Tuesday, September 2, 2014

सत्याग्रही डाक्टर


कात्तिक तेस्रो साता फिलिपिन्समा भीषण आँधी आयो। आँधी थामिइसक्दा पनि त्यसले छाडेका घाउले फिलिपिन्स छट्पटाइरहेको थियो। एक महिनापछि मंसिर तेस्रो साता नेपालबाट डाक्टर गोविन्द केसी ताक्लोवान सहरमा ओर्लिए। आँधीपीडितको उपचारमा रातदिन, भोकतिर्खा नभनी खटिए।

बिनावर्दीका यी स्वयंसेवकलाई न त नेपाल सरकारले आँधीपीडितको सहयोगका लागि पठाएको थियो, न रेडक्रस, न कुनै विपत्ति उद्धारक संस्थाले।
उनलाई पठाएको थियो, अन्तर्मनको आदेशले।
अढाइ लाख जनसंख्या भएको त्यो सानो सहरमा क्षतिको स्केल भने ठूलो थियो। डाक्टर गोविन्दले दुई सातामै चार सय पीडित बिरामीको उपचार गरे। पाँच दर्जन घाइतेको त अपरेसनै गरे। आँधीले उडाएका ‰यालढोकाविहीन घरका आसपास पाउरोटी र पानी खाएको भरमा रात कटाउँथे गोविन्द। आँखैअगाडि घाइते लडिरहेका छन्, कसरी निद्रा परोस्! दैनिक बीस घन्टासम्म उपचारमा खटिए उनी।
उनी तलबभत्ता कमाउन गएका थिएनन्। उल्टै त्रिवि शिक्षण अस्पताल महाराजगन्जको जागिरले आर्जेको कमाइ आँधीपीडितको औषधोपचारमा सिध्याइरहेका थिए।
अलिकति विवेक। अलिबेसी पागलपन। त्योभन्दा बेसी समर्पण। त्योभन्दा बेसी मानवता। यी सबै चीजका योगफल हुन्, डा. गोविन्द केसी।
उनै गोविन्द सात दिनयता आमरण अनशनमा छन्।
यो उनको अनशनको तेस्रो शृंखला हो।
...
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर गोविन्दका दुई हुलिया छन्। एक, गुरु। दुई, डाक्टर।
घरबार नबसाएका यी ५६ वर्षे डाक्टर गुरुको जीवनका प्राथमिकता दुइटा छन्। एक, विद्यार्थी। दुई, बिरामी।
डाक्टर गोविन्दका आदर्श पनि दुइटै छन्। एक, इमानदारी। दुई, मानव सेवा।
गोविन्दका निकटस्थ एक डाक्टर भन्छन्, 'गोविन्दमा दुई विशेषता छन्– एक, इमान। दुई, लहड।'
अर्थात्, उनी जतिसुकै लहडी भए पनि आधारभूत रूपमा इमानदार छन्। उनका विरोधी यो तथ्यमा विवाद गर्ने हिम्मत गर्दैनन्। यही इमान र लहडले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को मात्रै होइन, सिंगो नेपाली समाजको चेतनालाई जरैदेखि हल्लाउँदैछ। स्वास्थ्य सेवाको समग्र सुधार र चिकित्सा सेवामा हुँदै आएको राजनीतिक हस्तक्षेपविरुद्ध आँधी ल्याउँदैछ।
शुक्रबार साँझसम्मका उनका अभिव्यक्ति सुन्दा लाग्छ– त्रिविको संरचनामा ठूलो उलटपुलटविना यो आँधी यस्सै थामिनेवाला छैन।
...
