Friday, September 26, 2014

'हाम्रो मूलधार एकदम सानो छ’

नेपाली समाज र राजनीतिका विषयमा लेख्दै र चिन्तन गर्दै आएका सीके लाल पेसाले इन्जिनियर हुन् । तर, समाजलाई हेर्ने उनको दृष्टिकोण गणीतीय मात्र छैन । उनीसँग मूलधारदेखि सामाजिक नैतिकता र बुद्धिको निर्माणलगायतका विषयमा यज्ञश र बसन्त बस्नेतले गरेको कुराकानी :

तपाईंको सुरुवाती बेलाको पढाइसम्बन्धी सम्झना कस्तो छ ?
म स्कुलमा पढ्दासम्म गर्मीमा छुट्टी लामो हुन्थ्यो । अलिअलि खेतमा काम गर्ने समयबाहेक फिल्म हेर्न जानेजस्ता विकल्प थिएनन् । मेरा दाइ बीए पढ्नुहुन्थ्यो, उहाँको पुस्तक संकलन राम्रै थियो । यसो पढ्दै गएको, रस बस्दो रहेछ । सजिलोसँग किन्न पाउने अखबारहरू, 'आर्यावर्त' भन्ने हिन्दीमा, 'इन्डियन नेसन' अंग्रेजीमा निस्कन्थ्यो । 'प्रदीप' भन्ने अखबार निस्किन्थ्यो । हिन्दुस्तान, दिनमान, सरिता, कादम्बिनी, नवनीत पनि । जासुसी दुनियाँका किताब आउँथ्यो । जे हात पर्छ, पढ्ने बानी लाग्यो । अगाथा क्रिस्टीजस्ता लेखकका पुस्तक हेरिन्थ्यो । नबुझे पनि हिन्दी, अंग्रेजी शब्दकोश अघिल्तिर राखेर पढ्ने काम सुरु गरियो । सानै उमेरदेखि पढ्ने रस बस्यो ।


कुन भाषामा पढ्न सुरु गर्नुभयो ?
सबैभन्दा सहजतापूर्वक हिन्दी साहित्य नै उपलब्ध हुन्थ्यो । पछि मैथिलीको पनि पढ्नुपर्छ भनेर खोजीखोजी 'मिथिला मिहिर'जस्ता पत्रिका पढ्न थालियो । हरिमोहन झाको कन्यादान भन्ने पुस्तक थियो । खट्टर कका'क तरंग भन्ने हास्य पुस्तक मैथिलीमा पढ्न थालियो । त्यसपछि अंग्रेजीमा पढ्न थालियो । मैले जलेश्वर लक्ष्मी चण्डी मुरारका उच्च विद्यालयमा पढेको हुँ । त्यसपछि डिप्लोमा इन् सिभिल इन्जिनियरिङ पढ्न बैंग्लोर पुगें । त्यहाँ पढाइ झन् थपियो । वातावरण नै कस्तो थियो भने धनी मानिसहरू पढ्ने । जबकि तिनका लागि सिनेमा जाने, क्लब जानेजस्ता धेरै विकल्प हुन्थ्यो । सन् १९७३/७४ तिरको बेला थियो । म मध्यमवर्गको मान्छे, त्यस्तोमा खर्च गर्न नसक्ने । सबैभन्दा रमाइलो के थियो भने कब्बन पार्कभित्र नेसनल लाइब्रेरी थियो । त्यहाँ छिर्‍यो भने संसार नै अर्कोजस्तो लाग्ने । इन्जिनियरिङको पढाइ मलाई अपेक्षाकृत सजिलो लाग्यो । मलाई खासै गाह्रो हुँदैनथ्यो । कक्षामा नियमित बसेपछि त्यसका लागि अरू मेहनत गर्नुपर्दैनथ्यो । लाइब्रेरीमा समय बिताउन लागियो । त्यस बेलासम्म भारतमा अखबार सस्तो थियो । विद्यार्थीको पैसाले दुई-तीनवटा अखबार नियमित पढ्न सकिने अवस्था थियो । बैंग्लोरको आफ्नै डेक्कन हेराल्ड थियो अंग्रेजीमा । कलकत्ताको पढ्नुपर्छ भनेर स्टेट्सम्यान, बम्बईको पनि पढौं भनेर टाइम्स अफ इन्डिया, पछि गएर दिल्लीको पनि पढ्ने भनेर हिन्दुस्तान टाइम्स गरी तीन-चारवटा अखबार पढ्न थालियो । पछि गर्मी छल्न अलिगढ मुस्लिम विश्वविद्यालयको पुस्तकालय पनि जान थालियो । वातानुकूलित कोठाको शीतलतामा गरेको पढाइ अहिले पनि सम्झना आउँछ ।

नेपाली भाषाको साहित्य कहिले पढ्न थाल्नुभयो ?
त्यो त धेरै पछि । जनमतसंग्रहपछि के लाग्यो भने नेपालमा नेपाली जानेन भने त बडा बर्बाद हुन्छ । त्यसपछि गोरखापत्रको नियमित पाठक बनें । मधुपर्क किन्न थालें, गरिमा, रूपरेखा पढ्न थालें । शंकर लामिछाने, भूपि शेरचन, माधवप्रसाद घिमिरेका पुस्तक खोजीखोजी पढ्न थालियो । नेपाली साहित्य पढ्न थालेको साहित्य पढ्नलाई भन्दा पनि मेरो नेपाली भाषा अलि राम्रो बनाउनका लागि थियो । यो कलेज सकेपछिको बेला थियो ।

