'म बाँचेको थिएँ र पो अहिले मेरो छोरालाई फर्क भन्न पाएको छु। मेरो आन्दोलनमा छोराको पनि सहयोग छ भन्न पाएको छु। म मरेको भए तिमीलाई कसले यस्तो आग्रह गर्थ्यो?'अखिल (क्रान्तिकारी) का अध्यक्ष हिमाल शर्माले चीनमा पढ्दै गरेका छोरा सरललाई मार्मिक फोन गरे। बुबाले जति पटक कर गरे पनि आमा र आफन्तसँग धेरै छलफलपछि सरलले नेपाल नआउने निधो गरिसकेका थिए। कुनै तर्कले जित्न नसकेपछि शर्माले अन्ततः 'इमोसनल ब्ल्याकमेलिङ' गरेर भए पनि छोरालाई नेपाल बोलाएरै छाडे। बुबाले नेतृत्व गरेको 'आन्दोलन' मा बलिदानको कोटा चुक्ता गर्न पहिलो लाइनमा (सायद अन्तिम पनि?) उभिएका यी छोरा अहिले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई सोधिरहेका छन्, 'अध्यक्षज्यू, के यो नीति मेरा लागि मात्रै हो? म माओवादी नेताको छोरो हुनु अभिशाप हो? नेताकै छोरो भएकाले मैले भविष्य अनिश्चित बनाउनुपर्ने?'
पढाईका लागि चीनसम्म पहँुच राख्ने सरल सौभाग्यले हिमाल शर्माका छोरा हुन्। तर, व्यक्तिगत स्वतन्त्रतालाई पार्टीको नाममा 'बलिदान' गर्न अभिशप्त उनै सरल दुर्भाग्यले माओवादी नेताका छोरा पनि हुन्। उनका बुबा त्यस्ता 'नैतिकवान् दुस्साहसी' हुन्, जो खराब बाटो हिडेर असल गन्तव्यमा पुग्ने सपना देखिरहेका छन्। मुलुकको पहिलो ठूलो राजनीतिक दलको विद्यार्थी संगठनका अध्यक्ष आफूमाथि उठ्नसक्ने नैतिक प्रश्न हल गर्न खोजिरहेका छन्। तर, निजीकरणविरोधी अभियानमाथि उठिरहेको राजनीतिक प्रश्नचाहिं ज्यूँका त्यू छ। अर्थात्, छोरालाई निकाल्दै उनी शिक्षामा निजीकरणविरुद्ध फिल्मी शैलीमा लड्ने एक्लो 'नायक' बन्न खोजिरहेका छन्। उनी पद्धति बसाल्न गइरहेका छैनन्। बरू आफूलाई चोखो प्रमाणित गर्न।
तथ्य छर्लंग छन्। फेरिएको राजनीतिक व्यवस्थाका बाहक दलहरू आफंै सरकारी शिक्षा सुधार्न संवेदनशील छैनन्। विश्वविद्यालयमा दलको सदस्यतापत्र बोकेको मानिसलाई भर्ना गराउन महिनौं लडाइँ खेल्छन्। यतिबेला त्रिभूवन विश्वविद्यालयलगायत शिक्षण संस्थाका उपकुलपति र पदाधिकारी नियुक्तिमा माओवादी पनि अरू दलसँगसँगै माथापच्ची गरिरहेको छ। नियुक्ति अड्किदा विद्यार्थीको भविष्य डामाडोल हुने खतरा छ। त्यसमाथि, अधिकांश दलका नेता आफैं निजी कलेज र विद्यालय खोलिरहेका छन्। गुणस्तरीयताको प्रचार गर्ने नाममा चरम अस्वस्थ प्रतिष्पर्धा गर्ने उनीहरू आफैं सरकारी विद्यालयको व्यवस्थापन समिति हत्याउन