डाक्टर भएका ठाउँमा बिरामी जान्छन्। यो साधारण कुरा हो।
बिरामी भएका ठाउँमा डाक्टर जान्छन्। यो असाधारण कुरा हो।
असाधारणभन्दा पर्तिर कोही छ भने त्यो डाक्टर गोविन्द हुन्। जहाँ विपत्ति र बिरामी हुन्छन्, उनी आफ्नै खर्चमा पुग्छन्। फिलिपिन्स जानुअघि भारतको उत्तराखण्डमा आइपरेको प्राकृतिक विपत्तिमा पनि यसैगरी पुगे। दार्चुलाका पहिरोपीडितको उपचारका लागि चार दिन बिताएका उनी उतैबाट उत्तराखण्डको पहिरोमा पुरिएकाहरूको उद्धार र उपचार गर्न कुदे। गौरीकुण्ड र पनौली घाटमा डेरा जमाएर सयौंको उपचार गरे।
२०४५ को भूकम्प बेला उनी पहिलोपटक पीडितको उपचारमा सहभागी भएका थिए। भूकम्पले धरानमा ठूलो जनधनको क्षति गरेको खबर सुन्नासाथ रात्रिबस चढेर हुइँकिए। दुई दिन त्यहाँ बिताए। त्यसको झन्डै पाँच वर्षपछि काठमाडौं वरपरका गाउ“मा स्वास्थ्य शिविर चलाए।
२०६६ सालमा जाजरकोटमा हैजाले सयौं मानिस पीडित भएको खबर सुनेपछि गोविन्द खच्चडमा औषधि लिएर सदरमुकाम खलंंगा पुगे। त्यहाँ १० दिन उपचार गरेरै बिताए। स्थानीय स्वास्थकर्मीलाई तालिम दिए। हिमालदेखि तराई, मेचीदेखि महाकालीसम्म गोविन्द दौडिएको सम्झना निको भएर बसेका पीडित बिरामीहरूसँग आलै छन्।
चिकित्सा गोविन्दका लागि जागिर होइन। धर्म हो। धर्मभन्दा माथिल्लो दर्जामा अरू केही हुन्छ भने गोविन्दका लागि चिकित्सा त्यही हो।
उपचार त काठमाडौं बसेर पनि गर्न सकिन्छ। गोविन्दका कतिपय सहकर्मी डाक्टरलाई यस्तै लाग्छ। गोविन्द भने ठान्छन्– मान्छे जहा“सुकै होस्, बिरामी भएपछि समयमा उपचार पाउनु उसको अधिकार हो।
यस्तै सोचका साथ काठमाडौंको रुटिनबद्ध जागिरबाट फुर्सद निकालेर उनले आजसम्म पचहत्तरै जिल्ला चहारिसकेका छन्। उनले नेपालभित्र नटेकेको कुनै ठाउँ छैन। विदेश जान्छन्। विदेशी बिरामीले उनको भाषा नबुझ्लान्। बिरामीको कुनै देश हुँदैन। अनि, डाक्टरको पनि। यो गोविन्दको शब्द हो।
'पैसा कमाउनु ठूलो कुरा होइन,' चिकित्सा पेसाको धर्म उनलाई थाहा छ, 'जहाँ उपचार चाहिन्छ, त्यहाँ डाक्टर पुग्नुपर्छ।'
२०६४ सालमा कोसी बाँध भत्कँदा उनी काठमाडौंमै थिए। बाँध भत्केर हजारौं विस्थापित भएको र तिनको स्वास्थ्य नाजुक बन्दै गएको दृश्य टेलिभिजनमा देखेपछि काठमाडौंमा अडिन सकेनन्। रातारात औषधि किनेर त्यसैको अर्को बिहान घटनास्थलतिर गुडे। पाँच दिनमा उनले त्यहाँ १ हजार ७ सय ५१ पीडितलाई जाँचे। औषधि बाँडे।
सन् २००१ मा ४० हजार मान्छेको ज्यान जानेगरी भारतको गुजरातमा महाभूकम्प आउँदा उनी त्यहाँको भुज क्षेत्रमा तीन साता सक्रिय भए। बंगलादेशको आँधीका यी साक्षीले त्यहाँका पीडित घाइतेलाई पनि मलमपट्टी गरे।
