Wednesday, September 17, 2014

नयाँ एसियाको अनुहार


भारतीय इतिहासकार रामचन्द्र गुहाले सम्पादन गरेको 'मेकर्स अफ् मोडर्न एसिया' यो महादेशको आधुनिकीकरणको जग बसाल्ने ११ नेताहरूको वृत्तान्त हो । समकालीन बौद्धिक वृत्तभित्र गिनेचुनिएका विद्वान् गुहाले यसअघि 'मेकर्स अफ् मोडर्न इन्डिया', 'इन्डिया आफ्टर गान्धी', 'गान्धी बिफोर इन्डिया'जस्ता पुस्तक लेखेर नाम कमाइसकेका छन् । यो संग्रहमा चुनिएका करिब दर्जन एसियाली नेताहरूको मापदण्डमाथि भने विवाद गर्न सकिन्छ । किनकि, आधुनिक एसियाका थुप्रै 'ठूला' नेता यसमा परेका छैनन् ।

पुस्तकको आरम्भमा भारतका महात्मा गान्धी छन्, सत्याग्रहको सहारामा उपनिवेश फाल्न कस्सिएका । चीनका च्याङ काइसेक छन्, 'आन्तरिक र बाह्य शत्रु' सँग युद्धैयुद्धबीच अधिनायकी चलाइरहेका । भियतनामका हो ची मिन्ह छन्, अमेरिकी तथा फ्रेन्च प्रभुत्वविरुद्ध लडाइँको नेतृत्व गरेका । चीनका माओत्सेतुङ, चाउ एनलाई र देङ स्याओपिङ छन् लगभग एउटै समयमा तर भिन्न भिन्न शैलीमा कम्युनिस्ट पार्टीमार्फत् चीनमा 'राज्य गरेका ।'

यो पुस्तक आद्योपान्त पढ्दा एसियाको आधुनिकीकरण अभियानमा सबैभन्दा ठूलो बाधक तर नकारात्मक प्रेरक उपनिवेशवाद थियो भन्ने थाहा हुन्छ । उल्लेखित अधिकांश नेताले बेलायती उपनिवेशविरुद्ध लडेका छन् । जापानी प्रभुत्वविरुद्ध लड्ने चीन र सिंगापुरको कथा पनि समेटिएको छ । उपनिवेश र आन्तरिक युद्धले सिर्जेको चरम राजनीतिक अस्थिरताबीच पनि कसरी राष्ट्र बनाउने अभियान थाल्न सकिन्छ भन्ने प्रतिबद्धता बोकेकाहरूको व्यक्तिचित्र हो यो पुस्तक ।


जापानी उपनिवेश अन्त्य गर्दै सिंगापुरको चेहरा बदल्ने ली क्वान युको उपस्थिति यो पुस्तकमा अझै बलियो छ । यसै क्रममा छन्, भारतका जवाहरलाल नेहरू, इन्दिरा गान्धी, पाकिस्तानका जुल्फिकर अली भुट्टो । इन्डोनेसियाका सुकार्नोसमेत गरी जम्मा ११ नेताहरूको लघुवृत्तान्तलाई सम्बन्धित नेता, दल र देशको बारे अनुसन्धान गरिरहेका १० लेखकले लेखेका छन् । गुहा यस पुस्तकका सम्पादक हुन्, जसले गान्धी र नेहरूबारे आफैंं लेखेका छन् ।

पुस्तकले बताउँछ, प्रत्येकजसो एसियाली देशहरू उपनिवेशको अन्त्यपछि पनि पश्चिमा शक्तिराष्ट्र अमेरिका र युरोपप्रति कुनै न कुनै रूपमा निर्भर थिए । यहाँ समेटिएका नेताले नयाँ शिराबाट चिन्तन र काम थाले, जसका कारण एसिया आफैंं शक्ति हुन सक्छ भन्ने सोचलाई जमिन मिल्यो । उनीहरूले कुरामात्रै होइन, कामै गरेर देखाए । त्यसको सुरुवात भयो राष्ट्रिय अर्थतन्त्रको विकासबाट । विश्वयुद्धको समयतिर कमजोर ठानिएका मुलुकहरूले असंलग्न राष्ट्रहरूको सम्मेलन गराएर आफूलाई रक्षा गरेको, त्यसैमार्फत् परस्पर सहयोग आदानप्रदान सुरु भएको प्रसंग भेटिन्छ । यो पुस्तकको सर्वाधिक शक्तिशाली सन्देश भनेको वैमनस्यपूर्ण विगत बिर्सेर अन्तर-एसियाली सञ्जाल बनाउन यहाँका नेता अघि बढे भने भावी विश्वराजनीतिको केन्द्रमा एसिया उदाउन सक्छ भन्ने हो । एसियाली मुलुकको परस्पर भ्रमण गर्न एसियाली राजनीतिकर्मीलाई पुस्तकले टिप्स पनि बाँडेको छ : जस्तो कि, देङ स्याओपिङ र ली क्वान युले घुमेरै ज्ञानको दायरा फैलाए । सिकेका कुरा आफ्नो देशमा प्रयोग पनि गरिहेरे ।

