Tuesday, September 2, 2014

ह्यासटयाग डिस्कसको पहिलो नेपाली प्रयोग


सत्र वर्षपछि भारतीय प्रधानमन्त्री नेपाल आएको समाचारले नेपालमा मात्रै होइन, विदेशमा त्यसमा पनि भारतमा विशेष चर्चा पाउनु नै थियो । सोसल मिडियामा रहेको प्रभावका आधारमा मोदी अमेरिकी राष्ट्रपति बाराक ओबामापछिकै विश्वका शक्तिशाली नेता मानिन्छन् । नेपालमा उनीसँगै उनको त्यो छवि पनि भित्रियो । भ्रमण अवधि र अघिपछि गरेर झन्डै १० लाख ट्वीट भए । नेपाल जोडिएको विषय विश्वव्यापी ट्रेन्डिङमा पर्‍यो ।

यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रभावशाली व्यक्तित्वको छाप सर्वसाधारणमा राम्रै गरेर परेको थाहा पाउने सजिलो माध्यम बन्यो, सोसल मिडिया । अनौपचारिक रूपमा 'मोदीभिजिटनेपाल', 'मोदीइननेपाल' जस्ता ह्यासटयाग मेन्सन् गरेर ट्वीट गर्ने, फेसबुकमा स्टाटस लेख्नेको संख्या ठूलो थियो । स्वतस्फुर्त सुरु भएको त्यही ह्यासट्याग मञ्चलाई प्रयोग गरेर भ्रमणको खुला छलफल र समीक्षा गर्ने पहिलो पटक औपचारिक मञ्च दिए, काठमाडौंका युवा पत्रकारले ।


सामाजिक सञ्जाल अनुगमनको क्षेत्रमा ख्यातिप्राप्त भारतीय कम्पनी सिम्प्लिफाइ ३६० को सहयोगमा पत्रकार प्रदीप बस्यालले ह्यासटयाग डिस्कसन्को पहिलो नेपाली प्रयोग गरेका हुन् । अघिल्लो आइतबार साँझ सात बजेदेखि नौ बजेसम्म चलेको '३मोदीभिजिटनेपाल' नामक त्यो प्रत्यक्ष ट्वीटर अन्तरसंवादमा भारतका सुरक्षाविज्ञ तथा 'एभ्री मेन्स वार' पुस्तकका लेखक रघुरमण, द काठमान्डु पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्याय प्यानलिस्टका रूपमा प्रस्तुत भए ।

भारतको बंगलोरस्थित सोसल मिडिया विशेषज्ञको कम्पनी 'सिम्प्लिफाई ३६०' का प्रमुख कार्यकारी भूपेन्द्र खनाल, कांग्रेस नेता गगन थापा, एमाले नेता रवीन्द्र अधिकारी, बलिउड सेलिबि्रटी निशा जम्बल, आर्थिक विषयका जानकार सुजीव शाक्यलगायतले जमेर बहस गरे । यसरी सक्रियता देखाउनेमा पत्रकार धर्म अधिकारी, प्रशान्त झा, उज्ज्वल आचार्य, सोमेश बर्मालगायत थिए । उनीहरूसँग मोदीको नेपाल भ्रमणमाथि आधारित भएर प्रदीपले प्रश्न तयार पारेका थिए ।

मोदीको भ्रमणसँग जोडिएको सुरक्षा चासो, व्यापार सम्झौता, बिजुली, पर्यटनजस्ता विषयमा रोचक प्रश्नोत्तर चल्दा कतिखेर दुई घन्टा बितिसकेछ, सहभागी र फलोअरलाई पत्तै भएन । प्रदीपले प्रश्नका क्षेत्रगत सीमा पहिल्यै ट्वीटरमा डीएम गरेका थिए, भाइबर, स्काइपमार्फत् सुनाइसकेका थिए । ठीक सात बजे वक्ता आ-आफ्ना ट्वीटर ह्यान्डलमा सक्रिय भए । बस्, मोदी-संवादले ह्यासटयाग डिस्कसन्मार्फत् संगठित माध्यम प्राप्त गर्‍यो ।

