Monday, July 18, 2011

फरक विषय, उस्तै आग्रह

भारतीय अंगे्रजी पत्रिका …आउटलुक' को पछिल्लो अंक त्यहाँका युवा लेखकबारे आवरण कथासहित छापिएको छ। त्यहाँ छापिएका इशान त्रिवेदी भन्छन्, …सजिलो पाराले लेख्नुपर्छ। अहिलेको पुस्ता सलमान रुस्दी र विक्रम सेठद्वारा लिखित किताबका पंक्तिपिच्छे शब्दकोश पल्टाउन झिंजो मान्छ।'
केही महिनायता नेपाली कथा साहित्यका थुप्रै किताब बजारमा आएका छन्। एकाधलाई छाड्ने हो भने युवा लेखकले अग्रसरता देखाएको कथालेखन शैलीगत सरलता र सहजतातिर उन्मुख छ। त्रिवेदीको आशयसँग पछिल्लो नेपाली लेखन सहमत देखिन्छ।

चालीसको दशकसम्म प्रयोगपरक साहित्य खुबै लेखियो। पाश्चात्य साहित्य सिद्धान्त पश्चिमा राष्ट्रमा थोत्रे घोषित भइसक्दा यहाँ भने तिनलाई नयाँ मानेर प्रयोग गरिँदै थियो। केही लेखक कथामा प्रयोग गरिरहेका थिए। यस्तो लाग्थ्यो, तिनीहरू कथामा वादको घोषणापत्र लेखिरहेका थिए। कथाकारहरू कथानकका दूत होइन, …विचार' का  गधाजस्ता लाग्थे।
पछिल्लो पल्ट छापिएका अधिकांश कथा भने जटिल कथानक र भाषा चलाएर बौद्धिकताको भ्रम दिउँला भन्ने रोगबाट मुक्त देखिन्छन्। साहित्य हो। आ–आफ्नो शैली हुन्छ लेखनको। तर बाटुलो खेत जोतेजस्तो कथानक र कठिन शब्दजाल बुनेर पाठक तर्साउने दिन गए। युवा कथाकार यस्तै इंगित गर्छन्।
विवश वस्तीको …यस पटक फुलेनछ गुराँस' र मणि लोहनीको …परास्त प्रेम' सम्प्रेषण सहज बनाइएका कथा संग्रह हुन्। वस्तीका कथाको टेक्ने जमीन राजनीति हो। लोहनी उभिएको भूगोल प्रेम। फरकफरक धारका यी दुई लेखकले कथामा भने एउटै किसिमको आग्रह बनाएका छन्। यो संयोग हो।
साझा प्रकाशनले वस्तीको किताबमाथि प्रकाशकीय  लेख्दै …जनयुद्ध'को भोगाई लगायत सामयिक विषय समेट्न सक्नुलाई कथासंग्रहको विशिष्टता मानेको छ। कथा पढ्दै जाँदा भने एक दशक चलेको सशस्त्र द्वन्द्वमाथि कथाकारले जहाँतहीँ …नोट अफ् डिसेन्ट' लेखेको महसुस हुन्छ। प्रकाशकले कथाकारलाई बु‰न हतार गरेछ। वस्तीको लेखक चेतनाले उक्त हिंसालाई …जनयुद्ध' मानेको छैन। यो वस्तीका कथामा पाइने आग्रह।
उता, लोहनी प्रेमको कुरा त गर्छन्। तर असाध्यै निराशावादी। उनी दावी गर्छन्, …जब प्रेममा मानिस उपस्थित हुन्छ, त्यहाँ प्रेम कम र अहम् बढी भेटिन्छ।' उनी इहलोकभन्दा परलोकको प्रेमलाई बढी प्रेम गर्छन् कि! मानिसहरू …परास्त प्रेम' का उदास नायक नायिकाजस्ता मात्रै हुँदैनन्, जसले सँधै दुःखान्त बेहोर्नुपरोस्। प्रेम जो गर्छन्, यहीं धरतीमा गर्छन्। वायुमण्डलमा प्रेमको अस्तित्व हुँदैन।
