Friday, August 8, 2014

बागी नेताको भाग्यचक्र

सातदोबाटो–खुमलटार मार्ग। विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) अघिल्तिरको सानो पक्की बाटो केही पर गएर बायाँ मोडिन्छ। भव्य निवासको माथिल्लोपट्टि सुनसान बैठक कोठामा कांग्रेस नेता चक्रप्रसाद बाँस्तोला दीर्घ निःश्वास लिइरहेका छन्। उनको यो एकान्तबास एक वर्षयता निरन्तर छ।


बिपी कोइरालाको वैचारिक भट्टीमा खारिएका यी ७० वर्षे बौद्धिक नेतालाई पोहोर पुसको दोस्रो साता मस्तिष्कघात भएको थियो। त्यसयता सहाराविना जिउ चल्दैन। यो एकान्तबास त्यसपछि मात्रै सुरु भएको भने होइन। एघारौं महाधिवेशनपछि यिनी कांग्रेस राजनीतिको पर्दाभन्दा पर कतै चुपचाप छन्। भर्खरै सम्पन्न नयाँ संविधानसभा चुनावमा उनको दल पहिलो बन्दै सत्तारोहणको तयारीमा छ। समकालीन नेताहरूले बालुवाटारतिर आँखा बिछ्याइरहेका बेला यी खतरनाक 'किङमेकर' यसबेला गुमनाम छन्।

मस्तिष्कघातबाट थलिएयताका एक वर्ष चक्र जीवनमा दोस्रोपल्ट फेरि बालक बनेका छन्। पत्नी कुसुम उनको रेखदेख, स्याहारसुसारमा अहोरात्र खट्छिन्। चक्रले सम्पूर्ण रेखदेख उनीबाटै पाउँछन्। जस्तो, एउटा नवजात शिशुले आमाबाट पाउँछ।

सक्रिय जीवनकालका यी आक्रामक बाघ अहिले चुइँक्क बोल्न सक्दैनन्। बिछ्यौनामा लेटिइरहन्छन्। हेर्न आउने शुभचिन्तकलाई कताकति चिनेझैं गर्छन्। आँखा र शरीरका माध्यमबाट अलिअलि अन्तर्क्रिया गर्छन्। खुसी, पीडा, दुखाइ, वेदना, उत्साह बुझ्न एकमात्रै शक्तिशाली भाषा बनेको छ, इशारा। खुसी हुँदा आँखीभौं तन्किन्छन्। दुःखी हुँदा आँखाको कोश रसाउँछ। चेपचेपबाट आँशु तर्किन्छ। यदाकदा आंैला उठाउन खोज्छन्। त्यत्ति हो।



तर, इशाराको भाषा जीवनसंगिनीजत्तिकै बुझ्न त कहाँ सक्छन् र हेर्न आउनेले!

बिहान छ बजेदेखि राति साढे दस नबज्दासम्म कुसुम केही न केही खुवाइरहेकी हुन्छिन्। ह्विलचेयरमा राखेर बगैंचा घुमाउँछिन्। विशाल पुस्तकालय कोठामा लैजान्छिन्। चक्र आलमारीमा आँखा लगाउँछन्। आफूले जोगाड गरेका पुस्तक छुनसक्ने कुरो भएन। कुसुम म्युजिक प्लेयर खोलेर पुराना गीत सुनाउँछिन्। उनी अनुभूत गरेझैं गर्छन्। के बिहान, के दिन, के साँझ, के रात। चक्रका यी दिन शतप्रतिशत पत्नीमाथि निर्भर छन्।

हेर्दा सामान्य देखिए पनि चक्र एकप्रकारको 'कोमा'मा छन्। नयाँ दिल्लीस्थित मेदान्त हस्पिटलमा तीन महिना र चिकित्सक उपेन्द्र देवकोटाको निगरानीमा सात महिना न्युरो हस्पिटल बसेपछि कात्तिक २२ गते घर फर्काइएका उनी अहिले पनि आइसियु बेडमै आराम गर्छन्। अरूझैं सामान्य खाना खान सक्छन् तर मुखबाट होइन, पाइपबाट। तीनपटक होइन, आठपटक। खाना पनि पाइपबाट छिर्नेगरी मसिनो पारेर पकाउनुपर्छ।

हरेक दुई घन्टामा सुताइको साइड फेरिदिनुपर्छ। दुई नर्स र सहयोगीको सहायताले कुसुम पोजिसन बदल्दिन्छिन्। चक्रलाई गहिरो निद्रा पर्छ।