अरू भाषाका साहित्य पढिसकेको तपाईंलाई नेपाली साहित्य पढ्दा कस्तो अनुभूति भयो ?
इमानदारीसाथ भन्ने हो भने ठूलो खाडल देखिन्थ्यो । एकथरी कथा-कविता केटाकेटीको जस्तो लाग्ने, अर्कोथरी माथिल्लो स्तरको राख्न मिल्ने । बीचमा केही पनि नभएको जस्तो । कि त पप् लिटरेचरजस्तो, कि त एकदमै स्वान्त:सुखाय लेखिएको, दर्शनस्तरको । यी दुइटाको बीचमा कस्तो साहित्य होला भनेर भेटाउन अहिले पनि मलाई गाह्रै भइरहेको छ ।

माथिल्लो स्तरमा कोही लेखक सम्झनुपर्‍यो भने ?
कविता पढ्न विशेष रुचि भएको हुनाले शुद्ध शब्द सौन्दर्यका लागि माधवप्रसाद घिमिरे, विचारका लागि देवकोटाका केही कविता, गद्यमा शंकर लामिछानेका निबन्ध । अलि पछि पढ्न थालेपछि शब्दको सौन्दर्यका लागि खगेन्द्र संग्रौलाका स्तम्भहरू पढियो । तर अहिले पनि हिन्दी, मैथिली वा अंग्रेजी साहित्यका तुलनामा नेपाली पढ्नु मेरा लागि मुस्किलको काम हो ।

तपाईंले नेपालीमा लेख्न कसरी थाल्नुभयो ?
यसको अलि रोचक संस्मरण छ । २०४७ सालमा 'जनमञ्च' नामक पत्रिका सुरु भयो । यसको प्रकाशन समूहमा किशोर सिलवाल थिए । उनले लेख्नुपर्‍यो भने । समस्या के भइदियो भने ऊ बेला पनि नेपालीमा लेख्न मलाई दोब्बर मेहनत पर्ने, पैसाचाहिँ अंग्रेजीभन्दा आधामात्रै पाउने । यो त मलाई बडा गाह्रो भयो । 'घाटाको सौदा भयो किशोर, म सक्दिनँ' भनें । केही समय मेरो लेखन हरायो । त्यसपछि हिमालय टाइम्सको सम्पादक भएर किशोर नेपाल आयो । ऊचाहिँ पहिलेदेखि नै चिनेको भएर होला, अलि हकारेकै तालमा भन्यो, 'तैंले अंग्रेजी लेखेर केही नाप्दैनस् यो देशमा । आफैं पढ्यो, मैले क्या लेखें भनेर आफैं मख्ख पर्‍योमात्रै हो । यो देशमा केही गर्नु छ भने नेपालीमा लेख्नुपर्छ ।' मैले भनें, 'मलाई नेपालीमा लेख्न असाध्यै मेहनत पर्छ । सक्दिनँ ।' उसले भन्यो, 'मेहनत गरेर पो राम्रो लेख्न सकिन्छ ।' उसले हकारेकै भरमा मेरो नेपाली लेखनले गति पायो । पाठक प्रतिक्रिया पनि नेपालीमा लेख्दा बढी आउन थाल्यो । पछि त नेपालीमा लेख्ने लत नै बस्यो ।

इन्जिनियरिङमा समय दिनुको साटो त्यो ऊर्जा पनि लेखनमै खर्चेको भए हुने रहेछ जस्तो लागेन ?
त्यस्तो लाग्दैन । यो जीवन केका लागि हो ? पैसा कमाउने हो भने इन्जिनियरिङ पेसामा मेरा लागि प्रशस्त ठाउँ थियो । नाम कमाउनकै लागि पनि नेपाल इन्जिनियरिङ एसोसिएसनको महासचिव उही बेला भएको हुँ । अहिलेजस्तो गल्लीगल्लीमा संगठन खुलेका थिएनन् । श्री ५ को सरकारको सरुवाबढुवा दौडमा अलि पछाडि परेको सत्य हो । त्यसबाहेक म असन्तुष्ट थिइनँ । मैले जुन बेलामा काम गर्न पाएँ, त्यो पाउनु इन्जिनियरहरूको लागि सपनाको चुनौतीजस्तो हुन्छ । कोहलपुर-महाकालीजस्तो एउटा राजमार्गको व्यवस्थापनमा सहभागी हुन पाउनु, कणर्ाली पुलको विचारमात्रै थियो, त्यसलाई साकार पार्ने अभियानमा सहभागी हुन पाउनु, जलमार्गको अनुसन्धानमा सामेल हुन पाउनु, काठमाडौंका पुलहरूको रेखदेखजस्तो बिल्कुलै नयाँ अवधारणामा काम गर्न पाउनु मेरा लागि गौरवको कुरा हो ।

