Sunday, July 17, 2011

बजारमुखी यौनकथा

बेलायती समालोचक वाल्टर बेसान्टले सन् १८८४ मा आख्यानसम्बन्धी प्रवचन दिने क्रममा भनेका थिए, …कुनै पनि कृतिमा लेखकले सचेत नैतिक लक्ष्य राख्नुपर्छ, अन्यथा समाजमा उत्पन्न हुनसक्ने भाँडभैलोको जिम्मेवारी लिनुपर्ने हुन्छ।'
अमेरिकी आख्यानकार हेनरी जेम्सले वाल्टरको सोही प्रवचनमाथि जबाफ फर्काए, …तिमी कुनै चित्रलाई श्लील र अश्लील भन्न सक्छौ? कुनै नग्न मूर्तिलाई छाडा भनेर परिभाषित गर्न सक्छौ? साहित्य, चित्र, मूर्ति सबै कलाका पक्षहरू हुन्। जब हामी श्लीलता र अश्लीलताको कुरा बिर्सेर निख्खर कलाको कुुरा गर्छौं, नैतिकता तपसिलको विषय बन्छ।'

रत्न प्रजापतिलिखित कथासंग्रह …सेतो बादल' भित्र केही कलात्मक यौनकथा छन्, जसले जेम्सको उपर्युक्त भनाइको औचित्य प्रष्ट्याउँछन्। बाँकी चाहिँ अश्लीलता, श्लीलता, अनैतिकता र नैतिकताबीच अन्योलबाट ग्रसित भेटिन्छन्। बेसान्टले चिन्ता गरेको आख्यानको …लक्ष्य'लाई चुनौती दिए पनि …अनैतिक' साहित्य कलात्मकताका कारण उत्कृष्ट हुन्छ। प्रजापति यो उद्योगमा आंशिक सफल छन्। उनले मूलतः यौनलाई कथालेखनको केन्द्रीय विषय बनाएका छन्। भाषामा यी उति खेल्दैनन्। घटनाप्रधान कथा उनको लेखनको स्वभाव देखिन्छ।
…ङ्हेलु' मुस्ताङ्को थकाली समुदायमा प्रचलित एक कुप्रथामा आधारित उत्कृष्ट कथा हो। घिलिङ गाउँदेखि लार्जुङ्सम्म बाह्रबर्षे मेला भर्न आएकी एक युवतीलाई भीडकै बीचमा एक व्यक्तिले आफूसँग कतै जान संकेत गर्छ। उसले अस्वीकार गरेपछि साथीहरूसहित उक्त युवकले समात्छ र आफूसँगै लैजान्छ। सुरुमा युवतीसँगै मेला भर्न गएका संगीहरूले प्रतिकार गरे पनि …लामा'ले तान्दा अस्वीकार गरे देउता रिसाउँछन् भन्ने डरले युवती पछिपछि जान बाध्य हुन्छे। …लामा'ले कुमारित्वभोग गर्छ। सामाजिक बहिष्करणको डरले युवती लामासँगै पछिपछि जान खोज्छे। तर युवक अनेक बहाना बनाउँदै फुत्किन्छ। उसले अन्ततः बाबुको ठेगान नभएको बच्चा …ङ्हेलु' लाई जन्म दिन्छे।
हरेक समुदायले आफूसँग असल संस्कारहरुसँगै केही …बाइप्रोडक्ट' पनि बोकेर आएको हुन्छ। मुस्ताङको सामाजिक परिवेशले जन्माएका बाबुविनाका सन्तानहरूसँगै त्यहाँका महिलाले जीवनभरि बोक्नुपर्ने कलंकसँग जोडिने पीडाको संवेदनशील चित्रण …ङ्हेलु' हो।
बच्चा जन्माएर पनि खुसी नभएकी पार्वतीको कथा …आमा हो, आमा होइन' मा समेटिएको छ। सन्तानविहीन मालिक्नीको चाहना पूरा गर्न बच्चा जन्माइदिनुपर्दाको थोरै आनन्द तर असीमित पीडालाई लेखकले चित्रण गरेका छन्। यस्तै, शीर्षकथा …सेतो बादल' पनि सन्तानविहीन दम्पतीको दुःखवर्णन हो। नेपाली समाजमा प्रचलित व्रतजस्ता रीतिरिवाजका बेला पत्नी कृष्णप्यारीसँग हरिभक्तले गरेको यौनआमन्त्रण यसमा पाइनेछ। गाउँघरमा प्रचलित ढिकीजाँतोको यौनसँग प्रतिकात्मक साइनो केलाउँदै लेखिएको …काम'लाई पनि उल्लेख्य कथा मान्न सकिन्छ।
