Tuesday, September 2, 2014

मनोरोगले व्यथित सहर

उनको ‘एरिया' हो, सुन्धारास्थित बागदरबार परिसर। अधिकांश समय यही क्षेत्रमा भेटिने उनी घरी मूल सडकको ‘डिभाइडर' मा टाँगिएको डोरीमा पिङ खेल्दै हुन्छिन्, घरी सडकपेटीमा चिच्याउँदै। कसैले दया गरेर खान दिए खिलखिलाएर हाँस्छिन्, नभए एकोहोरो दौडिरहन्छिन्। उनको ‘मनले अह्राएपछि' छेउछाउका बार भत्काउन खोज्छिन्, अड्याएर राखिएका साइकल हुत्याइदिन्छिन्। कतिपयलाई लौरो बोकेर खेदाउँछिन्।
झन्डै ४५ वर्षझैं लाग्ने यी महिलाले गएको मंसिरदेखि यस्तै अवस्थामा पुसमाघको ठिही र चैत–वैशाखको गर्मी कटाइन्, एकसरो कपडाको भरमा। मनमा दयाभाव हुनेहरू अलिकति खानेकुरा दिन्छन्, कतिपय छिःछिः दुरदुर गर्दै अनुहार बिगारेर बाटो काट्छन्। हेर्दा, उनले मानसिक सन्तुलन गुमाइसकेजस्तो देखिन्छ। किनकि दिसापिसाब गरेको समेत उनलाई थाहा हुन्न।
अहिले उनको एउटा हात भाँच्चएको छ। उनको पीडामा मलम लगाउन यो सहरमा कुनै मानव–मन उपस्थित छैन।
‘कहिले त रातभर क्वाँक्वाँ रुँदै हिँड्छे। उसलाई हेर्न अहिलेसम्म कुनै संस्था आइपुगेको थाहा छैन,' सिभिल मलअगाडि फुटपाथमा पसल गर्दै आएकी एक महिलाले भनिन्, ‘कसैले उपचार गरिदिए जाती हुन्थी होला। कुनै संस्थाले लगेर हेरविचार गरे हुन्थ्यो।'
...

बागबजारको खसीबजार क्षेत्रमा भेटिने अन्दाजी ५५ वर्षीया अर्की महिलाको अवस्था देख्दा समाजमा दया भन्ने शब्द लोप भइसकेजस्तो लाग्छ। उनी चार वर्षयता यही ठाउँमा असहाय बनेर भौंतारिइरहेकी छन् तर उद्धारका लागि कसैले चासो राखेको छैन।
दुईतिर पोकोपन्तुरो बोकेर यताउति गरिरहने उनी कहिले गीत गाउँछिन्, कहिले थपडी मार्दै नाच्छिन्। ‘मान्छेहरू ‘बहुलाही' भन्दै वास्तै नगरी हिँड्छन्,' चिया पसल गर्दै आएकी सुन्तली सापकोटाले भनिन्, ‘मेरो पनि दिन आउँछ भन्दै कराउँछे, अनि रुन्छे।'
भोकाएपछि मागेर खाने र राति कुनै घरको पेटीमा सुत्ने गरेको उनले सुनाइन्।
...

कालो अनुहार। झुस्स दाह्री। धुलोमैलो कपडा।
मीनभवन क्षेत्रमा रहेका एक अधबैंसे पुरुषको सामान्य हुलिया हो यो। भित्री गल्लीका चिया पसल छिरेर चिया खान्छन् उनी। कहिले संविधानसभा भवनअगाडि घाम तापेर बस्छन् त कहिले नापी विभागको गल्ली हुँदै आफ्नो अखडातिर लम्कन्छन्।
‘पाँच वर्षयता यतैतिर देख्दै आएको छु,' पानीट्यांकी नजिककी खाजापसले सीता श्रेष्ठले भनिन्, ‘कसैसँग खासै बोल्दैन, चुपचाप हिँडिरहन्छ।'
...