२००५ मा पाकिस्तानमा ठूलो भूकम्प आएपछि उनी त्यहाँ पनि साढे दुई साता स्वयंसेवामा होमिए। सन् २००८ मा बर्मामा आँधी आउँदा १२ दिन खटिएका थिए। त्यतिखेर बर्माको राजधानी रंगुनमा २ सय ७८ जनालाई हाडजोर्नीसम्बन्धी तालिम पनि दिए। बर्मा सरकारले विदेशीलाई आषधीप्रभावित क्षेत्रमा छिर्न दिएको थिएन। गोविन्द भने एक स्थानीय शिक्षकको सहयोगमा भेष बदलेर प्रभावित क्षेत्र पुगे। त्यतिखेर बर्मा सरकारले चिनेको भए सहयोग गर्ने शिक्षकलाई १५ वर्ष जेल हाल्न सक्थ्यो।
सन् २०१० मा हाइटीमा महाभूकम्प जाँदा उनी घटनास्थलमा खटिएका थिए। त्यहाँ उनले १६ दिन बिताए। दैनिक २५ जनालाई जा“चे। तीन लाख मानिसको ज्यान लिने भूकम्प आएको समाचार सिएनएन टिभीमा हेरेपछि त्यहाँ पुगेर सेवा गर्ने निश्चय गरेका थिए उनले। तीन सातामा २ सय ३२ शल्यक्रियासहित ३ सय ९५ जना घाइतेको उपचार गरे।
देश–विदेशमा गरेका यी तमाम कामका लागि कसैबाट 'एक रुपैया“ नलिएको' उनी बताउँछन्। निःस्वार्थ सेवा नै आज उनका लागि सन्तुष्टि बनेको छ। निरन्तर अनशनका लागि सबैभन्दा ठूलो बल यही हो।
उनको यो अभियानमा बेलाबेला अरू डाक्टर पनि रहर गर्छन्। 'डाक्टर साब,' उनीहरू भन्छन्, 'जाने बेला हामीलाई पनि खबर गर्नू, हामी पनि जान्छौं।' तर, कोही आउ“दैनन्। 'डाक्टर साब, यसपालि मेरो काम पर्यो्, अर्कोपटक है,' उनले यस्तो जवाफ सुनेको कति भयो कति। तर त्यो 'अर्कोपटक' कहिल्यै आउँदैन।
गोविन्द पनि आफ्नो निर्णय अरूमाथि लाद्न चाहँदैनन्। आ–आफ्नो सोच हो।
अविवाहित छन् गोविन्द। यो यायावरीय जीवन बिताउन सहज भएको त्यसैले हो भन्ने उनको विश्वास छ। 'बिहे गरेको भए गाउ“ घुम्न यति समय पाउ“थिन“ होला कि,' उनी हा“स्दै भन्छन्।
गोविन्दले प्राध्यापन र डाक्टर पेसा अंगालेको झन्डै दुई दसक बित्न लाग्यो। तर उनले कार, मोटरसाइकल आजसम्म जोडेका छैनन्। मोबाइल फोन बोक्दैनन्। बरु मिल्यो भने साइकल किन्ने योजना केही समयअघि नागरिकसँगकै कुराकानीमा सुनाएका थिए। उनको निजी सम्पत्ति भन्नु अफिसले खोलिदिएको बैंक खाता हो। एउटा ल्यापटप छ। घरजग्गा जोडेका छैनन्। भएको पैतृक सम्पत्ति पनि बेचिसकेका छन्।
साँच्चिकै 'जुग नसुहाउँदा जीव' लाग्छन् गोविन्द।
'सेवा गर्नुपर्छ,' आमाबुवाको भनाइ सम्झन्छन्, 'पैसा भन्या ठूलो कुरा होइन।'
गोविन्दको वार्षिक क्यालेन्डरमा कम्तीमा तीन जिल्ला दुईपटक घुम्ने कार्यसूची भेटिन्छ। एकचोटि निस्कँदा दुईदेखि तीन साता उतै बिताएर राजधानी फर्कन्छन्। अस्पतालबाट वर्षको एक महिना घर बिदा पाउँछन्। त्यो घरबिदा भन्नु पनि बिरामीको उपचारमै बित्छ। लाग्छ, संसार स्वस्थ नहुन्जेल गोविन्द घरबिदा बस्दैनन्।
तर यो समाजमा गोविन्दमात्रै बस्दैनन्। नियत र आग्रह–पूर्वाग्रह बोकेका मानिस पनि बस्छन्। तिनका अगाडि गोविन्द कहिले सुराकीजस्ता देखिन्छन्। कहिले विद्रोही।
दसवर्षे सशस्त्र द्वन्द्वले पूरै देशलाई प्रभावित पार्यो । यी डाक्टर हिंसा छ भन्दैमा चुप लागेर बस्नेवाला थिएनन्। गाउँगाउँ डुल्दा उनले माओवादी कार्यकर्ताको ताडना खप्नुपर्योत, 'यो उपचारका नाममा हाम्रो सुराकी गर्न खटाइएको सरकारी गुप्तचर हो कि क्या हो!'
