Friday, August 8, 2014

मार्खेज :जीवनपछिको जीवन

मञ्जुश्री थापाले कवि श्यामललाई पढ्न भनेर डेढ दशकअघि ग्याब्रियल गार्सिया मार्खेजको उपन्यास ‘नो वान राइट्स टु द कोलोनेल' दिएकी थिइन्। स्पेनिस भाषाबाट अंग्रेजीमा अनूदित लघुकायाको त्यो आख्यानले नेपाली कविहृदयलाई यसरी पगाल्यो, श्यामलले साढे दुई घन्टाभित्र पढिमात्रै सकेनन्, नेपालीमा उल्था नै गरिभ्याए।
चार वर्षअघि त्यो छापियो ‘अभागी कर्नेल' नाममा।
श्यामलले त्यसको नेपाली अनुवाद गर्दै लेखेका छन्, ‘नेपाल र ल्याटिन अमेरिकी संस्कृति भिन्न भए पनि संघर्षका कथाहरुमा समानता पाइन्छ। निरन्तर विद्रोह र चरम गरिबीले यी दुई देशलाई जोडेका छन्। उनको जादुयी भाषा यति शक्तिशाली छ कि स्पेनिस भाषा आउँथ्यो भने त्यसैबाट अनुवाद गर्थें हुँला।'
साहित्यका लागि सन् १९८२ को नोबल पुरस्कार विजेता मार्खेज पृथ्वीका जीवित लेखकमध्ये सबैभन्दा शक्तिशाली मानिन्थे। नेपाली समयअनुसार शुक्रबार बिहान उनको निधन भयो। दर्जनौं उम्मेदवारलाई फराकिलो अन्तरले पछाडि छाड्दै दौडेका यी कोलम्बियाली लेखक सय वर्षको एकान्त बास (वन हन्ड्रेड इयर्स अफ सोलिच्युड) उपन्यासका लागि विश्वचर्चित थिए। सयकडा हान्नु १३ वर्षअघि नै सबैलाई छक्याउँदै उनी दीर्घ एकान्त बासतिर प्रस्थान गरेका छन्। डिमेन्सियाग्रस्त मार्खेजलाई दुई सातायता निमोनिया थियो।
सत्रौं शताब्दीका सर्वान्तेसपछि स्पेनिस भाषामा सबैभन्दा लोकप्रिय मानिने मार्खेजले आख्यानमा रहेको अमेरिकी बर्चस्व तोड्दै कथावाचनको शैली विश्वभरि फैलाए। उनले तल्लो वर्गमा मानिसका लवज टिपे, लोककथा टिपे, नयाँ शैलीमा पुनरुत्पादन गरे। मूलधारभन्दा पृथक उनको लेखन लोकजीवनमा आँधीसरि फैलियो र संसारभर रुचिपूर्वक पढियो।
कानुन पढ्न जोडबल दिने पिताको इच्छाविपरीत उनी पत्रकारितामा आए । कोलम्बियाली पत्रिका ‘एल एस्पेक्तादोर' का संवाददाता भए। रोम, पेरिस, बार्सिलोना, काराकास र न्युयोर्कका लागि विदेशी मामिला संवाददाता भएर सूचना बहाए।
मावली हजुरआमाले सुनाउने लोककथाहरु अन्ततः मार्खेजको कथावाचनका कडी बन्न पुगे। उडन्ते खालका लाग्ने, रहस्य र जादुयी कथालाई उनी सामाजिक स्पर्श दिन्थे। ‘बुयेन्डा' नामक वंशवृक्षको सातपुस्ते दुर्भाग्य लेखिएको ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड' सन् १९६७ मा छापियो। स्पेनिस भाषामा छापिएकै साता आठ हजार प्रति बिक्न सफल भएर यसले ल्याटिन अमेरिकाभर तरंग फैलायो। जुन विश्वभरि आजसम्म ५ करोडभन्दा बढी प्रति छापिइसकेको छ, ५० भन्दा बढी भाषामा अनूदित। ग्याबो उपनामले चिनिने ग्याब्रियल गार्सिया मार्खेजले आविष्कार गरेको ‘म्याजिकल रियलिज्म' को शैली यसै उपन्यासमार्फत सार्वजनिक भयो। ग्याबो शैलीका अनुकरणकर्ता विश्वभरि छन्, नेपालमा पनि।
‘मेमोरिज अफ माई मेलान्कली होर्स' उपन्यास छापिएपछि भने मार्खेजले अब कहिल्यै नलेख्ने अठोट गरेका थिए। कारण, त्यसको आलोचना धेरै भयो। जब उनलाई दुई वर्षअघि डिमेन्सिया भयो, त्यसपछि औपचारिक रुपमै पूर्णविराम लाग्यो लेखनयात्रामा। मार्खेजलाई सन् १९९९ मा क्यान्सर लाग्यो। उनलाई छ्यास्स केही भइहाल्यो भने पनि संसारभरि समाचार फैलिइहाल्थ्यो।
मार्खेज थिए जो वागी थिए। लेखक हुनुको नैतिक बलको सदुपयोगसमेत गरे उनले। कोलम्बियाली सरकार र विद्रोहीबीच वार्ता गराइदिएर गृहयुद्ध अन्त्य गर्न उनले भूमिका खेले। क्युवाली नेता फिडेल क्यास्ट्रोसँग गहिरो घनिष्ठता थियो उनको। यद्यपि उनी साथी फिडेलका तिख्खर आलोचक पनि थिए। वामपन्थी भएको आरोपमा अमेरिकाबाट भिसा अस्वीकृत उही देशका पूर्वराष्ट्रपति बिल क्लिन्टनसँग उनले डिनर खाए, सन् १९९४ मा। क्लिन्टनले मार्खेजलाई सम्मानसाथ सम्बोधन गरे– ‘मेरा साहित्यिक नायक!'
