Saturday, July 16, 2011

माओवादी विवादको चुरो

एनेकपा (माओवादी) मा अन्तरसंघर्ष चर्कदो छ। दसक लामो सशस्त्र युद्धबाट शान्तिपूर्ण प्रतिष्पर्धामा भाग लिएको माओवादी संसदीय अभ्यासका 'अनुभवी' अरू दललाई उछिन्दै पहिलो दल हुन सफल त भयो नै। शान्तिप्रक्रिया टुंगिन अझै बाँकी र रहेको परिस्थितिमा जारी प्रक्रियाको आधा हिस्सा ओगटेको उक्त पार्टीको आन्तरिक जीवनले सिंगो मुलुकलाई सकारात्मक नकारात्मक जुनै कोणबाट पनि असर पार्नसक्ने भएकाले पनि इतरमाओवादीले समेत चालु माओवादी विवादमाथि सरोकार राख्नु अनौठो भएन। माओवादी अब कता लाग्छ भनेर उसका समर्थक चिन्तित छन्। विरोधी समेत उसका गतिविधिप्रति उत्सुक छन्। त्यसैले यतिखेर माओवादी सबैको चासोमात्र होइन चिन्ताको विषय पनि बनेको छ।
सञ्चारमाध्यममा माओवादीबारे यतिखेर भइरहेका कतिपय बहसहरू मुख्य विषयमा प्रवेश गरिरहेका छैनन्। अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईको व्यक्तित्वको खिचातानी र सत्ताराजनीतिसँग त्यसको सम्बन्ध, विचारसमूहका नाममा मौलाइरहेका गुटउपगुट, दैनन्दिन राजनीतिक क्रियाकलाप आदिलाई एउटै भाँडोमा हालेर विश्लेषण गरिएको छ। तर, यी सबै अन्तरसंघर्ष, गुटगत गतिविधि, खिचातानी आदिको चुरो के हो त? यसमा चाहिं छिर्ने प्रयत्न गरिएको छैन, वा कम गरिएको छ।


माओवादीमा जारी विवादको चुरो भनेको सिद्धान्त र राजनीतिको प्रश्न हो। वैद्य सिद्धान्तको कुरा गरिरहेछन्। भट्टराई राजनीतिको कुरा गरिरहेछन्। वैद्य सुदूर स्वर्गको सपना देखिरहेका छन्। तर, पहिलो दोस्रो गर्दै अघि बढ्ने पाइला र भर्‍याङ बिर्सिरहेछन्। अथवा माओवादी भाषामा भनौं, क्रान्तिकारी उद्देश्यलाई सघाउने कार्यक्रम र कार्यनीति बिर्सिरहेछन्। भट्टराई पाइलाको हिसाबकिताब त राखिरहेछन् तर लक्ष्य हासिल गर्ने तत्परता उनमा कमजोर देखिन्छ। उनी कार्यनीतिलाई प्रधान मानेर उद्देश्यलाई गौण मानिरहेछन्। दाहाल चाहिं उपयोगितावादी देखिन्छन्। शान्तिप्रक्रिया सुरु हुनु अघि देखि नै उनी अन्य दलभित्र समेत खेल्न माहिर थिए। आफ्नो दलभित्र यसै पनि उनी प्राधिकार छँदैथिए। सैन्य, संगठन र संसदीय फाँट गरी तीनै मोर्चामा आफ्नो पकडलाई विधानबाट नै सुरक्षित राख्न सफल दाहाल यतिखेर भने चरम संकटमा छन्। एकातिर, अन्य दलभित्र उनी हावी भएर खेल्ने खेल अहिले आफ्नै दलभित्र खुम्चिएको छ। अर्कातिर, युद्धकालमा जस्तो उनले परिकल्पना गरेको स्टालिनपन्थी एकाधिकारी वर्चस्व रहेको पार्टी संरचना बदलिनुपर्ने, साथै बहुपदीयमात्रै होइन, एक व्यक्ति एक पदको योजना लागू गरिनुपर्ने माग उठ्न थालेपछि उनमा केन्द्रित माओवादी विश्वासको पनि पृथकीकरण हुने देखिन्छ।