सरकारी पक्षले भेट्यो भने खेर्थ्यो, 'हेर्दै माओवादीजस्तो छ, यसको क्रियाकलाप के हो?'
'माओवादी' को आशंकामा गाउ“लेले खाना नखुवाएको अनुभव पनि छ, उनीस“ग। तर, उनका पाइला थामिएनन्। एकचित्तमा लागिरहे, 'देशमा यस्तै बेहाल छ, त्यसैले मेरो खा“चो छ।'
गोविन्द पछिल्लोपटक जाजरकोटका महामारी पीडितकहाँ पुगेका थिए। विदेशमा चाहिँ हाइटीका भूकम्पपीडितमाझ पुगे।
डाक्टर गोविन्दको नयाँ योजना– आगामी असार महिनामा तेह्रथुम र भोजपुरका दुर्गम गाउ“मा औषधोपचार पुर्यानउने। यसका लागि सर्त छ– अनशन सफल भयो भने, उनी सकुशल सेवामा फर्किए भने।
आफ्नो तर्फबाट तयारी भने सुरु गरिसकेका छन् उनले। बैंकखाता खोलेर असारसम्म रकम जम्मा गर्दैछन्। त्यसपछि 'घुम्ती आकस्मिक सेवा' लेखेको गह्रुंगो झोला बोकेर दुर्गम भेगतिर हानिनेछन्।
'थाहा छैन, सबैको मुटुसँग मेरो मुटु जोडिएको छ कि,' उनी भन्छन्, 'जहाँ दुःखपीडा छ, त्यहाँ कुदेर पुगिहाल्न मन लाग्छ।'
...

जतिबेला फिलिपिन्स प्राकृतिक विपत्तिले आक्रान्त थियो र डा. गोविन्द त्यहाँका पीडितको घाउमा मल्हम लगाउँदै थिए, त्यतिबेलै उनले सेवा गर्ने त्रिवि शिक्षण अस्पतालको सिस्टममा पनि तेस्रोपल्ट आँधी चल्दै थियो।
बाहिर सर्वसाधारणको आँखाले भेउ नपाउने गरी चलेको त्यो आँधीले प्राज्ञिक मर्यादा, शैक्षिक वातावरण र आन्तरिक वातावरणलाई जगैदेखि हल्लाइरहेको थियो। संजोग मात्रै होइन होला, यसअघि दुईपटक त्रिवि शिक्षण अस्पताल र आइओएमको गरिमा जोगाउन भन्दै आमरण अनशन बसिसकेका गोविन्दले नेपाल छाडेकै मौकामा त्यो आँधी चलेको थियो।
गोविन्द काठमाडौं फर्किए। सम्बन्धित सबैसँग गुहार मागे। उनले आवाज उठाए–
– आइओएमको गरिमा जोगाउन यसलाई राजनीतिक हस्तक्षेपमुक्त क्षेत्र बनाइयोस्। सबै शिक्षण संस्थालाई दलीय हस्तक्षेपमुक्त बनाइयोस्।
– नयाँ दिन लागिएको सम्बन्धन प्रक्रिया त्रुटिपूर्ण छ। बन्द गरी छानबिन गरियोस्।
– त्रिविका भ्रष्ट कर्मचारीलाई पदमुक्त र कारबाही गरियोस्।
– यसलाई स्वायत्त विश्वविद्यालय नबनाउनन्जेल चलखेल भइरहन्छ। त्यो रोकियोस्।
– सर्वसाधारणको पहुँचमा हुनेगरी ग्रामीण भेगमा सरकारी मेडिकल कलेज खोल्ने नीति बनाइयोस्।

