Thursday, July 14, 2011

भाग दुई सम्झनाहरू

…तब न संंग्रौला।'
कथाकारले …नलेखिएको इतिहास' नामक कथा सस्वर पढेपछि पारिजातले दिएको सृजनात्मक …अंक' हो माथिको पंक्ति। खगेन्द्र संग्रौला त्यतिखेर वाम झुकाव भएका लेखकमात्रै थिएनन्। उनी प्रगतिशील लेखक संघका कार्यकर्तै थिए। लेख्नेमात्रै होइन, गतिविधि पनि उत्ति नै गरिरहनुपर्ने उनलाई। यतिबेला उनी आग्रहहरूबाट च्यूत देखिन्छन्। आग्रहमुक्त भएर लेख्नु नै उनको हिजोआजको गतिविधि हो। तर त्यही …गतिविधि' उनको लागि आग्रह हुनपुुगेको छ।
तिनै संग्रौला पछिल्लो पटक निबन्धसंग्रह …आफ्नै आँखाको लयमा' लिएर आएका छन्। तिखा जंगली काँडाजस्ता राजनीतिक टिप्पणी लेख्ने यी जोधाहा लेखकले निरंकुश व्यवस्थाविरुद्ध बोल्न अरूको वाक्य बसेको बेला बरू एक्लै सही, विचारको गल्लीमा निक्लिएर सत्तासँग निहुँ खोजिरहे। पछिल्लो समयमा एकपछि अर्काे गर्दै किताब लेखिरहेका उनको …कार्यदिशा' बदलिएको हो कि भनी सन्देह गर्न मन लाग्छ। उनले जसजसलाई विश्वास गरे र तिनको पक्षमा हिजो पैरवी गरे, तिनीहरूप्रति थोरबहुत क्षोभ भेटिन्छ हिजोआज। त्यसैले पनि कुरुप वर्तमानबारे मसी खर्चिनुभन्दा पुराना सम्झनाका डायरी पल्टाउनु संग्रौलाका लागि प्रीतिकर भएको हुनुपर्छ।
एक टिप्स, दुई चिठी र ५८ पृष्ठ लामो एक यात्रासंस्मरणसहित १९ रचना समाविष्ट …आफ्नै आँखाको लयमा' उनको नागबेलीजस्तै बांगोटिंगो बाटोमा हिडेकोे संग्रौलाका जीवन अभिलेखको भाग दुई हो। यसअघिको उनको …सम्झनाका कुइनेटाहरू'मा उक्किएका तर सप्रसंग व्याख्या नगरिएका थुप्रै संस्मरण यो किताबमा आएका छन्। त्यसो त कुनैबेला यिनी नवयुवा मासिकमा …सम्झनाको ऐनाका तस्वीरहरू' स्तम्भ लेख्थे। भौतिक संसर्ग नभए पनि उनको कलमी स्वभावसँग यो पंक्तिकार उसबेलादेखि जानकार छ। पाँचथरको हावापानी मिस्सिएको उनको लवजमा यो आफूलाई हुबहु पाउँथ्यो। उनले बाल्यकालमा कुदेको उकालो ओरालो र पंक्तिकारले जीवनको रिहर्सल गरेको अवस्थिति एउटै थियो। वषर्ौंपछि पनि उस्तै। …मेरो घाम जो अस्तायो, आइरनगेट र रेस्टिकेट, जुन हो बेवकुफ, आदि संस्मरण पढ्दा मैले मेरो बालवयलाई सम्झनाको छेवैबाट अनुभूत गरेको छु्। बाल्यकालका पुराना तर स्पष्ट आकारका स्मृतिलाई संग्रौला बालककै दिमागले लेख्छन्। इस्कुल, सिखरेटजस्ता जनजिब्रोका असंख्य झर्रा शब्द उनी पूर्वी पहाडिया गाउँलेको जिब्रोले लेख्छन्।
संग्रौला साधारणतया जटिल भाषा चलाउँदैनन्। उनी आफैं शब्दको ओथारो बस्छन््। शब्दकोश पल्टाउँदा नभेटिने लवज आविष्कार गर्ने उनी आफैं शब्द कोरल्छन्। अर्थ ठ्याक्क थाहा हुन्न, तै पनि बुझिन्छ। जस्तो, हुलियाटाइट, गोपीक्याँच, राँकेपानी, टिकटार्थी, फलामचरी, कारपति आदि।
