Tuesday, October 13, 2015

मधेसी मोर्चामा खैलाबैला

आश्विन २६, २०७२- कपिलवस्तु ३ बाट प्रत्यक्ष निर्वाचित तमलोपा संसदीय दलका उपनेता बृजेशकुमार गुप्ता आइतबार प्रधानमन्त्री चुनावमा भोट हालेर सरासर नजिकै रहेको पार्टी मुख्यालय गए । अध्यक्ष महन्थ ठाकुरसमक्ष पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिँदै पत्र बुझाए ।
ठाकुर एकछिन त अकमक्क परे । किन राजीनामा दिनुभएको भनी सोध्नमात्रै खोज्दै थिए, गुप्ता भक्कानिए । महामन्त्री जितेन्द्र सोनलको कोठामा छिरेर डाँको छोडे । अरू नेताहरूले सम्झाउने हिम्मतै गरेनन् । तमलोपा उच्च स्रोतका अनुसार अरू केही सांसद र नेतासमेत पार्टी छाड्ने तयारीमा छन् ।
गत फागुनमा अनिलकुमार झासँग एकता गर्दै सहअध्यक्ष रहेकी सरिता गिरीले पनि नेपाल सद्भावना पार्टीको सम्पूर्ण पद परित्याग गरेकी छन् । मधेस आन्दोलनमा २ महिनायता डटिरहेका समर्थकको आत्मसम्मानमा चोट पुगेको उनको भनाइ छ । समाजवादी फोरम र तमसपाभित्र पनि चर्काचर्की चलिरहेको दुवै दलनिकट स्रोतहरू बताउँछन् ।
संविधान निर्माणको प्रक्रिया बहिष्कार गर्दै हिँडेका यी मधेसकेन्द्रित दलले असोज ३ गते संविधान जारी भएको साँझ मधेसमा ब्ल्याक आउट गरेका थिए । ४ गते संविधान जलाएका थिए ।
आफूले जलाएको संविधान संशोधनसमेत हुन नपाई, ४५ को ज्यान गइसक्दा आन्दोलन टुंगिन नपाई नेता र सांसदहरू सत्ताको बाँडफाँडमा सामेल भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको निर्णयप्रति थुप्रै नेता–कार्यकर्ता आक्रोशित छन् ।

