Friday, August 8, 2014

खानपिन कूटनीति

केदारभक्त माथेमालाई चिनाउनुपर्दा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भन्ने गर्थे, ‘सुब्बा आदिभक्तका नाति'। र, सुब्बा आदिभक्तको नाम लिनेबित्तिकै भट्टराई भन्थे, ‘उहाँ मलाई ‘जोनी वाकर' चिनाउने मानिस।' त्यही भएर होला, मद्यपानलाई ‘जातैले पाएको' भन्न हिच्किचाउँदैनन् प्राध्यापक माथेमा, जो शिक्षाविद् र कूटनीतिज्ञका रूपमा परिचित छन्।
सम्पन्न आर्थिक पृष्ठभूमिका बाजे आदिभक्तले बनारसमा २० रुपैयाँमा रक्सी खुवाएका भट्टराईका लागि नाति केदारभक्तको कूटनीतिक चिनारी दोस्रो प्राथमिकता बन्न पुग्ने नै भयो। आखिर नाति अझै कडा निक्ले। जापानका लागि यी पूर्वराजदूत त खसोखास ‘डाइनिङ डिप्लोम्याट' दरिन पुगे।
आधुनिक कूटनीतिका दुई आत्मा मानिन्छन्– वाइनिङ र डाइनिङ। पश्चिमी कूटनीतिको वर्चस्व विश्वभरि रहेको परिवेशमा यी दुईको महत्व अझ बढेको छ। धेरैभन्दा धेरै राष्ट्र र संस्थाका उच्च पदस्थलाई खुवाउने, पियाउने, खानपिनमार्फत आफ्ना आकांक्षा स्थापित गर्ने– माथेमा यसलाई आधुनिक कूटनीतिको कला मान्छन्। ‘राम्ररी वाइनिङ र डाइनिङ गराउन सक्नु कला हो, घरमा बोलाएर डिनर खुवाउने कूटनीतिज्ञले नै राम्ररी काम लगाउन सक्छ,' उनी भन्छन्, ‘यो कलामा जो निपुण छैन, उसको कूटनीति कमजोर मानिन्छ।'
धेरै नेता र कूटनीतिक वृत्तका मानिसका आँखामा माथेमा यी दुवै कलामा निपुण छन्। उनले खानपिनका क्रममा ठट्यौली गर्दै भन्ने गरेका रहेछन्, ‘नेपालमा दुई किसिमका मानिस छन्, एकथरीलाई रक्सी भन्ने छुनै हुन्न। अर्काथरीलाई नभई हुँदै हुन्न।'

हाँसोको फोहोरा छुट्छ। थामिएपछि फेरि थप्छन्, ‘मचाहिँ दोस्रो थरीमा परेँ।'
‘डाइनिङ डिप्लोमेसी' फिटेर काम लगाउनु राम्रो हो कि नराम्रो? मानिस बहस गर्न सक्छन्। माथेमाका विचारमा सम्बन्ध सुधार, विस्तार, असमझदारी हटाउन, एकअर्कालाई राम्ररी बुझ्न खानपिन प्रभावकारी माध्यम हो।
उनी त्रिभुवन विश्वविद्यालयको उपकुलपति भएका बेला धेरैले ठानेका रहेछन्– केदारभक्त कांग्रेसका मान्छे हुन्। कांग्रेसवृत्तमा खासखुस चल्दो रहेछ– उनी गिरिजाप्रसाद कोइरालाका मान्छे हुन्। एक राउन्ड खानपिनमा बसेपछि कम्युनिस्ट, कांग्रेस सबैले ठान्दा रहेछन्– ए, यो त अर्कै मान्छे रहेछ।
...

