Friday, August 8, 2014

साझा बसमा सलमान

'बहिष्कार गर्नु पनि चुनावमा भाग लिनु नै हो,' यसो भन्दै उनीहरू बसमा उक्लिँदै गर्दा साँझ साढे सात बजेको छ। साउने झरीमा निथ्रुक्क चार शहीदलाई दायाँ पार्दै कीर्तिपुर यातायात शहीद गेटबाट अघि बढ्दैछ।

विश्वविद्यालयमा पढ्न देशभरिबाट विद्यार्थी जम्मा हुने कीर्तिपुर जाने बसमा बेलुकीपख खुट्टा राख्ने ठाउँ पाउन हम्मे पर्छ। लहरै राखिएका भरिभराउ सिटसँगै सहचालक दुई पंक्ति यात्रुलाई यसरी उभ्याउँछन्– मानौं उनीहरू इँटा हुन्, उनीहरूलाई एउटै सेटमा राखेर उनी घर बनाउन गइरहेछन्।
अफिसबाट, शहरबाट (कीर्तिपुरेहरू काठमाडौंलाई शहर भन्छन्) फर्किरहेका थकित, भोका र क्लान्त शरीरहरूबीच बसेका, उभिएका विद्यार्थी देशदुनियाँबारे आफूले बुझेसम्मको तर्क गर्छन्। कहिले हानथाप पर्छ, कहिले माथापच्ची। झरीमा भिज्दै गुडिरहेको बसभित्रका यात्रु बन्द छाताबाट तपतप चुहाउँदै उनीहरूको गफमा मग्न छन्। कोही कानमा इयरफोनको ठेडी घुसारेर निस्पृहता देखाइरहेका छन्।
यात्रुको चाप बुझेर हुनुपर्छ, कीर्तिपुर यातायातले पछिल्लो पटक दस नयाँ बस थपेको छ। यसै हप्तादेखि १९ रुपियाँको भाडा घटाएर १५ मा झारेको छ। 'जुग नसुहाउँदो काम गरेवापत' ऊ यात्रुबीच हाइहाइको पात्र छ। गाइँगुइँ सुनिन्छ, यो सुविधा 'सीमित अवधिका लागि' हो।
र, विद्यार्थीहरू, सके ती डिग्री सकेर लोकसेवा परीक्षाको 'भीषण तयारी' गर्दैछन्। उनीहरूको गफले यस्तै इंगित गर्छ। उनीहरूको अहिलेको चाख 'वैद्य बा' माथि छ। उनीहरू ठान्छन्– वैद्यलाई दोस्रो संविधान सभा चुनावमा भाग नलिँदा त्यति फाइदा छ, जति प्रचण्डलाई उनीहरूलाई भाग लिन नदिँदा फाइदा छ। त्यही भएर नेकपा बीमाओवादी चुनावमा भाग नलिएर 'भाग लिँदैछ।'
'जसले जे भने पनि दिल्लीले नचाहेसम्म नेपाल डेग नचल्दो रहेछ,' त्रिपुरेश्वरबाट कालिमाटीतिर हुइँकिएको बसभित्र सिटमा अडेसो लागेर उभिएका दोकाँधे झोलावाला युवा बोल्छन्, 'कुन शक्तिको सामु कहिले हामी झुकेथ्यौं भन्नु त माधव घिमिरेको गीतमात्रै रहेछ।'
'त्यही त, रामवरण, प्रचण्ड, बाबुराम, माधव, देउवा, सुशील सबैलाई पालैपालो डाकेर अर्ती दिन्छन् यार,' पछिल्लो सिटको युवा कानसम्मै मुख च्यातेर कराउँछ, 'अनि हेर न, हाम्रा नेतालाई लाजशरम छैन।'
'गएर के भन्छन् थाहा छ?'
'भनेको भए न थाहा हुनु।'