बजारका बासिन्दासँग तेल माग्दै कपालमा दल्ने गरेकाले उनको नाम नै चमेली रहेको छ। पाटनको मंगलबजार क्षेत्रमा डुलिहिँड्ने ती महिला बर्बराउँदै हिँडेको १० वर्षजति भइसक्यो। ‘पहिले देख्दा शरीरचाहिँ स्वस्थजस्तै लाग्थ्यो,' टगल चोककी तरकारी पसले लक्ष्मी आचार्य भन्छिन्, ‘दिनदिनै बिरामी र उदास देखिन थालेकी छे। पहिलेजस्तो धेरै बोल्दिन।'
ऊसँग कुराकानीका आधारमा पारिवारिक किचलोका कारण मानसिक अवस्था बिग्रेको हुन सक्ने आचार्यले बताइन्। ‘सम्भवतः पतिले सौता हालेको हुनुपर्छ,' उनले अनुमान गरिन्, ‘बर्बराउँदै भौंतारिदा यस्तै खालका कुरा गरेको सुनिन्छ।'
...

राजधानीका विभिन्न ठाउँमा असहाय जीवन बाँचिरहेका मानसिक रोगीका प्रतिनिधि पात्र हुन् यी।
उपत्यकामा यस्ता मानसिक रोगीको संख्या दुई हजार हाराहारी हुन सक्ने ‘कोसिस' नामक संस्थाका अध्यक्ष मातृका देवकोटा बताउँछन्। उनको भनाइमा मानसिक स्वास्थ्य समस्या दुबोजस्तो फैलिरहेको छ, तर हिउँमुनिको तालजस्तो छोपिएको छ।
‘सहरका चोक, मन्दिर जता गए पनि यस्ता मानसिक रोगी देख्न सकिन्छ,' उनी भन्छन्, ‘परिवार, समाज र सरकारको बेवास्ताका कारण उनीहरूको अवस्था दिनदिनै बिग्रँदो छ।'
यो काठमाडौं उपत्यकाको मात्र समस्या होइन। ललितपुरको पाटनस्थित मानसिक अस्पतालका निर्देशक सुरेन्द्र शेरचनका अनुसार कुल जनसंख्याको एक प्रतिशत कडा मानसिक रोगी छन् भने करिब २० प्रतिशत अन्य विविध मानसिक रोगका पीडित।
परिवर्तित जीवनशैली, विखण्डित परिवार, बसाइँसराइ, थकित तथा तनावपूर्ण जिन्दगीका कारण नेपालमा मानसिक रोगीको संख्या दिनदिनै बढिरहेको उनको भनाइ छ।