प्राज्ञिक लेखनभन्दा अखबार नै रोज्नुभयो, किन ?
सुरुवाती शिक्षाकै असरका कारण यस्तो भएको हो । मैले यदि अनुसन्धान गर्ने हो भने पेसागत आचारसंहिताअनुसार आफ्नो विषयबाहिर ठोकुवासाथ भन्न मिल्दैन । त्यसरी लेख्ने हो भने मेरो विषय सिभिल इन्जिनियरिङ, अर्बन ट्रान्सपोर्टेसन, अर्बन प्लानिङ, अलिकति कानुन, जनप्रशासनजस्तो विषयमा लेख्नुपर्ने हुन्छ । अरू विषयमा लेख्न सम्भव हुँदैन । तर अखबारी लेखनमा के हुन्छ भने म त एउटा नागरिक हो । प्रत्येक नागरिकलाई आफूलाई लागेको विषयमा कुरा राख्ने उत्तिकै अधिकार छ । त्यसैले अखबारी लेखनलाई मैले प्राथमिकता दिएको हो । यदि मैले अनुसन्धानमा लाग्ने हो भने त मेरो रुचिको विषयभन्दा पनि मेरो दक्षताको विषयमा लाग्नुपर्ने हन्छ । यसका लागि अब त ढिलो भयो ।

तपाईं हिजोआज जस्ता विषयहरूमाथि लेखिरहनुभएको छ, यस्तो चिन्तनलाई आकार दिनेगरी कुन बेलाको पढाइले काम गर्‍यो ?
कहिलेकाहीँ सन्जोगले कताकता पुर्‍याउँदो रहेछ । सामान्य किसिमले सुरुवात भएको थियो । अहिले सुनायो भने कसैले जिस्केको भन्ठान्ला, तर नोकरीमा हुँदाको कमाइले खान पुग्दैनथ्यो । त्यसैले मैले लामो समयसम्म विज्ञापनको 'कपिराइटिङ' गरें । त्यसबेला मैले नेपालको बजार सर्वेक्षण, रेडियोहरूको स्रोता सर्वेक्षण गरेको छु । त्यसले मेरो थप आम्दानी हुन गयो । यो पनि मलाई थाहा भएको विषय त थिएन । विज्ञापन, 'मार्केटिङ' जस्ता विषयका पुस्तक, पत्रिका किनेर पढ्नुपर्ने भयो । यो पढ्दै गएपछि संसार अलि फरक रहेछ भन्ने झन् थाहा हुँदै गयो । पुँजीवाद भन्ने कुरो अर्कै रहेछ, यसको विकल्प के हुन सक्ला भन्ने चेत बढ्दै गयो । भारतले सन् १९८९ तिर आर्थिक नाकाबन्दी लगाएको बेला भूराजनीतिक पुस्तकहरू पनि पढ्दै गइयो । लेख्ने काम भनेको आफैं बुझ्ने काम पनि रहेछ । आफ्नै विचारको स्पष्टताका लागि पनि लेख्ने कामले सघाउँदो रहेछ । त्यसैले अलि नबुझी पनि चर्कै कुरा लेख्न थालियो । पहिले ल्हासा घुम्न जानुस्, गजब छ, बनारस जानुस्, राम्रो छ भनी लेख्ने गरेको मान्छे सन् १९९० पछि अर्थ-राजनीतिमाथि केन्दि्रत भएर लेख्न थालियो ।

अहिले नेपाली साहित्य कत्तिको पढिरहनुभएको छ ?
अहिले एकदम कम भएको छ । मुख्य कुरा जनतालाई कसरी अधिकारसम्पन्न बनाउने भन्ने विषयमा मेरो समय प्रयोग भइरहेको छ । सन् '९० तिर मुख्य कुरा राजनीतिक र नागरिक अधिकारप्राप्ति थियो । त्यसको दस वर्षपछि आर्थिक न्याय, समानता, सामाजिक न्यायको कुरा आयो । त्यसको दस वर्षपछि यो विभेद हटाउन सांस्कृतिक अधिकार पनि उत्तिकै महत्त्वपूर्ण हुने कुरा आयो । त्यसैले हिजोआज सम्मानको राजनीति, पहिचानको राजनीतिबारे पढ्नुपर्ने, यसको दिशामा देखिने अवरोध, शासन-प्रशासनको अर्थ-राजनीतिजस्ता कुराले पढ्ने कुरा धेरै देखिन गयो । त्यसैले साहित्य पढ्न रुचि भए पनि समय निकाल्न गाह्रो भइरहेको छ ।

समाजमा उठिरहेका विषयलाई साहित्यले प्रतिविम्बित गर्न नसकिरहेका कारण कम पढिरहेको भन्न खोज्नुभएको हो ?
यो एक प्रकारले सही नै हो । नेपालको साहित्यमा एकथरी विचारको वर्चस्व भयो । यसको सीमा देब्रेतिर पनि कोरिएको, दाहिनेतिर पनि कोरिएको छ । मध्यमवर्ग, बाहुनवादी, आफूलाई अलिकति प्रगतिशील भन्ने विचारधारा, अलिकति उदार भन्ने विचारधारा- त्यसैमा समेटिएको देखिन्छ । अलिकति अपवाद त देखिन्छ । तर नयाँ किसिमले एउटै कुरा भनिरहेको अवस्था छ । लट्टाईमा एउटै डोरी पटकपटक घुमाइरहेको देखिन्छ- उच्चाटलाग्दो गरी ।

