Friday, June 7, 2013

My Poem... बन्दरगाह

केही मालबाहक डिब्बाहरू छन्
जहाजमा
विचारबाहक दिमागहरू पनि छन्
जहाजमा
जहाज आइरहेछन् गइरहेछन्
 गइरहेछन् आइरहेछन्
म छु यी सब नियालिरहेको एक टक
बन्दरगाहमा।



ऊ त्यो जहाज छ जाँदै गरेको
हरेक बिहान पूर्व निस्कन्छ
साँझ पश्चिमको बाटो भएर फर्कन्छ
अर्को जहाज छ आउँदै गरेको
मजिटो र बुढो ओखती लिएर जान्छ
ट्याबलेट र क्याप्सुल भएर फर्कन्छ
ठ्याक्कै, दुरुस्तै मिल्छन् यी जहाजहरू
हाम्रा विचारसँग
प्रशोधनका लागि पठाइएका कच्चा मालजस्तो
पैठारी हुन्छन् सस्तोमा
आयात हुन्छन् किमतीमा
बन्दरगाहमा।

भूपरिवेष्ठित देशबाट समुद्र हेर्न आएको
ओ भूपरिवेष्ठित विचार,
भैगो आफ्नो दिमागलाई बन्दरगाह नबनाऊ
उल्टो झुण्ड्याएर फ्रेस हाउस लगिँदैगरेको
कुखुराको
मुर्झाएको टाउकोझैं–
जहाँबाट तेस्रो विश्वको मस्तिष्क पैठारी हुन्छ– सस्तोमा
अनि उपाधिको टोपी, गाउन र टाइभित्र
पहिलो विश्वको उत्तरआधुनिक अहम् भित्रन्छ– महँगोमा
बन्दरगाहमा।


2069/11/14 Kirtipur

No comments:

Post a Comment