समाजको मनोरोग

लमजुङकी प्रतिमा गुरुङ (नाम परिवर्तन) टिचिङ अस्पताल महाराजगन्जस्थित मानसिक स्वास्थ्य विभागको वार्डमा एकोहोरो मुद्रामा झोक्राएर बसिरहेकी छन्। केही प्रश्न सोधे झस्केझैं गरी हत्तपत्त जवाफ दिन्छिन्, नत्र यत्तिकै टोलाइरहन्छिन्।
बसिरहेको ठाउँमा उनलाई शरीरमा एक्कासि भूत चढेजस्तो हुन्छ। नशाहरूबाट सलल्ल चिसो केही बगेजस्तो अनुभूति हुन्छ। त्यो बिस्तारै चढ्दै टाउकोतिर जान्छ। निधारको बीचमा आएर रोकिन्छ। त्यतिबेला उनलाई टाउको फुट्लाझैं हुन्छ। अनि रुन मन लाग्छ। भित्र कताकता डर लागेजस्तो हुन्छ। उनी अर्धबेहोस हुन्छिन्। सुतिरहन्छिन्।
‘जान्नेसुन्नेहरू' भन्छन्, मानसिक रोगका कारण उनलाई यस्तो भएको!
मानसिक रोग लाग्नुको कारणचाहिँ के हो? यतातिर कमैको मात्र ध्यान जान्छ।
कक्षा ९ मा पढ्दै गरेकी यी किशोरीको घरमा आमाबाबुको दिनरात झगडा भइरहन्थ्यो। बुबा श्रमका लागि खाडी मुलुक गइरहन्थे। उता गएको बेला टेलिफोनमै झगडा हुन्थ्यो। घरमा आउँदा त रडाको नै मच्चिन्थ्यो।
सधैंको घरझगडाले प्रतिमालाई गहिरो मानसिक असर पर्‍यो। उनी एक्लै घोरिइरहने, उदास भइरहने गर्न थालिन्। कक्षामा रामै्र स्तरकी विद्यार्थी मानिने यी किशोरीको पढाइमा पटक्कै ध्यान जान छाड्यो। स्कुलमा पनि साथीहरूसँग नबोल्ने, झोक्राइरहने, टोलाइरहने गर्न थालिन्।
घरझगडा थामिएन। रक्सी पिएर आउने बुबाले आमामाथि शंका गर्थे, गाली गर्थे। कहिलेकाहीँ पिट्थे पनि। आफ्नोअगाडि आमा पिटिँदा प्रतिमा कहालिन्थिन्।
बुबा विदेश गएपछि आँखाले त झगडा देख्नु पर्दैनथ्यो, तर मोबाइल फोनमा कानै चर्किने गरी बा‰दा त्यसको असर प्रतिमामा पर्‍यो।
रोग लागेपछि उनी पोखराको गण्डकी अस्पतालमा जँचाउन गइन्। त्यहाँको जाँचले मानसिक रोग प्रमाणित भएपछि उनका लागि स्कुल जाने बाटै बन्द भयो।
आमाबाबुको घरझगडाले उनकोे सुन्दर भविष्यको सम्भावनामा छाया लागेको छ। उनको नियमित निरीक्षण गरिरहेका त्रिवि टिचिङ अस्पतालका मनोचिकित्सा विभागीय प्रमुख डा. सरोजप्रसाद ओझा यस्ता कैयौं बिरामी भेटिरहेको बताउँछन्, जसको कारण खोज्दै जाँदा घरझगडा, वैदेशिक रोजगार, अनियन्त्रित खानपिन प्रमुख छन्।
ओझाकै निरीक्षणमै अर्का बिरामी छन्, सुर्खेतका माओवादी पूर्वलडाकु। माओवादी लडाकुको समायोजन र पुनर्स्थापना बेला रकम बुझेर शिविर छाडेका ती छापामारले सुर्खेतमै मोटरसाइकल वर्कसप खोले। व्यवसाय राम्ररी नचलेपछि तनावले गाँज्दै लग्यो। राजनीतिमा फर्कने कुनै इच्छा थिएन, व्यवसाय फापेन। नतिजा, उनलाई ‘कन्भर्जन डिस्अर्डर', अर्थात्, छटपटी, सास फेर्न गाह्रो हुने, बेहोस हुने हुन थाल्यो। दसवर्षे सशस्त्र युद्धले मुलुकको राजनीतिक सामाजिक संरचनामात्रै बदलेन, त्यसका पक्ष–विपक्षमा लागेकाहरूको शारीरिक र मानसिक अवस्थामा समेत असर पार्‍यो।
‘कमजोर स्वभावको मानिसलाई मानसिक समस्या बढी हुन्छ, त्यसको असर शरीरमा देखिन्छ,' डा. ओझा भन्छन्, ‘हाम्रो राजनीति, अर्थतन्त्र र समाजमा देखिएको निराशाले सर्वसाधारणमा मानसिक समस्या देखिने गरेको छ।'