नेपाली साहित्य लेखनमा असहमत आवाजहरूले कत्तिको ठाउँ पाइरहेको देखिन्छ ?
नेपालमा साहित्य लेखन सम्मान पाउने व्यक्तिहरूको खेलमैदान भएको छ । सम्मान कसरी पाइन्छ ? सम्मान पाउन त स्थापित शक्तिहरूले रुचाइदिनुपर्‍यो । उनीहरूले कसरी रुचाइदिन्छन् त ? कसरी भने, असहमति पनि ठीक छ, तर एउटा सीमाबाहिरचाहिँ जान भएन । चाकडी पनि चाहिन्छ, तर नग्न चाकडी हुनुभएन । यो बीचको भयो भने त्यस्ता व्यक्तिहरूले मान, पुरस्कार पाउने हुन्छ । दामै पाइसकेको भन्न त अलि गाह्रै होला, किनभने यो भइसकेजस्तो लाग्दैन । तर मध्यमवर्गीय आकर्षणका कारण साहित्य लेखेर उपस्थिति जनाउने, सम्मान पाउने, त्यसका लागि मध्यमवर्गीय मूलधारले जे रुचाउँछ, त्यो लेख्ने चलन छ । यो कुरो सिधै नभने पनि दिमागमा यो चीजले मलाई स्थापित गर्छ भन्ने आइरहेको देखिन्छ । यसले जे स्थापित सत्य हो, त्यसैमा होमा हो मिलाउन सिकाउँछ ।

पछिल्लोपटक पढेकामध्ये तपाईंलाई प्रभाव पार्ने कृति ?
नेपाली मेरा लागि नयाँ भाषा भएकाले शिल्पका कुराले बडा प्रभावित गर्छ । त्यस हिसाबले बुद्धिसागरको 'कर्नाली ब्लुज'ले मलाई एकदमै प्रभावित गरेको छ । त्यसको विषयवस्तुमा मेरा आफ्ना कुराहरू छन् । त्यसलाई सीमान्तकृतको भनिए तापनि त्यसको 'अन्डरकरेन्ट' धेरथोर 'कन्फर्मिज्म' तिरै छ । शुद्ध भाषाको लालित्यका कारण त्यो पुस्तक मलाई पढ्नलायक लागेको हो । कवितामा शक्तिशालीहरू देखिएका छन् । एउटा कविताले सयवटा पुस्तकको काम गर्छ भन्ने भनाइलाई मान्ने हो भने श्रवण मुकारुङको 'बिसे नगर्चीको बयान' (पढ्नुपर्छ) । यसो सीमान्तकृतका आवाज भन्दिनका लागि होइन कि, भित्रैदेखि विचार आएको देखिन्छ उनको लेखनमा ।

नेपालमा कम्युनिस्ट जनमत बढी छ भनिन्छ । लेखनमा यसको प्रतिविम्ब कति देखिन्छ ?
यो रमाइलो छ । मेरो छोरा 'रेमिट्यान्स' अर्थतन्त्रको मतदाताहरूमा कस्तो प्रभाव परेको छ भन्ने विषयमा अनुसन्धान गर्दैछ । गत चुनावमा उठेका उम्मेदवार, तिनका दलको नाउँ 'टेक्स्टस्केप' भन्ने कम्प्युटर प्रोग्राममा राखेर निकाल्दाखेरी तीनवटा शब्द सबभन्दा बढी प्रचलित भएको पाइएछ । त्यसमा सबभन्दा बढी 'नेपाल', 'पार्टी' जस्ता शब्द आउने नै भए । तेस्रो शब्द 'राष्ट्रिय', चौथो 'कम्युनिस्ट' अनि अर्को शब्दचाहिँ 'स्वतन्त्र' ।

हाम्रोमा राष्ट्रिय बडा बलियो शब्द रहेछ, उत्तिकै बलियो कम्युनिस्ट पनि रहेछ । साम्यवाद पनि होइन, कम्युनिस्ट शब्द नै बढी रहेछ । अनि स्वतन्त्र बन्ने चाहना पनि हाम्रो समाजमा व्यापक रहेछ । हामी जति लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको दुहाई दिए पनि अहिलेसम्म राजनीतिक दलहरूको नाउँसम्म त्यो पुग्न सकेको रहेनछ । हामी जेलाई कम्युनिस्ट भन्छौं, त्यो नाममा कम्युनिस्ट हो कि अरू के हो ? नेपालका प्रायश: कम्युनिस्ट आफूलाई राष्ट्रवादी भन्छन् । त्यो भनेको राजनीतिशास्त्रमा 'अक्सिमोरोन' हो, हुनै नसक्ने कुरा । राष्ट्रवादी र कम्युनिस्ट एकैपटक हुनै सकिँदैन । यी दुवै एकैपल्ट भए बेपत्ता विपत्ति निम्तिने रहेछ । स्टालिनको 'गुलाग', माओको सांस्कृतिक क्रान्ति र पोलपोटको 'खमेररुज'- यी तीनै नेता 'राष्ट्रवादी कम्युनिस्ट' हुन्, तिनले नै विपत्ति निम्त्याए । नेपालमा त सबै राष्ट्रवादी कम्युनिस्ट छन् । तिनको कम्युनिज्मलाई तिनको राष्ट्रवादले जितेको छ । त्यो कुरा लेखनमा देखिन्छ- कम्युनिस्ट कम, राष्ट्रवाद बढी । अपवादबाहेक धेरैजसो कम्युनिस्ट लेखन एक-दुई प्याराग्राफपछि पढ्न टुप्पी नै कस्नुपर्छ ।

