Saturday, June 22, 2013

लडाइँ मोफसलको, सेना काठमाडौंका

Photo : Bijay Rai/Nagarik
साहित्य महोत्सव भनेपछि कुनै बेला नेपाल (राजकीय) प्रज्ञा प्रतिष्ठानले गर्ने राष्ट्रिय संगोष्ठी ठानिन्थ्यो। हिजोआज भने  साहित्य संगोष्ठी/महोत्सव हुँदैनन्, 'लिटरेचर फेस्टिभल' हुन्छन्।

पानस बाल्ने, रिबन काट्ने, किस्तीमा राखेर ब्याज वितरण गर्ने परम्परालाई मञ्चमा आवश्यक वक्तामात्रै राखेर दर्शकदीर्घासँग अन्तर्क्रिया गराउने चलनले प्रतिस्थापित गर्दैछन्। एकोहोरो वक्तव्य र कार्यपत्रलाई तिखा बहसले छायाँमा पारेका छन्।

नेपाली साहित्य सम्मेलनको ब्यानरमा एउटै देवनागरी अक्षर नराखेको भन्दै गत वर्ष सहभागीले …नेपाल लिटरेचर फेस्टिभल' आयोजक बुकवर्म ट्रस्टलाई दप्काए। बुकवर्मले साहित्यिक महोत्सव गर्ने परम्परा, विषय, शैली र प्रस्तुतिमा नयाँपन भने भिœयाएको थियो। 

दुई वर्षयता फेस्टिभल आयोजना गरिरहेको बुकवर्मको शैली अनुकरण गर्दै पहिलो वर्ष अर्को समूहले पाटनमा 'काठमान्डु लिटरेरी जात्रा' आयोजना गर्‍यो। काठमाडौंबाहिरका आयोजकले पनि बुकवर्मको बाटो पछ्याए। एकैनासका विषय, प्रस्तुति र वक्ताका कार्यपत्र सुन्दासुन्दै निदाउने बानी परेका सहभागी सक्रिय भए। हात उठाउँदै बहस, संवाद र प्रतिवाद गर्न थाले। छलफलमा सजीवता आयो।

नयाँ कुरा थाल्न गाह्रो। त्यसपछि त अरूले देखासिकी गर्न थालिहाल्छन्। पहिलोपटक पांग्रा बनाएजस्तो। त्यसपछि त्यसैलाई हेरेर नयाँ नयाँ नाप र डिजाइनका टायर बनाउन सबै अघि सर्छन्। यो 'नयाँपन'बाट साहित्य पनि बाहिर छैन।


वर्षेनि पुस्तक प्रदर्शनी गर्दै आएको साझा प्रकाशनले विराटनगरको पुस्तक महोत्सवमा पहिलो पटक फेस्टिभलकै शैलीमा साहित्यिक बहस चलायो। काँकरभिट्टामा गत फागुन पहिलो साता आयोजित कला साहित्य उत्सवले ठूलो आयतनको तीनदिने कार्यक्रममात्रै गरेन, नेपाल र भारतका नेपालीभाषी लेखकलाई एउटै मञ्चमा राखेर संवाद गरायो। काठमाडौंबाहिर आयोजना गरिएको यो सबैभन्दा ठूलो साहित्य महोत्सव थियो। रिडर्स झापाद्वारा आयोजित उत्सवले राजधानीका सञ्चारमाध्यममा बाक्लो कभरेज पाएपछि दिक्तेल, फिदिमलगायत सहर तात्तिए।

दिक्तेलमा दुई संस्था मिलेर वैशाख दोस्रो साता दुईदिने साहित्यिक महोत्सव आयोजना गरे। त्यसैको अर्को साता नौलो साहित्यिक बिहान प्रतिष्ठानले पाँचथरको फिदिममा दुईदिने पूर्वाञ्चलस्तरीय बृहत् साहित्यिक महोत्सव आयोजना गर्‍यो। ताप्लेजुङ, चितवन, पोखरा, इलाम, धरान, हेटौंडा, धनगढी, दाङ, मुस्ताङ, बागुलङलगायत जिल्लामा ठूला–साना महोत्सव भइरहेका छन्। साहित्य महोत्सव विस्तारै रहरबाट परम्परा बन्दै छ।

भारत राजस्थानको राजधानी जयपुरमा हरेक वर्ष आयोजना हुने जयपुर लिटरेचर फेस्टिभल 'फुट–फल'को हिसाबले विश्वकै ठूलो साहित्य उत्सव मानिन्छ। मालसामान, राजनीति, संस्कृतिसमेत भारतबाट ढुवानी भइरहेका बेला साहित्यिक माहोल पनि उतैबाट भित्रिनु अनौठो रहेन। यद्यपि काँकरभिट्टाका विषय र पात्रमा भने मौलिकता झल्किन्थ्यो। काठमाडौंका लेखकको बाहुल्य भएको फेस्टिभलमा अन्यत्रबाट कम बोलाइए। विदेशी लेखक र पत्रकारको समेत बाक्लै उपस्थिति रह्यो। दार्जिलिङबाट इन्द्रबहादुर राई हुँदै कवि मनप्रसाद सुब्बासम्म निम्त्याइए।

