नेपालको कूटनीतिमा चारवटा देशले विशेष महत्व राख्छन्– भारत, चीन, अमेरिका र बेलायत। यसमध्ये बेलायतबाहेक तीन देशमा राजदूत बनेर काम गरेको अनुभव थियो, सरदार यदुनाथ खनालसँग। उनी त्यस्तो बेला भारत, चीन र अमेरिकाका लागि राजदूत बने, जतिबेला एकातिर उनीहरूको परस्पर स्वार्थ टकराउँदै थियो भने अर्कातिर ती देशसँग नेपालको सम्बन्ध गिर्दो अवस्थामा थियो।
राजा महेन्द्रले ०१७ सालमा शासनसत्ता हत्याएको दुई वर्षपछि यदुनाथलाई राजदूतका रूपमा दिल्ली पठाएका थिए। त्यसबेला भारतको वास्तविक रवैया के थियो भन्नेबारे अन्तर्यमा अनेक रहस्य उद्घाटन हुँदै जाला, तर सार्वजनिक रूपमा भारतले राजाको कदमको विरोध नै गरेको थियो।
यसमा दुइटा पक्ष छन्। पहिलो, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको नेपालप्रतिको नीति सधैं दबाबमूलक रह्यो भन्ने तथ्य इतिहासका पुस्तकहरूमा भेटिन्छ। जसरी पहिले अंग्रेजले भारत र आसपासका राज्यलाई हेर्थ्यो, अंग्रेज धपाइसकेपछि भारतले त्यसरी नै हेर्न पाउनुपर्ने नेहरूको मनसाय थियो। त्यही पेलान प्रवृत्ति सच्याउन यदुनाथ 'सुरवीर' हुन सक्ने नेपालको आँकलन रहेको कूटनीतिज्ञ तथा यदुनाथका जीवनीलेखक जयराज आचार्य बताउँछन्।
दोस्रो, प्रधानमन्त्रीका रूपमा बिपी कोइरालाले भारतअघि चीन, इजरायल भ्रमण गरेको नेहरूलाई मन परेको थिएन। बिपी समाजवादी नेता जयप्रकाश नारायण र राममनोहर लोहियासँग घनिष्ट थिए। आफ्ना विपक्षी नेतासँग बिपीको हेलमेल नेहरूलाई पचेको थिएन। त्यही सन्दर्भमा नेहरूलाई आफ्नो पक्षमा पारेर विश्वास जित्न यदुनाथलाई भारत पठाइएको पूर्वराजदूत भेषबहादुर थापाको भनाइ छ।
'यदुनाथ कुरा चपाएर बोल्दैनथे। विदेशी पक्षलाई नचिढ्याइकन सन्तुलित भाषामा तर स्पष्ट अडान राख्न सक्ने खुबी थियो,' भारत र चीनका पूर्वराजदूत थापा भन्छन्, 'त्यसैकारण सरकारले उनीमाथि पूरै भरोसा गरेको थियो।'
नभन्दै, भारतीय राजनीतिक तथा कूटनीतिक मत नेपालको खिलाफ नजाओस् भन्नेमा यदुनाथले ठूलो भूमिका खेले। 'हाउ आइ बिकेम एम्ब्यासेडर' भन्ने लेखमा उनका योगदान उल्लिखित छन्। जस्तो, नेपालको राष्ट्रिय दिवसका दिन दिल्ली दूतावासमा आयोजना गरिने समारोहमा त्यस बेलासम्म कुनै विशिष्ट भारतीय नेता र कूटनीतिज्ञ आउँदैनथे। नेपाली राजदूतलाई पनि खासै 'रेस्पोन्स' गर्दैनथे। यदुनाथले आफू जानेबित्तिकै 'कौटिल्य' रणनीति अपनाए। विशिष्ट ठाउँ छानी–छानी 'लेक्चर' दिन थाले। उनी इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स गए। जवाहरलाल नेहरू विश्वविद्यालयदेखि जयपुरको राजस्थान युनिभर्सिटीसम्म पुगे। नेपालसँगको सम्बन्धको महत्व बुझाउन उनले 'अ प्ली फर बेटर अन्डरस्ट्यान्डिङ' शीर्षकको लेख लेखे।
जयराजका अनुसार नेपाल, भारत, चीन सम्बन्धजस्ता विषयमा उनले दिने गहन लेक्चर 'टाइम्स अफ इन्डिया' र 'स्टेट्सम्यान' जस्ता मूलधारे अखबारले तस्बिरसहित पहिलो पृष्ठमा छाप्न थाले। यसरी नेपालबाट गएका यी कूटनीतिज्ञले दुई महिना नबित्दै भारतको राजनीति, कूटनीति र बुद्धिजीवी वृत्तमा तहल्का मच्चाए।
यदुनाथका लेक्चर र लेखलाई भारतले त्यति धेरै महत्व दिनुको कारण थियो– उनी भारत जानुभन्दा दुई महिनाअघि सकिएको चीन–भारत युद्ध, जहाँ भारतीय पक्षले नमिठो पराजय बेहोरेको थियो। एक कूटनीतिज्ञका अनुसार भारतको राष्ट्रिय आत्मविश्वास नै झरेका बेला यदुनाथले दुवै देशसँग जोडिएको देश हुनुको हैसियतमा नेपालले सम्बन्ध सुधारमा भूमिका खेल्न सक्ने आशा जगाएका थिए। भारत पनि खुरुखुरु पत्याउन विवश थियो।
राजा महेन्द्र शक्तिमा आइसकेकै थिए, तर भारतको दृष्टिकोण सहज थिएन। नेपाल–भारत सम्बन्ध सुधार्न यदुनाथले कूटनीतिक पहल गरिरहेका थिए। उनले उच्च अधिकारीहरूसँग कुरा गरे। इन्दिरा गान्धीसँग घनिष्ट सम्बन्धमा रहेका राणाहरू विजयशमशेर, दमन शमशेरजस्ताको सहयोग लिए। सामान्य पारिवारिक पृष्ठभूमि भएका जनताका यी छोरालाई भारतको शासक वर्गले त्यत्तिकै पत्याउन सम्भव थिएन।
यदुनाथ भन्थे– राजदूतका तीनवटा मालिक हुन्छन्। एक, जसले आफूलाई नियुक्त गर्योज। दुई, जसले दूत हुन स्वीकृति दियो। तीन, आफ्नो र सम्बन्धित देशका जनता। यदुनाथले भने तेस्रो मालिक अर्थात जनताको हित सम्बोधन गर्ने नीति लिएको जयराज सुनाउँछन्।
नतिजा, महेन्द्रको दुई साता लामो भारत भ्रमण भयो।
त्यस क्रममा महेन्द्रले 'इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स' मा भाषण गरे। यदुनाथले नै भाषण तयार पारेका थिए। 'युद्ध भयो भन्दैमा चीनसँग भारत डराउनुपर्दैन,' महेन्द्रले भारतीयलाई दिएको ढाडस सम्झन्छन् जयराज, 'चीनका प्रधानमन्त्रीले छिमेकीसँग युद्ध गर्ने नीति चीनको नरहेको प्रस्ट पारेका छन्, नेपालसँग कुरा भएको छ।'
अहिलेको समयभन्दा ठिक उल्टो थियो त्यो, भारतले नेपालको भर पर्नुपर्ने। किनकि, युद्धलगत्तै महेन्द्रले चीन भ्रमण गरेका थिए। नेपालमाथि पनि आक्रमण हुने हो कि भन्ने सन्देहबीच चिनियाँ प्रधानमन्त्री ल्यु शाओ चीले कुनै युद्ध नहुने विश्वास नेपाललाई दिलाएका थिए। यी दुवै भ्रमणको पृष्ठभूमि यदुनाथले नै निर्माण गरेका थिए।
