Monday, September 8, 2014

हराएको स्कुल

तिम्रो स्कुल एक्कासी हरायो भने तिमी के गर्छौ ?

हिजोसम्म साथीहरुसँग मिलेर पढेको, कुरा गरेको, खेलेको कक्षाकोठा, डेस्कबेन्च, खेल मैदान अकस्मात् गायब हुँदा धेरै बेरसम्म सोच्नै सक्दैनौ होला । साँच्चि, तिमी त पत्याउँदैनौ होला ।

तर कहिलेकाहिँ सपनाजस्ता लाग्ने कुराहरु सत्य भइदिन्छन् । एक महिनाअघि सिन्धुपाल्चोकको मांखा र राम्चे गाउँको सिमानामा खसेको जुरे पहिरोले तिमीजस्तै पढ्ने ३१ साथी पुरिदियो । त्यही निर्दयी पहिरोले मांखा- १ मा रहेको वनसाँघु माविको नामोनिशान नरहने गरी छोपिदियो । २४ वर्षदेखि त्यहाँ पढाइरहेका हेडसर बलराम तिमल्सिनाले त स्कुल कहानेर थियो भनि अन्दाजमात्रै गर्न सकेछन्, खुटयाउनै सकेनछन् । सोच त, त्यो पहिरो कति भयानक थियो होला !

अस्ति शुक्रबार हामीले भेट्दा ती हेडसर रुनमात्रै सकिरहेका थिएनन् । तर रोएर के गर्नु ! आखिर नहुनु भइसक्यो । अघिल्लो दिनसम्म पढाएका विद्यार्थीलाई पहिरोले लगिसकेको थियो । स्कुल पनि थिएन ।

हेडसर र अरु शिक्षक मिलेर जिल्ला शिक्षा कार्यालय, गैरसरकारी संस्थाहरु, व्यापारिक क्ष्ाेत्रका व्यक्तिहरु भेटेर स्कुल फेरि चलाउन सहयोगका लागि हात फैलाइरहेका छन् । अभिभावक राजाराम श्रेष्ठले त आफ्नो दुई रोपनी खेत नै स्कुलका लागि अस्थायी टहरा बनाउन दिए । कतिसम्म भने, उनले त लहलह पाक्दैगरेका धान नै फाँडेर स्कुल बनाउन दिए । कत्रो उदार भावना !

पहिरोले भवन मेटे पनि इतिहास मेट्न त कहाँ सक्थ्यो ! केही संस्थाले आर्थिक र भौतिक भर त दिनेभए । तर तत्कालै स्कुल कसरी चलाउने ! न भवन छ, न डेस्कबेन्च । कोही बाँस बोक्न थाले, कोही चोया बुन्न । कोही खेत सम्याउन लागे, कोही भाटा ताछ्न । 'अभिभावकले आफैं बाँस काटेर ल्याउने, बारबेर गर्ने काम थाले,' प्रअ तिमल्सिनाले सुनाए ।

कतिसम्म भने, पहिरोको पीडाबीच स्कुल बनाएरै छाड्ने लामोसाँघुवासीको संकल्प थाहा पाएर सेवा इन्जिनियरिङ एकेडेमी थापाथलीले सघाउने वचन दियो । स्थानीयवासीले ५० सेट डेस्कबेन्च मागे । फर्निचर सञ्चालकले त्यसको दोब्बर सघाउने घोषणा गरे । कहिलेकाहिँ साना साना खुसीहरुले पनि पीडा बिर्साउन मद्दत गर्छन् ।

यसअघि हेल्प नेपाल नामक संस्थाले १ लाख रुपैया दिइसकेको छ । अब १० लाख दिने आश्वासन पाएका छन् । टुकी संघ, सेभ द चिल्ड्रेनजस्ता संस्थाले ३० लाख बराबरको नगद र जिन्सी सहयोगको वचन दिएको सेभ द चिल्ड्रेनका परियोजना अधिकृत हेमन्त दंगालले जानकारी दिए ।

बाँसले बारेको भवनमा निलो पाल टाँगेर ओत लाग्न मिल्ने बनाएका छन्, अभिभावकले । १ सय ७३ विद्यार्थी पढ्ने यो स्कुलका ३१ विद्यार्थी अब कहिल्यै कक्षामा आउने छैनन् । तर स्थानीय अभिभावक राजेन्द्र श्रेष्ठ भन्छन्, 'जे हुनु भइसक्यो, अब छाप्रो हालेर भए पनि स्कुल चलाउनुपर्छ ।'


http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=329166

Kantipur Daily

प्रकाशित मिति: २०७१ भाद्र २२ ११:४२

No comments:

Post a Comment