काठमाडौंमा रहेका जुनसुकै मधेसकेन्द्रित दलका नेता आइतबारयता मोबाइलमा जिल्ला–जिल्लाबाट आक्रोशित कार्यकर्ताका आवाजहरूले थर्कमान छन् । सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले पार्टीभित्र असन्तुष्टि चर्किएको स्वीकारे । ‘त्यसैले आज हामी मोर्चा बैठकमा समेत जान सकेनौं,’ उनले भने ।
संविधान निर्माणजस्तो ऐतिहासिक क्षण बहिष्कार गरेका मधेसवादी दलहरू प्रधानमन्त्री चुन्ने खेलमा भने किन एकाएक सामेल भए होलान् ? अरू त अरू, संविधानसभा नै परित्याग गरेको घोषणा गर्ने सद्भावनासमेत किन प्रधानमन्त्री चुनावमा होमियो त ? नेताहरूलाई यी प्रश्नहरूको जवाफ दिन भ्याइनभ्याई छ । सद्भावनाले संविधानसभा परित्याग गर्ने घोषणा गरे पनि उपाध्यक्ष नरसिंह चौधरीले कान्तिपुरसँग कुरा गर्दै संसद नछाडेको, छाड्नुपर्ने कुनै आवश्यकता नदेखेको प्रस्टीकरण दिए ।
यिनै तनावबीच सोमबार अपराहनका लागि फोरम कार्यालयमा तोकिएको मोर्चाको बैठक बिनानिष्कर्ष टुंगिएको छ । चारदलीय मोर्चामध्ये राजेन्द्र महतो नेतृत्वको सद्भावना अनुपस्थित रहेपछि बैठक अनौपचारिक जमघटमा बदलिएको थियो ।
संविधान निर्माणको आखिरी घडीमा प्रक्रिया बहिष्कार गरेको मोर्चा आइतबारको प्रधानमन्त्री चुनावमा भने सहभागी भएको थियो । सद्भावना अध्यक्ष महतोले उक्त निर्णयको आलोचना गर्दै मोर्चाका अरू नेतालाई गद्दार घोषणा गरे पनि प्रधानमन्त्री चुनावमा सामेल हुने निर्णयबारे महतो स्वयं जानकार रहेको मोर्चाको उच्च सोतले खुलाएको छ ।
‘आइतबार बिहान बैठक चल्दाचल्दै नेताहरूले जनकपुरमा रहेका महतोजीलाई टेलिफोनबाट निर्णय पढी चुनावमा सहभागी हुने सुनाउनुभएको थियो, उहाँले समर्थन दिएपछि सांसदसमेत रहेकी उहाँकै पत्नी शैलकुमारी महतोसमेत सुशील कोइरालालाई भोट हाल्न जानुभयो,’ उच्च स्रोत भन्छ, ‘चुनाव हारेपछि भने महतो लोकप्रियता कमाउन विरोध गर्दै हुनुहुन्छ ।’
मंगलबार बिहान फेरि बैठक बस्ने मोर्चा आबद्ध तमसपाका वरिष्ठ नेता रामनरेश यादवले बताए पनि सद्भावना महासचिव मनीषकुमार सुमनले उक्त बैठक बहिष्कार गर्ने खुलाए ।
‘आइतबार भोट हाल्न हामीलाई जबर्जस्ती लगियो, हाम्रा केही सांसद साथीहरू पनि जागिर जोगाउन गए,’ सुमनले भने, ‘मधेसमा सद्भावनाको लोकप्रियता देखेर मोर्चाकै साथीहरू हाम्रो हाइट घटाउन लागिपरेका छन् ।’
आफ्नो दल निर्णय प्रक्रियामा सामेल नभए पनि तत्काल मोर्चा नछाड्ने सद्भावनाले स्पष्ट पारेको छ । तर मोर्चाका अरू नेताले भने सद्भावनाको उक्त निर्णय हास्यास्पद भएको बताएका छन् ।
‘भोटिङमा कोइरालाले जितेको भए उहाँहरू पनि मन्त्री हुन जानुहुन्थ्यो, हारेको कारणमात्र विरोध गरिरहनुभएको छ,’ समाजवादी फोरमका एक उच्च नेताले भने, ‘यो त कुनै नैतिकता भएन, सस्तो लोकप्रियता कमाउने उद्यममात्रै भयो ।’ प्रधानमन्त्री चुनावसँगै मोर्चा छिन्नभिन्न भए कुनै आश्चर्य नहुने ती नेताले सुनाए ।
उता सरकारमा सामेल दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि आन्तरिक विवादमा परेको छ । आन्दोलनमा गिरफ्तारको रिहाइ नगरी, ज्यान मुद्दा लागेकाहरूको मुद्दा फिर्ता नगराई अध्यक्ष विजयकुमार गच्छदार सत्तामा गएको भन्दै नेताहरूले आलोचना गरेका छन् ।
‘थरुहटको मुद्दामा त्यत्रो आन्दोलन चर्कियो, उहाँले त्यो सबै बिर्सेर सत्तामा जानुभयो,’ दलको उच्च स्रोतले भन्यो, ‘हिजो के आधारमा संविधान बहिष्कार गरेर हिँड्नुभयो, आज के आधारमा मन्त्री बन्न जाँदै हुनुहुन्छ, बुझ्नै सकिएन ।’ गच्छदारले उपप्रधानमन्त्रीमा शपथ लिएकै दिन उनको दलका बारा र पर्सामा रहेका सबै कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाको घटक रामसपाका अध्यक्ष शरतसिंह भण्डारीले गच्छदारमा कुनै राजनीतिक मान्यता नरहेकैले यस्तो दिन देख्नुपरेको बताएका छन् ।
‘उहाँ सत्ताको मोर्चाबाट हिजो बाहिर आउनुभएको रहेछ, आज सत्ताकै लागि फर्कनुभयो,’ सोमबार एक कार्यक्रममा भण्डारीले भने, ‘उहाँ सरकारको मान्छे हुनुभयो, हामी जनतासँगै रह्यौं ।’ गच्छदारले १४ सांसदसहित ओलीलाई मत हाल्दै गर्दा उनको मोर्चाका अरू दुई मधेसी दलले भने कोइरालालाई समर्थन दिएका थिए ।
प्रकाशित: आश्विन २६, २०७२

No comments:

Post a Comment