खुट्टा चलाइदिन खोज्यो भने झस्केर तान्न खोज्छन्। नाकमा रौं बढ्यो भनेर कैंची चलाउन खोज्दा टाउको बटार्छन्।

पुस्तकालय कोठामा अनेक फोटा छन्। तीमध्ये धेरैजसो चक्रका राजनीतिक र कूटनीतिक योगदान झल्काउने खालका छन्। फोटोमा– संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानसँग चक्रले हात मिलाएका छन्। बिपीसँग मुस्काइरहेका छन्। राजा वीरेन्द्र र रानी ऐश्वर्यसँग कुरा गरिरहेका छन््। राष्ट्रसंघ महासभामा सम्बोधन गरिरहेका छन्। अरू पनि छन्।

अझै महŒवपूर्ण, फोटोमा– पत्नी कुसुमसँग प्रेमालाप गरिरहेका छन्। छोरीहरूसँग खिलखिलाइरहेका छन्। बुवासँग उभिएका छन्।

कुसुम पालैपालो फोटो निकालेर उनको अनुहार अघिल्तिर लगिदिन्छिन्। बिपीको फोटो हेर्दा टोलाइरहन्छन् रे! दम्पतीको फोटो हेर्दा आँखीभौं उचाल्छन् रे!

चक्र सक्रिय राजनीतिमा छँदाका सहयोगी नवराज अधिकारी अहिले अशक्त जीवनका सारथी बनेका छन्। हरदम उनीसँगै रहन्छन्। ग्लोबल हस्पिटलका आठ नर्स पालैपालो खट्छन्। डाक्टरले चक्र सामान्य अवस्थामा फर्कन कम्तीमा दुई वर्ष लाग्ने भनेका छन्। पहिलेझैं सक्रिय जीवनमा फर्कने सम्भावनाबारे भने चिकित्सक मौन छन्। भएको के हो, के हुने हो, रामजाने!

पोहोर पुसमा काठमाडौंबाट झापा गएको भोलिपल्ट चक्र बिर्तामोडवरिपरि सानी नातिनी घुमाउँदै हिँडे। केही दिनपछि एक कार्यक्रममा भाग लिन भारतको हैदराबाद जानुपर्ने भएकाले त्यसबीच नातिनी पढाउने शिक्षक खोज्दै हिँडे। पर्सिपल्ट बिहान मोरङ विराटचोकमा बाँस्तोला बन्धुहरूले कुलपूजा कार्यक्रम राखेका थिए। चक्र बिहान उठेर नुवाइधुवाइ गरिवरी हिँड्न ठीक परे। विराटचोकनेर गाडीबाट ओर्लेपछि हिँडेरै कार्यक्रमस्थल गए।

कार्यक्रमस्थलमा बसेको केही मिनेटमा बाथरुम जान खोजे। ढोकानेर पुग्दा शरीरमा असामान्य बाधा परेजस्तो भयो। आत्तिएझैं गरी हात हावामा फैलाए। चिच्याउन खोजे तर मुखबाट एउटै शब्द झरेन।

एउटा हातमा प्लास्टिकको गिलास थियो। अर्को हातले 'कोही आइदेऊ न' को भाकामा गुहार मागे। कुसुमले देखिहालिन्। ढल्न लाग्दालाग्दै कुदेर समाउन आइपुगिन्। अत्तालिएर गाडीमा हाल्न लगाइन्। दस सेकेन्डमै यी सब घटना भए।

त्यसपछि धरान घोपा अस्पताल लगे। घोपाले आफूसँग आइसियु बेड नभएको भन्दै सिलिगुडी रेफर गरिदियो। त्यहाँ पनि पार नलाग्ने भएपछि कुसुमले तत्काल एयर एम्बुलेन्स बोलाएर दिल्ली उडाइन्। डाक्टरको कडा निगरानीमा तीन महिना दिल्लीमा, त्यसपछि न्युरो हस्पिटल बाँसबारीमा सात महिना उपचार भयो।

अहिले न्युरोका डाक्टर घरैमा आएर जाँच्छन्, चिकित्सक उपेन्द्र देवकोटा सोधपुछ गरिरहन्छन्।

...