उनी राजदूत भएकै बेला 'रिफ्लेक्सन्स अन नेपाल इन्डिया रिलेसन्स' पुस्तक लेखे पनि। राजदूत हुँदै अर्को पुस्तक लेखे 'स्ट्रे थट्स।' यदुनाथको कूटनीतिक चातुर्य थाहा पाउन यी पुस्तक माध्यम हुन्।
यदुनाथ भारत जाँदाताकाका प्रधानमन्त्री जवाहरलाल नेहरू केही समयपछि बिते। त्यसपछि लालबहादुर शास्त्री प्रधानमन्त्री भए। सरल स्वभावका ती प्रधानमन्त्री यदुनाथसँग व्यक्तिगत रूपमा घनिष्ट रहेको भेषबहादुर बताउँछन्। 'भारत गएको छोटो समयमै यदुनाथले आफ्नो विद्वता र कूटनीतिक क्षमताको गहकिलो छाप छाड्नुभयो,' उनी भन्छन्।
त्यतिबेलाको संक्रमणकालीन राजनीतिक घडीमा भारतसँगको सम्बन्ध सुधार्न उनले कति ठूलो योगदान गरेका थिए भन्ने कुरा राजा महेन्द्रले उनको कार्यकाल चार वर्षबाट बढाएर ६ वर्ष पुर्यायएकाले पनि पुष्टि हुन्छ। आफ्नो चारवर्षे कार्यकाल सकेर फर्कन लागेका यदुनाथलाई महेन्द्रले 'भारतसँगको सम्बन्ध सुधार्न थप दुई वर्ष नयाँदिल्लीमा बस्न' अह्राएका थिए।
राजाज्ञा मान्दै यदुनाथ दिल्लीमै बसे। एक वर्षपछि, अर्थात २०२५ सालमा राजधानीको भृकुटीमण्डपमा आयोजित चिनियाँ प्रदर्शनीको स्टलमा माओ त्से तुङको ठूलो फोटो राखेको, तर राजा महेन्द्रको सानो राखेको भन्दै 'राष्ट्रवादी'हरूले तोडफोड गरे। जापानसँग भर्खरै युद्ध गरेको चीनमा पनि त्यस बेला उग्रराष्ट्रवादी प्रेत जागेकै थियो। चिनियाँ आरोप थियो, 'भारतीय दूतावासका फलानो कर्मचारीको उक्साहटमा चीनविरोधी गतिविधि भयो।'
बस्, अरू के चाहियो। नेपाल–चीन सम्बन्धमा ग्रहण लाग्न यत्ति घटना काफी थियो।
तत्कालीन कूटनीतिज्ञले यसलाई सुल्झाउन नसकेपछि राजा महेन्द्रले राजदूत यदुनाथलाई अपर्झट काठमाडौं बोलाए। 'सम्बन्ध सुधार्नुपर्योल' भन्दै चीन पठाए। माओ त्से तुङ, प्रधानमन्त्री चाउ एन लाई, रक्षा र परराष्ट्रमन्त्री चेन यीसँग सघन वार्ता गरे। चीनविरोधी गतिविधि गर्ने नीति नभएको भन्दै घटनाप्रति दुःख व्यक्त गरे।
यदुनाथको कूटनीतिक प्रस्तुति यति बेजोड थियो, प्रधानमन्त्री चाउ एन लाई मख्ख परिहाले। 'कहिलेकाहीँ यस्तो हुन्छ, तपाईंहरूले चिन्ता गर्नुपर्दैन। फेरि यस्तो भए मलाई सिधै चिठी लेखे हुन्छ,' चाउ एन लाईले यदुनाथलाई दिएको जवाफ सम्झन्छन् जयराज।
त्यसपछि लगत्तै राजा महेन्द्रको जन्मोत्सवका अवसरमा बेइजिङमा आयोजित रिसेप्सन पार्टीमा स्वयं प्रधानमन्त्री चाउ एन लाई र परराष्ट्रमन्त्री चेन यी आए। चेनले भाषण नै दिए, 'नेपाल–चीन सम्बन्ध सुमधुर छ, सधैं रहनेछ।'
यदुनाथले यत्तिका काम एक्लै फत्ते गरे, जबकि त्यसबेला उनी चीनका राजदूत वा कुनै अधिकारी थिएनन्। बरु त्यसको दस वर्षपछि, अर्थात २०३५ देखि २०३९ सम्म चीनमै राजदूत भएर गए। चारवर्षे बसाइपछि नेपाल फर्केर उनले आफ्नो ज्ञान अरूलाई बाँड्ने मनसायले चीनको परराष्ट्र नीतिको व्याख्या गरे, जुन उनको 'अम्बासेडर्स रिपोर्ट'मा पनि छ।
'सिनासको सेमिनारमा कार्यपत्र प्रस्तुत गर्दै यदुनाथले माओपछिको चीनको परराष्ट्र नीतिको व्याख्या गर्नुभयो,' जयराज भन्छन्, 'क्रान्तिकारिता, सैन्यशक्ति र आधुनिकीकरण, यिनै तीन जगमा आधुनिक चीन उभिएको उहाँले बुझाउनुभयो।'
त्यसैबेला अमेरिकी टिभी च्यानल 'नेसनल जियोग्राफिक'ले सगरमाथामाथि विमान उडाएर नक्सा खिच्ने इच्छा गर्यो । यसका लागि चीनको भूभागमाथि पनि उडाउनुपर्ने हुँदा उनीहरूलाई समस्या भयो। त्यतिबेला अमेरिका–चीन कटुता उत्कर्षमा पुगेको थियो। अमेरिकीहरूले नेपालको सहयोग निर्णायक हुने ठानी यहाँका परराष्ट्र कर्मचारीसँग कुरा गरेका थिए। एक वर्ष कुर्दा पनि परराष्ट्रले जवाफ नै नदिएको चीनलाई नजिकैबाट बुझेका एक कूटनीतिज्ञ बताउँछन्।
चीनसँगको अमेरिकी सम्बन्ध नसङ्लिएका बेला यदुनाथमार्फत जाँदा सफल हुन सकिने ठानी उनीहरूले अनुरोध गरेका थिए। यदुनाथ भारतको राजदूत हुँदाताका भारतका लागि चीनका एक उच्च अधिकारी नै त्यसबेला साउथ एसिया डेस्क हेर्ने प्रमुख थिए। यदुनाथ र उनको अन्तरंग सम्बन्ध थियो। जयराजका अनुसार दिल्ली बस्दा उनले यदुनाथलाई पौडी सिकाउन कोसिस पनि गरेछन्। त्यही पुरानो घनिष्टता त्यहाँ काम लाग्यो। उनले यदुनाथको प्रस्ताव टार्न सकेनन्। अनि भने, 'हुन्छ, तपाईंले नै भनिसकेपछि स्वीकृति भयो। बरु नक्सा बनिसकेपछि एउटा नक्सा हामीलाई पनि उपलब्ध गराउन लगाइदिनुहोला।'
असम्भव ठानिएको काम एकैछिनमा भयो।
बोस्टन म्युजियमका निर्देशक वाश बर्नको अध्यक्षतामा यहाँ आएका उनीहरूले नेपाली र चिनियाँ आकाशमाथि निस्पि्कक्री विमान उडाए। नक्सा बनाए। विशेष जेट ३९ हजार फिटमाथिबाट, अर्थात सगरमाथाको उचाइभन्दा १० हजार फिटमाथिबाट उडाए। अति मेहनतका साथ नक्सा बनाए।
पछि वाश वर्नले जयराजलाई पनि एउटा सन्दर्भमा भनेछन्, 'अविश्वसनीय! उहाँले त्यति छिटो स्वीकृतिपत्र दिलाइदिनुहोला भनेर हामीले चिताएका पनि थिएनौं।' वाश वर्नलाई के थाहा, त्यो विशाल कूटनीतिको पर्दापछाडि कुन हार्दिक सम्बन्धले काम गरेको थियो!