ओझाका अनुसार मानसिक समस्याका एउटै मात्र कारण छैनन्। कसैलाई वंशानुगत कारण रोग सरिरहेको हुन्छ, कसैलाई बेरोजगारी र आर्थिक अभावले। कसैलाई राजनीतिक कारणले हुन्छ, कसैलाई व्यक्तिगत सम्बन्धका तनावले। नेपालमा पछिल्लोपटक बढेको समस्याचाहिँ वैदेशिक रोजगारीका कारण रहेछ। विभिन्न अस्पतालका मनोचिकित्सकहरूको ठहर यस्तै छ।
पाटन अस्पतालका मनोचिकित्सक रवि शाक्यका अनुसार मन उदास हुनेहरू, जोस–जाँगर नचल्ने, खानामा अरुचि, निन्द्रा नपर्ने, कुनै खुसी, रहर नलाग्ने, डिप्रेसन भएकाहरूको संख्या ठूलो छ। आर्थिक र पारिवारिक कारण मानसिक रोगी बढेका छन्। ‘टन्न पैसा भएका मानिस पनि डिप्रेसनको रोगी भएका छन्, यसका लागि कुनै कारण वा पृष्ठभूमि हुनुपर्छ भन्ने छैन,' उनी भन्छन्, ‘मानसिक रोग १५ सय किसिमका हुन्छन्, कुनै पूरै ठिक हुन्छन्, कुनै हुँदैनन्।'
आफ्नो मनको भावना व्यक्त गर्न नपाएर लामो समयसम्म दबाएर राख्दा मनोरोग विकसित हुने उदाहरण समाजमा थुप्रै छन्। यस्ता घटनाले कहिलेकाहीँ हिंसात्मक रूप पनि लिने गरेको देखिन्छ। लमजुङकी प्रतिमा गुरुङ यस्तै एक उदाहरण हुन्।
डा. शाक्यका अनुसार विदेशबाट मानसिक समस्या लिएर आउनेहरूको संख्या पछिल्लो समय बढ्दैछ। यसको पहिलो कारण हो, नेपालबाट मेडिकल टेस्ट पास गराउँदा कसैको पनि मानसिक स्वास्थ्य परीक्षण गर्ने चलन छैन। केवल शारीरिक परीक्षण गरिन्छ। दोस्रो कारण, खाडी मुलुकको अमिल्दो हावापानी र खानपिन, अनियमित आराम र मालिकको चर्को शारीरिक र आर्थिक शोषणमा परी यहाँ आइपुग्दा कतिपय कामदार विक्षिप्त भइसकेका हुन्छन्।
‘वैदेशिक रोजगारीले हुने मानसिक रोगको संख्या बढ्दैछ,' डा. ओझा थप्छन्, ‘एकातिर विदेशमा कामको चर्को दबाब, अर्कातिर स्वदेशमा भत्किँदै गरेको परिवार।' डा. ओझाको निरीक्षणमा आएका एक बिरामी दक्षिण कोरियाबाट केवल मानसिक स्वास्थ्य जाँच र उपचारका लागि काठमाडौं आएका थिए। एक साता परामर्शमा बसेपछि फेरि बुधबार कोरिया फर्केका छन्। नियमित परामर्शपछि सुधार देखिन थालेको ओझा बताउँछन्।
तुलना गरेर हेर्दा पछिल्लो समय वंशाणुगत कारणपछि सबैभन्दा बढी मानसिक बिरामी आर्थिक कारणबाट हुने तनाव झेल्न नसकी आउने गरेको टिचिङ अस्पताल स्रोत बताउँछ। प्रेम, बिहेजस्ता सम्बन्धका कारण उत्पन्न तनाव लिएर आउने मनोरोगीको संख्या पनि उल्लेख्य छ। ‘प्रायः आर्थिक कारणबाट हुने मनोरोगीमा पुरुष बढी देखिन्छन्, सम्बन्धका कारण मनोरोगी हुनेमा महिलाको संख्या बढी छ,' उनी भन्छन्, ‘यस्ता बिरामी प्रायः १५ देखि २५ वर्षबीचका हुने गर्छन्।'
डा. ओझाको विश्लेषणमा देशमा राजनीतिक अन्योल, बेरोजगारी, समाजमा अराजकता कायम हुन्जेल मनोरोगीको संख्या घट्न मुस्किल छ। समाजको मनस्थिति साम्य नहुन्जेल व्यक्तिको मानसिकता पनि स्थिर रहँदैन।
यसर्थ मनोरोग बढाउन समाज नै जिम्मेवार छ।

