Friday, September 26, 2014

बिदा भइन् वीराङ्गना

आमाको चोला उड्दा आँसु नझार्ने सन्तान को पो होला ! मंगलबार दिउँसो वाग्मती किनारमा बसेर छोरी उषा र छोरा उमेश सहाना प्रधानलाई अन्तिमपल्ट हेर्दै रुँदै, हेर्दै रुँदै गर्दै थिए । तर त्यो आँसुमा शोक मात्रै बगेको थिएन, गर्व पनि मिसिएको थियो ।
शोक र सम्झनाको त्यो घडीमा उमेशले कान्तिपुरसँग भावना साटे, 'राणाकाल, पञ्चायतकाल र गणतन्त्रको आन्दोलनमा अघिअघि हिँड्ने मानिस नै मेरी आमा हो भन्दा मलाई कति गर्व लाग्छ होला !'
लामो समयदेखि ओछयानमा थलिएकी सहानालाई गत जेठ २३ गते मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो । १९८४ असार ३ गते असनको व्यापारी परिवारमा जन्मेकी राणाकालीन सहिद गंगालालकी बुहारी, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालकी पत्नीले श्रेष्ठ परिवारसँग जोडिनुअगावै आफ्नो सार्वजनिक छवि बनाइसकेकी थिइन् ।
आमाको अवसान भएलगत्तै उमेशले काकालाई फोन गरे । त्यसपछि एमाले नेता माधवकुमार नेपाललाई । छिप्पिँदो रातमा नेपालको फोन उठेन, सन्देश पठाए । राति ११ बजेर ३४ मिनेट जाँदा माधव नेपालको सेलफोनमा 'एसएमएस' खस्यो, 'दाइ, आमा अघि ११ बजे बित्नुभयो- उमेश ।'

नेपालले तुरुन्तै फोन गरे । त्यसपछि अध्यक्ष केपी ओलीलाई 'टेक्स्ट' पठाउँदै बिहान ८ देखि ११ बजेसम्म पार्टी कार्यालयमा पार्थिव शरीर राख्ने निर्णय गर्न सुझाए । सरकारले राष्ट्रिय सम्मानका लागि निर्णय लेओस् भनी कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई अर्को एसएमएस पठाए । त्यसपछि राष्ट्रपति, सभामुख, प्रतिपक्षी नेता, प्रहरी र सेनाका प्रमुख, मुख्यसचिव आदिलाई पनि खबर पठाए । बिहान एमालेले मुख्यालय बल्खुमा तीन घन्टा सहानालाई राख्यो । सहाना र समकालीनको प्रयत्नमा स्थापित महिला संघको झन्डा ओढाइयो । त्यसमाथि पार्टीको, अनि सबैभन्दा माथि नेपालको राष्ट्रिय ओढाइयो । त्यसपछि पशुपति आर्यघाट लगियो । खबर सुनेर शुभचिन्तकहरू पुग्दा आर्यघाटको चितामाथि धूवाँ पुत्ताइरहेको थियो ।
दिउँसो २ बजेतिर आर्यघाटबाट बाहिरिँदै गर्दा एमाले नेताहरू सहानालाई अन्तिमपल्ट हेर्न चाहने शुभेच्छुकहरूकै तारो बनिरहेका थिए । उपमहासचिव घनश्याम भुसाल, केन्द्रीय सदस्य रामकुमारी झाँक्रीसँग उनीहरू रुँदै दप्काउँदै थिए, 'खबरै नगरी यसरी दाहसंस्कार गरिसक्ने हो ? दिनभरि खुलामञ्चमा राख्नुपर्दैनथ्यो ?'
