ भने उही, उस्तै।
'सधैं सामान्य हुनुहुन्थ्यो, आर्थिक रूपमा साह्रै पारदर्शी,' अधिकारीले नागरिकसँग भने। मनोविज्ञानका किताबमा असाध्यै रुचि।
प्रदीप गिरीले पिता मित्रलालमार्फत चिनेका थिए तामाङलाई। दुवै अध्ययनपारखी। पछि त गिरी र उनीचाहिँ साथी हुनपुगे। 'जतिसुकै राम्रो व्यवहार गर्न खोजे पनि मेरा पिता जमिन्दार, परिवार सामन्ती,' गिरीले नागरिकसँग भने, 'पछि के मा ठ्याक मिलेन, भीमबहादुरजी हाम्रोमा आउन छाड्नुभो, तर बनारसमा हुँदा मकहाँ आइहाल्नुहुन्थ्यो।'
कोइराला परिवार राजनीतिक घराना थियो। तामाङ कोइराला परिवारको संस्कारसँग औधी प्रभावित भए। बीपी र पत्नी सुशीला दुवैले उनलाई धेरै माया गर्थे। सरोज कोइरालासँग पनि उनको संगत जम्यो।
...............
राजनीति सधैं सरल रेखामा हिँड्दैन। तामाङले घुमाउरो बाटो हिँड्ने इच्छा देखाएनन्।
नेता कुलबहादुर गुरुङलगायत समकालीनसँग पछिल्ला दिनमा तामाङ गुनासो गरिरहन्थे, 'बीपीको शेखपछि पार्टी सिद्धान्तबाट चिप्लियो।'
आदर्शप्रति बफादार थिए तामाङ। सिद्धान्त हारेको पार्टीले चुनाव जित्नुको अर्थ उनका लागि के लाग्थ्यो कुन्नि!
२०४८ को चुनावमा पराजित उनले २०५१ को मध्यावधि जिते।
२०६४ सालको संविधानसभा चुनावमा पराजित भए। कांग्रेसको पछिल्लो महाधिवेशनमा नीति, सिद्धान्त र आदर्श जोगाउने अभियान चल्यो। तामाङलाई पार्टी सभापति उम्मेदवार उठाइएको प्यानलले प्रतिनिधिको 'जय नेपाल' मात्रै पायो। भोट पाएन। सुशील कोइरालाले सभापति जित्दै गर्दा तामाङको नाममा ७८ मत खस्यो।
'सोझो तरिकाले सोच्नुभो, एकप्रकारले उहाँमाथि शोषण भयो, पार्टीले पछिल्लो दिनमा हेर्न पनि छाडेको थियो,' गुरुङले खुलाए, 'क्रान्तिका लागि सबथोक गर्नुभो, तर त्यत्रो त्याग गरे, केही पाइनँ भनेर कहिल्यै चित्त दुखाउनु भएन।'
प्रदीप गिरीले सघाउँछु भनेका रहेछन् सुरुमा। सन्तोषजनक परिणाम नआउने देखेपछि उनले तामाङ छाडेर पुरानै देउवा क्याम्प छिरे। गिरीले नागरिकसँग प्रष्ट्याए, 'राजनीतिले आदर्श र व्यवहारबीच समन्वय माग गर्छ, उहाँलाई व्यावहारिक पाटोबारे खासै मतलब थिएन।'
यति हुँदाहुँदै पनि गिरिजाप्रसाद कोइरालालाई 'जेनतेन खपे' तामाङले। उनीपछिका नेतात्रय सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलप्रति तामाङको खासै विश्वास नरहेको जिकिर गर्छन् गिरी।
पछिल्लो दिनमा जनजाति मुद्दा उछालियो। नेतृत्वसँग रिसाएका कार्यकर्ताले सम्मानित अग्रजको कुरा खान्छन् भनेर होला, कांग्रेसले तामाङलाई जनजाति मुद्दासम्बन्धी कार्यदलको प्रमुख बनाएको थियो।
समाधानका लागि तामाङको 'प्रेस्त्रि्कप्सन' थियो– 'पहिचान भेटिने, द्वन्द्व मेटिने।'
एक शीर्ष नेता भन्छन्, 'थपनाका लागि उहाँलाई नेता बनाइयो, तर कुरा सुन्ने काम भएन।'
पछिल्ला दिनमा कांग्रेस नेता चक्रप्रसाद बाँस्तोला र नरहरि आचार्यसँग निकट थिए तामाङ। बीपीको सयौं जन्मजयन्तीका अवसरमा २०७१ सालमा साथीहरूसँग मिलेर वर्षैभरि देशव्यापी कार्यक्रम गर्ने योजना बुन्दैथिए उनी। यसका लागि बाँस्तोलाले खोलेको अफिसमा नियमितजसो भेट्थे।
देशले सहमतिको नेता पाउन नसकेका बेला तामाङलाई विकल्पका रूपमा अघि सार्न थालिएको थियो। 'जिम्मेवार केही शीर्षनेता तामाङलाई नेतृत्व दिन लबिङ गरिरहेका थिए,' गिरीले खुलाए।
तामाङलाई भने पदको मतलब थिएन। के यो उनको इच्छामृत्यु थियो?
कतिपय सर्वसाधारण भन्दैथिए, 'जातीय माग चर्कदै जाँदा द्वन्द्व बढ्न सक्छ, तामाङका वचन मान्ने यो देशमा धेरै थिए, उनी कम्तीमा डेढ–दुई वर्ष बाँच्नुपर्थ्यो, स्थिति साम्य हुन्थ्यो।'
त्याग गर्न यसै पनि गाह्रो छ, गरिरहन झन् गाह्रो। इमानदार हुन यस्सै गाह्रो छ, भइरहन झन् गाह्रो। यही गाह्रो काम सहजै सम्पन्न गरेर बिते तामाङ।
'सञ्जीव' नामक ट्वीटर प्रयोगकर्ताले शनिबार दिउँसो ट्वीट गरे, 'भीमबहादुर असल नेता थिए। उनको विचारले वर्तमानमा उपेक्षित हुनु परे पनि इतिहासमा ठाउँ पाउनेछ।'
Nagarik. 17 Mangsir 2069
-cop_20121214090858.jpg)
No comments:
Post a Comment