भित्रभित्रै सल्किँदै

विभिन्न सामाजिक कारणले तनावमा परी मनोरोग उत्पन्न हुनेको संख्या बढ्दै गए पनि मानसिक समस्यालाई अरू रोगसरह नबु‰ने प्रवृत्तिको सिकार मानसिक रोगी भएका छन्। यसको उपचार हुन सक्छ भन्ने मान्यता समाजमा अझै स्थापित हुन सकेको छैन।
विश्व स्वास्थ्य संगठनले सन् १९४८ मा दिएको परिभाषाअनुसार एउटा व्यक्ति स्वस्थ हुन शारीरिक रूपमा हृष्टपुष्ट भएर मात्रै पुग्दैन। ऊ मानसिक र सामाजिक रूपमा ठिकठाक हुनुपर्छ। हाम्रो समाजमा अहिले पनि शारीरिक स्वास्थ्यलाई मात्रै स्वास्थ्य मान्ने प्रवृत्ति छ। यसको सिकार मानसिक रोगीहरू बनिरहेका छन्। न उनीहरूको समयमा उपचार हुन्छ, न रोगले गाँजेर सडकमा असहाय भौंतारिनुपर्ने अवस्था आएपछि पुनर्स्थापनाकै प्रभावकारी व्यवस्था छ।
दयामाया हुनेले केही खानेकुरा र दुईचार पैसा दिए पनि सम्बन्धित निकायबाट दीर्घकालीन योजना नबन्दा सडकमा बेवारिस बिरामीको अवस्था कारुणिक बनेको कोसिसका अध्यक्ष देवकोटा बताउँछन्। ‘प्राडो–पजेरो चढ्नेहरू फुत्त १०–२० रुपैयाँ झारेर हिँडछन्,' उनी भन्छन्, ‘उपचार र व्यवस्थापनका लागि कसैको चासो देखिन्न।'
२०६५ सालमा स्थापना भएको कोसिसले हालसम्म ३६ पुरुष र १ सय ११ महिलाको उपचार गरिसकेको छ। बलात्कृत भएर सडकमा बच्चा जन्माएका आठ महिला छन्, कोसिससँग। ‘अहिले संस्थासँग २० जनालाई उपचार गर्ने क्षमता छ,' देवकोटा भन्छन्, ‘हामीले सडकमा रहेका महिलालाई ल्याएर उपचार गरेका छौं।' उनका अनुसार उपत्यकामा अनुमान गरेभन्दा धेरै हुन सक्छ यस्ता बेवारिसहरूको संख्या। यसका लागि सरकारी तहबाटै ठोस पहल नभए अवस्था झन् भयावह हुने उनी बताउँछन्।
देवकोटा आफैं पनि कुनै समय मानसिक रोगबाट ग्रस्त थिए। युवा अवस्थाबाटै डिप्रेसनको सिकार भएका उनले आत्महत्याको बाटोसमेत अँगाले। तीन दिनको कोमा बसाइपछि उनले नयाँ जीवन पाए। ‘जीवन र मृत्युबीचको संघर्षपछि मैले आफूजस्तै समस्या भोगेकालाई सहयोग गर्ने बाटो रोजेँ,' उनले भने, ‘मानसिक अवस्था ठिक नभएकालाई उपचार दिँदै जाँदा अहिले मेरो अवस्था सुधि्रएको छ।'
उनको भनाइमा मानसिक रोगीका लागि समाज र परिवारको सहयोग सबभन्दा ठूलो कुरा हो। कतिपय अवस्थामा यसलाई ठूलो रोगजस्तो ठानेर सबै पन्छिन्छन्, यसले समस्या झन् बढाउँछ। ‘मानसिक रोगीको उपचार हुन सक्दैन' भन्ने मान्यताकै उपचार गर्नसके पनि धेरै समस्या स्वतः हट्दै जान्छ। यसका लागि प्रारम्भिक लक्षण देखिन थालेको थाहा हुँदाहुँदै मानसिक अस्पताल जान हिच्किचाउने प्रवृत्ति तोड्नुपर्छ। डा. ओझाको अनुभवमा ‘मानसिक रोग' भन्नासाथ ‘पागल' भन्ने बुझाइले पनि अस्पताल जानेहरू कम देखिएको हो।
‘हामीकहाँ मानसिक रोग भन्नाले पागल भन्ने बुझिन्छ,' ओझा भन्छन्, ‘त्यसैले प्रत्येक अस्पतालमा मानसिक रोग विभाग बनाउन हामीले सुझाव दिएका छौं।'
बिरामी र आफन्त दुवैलाई मनोचिकित्सककहाँ जानु भनेको पागल हुनु हो भन्ने भ्रम रहेकाले पनि धेरैले सकेसम्म रोग लुकाएर बस्ने गरेको मनोचिकित्सक डा. निशिता पाठकको अनुभव छ। उनका अनुसार समाजमा रहेको मनोरोगसम्बन्धी भ्रमले उपचार नगराएर बस्नेको संख्या ठूलो छ।
‘सुस्तमनस्थिति भएको बच्चालाई कसैले मनोचिकित्सककहाँ रेफर गरे अभिभावक रिसाउँछन्। उनीहरू बरु बालरोग विशेषज्ञकहीँ धाइरहन रुचाउँछन्, जुन गलत हो,' उनी भन्छिन्, ‘त्यहाँ उनीहरूको केही उपचार हुन सक्दैन।' उनका अनुसार विभिन्न प्रकारका मनोरोगमध्ये पागलपनले ग्रसित रोगीको संख्या १ प्रतिशत मात्र छ।