लेखनको कुरो गरियो । समाजको बुद्धि भन्ने कुरो हुन्छ नि, त्यसको निर्माण के-के चीजले गर्छ ? हामीकहाँ कस्तो देखिन्छ ?
यो जटिल प्रश्न हो । हामी इन्जिनियरिङ पढ्दा के भन्थ्यौं भने सबभन्दा सजिलै पाइने कुरा तथ्यांक हुन्छ । त्यसलाई अलिकति विश्लेषण गर्‍यो भने सूचना बन्छ । सूचनासम्म पुग्न पनि त्यति गाह्राे छैन । विभिन्न किसिमका सूचनालाई संश्लेषण गर्‍यो भने विज्ञान बन्छ । विज्ञान भनेको विकल्पहरू उपलब्ध भएको ज्ञान । त्यो संश्लेषणबारे अलिकति चिन्तन गर्‍यो भने ज्ञानसम्म पुग्न सकिन्छ । इन्जिनियरको सिमाना त्यहाँनेर गएर सकिन्छ । त्यसभन्दा माथि दर्शन हो, कविता हो, जुन कुरा कसरी आउँछ कसैलाई पनि थाहा छैन । त्यसका लागि तपस्या गर्नुपर्छ । हिजोआजको भाषामा भन्ने हो भने विमर्श चलाउनुपर्छ । विचार मन्थन गर्नुपर्छ । यो गरिसकेपछि पनि धेरै चिन्तन गर्नुपर्छ । अनि सत्य उजागर हुन्छ । तथ्यबाट सत्यतर्फको यात्रा यति लामो र कठिन छ । हामीकहाँ के भइदियो भने, फेरि कम्युनिस्टको कुरा आयो, जुनसुकै कुरालाई पनि वैज्ञानिक तवरले सोच्ने भइदियौं क्या । वैज्ञानिकभन्दा न तल केही कुरा सोच्ने, न केही कुरा माथि सोच्ने । त्यो वैज्ञानिक भएपछि, केही सिद्धान्तहरू कण्ठ पारिएको छ । अनि त्यसको नजरियामा तथ्यांकहरूबाट चेरी पिकिङ गर्ने । अर्थात् पाकेको-पाकेको फल टिपिदिने । यति गरेपछि हामीकहाँ भइहाल्यो- उहाँ त बडो जान्नेसुन्ने... ।

मतलब, हामी धेरै चीज आयात गरिरहेका छौं, विमर्श गरिरहेका छैनौं ?
विमर्शको आफ्नो भाषा हुन्छ । अंग्रेजी, नेपाली भनेजस्तो होइन, त्यसभित्र बिषयको आफ्नो भाषा हुन्छ । यो सिद्धान्तहरूबाट आउँछ । हामीकहाँ हरेक बिषयको जुन भाषा हुन्छ, पुराणशास्त्रहरूतिरको भाषा, त्यो वैज्ञानिकहरूका लागि पुरातन भइदियो । त्यहाँबाट लिन हिच्किचाहट हुने भयो । अनि हामीलाई वैज्ञानिक भाषा दिइयो- समाजशास्त्र बुझ्न माक्र्सवाद, फ्रायडवाद । अर्थतन्त्र बुझ्न बजारतन्त्र, साम्यवाद, समाजवादी सिद्धान्त । हामीले जे थोरै भाषा सिक्यौं, जान्यौं, त्यसैका आधारमा यहाँ ठूलो विद्वान् बन्ने काम भयो । यहाँ दुईथरी मानिस छन्- एकथरी 'हिन्दू तालिबान', अर्कोथरी 'बजारका मुल्लाह', 'बजारका जेहादी' । बजारका जेहादी र हिन्दू तालिबानबीच आधारभूत रूपमा केही भिन्नता छैन, दुवै उस्तै देखिन्छन् ।

त्यसो भए तपाईंले भन्नुभएजस्तो समाजका वास्तविक आवाजहरू सतहमा आउन के कुराले बाधा गरिरहेको छ ?
पहिलो त सामाजिक-सांस्कृतिक संरचना नै हो । हाम्रो संरचना कस्तो भइदियो भने ब्राह्मणवाद शब्द प्रयोग गर्‍यो भने रुचाउँदैनन् मान्छेहरूले, पुरेतवाद भन्दियो भनेचाहिं चल्छ । पुरेतवाद भनेको के हो भने पुरेतले बुझ्नेगरी पुराण वाचन गर्नुपर्दैन, पाठ गरिदिए पुग्छ । त्यो पाठ गरिदिएको श्रोताले बुझ्नु पनि पर्दैन, सुनिदिए पुग्छ । त्यो संस्कृति हाम्रा स्कुलदेखि विश्वविद्यालयहरूसम्म छ । प्रश्न गर्ने संस्कृति छैन । कुनै पनि विद्वान्लाई प्रश्न गर्नु अनुचित हुन्छ, पाप हुन्छ, ईशनिन्दा हुन्छ । त्यसैले जो यो समाजका आवाजहरूलाई मुखर गर्नुपर्ने हो, तिनमा नयाँ काम गरूँ भन्ने भाव नै छैन । जे वाचन गरिदिए पनि सत्यनारायण भगवानको पूजामा संस्कृत भाषामा बोले पुग्छ ।