प्रदीपका अनुसार मोदी आउनुअघि नै स्वतस्फुर्त हिट भइसकेका ३मोदीभोजिटनेपाल, ३मोदीइननेपाल जस्ता ह्यास्टया्गमध्ये कुनैमा क्याटालिस्टका रूपमा उनी छाउन खोजेका थिए । किनभने ह्यासटयाग विश्वभरि भाइरल हुँदा नेपाल अन्तर्राष्ट्रिय रूपमा झन् बढि चासोको बिषय बन्थ्यो । त्यसो त यसअघि संविधानसभाको चुनावताका नेपालभोट्स ह्यासट्याग सर्वाधिक लोकपि्रय बन्यो । ह्यासटयाग डिस्कसन् भनेको पुरै 'भर्चुअल डिस्कोर्स' हो । ट्वीटरको वल्र्डवाइड ट्रेन्डिङमा पर्नसक्ने विषय ह्यासटयागकै माध्यमबाट प्राथमिकताअनुसार पर्छन् ।

यस्तै औपचारिक/अनौपचारिक संवादलाई मनिटरिङ गरेको सिम्प्लिफाई ३६० का सीईओ खनालले हेलो शुक्रबारसँगको ई-मेल वार्तामा बताएअनुसार सार्वजनिक महत्त्वका विषयलाई उनीहरूको सफ्टवेयरले समीक्षा गर्छ । '३मोदीभिजिटनेपाल, ३ब्रान्डइन्डिया, ३सोसलमिडियाक्यान' जस्ता ह्यासटयाग डिस्कसन् चलाइसकेका छौं, जसमा भारत, नेपालमात्रै नभएर विश्वभरिका ट्वीटर प्रयोगकर्ताले भाग लिएका छन्,' उनी भन्छन् ।

३ब्रान्डइन्डिया ह्यासट्यागअन्तर्गत भएका छलफलमा भारत, सिंगापुर र पश्चिम एसियामा बसोबास गर्ने भारतीयले विश्वमञ्चमा आफ्नो देशलाई कसरी ब्रान्डिङ गर्ने भन्नेबारे धारणा पस्केका थिए । ३सोसलमिडियाक्यान अन्तर्गत शैक्षिक अभियान चलाई सर्वसाधारणलाई सोसल मिडियाको शक्तिबारे साक्षर बनाउने अभियान चलेको थियो । 'सामाजिक सञ्जाल चलाउने कामलाई समयको बर्बादी ठान्ने गरेकामा यो अन्तरसंवादले पुराना धारणा हटाउँदै फेसबुक ट्वीटरजस्ता सञ्जाल प्रयोगलाई प्रभावकारी र उद्देश्यमूलक बनाउन सकिन्छ भन्ने धारणा विकास गर्न सघायो,' सीईओ खनाल बताउँछन् ।

ह्यासट्याग डिस्कसन्को सबैभन्दा ठूलो फाइदा यसले आफूसँग कहिल्यै कनेक्सन् नभएको मान्छेसँग जोड्छ र विचार प्रवाह गर्छ । हुन त फेसबुकमा ग्रुप डिस्कसन् गर्नसक्ने यस्तै सुविधा छ, तर ट्वीटरको ह्यासट्याग दायरा सिमाहीन छ । यसमा थोरै फलोअर भएको ट्वीटर प्रयोगकर्ताको ट्वीट पनि ह्यासट्यागमार्फत् सातै महादेश भाइरल हुन सक्छ । फेसबुक ग्रुप एउटा मान्छेअन्तर्गत हुन्छ, तर ह्यासट्यागमा सबै एडमिन हुन्छन् । प्रदीप भन्छन्, 'सर्वसाधारणदेखि जतिसुकै उच्च पदस्थमाझ ह्यासट्याग डिस्कसन्मार्फत् एकैचोटी परस्पर सञ्चार गर्न सकिन्छ ।'

No comments:

Post a Comment