संघर्षको जीवन
सहाना त्यस्तो समय राजनीतिमा हाम फालिन्, जुनबेला नेपाली समाज तीन मान्यताले जेलिएको थियो । एक, महिलाले राजनीति गर्नु हुन्न । दुई, गरिहाले पनि व्यवस्थाविरोधी राजनीति त झनै गर्नु हुन्न । तीन, व्यवस्थाविरोधी नै भइहाले पनि कम्युनिस्ट त झन् हुनैहुन्न ।
रहरैरहरमा राजनीतिमा हामफालेकी काठमाडौंकी यी महिला अन्ततः तिनै 'तीन गर्न नहुने' भइन्, निरंकुश जहानियाँ राणाशासनका बेला । सुरुमा शैक्षिक, सामाजिक मुद्दा उठाएर आन्दोलनमा निक्लेकी यी 'व्यवस्थाविरोधी कम्युनिस्ट' महिलाले विस्तारै राजनीतिक सुझबुझको दायरा बढाउँदै लगिन् ।
अनेक पक्राउ, जेल, यातना, हिरासत खपिन् । कसैका लागि दुनियाँ फेर्न हिँडेकी क्रान्तिकारी भइन् त कसैका लागि अराष्ट्रिय तत्त्व । राज्यसत्ताविरुद्ध लड्न हिँडेकी उनी कालान्तरमा त्यही राज्यको मन्त्री भइन् । आफ्नै पार्टीभित्र थुप्रै उकालीओराली खपिन् । पार्टी बदलिन् । विवादित भइन् ।
२०४६ सालको जनआन्दोलनमा संयुक्त वाममोर्चाको तर्फबाट अध्यक्ष बनेकी सहाना एमाले फुटेर ०५४ मा बनेको नेकपा मालेको अध्यक्ष चुनिएकी थिइन् । राणाकाल छँदै संघर्षमा उत्रने यी आँटी महिला प्राध्यापकको पृष्ठभूमिबाट राजनीतिमा आइन्, पटकपटक मन्त्री भइन् । पुष्पलालजस्तो नेपाली कम्युनिस्ट आन्दोलनमा पहिलो नम्बरमा आउने नेताकी पत्नी भएर पनि सहाना नितान्त छुट्टै छवि बनाउन सफल उदाहरण हुन् ।
सहानाको जीवन भन्नु नै संघर्ष र सक्रियताको दौड थियो । त्यो लामो दौडको पहिलो पाइला राणा शासनसँग अधिकार मागेर सुरु भएको थियो । २००४ सालमा उनी, उनकी दिदी साधना प्रधान, कामाक्षादेवी, शान्ता श्रेष्ठ, कनकलता श्रेष्ठ, स्नेहलता श्रेष्ठ, मंगलादेवी सिंह, शैलजा आचार्य, अंगुरबाबा जोशी मिलेर नेपाल महिला संघ खोले । आन्दोलन गरे, जेल परे ।
पञ्चायतकालकी महिला योद्धा सुशीला श्रेष्ठले लेखेको पुस्तक 'सहाना प्रधान ः स्मृतिका आँखीझ्यालबाट' पुस्तकअनुसार राजनीतिमा लाग्दा ज्यानको बाजी लगाउनुपर्ने त्यो बेला २००४ वैशाख १७ गते सहानाहरू आन्दोलनमा निस्केका थिए । 'त्यसबेला फेरि घर र्फकन पाइँदैन भन्नेमा स्पष्ट भएर सबै उत्सर्ग गर्ने संकल्पसहित राजनीतिमा हामफालेका थियौं,' सहानाले पुस्तकमा भनेकी छन् । नभन्दै उनले सिंगो जीवन राजनीति र महिला मुक्तिका लागि अर्पण गरिन् । अरू महिलाझैं परम्परागत घर र चुला-चौकामा फर्किनन् ।