यिनै मागसहित डाक्टर गोविन्दले अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटे। शिक्षामन्त्री माधव पौडेलकहाँ दुई–दुई पटक गए। विभिन्न राजनीतिक दलका शीर्षनेता र त्रिवि पदाधिकारीलाई पनि भेटे। अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाए। केही दिन चकमन्न भएझैं भयो। तर त्यो त केवल आँधीपूर्वको कुटिल शान्ति रहेछ।
अन्ततः भौतिक तथा प्राविधिक पूर्वाधारविनै केही मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने दबाबमा सहीछाप गर्नुभन्दा राजीनामा दिनु बेस भनी आइओएमका डिन डा. प्रकाश सायमीले राजीनामा दिए। शब्दमा 'राजीनामा' भनिए पनि त्यो राजीखुसीमा आएको राजीनामा थिएन। अन्तर्यमा कठोर राजनीतिक घम्साघम्सी थियो, जुन डा. सायमीकै बिहीबार जारी विज्ञप्तिले पुष्टि गर्यो ।
सायमीको राजीनामा तत्काल स्वीकृत गर्दै त्रिविले विवादित पृष्ठभूमिका डा. शशि शर्मालाई नयाँ डिन नियुक्त गर्योी। उनलाई नियुक्त गर्न सबै विधि र प्रक्रियाका स्रेस्ता ठिकठाक पारिएको थियो। हेर्दा कतै प्राविधिक र वैधानिक गड्बडी नदेखिने त्यो नियुक्तिको नैतिक धरातल यति कमजोर थियो, टिचिङका अधिकांश डाक्टर शर्माको पदबहाली कार्यक्रममा जाँदै गएनन्।
आइओएमको 'धज्जी उडाउने चलखेल'विरुद्ध केसी खरो उत्रिए। अघिल्लो शुक्रबार अपराह्न उनले विद्यार्थीका कक्षाकोठा चहार्दै घोषणा गरे– 'म फेरि अनशन बस्दैछु।'
सहकर्मी चिकित्सकलाई पनि सुनाए– 'म भोलि बिहानदेखि फेरि अनशन बस्दैछु।'
अरूले के जवाफ दिने!
अनशनको सातौं दिन शुक्रबार साँझसम्म सरकार र त्रिवि संस्थापनले आश्वासनका ललिपप देखाएर गोविन्दलाई लोभ्याइरहेको छ। गोविन्द भने डग्नेवाला देखिन्नन्। शरीर पूरै क्लान्त भइसकेको छ। खुट्टा गलिसकेका छन्। तर अनुहारको आभा उस्तै छ। भरपेट उनलाई हेर्न आउनेभन्दा गोविन्दको आँखाको चहक कम उज्यालो देखिन्न।
सेतो कमिज, पाइजामा, खैरो टोपी लगाएका यी सत्याग्रही डाक्टरको नैतिक बलसँग डराएर अनशनको पहिलो दिन माहोल भाँड्न एउटा समूह सक्रिय भयो। आफूलाई कुनै राजनीतिक ब्यानरनिकट बताउने उनीहरूले भोलिपल्ट मुख देखाउनसमेत नसक्ने स्थिति सिर्जना भयो, जब नागरिक अगुवाहरूले भटाभट केसीको पक्षमा मुख खोल्न थाले।