माओवादीले युद्ध थाल्दा सैन्य विधिबाट …पुरानो प्रतिक्रियावादी राज्यसत्ता' खत्तम गर्ने उद्घोष गरेको थियो। २०५२ असारमा केन्द्रीय समितिको बैठकले …ऐतिहासिक जनयुद्धको पहिलो योजना' अघि सार्‍यो। 'माओ त्सेतुङबाट विकास गरिएको सर्वहारा वर्गको सार्वभौम र अपराजेय मार्क्सवादी सैन्य सिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा' गरेको बैठकले 'क्रान्ति' सफल नभएसम्म हतियार नबिसाउने संकल्प गरेको थियो। एनेकपा माओवादीको मूलनीतिको सार यही हो। तर, माओवादीको वर्तमान यथार्थ चाहिं के हो? चुनवाङ बैठकयता लोकतान्त्रिक गणतन्त्रको कार्यनीति लिदै शान्तिपूर्ण प्रतिष्पर्धामा आएको माओवादी संविधानसभा निर्वाचनमार्फत् 'एक्काइसौं शताब्दीको जनवाद' विकास गर्न लागेको पार्टी हो। यसरी हेर्दा, माओवादीको सिद्धान्त सशस्त्र युद्धबाट राज्यसत्ता कब्जा हो। उसको राजनीतिचाहिं …जनवाद' तिर शान्तिपूर्ण संक्रमण हो। तसर्थ, अहिले माओवादीभित्र चलिरहेको लडाइँ सिद्धान्त र राजनीतिमध्ये के चाहिं जोगाउने भन्ने हो। कुन सभासद्ले रक्तचन्दनको कमिसन पायो, कुन नेताले मीनभवनमा छुट्टै गुटको भेला गरायो, कसले सुरक्षा लडाकु फिर्ता पठाउन मानेन, कसले कति हस्ताक्षर बटुल्न सक्यो आदि दैनन्दिन राजनीतिक समाचार र विवाद तात्कालिक हुन्। एकाध दिनपछि ती सेलाएर जान्छन्। मुख्य कुरा चाहिं माओवादी उभिएको सैद्धान्तिक जमिन र व्यवहारबीच परस्पर विरोधाभास हो। माओवादीले एउटा पाइलाबाट चाहिं 'बहादुरीपूर्वक' पहि हट्नैपर्छ। नत्र उद्देश्यको स्पष्टताको लागि फुट्नुको विकल्प रहँदैन। एउटा पार्टीले एकैचोटि दुइटा लक्ष्य बोक्न सक्दैन। दाहालको सारसंग्रहवाद अवैज्ञानिकमात्र होइन, अराजनीतिक पनि छ। उनले पीप, गलगाँड, ऐजेरु आदि जमेर मोटो भएको पार्टी परिकल्पना गरिरहेका छन्।


माओवादीको यो लडाइँमा वैद्य या भट्टराईमध्ये जो हारे पनि माओवादीले एक थान जीत र एक थान हार हातलागी गर्ने हो। वैद्यले जित्दा …दीर्घकालीन सशस्त्र जनयुद्ध' गर्ने नीति पुनःस्थापित हुन्छ। अनि, शान्तिप्रक्रिया र नयाँ संविधान निर्माण प्रक्रियाले हार्छ। भट्टराईले जित्दा शान्ति र संविधानको तात्कालिक माओवादी मिसनले जित्छ, तर मूल लक्ष्यचाहिं पराजित हुन्छ। माओवादीमाथि आज मुलुक प्रश्न गरिरहेछ, यो जीतहारको फैसला गर्ने ऐतिहासिक क्षणमा माओवादीले के रोज्छ? माओवादीले बलियो हुँदै गरेको राष्ट्रिय भावना, राजनीतिक स्थिरता र स्थायित्व, पद्धति र युद्धले धराशायी भएको अर्थतन्त्रको उन्नति सम्झेर चालू शान्तिप्रक्रिया निश्कर्षमा पुर्‍याउन लाग्छ कि सिद्धान्त र घोषणापत्रको किताब प्रमाणित गर्न लाग्छ? २०५२ सालको योजना हुबहु कार्यान्वयन गर्न माओवादी लागेमा चुनवाङ प्लेनमपछि ऊसँग रिसाएका रिम र कम्पोसाका कमरेडहरू खुसी हुनेछन्। संस्थागत हुँदैगरेको शान्तिपूर्ण सामाजिक रुपान्तरणको अभियानचाहिं समाप्त हुनेछ। सेक्सपियरकृत नाटक ह्याम्लेटको मुख्य पात्रजस्तो भएको माओवादीलार्ई यसै गरे पनि सुख छैन, उसै गरे पनि सुख छैन। तर, केही नगरी पनि नेतृत्वले छुट पाउने सम्भावना पनि देखिन्न। विवाद बढ्दै गएर फुटको संघारसम्म पुगिसक्दा पनि अनिर्णयको बन्दी बनिरहे माओवादी नेतृत्वले शान्ति र युद्ध चाहने दुवै खाले स्कुलिङका कार्यकर्तामात्र होइन, शान्ति र परिवर्तनको आश गर्ने हिजोका मतदाता, शान्तिप्रक्रियाका सहयोगी दल र उसका अन्तर्राष्ट्रिय मित्र सबैतिरबाट विश्वास गुमाउनेछ।


