Saturday, June 22, 2013

भूतघरजस्तै सेडा

४२ वर्षअघि राष्ट्रिय आर्थिक योजना तर्जुमा गर्न खुलेको 'आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र' (सेडा) अहिले भूतघरजस्तै बनेको छ।
अमेरिकी अनुसन्धान संस्था फोर्ड फाउन्डेसनको अनुदानले अत्याधुनिक शैलीमा बनेका दुई भवन त्रिभुवन विश्वविद्यालय परिसरमा छन्। घाँसैघाँसले भरिएको चउर पार गरेपछि पुगिने माथिल्लो भवनमा अँध्यारो व्याप्त छ। ‰याल–ढोका उघार्दा थोत्रा कम्प्युटर, धुलो र माकुराको जालो लागेका, भाँचिएका फर्निचर देखिन्छन्। वर्षायाममा छतबाट तपतप पानी चुहिन्छ।
तल्लो भवनमा ५५ जनाको संख्यामा कर्मचारी बस्छन्। ३३ वर्षयता सेडामा कार्यरत डा. हरिध्वज पन्त भन्छन्, 'हामी सबै कर्मचारी पसल खोलेर बसेका व्यापारीजस्ता भएका छौं, पसलमा केही छैन।'
पन्तका अनुसार त्रिविले तलबबाहेक अन्य बजेट कटाइदिएपछि सेडा निस्त्रि्कय बनेको हो। बजेट शीर्षकमा वार्षिक एक करोड १० लाख प्राप्त हुन्छ।
अनुसन्धान योजनाका लागि बजेट माग्दै त्रिविलाई चिठी पठाइरहेको पन्त बताउँछन्। सेडाको पूर्व निमित्त कार्यकारी निर्देशक रहिसकेका पन्त आक्रोश व्यक्त गर्छन्, 'त्रिवि केन्द्रीय कार्यालय भने थाहा नपाएझैं गरिरहेको छ।'
सन् १९६९ मा अहिलेका राप्रपा नेता पशुपतिशमशेर राणाले पहिलो कार्यकारी निर्देशकका रूपमा नेतृत्व गरेको सेडाकै आसपासमा सिनास (समाज अध्ययन र विदेश मामिलासम्बन्धी), सेरिड (शिक्षा सम्बन्धी) र रिकास्ट (विज्ञान र प्रविधि सम्बन्धी) नामक तीन अनुसन्धान संस्था छन्। सेडामा अर्थशास्त्र, व्यवस्थापन र राजनीतिशास्त्रबाट प्राध्यापक अनुसन्धानकर्ताका रूपमा प्रवेश गर्छन्। सेडाले मुख्यतः तीन काम गर्छ। त्यसमा अनुसन्धान, तालिम र विशेष मुद्दामा प्रवचन पर्छन्।

पञ्चायतकाल र बहुदलको समयमा सरकारलाई उपयोगी हुने महŒवपूर्ण अनुसन्धान सेडाले गर्थ्यो। पर्याप्त दक्ष जनशक्ति र सुविधासम्पन्न भवन तथा पूर्वाधार हुँदाहुँदै पनि यो संस्था मृतप्रायः छ।


सेडाका लागि छ जना पाले छुट्याइएको छ। एक पालेमात्र बस्छन्। पन्त भन्छन्, 'रात परेपछि भगवान् भरोसा'मा छाड्नुपर्छ।' रिकास्टको पनि ताल उही छ। एक कर्मचारी भन्छन्, 'यहाँ पनि भर्खरै माकुराको जालो फाले।'

विशाल प्राज्ञिक परिसरमा उम्रेका घाँस काट्न, मैदान सम्याउन, रूखको हेरविचार गर्न बगैंचे नियुक्त भएका छन्। तिनलाई पनि काममा लगाउन सकिने अवस्था नरहेको सेडाकै कर्मचारी सकार्छन्।
सेडाको आर्थिक नीतिसम्बन्धी अनुसन्धान बहुदलअघिसम्म चालू रह्यो। ठूला राष्ट्रिय महŒवका आर्थिक अनुसन्धान सेडाले गर्ने हुँदा सरकारी अधिकारी र विज्ञ यसैको भर पर्थे। बजेट बनाउन सेडाको निर्णायक भूमिका हुन्थ्यो।