देङ र लीको प्रसंग अरूभन्दा विशेष किसिमले पुस्तकमा उल्लेख किन छ भने चीन र सिंगापुरको आर्थिक छलाङमा उनीहरूको देन अतुलनीय थियो । कट्टर कम्युनिस्ट पृष्ठभूमिका देङ र जातीय संकीर्णताको जगमा उभिएका लीले सारमा उग्रराष्ट्रवादी स्कुललाई नै मलजल गरेका थिए । तर विदेशसँग लड्नु, गाली गर्नु र आफ्नै देशमात्रै महान ठान्ने पुरातन राष्ट्रवादको परिधिभन्दा बाहिर निस्केर देङले विदेशबाट सिक्ने, कूटनीतिक सम्बन्ध बढाउन आफैं जाने, तर किञ्चित नदब्ने नीति अख्तियार गरे । आफ्नो समयमा अराष्ट्रवादी भनी आलोचित तिनै देङले पुरानो शत्रु जापान र 'साम्राज्यवादी' अमेरिकासँग समेत मैत्री हात फैलाएका थिए । तिनले अघि सारेको उदार अर्थतन्त्रको जगमा अहिलेको चीन उभिएको ठान्छन् लेखक ओड आर्ने वेस्टाड ।

स्वतन्त्रतालाई बन्धनमै राख्न चाहने माओवादी मान्यताभन्दा बाहिर जान नसके पनि देङले आफ्नो शासनकालमा उत्पादक शक्तिको विकासमा पूरै ध्यान लगाएको पुस्तक बताउँछ । माओको 'महान् अग्रगामी छलाङ' लाई उनले सुरुवाती चरणमा नेतृत्व दिए । तर कालान्तरमा यसका सीमा, अझ गम्भीर प्रतिकूलताहरू महसुस गरे, अनि बाहिरिए । यसो गर्नुको नतिजा कति महँगो पर्न सक्छ भन्ने विचार गरीवरी माओको महत्त्वाकांक्षाबाट उनी बाहिर गएका थिए । यहीँबाट उनको दु:ख सुरु भयो, तर यसैले उनको पृथक् व्यक्तित्व स्थापित भएको सन्दर्भ पुस्तकमा उल्लेख छ ।

'बिरालो सेतो भए पनि कालो भए पनि मुसा मार्न सक्नुपर्ने' देङ-तर्कले बजार अर्थतन्त्रको माध्यमबाट आधुनिक चीनको भाग्य कोरेको बुझाइ लेखकको छ । देङले बजारतन्त्रले समाजवादको बाटो नछेक्ने बरु अझ फराकिलो पार्ने तर्क गरेका थिए । सिंगापुरका ली उनीबाट अधिक प्रभावित थिए । देङ, लीजस्ता नेता आर्थिक विकासको घोडामा शानले सवार भए पनि राजनीतिक स्वतन्त्रताको जग बसाउन असमर्थ भएको पुस्तक ठहर गर्छ । यति हुँदाहुँदै देश बनाउने यी दुई नेताको सिको गर्न अरू देशका नेताहरूले समेत खोजिरहेको पनि उल्लिखित छ ।

तत्कालीन सोभियत संघको समाजवादी कार्यक्रमबाट प्रभावित जवाहरलाल नेहरूको विश्वास प्रजातान्त्रिक संस्थाहरू र संरचनामा देखिन्छ । उनी चिनियाँ राजनीतिसँग सन्तुष्ट छैनन्, अनि चीन रुससँग सन्तुष्ट देखिन्न । साम्यवादी भईकन पनि चीन र रुसबीच ऐक्य नहुनु, तर भारतका नेहरू तीमध्ये एकसँग निकट देखिनु यो पुस्तकमा भेटिने रोचक पक्ष हो । पुस्तकका अधिकांश खण्डमा लोकतन्त्रलाई 'एक्स्पेरिमेन्ट' गर्ने नेताहरूको मनसाय भेटिन्छ । के यसको अर्थ एसियाको समृद्धि यात्रामा लोकतन्त्र तपसिलको विषय थियो ? प्रश्न उठ्नु स्वाभाविक छ, तर उपनिवेशसँग जुध्दै स्थापित भएको नेतृत्वको समय सन्दर्भ पनि बुझ्नुपर्ने हुन्छ । गुहाले नै राजनीतिक विकासभन्दा पनि सम्बन्धित मुलुकको आर्थिक फड्कोमा सीमाबद्ध भएर पुस्तक तयार गरेको स्वीकारोक्ति दिएका छन् ।