यो सत्याग्रही आगोको लप्काले बिस्तारै सिंगै देशलाई सल्काइरहेको छ। काठमाडौं बाहिरका चिकित्साशास्त्र अध्ययन संस्थान र अस्पतालमा डाक्टर गोविन्दको पक्षमा आन्दोलन घोषणा हुन थालिसकेका छन्। फेसबुक, टि्वटरभरि गोविन्द र उनका मुद्दा छाएका छन्। अहिलेसम्म कुनै पनि ठूला राजनीतिक दलले गोविन्दको पक्षमा मुख खोलेका छैनन्। तिनका शीर्षनेता भने उनलाई भेट्न टिचिङ गइरहेका छन्।
केसीका सहयोगी अरुण सुनुवारका अनुसार पहिले माओवादी नेता केसीलाई हेर्न आउँदैनथे। कांग्रेसका बढी आउँथे। अहिले कांग्रेसका नेता घटेका छन्, बरु माओवादी नेता बाबुराम भट्टराई गएका छन्। पुष्पकमल दाहाल पक्षधर भने गएका छैनन्। जुनसुकै पार्टीका पनि एकथरि नेता आउँछन्, अर्काथरि आउँदैनन्। सम्बन्धन दिन लागिएका कलेजसँग क–कसको सम्बन्ध छ भन्ने कुरा केसी–अनशनमा जाने–नजानेको सूची हेरेर अनुमान लगाउन सकिन्छ।
डा. गोविन्द अनसन बसेको छैटौं दिन बिहीबार नेपाली कांग्रेसकी नेतृ मीना पाण्डे अक्सिजन मास्क लगाएर हरियो बिछ्यौनामा पल्टिइरहेका केसीको छेउमा गइन्। नमस्ते गरिन्। अनि गुनासो गरिन्, 'तपाईंको माग जायज छ। तर माग पूरा गराउने उपाय अरू पनि छन्। यसरी आफू नै नाश हुनेगरी अघि बढ्नु त भएन नि।'
केसीले मास्कभित्रैबाट धिमा स्वरमा जवाफ फर्काए, 'सरकार जिम्मेवार भएन, दलहरू पनि उस्तै छन्। नेपालमा अनशनबाहेक अरू उपाय हुँदो रहेनछ।'
पाण्डेले थपिन्, 'हामीलाई तपाईंको पीर लागिरहेको छ। तपाईंको लक्ष्य सफल होओस्।'
केसीका विद्यार्थी, आइओएमका आवासीय चिकित्सक सरोज गौतमलाई पनि यस्तै लाग्छ। केसीले अघिल्लोपटकको अनशन तोडेपछि अरू साथीहरूझैं उनले पनि सुझाएका थिए रे, 'अब चाहिँ यो अनशन अन्तिमपटक भयो है सर, यसरी ज्यान नै जोखिममा पार्नु भएन।'
केसी के टेर्थे। फेरि तेस्रो चरणको अनशन बसिहाले, शनिबार। जब डिन प्रकाश सायमीले आफ्नो पदबाट राजीनामा दिए, गौतम र साथीहरूलाई तत्काल आशंका भयो– यसपालि पनि डिनको राजीनामा त्यत्तिकै आएको छैन, अब गोविन्द सर फेरि अनशन बस्नुहुन्छ होला।
नभन्दै त्यस्तै भयो। केसी कक्षाकोठामा आउनेबित्तिकै मुख फोरे, 'ल है, म त भोलि बिहानदेखि फेरि अनशन बस्दैछु। बिहान एकपल्ट राउन्ड लिन (बिरामी हेर्न) वार्डमा आउँछु। त्यसपछि डाक्टर प्रवेशले जिम्मेवारी सम्हाल्नु हुन्छ।'
'एकपटक अठोट गरिसकेपछि उहाँको पछाडि हट्दै नहट्ने बानी छ,' गौतमले नागरिकसँग भने।
...