Photos : Bijay Rai/Nagari

सेडाकै प्रयत्नमा पहिलोपल्ट नेपालमा विदेशी सहयोग ठीक कि बेठीक भन्ने वहस सुरु भयो। पञ्चायतकालमा सुधारिएको पञ्चायत ठीक कि बहुदल भनी अनुसन्धान गर्न सरकारले सेडाकै संयन्त्र प्रयोग गर्‍यो। दुरसञ्चार प्राधिकरणसँग सम्बन्धित सर्भे सेडाले गर्‍यो। शक्तिशाली प्राज्ञिक समूह भएकाले यो सरकारको आलोचनात्मक मूल्यांकन गर्न स्वतन्त्र थियो।

बिस्तारै ओरालो

सेडामा आर्थिक अनुसन्धान गर्न भनेर सरकारले विश्वविद्यालयमार्फत् पैसा छुट्याउँथ्यो। बहुदल स्थापनासँगै निजी रिसर्च सेन्टर खुल्न थाले। त्यसपछि विश्वविद्यालय केन्द्रले कर्मचारीको तलबमात्रै पठाउन थाल्यो।
सँगसँगै खुलेका निजी अनुसन्धान संस्थाले सेडाको भन्दा कम शुल्कमा अनुसन्धान परियोजना चलाउन थाले। 'रिसर्च इन्स्टिच्युटका नाममा झोलामा कार्यालय चलाउने पनि भेटिए,' डा. पन्त भन्छन्, 'सेडाले तिर्दै आएको भ्याट, आयकर र सेडाको ओभरहेड खर्च छल्दै उनीहरूले काम गरे। यता सेडाले भने करका नाममा आधा पैसा सरकारलाई बुझाउँदै ठिक्क।'

बढी खर्च हुने गरेकै कारण टेन्डर पार्न नसकेको सेडा कार्यालय बताउँछ।

नेपाल प्रशासनिक प्रतिष्ठान खुलेपछि प्रशासनिक कर्मचारीलाई सेडाले दिँदै आएको तालिम रोकिने अवस्थामा पुग्यो। कर्मचारीहरू प्रतिष्ठानमा तालिम लिन गए। तालिमका लागि सेडा आउने क्रम घट्दै गयो। अन्ततः रोकियो।

बाँकी रह्यो, विशेष प्रवचन कार्यक्रम। बहुदलीय व्यवस्था पुनर्वहाली भएसँगै बोल्नका लागि मञ्चको अभाव हुन छाड्यो। 'टुँडिखेलमा भाषण गर्न पाउने भएपछि सेडामा को आइरहोस्!' पन्तले भने। यद्यपि सेडामा चल्ने छलफल र प्रवचन अनुसन्धानमूलक तथा प्राज्ञिक हुन्थे।

'राष्ट्रिय सभाका पूर्वअध्यक्ष मोहम्मद मोहसिन निर्देशक छँदासम्म सेडा बलियो मानिन्थ्यो,' त्रिविको अर्थशास्त्र विभागका उपप्राध्यापक रेशम थापा भन्छन्, 'अहिले उत्पन्न भएको प्रशासनिक रिजिडिटीले सबथोक भद्रगोल भएको हो।' विश्वविद्यालय अनुदान आयोग (युजिसी) ले नहेरेकाले अझ बिग्रेको उनी दाबी गर्छन्।

बजेटलाई मात्रै दोष?

बजेट नहुनु मात्रै सेडाको दोष होइन। अन्य विभागसँगै सेडामा दलीय भागबन्डाको असर परेको छ। अहिलेका सेडा प्रमुख रामचन्द्र ढकाल एमाओवादीको फेर समातेर सेडा छिरेका हुन्। अन्य विभागमा कतै कांग्रेस, कतै एमाले त कतै मधेसी दलको सिफारिसबाट छिरेका प्रमुख भेटिन्छन्।
विभागीय नियुक्ति त्रिवि उपकुलपति कार्यालयले गर्ने भए पनि उसको चाबी दलका मुख्यालय र नेताविशेषको कार्यालयमा छ। 'त्यही कारणले अहिले सेडाले प्राज्ञिक विश्वसनीयता गुमाएको छ,' एक अनुसन्धाता सकार्छन्।