फेरि वस्तीकै कुरा। राजनीति उनको चिन्तन र चिन्ता दुवै हो। उनको कथाचेत बु‰दा लाग्छ, मानिसहरू मेहनत गर्न अल्छी लागेर, प्रतिशोध बोकेर, बेरोजगार भएर माओवादी युद्धमा हिडेका थिए। इवि साँध्न हिडेका उनीहरूमध्ये कतिपय सामाजिक असुरक्षाबाट मुक्ति लिन  जंगल पसेको विश्लेषण वस्तीका कथाको पार्श्वचेतना हुनसक्छ।
…साधुरामको चिहान' कथाको मुख्य पात्र साधुराम भन्छ, …प्रतिशोधविनाको राजनीति पनि के राजनीति? राजनीति गर्नु छ त प्रतिशोध पनि साँध्नुपर्छ।' आफूसँग असहमतहरूलाई मार्न खनेको चिहानमा एक दिन ऊ आफैं जाकिन्छ। साधुराम मरेपछि चिहानमा बनमारा फुल्छ। पाठकलाई थाहै छ, बनमाराले आफू उमि्रएको स्थानमा अरू बिरुवाको अस्तित्व सहँदैन। वस्तीका प्रायः सबै कथा साधुरामलाई सामान्यीकरण गर्न उद्दत छन्। 
माओवादी सशस्त्र विद्रोहलाई हेर्ने कथाकारको दृष्टिलाई पंक्तिकारले …आग्रह' भन्न चाहेको छ। नेपाली साहित्यमा उक्त संघर्षबारे कि त अन्धसमर्थनमा कि त विरोधमा धेरै मसी खर्चिइसकेको छ। किन समालोचनात्मक कथादृष्टि अझै निर्माण हुन सकिरहेको छैन?
…फूलमायाले लिखु तरिन्,' …यसपालि फुलेनछ गुराँस,' …चन्दनपुरको एक्लो वृक्ष' कथाले पाठक आकर्षित गर्नेछन्। …चन्दनपुर...' कथाको अन्त्यचाहिं नमिल्दो छ। आफूले विद्यालयकालमा पढाएको उद्दण्ड विद्यार्थी …जनवादी शिक्षा' को प्रशिक्षक बनेर आफैंलाई पढाउन आएको देखेर …उमेश सर' ढल्न पुग्छन्। त्यहीँ उनको अन्त्य हुन्छ। मानिसको जीवन सिध्याउन यति घटना पर्याप्त छ? यस प्रश्नले पाठकलाई खेदिरहे पनि वर्णित अधिकांश घटना युद्धकालमा गाउँका शिक्षकले भोगेका अनुभूति हुन्। द्वन्द्वकालभर सरकार सदरमुकाममा खुम्चिएर बसेको थियो। स्थानीय निकाय भन्नु केही थिएनन्। थिए त केवल सरकारी तलब खाएर पढाइरहेका शिक्षकहरू। तिनै सरकारी मान्छेलाई …जनसरकारी' मान्छेले गर्ने व्यवहार चित्रण यो कथा हो।
…मेरो छोराको लोकतन्त्र,' नेपाली सत्ता राजनीतिको विडम्बना–वर्णन हो। आन्दोलन दबाउने अभियानलाई समर्थन गर्ने मित्र नै व्यवस्था फेरिएपछि कुर्सीमा स्थापित हुँदा एक आन्दोलनकारी दुःखी भएको छ। …करिम बक्खको नयाँ जुत्ता' पुरानो कथा उल्ट्याउँदै बुनिएको नयाँ …प्लट' हो। कथा सांकेतिक छ। जीवनमा कहिलेकाहीं संकेतहरू काफी हुन्छन्।
अब लोहनीको कुरा गरौं। यो पंक्तिकारले कविताबाट आख्यानक्षेत्रमा आएका अधिकांश लेखकहरूमा कसिलो भाषा र संवेदनशील अभिव्यक्तिको प्रचुरता पाउने गरेको छ। …परास्त प्रेम' त्यसको एक उदाहरण हो। तर, चरम स्वच्छन्दताको वकालत गर्ने यी कथाले टेक्ने वैचारिक धरातल भने कमजोर छ। थुप्रै ठाउँमा कथाकारले आफूमा नयाँ …दार्शनिक' भेटेका होलान्। जस्तो,
