Friday, August 8, 2014

'कमरेड पास देखाउनुस् ?'

एमाले नवौं महाधिवेशनस्थलको गेटमा पास जाँच्न उभिएकी 'बारकोड-रिडर' मदन भण्डारीकी छोरी हुन् भन्ने थाहा पाउँदा प्रतिनिधिहरू आश्चर्यमा पर्न सक्छन् । उनी एमालेकी निवर्तमान उपाध्यक्ष विद्या भण्डारी र मदनकी जेठी छोरी उषाकिरण हुन् ।
एमालेको मजदुर संगठन जिफन्टको निर्देशनमा खटिएकी यी स्वयंसेवक बिहानदेखि रातिसम्मै प्रतिनिधि र पर्यवेक्षक 'कमरेड' का छातीमा 'बारकोड रिडिङ मेसिन' छुवाउँछिन् । गेटमाथिको स्क्रिनमा जसको अनुहार मिल्यो, त्यो भित्र छिर्न पायो । जसको अनुहार देखिएन, उनी मुस्कानसहित फर्काउँछिन् ।
बहुदलीय प्रजातन्त्रकालका लोकपि्रय तथा जबजका निर्माता भण्डारीकी छोरीलाई 'लो-प्रोफाइल' मा बसेर पार्टीको काम गर्नुपर्दा पटक्कै अप्ठ्यारो लागेको छैन । 'पार्टीले अह्राएको काम इमानदारीसाथ खटेर गर्ने हो,' सुरुमा कुरा गर्न नमाने पनि एकछिनपछि उनले खुलेर भनिन्, 'बुवा र आमाको हैसियतका आधारमा मैले काम गर्ने होइन । आफैं सक्रिय हुने हो ।'
एमालेको भ्रातृ संगठन युवासंघ नेपालको विदेश विभाग सदस्य रहेकी उषाकिरण जिफन्टमा आबद्ध भएर श्रमिकहरूको विषयमा अनुसन्धान गरिरहेको बताउँछिन् । जवाहरलाल नेहरू विश्वविद्यालयमा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उषाकिरणको धारणा छ, 'अब एक पटक फिल्डमा जमेर काम गर्ने हो । त्यहाँबाट पाएको अनुभवका आधारमा फेरि अध्ययन अघि बढाउने योजना छ ।'

दासढुंगा जिप दुर्घटनामा परी बुवा बित्दा उनी ८ वर्षकी थिइन् । उनी सानै छँदा बुवा एमाले महासचिव भइसकेका थिए । कांग्रेसका प्रधानमन्त्री-प्रत्याशी कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर उनी चर्चित भए । एमालेको 'जनताको बहुदलीय जनवाद' -जबज) का कारण उनको चर्चा थप चुलियो । जारी महाधिवेशनको उद्घाटनमा माक्र्स र लेनिनको फोटो छुटाए पनि भण्डारीको फोटो जहिंतहीं देखिनुले पार्टीमा अझैसम्म पनि उनको प्रसिद्धि उत्तिकै देखिन्छ । बुवाको यस्तो हाईहाई देख्दा उषाकिरणलाई कस्तो लाग्छ त ?
'गौरव त लाग्ने नै भयो, तर हामी सानो छँदै बुवाले अन्तर्राष्ट्रिय छवि बनाइसक्नुभएकाले तपाईंहरूले उहाँलाई जसरी चिन्नुभयो, मैले पनि त्यसरी नै चिनें,' उनी भन्छिन्, 'दुई गुटमा बाँडिनुभएका नेताहरूसमेत बुवाको विचारबारे एकमत भएकामा खुसी लाग्छ ।'
यो महाधिवेशनको अभिलेखन उपसमितिमा सदस्य पनि छिन् उषाकिरण । उनकी बहिनी निशाकुसुम भने जेएनयूमै एमबीबीएस पढैछिन् । उनी भने राजनीतिमा छैनन् । सक्रिय राजनीतिमा लाग्ने इच्छा खुलाएकी उषाकिरणले ठूलो महत्त्वाकांक्षा भने नपालेको बताइन् ।
यसपालिको महाधिवेशनमा जबजका विषयहरूलाई लिएर नेता कार्यकर्ताबीच ध्रुवीकरण बढेको बढ्यै छ । माधव नेपाल र केपी ओली खेमामा बाँडिएका उनीहरू बोलीपिच्छे 'मदन यसो भन्नुहुन्थ्यो' भन्छन् । मदनपुत्री आफैंले भने बुवाका दस्तावेजहरू कत्तिको पढेकी छन् त ? 'सिंगै जबज त पढेकी छैन,' हल्का धकाउँदै भनिन्, 'सानो पुस्तिकाचाहिँ पढेकी छु ।'
'मलाई एकचोटि भित्र जान दिने हो त ?'
जबाफमा उनले भनिन्, 'पहिले पास देखाउनुस् ।'
 

No comments:

Post a Comment