'सत्याग्रह : डा. गोविन्द केसी।'
'परिवर्तन त्रिविवि शिक्षण अस्पतालबाटै सुरु हुँदैछ।'
'राजनीतिक हस्तक्षेप बन्द गराऔं।'
यस्ता तुल, ब्यानर, पोस्टर, पम्प्लेट, फ्लेक्स र अपिलले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुरिएको छ। कुनै पनि भित्ता खाली छैनन्, जहाँ केसीबारे विज्ञप्ति, अखबार र अनलाइनका टिप्पणी नटाँसिएको होस्। हुँदाहुँदा केही डाक्टरका कवितासमेत टाँसिएका छन्। डा. केसी र नवनियुक्त डिन शशि शर्माबारे टिप्पणी ती कवितामा पढ्न पाइन्छ।
टिचिङ अस्पताल परिसरमा बिरामी कम, आगन्तुकको भीडले माहोल महोत्सवझैं देखिन्छ। घरिघरि उत्पन्न हुने होहल्लाले यो अस्पताल तनावग्रस्त छ। उपचार सेवा प्रभावित हुन थालेको छ। आवासीय चिकित्सकहरूले बिरामीको उपचारमा खट्न नसक्ने सूचना जारी गरेका छन्। शुक्रबार राति आएको सूचनाअनुसार केही घन्टाभित्र गोविन्दका मागबारे सरकार संवदेनशील नभए देशभरिका अस्पताल ठप्प पार्ने चेतावनी आएको छ।
'आफ्ना गुरुको अवस्था चिन्ताजनक' हुँदाहुँदै काम गर्न नसक्ने उनीहरूको तर्क छ। चिकित्साशास्त्र तेस्रो वर्षका विद्यार्थी तथा आवासीय डाक्टर वासुदेव पराजुली भन्छन्, 'बिरामी हेर्ने काम हाम्रो पढाइभित्रकै एक भाग हो, हाम्रो गुरुको त्यो हाल छ, यस्तो बेला हामी कसरी पढ्न सक्छौं?'
भित्रपट्टि सेमिनार कक्षमा डा. गोविन्द लमतन्न सुतिरहेका छन्। सात दिनयता केही नखाएका उनको शरीरका विभिन्न क्रियाप्रतिक्रिया छेवैको मोनिटरमा देखिइरहेका छन्। इलेक्ट्रोकार्डियोग्राफी मेसिनको टिकटिक आवाज निरन्तर छ। नर्सहरू उनको सेवामा खटिएका छन्। सहकर्मी डाक्टरहरू आएर केसीको खुट्टा तन्काइदिन्छन्। खुम्च्याउँछन्। दोबार्छन्। सिधा पार्छन्।
विभिन्न संस्थाका पदाधिकारी चिठी र विज्ञप्तिसहित नजिकै आउँछन्। हात जोर्छन्। ऐक्यबद्धता सुनाउँछन्। जो–जो भेट्न आउँछन्, सत्याग्रही केसीको छेउमा भक्तजनझैं घुँडा धसेर बस्छन्। मोबाइल फोन त्यहाँ वर्जित छ। ठूलो स्वरले कोही बोल्दैन। यी सत्याग्रहीको आसपास एक प्रकारको अघोषित अनुशासन छ। सत्याग्रहप्रति ऐक्यबद्धता र सम्मानको संवेदनाले जितेको छ।
केसी–अनशन सुरु भएपछि यसले बाक्लो सामाजिक बहस पाएको छ। उनका मुद्दा जायज भए पनि अनशनको विकल्प ठिक नभएको भन्नेहरू एकातिर छन्। तर टिचिङका विद्यार्थी तथा आवासीय चिकित्सक सविन कोइरालाका विचारमा समाजले टिचिङका विसंगत पक्षबारे यति थाहा पाउन सकेको डा. केसीकै कारणले हो।
'अनशनको महत्व त्यसैकारण छ,' उनी भन्छन्।
...