…प्रेम संयोजनको नाममा सबैभन्दा ठूलो विभाजन हो।' (पृष्ठ ७३)
…मान्छे भनेको दुःखहरूको संग्रहसिवाय अरू केही होइन रहेछ।'(८१)
…मानिसले एक्लोपनासँग डराउनुपदैन, बरु समाज नै एक्लो मानिससँग डराउँछ।' (७५)
लोहनी यसरी थुप्रै ठाउँमा परिभाषा दिन्छन्, जीवन, प्रेम, समाज आदिको। लाग्छ, प्रेम उनीसँग आजित छ। आफूबारे अति निस्सार, निरर्थक र निरपेक्ष आग्रह कथाकारले बोकेको पाउँदा प्रेम उनीसँग उल्टै दुःखी भएको हुनुपर्छ।
…हाँसो' कथामा नन्द भाउजुबीच समलिंगी स्वभाव देखाउन खोजिएको छ। यो बनिबनाउँ पारिवारिक र सामाजिक परम्परामाथि आधुनिक पुस्ताले गर्न थालेको विद्रोह अभिलेख हो। पूर्वीय सभ्यता र नेपाली समाजमा यो बहस कहाँ पुग्छ, भविष्यलाई जिम्मा लगाउनु उचित होला।
…बिम्लीकी दिदी र आबोइपाते' ले पाठकलाई आफूतिर खिच्नेछ। …नीलो तुथो टाँसिएको अनुहारसँग एक्लो चराजस्तो नमस्कार साटेर म उक्लिन्छु कुमारीको वैंशजस्तो सफा बाटोमा' आदि कविताजस्ता वाक्य लेख्दै कथाकारले खोटाङ्को परिवेश र स्थानीय वनस्पति आबोइपातेको सन्दर्भ टिपेका छन्।
…हाइफा अल रुमानी,' …तान्या,' …नादिया र परेवाहरू,' …यो सहर मेरो होइन, कठै तिम्रो पनि रहेन,' कथामा मिठास छ। लोहनीले प्रेम र यौनसम्बन्धी विश्वविद्यालयका थुप्रै संकाय चहारेका हुुन्? …दोस्रो पुरुष,' …निर्वस्त्र इरा' आदि कथाका रचनागर्भ पढ्न पाठक इच्छुक हुन सक्लान्।
भाषामा गड्बडी छ। माथापच्चिसी होइन, माथापच्ची। फ्रस्टेसन होइन, फ्रस्ट्रेसन। नैराश्यता होइन, नैराश्य वा निराशा। हिपप् होइन, हिप हप। वाक्य र पदमा अरू पनि थुप्रै त्रुटि छन्। अर्को संस्करण छापिए …भूलवश गल्ती' नहोला।
अन्त्यमा, वस्तीलाई सन्देहको प्रेस्त्रि्कप्सन। राजनीतिक विषयवस्तुमा कथा लेख्ने उनी र प्रायः नेपाली कथाकारले मनन् गरुन्। किन राजनीतिक कथाका पाठकको संख्या कम छ? राजनीतिमा उनीहरूको चाख कम भएको हो? कि जार्गन मिसाएर प्रस्तुति बोझिल बनाउने अथवा प्रतिवेदन/घोषणापत्र तयार पारेजस्तो कथा लेख्ने शैली पनि जिम्मेवार छ?
लोहनीलाई पनि खस्रोमसिनो। उनका पात्रजस्तै मानिस नेपाली समाजमा कति होलान्? अरू पनि त होलान्। प्रेमसम्बन्धी तिनका अलग भोगाई वा विचार पनि होलान्। आजको कथाकारले आफूले देखेभोगेको संसार त लेख्न सकिहाल्छ। अरूको जीवन पनि अन्वेषण गर्ने कि? अनि, उनका कथाको उमेर भेट्न नेपाली समाजले कति वर्ष कुर्नुपर्ला? समाज उनका वयस्क कथाभन्दा कान्छो देखिन्छ।

No comments:

Post a Comment