हाम्रो समाजको मूल प्रवृत्ति आलोचनात्मक बन्न किन सकेन त ?
आलोचनात्मक हुन नसक्नु सामान्यीकरण गरिनुले होला । हाम्राे पौराणिक परम्परामा के छ भने, पूरै खारेज गर्ने विचार मान्य छ, चार्वाकजस्ता । वामपन्थजस्ता । स्वीकार गर्ने पनि मान्य छ । केवल समालोचनात्मक दृष्टिकोण मान्य छैन । हामी एकदम सेतो वा कालो खोज्छौं । पुरानो सभ्यतामा त्यस्तो देखिन्छ । त्यसबाट उम्किने आँट गर्न केहीले खोजे । बीपी कोइरालाले खोजे । साहित्यमा पनि राजनीतिमा पनि । तर समाजमा स्वीकार्य त बनेनन् नि ।

बीपीको कुरो आइहाल्यो । बीपीको लेखन कस्तो पाउनुभयो ?
उनको बारेमा मेरो अलिकति पूर्वाग्रह छ । अलि सानै उमेरदेखि बीपीबाट प्रभावित भएँ । आठ कक्षा पढ्दा पहिलोचोटि देखेको, अलिअलि भए पनि संगत गरेको, संगतभन्दा सुनेको । हामीले त उनको कुरा सुन्ने हो । अनि उनका किताब पटकपटक पढेको । त्यसको प्रभाव केही गहिरो हुन्छ । उनको लेखाइ र जीवनमा नेपाली समाजमात्रै खोजेर हुँदैन । उनको अधिकांश जीवन त कि जेलमा कि निर्वासनमा बित्यो । त्यतिबेलाको ऐतिहासिक सन्जोगले गर्दा विदेशी विश्वविद्यालयमा पढेको नभए तापनि संगतचाहिँ आफ्नो समयका सर्वोच्च मस्तिष्कहरूसँग, सोचहरूसँग गर्न पाए । राजेन्द्रप्रसादहरू जस्तोसँग जेलमा बस्न पाए । जर्मनी पढेका लेाहियासँग विवाद गर्न पाए । बर्कले पढेका जयप्रकाश नारायणसँग संगत भयो । क्याम्बि्रज पढेका नेहरूका कुरा सुन्न पाए । चीनका माओ त्सेतुङ, जर्मनी, फ्रान्स बेलायतका नेताहरूसँग कुरा हुन पायो । ऊ बेलाका समाजवादीहरूसँगको संगत उनको लेखनमा नेेपालको समसामयिक समाजभन्दा बढी छ । उनी नेपाली समाजलाई जब हेर्छन्, त्यस्तो गहिरो आँखाले हेर्छन् । उनको जस्तो गहिराइ नेपाली लेखनमा पाउन गाह्रै छ ।

समाजमा नैतिकताको 'ब्यारोमिटर’ बदलिइरहन्छ भनिन्छ । त्यसको निर्माणचाहिं केले गर्छ ?
अंग्रेजीमा दुइटा शब्द प्रयोग हुन्छ- एउटा 'मोरालिटी', अर्को 'एथिक' । नेपालीमा दुइटैलाई सामान्यतया नैतिकता भनिन्छ । कसैले एथिकलाई संहिता पनि भन्छन् । अंग्रेजीको हिसाबले सोच्ने हो भने मोरालिटी मान्छेको व्यक्तिगत हो, एथिक सामाजिक । हामीकहाँ जसलाई नैतिकताको मापदण्ड भन्छौं, खासगरी त्यो एथिक छ । समाजले सामाजिक नैतिकताको कुरा गर्छ । सामाजिक नैतिकता भनेको सामाजिक मूल्य-मान्यताले निर्देशित गर्ने हो । यो कसरी निर्माण हुन्छ भन्ने त्यसपछिको प्रश्न हो । सामाजिक मूल्यको जराहरू त परम्पराबाटै आउने हो । जस्तो कि,
अष्टादस पुराणेसु व्यासस्य वचनंद्वयं
परोपकाराय पुण्याय पापाय: च परपीडनम्