नेपाली, चिनियाँ र अंग्रेजी भाषामा प्रकाशित त्यस नक्साको मुन्तिर यदुनाथप्रति आभार प्रकट गरिएको छ। नेपालमा उक्त नक्सा दरबार, यदुनाथ, जयराज लगायत सीमितसँग मात्रै छ।
सगरमाथा कसको हो भन्ने नेपाल–चीन विवादमा यदुनाथ खरो उत्रिए। बिपी कोइराला र चिनियाँ प्रधानमन्त्री चाउ एन लाईबीचको बहसका यी जानकारले माओ त्से तुङदेखि प्रधानमन्त्री ल्यु शाओ चीसँग राजा महेन्द्रको वार्ताको वातावरण मिलाए। सगरमाथाको चुचुरो नेपालकै भयो भनी चिनियाँले वचन दिए पनि यदुनाथ त्यसलाई कागजमा लेखाउन चाहन्थे। घुमाउरो पाराले महेन्द्रको वक्तव्यमार्फत चिनियालाई 'सगरमाथा नेपालको हो भनी भन्दिएकामा धन्यवाद' लेखाएर भए पनि यदुनाथले आफ्नो कौशल देखाएका थिए।
साहित्यका विद्वान यदुनाथले कालान्तरमा माओ त्से तुङका केही कवितालाई संस्कृतमा अनुवादसमेत गरे।
२०३० सालमा यदुनाथ अमेरिकाको राजदूत भएर जाँदा अमेरिका साम्यवादी शिविरको केन्द्र सोभियत संघसँग भिड्दै थियो भने चीन विश्वशक्तिका रूपमा उदाउँदै थियो। नेपालसँग सिमाना जोडिएको चीनलाई विश्वासमा लिएर सोभियत संघसँग भिड्ने मौका हेरिरहेको थियो अमेरिका। सोभियत संघलाई ढाल्न चीनको साथ नभई नहुने अमेरिकाले बुझ्न थालेको थियो। यो तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको रणनीति थियो। त्यसका योजनाकार थिए, अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर। किसिन्जर अघि सरेर चीनसँग बढाएको कूटनीतिको समयलाई 'किसिन्जर युग' भन्ने गरिन्छ। अनि, निक्सनको नीतिलाई 'निक्सन डक्ट्रिन'।
तिनै किसिन्जर काठमाडौं आएका बेला एक कार्यक्रममा यदुनाथले सोधेछन्, 'अमेरिकाले छुट्टाछुट्टै देशसँग डिल गरेर साध्य हुँदैन, विभिन्न महादेशमा छुट्टाछुट्टै भाले राख्नुपर्छ र उनीहरूमार्फत साना देशलाई चलाउनुपर्छ भनी एकपटक लेख्नुभएको थियो, अहिले पनि त्यही ठान्नुहुन्छ?'
यदुनाथको चातुर्यपूर्ण प्रश्नको भित्री अर्थ पश्चिमका कौटिल्य मानिने किसिन्जरले नबुझ्ने कुरै थिएन। महाद्विपपिच्छे साना शक्तिशाली देश हावी हुँदै गइरहेका थिए। आफूभन्दा साना देशलाई तिनले निल्न सक्ने हल्ला खुब चलेको थियो। जस्तो, दक्षिण एसियामा भारत अरू देशमाथि हावी हुने खतरालाई अमेरिकाले साथ दिने हो कि भन्ने सन्देह यदुनाथको मनमा थियो।
यदुनाथको प्रश्नमा नेपालको स्वाधीनता र बाह्य सम्प्रभुता जोडिएको थियो। किसिन्जरले कूटनीतिक पारामा जवाफ फर्काए, 'ए, त्यो त मैले विश्वविद्यालयमा पढाउँदा बेला लेखेको हुँ।' त्यसको अर्थ नेपालबारे निर्णय लिँदा अमेरिका भारतलाई सोध्दैन र नेपाललाई कुनै खालको खतरा छैन भन्ने लाग्थ्यो।
सबभन्दा रमाइलो कुरा त, तत्कालीन अमेरिकी राष्ट्रपति निक्सनले यदुनाथको ओहोदाको प्रमाणपत्र बुझ्दै 'उनीजस्तो ख्यातिप्राप्त र उच्चसम्मानप्राप्त व्यक्तित्व आफ्नो देशका लागि राजदूत भएकामा अमेरिका नै सम्मानित भएको' प्रत्युत्तर लेखेको प्रसंग उनको जीवनी पुस्तक (यदुनाथ खनाल : जीवनी र विचार, पृष्ठ १५९) मा छ। कुनै पनि नेपाली राजनीतिज्ञ र कूटनीतिज्ञका लागि यो दुर्लभ घटना थियो।
नेपाल–अमेरिका सम्बन्ध बिग्रेकै बेला यदुनाथ अमेरिकाका लागि राजदूत भएर गएका थिए।
सम्बन्ध बिग्रनुको कारण थियो – खम्पा विद्रोह। त्यही वर्ष अर्थात सन् १९७५ मा तिब्बती शरणार्थीले मुस्ताङमा सशस्त्र विद्रोह गरेका थिए। चीनविरोधी उक्त घटनाका विद्रोहीलाई सरकारले निशस्त्र गर्यो५। कारबाही क्रममा वाङदी लामालगायत केही तिब्बती मारिए पनि। एक कूटनीतिज्ञका अनुसार ती विद्रोहीलाई उक्साउन अमेरिकी जासुसी संस्था सिआइएले हतियार दिएको चिनियाँ आशंका थियो। सरकारले तिनको हतियार खोसेर काठमाडौंको टुँडिखेलमा प्रदर्शन गर्योल। यस घटनाले अमेरिका नेपालसँग नराम्ररी चिढियो– चीनलाई सघाएको आरोपमा।
ती कूटनीतिज्ञका अनुसार यदुनाथ अमेरिका जानेबित्तिकै विदेश मन्त्रालयका उच्च अधिकारीलाई भेटे। 'चीनसँग सम्बन्ध सुधार्ने एजेन्डा त तिमीहरू स्वयंको होइन र?' यदुनाथले कौशल देखाउँदै लबिङ गरेको ती कूटनीतिज्ञ सम्झन्छन्, 'त्यही भएर दुई वर्षअघि राष्ट्रपति निक्सनले चीन भ्रमण गरेको होइन र? त्यसैले तिमीहरूको असल सम्बन्धका लागि हामी पनि तिमीहरूकै पक्षमा गयौं। हामीलाई विश्वास गर।'
यदुनाथको क्षमता सम्झाउन यति घटना काफी भएको ती कूटनीतिज्ञ तर्क गर्छन्।
सन् १९८५ मा सार्क स्थापना भयो। स्थापनाअघि सार्क बडापत्र बनाउन भुटानको थिम्पुमा शिखर बैठक भएको थियो। नेपालबाट यदुनाथ गए। सार्क बडापत्रको अन्तिम मस्यौदा पनि उनले नै गरेका थिए। उपस्थित प्रतिनिधिमध्ये सबैभन्दा वरिष्ठ खनालले खुलस्त प्रस्ताव राखे, 'सार्क सचिवालयको कार्यालय काठमाडौंमा राख्ने नेपालका राजाको चाहना छ, तपाईंहरूलाई कस्तो लाग्छ कुन्नि!'