उपचारमा चासो छैन
मानसिक रोगीहरूका लागि सञ्चालित नेपालकै एकमात्र सरकारी अस्पताल पाटनको आफ्नै समस्या छ। सरकारी उदासिनताका कारण लामो समयदेखि स्तरोन्नति हुन नसक्दा रोगीले उचित उपचार पाउन सकेका छैनन्। ५० शैयाको अस्पतालमा देशभरबाट दैनिक एक सय ५० भन्दा बढी बिरामी सेवाका लागि आइपुग्छन्।
नेपालमा मनोरोगका बिरामी मानसिक अस्पतालसँगै मेडिकल कलेज, सरकारी अस्पताल र प्राइभेट नर्सिङ होममा जाने गरेका छन्। केही गैरसरकारी संस्थाले पनि यस्ता रोगीको उपचारमा सहयोग गरिरहेका छन्। तर पर्याप्त छैन। कतिपयले महँगो शुल्क लिएर कडा खाले मानसिक रोगीको लामो समयसम्म उपचार गर्ने व्यवस्था मिलाएका छन्।
‘लामो उपचार गर्नुपर्ने रोगीका लागि पुनर्स्थापना केन्द्र स्थापना गर्न जरुरी छ,' मानसिक अस्पतालका निर्देशक शेरचन भन्छन्, ‘तबमात्र सडकमा अलपत्र परेका मानसिक रोगीका लागि आश्रय दिएर उपचार गर्न सक्छौं।'
मनोरोग विशेषज्ञ ओझा पनि सरकारले चासो देखाए सडकमा बेवारिस भई जीवन गुजारा गरिरहेकाहरूको उपचार सम्भव भएको बताउँछन्। ‘दिमागमा हुने रासायनिक गडबडीले मानसिक रोग लाग्छ,' उनी भन्छन्, ‘विचार र मनलाई नकारात्मक प्रभाव पार्ने हुँदा बिरामीले घर समाजका लागि अरुचिकर व्यवहार देखाउँछ। यस्ता बिरामीलाई साइकोसिस अर्थात् कडा मानसिक रोगी भन्ने गरेका छौं, तर समयमै उपचार भए बिरामीको अवस्था सुध्रन्छ।'
उनले अघिल्लो संविधानसभाका उपसमितिहरूमा स्वास्थ्यका एजेन्डामा वकालत गर्न जाँदा मानसिक रोगको विषय पनि उठाएका थिए। ‘मानसिक स्वास्थ्यको एजेन्डालाई नयाँ संविधानको प्रस्तावनामै समेट्न सुझाव दिएका छौं,' डा. ओझा भन्छन्, ‘स्वास्थ्य मन्त्रालयमा अहिले पनि मानसिक स्वास्थ्य हेर्ने छुट्टै संयन्त्र छैन। यस्तो बेवास्ताको सिकार सहरदेखि दुर्गम गाउँमा मानसिक बिरामीहरू भइरहेका छन्।'
मानसिक रोगलाई अहिले पनि विभिन्न नाममा थामथुम पार्न खोज्ने प्रथा छ समाजमा। वनको लाग्ने, छोप्नेजस्ता शब्दले तिनलाई बुझाउने र धामीझाँक्री, बिजुवाकहाँ पूजा गराउने परम्परा छ। मनोचिकित्सक रवि शाक्यका अनुसार कुनै पनि चिकित्सकले धामीकहाँ जान रेफर गर्ने कुरै आउँदैन। ‘त्यसको साइकोलोजिकल एभिडेन्स त होला, तर मेडिकल एभिडेन्स आजसम्म पत्ता लागेको छैन,' शाक्य भन्छन्, ‘त्यसैले मनोवैज्ञानिक उपचार र परामर्शको विकल्प छैन।'
डा. शाक्यले यसो भने पनि मनोवैज्ञानिक ढंगले सान्त्वना दिने, थुम्थुम्याउने चलनबाटै धेरैजसो मनोरोगी गुजि्रएको उदाहरण स्वयं मानसिक अस्पताल नै हो, जहाँ बिरामीलाई पटकपटकको धामीझाँक्री पूजापछि मात्र लगिएको हुन्छ। मनोचिकित्सकका अनुसार मनोरोग जन्माउनमात्रै होइन, हुर्काउन–बढाउन समेत हाम्रा परम्परा जिम्मेवार छन्। जस्तो कि, लमजुङकी प्रतिमालाई पनि सुरुमा झाँक्रीकहाँ लगेर ठिक पार्न खोजिएको थियो। निको नहुने छाँटपछि मात्रै पहिले गण्डकी अञ्चल अस्पताल, पोखरा र त्यसपछि काठमाडौं ल्याइयो।
‘बरु हामीले पुनर्स्थापना केन्द्रहरूमा पठाउने गरेका छौं, त्यो पनि अति कम अनुपातमा मात्रै,' डा. शाक्य भन्छन्, ‘मानसिक रोगको निदान नै गर्नुछ भने मानसिक अस्पताल र विभागप्रति सहज धारणा बन्ने वातावरण निर्माण गर्नुपर्छ।' अल्जाइमर्स, डिमेन्सियाजस्ता दिमागका तन्तु खिइएर लाग्ने रोगलाई सिधै ‘पागलपन' भनी बु‰ने चलनको सिकार बिरामीहरू बन्न पुगेको शाक्य बताउँछन्।
मनोचिकित्सक ओझाका अनुसार मानसिक स्वास्थ्यलाई हेर्ने दृष्टिकोण नै फरक देखिएकाले बिरामी मर्कामा परेका छन्। ‘कडा मानसिक रोगीहरूप्रति सम्मानजनक र न्यूनतम मानवीय व्यवहारको कमी छ,' उनी भन्छन्, ‘मानसिक समस्याप्रति नीति निर्माताहरूको दृष्टिकोण प्राथमिक नबन्दासम्म समाजले उन्मुक्ति पाउन गाह्रो छ।'
मनोरोगले विकराल रूप लिँदै गर्दा पनि स्वास्थ्य मन्त्रालय यसतर्फ गम्भीर नभएको सरोकारवाला बताउँछन्। यतिमात्र होइन, नेपालमा मनोरोगी तिरस्कृत हुनुमा यहाँको कानुनी व्यवस्थालाई कारण मान्छन् डा. शाक्य। ‘मुलुकी ऐनअन्तर्गत, प्रमुख जिल्ला अधिकारीलाई कोही व्यक्ति पागलपनले ग्रसित भएको लागे सिधै जेल हाल्ने अधिकार छ,' उनी भन्छन्, ‘बिरामीलाई जेल हाले कसरी उपचार हुन्छ?'