…कतार घुमेर' नियात्रा यो किताबको मुख्य आकर्षण हो। एउटा साहित्यिक कार्यक्रमको सिलसिलामा कतार पुगेका उनी त्यहाँको स्थानीयता र नेपाली हविगतलाई आफ्नै आँखाले देखेर आउँछन्। दुःखलाई सेकेन्डह्यान्ड एक्सपिरियन्स लिएर अरूका आँखाको लय आविष्कार गर्ने स्रष्टा महोदयका बीचबाट उनले विद्रोह गरेका छन्। रेमिट्यान्सको गाथा गाएर राजकीय मनोरन्जन लिने नेपाली सत्तासीनहरूले बु‰ने भाषामा संग्रौलाले ती अनेकन् त्रासद गाथाहरुको रचनागर्भ उतार गरेका छन्। कतारमा चौपाया जनावरभन्दा चौकोस अपमानित कष्ट झेले पनि नेपाल आएर दुई दिनमात्र भए पनि रोयल ठाँटबाँट देखाउने …बहादुर नेपाली'को अन्तरकुन्तरबारे अहिलेसम्म नलेखिएको दस्तावेज हो उनको यो नियात्रा। अनि, अमेरिकी …लोकतन्त्र'को कतारी खनिजमाथि एकतर्फी प्रेम यसको अर्को पाटो। कतारमा असीमित तेल छ। त्यसैले आफ्ना सेना र हतियारसहित त्यहाँ बसेको छ। आफ्नै प्राकृतिक सम्पदामा कतारीको आधिपत्य छैन। यस्तो एकाधिकार र कतारी स्वयंको पेलानमा परेका नेपालीको अवस्था अवलोकन गर्न यदि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल पुगेका भए कस्तो प्रतिवेदन लेख्दा हुन् भन्ने दृष्टान्त लेखकले पत्रकार श्यामसुन्दर शशीको मुखबाट दिएका छन्,
…कतारको परिस्थिति जनयुद्ध थालिहाल्नका लागि निश्चितै रुपले परिपक्व छ।'
यो पशुतुल्य जीवन बाँचिरहेकाको दुःखलाई हेरेर सैद्धान्तिक जार्गन थोपर्नेहरूप्रति संग्रौलाको कटाक्ष हो। अर्कातिर अमेरिकी साम्राज्यवादबारे लामालामा रिपोर्ट लेख्नुभन्दा छोटा लाक्षणिकजस्ता लाग्ने वाक्यबाट सघन र मनछुने कृति लेख्न सकिन्छ भन्ने प्रमाण पनि यो नियात्रा हो।
…स्तम्भलेखन : एक वक्र यात्रा' संग्रौलाको स्वभावसुहाउँदो विश्लेषण हो। उनका आँखामा अखबारको स्तम्भकार एक सुकुम्बासी वा डेरावाल हो। स्थायी घरवासविहीन डेरावासीले झेल्नुपर्ने असंख्य मालिक्याइँ …देशभरिका तमाम अक्षरजीवी मजदुर'को साझा रामकहानी हो। फरक यति हो, कतिले यसलाई मनको बह कसैलाई नकह भन्दै विनाठेगानको जागिर जोगाउँछन्। संग्रौला परे प्रांगारिक बुद्धिजीवी। (इटालेली विद्वान एन्टोनियो ग्राम्स्कीको अर्गानिक इन्टेलेक्चुअल पदावलीलाई संग्रौला स्वयंले केही महिनाअघि एक लेख लेख्दै नेपालीमा रसिक व्याख्यासहित उल्था गरेका थिए।) उनले जीवनमा कसैसँग सम्झौता नगरेको दावीका केही नजिर हुन् यस संस्मरणभित्रका घटनाहरू। पञ्चायतका आँधीमय दिनमात्र होइन, …बहुदलीय प्रजातन्त्र'वाला प्रहसनका शिकार उनका स्तम्भहरू कसरी बनेका थिए भनी जान्न यो एउटा महत्वपूर्ण सामग्री हुनेछ। एउटा सामान्य मानिसझैं लेखकका अघिल्तिर पनि दुइटा विकल्प हुन्छन्, शक्तिका अघिल्तिर घुँडा टेक्ने वा हावाको दिशाभन्दा उल्टो फर्केर उभिने। उनले आफूले जे देखे त्यही बोले, लेखे। आफ्नो दल, गुटद्वारा सिफारिश गरिएका घोडेआग्रही कान्लाबाट उक्लिन नसकेका मानिसले यथार्थको आलोचनात्मक पाटोलाई छोपछाप गर्दै उनलाई कहिले कांगे्रस बनाइदिए। कहिले माओवादी। उनको आजसम्मको आफ्नै जीवनयात्राले भन्छ, …अर्धअराजक' टाइपका उनलाई कसैको छहारीमुनि बस्नुछैन। तैपनि उनी पनि मानिस हुन्। कतै ओत लाग्न पुगेको ठहरिएमा कसैले उनको जिम्मा लिन सक्नेछैन, जसरी उनले पछिल्लोकाल गिरिजाप्रसाद कोइराला र गगन थापा आदिका बोली र उठबसको जिम्मा लिन नसकेको पक्ष यसै किताबमा सकारेका छन्।