‘हुन त म रक्सीको पारखी होइन,' माथेमाले बीचबीचमा यसो भन्दै धेरै कुरा भनिभ्याए। सामान्यतया पुरुषहरूले ह्विस्की, जिन, रम, भोड्का पिउने चलन छ। महिलाहरू सेरी, वाइन मन पराउँछन्। कुनै वाइन ‘स्विट' हुन्छ, कुनै ‘ड्राई'। कुनै मध्यम प्रकारको। त्यो भनेको धेरै गुलियो पनि होइन, ड्राई पनि होइन।
माथेमाको अनुभवमा नेपाली केटीहरू स्विट वाइन खुब पिउँछन्। एक, यो सिकारुहरूका लागि मात्रै हो! दुई, यी सबै डिनरअगाडि पिउने ड्रिंक्स हुन्। अलि जान्नेले प्रायः ड्राई र मिडियम वाइन लिने माथेमा बताउँछन्।
उनको वर्गीकरणमा रक्सीका तीन किसिम छन्– बिफोर डिनर (डिनरअघि पिउने), एट डिनर (डिनरसँगै) र आफ्टर डिनर (खाना खाइसकेपछि)।
यो पंक्ति बोल्दा भने उनी पारखी नै हुन् भन्ने लाग्छ, ‘डिनरमै पनि चल्नेचाहिँ वाइन हो। अरू चल्दैन। जस्तो कि, ह्विस्की।'
यसको कारण छ, डिनरमा पिउनलाई त्यहाँ पानीका मात्रै दुइटा ग्लास हुन्छन्। ‘मेन मिल'भन्दा अघि ‘एपिटाइजर' दिइन्छ। त्यस बेला माछा, चिकेन टाइपको खाना खुवाइन्छ। त्योसँग दिइन्छ ह्वाइट वाइन। ह्वाइट वाइनसँग खाने भनेको ह्वाइट मिट हो। त्यस बेला रेड मिट दिइँदैन। मेन मिलसँग चाहिँ रेड मिट खाने हो। यो बेलाचाहिँ वाइन रेड हुन्छ। अर्थात्, ह्वाइट वाइनसँग ह्वाइट मिट, रेड वाइनसँग रेड मिट। अघिल्लो मुख्य खानाअघि, पछिल्लो खानासँगै।
डिनरमा आयोजकले थप्न अफर गरिबस्छन्। कसैले थप्छन्, कसैले थप्दैनन्। थप्नेले होसियारी अपनाउनुपर्ने माथेमाको राय छ। दोस्रोपटक लिएका बेला गिलासमै अलिकति छाड्ने चलन छ। यसपटक पनि गिलास रित्यायो भने ‘यो त खानै नपाएको रहेछ' भन्ने अर्थ लाग्छ। पिउनभन्दा जोगिन गाह्रो!
बल्ल मुख्य खानाको पालो आयो। माथेमा थप्छन्, ‘त्यसपछि गफ गर्दै खाने हो, डिनर त यत्तिकै सकिने हो।' तर यतिमै खानपिन कहाँ सकिँदो रहेछ र! आधुनिक कूटनीति र सामाजिक सम्बन्ध विस्तारको पोयो फुकाइसक्न समय लाग्दो रहेछ।
डिनरबाट उठेर बैठक कोठामा फर्कने, अनि ‘लिकर' को पालो। स्मरणीय छ, ‘लिकर'को अनुवाद रक्सी भनेर पुग्दैन। यसका आकारप्रकार अनेक छन्, माथेमा जो व्याख्या गर्छन्।
अँ, बैठक कोठामा फर्केर पिउने लिकर भने अघिको जस्तो हल्काफुल्का होइन। त्यो ‘स्ट्रङ' हुन्छ। डिनरपछि वाइन माग्नेलाई चाहिँ उडाउने गरिँदो रहेछ। आफूलाई मद्यपानका पारखी घोषणा गर्नेहरूले पनि पिउन त्यति सजिलो छैन भन्ने बुझे हुन्छ।
यस बेला पुरुषहरूले ब्रान्डी पिउने चलन छ, महिला विरलै पिउँछन्। ब्रान्डीका लागि ग्लास ठूलो र गोलो हुन्छ, तर ‘कन्टेन्ट'चाहिँ कम। ठूलो ग्लासमा थोरै ब्रान्डी! माथेमा भन्छन्, ‘त्यो त ह्विस्कीजस्तो खाइरहने चिज होइन नि।'
बिस्तारै पिउने, धेरै बेर समय गुजार्ने– डाइनिङ डिप्लोमेसीको तरिका यो रहेछ। कुरैकुरामा एक अमेरिकी महिलाले खानपिनका क्रममा एक साँझ फुस्काइछन्, ‘केडारजी म बुझ्नु सक्दिनँ तपार्इंहरूलाई। तपाईंहरू त खाएपछि घर गइहाल्नुहुन्छ!'
