Sunday, July 24, 2011

सबाल्टर्नबारे विरोधाभास



सबाल्टर्न बोल्न सक्छ? बोलेपछि त्यो कसरी सबाल्टर्न रहिरहन्छ? बोल्नु भनेको के हो? वक्ताको कुरा स्रोताले ग्रहण गरेन भने त्यसलाई बोली मान्ने कि नमान्ने? आवाज निकालेर कुरा गर्नु नै बोली हो कि अरू नै केही हो?
विश्वविद्यालयीय सबाल्टर्न अध्ययनमा माथिका विषयबारे बढी छलफल हुने गर्छ। …शक्ति, स्रष्टा र सबाल्टर्न' किताबका लेखक तारालाल श्रेष्ठले पाठ्यक्रम अध्ययनभन्दा अघि बढेर बहस चलाउन खोजेका छन्। उनले सत्ताशक्तिसँग स्रष्टाको सम्बन्ध, ज्ञान र शक्तिको अन्तर्क्रिया, लेख्य र कथ्य साहित्यमा सबाल्टर्न आदि विषयमा यस किताब तयार पारेका हुन्। नेपाली सबाल्टर्न अध्ययनबारे थुपै्रले फुटकर लेखे। तर, पंक्तिकारले जानेसम्म, सिंग्ाो पुस्तकमार्फत नेपाली साहित्य समालोचनामा गरिएको यो पहिलो सबाल्टर्न बहस हो।
प्रस्तुत किताबलाई पाठकले पढ्नुपर्ने केही कारण छन्। यो परम्परागत समालोचना लेखनभन्दा भिन्न छ। किताब सैद्धान्तिक भए पनि श्रेष्ठले सजिलो भाषामा आफ्ना कुरा भनेका छन्। विदेशी र स्वदेशी लेखकका भनाइलाई सहज उल्था गर्दै आफ्नो समालोचनात्मक टिप्पणी पनि राखेका छन्। विश्वविद्यालयमा सबाल्टर्न बहस शास्त्रीय र संरचनावादी कोणबाट अघि बढ्यो भनिदै गर्दा उनले सैद्धान्तिक छलफललाई साहित्यिक कृतिमा विषयान्तर गराएका छन्। यसले किताबलाई तर्कपूर्ण बनाएको छ। सैद्धान्तिक बहस छुटेको छैन। तर, दुरुह शब्दको पहाड उभ्याएर पाठकलाई आतंकित पार्ने र बौद्धिकताको भ्रम दिने रोगबाट उनले छुटकारा लिने प्रयास गरेको देखिन्छ। यही नै उनको सफलता हो।
माथि सोधियो। के सबाल्टर्न बोल्न सक्छ? गायत्री चक्रवर्ती स्पिभाकको आशय छ– सबाल्टर्न बोल्न सक्दैन। उसका लागि अरूले बोलिदिनुपर्छ। यदि सबाल्टर्न आफैं बोल्छ र त्यसलाई तालुकदारले मनन गरे ऊ त्यसउप्रान्त सबाल्टर्न रहन्न।
विश्व प्राज्ञिक विमर्शमा तीन दसक अघिदेखि उठेको सबाल्टर्न बहस अभियानको पछिल्लो अगुवा स्पिभाक हुन्। त्यसो त इटालेली विद्वान एन्टोनियो ग्राम्सीले जेल बसाइका क्रममा लेखेको …सेलेक्सन फ्रम द प्रिजन नोटबुक्स' मा सबाल्टर्न चर्चा गरेकै हुन्। दक्षिण एसिया, अझ विशेष गरी भारतमा बुद्धिजीवीले सन् १९८२ मा सबाल्टर्न अभियान थाले। उनीहरूको जोड पनि संरचनागत पक्षमा नै बेसी गयो। श्रेष्ठचाहिँ असंगठित, मुक र एक्लो मानिस सबाल्टर्न हो भन्ने बनिबनाउ मान्यताभन्दा अघि बढेर त्यो वर्गको सामूहिक शक्तिमा विश्वास गर्छन्। यसले उनलाई मार्क्सवादी शिविरको नजिक पुर्‍याउँछ। उनी स्पिभाकको तर्कलाई …निराशावादी' को बिल्ला भिराउँछन्। इतिहास बनाउन र बनेकोलाई भत्काउनुपरे त्यसका लागिसमेत पहल लिन सक्ने सबाल्टर्नको परिभाषाले विवाद खडा गर्नेछ। उनको उद्देश्य पनि समकालीन सबाल्टर्न बहसकर्तासँग निहुँ खोज्ने नै देखिन्छ।