अनशन थालेको पहिलो दिन एउटा सानो भीड जम्मा भएर गोविन्दविरुद्ध नारा लगायो। नारा सुन्दै थाहा हुन्थ्यो, उनीहरू अस्पतालभित्रका कर्मचारी, चिकित्सक र विद्यार्थी होइनन्। गोविन्द केसी भन्ने नामसँग परिचितधरी थिएनन् ती।
'मैले सुन्नेगरी गोविन्द झा मुर्दावाद भने,' गोविन्दले हाँस्दै भने, 'म केसी हुँ भन्नेसमेत थाहा नपाउनेले लगाएका नारा अचम्मका थिए।'
गोविन्दले थपे, 'हाम्रोमा राजनीतिक संस्कार विकास भइसकेको छैन। जबसम्म संस्कार निर्माण हुँदैन, तबसम्म राजनीतिक रंगका आरोप लागिरहन्छन्,' विरोधका 'कथित्' स्वरसँग कत्ति नडराएका गोविन्दले बिहीबार बिहान नागरिकसँग भने, 'यस्ता आरोप लगाउने तत्वहरू स्वयंले नेतालाई आफ्नो स्वार्थको शिकार बनाएका छन्। त्यसैले त एउटै मुद्दाका लागि मैले तीन–तीनपटक अनशन बस्नुपर्योह।'
गोविन्दले पहिलोपटक २०६९ वैशाख २९ देखि जेठ २ सम्म अनशन बस्दा त्रिभुवन विश्वविद्यालयका उपकुलपति हीराबहादुर महर्जनले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको दबाबमा 'वरिष्ठताका आधारमा पदाधिकारी नियुक्ति' को लिखित प्रतिबद्धता गरेका थिए। त्यही आधारमा उनले पहिलो अनशन तोडे। त्रिवि कार्यकारी परिषदले अनिवार्य अवकाश पाउन तीन महिना बाँकी रहेका डा. कुमुद काफ्लेलाई डिन बनायो। काफ्लेको म्याद सकिनासाथ डिन नियुक्तिमा फेरि भागबन्डाको तयारी सुरु भइहाल्यो।
यस्तो प्रवृत्ति दोहोरिएपछि गोविन्द दोस्रोपटक आमरण अनशन बसे। बीचमा कार्यकारी परिषदले वरिष्ठताको सूचीमा ३२ औं नम्बरमा रहेका धर्मकान्त बास्कोटालाई डिन बनायो। गोविन्दले अनशन छाडेनन्। प्रधानमन्त्री भट्टराई बाँस्कोटा नियुक्तिको तेस्रो दिनमै वरियता सूचीमा ५ औं नम्बरमा रहेका डा. प्रकाश सायमीलाई डिन बनाउन बाध्य भए। तिनै सायमीलाई राजीनामा दिन बाध्य पारिएपछि गोविन्द यो पटकपटकको रोगलाई अस्थायी उपचार गरेर निको नहुने ठहरमा पुगेका हुन्। त्यसैले उनी यसपटकको मागमा 'राजनीतिक हस्तक्षेपमुक्त आइओएम' माग्दै सत्याग्रहमा होमिएका छन्।
'सिस्टममा परिवर्तन ल्याउनेभन्दा पनि मलाइ फकाउने जस्तो गरी चलखेल हुने गरेको छ,' उनी भन्छन्, 'त्यही भएर मैले बारम्बार अनशन बस्नु परिरहेको छ। म अराजक प्रवृत्तिको अन्त्य होस् भन्ने चाहन्छु।'
'म जे गर्दैछु, भित्री मनले अह्राएको कुरा मानिरहेको छु,' गोविन्दले अनशनस्थलमै भने, 'मेरा माग पूरा नहुन्जेल अनशन त्याग्नेवाला छैन। मलाई मृत्युदेखि पटक्कै डर छैन।'
बाटोभरि काँडा बिछ्याइएका छन्। पाइलैपिच्छे तगारो हालिएको छ। गोविन्द भने विख्यात बंगाली कवि रवीन्द्रनाथ टैगोरको 'एकला चलो रे' शैलीमा हिँड्छन्, हिँडिरहन्छन्। अँध्यारो छ भनेर गुनासो गरिबस्दैनन्। एउटा भए पनि दियो जलाइरहन्छन्।
अन्तर्मनको आदेश भनेको यही होला!


With Upendra Lamichhane

No comments:

Post a Comment