किनकि, त्यसपछि पनि पालो आउँदो रहेछ, सिगार इत्यादिको। नपिउनेहरू घर चल्दिँदा रहेछन्। जापानका लागि राजदूत छँदाताक उनलाई त्यहाँका सम्राटको भोजमा होस्टले सिगार ‘अफर' गरेछ। हवानाको सिगार नामी!
कोरियाली, जापानी, चिनियाँहरूले खाने तरिका मनपर्दो रहेछ माथेमालाई। उनका अनुसार तिनीहरू राम्ररी खान्छन्, मस्त हुन्छन्। बिस्तारै परिवार, राजनीति आदिका कुरा झिक्छन्।
माथेमाका भनाइमा रेड वाइन अलिकति रसिलो मानिन्छ। अंगुरको बोक्रा मिचेर बनाइएको यसमा रसिलो, स्वादिलो भाग बढी पाइन्छ। पछिल्लो समय नेपालमा पनि वाइन लोकप्रिय हुँदैछ। डिनरमा आमन्त्रितले वाइन बोकेर आउने चलन बढेको छ। डिप्लोम्याटिक डिनरमा भने त्यत्तिकै आयो, त्यत्तिकै गयो। ‘सोसियल डिनर'मा चाहिँ आयोजकलाई फूल र वाइन लगिदिने चलन रहेछ। फ्रान्स, स्पेन, चिली, जर्मनीको वाइन प्रसिद्ध मानिन्छ। त्यो लहरमा थाइल्यान्ड थपिँदैछ।
नेपालमा उत्पादित वाइन पनि चाखेका छन्, माथेमाले। ‘वाइनमात्रै होइन, कफीको कुरा पनि त्यही हो,' उनी भन्छन्, ‘घाम कसरी लाग्छ, माटो र बीउ कस्तो छ भन्नेमा भर पर्छ। यसबारे फ्रान्स, अस्ट्रिया, जर्मनी, स्पेनसँग इतिहास छ।'
उनले आफैं रक्सी बनाएर पनि हेरेछन्। अंगुरमा चिनी छर्केर बोतलमा हाल्ने, फेरि अंगुर थप्ने। अनि चार सातासम्म भाँडामा राखिदिने। यसो गर्दा बडो मिठो रक्सी बन्थ्यो रे! उनलाई रुसी साथीले सिकाइदिएका।
माथेमा आफैंलाई मनपर्नेचाहिँ जिन टनिक हो। कहिलेकाहीँ ह्विस्की पिउँछन्। बियर उनको प्राथमिकतामा कहिल्यै परेन, बरु वाइन नै पिउँछन्। कोठाको तापक्रम विचार गरेर ह्वाइट, रेड वाइन पिउँछन् उनी। ‘जाडोमा रातो र गर्मीमा सेतो वाइन पिउँछु,' उनी भन्छन्, ‘रेड वाइनले मुटुलाई राम्रो गर्छ।'
उनीसँग राम्रा रक्सीको सानोतिनो कलेक्सन पनि छ। त्यसो त उनको लाइब्रेरीचाहिँ लोभ्याउने खालको छ। ‘दाजुभाइ मिलेर पिउँछौं, रमाइलै हुन्छ,' आफू खासै नपिउने दाबी गर्दै उनी हाँस्छन्, ‘हुन त मलाई नपिउने मान्छे पनि रमाइलै लाग्छ। पिउने त रमाइलो भइहाल्यो। धेरै पिउनेचाहिँ रमाइलो लाग्दैन।'
जापानको राजदूत भएर गएका बेला उनले नेपालको अ्यला टेस्ट गराउँदा रहेछन्, पार्टीहरूमा। अनि ललकार्दा रहेछन्, ‘तिमीहरूको ‘शाके'भन्दा यो हजार गुणा कडा छ।' त्यसो भन्दै गर्दा उनको कुकले अयला झरर्र बालेर ल्याइदिँदा रहेछन्।
राजनीतिवृत्तमा नेताहरूले खान, पिउन, लाउन नजानेका किस्सा प्रचलित छन्। ‘गसिप' बाजहरूले तत्कालीन रानी ऐश्वर्य, नेता गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपालदेखि पुष्पकमल दाहालसम्मलाई छाडेका छैनन्।
हाम्रा नेता र कूटनीतिज्ञहरू कति ‘प्रोटोकल–कन्सस' छन् त?