किताबको सुरुमा सबाल्टर्न बहसको बृहत पक्षलाई जोड दिइएको छ। पछिल्तिरको चर्चा साहित्यकेन्द्रित छ। बौद्धिक वर्गको स्वाधीनताको प्रश्न, इतिहासको पुनर्लेखन आदि विषय हुँदै सबाल्टर्नबारे भारतीय अध्ययन कसरी पछिल्लो समय नेपाल छिर्‍यो आदि विषयलाई किताबले समेटेको छ। सबाल्टर्न शब्दावली इतिहासबारे उत्पन्न मतभेदबीच लेखकले युगपिच्छे यसको फरक–फरक अर्थ लगाइएको जनाएका छन्। लिपिबद्ध रूपमा सन् अठार सयदेखि यससम्बन्धी बहस भए पनि मध्ययुगमै सबाल्टर्नको चर्चा हुने गरेको लेखकको दावी छ। उनले सबुत पनि किताबमै पेसेका छन्।
कम्युनिस्टले सबाल्टर्नवाला समाजवादी विचारभन्दा बढी उत्तरआधुनिकतावाद र विनिर्माणवादबाट प्रभावित रहेको दावी गर्ने गरेका थिए। उनीहरूको प्रहार विशेषगरी स्पिभाकतिर नै लक्षित थियो। आफूहरूले भन्ने गरेको सर्वहारा र सबाल्टर्नबीच तात्विक भिन्नता नरहेको तर्क तिनको थियो। सबाल्टर्नवादी चाहिँ बहस गर्छन्, सबाल्टर्न र सर्वहाराबीच फरक छ। सबाल्टर्न असंगठित मुक व्यक्ति हुन्। तर, श्रेष्ठले उद््धृत गरेका भारतीय लेखक रनजित गुहाको भनाइले पाठकलाई अल्मल्याउनेछ। गुहा भन्छन्, …ग्रामीण किसानमात्र होइन, सम्पन्न किसान, जमिनदार, मध्यम उच्च वर्गका सम्पन्न किसान पनि सबाल्टर्न हुन्। औपनिवेशिक भारतीय जनता साम्राज्यवादी शक्तिका अघि पराधीन बन्न बाध्य हुँदा सबै जनता नै सबाल्टर्न थिए।'
यसको तात्पर्य के हो? यसले सबाल्टर्न बुझाइमा गुहा वा श्रेष्ठमध्ये एकमा अलमल देखाउँछ। किनकि, गुहाले नै वर्ग, लिंग, जाति, उमेर, कार्यगत दर्जा आदि हिसाबले विभेद गरिएका, शोषण, उत्पीडनको सिकार भएका दक्षिण एसियाली समाजका व्यक्ति वा समुदायलाई सबाल्टर्न भनेका छन्। सम्पन्न र विपन्न दुवै एकैचोटि सबाल्टर्न हुने अवस्था कसरी हुन्छ? यदि हुन्छ भने लेखकले थप व्याख्या किताबमा राख्नुपर्थ्यो।
उता, स्पिभाक लगायत भने सबाल्टर्निटीलाई …फ्लेक्जिबल टर्म' मान्छन्। गुहाचाहिँ त्यसलाई परिभाषित नै गर्छन्। सिंगै किताब पढिसक्दा पाठकले लेखकको झुकाव गुहातिर रहेको पत्तो पाउँछ। तर, त्यसले फेरि कम्युनिस्ट तर्कको नजिक पुर्‍याउँछ। सर्वहारा र सबाल्टर्नबीच भिन्नता के हो? लेखक मौन छन्।
श्रेष्ठको लेखाइमा विरोधाभासहरू छन्। पृष्ठ २७ मा सबाल्टर्न अध्ययनलाई श्रेष्ठले प्राज्ञिक अभियान भनेका छन्। तसर्थ, यसको आफ्नै डिस्कोर्स समुदाय हुँदो हो। पृष्ठ ३१ मा गएर उनै लेखक शोषण र उत्पीडनसँग विरोध गर्ने अन्य अभियानसँग एकता र सहकार्य गर्ने कुरा गर्छन्। त्यो कस्तो सहकार्य हो? के त्यो राजनीतिक वा सामाजिक हो? त्यसो हो भने त्यो कसरी विशुद्ध प्राज्ञिक अभियान रहिरह्यो?
त्यस्तै, पृष्ठ ३३ मा उनी स्रष्टाहरू शक्तिको हैकमवादी संरचनाबाट मुक्त हुनुपर्ने आग्रह गर्छन्। उनी सबाल्टर्नका लागि साहित्य बढी स्वाधीन प्रदेश भएको आधार पेस गर्छन्। तर, त्यही पृष्ठमा उनी भन्छन्, …शक्तिको प्रभुत्वभन्दा कोही पर छैन।' उनी स्वाधीनताको प्रश्नमा आफैं झुक्किएका छन्।