मार्खेजको निधनले विश्वभर शोकका बाछिटा फैलिएको छ। साहित्य मात्र होइन, राजनीति र सबै क्षेत्र तरंगित छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले संसारकै महान भिजिनरी लेखक गुमेको वक्तव्य दिएर मार्खेजप्रति श्रद्धाञ्जली दिएका छन्। ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड' को खुलेर प्रशंसा गर्दै ओबामाले मार्खेजका कृति पुस्तौं बाँचिरहने उद्घोष गरे।
मार्खेज त्यस्ता भाग्यमानी लेखक हुन्, जसको निधनमा धेरै देशका राष्ट्रप्रमुखले समेत श्रद्धाञ्जली चढाएका छन्।
विख्यात चिलियन लेखक लुई सेपुभेदाले भनेका छन्– मार्खेजले प्रत्येक कुरालाई क्रान्तिमय बनाइदिए। कल्पना, कथावाचन र साहित्यिक ब्रह्माण्डलाई नै उलटपुलट पारिदिए।
कोलम्बियन गायिका साकिराले भनेकी छन्– अद्वितीय र विछट्ट सिर्जनाका सर्जक तपार्इंले असाध्यै मौलिक भाषा लेख्नुभयो, सधैं सम्भि्करहनेछौं।
शुक्रबार दिउँसो केही समय टि्वटर ट्रेन्डमा उनी एक नम्बरमा थिए। लेखकबाहिरको त्यो संसारमा लेखक टिक्नु रोचक मानियो।
मार्खेजबारे थुप्रै हल्ला चर्चामा आए। उनी शुल्क नलिई अन्तर्वार्ता नदिने भनाइका कारण चर्चित थिए। दुई वर्षअघि साहित्यमा नोबल जित्ने मारियो भर्गास ल्होसालाई कुनै बेला ग्याबोले हानेको मुक्का प्रकरण उनका कृतिभन्दा कम चर्चित रहेन त्यतिबेला।
...
त्रिभुवन विश्वविद्यालयले मार्खेजको ‘द लास्ट भोयाज अफ द गोस्ट सिप' कथा पढाउँछ। विद्यार्थीहरु त्यस कथालाई किन पनि सम्भि्कन्छन् भने, जम्मा छ पृष्ठ लामो त्यो कथा एउटै वाक्यमा लेखिएको छ। उनका कृति नेपाली विश्वविद्यालयका सबै तहमा पढाइ हुन्छन्। नेपालमा सर्वाधिक पढिने विदेशी लेखकमध्ये मार्खेजको नाम अग्रपंक्तिमा आउँछ। मार्खेजलाई नपढिनु साहित्यबारे कुनै सुझबुझ नहुनु हो भन्ने मान्यता स्थापित हुँदै आएको छ।
लेखक नारायण ढकालका शब्दमा मार्खेज त्यस्ता लेखक हुन् जसले लेखन दायित्वपूर्ण र गम्भीर मामिला हो भन्ने पुष्टि गरे रे गतिशील ढंगले आख्यानलाई हेर्ने पद्धति विकास गरे। ‘संरचनागत असफलतातर्फ बढिरहेको ल्याटिन अमेरिकी समाजलाई आख्यानको विषय बनाए मार्खेजले,' मार्खेज प्रशंसक नेपाली आख्यानकार बताउँछन्, ‘उनले इतिहासका पात्रहरुलाई जीवन्त प्रस्तुतिका माध्यमले बचाए।'
मार्खेज नोबल पुरस्कार पाउनुलाई दुर्भाग्य भन्ने गर्थे। ‘सक्षम लेखकले आफ्नो ख्यातिविरुद्ध नै लड्न सक्नुपर्छ,' उनी भन्थे, ‘पुरस्कारले व्यक्तिगत जीवन नष्ट गरिदिन्छ, सिर्जनशीलताको सत्यानाश पार्छ।'
उनी भन्थे– म मरेपछि मात्रै मेरा पुस्तक छापियून, त्यसो हुने हो भने यो लेखकसेखक भइहिँड्ने ख्यातनामी झन्झटबाट म मुक्त हुन्थेँ।
उनले मर्मस्पर्शी आत्मकथा ‘लिभिङ टु टेल द टेल' को आरम्भ पृष्ठमा भनेका छन्– हामीले जे बाँच्यौं, त्यो त जीवन नै होइन। बरु यसबारे अरुलाई के बताइन्छ, कसरी बताइन्छ भन्नेचाहिँ जीवन हो।
मार्खेजले आफ्नो जीवन र समाजबारे संसारलाई बताएका छन्, सर्वोत्कृष्ट ढंगले। त्यसैले उनी जीवनपछिको जीवनमा छन्।
खासमा उनको मृत्यु नभएर वास्तविक एकान्त वास सुरु भएको छ।
- See more at: http://nagariknews.com/feature-article/story/16726.html#sthash.EBpBHrzm.dpuf

No comments:

Post a Comment