माथेमासँग यसको अनुभव छ। केही बताउँछन्, केही बताउन मान्दैनन्। उनका दृष्टिमा सबैभन्दा प्रोटोकल–कन्सस नेता हुन् कांग्रेस नेता चक्रप्रसाद बाँस्तोला। उनको सूचीमा कृष्णप्रसाद भट्टराई, झलनाथ खनाल, पशुपतिशमशेर राणालगायत पनि पर्छन्। परराष्ट्र सेवामा लामो समय सचिव भएर काम गरेका केही कूटनीतिज्ञलाई खानपिन कला राम्ररी थाहा थियो। नपिएरै प्रोटोकल कन्ससचाहिँ सरदार यदुनाथ खनाल थिए। वाइनका अम्मली थिए, गणेशराज शर्मा।
रक्सिनु ठिक कि बेठिक भन्नेमा हाम्रो समाज विभक्त छ। माथेमाका लागि यो कुनै ठूलो प्रश्न होइन। ‘कूटनीतिमा आयोजकले पिएन भने पाहुनाले पनि पिउँदैन,' उनी भन्छन्, ‘अलिकति नक्कलमात्रै भए पनि गर्नुपर्ने हुन्छ। म पनि धेरै पिउने मान्छे त कहाँ हो र!'
बीसौं वर्षअघि एमाले नेता केपी ओलीसँग भएको डिनर जम्काभेटको रोचक सम्झना गर्छन् माथेमा। त्यस बेलासम्म ओलीसँग गाडी रहेनछ। अमेरिकी राजदूतले दिएको रात्रिभोजमा सहभागी भएर फर्कन खोज्दा माथेमाले भनेछन्, ‘तपाईंलाई म घरसम्म छाडिदिऊँ?' त्यसपछि उनी ओलीलाई उनी बस्दै आएको ससुराली घर छाड्न गएछन्। गफिँदै गएपछि पुख्खली ओलीलाई घत परेछ। पुगेपछि भनेछन्, ‘माथि आउनूस्। अलिअलि लगाउँ।'
अनि थपे अयला। तिनताक विश्वबैंकमा काम गर्ने माथेमाले त्यस्तै ठाँटबाँट देखाउलान् कि भन्ने परेछ ओलीलाई। साधारण बानीबेहोरा देखेर चकित परेछन्। माथेमा पनि केपीको ठट्यौली सुनेर मख्खै!
मदन भण्डारी र माधव नेपालसँग सँगै पिएको सम्झना छ, माथेमालाई। उनीहरू माथेमा निवास आएका रहेछन्। माधव परे नपिउने, मदनले पिएको माथेमालाई सम्झना भएन।
राधाकृष्ण मैनालीको खुवाइपियाइले माथेमालाई प्रभावित पारेको रहेछ। ‘उनी कम्युनिस्ट नेताजस्ता देखिँदैनथे। सफल व्यापारीजस्तो देखिन्थे,' उनी सम्झन्छन्, ‘मोटो मान्छे, पान खान मन पराउने। हेरौं त सिपी मैनाली र उहाँमा कत्ति फरक छ! आरके त रसिलो मानिस हो नि!'
गिरिजाप्रसादसँग पनि पिएका छन् माथेमाले। बुझाइ मिल्ने केही नेतासँग खानपिन कहिलेकाहीँ चल्छ। खानपिनका सोखिन भनेर चिनिएका पुष्पकमल दाहालसँग भने पिउने मौका जुरेको छैन। भन्छन्, ‘प्रचण्डजीसँग रमाइलै होला। उहाँ पनि राधाकृष्णजस्तै मान्छे हो नि!'
सगुनमा अन्डा, बारा, माछा, रक्सी खानेपिउने नेवारी समुदायका माथेमालाई सानैदेखि रक्सी पिउने बानी बस्यो तर उनको मात्रा निश्चितभन्दा माथि बढ्दैन। ‘हामी नेवारी संस्कारमा मासु, अन्डा पनि खान्छौं, रक्सीले नजितोस् भनेर,' उनी भन्छन्, ‘गोराहरू त निट ह्विस्की नै लडाउँछन्। वास्तवमा स्न्याक्ससँग खाँदा रक्सीले नोक्सानी गर्दैन।'
अहिले आएर मात्रा बढाऊँ भन्ने लाग्दैन?
‘अब त के मात्रा बढाउने, पुलिसले दिँदै दिँदैन।'
- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/17783.html#sthash.0i6aADUj.dpuf

No comments:

Post a Comment