अठार पुराणमा व्यासले जम्मा भनेको यत्ति हो- परोपकार गरे धर्म हुन्छ, परपीडा गरे पाप हुन्छ । यो परम्पराबाट सामाजिक नैतिकताको कुरा आयो । दोस्रो सामाजिक नैतिकता भन्ने के हुन्छ भने, जब परिवेश बदलिन्छ, तब सामाजिक नैतिकतालाई परिवर्तन गर्नुपर्ने हुन्छ । कानुनले त्यसलाई परिवर्तित गर्छ । सती कुनै बेला ठूलो नैतिकता थियो, गएन भने त्यो अनैतिक हुन्थ्यो । यसलाई अर्थशास्त्रमा हर्समन् हाइपोथेसिस भनिन्छ । विद्वान् अर्थशास्त्री थिए, अल्बर्ट हर्समन । उनी भन्छन्, 'हरेक समाजमा यस्तो बिन्दु आउँछ, जहाँ परम्परा र कानुनबीच द्वन्द्व हुन्छ ।' जस्तो कि, हाम्रो समाजमा छुवाछूत प्रथाबारे परम्परा र कानुनबीच द्वन्द्व छ । धेरै समय परम्पराले पेल्दै लान्छ, तर एउटा यस्तो बिन्दु आउँछ, जहाँ कानुन हावी हुन्छ । अनि नयाँ परम्पराको सत्ता बन्न जान्छ ।
२०६२/६३ को परिवर्तनपछि नेपाली समाजको ध्येयमा कस्तो खालको बदलाव देख्नुहुन्छ ? कस्ता तत्त्वहरूको प्रभाव देखिन्छ ?
पहिलो कुरा त म के देख्छु भने हामी क्षमताभन्दा धेरै ठूलो महत्त्वाकांक्षा राख्न थालेका छौं । सामूहिक रूपमा भन्ने हो भने नेपाललाई स्विट्जरल्यान्ड र सिंगापुरभन्दा कम बनाउने कल्पनै नगर्ने, जबकि तथ्यांकका आधारमा भन्ने हो भने प्रतिव्यक्ति प्राकृतिक स्रोतको उपलब्धता, अरू कुरा छोडिदिउँ, पानीलाई नै हेर्ने हो भने आवश्यकभन्दा केहीमात्रै बढी छ । जग्गाको उपलब्धता, ऊर्जाको उपलब्धता कम छ । पेट्रोलियम त छँदैछैन । कोइला छँदैछैन । त्यही जलविद्युत आस गरेर बस्ने हो । प्रतिव्यक्ति सफा हावाको उपलब्धता कम छ । स्रोतको यस्तो अभाव छ । महत्त्वाकांक्षाचाहिँ स्विट्जरल्यान्ड बनाउने छ ।

यो हाइपोथेसिसचाहिँ कसरी स्थापित भयो ?

क्षमता र महत्त्वाकांक्षाबीचको फरक । लामो समय तानाशाही चलेको देशमा शासकले जनतालाई एउटा न एउटा सपना देखाएर अल्मल्याइराख्नुपर्ने हुन्छ । जब त्यसको विरोधमा अर्को व्यवस्था आउँछ, त्यसले पनि त्यही भाषा बोल्न बाध्य हुन्छ । त्यही भाषा के बोल्ने हो त ? हिजो तानाशाहीले गर्दा देश विकास हुन सकेन, हामीलाई मौका दिनुभयो भने गरेर देखाउँछौं । कम्युनिस्ट आए, उनीहरूले पनि त्यही भने- प्रजातन्त्र बिग्रेर यस्तो भएको हो, हाम्रो शासन आयो भने देखाउँछौं । क्षमता र आकांक्षाबीच बेमेल छ । व्यक्तिमा पनि त्यही हो । अलिकति उचाइ लियो भने राष्ट्रिय व्यक्तित्व भइहाल्यो । अनि उसले आफूलाई हार्वर्डको प्रोफेसर, हिन्दी कवि वा ल्याटिन अमेरिकाको उपन्यासकारभन्दा कुनै हालतमा कम ठान्दैन ।

तर यस्तो त जुनसुकै देशमा पनि हुन्छ नि ?
हुन्छ, तर यति धेरै बेमेलचाहिँ हुँदैन । यसलाई अर्को भाषामा भन्ने हो भने 'मेनस्टि्रम' अलि ठूलो हुन्छ । यहाँ मूलधार एकदम सानो छ । चौडाइ सानो, गहिरो छ । तिनका जराहरू यति गहिरा कि जति ठूला खोला मिसिए पनि त्यो पाताल प्रवाहमा जान्छ ।

यो मूलधारलाई फराकिलो गर्ने कसरी ?
यसका विभिन्न तरिका छन् । यसलाई कुन भाषामा व्याख्या गर्ने भन्ने पनि कुरा हुन्छ । जस्तो कि, बजारवादीको भाषामा बुझ्ने हो भने खुला बजारको हातमा छोडिदियो भने मूलधार फैलिइहाल्छ । प्रजातन्त्रवादीका भाषामा भन्ने हो भने सबैको मत बराबरी भएपछि फैलिइहाल्छ । साम्यवादीको भाषामा भन्ने हो भने सर्वहाराको सर्वसत्तावाद नआई यो मूलधार चौडा हुनेवाला छैन । संस्कृतिवादीको भाषामा भन्ने हो भने किन चौडा गर्नुपर्‍यो, गहिरो भएको जाती हो नि त, पुर्खाहरूको पालादेखि चल्दै आएको चलन, पाँच हजार वर्षदेखि चल्दै आएको । यसलाई किन चौडा गर्नुपर्‍यो भन्ने हुन्छ । सामान्य रूपमा स्थापित भएको कुरा के हो भने गोलो घुम्ने यो दुष्चक्रलाई छुनु त पर्छ । केले छुने त भन्दाखेरि यो राजनीतिले हो, त्यसैबाट समाजमा जान्छ, संस्कृतिमा जान्छ । यसलाई माक्र्सवादी भाषामा व्याख्या गर्ने हो भने आर्थिक आधारहरूको नियन्त्रण जसको हातमा छ, उसैले उपरीसंरचनाको निर्धारण गर्छ, त्यो उपरीसंरचनाले नै आर्थिक संरचनालाई पुनर्जीवित गर्छ भन्ने गरिन्छ ।