सिद्धान्तको अत्तो थापिरहेका माओवादी नेताले अध्यक्ष लगायतलाई हिजोको प्रतिबद्धता कहाँ गयो? के जनयुद्ध सफल भयो? राज्यसत्ता हातमा आयो? आदि प्रश्न सोधेर मुड खराब गरिसकेका छन्। भट्टराईपक्षीयको भनाई छ, विचार हाम्रो बोक्ने, अनि तपाईंलाई उल्टै हामीले नै नेता स्वीकार्नुपर्ने? युद्ध र शान्तिको दोबाटोमा उभिएका दाहाल कार्यकर्ताको मन राखिदिन पालुङटार जान्छन् र विद्रोह अनुमोदन गर्छन्। शान्तिको पक्षमा चौतर्फी दबाब एकैसाथ झेलिरहेका उनी बैठकबाट फर्केपछि बिहानदेखि बेलुकासम्म नै शान्तिको मन्त्र जप्छन्। संविधान निर्माणका क्रममा विवादित विषय समाधान गर्ने उपसमितिको नेतृत्व पनि आफैं लिन्छन्। यसरी समस्याहरुलाई सामना र समाधान गर्न छाडेर केवल भाग्दैजाने नियत दाहालका लागि प्रत्युत्पादक हुनेछ। यो द्विविधाग्रस्त मनस्थितिलाई उनले लम्ब्याइरहे भने माओवादी विवाद त किनारा लाग्दैन नै। थपिएको समयमा संविधान नबन्ने र शान्ति भड्किने सम्भावना पनि उत्तिकै रहन्छ। मुलुक दाहालसँग समस्याहरूको समापन चाहिरहेछ, स्थगन होइन।


शान्ति र संविधानको भलो चिताउनेहरूले भन्लान्, संक्रमणकालमा कुनै पनि दल फुट्नु फाइदाकारी हुँदैन भनेर। राजनीतिको नियमले त्यसो भन्दैन। असल उद्देश्यका लागि तगारो उत्पन्न भए कि त्यसलाई सामना गर्न हिम्मत गर्नुपर्छ। नत्र आत्मसमर्पण। जारी प्रक्रियाप्रति अविश्वास गर्ने माओवादी कित्तालाई आश्वस्त पार्ने काम मुख्यतः दाहालकै हो। उनी चूप बसेमा उनी पनि अहिलेको बाटोमा प्रतिबद्ध छैनन् भन्ने बुझिनेछ। होइन भने उनले अघि बढ्नैपर्नेछ। कम्तीमा माओवादीको 'क्रान्तिकारी उद्देश्य' पूरा गर्ने शान्तिपूर्ण बाटोबारे उनमा स्पष्टता आउनुपर्छ। यो अरुले गरिदिएर हुँदैन। यतिगर्दा पनि माओवादीभित्र विषयलाई बुभःने जड्ता कायम रहिरहन्छ भने दाहाल एकैसाथ ती सबैखाले मानिसका नेता हुन सक्दैनन्। माओवादी झगडाको चुरो सिद्धान्त र राजनीतिप्रतिको विपरीत बुझाई नै हो। बढीमा महाधिवेशनसम्म जाला, तर यो झगडा अब दाहालले चाहँदैमा स्थगित हुनसक्दैन।

No comments:

Post a Comment