र आफूअनुकलको शिक्षक ल्याउन मरिमेटेर लाग्छन्। राम्रोभन्दा 'हाम्रो' शिक्षक उनीहरूलाई ग्राह्य हुन्छ। फलस्वरुप, सँधैको तनावले कहिल्यै पढाई राम्रो हुँदैन। विद्यार्थी फेल हुन्छन्। फ्रेस हाउसमा काटिन राखिएका कुखुराहरूजस्तै तिनीहरु अन्ततः कतार एयरवेजका यात्रु बनेर वैदेशिक श्रममा निर्भर हुन्छन्। पहिल्यैदेखि विद्यार्थी संगठनका नाममा हुने कतिपय अस्वस्थ प्रतिष्पर्धा र गुन्डागर्दीमा अहिले आफूलाई नयाँ चेतनाको बाहक भन्ने अखिल (क्रान्तिकारी) पनि थपिएको छ। ऊ सुधार्न गइरहेको छैन। बरु थप बिगार्न उद्यत। शर्मा यतातिर कम संवेदनशील छन्।
अखिल (क्रान्तिकारी) को निजीकरणविरोधी योजनालाई स्वयं माओवादी नेताले साथ दिन्छन् भनी पत्याउन गाह्रो छ। यो छिट्टै देखिने छ। अर्कातिर, निजीकरणबाट शिक्षालाई मुक्त राख्ने क्रान्तिकारी योजनाले जनताको आधारभूत आवश्यकतासँग जोडिएका अस्पताल, विद्युत, खानेपानी आदिमा भएका निजी पहललाई कसरी हेर्ने? देशको अर्थतन्त्र जर्जर भएका बेला पनि भरथेग गर्न प्रयत्न गर्ने निजी उद्योग, कलकारखाना आदिबारे माओवादी नीति के हुने? गुणस्तर बिर्सेर अकुत नाफा कमाउन लागेका शिक्षण संस्थालाई नीतिगत दायरामा ल्याउन भूमिका खेल्नुपर्ने कुरा प्रमुख हो। अझ, कतिपय निजी विश्वविद्यालय र कलेजमात्रै होइन, विद्यालय पनि गुणस्तरीयता धान्न प्रतिबद्ध देखिन्छन्। शिक्षामा सरकारी विद्यालयको नतीजा निराशाजनक रहेको बेला केही मात्रामा भए पनि निजीले भरथेग गरेकै हो। निजी शिक्षण संस्थाका यी गुण र अवगुणलाई एउटै डालोमा राखेर विश्लेषण गर्नु कति उचित हुन्छ?
माओवादी नेताले पनि सकारेका छन्, पुँजीवादलार्ई एउटा अवस्थासम्म विकसित हुन दिनैपर्छ। यसको मतलब, आर्थिक असमानताको दायरा बढाउने पुँजीवाद जब समाजको मुख्य उत्पादक शक्तिको विरुद्ध आमनेसामने हुन्छ, त्यतिखेरमात्रै त्यो निषेध गर्र्न लायक हुन्छ। अहिले माओवादी राष्ट्रिय पूँजीपतिको संरक्षण गर्दै अर्थतन्त्र बलियो बनाउनुपर्छ भन्ने ठाउँमा आइपुगेको छ। अर्थात्, राष्ट्रिय विकासमा सरकारी पहलसँगै मिलेर वा आफ्नै ढंगले निजी क्षेत्रले योगदान पुर्याउँछ भने त्यसलाई अस्वीकार नगर्ने माओवादी नीति छ। उता, अखिल (क्रान्तिकारी) भने यी यथार्थहरू बिर्सिरहेको छ। माओवादी नेताका छोराछोरी निजी विद्यालयबाट निकाल्दा यो देशमा जनवादी शिक्षा आउँछ? कि जनवाद माओवादी नेतालाई मात्रै आउँछ?