हाम्रो समाजको मूलधार को-को र के-के मिलेर बनेको छ ?
राजतन्त्रको कुरा गरौं । राजालाई हामीले नारायणहिटीबाट लेखेट्यौं, तर 'तन्त्र' यथावत् छ । त्यो राजमुकुट जुन राजसिंहासनमा बसेको थियो, त्यसका चारवटा खुट्टा भनेको पहिलो पृथ्वीनारायण शाहको पालादेखि बनेको सेना हो । दोस्रो खुट्टा पृथ्वीनारायणले भनेको, असली हिन्दुस्थाना धर्मका ठेकेदारहरू । तेस्रो खुट्टा ठूला पँुजीपति, जसको स्वरूपमा केही परिवर्तन भएको छ । महेन्द्रका पालासम्म ठूला जमिनदार नै ठूला पँुजीपति थिए । अहिले दलाली गर्नेहरू, बैंक चलाउनेहरू, म्यानपावर चलाउनेहरू, निर्माण व्यवसायमा लागेकाहरू, जग्गामा लागेकाहरू यस्ता छन् । चौथो खुट्टा,  विचार निर्माण गर्नेहरू । विश्वविद्यालयका प्राध्यापक, कवि, कलाकार, लेखक पर्छन् । त्यो राजतन्त्रवादी मूलधार अहिले पनि कायम छ । एउटा रोचक पक्ष के छ भने यो चारवटै समूहमा चारवटै समूहका महिला भने छैनन् । मैले जमानामा काठमान्डू पोस्टमा स्तम्भ लेख्दा एउटा शब्द प्रयोग गर्ने गरेको थिएँ- 'हंस' । हिन्दु, आर्यन्, मेल, नेपाली स्पिकर । बडा शुद्ध, शुभ्र, सेतो हाँसजस्तो- हंस । यहाँको मूलधारमा बकुल्लो त अटाउँदैन, कागको के कुरा, पूरा राजहंस नै हुनुपर्छ, मोतीमात्रै खाने, अरू केही नखाने । ची चारै खुट्टा जस्ताको तस्तै छन् । केही पनि फरक छैन ।

समाजका दीर्घकालीन धनहरू हुन्छन् नि ? ती के-के हुन् ?
एउटा त पैसै हो । नर्वेले त्यहाँको तेल अर्को पुस्ताको लागि डुंगामा जमाएर राख्छ । चीनले व्यापारबाट पैसा कमाउँछ, तर खेल फालिरहेको छैन । अमेरिकातिर त के भनाइ छ भने चीनले आधा अमेरिका किनिसक्यो । अर्को सम्पत्ति भनेको ज्ञानको भण्डारण हो । त्यो थप्दै जाने हो, नवीकरण पनि गर्दै जाने हो । ज्ञानको भण्डारण भनेको खाली पुस्तकालयमा पुस्तक थुपारेर ज्ञान थुपि्रने होइन । नवीकरण गर्दै लैजानुपर्दछ । ज्ञान आफैं परिवर्तनशील छ । तर यी दुईभन्दा साँच्चिकै सम्पत्तिचाहिँ सिर्जनशीलता हो । प्रयोग गर्ने, गल्ती गर्ने र सिर्जना गर्न नडराउने । जुन समाज सिर्जना गरिराख्छ, त्यो जति पछि परे पनि फेरि नयाँ भएर आउँछ । हाम्रो समाजको सिर्जनात्मकता कुण्ठित हुँदै गएको हो कि भन्ने चिन्ता मलाई लागिरहेको छ ।

हाम्रो साहित्यले आदर्श र लक्ष्य केलाई बनाइरहेको पाउनुहुन्छ ?
कुनै पनि लेखनकर्मीमा आफ्नो क्षमताप्रति विश्वास छैन, बरु आफ्नो स्थानबारे चिन्ता देखिन्छ । कसरी आफ्नो स्थान सुरक्षित गर्ने भन्ने चिन्ता छ । यो भएपछि जोखिम उठाउने क्षमता घट्छ । जब जोखिम उठाउने क्षमता घट्छ भने प्रयोगधर्मिता आउँदैन । सिर्जनात्मक क्षमता कुण्ठित हुन्छ ।

समाजका अरू क्षेत्रहरूको चाल कस्तो छ ?
हुन त मानिसहरू राजनीतिलाई गाली गर्छन् । बरु राजनीतिमा प्रयोगधर्मिता छ । जति धेरै असफलता भइरहेको छ, त्यसको अर्थ के हो भने हामी त्यति धेरै प्रयत्न गरिरहेका छौं । अरू क्षेत्रमा असफलता कम भएकाले के देखाउँछ भने हामी एकदमै सुरक्षित बाटोमात्रै खोजिरहेका छौं । यसले नयाँ किसिमको द्वीपतिर लाँदैन ।
http://www.ekantipur.com/np/2071/6/7/full-story/396115.html

No comments:

Post a Comment