चक्रले पोहोर जेठ अन्तिम साता यो पंक्तिकारसँग भनेका थिए–

'मैले जीवनभरि कांग्रेसको नीति, दर्शन भनेर बाँचे। केही दिन त आफैं भएर पनि बाँच्नुपर्‍यो नि! कांग्रेस भएर अझै कति बाँचुँ? यतिका वर्ष मैले आफ्ना निजी कुरा छाड्दिएँ। अब कति सक्रिय हुन्छु भन्ने कुरा स्वास्थ्य र उमेरले धान्ने हो। अब धेरै गर्न सक्दिनँ। फेरि यहाँ धेरै गर्न खोज्यो भने के हुन्छ, मलाई थाहा छ। यहाँ केही गर्न खोज्नेलाई मारिदिन्छन्। ऊ त्यो न्यायाधीश (रणबहादुर बम) लाई गोली हानेको देख्नुभएन? म जान्दछु यी सबै के भएका हुन्। त्यसैले म यो सब छाडेर आफू हुने चेष्टामा छु।'

चक्रका यी पंक्ति ०६९ जेठ २६ गते शुक्रबार नागरिक दैनिकको अन्तर्वार्तामा छापिएका छन्। यी पंक्ति बोल्दै गर्दा उनमा कसैप्रति कुण्ठा, इर्ष्या झल्किँदैनथ्यो। सुन्दा निराशाजस्तो लाग्ने बोलीमा जीवनप्रतिको गहिरो मोह प्रतिविम्बित भएको थियो। चक्रको बाँकी समय स्वखोजतिर उन्मुख थियो।

कांग्रेसको संगठनात्मक राजनीतिमा निस्त्रि्कय बस्ने संकेत गरे पनि वैचारिक काम अघि बढाउने उनको घिड्घिडो बाँकी थियो। नेता नरहरि आचार्य, प्रदीप गिरी, भीमबहादुर तामाङसँग मिलेर बिपीको जन्मशताब्दी मनाउने उनको योजना थियो। त्यसका लागि धेरै योजना बनाएका थिए। जन्मशताब्दी तयारी समिति पनि चक्रकै अध्यक्षतामा पुनर्गठन भयो। तामाङ बिते। चक्र अचेत हुनेगरी बिरामी भए। त्यसपछि कामले पहिले योजना बनाएझैं गति लिन नसकेको कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य बताउँछन्।

अघिल्लो संविधानसभा चुनावका लागि कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजक चक्र थिए। 'कार्यसमितिका बैठकमा जहिले पनि नयाँ–नयाँ कोणबाट राजनीतिक विश्लेषण गर्ने क्षमता उहाँमा थियो,' नरहरि भन्छन्, 'राज्य पुनर्संरचना हुनुपर्छ भन्ने एजेन्डा उहाँले ०५९ सालमै राख्नुभएको थियो, त्यसबारे गम्भीर बहस पनि चल्यो।'

गत मंसिर ११ गते ७० वर्षमा हिँडेका चक्रले पत्नी कुसुमसँग भने यसो भन्थे रे– 'कहाँ यत्तिकै छाड्ने! अझै दस वर्ष काम गर्ने हो। चुप लागेर बस्ने कुरै छैन।'

सत्ताराजनीतिमा कांग्रेस छँदाका 'दिव्य बाह्र वर्ष' यी नेता निरन्तर चर्चाको केन्द्रमा रहे। बिपीको प्रेरणाले ०१७ सालबाट राजनीति थालेका उनको पहिलो सार्वजनिक चर्चा भने ०३० साल जेठ २८ गतेको विमान अपहरण काण्डपछि भएको थियो। भारतीय भूमिभित्र भएको त्यो काण्डका एक नाइके उनी थिए।

०३६ सालको जनमत संग्रहका एक आक्रामक बहुदलवादी उनी ०४६ सालको जनआन्दोलनताका अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धता जुटाउन नयाँ दिल्ली गए। भारतीय नेताको समर्थन र सहयोग जुटाउन राजनीतिक स्तरमा कुराकानी गर्नसक्ने सीमित व्यक्तित्वमध्ये उनी एक थिए। कूटनीतिक मामिलाका जानकार भएकाले पनि उनी प्राथमिकतामा परे।

०४८ सालको चुनावमा झापाबाट पराजित भएपछि उनलाई सक्रिय बनाइराख्न गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले भारतका लागि राजदूत सिफारिस गर्‍यो। तर, एउटा आपत आइलाग्यो। आफ्नो देशभित्र विमान अपहरणजस्तो 'आतंकवादी' काममा लागेको मानिसलाई कसरी 'एग्रिमो' दिने! यो भारतको चिन्ता थियो। किनकि भारतीय अदालतमा विमान अपहरणको मुद्दा विचाराधीन नै थियो। महेश आचार्यका अनुसार राजनीतिक परिवर्तनअघिको घटना भन्दै सरकारले भारतलाई मनायो। त्यसपछि उनी राजदूत भएर दिल्ली गए।