शर्माका आफ्नै तर्कहरू छन् …बन्दुक बोकेर मर्न मार्न चाहिं सक्ने, यति जाबो त्याग चाहिं गर्न नसक्ने? के पढ्नै नदिने भनेको छ र हामीले?' …त्याग'बारे विश्व कम्युनिस्ट आन्दोलनमा बिडम्बनापूर्ण परिभाषा छ, क्रान्तिका नाममा ज्यान दिन चाहिं तयार हुने, सत्ता हत्याएपछि त्याग्न चाहिं पटक्कै तयार नहुने। शर्माले जहाँसम्म युद्धकालको उदाहरण दिदै नयाँ उचाइमा त्याग गर्न उक्साएका छन्। उनी एउटा गल्तीलाई अर्को गल्तीले सच्याउन खोजिरहेका छन्। युद्धकालमा माओवादीले आधारइलाका र जनसरकारको अभ्यास गर्दा जनवादी शिक्षाको पाठ्यक्रम बनाएको थियो। प्राथमिक तहको किताबमा कमरेड क, खतरा ख, प्रचण्ड प, बन्दुक ब, माओ म आदि लेखिएको थियो। पढ्ने शैली उही सुगा रटाई। नयाँपनका नाममा जारी उक्त पाठ्यक्रम र पञ्चायती महेन्द्रमालाबीच तात्विक अन्तर केही पनि थिएन। जसरी जनवादी शिक्षाको नाममा चरम पुरातन शैली अपनाएर माओवादीले गलत क्रियाकलाप गरेको थियोे, त्यसरी नै निरपेक्ष रुपमा निजीकरणको विरोध गर्ने अहिलेे क्रान्तिकारीले अघि सारेको मान्यता अर्को भूल हो। यो लाल ज्यादतिको पहिलो शिकार शर्माका आफ्नै छोरा भएका छन्।
शर्मा मात्रै होइन, विद्यार्थी संगठनका नेताले गर्नुपर्ने काम थुपै्र छन्। उनीहरू दलका अमुक नेताको गुटगत घेराबाट माथि उठेर संयुक्त शैक्षिक आन्दोलन संगठित गर्न सक्छन्। उत्कृष्टताको अफबाह फैलाएर अकुत सम्पत्ति कुम्ल्याउन पल्केका शिक्षण संस्थालाई कारबाहीको भागिदार बनाउने नीति ल्याउन सरकारलाई दबाब दिन सक्छन्। उनीहरूले शिक्षामा दलगत हस्तक्षेप हटाई विशुद्ध प्राज्ञिक वातावरण प्रत्याभूति, दक्ष जनशक्ति र पर्याप्त भौतिक पूर्वाधार, परीक्षा र मूल्यांकन पद्धतिको वैज्ञानिक आधार बनाउन रचनात्मक आन्दोलन गरी अभिभावक र अन्य सर्वसाधारणको ध्यान खिच्न सक्छन्। अझ, असमान आर्थिक पृष्ठभूमिबाट आएका विद्यार्थीका लागि 'हुनेसँग लिने, नहुनेलाई दिने' आदि कार्यक्रम घोषणाका लागि पहल गर्न सक्छन्। जे सुकै गरे पनि उनीहरू सिस्टम बसाल्न भूमिका खेल्न सक्छन्। शर्मा भने यस्ता अनेकन् विकल्प र सांगठानिक सामर्थ्यलाई नजरअन्दाज गर्दै एक्लो वीरका रुपमा अघि बढ्न खोजिरहेका छन्। उनको यो दुस्साहसको नियत केही असल पनि होला। तर, यसले विश्वभर एक्लै क्रान्ति गर्न खोज्ने चे ग्वेभाराको व्यक्तिगत आकांक्षामा आधारित दुस्साहसभन्दा उपल्लो अर्थ राख्दैन।
बर्माको युद्धमा कमाण्डरको आदेश सुन्ने बानी परेको सिपाहीले घर फर्केर पत्नी छोराछोरीलाईसमेत निर्देशन दिएजस्तै शर्माले रुपमा पृथक, सारमा भने उही तरिकाले छोरा सरलमाथि संगठनको आदेश कार्यान्वयन गरेका छन्। विश्लेषक राजेन्द्र महर्जनसँग पंक्तिकारले यही विषयमा कुराकानी गरेको थियो। महर्जनले शर्मापत्नीसँग छोराको विषयमा कुरा गरेका रहेछन्। उनले भनिछन्, …छोरो फ्रस्ट्र्ेटेड छ, गाउँ फर्कूँ भन्दैछ, भाइबहिनीलाई पनि यसको असर परेको छ।'
क्रान्ति माथिबाट थोपर्ने आदेश होइन। चाहे त्यो हप्कीदप्की गरेर होस्। चाहे भावुक कुरा सुनाएर। कसैको राजनीतिक करिअरको मूल्यमा अरूले सती जानूपर्ने प्रवृत्ति अब दोहोरिनुहुन्न। सरलमा परेको मानसिक असरको जिम्मा शर्माको अभियानले लिन सक्छ? 'जनयुद्ध' लड्नेहरूको अहिलेको जीवनशैली शर्माले हेरुन्, र एकपल्ट आफ्नै छोरालाई हेरुन्। छोरामाथि निर्देशन लाद्नुअघि उनले आफ्नै दलका नेताहरू स्वयंको चिन्तन, आचरण र कार्यशैली बदल्ने पद्धति बनाउन अघि सरुन्।
छोरालाई उनको निजी संसारबाट फर्र्काएर शर्माले थालेको यो अभियानको नियत ठीकै होला। तर उनको यो निर्णय कालान्तरमा असल तर असफल दुस्साहस ठहरिनेछ।
No comments:
Post a Comment