तीव्र हास्यचेतना संग्रौलाको शक्तिशाली पक्ष हो। प्रायः सबै रचना त्यसका नमूना हुन्। घटना कतिपय सामान्य छन्, विषयवस्तु पनि उत्रो केही छैन। तर उनको लेखाइको …पाइन्'ले तिनीहरू सग्ला उभिएका छन्।
संग्रौलालाई पढ्ने पाठकले राजनीतिक बिम्ब र प्रतीकहरू थाहा पाएकै हुनुपर्छ। यसबाट बेखबर पाठकले उनलाई क्षणभंगुर,एकपाखे, सतही र नारावादी भनिदिन सक्छ। उनी आफैंले पनि राजनीतिक, त्यसमा पनि मार्क्सेली रातो किताबबाट आएका बिम्बको प्रयोगलाई कम गरेर पाठकलाई सानोतिनो मुक्ति दिन सक्छन्। संग्रौला न हुन् भनेर साहित्यमा सँधैभरि छुट नमिल्ला। प्रख्यात भारतीय लेखिका महाश्वेतादेवी भन्छिन्, …जीवन गणित होइन। मान्छे पनि फगत् राजनीतिका लागि बनेको जीव होइन। म अहिलेको सामाजिक व्यवस्था बदलिएको हेर्न चाहन्छु। तर दलगत कोरा राजनीतिले मात्रै सर्वस्व बदल्छ भन्नेमा मेरो विश्वास छैन।' संग्रौलाले पनि बु‰नुपर्छ पार्टी राजनीतिको घेराबाट आएका दुरुह पारिभाषिक शब्दावलीभन्दा बाहिर पनि निकै फराकिलो संसार छ। एउटा प्रतिबद्ध लेखक हुनुको नाताले उनले तिनका बहुआयामिक बिम्बहरूको पहिचान गर्नुपर्छ। उनको कलमले नै पाठकलाई उनीप्रति महत्वाकांक्षी बनाएको हो।
पुराना संस्मरण र चालु दिनका आत्मस्वीकृतिसँगै उनले लेखक बन्न रहर गर्नेलाई टिप्स पनि दिएका छन्। वषर्र्ौंको लेखकीय …एक्सपेरिमेन्ट'बाट सृजित यी टिप्सले लेखनलडाईँका कतिपय उम्मेद्वारलाई कब्जियत पनि गराउलान्। मन लाग्नेले ग्रहण गरे भो, अरुलाई बाध्यता छैन। यी आठबुँदे रोडम्याप केवल टिप्स हुन्, फर्मान होइनन्।
पठन संस्मरणमा देवकोटा, सम्झनामा पारिजात दिदी, जुन हो बेवकुफ, मेरो घाम जो अस्तायो आदि निबन्धले पाठकलाई हँसाउँदै तर गम्भीर बनाउनेछन्। भूपि र हामी, दुई चिठी चाहिं पृष्ठ बढाउनमात्रै राखेजस्तो लाग्छ। असल सहयात्री, विफल नेता शीर्षक रमेश विकलमाथि लेखिएको निबन्धले वैचारिक विमर्शको माग गर्ला। विकल धर्तीमा छैनन्। संग्रौलाले यसको प्रष्टीकरण दिनुपर्नेछ।
किताबका पृष्ठैपिच्छे भेटिने भाषागत र व्याकरणीय अशुद्धि एउटा सुन्दर कृतिका लागि स्पीडब्रेकर हुन्। यिनले पठनको सललल बहाबमा भिलेन खेल्छन्। किताबको प्रिन्टलाइनमा …आँखा' …आखाँ' भएको छ। प्रत्येक पेजमा पनि त्यही भएको छ। बग्रेल्ती लापरबाही देख्दा यस्तो लाग्छ, यो किताब फाइनप्रिन्टले छापेको होइन। यदि उसैले छापेको हो भने प्रकाशक अब …फाइनप्रिन्ट' रहेन।
निबन्धसंग्रह : आफ्नै आँखाको लयमा
लेखक : खगेन्द्र संग्रौला
प्रकाशक : फाइनप्रिन्ट आइएनसी, ललितपुर
पृष्ठ : २३७
मूल्य : ३०० रुपैयाँ

No comments:

Post a Comment