त्यसो त पञ्चायतका बेला राजा त्रिविका कुलपति हुन्थे। सेडालगायतका संस्था पनि दरबारकै तजबीजमा खुलेका हुन्। पञ्चायतले आफूलाई टिकाउन पुग्दो प्राज्ञिक, बौद्धिक संस्था खोलेको थियो। जबकि, सेडाकै अनुसन्धानबाट प्राप्त प्रतिवेदनले पञ्चायत यसरी टिक्न सक्दैन भन्ने पत्ता लगाइदिएको थियो।
आफ्ना अनुसन्धान गर्न सरकारी हस्तक्षेप नहुने गरेको विगत सेडाका कर्मचारीहरू सम्झन्छन्। डाइरेक्टरको नियुक्ति राजाले गर्ने भए पनि राजा स्वयं सेडासँग परामर्श लिन्थे। '६२/६३ सालको जनआन्दोलनपछि नांगो हस्तक्षेप सुरु भयो,' डा. पन्त दुखेसो गर्छन्, '४६ सालपछिको बहुदलकालमा बरु केही हस्तक्षेप भएन।'
अनुसन्धानसम्बन्धी भिजन भएको मान्छे नेतृत्वमा नहुनाले सेडाको प्रभावकारिता खुम्चेको त्रिविका एक प्राध्यापक जिकिर गर्छन्। 'थिंकट्यांकलाई अर्धसरकारी ढंगबाट चलायो भने अहिले पनि लाभ लिन सकिन्छ,' उनी भन्छन्।

हिजोआजका कुरा

सेडाका कार्यकारी निर्देशक ढकाल अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको आर्थिक अनुदानमा युवा रोजगारीसम्बन्धी नौ महिने कार्यक्रम चलाइरहेको बताउँछन्।
पहिले प्रोजेक्टका लागि भनेर छुट्टै पैसा आउने गरे पनि अहिले बन्द भएको ढकालको भनाइ छ। 'युजिसीमा माग्न गएका छैनौं,' उनी भन्छन्, 'त्रिवि केन्द्रमा कुराचाहिँ गरेका छौं।'
तोकिएका परियोजनामा अनुसन्धान गरेबापत ५० प्रतिशत भत्ता पाउने गरेको तथ्य अब इतिहास भइसकेको छ। सन्तबहादुर गुरुङ प्रमुख भएसँगै आफूखुसी भत्ता राख्न थालिएको डा. पन्तले जानकारी दिए। त्यसबेला अरूसँग टेन्डरमा प्रतिस्पर्धा नहुने भएकाले परियोजनाको प्रमुखलाई फाइदा हुनेगरी कति तलब तोक्ने भन्ने कुरा प्रमुखकै हातमा हुन्थ्यो,' उनले भने, 'जे भए पनि त्यसबेला पूर्वाधारको कमी थिएन, आज त चक–डस्टर पनि आफ्नो गोजीको पैसाले किन्नुपर्छ।'
अनुदान व्यवस्था (ग्रान्ट सिस्टम)मा गएपछि त्रिविले टाउको गनेर पैसा पठाइदिन थालेको उनले बताए।
पशुपतिशमशेरपछि रत्नशमशेर, मधुकरशमशेर, खेमबहादुर विष्ट, गोविन्दराम अग्रवालको कार्यकाल स्मरणीय रहेको सेडा कर्मचारी बताउँछन्। 'उनीहरूको पालामा सेडामा खुट्टो राख्ने ठाउँ हँुदैनथ्यो,' रिसर्च असिस्टेन्टबाट सेवा थालेका डा. पन्त सम्झन्छन्, 'आजभोलि त मान्छेको अनुहार देख्न मुस्किल पर्छ।'

'पर्याप्त कर्मचारी भएर पनि केही गर्न सकिने अवस्था छैन,' निर्देशक ढकाल हाकाहाकी सकार्छन्, 'निजी रिसर्च सेन्टर खुलेसँगै प्रतिस्पर्धा बढ्यो। हामीले १५ वर्षअघिसम्म हेरिरहेका धेरैजसो सरकारी कार्यक्रम, आर्थिक योजनाको मूल्यांकन र तालिम आज उनीहरू कम खर्चमा चलाउन थालेका छन्।'