राजनीतिमा महिलालाई सक्रिय बनाउन अलग्गै संघ चाहिन्छ भनेर त्यही वर्ष अर्थात्, २००४ साउन २२ गते नेपाल महिला संघ गठन गरियो । कठोर राणाशासनका बेला पार्टी खोल्ने कल्पनासम्म गर्न सकिन्नथ्यो । त्यही बेला खुल्यो महिला संघ । काठमाडौंको म्हेपीमा ६३ महिला जम्मा भई पिकनिक खाने सल्लाह गरे, जबकि त्यसको भित्री उद्देश्य महिला संघ बनाउने थियो । मंगलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघ गठन भयो । केन्द्रीय कमिटीमा सहाना, रजनी, श्रीमाया, शिलवन्ती, साधना अधिकारी, स्नेहलतालगायत बसे । संघ खुल्नेबित्तिकै राणा प्रधानमन्त्री श्री ३ पद्मशमशेरसँग थुनिएका राजबन्दी छोड्न, नागरिक अधिकार बहाली गराउन माग राखे । टंगालबाट हिँडाहिँडदै प्रधानमन्त्री भेट्न गएका उनीहरूले टवाक्क अर्को माग थपे- महिलाले पनि भोट दिन पाउनुपर्‍यो । पढ्न पनि पाउनुपर्‍यो ।
भोट हाल्न नपाइने जहानियाँ राणाकालमा उनीहरूले घुमाउरो भाषामा प्रजातन्त्र मागेका थिए । राणाकालका अमुक महिला 'लोकलाज'को बर्की खोलेर पहिलो पटक आफूलाई भेट्न आउँदा चकित, विस्मित प्रधानमन्त्री पद्मशमशेरले अक्मकिँदै माग पूरा गर्ने आश्वासन दिएको सम्झन्छिन्, शान्ता श्रेष्ठ । 'यो ऐतिहासिक दिनमा सहाना दिदीको भूमिका सबैभन्दा बढी थियो,' उनले कान्तिपुरसँग सुनाइन् ।
महिला संघ त बन्यो, तर केले चलाउने ! खर्चबर्च थिएन । सहानाकै अनुरोधमा श्रीमाया श्रेष्ठले केलटोलमा चुरा पसल खोलिन् । चुरा बेचेर आएको नाफाले संघको आधारभूत खर्च जुटेको थियो ।
महिला संघ खोलेर हौसिएका सहाना र शान्ताकहाँ हकअधिकार रक्षाका लागि उजुरी पर्न थालेछन् । श्रीमतीसँग खटपट परेका दक्षिणकालीका एक किसानले चरम यातना दिन थालेको पोल उनीहरूको कानमा कसैले झोसिदियो । यी नेतृहरू खुरुरुरु दगुर्दै पुगेछन् । घरमा पुग्दा त हेरिनसक्नु छ । पाँचजना चिचिला बच्चा छेउछाउमा कुक्रुक्क बसिरहेका छन् । लोग्नेचाहिँ श्रीमतीलाई घरछेउको पोखरीमा चोप्दै कुटिरहेको छ ।
सहानाले ठाडै हप्काइन्, 'यो के गर्‍या दाइ ? आफ्नो जहानलाई यसरी पिट्नु हुन्छ ?'
सुन्नेबित्तिकै किसानले लगारेछन्, 'तिमारुलाई हाम्रो घरायसी झगडामा के मतलब ?'
उनीहरूलाई नै कुट्न जोसिएछन् । अब क्रान्तिकारी नेतृहरू डराए । सुनसान बाटो छ, के हुने हो, यसले फर्केर हात हाल्यो भने कसरी जोगिने हो !
केही दिनपछि छिमेकीको सहयोगमा असनस्थित महिला संघ कार्यालयमा श्रीमान्-श्रीमती दुवैलाई बोलाए । अनि कागज गराए- आइन्दा श्रीमतीमाथि हात उठाएमा पुलिस बोलाएर थुन्छौं । यसरी उनीहरूले समस्यामात्रै सुल्झाएनन् । पत्नीचाहिँलाई महिला संघको सदस्यता पनि भिडाएछन् ।
त्यसैको केही समयपछि-
काठमाडौंकै अष्टनारायणथानमा रेनु नाम गरेकी एक महिलाले लगातार तीन छोरी पाइछन् । त्यो समयको पुरुष सत्ताअघिल्तिर कान्छो सन्तान पनि छोरी नै भएपछि पति क्रुद्ध हुने नै भए । आवेशमा आएर तिनले यो छोरी मेरी नै होइन भनिदिए । तिनले न्वारान गर्न अस्वीकार गरे । नेवार संस्कारमा न्वारान नगरेपछि पानी त नचल्ने भयो । अब गर्ने के !