'भन्नु नभन्नु भन्छन्। मंसिर चारमा जसरी पनि चुनाव हुनुपर्छ रे। उसले भनेको जस्तो संघीयता हुनुपर्छ रे। अनि हिन्दु राष्ट्र पनि रे।'
छ जना युवाले भाग लिइरहेको साझाबसको संसदमा अरु तीन पर्यवेक्षक पनि थपिए। तीमध्ये एकले थपे, 'के गर्नुहुन्छ यार, सलमान खुर्सिद काठमाडौं आउँदा त सबका सब नेता भनाउँदाहरू लस्कर लागेर भेट्न गए।'
'नेतालाई मात्रै कति दोष दिएको दोस्त?' उनीसँगैको समानान्तर सिटबाट अर्का बुजु्रकले बसको मद्धिम प्रकाशको विपरीत छायाँ पर्नेगरी औंला नचाए र भने, 'नेतामात्रै इन्डिया अब्सेस्ड छैनन्, सलमान खुर्सिदको ठाउँमा सलमान खान काठमाडौं आए भने हामी पनि त्यसैगरी लस्कर लाग्छौं। हो कि होइन, छातीमा हात राखेर भन्नूस् त? शाहरुखको चेन्नई एक्सप्रेस काठमाडौंमा दुई दिनपछि चल्दा त यत्रो उखरमाउलो छ।'
छेउछाउमा बसेकाले भिजेको छातालाई काखमा, उभिएकाहरूले काखीमा च्यापे। र ताली बजाए। साझा बसमा संसद जारी छ।
साँझको कीर्तिपुर यात्रामा कोही न कोही बहसमा उत्रिएकै हुन्छ। बहस गर्ने अधिकांश अंग्रेजी साहित्य पढेकाहरू आफूले पढेको सिद्धान्त बकिरहेका हुन्छन्। बु‰ने र अलिअलि बु‰नेहरू आफूले बुझेजति ज्ञानका आधारमा बहसमा उत्रन्छन्, टाउको हल्लाउँछन्। छेउछाउ सिटका सर्वसाधारण चाहिँ 'यो पक्कै ठूलै कुरो होला' भन्दै मुन्टो निहुराउँछन्।
'तर जे भए पनि भारतले बोलायो भन्दैमा लाइन लागेर जानचाहिँ नहुने,' अहिलेसम्म चुप बसेका मित्र अचानक रिसाए, 'तारिख खेप्न अदालत गएजस्तो भएन र यो त! यस्तो पनि हुन्छ?'
'हाम्रो नेता त दिल्ली नगई प्रधान मन्त्री नै हुँदैन हिजोआज। दिल्ली गएपछि बल्ल प्रधान मन्त्री हुन्छ।'
'अनि प्रधान मन्त्री भएपछि त्यो सिल्ली पहिले कुदेर दिल्ली पुग्छ।'
'पहिले कुन नेता कति वर्ष जेल बस्यो भनेर हेरिन्थ्यो, अब त कुन नेता कतिपल्ट दिल्ली गयो भनेर हेरिएला जस्तो छ।'
'हैन तपाईंले कसलाई 'नेता नेता' भनिरहनुभएको? दे आर जस्ट पोलिटिसियन्स, नट् लिडर्स।'
कुलेश्वर हुँदै बस गुडिरहेको छ। केवल कल्याङमल्याङ सुनिन्छ। पात्रहरूको नाम ठेगाना थाहा छैन। अघिसम्म कानमा ठेडी घुसारेर वार्ता बहिष्कार गर्नेहरू पनि मुन्टो घुमाउँदै बहसकर्तालाई हेर्न थालेका छन्। भिजेका छाताबाट पानी चुहिन बन्द भएको छ। झरीले भिजेका ‰यालहरूबाट राजधानीको अनुहार हेर्न मुस्किल छ।