यस्ता महोत्सवको साझा विशेषता भनेको आयोजक र वक्तामा अधिकांश युवा अनुहार हुनु हो। वक्ता र विषय चुन्नेदेखि मञ्च सजाउने, व्यवस्थापन गर्ने आदि पक्षमा उनीहरूको व्यक्तिगत छनोटले काम गरेको हुन्छ। पद, प्रतिष्ठाले उपल्ला मानिएका लेखकलाई पन्छाउँदै उनीहरू आफ्नो उमेर समूहका पाठकले खोज्ने लेखकलाई प्राथमिकता दिन्छन्। मिडियाले सिर्जना गरेको 'स्टारडम'ले उनीहरूलाई एक हदसम्म प्रभावित गरेको देखिन्छ।
काँकरभिट्टा, फिदिम, खोटाङजस्ता ठाउँका महोत्सवमा काठमाडौंबाट गएका लेखकको बाहुल्य रहेको भनी टिप्पणी भए पनि पूर्वाञ्चलका लेखक उत्तिकै थिए। भारतीय नेपालीभाषी लेखकसमेत समेटेर कला साहित्य उत्सव गरेका रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसाईं भन्छन्, 'पहिले त माहोल सिर्जना गर्नुपर्‍यो नि, एक्सपोजर बढी पाएका लेखक लग्यो भने अलि सजिलो पर्छ,' उनी भन्छन्, 'त्यसमाथि मोफसलको लेखनमा परम्परागत प्रवृत्ति बाँकी नै छ, नयाँपन दिने चुनौती सामना गर्न पनि राजधानीबाट लैजानैपर्ने हुन्छ।'
लेखक बुद्धिसागर भने काठमाडौंले थोत्रा बनाएका विषयलाई मोफसलले महŒव गर्नुको अर्थ नभएको तर्क गर्छन्। 'स्थानीयको सहभागिता बढी हुनुपर्छ, विषयमा नक्कल होइन, नयाँपन हुनुपर्छ,' उनी भन्छन्, 'मोफसल अहिले फेस्टिभलको लडाइँ जितिरहेछ, तर काठमाडौंकै सेना लगेर।'

आफूले थालेको 'फेस्टिभल कल्चर' देशभरि फेलिएकामा बुकवर्मका निरज भारी गौरव गर्छन्। आफूहरूले पहिलोपटक प्रयास गर्दा अरूले आगोको झिल्का भनी उडाएको तिक्तता उनी सम्झन्छन्। 'हामी झिल्कै सही, तर जिल्लाजिल्लामा फेस्टिभलको डढेलो सल्केबाट हामीले कति महŒवपूर्ण पाइला चालेका थियौं भन्ने आज पुष्टि भएको छ,' उनी भन्छन्।
काठमाडौंबाहिरका महोत्सवले आफ्नो स्थानीय स्वाद स्थापित गरेर राष्ट्रिय संस्कृति निर्माणमा सघाउनुपर्ने उनको भनाइ छ।
लेखक नयनराज पाण्डे स्थानीय स्तरमा साहित्य महोत्सव सुरु हुनु नै ठूलो काम भएको बताउँछन्। 'महोत्सव नियमित आयोजना हुन सके भने तिनले आफ्नो प्राथमिकता आफैं तोक्दै जान्छन्,' उनी भन्छन्, 'बरु आयोजकले प्रायोजकको रुचि र दबाब सामना गरेको देखिन्छ, त्यसबारे चाहिँ सोच्नुपर्छ।' काठमाडौंमा मात्रै होइन, बाहिर पनि यस्ता इच्छाले महोत्सवको स्वरूप र वक्ता तोक्ने निर्णय प्रभावित हुने गरेको उनको जिकिर छ।
बुकवर्मका निरज भारी यस्तो तर्क अस्वीकार गर्छन्। उनको फेस्टिभल प्रायोजक एनसेल मोबाइलको सिम बेच्ने कम्पनी हो। 'व्यावसायिक संस्थासँग साहित्यिक चलखेल गर्दै हिँड्ने समय हुँदैन,' उनी भन्छन्, 'धर्म, भाषा, संस्कृति, जाति, व्यक्तिविशेषलाई विवादमा पर्ने गरी कार्यक्रम नगर्नु भन्ने आग्रहसम्म गर्छन्। आफ्नो लगानीबाट कोही पनि विवाद र झमेला निम्त्याउन चाहँदैन।'