एकातिर खनाललाई सबैले मान्ने। अर्कातिर, उनीहरू एकले अर्कालाई नमान्ने। नयाँ दिल्लीमा सचिवालय राख्न पाकिस्तान नमान्ने, इस्लामावादमा राख्न भारत नमान्ने। कुनसँग कुन नमान्ने। यिनै अन्तर्विरोध पहिचान गर्दै खनालले बुद्धिमतापूर्ण कार्ड सुरुमै फालिहाले। परिणाम, आजसम्म सार्क सचिवालय काठमाडौंमै छ।
राष्ट्रसंघीय महासभा बैठकमार्फत विश्व कूटनीतिक मञ्चमा पनि पटकपटक यदुनाथले आफ्नो विद्वता झल्काएका छन्।
२०१७ असोजमा राष्ट्रसंघीय महासभामा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालासँग यदुनाथ पनि गएका थिए। त्यहाँ उनले लेखेको भाषण बिपीले पढे। भाषणको मजबुन थियो, 'नेटो र वार्सा नामक दुई सैन्य धुरीमा विभाजित सम्भावित युद्धको पक्षमा नेपाल छैन। फेरि पनि विश्वयुद्धको सम्भावना छ। ठूला राष्ट्रको लडाइँमा हामी साना देश पेलिन चाहँदैनौं।'
यदुनाथले लेखेको यो भाषणले महासभामा ठूलो प्रशंसा पायो। बिपीले यसबारे आत्मवृत्तान्तमा उल्लेख गरेका छन्।
त्यसको केही वर्षपछि राजा महेन्द्रसँग उनी राष्ट्रसंघ गए। त्यहाँ पनि भाषण लेखे। महेन्द्रले यदुनाथका शब्द बोले, 'संयुक्त राष्ट्रसंघको विकल्प छैन। विकल्प छ भने त्यो अझै बढी शक्तिशाली राष्ट्रसंघमात्रै हुन सक्छ।'
पर्दामा जो हिरो भए पनि नेपथ्यमा त यदुनाथ नै वास्तविक हिरो थिए।
लामो दूरीको कूटनीति
सत्याल पब्लिकेसन्सले प्रकाशन गरेको 'नेपाल ननआइसोलेसनिस्ट फरेन पोलिसी' पुस्तकको प्राक्कथनमा यदुनाथले परराष्ट्र कूटनीतिको क्षेत्रमा आउने आफ्नो कुनै योजना नरहेको तर मुलुकको परिस्थितिले हुत्याएर त्यहाँ पुर्या एको उल्लेख गरेका छन्। २०१७ मा राजाले सेनाको बलमा सत्ता हत्याएपछि उनलाई सिधै परराष्ट्र सचिव बनाइएको प्रसंग त्यहाँ लेखिएको छ।
पत्रकार ध्रुवहरि अधिकारीका अनुसार यदुनाथ त्यहाँ जानुका पछाडि राजालाई सहयोग गर्ने मनसुबा थिएन। बरु राष्ट्रका लागि के गर्न सकिन्छ भन्ने चिन्तनको परिणति थियो। 'आफू टेक्नोक्रेट भएकाले जुन राजनीतिक पद्दतिले सत्ता चलाएको छ, उससँग काम गर्नु उहाँको आवश्यकता र बाध्यता दुवै थियो,' उनी भन्छन्।
पूर्वराजदूत भेषबहादुरको भनाइमा राजा महेन्द्रले पनि केवल आफू र राजसंस्थाप्रति बफादार पात्र खोजेका थिएनन्। 'मुद्दा राजसंस्था होइन, राष्ट्रियता हो भनेर राजाले हामीलाई भनेका थिए,' भेषबहादुरले महेन्द्रले त्यसबेला यदुनाथ, उनीसहित ९ सचिवलाई दिएको निर्देशन नागरिकसँगको बसाइमा सम्झे, 'तिमीहरूले केवल देशलाई हेरे पुग्छ, मलाई हेर्नुपर्दैन। म त भोलि नरहुँला, देश त रहिरहन्छ।' केवल देश बनाउने, देश बनाउने भन्ने निरन्तरको अन्तरआग्रहले यदुनाथलाई निर्देशन गर्ने गरेको उनी सम्झन्छन्।
यदुनाथ बितेकै साता विश्लेषक सिके लालले नेपाली टाइम्स अंग्रेजी साप्ताहिकमा 'लास्ट अफ द मन्डारिन्स' शीर्षकमा लेखे– 'यदुनाथ नेपाली कूटनीतिका भीष्मपितामह थिए, जसले दुर्योधनसँग असहमति राखे, तर सघाए।'
आफ्नो 'बायोग्राफी' लेख्ने कुरालाई सदैव नकार्दै आएका यदुनाथ सार्वजनिक जीवनमा आएपछि गरेका सन्धिसम्झौता, वार्ता आदिबारे भने उदात्त ढंगले धारणा पस्कन्थे। 'अन्तर्वार्ता दिन मान्नुहुन्नथ्यो,' पत्रकार ध्रुवहरि भन्छन्, 'मेरो विचार पुस्तकहरूमा लेखेको छु, त्यसबाहेक थप कुरा केही छैन भन्नुहुन्थ्यो।'
चीन र भारतको लडाइँबाट नेपालले फाइदा उठाउन सक्नुपर्ने भनी कतिपय बुद्धिजीवीले भन्ने गरेका विचारसँग उनले असहमति जनाएको 'नेपाल ननआइसोलेसनिस्ट फरेन पोलिसी' पुस्तकको परिचय खण्डमा लेखेका छन्। 'चीन–भारत युद्धबाट नेपालले फाइदा उठाउनुपर्छ, तिनको युद्ध भयो भने नेपालमा भारतीय दबाब आफसेआफ घट्छ भनेर प्रेसमा विचार आएका थिए,' तेस्रो पृष्ठमा उनी लेख्छन्, 'मेरो विचार कहिल्यै त्यस्तो थिएन, छैन। त्यस्ता घटनासँग असंलग्न रहने नीति अख्तियार गरेर नै नेपालको राष्ट्रिय स्वार्थ सुरक्षित रहन सक्छ।'
त्यही पुस्तकको परिचय खण्डमा उनले अर्को महत्वपूर्ण सन्दर्भ उप्काएका छन्। २०३६ सालमा उनी चीनको राजदूत छँदै काठमाडौं आएका बेला बिपी कोइरालाले भेट्न चाहेको भनी खबर पठाएछन्। बिपी २०१६ सालमा प्रधानमन्त्री भएका बेला सँगै राष्ट्रसंघ महासभामा गएको बाहेक यदुनाथको त्यसपछि भेट नै भएको रहेनछ। आफूले श्रद्धा गरेको नेता भए पनि बहालवाला राजदूत भएकाले व्यवस्थाविरोधी नेतालाई उनको निवासमा भेट्न जान नसक्ने खबर पठाए। आफ्नो घरमा बोलाउन सक्ने कुरै भएन।