सेडाको अत्याधुनिक देखिने भवन नर्वेली कालीगढले बनाएका हुन्। आलिसान देखिने भवनको भित्री संरचना यति खण्डहर भइसक्यो, कसैले अनुमानसमेत गर्न सक्दैन।

'मर्मत नगर्ने हो भने तीन–चार वर्षभित्रमा सेडा कोल्याप्स हुन्छ,' स्वयं निर्देशक ढकाल बताउँछन्। राजनीतिक हस्तक्षेप हुने गरेको आरोप भने उनी नकार्छन्। 'त्यस्तो केही छैन, बरु विद्यार्थी संगठनहरू भने हाम्रो ठूलो भवन देखेर निकै पैसा होला भन्दै चन्दा माग्न धाइरहन्छन्,' उनी थप्छन्।


जड 'त्रिवि नै'

त्यसबेलाका सेडा प्रमुखहरू कोही नेता भए, कोही प्राध्यापन कर्ममा फर्के। उनीहरू हिजोआज फर्केर आउँदैनन्, सेडा पनि भेट्न जाँदैन। स्थापनाकालमा नर्वेले किन्दिएको कुर्चीमा बसेर सेडाका कर्मचारी धेरै वर्षदेखि थकाइ मारिरहेका छन्।
यसबीचमा १२ कार्यकारी निर्देशक फेरिइसकेका छन्। निर्देशकको कार्यकाल चार वर्षको हुन्छ। डा. पन्त आफूचाहिँ डाइरेक्टर भएनन्। निमित्त भएरै चार वर्षभन्दा बढी नेतृत्व गरिसके। अर्थात्, सेडाका बलबहादुर राई। अर्थात्, गिरिजाप्रसाद कोइरालाले आफू विदेश गएका बेला बनाउने गरेका निमित्त प्रधानमन्त्री। सेडाका सबैभन्दा पुराना अनुसन्धाता डा. पन्त नियमानुसार एक वर्षपछि अवकाश पाउँदैछन्।
त्रिविकै अदूरदर्शिताका कारण औधी थोरै काम गरेर दिन कटाउनुपरिरहेको सेडा बताउँछ। 'त्रिविले हामीलाई तलबमात्रै दिने, अरू केही नदिने,' डा. पन्त भन्छन्, 'यति थोरै पैसाले हाजिर मात्रै गर्न सकिन्छ, अरू केही गर्न सकिन्न।'

राजनीतिक नियुक्तिबाट निर्देशक हुनेहरू सेडाको हितका लागि त्रिवि र सम्बन्धित दललाई गुहार्न सक्दैनन्। उनीहरूको चाबी अन्तै जो छ। 'डाइरेक्टरले पहल लिए त हुने हो, गर्दैनन्,' सेडाका एक कर्मचारी भन्छन्, 'दह्रो प्राज्ञिक सामर्थ्य नभएको मानिसले सिन्को भाँच्न नसक्दो रहेछ भन्ने उदाहरण सेडा हो।' दलीय भागबन्डाको चलन सुरु भएयता गुणस्तर र कार्यसम्पादनमा ह्रास आएको स्वयं सेडा बताउँछ।

त्रिविले पठनपाठनलाई मात्रै ध्यान दिए विश्वविद्यालय हुनुको आकर्षण नहुने पूर्वउपकुलपति केदारभक्त माथेमा बताउँछन्। 'पशुपतिशमशेरको पालाको नेतृत्व नपाएकाले सेडा बिस्तारै धर्मराएको हो,' उनी भन्छन्, 'अरू देशलाई संकट पर्‍यो भने विश्वविद्यालयका अनुसन्धान केन्द्रतिर हेर्छन्, सरकार र त्रिविले यो कुरा बुझे राम्रो।'

माथेमाले भनेझैं त्रिविले चाहने हो भने एक बेलाको सर्वाधिक गतिशील अनुसन्धान संस्थालाई पुनर्जीवन दिन अझै ढिला भइसकेको छैन। त्यो देशलाई मात्रै जीवन्त मान्न सकिन्छ, जोसँग सोच्ने, अनुसन्धान र कल्पना गर्ने असंख्य मस्तिष्कहरू हुन्छन्।


नागरिक शनिबारमा २०७० असार ८ गते प्रकाशित

No comments:

Post a Comment