यो पुस्तकका सबैजसो पात्रहरूलाई जोड्ने अर्को कडी भनेको राष्ट्रवाद हो । भारतको आधुनिकीकरणका बारेमा भने गुहा लोकतन्त्रलाई नै श्रेय दिन्छन् । उनले लेखेका दुई निबन्धमा गान्धी-नेहरूको पुस्ताले लोकतान्त्रिक संरचनाहरू निर्माण गर्न मेहनत नगरेको भए अहिलेका नेताहरूले आर्थिक समृद्धिको कल्पनासमेत गर्न गाह्रो पर्ने विश्लेषण छ । तर भियतनाम, इन्डोनेसिया, सिंगापुरजस्ता देशले भने सम्प्रभुताका लागि नै धेरै समय खर्चिनुपरेकाले लोकतन्त्रभन्दा राष्ट्रिय मुक्ति बढी मूल्यवान देखिन पुगेको आकलन लेखकहरूको छ । अझ भियतनामको सन्दर्भमा हो ची मिन्हले राष्ट्रिय मुक्तिका लागि लडेको संघर्षका अघिल्तिर उनको कम्युनिस्ट रुझान फिका देखिएको समेत तर्क छ । हेराई बुझाइ आ-आफ्नो हो ।

पुस्तकमा प्रजातान्त्रीकरणभन्दा आर्थिक विकासको दृष्टिकोणबाट समृद्धि हासिल गरेका देश र तिनका नेता प्राथमिकतामा परेका छन् । विश्वव्यापार, आर्थिक वृद्ध र प्रतिव्यक्ति आय त्यसका मापक हुन् । अपवादचाहिँ के हो भने पिछडिएको मानिने भियतनाम पर्दैगर्दा समृद्ध जापान छुटेको छ । एसियाको आधुनिकीकरण अभियानमार्फत् सबैभन्दा बढी लाभ कसैले लिए भने ती चीन र भारत नै हुन् भन्ने निष्कर्ष पुस्तकको छ ।

भारतका तीन नेता गान्धी, नेहरू र इन्दिरा समेटिँदा एउटै पनि माक्र्सवादी नसमेटेको भनी गुहाको आलोचना भएछ । अझ सुवासचन्द्र बोस वा टैगोर राख्न सकिन्थ्यो, किन नराखेको भनी बंगालीहरू उनीसँग खुब रिसाएछन् । गुहा प्रस्टीकरण दिन्छन्, 'बोसको नाम छुटाएकामा उनीहरू यति क्रुद्ध रहेछन् कि आइन्दा हेल्मेट लगाएर मात्रै बंगाल आउन मलाई एक साथीले सुझाएका छन् ।' त्यसो त उनले नै सकारेका छन्- यस्तो संग्रह बनाउनु भनेको जहिले पनि अपजसकै काम मात्रै हो ।

पुस्तकमा पाकिस्तानका निर्माता मोहम्मद अली जिन्नाह, बर्माकी नेतृ आङ सान सु चीजस्ता यो पुस्तकमा समेटिएका छैनन् । आधुनिक र धनी दक्षिण कोरिया पुस्तकमा कतै भेटिन्न । जिन्नाका ठाउँमा बरु जुल्फिकर अली भुट्टो छन् । जिन्नालाई किन छुटाइयो भन्नेमा गुहाको तर्क छ- जिन्ना पाकिस्तानको स्वतन्त्रतालगत्तै बिते, केही गर्न पाएनन् । चरम विवादित भारतीय नेतृ इन्दिरा गान्धी अटाउन भ्याउने गुहाले सु चीलाई नसमेटेकोमा आलोचना खेपिसकेका छन् । तर उनको वास्तविक योगदान अझै हेर्न बाँकी रहेको उनको दलिल छ । अर्को कुरा, एसियामात्रै नभएर समृद्धिको विश्व मानचित्रमा जापानको हैसियत निकै माथि देखिन्छ । आर्थिक उन्नतिदेखि जनताको जीवनस्तरको तहमा यो प्रकट हुन्छ । जापानी नेतालाई छुटाउनुमा गुहाको तर्क छ- दोस्रो विश्वयुद्धपछि अमेरिकी प्रभुत्वमा परेको जापानले राजनीति र विकासमा आफ्नो मौलिकता कायम गर्न सकेन, बरु उसैको छायाजस्तो बनिरह्यो ।

फासिवादी आरोप लागेका कतिपय देशका नेताहरू, जसले उपनिवेशविरुद्ध लडे, तर लोकतन्त्र ल्याउन वा जोगाउन असमर्थ रहे, तिनीहरू यस पुस्तकमा अटाइएका छन् । नेपालमा यो संग्रह छिर्नेबित्तिकै खै त नेपाली भन्ने प्रश्न उठाउने पनि भेटिए । यसमा गुहाको जवाफ त सुन्न बाँकी छ, तर नेपालीले नेपालको वास्तविक आधुनिकीकरण र आर्थिक समृद्धिका लागि अझै गर्न धेरै बाँकी छ भन्ने सन्देश यही पुस्तक हो ।



मेकर्स अफ मोडर्न एसिया

सम्पादक : रामचन्द्र गुहा

प्रकाशक : बल्कन्याप प्रेस अफ् हार्वर्ड युनिभर्सिटी प्रेस, बेलायत

मूल्य : रु. १,४३२ /-

प्रकाशित मिति: २०७१ भाद्र २८ Kantipur

No comments:

Post a Comment