दुवैलाई असुविधा नहुने ठाउँमा भेट्ने चाँजो मिलाइयो। यदुनाथले सोचेभन्दा ठूलो टिम बिपीका तर्फबाट आयो। त्यहाँ कृष्णप्रसाद भट्टराई, गणेशमानसिंह, शैलजा आचार्य, परशुनारायण चौधरी, ऋषिकेश शाह र चुडाप्रसाद शर्मा उपस्थित थिए। उनीहरूसँग हल्काफुल्का गफ चल्दाचल्दै बिपी आइपुगे। त्यसपछि निजी कोठामा दुईजना गए, यदुनाथ र बिपी। बिपीले दायाँबायाँ कुरा नघुमाई सोधे, 'नेपाली कांग्रेस र विशेषगरी मेरोबारे चिनियाँ धारणा कस्तो छ खनालजी?'
बिपीले कुनै प्रभावकारी मिसनमार्फत चिनियाँ स्थायी प्रतिनिधिसँग सम्पर्क बढाउन खोज्दै गरेको यदुनाथले आफ्नै स्रोतहरूबाट चाल पाइसकेका थिए। उनले जवाफ फर्काए, 'विश्वेश्वरबाबु, कांग्रेस र विशेषगरी तपाईंमाथि उनीहरूको विचार के छ भन्ने त मलाई केही भनिएको छैन। यस्तो कुरा सोध्नु संवेदनशील पनि हुन्छ। मेरो विश्लेषण सोध्नुहुन्छ भने चिनियाँ नीति अहिले राजा वीरेन्द्रसँग नै काम गरिरहेको छ। उनीहरू जिब्रोले एउटा बोलेर पेटमा अर्को कुरा राख्दैनन्। जे बोल्छन्, त्यही गर्छन्।'
आफ्नो जवाफ बिपीले नरुचाएको र जवाफ सुन्नासाथ जुरुक्कै उठेर अर्को सामूहिक कोठामा गएको उनले लेखेका छन्।
राष्ट्रसंघमा ठूला देशहरूको बलमिच्याइँमा साना राष्ट्र परेकोतर्फ चिन्ता जनाउँदै उनले ठूला देशहरूकै कारण राष्ट्रसंघभन्दा पहिले गठित 'लिग अफ नेसन्स' असफल भएको तर्क गरेका छन्। आधुनिक विश्वको सबैभन्दा भरपर्दो अन्तर्राष्ट्रिय संस्था राष्ट्रसंघ भएकोमा त्यसको सदस्य राष्ट्रका हैसियतले नेपालले समेत गर्व गर्नुपर्ने उनको मत छ। तर, उनी त्यत्तिमै अड्किँदैनन्।
'त्यसो भए के राष्ट्रसंघले प्रदान गरेको सुरक्षाको अनुभूतिमा रमाएर नेपालीहरू केही नगरी निश्चिन्त बस्ने? या राष्ट्रहरूको एकता र मानवताका उच्च आदर्शबारे भावुक भएर कविता लेख्नमा मात्रै सीमित हुने?' यदुनाथ लेख्छन्, 'राणाकालमा नेपाल बाँकी विश्वबाट अलग बसेको थियो। राणाहरूको उद्देश्य पनि त्यही थियो। युवा पुस्ताले यसलाई बुझेर विश्व मामिलाबारे गहन ज्ञान लिनुपर्छ।' यस्ता कुरा लेख्ने यदुनाथ आफंै पनि त्यसबेला युवा नै थिए।
जयराज आचार्य भन्छन्, 'उनी भयंकर परिश्रम गरेर पढ्थे भन्ने उनको लेखाइबाट प्रत्यक्ष थाहा हुन्छ, समकालीन नेपालको चुनौती र विश्व परिस्थितिको ज्ञानबारे उनले जति अरू कुनै नेपालीले पढेन।'
यदुनाथको अतुलनीय कूटनीतिक र बौद्धिक क्षमताले नेपाल सानो देश भइकन पनि विश्व कूटनीतिक मञ्चमा एकैचोटि स्थापित भयो। पत्रकार ध्रुवहरिका अनुसार 'उदुम्यान' नामक सोभियत राजदूतले यदुनाथलाई संयुक्त राष्ट्रसंघको महासचिव बन्न प्रस्ताव गरे। त्यसबेला विश्वका दुई महाशक्तिमध्ये एक देशबाट यस्तो प्रस्ताव आएपछि यदुनाथले 'राजासँग सोध्नुपर्ने' जवाफ दिए।
अमेरिकी राजदूत बनेर आएकी पुरानै साथी क्यारोल सी लेससँग यदुनाथले यस्तो सम्भव होला त भनी परामर्श गरे। रुसको प्रस्ताव सामान्यतया अमेरिकाले मान्ने कुरो थिएन।
'राम्रो र उपयुक्त प्रयास भएछ,' क्यारोलले जवाफ फर्काइन्, 'तपाईं राष्ट्रसंघ हाँक्न योग्य मानिस हो, तर ग्लोबल पोलिटिक्सका प्रभावलाई पनि हेर्नुपर्ने भएकाले अलि सोच्नुपर्छ।'
सुरक्षा परिषदका कुनै एक देशले भिटो लगाए पनि प्रस्ताव फेल हुन सक्थ्यो। रुसको प्रस्तावलाई अमेरिकाले आँखा चिम्लेर किन सदर गर्थ्यो! यदुनाथका लागि प्रस्ताव गरिएको कुर्सीमा म्यानमारका उ थान्त बस्न पुगे।
यदुनाथ राष्ट्रसंघ महासचिव हुन नसक्नुमा आन्तरिक कारण सबैभन्दा प्रबल थियो। एक कूटनीतिज्ञका अनुसार राजा महेन्द्रका लागि यदुनाथ आफूले सम्मान गरेका प्राज्ञ भए पनि 'रैती' नै थिए, जो प्रोटोकलअनुसार आफूभन्दा मुनि मानिन्थे। यदुनाथ राष्ट्रसंघ महासचिव भएको खण्डमा प्रोटोकलअनुुसार राजाले अभिवादन गर्न जानुुपर्थ्यो। महेन्द्रका लागि आफूभन्दा रैती अगाडि गएको 'मान्य थिएन'।
सन् १९६५ मा भएको हतियारसम्बन्धी सहमतिले यदुनाथलाई विवादमा तान्यो। उनलाई गलत रूपमा प्रस्तुत पनि गरियो। त्यस सहमतिअनुसार 'भारतले प्रदान गर्ने रक्षा सामग्री अपुग भए थप सामग्री आपूर्तिका लागि नेपालले अमेरिका र बेलायतसँग गरेको सम्झौताप्रति भारत सरकारको समझदारी रहेको' भन्ने प्रावधान राखिएको थियो। यसै पंक्तिलाई समातेर विरोधीहरूले यदुनाथले भारतसँग आत्मसमर्पण गरेको अभियोग लगाएका थिए। समर्थकले भने भारतसँग मात्रै निर्भर नरही बाहिरबाट समेत हतियार झिकाउन पाउने भएकाले नेपालको हितमा गरिएको सकारात्मक सहमति भनी अर्थ्याएका थिए।
'नेपालको उत्तरी सीमास्थित भारतीय चेकपोस्ट तथा सैनिक सल्लाहकार हटाउने सहमतिअनुसार खनालजीले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो,' पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टलाई उद्धृत गर्दै पत्रकार युवराज घिमिरेले खनाल बितेकै साता समय साप्ताहिकमा लेखेका थिए, 'राजा महेन्द्र र मेरो पूर्ण सहमति उहाँलाई थियो।'
...