जवानीको बेला कुनै आकर्षक पुरुषको कामना गरेर रात काट्ने युवतीको कथामा आधारित …उमेर' अनेकन् संकेतसहित बुनिएको प्रभावकारी कथा हो। सपना र विपनाबीच सुन्दर भ्रम सृजना गर्दै लेखिएको यो कथामा युवतीलाई भोग्ने सपनाको युवकले साँच्चिकै विपनामा आएर कसरी कपडा खोलिदियो भन्ने सन्देह, उत्सुकता र चिन्ताको योगफलसहित कथा टुंगिन्छ। …चोट' लगायत कथाले पाठकको मन खिच्नेछन्।
२४ कथा र …स्थायी भूमिकाकार' गोविन्दराज भट्टराईको आशिर्वादसहित यो किताब बजारमा छ। नेपालका कतिपय लेखकलाई भट्टराईको भूमिका नछापी आधिकारिक र सम्पूर्ण भइन्न कि भन्ने भय छ। भूमिकाकारकै एउटा वाक्यको शब्दमात्रै सापट लिएर भन्नुपर्दा प्रस्तुत किताब त्यही डरको पछिल्लो …मास्टरपिस' र …कोशेढुंगा' निरन्तरता हो।
अरुका किताबमा यौन चटनी भएर आउँछ। यिनकामा चाहिं ठीक उल्टो। कथाकारले केही राजनीतिक र समसामयिक कथाको चटनी पस्केका छन्। राजनीतिक कथामा यिनी जमेका छैनन्। राजनीतिबारे सतहमा जे धारणा बन्नेगर्छ, सचेत लेखक त्यसबाट अघि बढ्नुपर्छ। सबै नेता र राजनीतिलाई केवल सामान्यीकरण गरेर बु‰न सकिन्न। बरु …बाबुसाहेबको बुसप्रेम' जस्ता कथाले उनको कथाचेतनालाई उचाई दिन्छन्।
कतिपय वाक्य बोझिल लाग्छन्। कथाकारको आशयलाई  बताउने अनेकौं वैकल्पिक वाक्य हुनसक्छन्। अझ कतिपय कथामा रिपोर्टजस्तै महसुस हुनेगरी खुरुखुरु घटना भनिएको छ। प्रजापतिलाई थाहै होला, कथाले सुहाउँदो हावापानी र बोली पनि माग गर्छ। पाठकलाई कथानकभित्र बाँधिरहनसक्ने कथा सुन्दर मानिनेगर्छन्। …सेतो बादल' भित्रका कथाले कथानकको बन्धनबाट पटकपटक मुक्ति दिलाइरहन्छन्। यस्तो किसिमको पीडादायी मुक्ति कथासंग्रहकै विडम्बना हो।
कथामा महिलाप्रतिको लेखकीय दृष्टिकोण सम्मानजनक पाइन्न। कथाभित्र देखाउन खोजिएको यौनमा महिला र पुरुष दुवै सहभागी छन्। पुरुषप्रधान देखिने हाम्रो समाजमा अझ पुरुष बढी जिम्मेवार देखिन्छ। तर महिला पात्रलाई चित्रण गर्ने नाममा कथाकारले कतिपय कथाभित्र केवल कुण्ठाको उद्घाटनमात्रै गरेका छन्। पाठकले यस्तो एकोहोरो आग्रह अपेक्षा गदर्ैैन।
उदाङ्गो, पौडीजस्ता केही कथा नियाल्दा यी यौनकथाकारलाई अवचेतनमा किताब मारामार बिकाउने इच्छा भएको हो कि भन्ने देखिन्छ। कथाहरूको साहित्यिक मूल्य खोज्ने पाठकले त्यो …लेखकीय इच्छा'को शिकार लेखकका आफ्नै कथा बनेको पाउँछ। बजारको मगज छामेर प्रजापतिले कथाहरू लेखेका हुन्?
यौनकथा र पोर्नोग्राफीबीच के भिन्नता छ? १९ औं शताब्दीताक कलात्मक यौनकथा र पोर्नोग्राफिक लेखनबीच भेदमा बेसान्ट र जेम्सले विवाद गरे पनि अहिलेका पाठकमा योबारे भ्रम छैन। कसैकसैलाई उस्तै लागे पनि यी दुईबीच कोसौं दूरी छ। प्रजापतिले यसलाई बुझेकै हुनुपर्ने हो। 
कथा– सेतो बादल
कथाकार– रत्न प्रजापति
प्रकाशक– रत्न पुस्तक भण्डार, काठमाडौं
पृष्ठ– १४४
मूल्य– १५० रुपैयाँ

No comments:

Post a Comment