बुद्धिजीवीको सन्दर्भमा श्रेष्ठको भनाइ प्रष्ट छैन। बुद्धिजीवी को हो? एउटै मान्छे सधंैभरि बुद्धिजीवी भइरहन सक्छ कि सक्दैन? कविलाई बुद्धिजीवी मान्ने कि नमान्ने? श्रेष्ठले भूपी शेरचन र अरू थुप्रै कवि सुरुवातमा प्रगतिको चेतना बोकेर हिँडे पनि पछि प्रतिगमनतिर पाइला उठाएको उदाहरण दिएका छन्। तर, यहाँ पनि त शक्तिभन्दा पर कोही रहन सक्दैन भन्ने प्रष्ट हुन्छ।
भूपिहरू अपवाद होइनन्। त्यसमाथि, अरूलाई दसथरि लेबल लगाउँदै सराप्ने कतिपय प्रतिरोधी लेखनमा लागेकाहरू पनि सरकार वा पार्टीसत्ताको छत्रछायामा उभिएका भेटिन्छन्। उक्त पाटोमा भने श्रेष्ठले रहस्यमय मौनता साँधेका छन्। सबाल्टर्न अभियानसँग विलयन साहित्य, आगोको मुर्च्छना कवितासंग्रह, गेहेन्द्रभुषण पोखरेलीसहित केही कविको उदाहरण जबर्जस्ती घुसाइएको छ। यसले किताबलाई उत्कृष्ट बन्ने …खतरा'बाट जोगाएको छ।
शास्त्रीय, मूलधार वा सत्ता प्रभावी भनिने लेखनविरुद्ध उभिने सबाल्टर्न अध्ययनको व्याख्या परम्परा त श्रेष्ठले तोडेकै छन्। तर, थिचोमिचोमा परियो भनी कविता लेख्ने सबैलाई सबाल्टर्नीय लेखक भनिदिँदा कतै यो शब्दावली नै पक्षाघात हुने डर त हुन्न? लेखकले किताबमा दिएका कतिपय उदाहरण पढेपछि पाठकले सबाल्टर्न बुुझाइमा असुविधा बेहोर्नुपर्नेछ। त्यसमाथि, साहित्यको कुरा गर्दा उनी कविताकेन्द्रित छन्। आख्यानको …अ' पनि छैन। अरू विधा पनि छुटेका छन्। कवितामात्र साहित्य हो?
त्रिविका प्राध्यापकबारे श्रेष्ठले सत्य बोलेका होलान् । तर, उक्त प्रसंग यो किताबमा सान्दर्भिक छैन। त्यसमाथि, प्राध्यापकमाथि उनका टिप्पणी र भाषा दुवै सहिष्णु भएनन्। फेरि, बौद्धिक वर्गको कुरा गर्दा कीर्तिपुरकै प्राध्यापकको कुरा मात्र किन गर्नुपर्‍यो? अरूचाहिँ गंगामा नुहाएर आएका हुन्? कि प्राध्यापकमात्रै बौद्धिक हुन्? अथवा, त्रिविभन्दा पर रहेका तर शक्तिभन्दा पर नरहेका बुद्धिजीवीलाई चाहिँ उनले के भन्लान्?
किताबको नाम नै मिलेको छैन। आवरणमा लेखिएको किताबको नाम र भित्री पृष्ठबीच एकरूपता छैन। पृष्ठ १५३ मा उद्धृत मवीवि शाहको कविता …आमाको सपना' होइन, …आमाको पुकार' हो। लेखकीयमा अतिरिक्त सहानुभूति जुटाउन रामकहानी समावेश छ। पृष्ठ २९ मा …जसरी डेरिडाले कुनै पनि चिज पाठबाहिर हुन्न भन्छन्, त्यसैगरी सबाल्टर्नका मुद्दा हरेक पाठभित्र र बाहिर छन्। ...दुवैतिरबाट विश्लेषण गर्न सकिन्छ।' जस्ता अस्पष्ट र नलेखे पनि हुने थुप्रै पंक्ति यो किताबमा जोरजाम गरिएका छन्। तिनले किताबको मोटाइ बढाउन र उचाइ घटाउन एकैपल्ट योगदान दिएका छन्।

शक्ति, स्रष्टा र सबाल्टर्न
लेखक :  तारालाल श्रेष्ठ
प्रकाशक :  डिस्कोर्स पब्लिकेसन
पृष्ठ :  २६५±२८
मूल्य :  रू.३००/– (पेपरब्याक)
  रू.५००/– (हार्डकभर) 

published on Nagarik Daily, 2067 saaun 7

No comments:

Post a Comment