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदले २०५३ फागुन २९ गते राष्ट्रिय मानसिक स्वास्थ्य नीति निर्माण गरेको थियो। त्यो नीति अझै थन्केको छ। त्यसमा चार बुँदा समेटिएका थिए :
एक, मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने। मानसिक स्वास्थ्य अरूजस्तै निको हुन सक्ने रोग हो भनी बुझाउने।
दुई, मानसिक स्वास्थ्यको छुट्टै अस्पताल बनाउँदा मानिसमा डर, संकोच उत्पन्न हुने भएकाले प्रत्येक अस्पतालभित्रै मानसिक रोगको विभाग बनाउने।
तीन, देशैभरि सुलभ सेवा पुर्‍याउन दक्ष जनशक्ति विकास गर्ने। मनोचिकित्सकहरू उत्पादन गर्ने।
चार, कडा मानसिक रोगीहरूको मानवअधिकार रक्षाको जिम्मेवारी राज्यले लिने।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति योजना तथा कार्यक्रम शाखाका उपसचिव राजीव पोखरेल मानसिक स्वास्थ्यको विषयलाई ‘फोकस' गरेर लैजाने योजना रहेको बताउँछन्।
‘पुनर्स्थापना केन्द्रको विषयमा अहिले यस्तै गर्ने भनेर सोचेका छैनौं,' उनी भन्छन्, ‘सरकारका विभिन्न योजना पाइपलाइनमा थन्किएका छन्। मानसिक स्वास्थ्य नीति संशोधन गरेर कार्यान्वयनका लागि अघि बढ्ने मन्त्रालयको सोच छ।'