घर अघिल्तिर बेवारिसेझैं गुहार मागिरहेकी ती महिलालाई भेट्न सहाना, शान्ता र अरू अगुवा हिँडे । समाज डाकेर छलफल गराउँदा पनि समस्या नसुल्झिएपछि उनीहरूले तत्कालीन न्यायाधीश हरिप्रसाद प्रधानकहाँ मुद्दा लगाए । छ महिना लगाएर प्रधानले फैसला गरिदिए । महिलाले आफैं लडेर मुद्दा जितेको खुसियालीमा पीडित आमाछोरीलाई सहानालगायतले गाडीमा चढाए । उनीहरू पनि चढे । अनि तीन सहर घुमाएर सिन्दूर जात्रा गरे । शान्ता भन्छिन्, 'हामीले मुद्दा जितेर न्याय दिलाएकी ती छोरी अझै पनि जीवित छिन् ।'
थप्छिन्, 'सहाना दिदीसँग हिँडेका यस्ता कथा कति छन् कति भाइ । फुर्सदमा कुरा गरौंला ।
छोरा उमेश भन्छन्, 'राजनीतिक आन्दोलनमा उहाँको जुन नाम छ, त्योभन्दा धेरै ठूलो भूमिका महिलाको हक दिलाउनमा छ ।'
 जुझारु र विचारवान
सात सालको क्रान्तिपछि २००८ को नगरपालिका चुनावमा महिलालाई मतदान गर्न नदिने कुरा उठ्यो । त्यसपछि सहानाहरू प्रधानमन्त्री मोहनशमशेरकहाँ चुनावको अधिकार माग्न गए । यी हक्की महिला आफ्नो अधिकार लिएरै फर्के । पछि २०१७ सालमा पञ्चायत सुरु भएसँगै महिला संघ प्रतिबन्धित भयो ।
सहानाको बिहे २०१० माघ २ गते पुष्पलालसँग भयो । त्यस बेलाका चर्चित कम्युनिस्ट नेता पुष्पलालसँग जोडिएपछि उनको सक्रियता घर र पार्टी दुवैतिर रह्यो । प्राध्यापन थालेकी सहानाले भूमिगत गतिविधिमा लागेको अभियोगमा त्रिभुवन विश्वविद्यालयबाट २०३२ सालमा अवकाश पाइन् । त्यसपछि विभिन्न चरणमा कठोर जेलनेल भोगिन् ।
२०४६ को जनआन्दोलनका बेला महिलाहरू अघिल्लो पंक्तिमा उभिएर लड्थे भन्ने तथ्य त्यसबेलाका केही चर्चित तस्बिरहरूले देखाउँछन् । जनआन्दोलनका दुई मुख्य शक्तिमध्ये एक वाममोर्चाले आफ्नो अध्यक्षमा महिला छानेको थियो- उनै सहाना प्रधान । त्यस बेलाको उनको भूमिका कति प्रभावशाली थियो भन्नेबारे जापानी पत्रकार कियोको ओगुराले लेखेको 'जनता जागेका बेला' पुस्तक पढे काफी हुन्छ ।
वाममोर्चा र कांग्रेसका केही नेताहरू पञ्चायतभित्र दलीय अभ्यास गराउन सकिन्छ कि भनी सम्झौता गर्ने छिद्रहरू खोजिरहेका बेला सहानाले कठोर प्रतिवाद गरेकैले जनआन्दोलनबाट बढी उपलब्धि प्राप्त गर्न सफल भएको बताइन्छ । विशेष गरी राजा वीरेन्द्रसँग उनको सवालजवाफ कतिपयले 'अभद्र' भनी अथ्र्याउन खोजेको पढ्न पाइन्छ । तर एमाले अध्यक्ष केपी ओली भने उनको त्यस बेलाको निडरताको खुलेर प्रशंसा गर्छन् । 'जनआन्दोलनको नेतृत्वमा मात्रै होइन, पार्टी एकीकरणमा समेत उहाँको भूमिका अतुलनीय छ,' ओलीले कान्तिपुरसँग भने, 'उहाँ सकारात्मक नभइदिएको भए उहाँ अध्यक्ष भएको माक्र्सवादी पार्टीसँग एकता सम्भव थिएन ।'