देशभरिका साहित्य महोत्सवहरू अझै काठमाडौंमाथि नै निर्भर हुनुले नेपालमा अहिले पनि महŒवपूर्ण डिस्कोर्स सिर्जना गर्ने लेखक काठमाडौंमै बस्छन् भन्ने प्रमाण दिलाएको आख्यानकार युग पाठक बताउँछन्। 'यति हुँदाहुँदै पनि शक्तिको अवतरण साहित्यमा समेत लागु हुँदै छ भन्ने उदाहरण उनीहरूको महोत्सवले देखाउँछ,' उनी भन्छन्।
काठमाडौंमाथि कम निर्भर भएर महोत्सव गर्न अग्रसर फिदिम पूर्वाञ्चलका लेखकमा केन्द्रित देखियो। उनीहरूले छानेका अधिकांश विषय स्थानीय थिए। आयोजक नौलो साहित्यिक बिहानले अरू राष्ट्रिय भाषाहरूलाई छलफलको केन्द्रमा राखेर महोत्सव गरेको थियो। 'हामीले साहित्यमा क्षेत्रीय मुद्दा स्थापित गर्न खोजेका हौं,' आयोजक संस्थाका अध्यक्ष प्रेम ओझा भन्छन्, 'जिल्ला जिल्लामा बसेर लेख्नेहरूलाई एक ठाउँ उभ्यायौं।'

फेरि हुन्छ/हुँदैन

साहित्यिक महोत्सव गर्न तात्तिएका आयोजक अर्को वर्ष निरन्तरता दिनेबारे मिश्रित धारणा दिन्छन्। बुकवर्म भने काठमाडौंमा तीन महिनापछि अर्थात् सेप्टेम्बर १८ बाट चारदिने लिटरेचर फेस्टिभल आयोजना गर्न अहिलेदेखि नै तात्तिन थालेको छ। दुई वर्षअघि काठमाडौं लिटरेरी जात्राको भव्य आयोजना गरेकी सुवानी सिंह निरन्तरता दिनेबारे अन्योलमा रहेको बताउँछिन्। गत वर्ष हुने भनी प्रचार गरिएको जात्रा पछि स्थगित भएको थियो।
गतिला प्रायोजक पाएकाहरू अहिलेदेखि नै तयारीमा लागेका छन् भने सानो बजेटमा काम गरेकाहरू ऋणले थलिएका छन्। हेटौंडामा अर्को वर्ष महोत्सव आयोजना हुने भए पनि आयोजक संस्था बदलिने गिरिजा अधिकारी बताउँछन्। अघिल्लो महिना हेटौडामा आयोजित साहित्य उत्सव शक्ति एफएमले संयोजन गरेको थियो। अर्को वर्ष भने साहित्य संगम मकवानपुरले गर्ने अ
काँकरभिट्टामा निरन्तरता दिने योजना बनिरहेको रिडर्स झापाका अध्यक्ष प्रसाईंले जानकारी दिए। प्रज्ञा प्रतिष्ठानले आर्थिक रूपमा केही सघाए पनि स्थानीय स्तरबाट सरकारी सहयोग नपाएको भन्दै फिदिममा अर्को वर्ष आयोजना गर्न नसक्ने ओझा बताउँछन्। अरु जिल्लामा समेत निरन्तरता दिन गाह्रो देखिन्छ। आर्थिक स्रोत जुटाउन सक्नेले परम्परा थाम्न प्रयत्न गर्नेछन्। बाँकीका लागि फेरि पनि यस्ता महोत्सव केही एक दशकअघिसम्म ग्वारग्वार्ती निस्केका हवाईपत्रिकाझैं रहरको खेतीमात्रै हुन सक्छन्।
  
नागरिक अक्षरमा २०७० असार ८ गते शनिबार प्रकाशित



धिकारीले जानकारी दिए।

1 comment:

  1. राम्रो कुराको अनुकरण गर्नु एक हिसाबले राम्रै हो । तर देखासिकीको भरमा फगत नक्कल मात्रै गरियो भने, खहरेको बाडी जस्तै नहोला भन्न सकिन्न । यधपि, यस्ता सहित्यक सम्मेलनहरुले एउटा मानकीकरणको अन्त्य भने गरैकै छ । साहित्यक जात्राहरुले केन्द्र र मोफसलको लाई जोड्ने एउटा व्रिज बन्न सक्नु पर्छ । जसले केन्द्र र मोफसल विचको सम्बन्ध घनिभूत बनाउछ । नत्र केन्द्रिकृत हूँकारको डकार गनाई रहन्छ । र चक्रपथ बाहिर केवल बाहिरै रहन्छ ।

    ReplyDelete