कूटनीतिज्ञ भेषबहादुर थापा नेपालका लागि औधी महत्वका राष्ट्रमध्ये भारत र चीनको राजदूत भए, जुन जिम्मेवारी उनीभन्दा धेरै अघि यदुनाथले सम्हालेका थिए। राजा महेन्द्रले यदुनाथ, भेषबहादुरसहित नौ सचिव नियुक्त गरेका थिए। ती सबै नेपाली बौद्धिक समुदायका दिग्गज थिए। ती नौमध्ये आज भेषबहादुरमात्रै छन्।
आफूहरू राजतन्त्रको नभई राष्ट्रको 'भ्यानगार्ड' भएको भेषबहादुर जिकिर गर्छन्। 'यदुनाथ सर हामीमध्ये श्रद्धेय हुनुहुन्थ्यो, किनकि उहाँको पृष्ठभूमि प्रशासनको थिएन, प्राज्ञिक थियो,' भेषबहादुर भन्छन्, 'अहिलेको जस्तो सुविधासम्पन्न जमाना थिएन, हामी सिक्दै गर्दै गरिरहेका थियौं। तैपनि यदुनाथ सर र हामीलाई उत्प्रेरित गर्ने एउटै मूल तत्व थियो– राष्ट्रियता।'
उनी थप्छन्, 'सिकारु भए पनि हामीले व्यक्तिगत लाभका लागि काम गरेनौं, बरु राष्ट्रिय एजेन्डा के हुन सक्छ भन्नेबारे सधैं अध्ययन र विश्लेषण गर्यौं।'
बहुदल आएपछि नेताहरूले यदुनाथलाई भेट्न आउने क्रम जारी नै राखे। तिनको प्रस्तुति हेरेर यदुनाथ भेषबहादुरसँग टिप्पणी गर्ने गर्थे, 'हामीले यस्ता मानिसलाई पनि प्रयोग गर्यौंस भनेर बाहिर देखाउनमात्रै प्रयोग गर्न खोजेका हुन्, काम लिन खोजेका होइनन्।'
भेषबहादुर यदुनाथले बसालेको समृद्ध कूटनीतिक मान्यता सम्झन्छन, अनि दिक्दारी मान्छन्, 'त्यो परम्परा जोगाउने काम भएन। आज त उपसचिव स्तरका बाहिरियाले देशलाई डिक्टेट गरेर बसेका छन्। यदुनाथजीका पालामा त्यस्तो हुँदैनथ्यो।'
भेषबहादुरका अनुसार अहिले पनि नयाँ यदुनाथ जन्माउन सकिने सम्भावना छ। त्यसका लागि राष्ट्रिय लक्ष्य स्पष्ट पार्नुपर्ने बेला आएको छ। 'उहाँबाट सिक्ने ठाउँ प्रशस्त छ, तर अब्जेक्टिभ र इन्ट्रेस्ट नै फरक परेपछि बर्बाद हुन्छ,' भेषबहादुर भन्छन्, 'सिकेर, जानेर, पढेरमात्रै हुँदैन, आफ्नोपन कायम राख्न सक्नुपर्छ, राष्ट्रिय लक्ष्य निर्धारण गर्ने कुरामा अहिले कन्फ्युजन छ।'
यदुनाथ एक त निजामति पृष्ठभूमिबाट राष्ट्रसेवामा आएका थिएनन्। अर्कातिर 'जागिरे चिन्तन'भन्दा धेरै माथि थिए। उनीभित्रको प्राज्ञिक व्यक्तित्व सदैव परराष्ट्रनीति बनाउने र कार्यान्वयन गर्ने तहमा रह्यो।
कूटनीति, साहित्य र शिक्षाका यी शिखर पुरुषले 'विश्वको राजनीतिक मानचित्रमा नेपाल भन्ने देश पनि छ, त्यो भूगोल र जनसंख्याले सानो भए पनि स्वतन्त्र र स्वाभिमानी मुलुक हो' भनेर प्रस्टसँग चिनाए। भेषबहादुरका अनुसार २००७ सालपछिको नेपाल बनाउन राज्यले खोजेका विद्वतवर्गमध्ये सबैभन्दा अघिल्लो पंक्तिमा थिए, यदुनाथ। सात सालको क्रान्तिपछिका सत्तालाई प्रजातन्त्र र आधुनिकीकरणको जग हाल्न सक्ने सिपालु कालिगढ चाहिएको थियो। त्यही भएर बिपीको पालादेखि राजा महेन्द्र, वीरेन्द्र हुँदै ०४६ मा प्रजातन्त्र पुनर्स्थापनापछि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासम्मले परराष्ट्र मामिलाको जिम्मा यदुनाथलाई नै दिए।
यदुनाथसँग उनको जीवनका आखिरी क्षणमा निरन्तर अन्तर्क्रियामा रहेका पत्रकार धु्रवहरि अधिकारी परराष्ट्र सेवातिर लाग्नेबारे यदुनाथले सुरुमा केही नसोचेको बताउँछन्। आइएस्सीमा राम्रो नतिजा निकालेपछि डाक्टर बन्ने उनको मनसुबा तत्कालीन शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेरको पक्षपातका कारण सम्भव हुन सकेन। 'डाक्टर भएको भए अलि थोरै मानिसको सेवा गर्न पाउँथे हुँला,' यदुनाथले आफूसँग भनेका कुरा ध्रुवहरि सम्झन्छन्, 'जीवनभरि त्यहीँनेर खुम्चिन्थेँ कि, तर संयोग र साधनाले धेरैको सेवा गर्न पाएँ।'
कारिन्दा होइन, स्वतन्त्र चिन्तक
यदुनाथ र अरू सरकारी कारिन्दामा आकाश–पातालको फरक थियो। कारण, उनी माथिबाट आएको आदेश खुरुखुरु कार्यान्वयन गर्ने खालका थिएनन्, स्वतन्त्र चिन्तक थिए। आफूलाई लागेको कुरा भनिहाल्थे।
जस्तो, २०२६ चैत १७ गते जापानको ओसाका सहरमा भएको एक्स्पो–७० मा भाग लिन जाँदा राजा महेन्द्रले तत्कालीन परराष्ट्र सचिव यदुनाथलाई साथै लगेका थिए। तत्कालीन जापानी प्रधानमन्त्री इसाको सातोले नेपालका राजाको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए। रात्रिभोजमा इसाकोले दिने भाषणको प्रत्युत्तर नेपालको कुनै मन्त्रीले दिने राजाको निर्देशन थियो। यदुनाथलाई राजाको निर्णय जचेन। रात्रिभोजअघि नै महेन्द्रले यदुनाथलाई बोलाएर सोधे, 'खनाल, तिम्रो केही भन्नु छ?'
