गुडिया
उपेन्द्र सुब्बा
बिहानै–
ओछ्यानबाट उठ्दै
छोरीले गुडिया किनी मागिन्–
'पापा, बाबी डल!'
घरबेटीकी नानीको जस्तै बाबी डल।
यसो खल्ती छामें, सुको भेटिनँ
बरु भित्री गोजीमा एउटा कविता भेटें
र सोचें–
'किन यही कविताको गुडिया नबनाउँ्?'
छोरीलाई भनें–
'नानूलाई कविताको गुडिया बनाइदिन्छु।'
छोरी रमाइन्।
म बसें कवितालाई गुडिया बनाउन
पहिले आँखा बनाएँ
यो अर्थमा कि–
कविताको गुडियाले पनि
जन्मँदै संसार हेर्नुपर्छ/चिन्नुपर्छ
दोस्रोमा कान बनाएँ
यो मानेमा कि–
कविताको खेलौनाले पनि
जन्मँदै मान्छेको आवाज सुन्नुपर्छ/बु‰नुपर्छ
एवंम् रितले–
मुख, नाक, हात–खुट्टा र चट्ट परेको शरीर
मिहिनेतले बनाएँ
सकभर छोरीलाई मनपर्ने होस् भन्दै बनाएँ
र, अन्त्यमा छोरीलाई देखाएँ
छोरी त रुन पो थालिन्।
मैले कति लगनले बनाएको गुडिया
छोरीलाई त भूतको नक्सा पो भयो रे!
त्यत्ति मात्र कहाँ हो र,
रुँदैरुँदै छोरीले यसो पनि भनिन्–
'तपाईं मेरो पापा नि होइन...'
अनि,
मेरो पालो रुन मन लागेर आयो
थुइया! तुच्छ मान्छे, बेकामे कवि!
उहिले–उहिले अरब जानु थिएछ
'कवि हुन सजिलो छ दाजै!
बाउ हुन गाह्रो छ।'
Upendra Subba |
No comments:
Post a Comment