'राष्ट्रपति पनि त दुई पटक दिल्ली पुगिसके, उताका राष्ट्रपति यहाँ आएको खै त? तिनको भन्दा सानो भए पनि यो छुट्टै स्वतन्त्र देश हो भन्ने उनीहरूले बु‰नुपर्दैन?'
'यहाँकाहरू आफैं बोलाइमाग्छन्, मलाई निम्ता गर न भन्छन्, कहाँको निम्ता आउनु?'
'तपाईंलाई चाहिँ यस्ता भित्री कुरा कसरी थाहा हुन्छ हँ?'
बसमा हाँसोको फोहरा छुट्छ।
'म अमरेश सिंहको मानिस हुँ क्या,' वक्ता भीडलाई विश्वासमा लिन खोज्छ।
'अनि भेटवार्तापछि बोलेको सुन्यो भने त लाजमर्नु हुन्छ, नेपालको राज्यको पुनर्संरचना, संविधान सभाबारे भारतले यसो भन्यो भन्छन् हाम्रा नेता।'
'अनि हाम्रा नेताले चाहिँ भारतको नयाँ राज्य, गोर्खाल्यान्डबारे केही भनेनछन्?'
'त्यो त उनीहरूको आन्तरिक मामिला भयो भनेर पन्छिइहाल्छन् नि। यस्तो प्रश्न कहाँ 'इन्टरटेन' गर्छन् र!'
'हाम्रो मधेसमा कति प्रदेश हुनुपर्छ वा एक प्रदेश हुनुपर्छ भन्नेबारे उनीहरूको सामान्य कारिन्दाले समेत खुलेर बोल्छ, यस्तो पनि कहीँ सार्वभौमसत्ता हुन्छ?' अघिल्लो सिटको मुन्द्रे मित्र थप्छ, 'त्यसमाथि हाम्रो राष्ट्रपतिको हैसियत उनीहरूको मुख्य मन्त्रीको जति पनि भएन।'
प्रश्न जारी छन्। यस्ता प्रश्न, जसभित्रै निःसृत छन् जवाफहरू। गाडी बल्खु काटेर कीर्तिपुर क्षेत्रमा प्रवेश गरिसकेको छ। बस बहसले बाफिँदो छ। बहसकर्तालाई खिलराज सरकारले चुनाव गराउँछ भन्नेमा गम्भीर शंका छ। यो शंका कसले उब्जाइदियो होला? प्राध्यापकले? मिडियाले? वा राजनीतिक नेतृत्वले?
'ल, कीर्तिपुर आइपुग्यो। अब बहस आजलाई यतिमै बन्द गरौं।'
'कीर्तिपुर आइपुगेपछि त बहस झनै चर्काउनुपर्छ। संसद नभएका बेला बहस गर्ने नै कीर्तिपुरमा त हो।'
'आफू त अब लोकसेवा पढ्ने हो। देश दुनियाँ छुः मतलब।'
'मित्र, लोकसेवामा जम्मा पढ्ने भनेकै देश दुनियाँ त हो। खैर, तपाईंले लोकसेवा पढ्नचाहिँ किन खोजेको?'
'कतै पछि मन्त्रीमण्डलमा परिहालिन्छ कि भनेर। अहिलेकै क्याबिनेटलाई हेर्नुस् न तपाईं।'
पाँगा दोबाटोनेर बस भाडा तिर्दै अर्कोले सोध्यो, 'अनि, मन्त्री भएरचाहिँ के गर्ने विचार छ नि?'
'अरु त के गर्नु! उही त्यसबेलाको नयाँ सलमान भेट्ने विचार छ। लोकसेवा पास गरे खुर्सिद, फेल गरे खान।'
पाँगा दोबाटो आइसकेको छ। म उत्रन्छु। उनीहरू पनि उत्रन्छन्। ब(ह)स यात्रा यत्तिकैमा टुंगिन्छ।
- See more at: http://nagariknews.com/opinion/story/5730.html#sthash.txXTkJcY.dpuf

No comments:

Post a Comment