यदुनाथले भने, 'सरकार, प्रधानमन्त्री इसाकोको रात्रिभोज–भाषणको प्रत्युत्तर सरकार स्वयंबाट बक्सनु उपयुक्त हुन्छ।'
महेन्द्रले तुरुन्तै यदुनाथको विचार स्वीकार गरेको सन्दर्भ जयराज आचार्यको पुस्तक 'यदुनाथ खनाल : जीवनी र विचार' मा छ। तत्कालीन मन्त्री नवराज सुवेदी हालसालै प्रकाशित आफ्नो पुस्तक 'इतिहासको एक कालखण्ड' मा सोही भ्रमणको सन्दर्भ जोड्दै लेख्छन्, 'प्रोफेसर यदुनाथ खनालप्रति राजाको ठूलो सम्मान देखेँ।'
उनी महेन्द्रका बारेमा पनि आलोचना गर्न पछि हट्दैनथे। महेन्द्रले साहित्यिक उपनाम 'मविवि शाह' को नामबाट निकालेको 'उसैको लागि'बारे समीक्षकले प्रशंसा गर्दै समालोचना गरेका थिए। उनीहरूले महेन्द्रले रानी रत्नका लागि समर्पण गर्दै यो पुस्तक लेखेको दाबी गर्थे। यदुनाथले 'स्ट्रे थट्स' नामक आफ्नो पुस्तकमा समीक्षा लेखेका छन्, जसको शीर्षक छ : 'फर हिम अलोन।' त्यस समीक्षाको सार यस्तो छ : राजा महेन्द्र आत्मकेन्द्रित मानिस हुन्। 'उसैको लागि' वा कसैको लागि सोच्ने सोख उनको छँदै छैन।
'पञ्चायत राम्रो लागेर बुवाले महेन्द्रसँग काम गर्नुभएको थिएन,' यदुनाथका छोरा उदयराज भन्छन्, 'नेपालका लागि केही गर्न सकिन्छ कि भनेर त्यो व्यवस्थाभित्र छिर्नुभएको थियो।'
२०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि बानेश्वर हाइटस्थित यदुनाथ निवास पुगे। 'तपाईंलाई मन्त्रिस्तरीय सल्लाहकार बनाउँछु, मद्दत गरिदिनुपर्योे।'
केहीबरे सोचेर यदुनाथले जवाफ दिए, 'बुढेसकाल छ। तैपनि जतिसक्दो गरिदिउँला।'
यदुनाथले सकारात्मक जवाफ दिनुका पछाडि कारण रहेछ। गिरिजाप्रसाद प्रधानमन्त्री हुनेबित्तिकै संसदमा नेकपा एमालेले सन् १९५० को सन्धिमाथि पुनरावलोकन हुनुपर्छ भनी चर्काे आवाज उठायो। गिरिजाप्रसादले पनि संसदमै बोले, 'सन् १९५० को सन्धिमाथि पुनर्विचार हुन सक्छ।'
यदुनाथलाई आश रहेछ– सन् ५० को सन्धि पुनरावलोकन लर्तरो कुटनीतिबाट सम्भव छैन। भारतसँग सबैभन्दा चुनौतीपूर्ण घडीमा राजदूत सम्हालेको पृष्ठभूमि भएको हुनाले प्रधानमन्त्रीले पक्कै आफूलाई जिम्मा देलान्।
डेढ वर्ष बितिसक्दासम्म गिरिजाप्रसादले यदुनाथलाई केवल भाषण लेख्ने काममा सीमित गरेछन्। दिनभर सिंहदरबारको छिँडीमा गएर पत्रिका पढ्यो, अनि कामै नगरी फर्कियो। सन्धि पुनरावलोकनको त कुरै छैन। तीन देशसँग तरबारको धारमाथि हिँडेर कूटनीतिमा सफल हुँदै आएका यदुनाथले भाषण लेखेर बस्ने काम 'इन्टरटेन' गर्ने कुरै भएन। २०४९ कात्तिक २४ गते राजीनामा गरिहाले, जुन तीन दिनपछि स्वीकृत भयो।
यदुनाथको जीवनीमा इतिहासकार प्राध्यापक कमलप्रकाश मल्लको लामो उद्धरण छ। त्यसलाई छोटोमा व्यक्त गर्दा यस्तो हुन्छ : 'नेपालका बुद्धिजीवीलाई सिंहदरबारले सोसेर लिन्छ, त्यहाँका फाइलहरूमा हराउँछन् बुद्धिजीवीहरू। सिंहदरबारका मटान र चोटाकोठामा अधिकांश मानिस छायाँजस्तै हिँडिरहेका छन्। तर सिंहदरबार पसेर पनि स्वतन्त्र व्यक्तित्वका साथ निस्कने व्यक्ति यदुनाथ हुन्।'
जयराज थप्छन्, 'सामान्य परिवारबाट आएर नेपालका लागि असामान्य योगदान दिने यदुनाथ केवल व्यक्ति होइनन्, स्कुल हुन्, आइडिया हुन्, इस्यु हुन्।'
जीवनका आखिरी दिनहरूमा यदुनाथ नेपालको कूटनीतिक रवैयासँग पूरै असन्तुष्ट भएको बताउँछन् पत्रकार ध्रुवहरि। 'पोलिटिक्स अफ लुज थिंकिङ एन्ड लुज टर्म्स,' यदुनाथले समकालीन राजनीतिज्ञबारे गरेको टिप्पणी उनी सम्झन्छन्।
यदुनाथ र उनका अनुयायीले कूटनीतिको नेतृत्व गर्दा अहिलेजस्तो सूचना–प्रविधि थिएन। सिक्दै गर्दै गर्ने त्यो चरणमा पनि यदुनाथको कूटनीतिक परिपक्वता प्रस्टै झल्किने गरेको भेषबहादुर बताउँछन्। 'उहाँको कूटनीति उद्देश्यमूलक हुन्थ्यो, त्यसैले परराष्ट्रनीति नबनेका बेला पनि उहाँले त्यसलाई संस्कार दिनुभयो,' जयराज भन्छन्, 'यतिका वर्षपछि पनि उहाँको चिन्तनभन्दा अघि बढ्नु त कता हो, भएको परम्परासमेत बिग्रन थालेको छ। अहिले नेपालको कूटनीति दिशा हराएको कम्पासजस्तो भएको छ। यस्तो बेला यदुनाथको सान्दर्भिकता अझै खड्किन्छ।'