रोगी धेरै चिकित्सक कम

मनोरोगीको संख्या बढ्दै गए पनि नेपालमा मनोचिकित्सकहरू भने निकै कम छन्। देशभरि काम गरिरहेका मनोचिकित्सकको संख्या जम्माजम्मी ८० जना रहेका डा. शाक्य बताउँछन्। उनका अनुसार नेपालमा प्रतिचार लाख मनोरोगी एकजना चिकित्सक छन्। ‘अधिकांश चिकित्सक राजधानीकेन्द्रित छन्,' उनी भन्छन्, ‘अब आफैं सोच्नुस यो क्षेत्रमा कसरी काम भइरहेको छ।'
नेपालमा अहिले पनि देखिने पागलपनलाई मात्र मनोरोगका रूपमा लिइन्छ। हाल आएर यो सोचमा केही परिवर्तन हुन खोजे पनि अधिकांश चिकित्सक नै मनोरोगको प्रकारप्रति उतिसाह्रो सचेत नभएको डा. शाक्य बताउँछन्।
‘अधिकांश चिकित्सकलाई कुन रोग मनोरोग हो भन्ने हेक्कै छैन, नयाँ पुस्ताका चिकित्सक यसबारे हुने गरेको बहसले केही सचेत हुन थालेका छन्,' उनी भन्छन्, ‘ड्रग एडिक्सनदेखि सुस्त मनस्थितिसम्म सबै मनोरोग हुन्।'
मनोरोगका विभिन्न प्रकारमध्ये ‘डिप्रेसन' र ‘एङजाइटी'मा उल्लेख्य वृद्धि भएको छ। डा. शाक्यका अनुसार विश्वमा हरेक चारजना मध्ये एकजनामा ‘एङजाइटी डिसअर्डर' देखिएको छ।
डब्लुएचओले २००४ मा प्रकाशित गरेको एक प्रतिवेदनअनुसार नसर्ने रोगमध्ये ‘डिप्रेसन' (मनोरोगको एक प्रकार) दोस्रो स्थानमा पर्छ। अन्य रोग लागेका बिरामीलाई औषधी उपचार दिए विस्तारै निको हुन्छ। मनोरागीमा भने त्यो लागू हुँदैन। लामो समयको औषधि उपचारपछि पनि यो रोगले पुनः गाँज्न सक्ने सम्भावना उत्तिकै रहन्छ।
‘यो रोग लागेका बिरामीलाई औषधिले मात्रै हुँदैन। निको हुनलाई सोहीअनुरुप पारिवारिक वातावरण र सहयोग चाहिन्छ,' डा. शाक्य भन्छन्, ‘परिवारबाटै उपेक्षित हुनुपरेपछि उनीहरूको पाटीको बास हुन्छ।'
केशर सपना
अन्य रोगको तुलनामा मानसिक रोगको अवस्था जटिल र भयावह हुन्छ। मानसिक अवस्था बिग्रिएपछि घरपरिवार र समाजबाट छिःछि र दुरदुर हुने भएकाले उपचारका लागि चासो राख्ने कमै हुन्छन्। परिवारबाटै अपहेलित भएपछि बाध्य भएर उनीहरू सडकमा पुग्छन्। मनोरोग विशेषज्ञहरूका अनुसार समयमै उपचार सम्भव भए मानसिक रोगीको जीवन बदलिन सक्छ। यसकै एक उदाहरण बनेका छन्, ५० वर्षका केशर।
सानैदेखि अभिभावकविहीन केशरलाई अहिले पनि आफ्नो थर थाहा छैन। कडा मानसिक रोगबाट ग्रसित उनले १७ वर्षसम्म जावलाखेलको पाटीमा बिताए। कुलतमा फसेर २३–३४ वर्षको उमेरमै मानसिक रोगी बनेका उनलाई कोसिस नामक संस्थाले पाँचवर्षपछि उद्धार गर्‍यो र आवश्यक परामर्श थाल्यो। ‘अहिले नयाँ जीवन पाएजस्तो लागेको छ,' केशरले सुनाए, ‘अब मानिसक रोगीकै सेवामा बाँकी जीवन बिताउने सोच बनाएको छु।'
उनले मानसिक रोगबारे चेतनामूलक गीत समेत गाउन थालेका छन्। ‘पहिले आफ्नै धुन देखेर अरूले हेला गर्थे,' उनले भने, ‘गिटारको धुन सुनाएरै अबको बाँकी जीवन कटाउनेछु।'
कुलतकै कारण आफू मानसिक रोगको सिकार भएको उनलाई थाहा छ तर पश्चाताप छैन। ‘पहिलेको जीवनप्रति घृणा छैन। त्यो मेरो विगत हो,' आफू मानसिक रोगी हुँदाका तस्बिर देखाउँदै उनले भने, ‘त्यसमा मेरो केही दोष छैन। सब नियतिको खेल!'


With Upendra Lamichhane/Nagarik Daily
2071/02/

http://www.nagariknews.com/feature-article/story/18845/18845.html#sthash.4avuOwS7.dpuf

No comments:

Post a Comment