अन्तरिम सरकार गठन भएसँगै उनी उद्योग तथा वाणिज्यमन्त्री भइन् । २०५१ सालमा एमालेले अल्पमतको सरकार गठन गर्‍यो । तर त्यसमा एकजना पनि महिला परेनन् । अर्थात्, सहाना पर्ने कुरै भएन । सहानाजस्ती प्रभावशाली नेतृलाई एमालेले छुटाएकोमा पार्टीभित्र र बाहिर व्यापक आलोचना भयो । अंगुरबाबा जोशीले त लेखिन् पनि, 'एमालेको एकमना मन्त्रिमण्डलमा उहाँजस्तो अनुभवी महिला किन नपर्नुभएको भनेर मैले सोध्दा उहाँले भन्नुभएको थियो- नेपालमा महिलाका लागि अझै प्रजातन्त्र आइसकेको छैन ।'
पछिल्लो कालसम्म सहानासँग निरन्तर संगतमा रहेकी एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्री भने महत्त्वाकांक्षा नदेखाउने, स्पष्ट र सधैं आशावादी नेतृका रूपमा सहानालाई चिनाउँछिन् । 'दुःख त उहाँका पनि थिए, तर कहिल्यै संवेदनाको किनबेच गर्न खोज्नुभएन,' उनी भन्छिन्, 'अध्ययन असाध्यै गहिरो थियो । समाजको ऐतिहासिकतालाई तुलना गर्ने क्षमता बेजोड थियो ।'
र, चरम अस्वस्थताको बीच सहानालाई बचाइरहने एउटै चीज थियो- आत्मबल । संकटमा कहिल्यै विचलित नहुने आमाजस्ती महिला नदेखेको बताउँछन् छोरा उमेश । 'बुवा बित्नु हुँदा कति आफन्त र कार्यकर्ता रुँदै आएका थिए, तर आमाको आँखाबाट केवल एक पटक आँसु झरेको याद छ । त्यत्ति हो,' उनी सुनाउँछन्, 'रोगले असाध्य पारेका बेला पनि पचाउन कसरी सक्नुहुन्थ्यो !'
गणतन्त्रको झिल्को
एमालेलाई गणतन्त्रको बाटोमा लैजान सहानाको भूमिका सबैभन्दा बढी रहेको बताउँछन्, तत्कालीन महासचिव माधवकुमार नेपाल । 'पार्टी के गर्ने कसो गर्ने भन्ने छलफलमा रहेका बेला सहानाले गणतन्त्रमा जानुको विकल्प नभएकोमा जोड दिनुभयो,' उनी भन्छन् ।
२०६२/६३ को जनआन्दोलनसँगै पुनर्गठित मन्त्रिपरिषद्मा सहाना २०६३ चैतमा उपप्रधान तथा परराष्ट्रमन्त्री बनिन् । २०६५ सालदेखि स्वास्थ्यमा समस्या देखिन सुरु भयो । त्यसपछि सक्रिय राजनीतिबाट बाहिरिइन् ।
कत्ति गर्दा पनि सहानाको स्वास्थ्य नसुधि्रएपछि आफ्नो पहलमा विदेश लगेर उपचार गराउन खोज्दा सहानाले अनुमति नदिएको उनले बताए । 'मैले पटक-पटक अनुरोध गरें, तर उहाँले मान्दै मान्नुभएन,' उनी भन्छन्, 'धेरै पीडा भइरहेको थियो उहाँलाई । त्यसबाट मुक्त हुनुभयो । संघर्षको लामो यात्राबाट विश्राम लिनुभयो ।'
नेपालकै भाषामा नेपाली राजनीतिकी 'सर्वमान्य नेता' सहानाको अवसानसँगै नेपाली महिला आन्दोलन र वामपन्थी राजनीतिमा प्रभावशाली र सक्रिय अनुहार अब सधैंका लागि छुटेको छ ।

No comments:

Post a Comment