भेषबहादुरका अनुसार राजा होइन, राष्ट्रियता सोचेर समर्पित हुने आचरणले नै नेपाल माथिल्लो स्तरको कूटनीतिमा गनिन्थ्यो। 'अहिले हाम्रो कूटनीतिको लक्ष्य हराएजस्तो देखिन्छ,' भेषबहादुर यदुनाथकाल र समकालबीच तुलना गर्छन्।
यदुनाथको जीवनका सबैभन्दा महत्वपूर्ण दस्तावेज उनले जयराजलाई नै सुम्पेका छन्। सामान्यतया पुर्ख्यौली सम्पत्तिको भोगचलन छोराले गर्ने पितृसत्तात्मक समाजमा यदुनाथले भने आफ्नो पहलमा भएका सर्वाधिक महत्वपूर्ण सन्धिसम्झौता र वार्ताका दस्तावेज जयराजलाई सुम्पे। 'एम्बासेडर्स रिपोर्ट'का कतिपय गोप्य फाइलका प्रतिलिपि जयराजलाई दिएर 'गह्रुंगो भारी' बोकाइदिए।
नयाँ यदुनाथ जन्माउन
नौ वर्षअघि, २०६१ असोज १६ गते।
त्यस दिन बिहान तीन बजे यदुनाथ सधैंझैं उठेका थिए। पाइखाना गए। दाँत माझे। अनि आराम गर्दै बसे। मृत्युको पूर्वसंकेत पाएका थिए क्यारे! कसैलाई पर्खिरहेझैं बिछ्यौनामै लेटिइरहेका थिए। त्यही बेला हृदयाघात भयो। अप्ठेरो शारीरिक क्रियाप्रतिक्रियाबीच ९१ वर्षको उमेरमा उनी पृथ्वीबाट बाहिरिए।
उनी गए, विनाकोलाहल, चुपचाप। आर्यघाटमा उनको चिता जल्दै गर्दा यो देश बेखबर थियो। कारण, उनी आफ्नो जन्म र मृत्युका कारण कसैले दुःख नपाओस् भन्ने चाहन्थे। अन्तिम संस्कारमा कुनै तामझाम नगर्नू भनी निर्देशन दिएका थिए छोरालाई।
'मरेको मान्छेलाई महान देखाउन अबिर र फूलमाला नलाद्नू,' बुवाले दिएको निर्देशन उदयराज सम्झन्छन्, 'शवयात्राको लामो ताँती नलगाउनू।'
उनी भन्छन्, 'जहाँ गए पनि काम सकेर नेपाल नै फर्कने बुवाको इच्छा थियो। पञ्चायत उहाँलाई राम्रो लाग्दैनथ्यो, विश्व राजनीति कुन व्यवस्थाअन्तर्गत चलेको छ भन्ने उहाँलाई राम्ररी थाहा थियो। तर त्यो व्यवस्थाभित्र नपसी काम गर्न नसकिने उहाँको विश्लेषण थियो। किनकि, उहाँ व्यवस्था बदल्ने क्षेत्रमा हुनुहुन्नथ्यो।'
हार्वर्डलगायत विश्वका गनेचुनिएका विश्वविद्यालयका जर्नलमा नियमित लेख्दै आइरहेका उदयराज बुवाकै आदर्श अनुसरण गर्दै काठमाडौं बसिरहेछन्।
हामीले सोध्यौं, 'सबैले तपाईंको बुवालाई महान भन्छन्, तपाईंलाई चाहिँ आफ्नो बुवा साँच्चिकै महान मानिस हो भन्ने सबैभन्दा पहिले कहिले अनुभूति भयो?'
उदयराज मुस्काए, 'अरू सरकारी सचिवहरू गाडी चढ्थे, तलब बढी लिन्थे, बुवाले ती दुवै लिनुभएन। बेलायतकी महारानी एलिजावेथ आएका बेला मात्रै उहाँले गाडी माग्नुभयो। त्यसबेला बुवा ठूलो छाती भएको मानिस हो भन्ने लाग्यो।'
प्रोफेसर पिताले थालेको कूटनीति उत्कर्षमा पुगेको दिन देखेका यी प्रोफेसर छोरा थकथकी मान्छन्, 'उहाँले जुन संस्कार बसाल्न खोज्नुभयो, त्यो आज बनेन।'
यदुनाथको छिमकमै बस्ने भेषबहादुरका अनुसार हत्तपत्त अरूलाई भेट्न नजाने यदुनाथ आफूकहाँ भने सुमसुम हिँड्दै आउने गरेको सम्झन्छन्। बित्नुअघिका बसाइमा यदुनाथ देशको गतिविधिसँग असन्तुष्ट हुने गरेको बताउँछन् उनी। 'भित्री तवरबाट मुलुकको गतिविधिसँग उहाँ दुःखी हुनुहुन्थ्यो,' उनी भन्छन्, 'बहुदलको विकल्प त कहिले पनि देख्नुभएन, तर राजनीतिक कार्यशैलीमा व्यापक परिमार्जनको पक्षमा हुनुहुन्थ्यो।'
कूटनीतिज्ञ जयराजका विचारमा यदुनाथको पालाको कूटनीति उद्देश्यपूर्ण थियो, अहिले उद्देश्य स्पष्ट छैन। 'उहाँहरू स्पष्ट भाषामा अडान राख्नुहुन्थ्यो, अहिले कोही अडान राख्दैन,' उनी दिक्दारी दर्शाउँछन्, 'राजनीतिक नेतृत्व वर्ग नै भ्रष्ट भइदियो, त्यसैको असर कूटनीतिमा परेको छ।'
'नयाँ युगमा हिँड्दै गरेको नेपालका लागि नयाँ यदुनाथ चाहिएको छ। तर त्यो कसरी सजिलै पूर्ति होला! एउटा युगमा के एउटा यदुनाथमात्रै जन्मिन सम्भव छ?' नागरिकको प्रश्न उनलाई।
'अहिले पनि यदुनाथहरू छन्, तर किनारामा,' जयराज कटाक्ष गर्छन्, 'नयाँ यदुनाथ जन्माउन सिंगै राष्ट्रको विदेशनीति बनाउनुपर्छ। पार्टीपिच्छे विदेशनीति बनाउनेले यदुनाथ जन्माउन सक्दैनन्।'
- See more at: http://nagariknews.com/feature-article/story/14361.html#sthash.LBUgpcur.dpuf

No comments:
Post a Comment