सत्ता र पार्टीमा गिरिजाप्रसाद कोइरालाको शासन रहुन्जेल उनीसँग 'लभ हेट रिलेसन' मा रहेका यी नेतालाई कांग्रेस मुख्यालयले पछिल्लो समय न कहिल्यै मन परायो न पाखा लगाउनै सक्यो। हुन पनि यी 'बाघ' सधैं खरो बोल्थे, खरै उत्रन्थे। जस्तो, नागरिकसँग दिएको सोही अन्तर्वार्तामा पनि उनले भनेका थिए, 'सुशील कांग्रेसका सभापति हुन् तर मेरा नेता होइनन्।'

एघारौं महाधिवेशनमा पराजित केही नेतालाई फेरि केन्द्रीय समितिमा मनोनित गर्दा सुशीलले चक्रलाई तान्ने 'झ्याउलो' बेसाउन चाहेनन्। चक्रलाई कुनै राजनीतिक भूमिका दिइएन।

एमाओवादी सत्ताकब्जातर्फ अघि बढ्यो भन्ने आरोप कांग्रेसले लगाइरहेको थियो। बागी विचारका बाहक चक्रले त्यही अन्तर्वार्तामा एउटा विवादित अभिव्यक्ति दिए, 'पायो भने कुन पार्टीले सत्ता कब्जा गर्न खोज्दैन? कसरी गर्ने भन्नेमात्रै कुरा हो। राजनीतिको उद्देश्य नै सत्ता कब्जा हो।'

चक्रलाई यस्तै इतर विचारले यहाँसम्म उठायो। यस्तै विचारले यहाँभन्दा माथि उठ्न दिएन।

बिपी कोइरालाको स्कुलिङमा राजनीति अघि बढाए चक्रले। बनारस हिन्दु विश्वविद्यालय (बिएचयु) मा राजनीतिशास्त्रका पोस्टग्र्याजुएट चक्रले समाजवादी दीक्षा बिपीबाटै लिए।

कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले बिपी मेलमिलाप नीति लिएर नेपाल फर्कने बेला चक्रलाई पहिलोपल्ट भेटेका थिए। चक्रले बिएचयुको पढाइ सिध्याइसकेका थिए। पञ्चायतविरोधी गतिविधिमा होमिएको अभियोगमा त्रिभुवन विश्वविद्यालयबाट निकालिएका महेश भर्खरै बिएचयु भर्ना भएका थिए।

गंगा किनारको एक मठमा चक्र बस्थे। पूर्वीय सभ्यताको एक केन्द्र बनारस हेर्न संसारभरिका बुद्धिजीवी र अन्य मानिस आउँथे। चक्र तिनको सम्पर्कमा थिए। बिपीसँग असाध्यै निकट चक्रले पढालेखा नेपालीलाई खोजीखोजी बिपीसँग भेट गराउँथे। नेपालमा कांग्रेसले चलाइरहेको सशस्त्र आन्दोलनका लागि आवश्यक हतियार जुटाउने काम चक्रले उतै बसेर गरिरहेका थिए। बिपी कोइरालाले आत्मवृत्तान्तको ३१५ औं पृष्ठमा भनेका छन् :

'एक दिन चक्रले भने– एउटा हतियार डिलरले मसँग सम्पर्क गर्‍यो। एक डेढ दर्जन पिस्तोल दियो। तिमीहरूले पैसा ल्यायौ भने म हतियार तिमीहरूलाई सप्लाई गर्छु भन्छ। मैले राम्रा जेक पिस्तोल देखेँ।

.. चक्रले त्यो लिइसकेको रहेछ। त्यसको पैसा दिएको थिएन।... चक्र त्यहीँबाट संलग्न भएका छन्।'

कांग्रेस र आफ्नो नेतृत्वसँग चक्र दह्रोगरी जोडिएको सन्दर्भ बिपीले पटकपटक उल्लेख गरेका छन्। बिपीको पुस्तक पढ्दा चक्र अब्बल रणनीतिक योजनाकार थिए भन्ने बुझिन्छ।

'राष्ट्रिय राजनीतिमा गतिरोध भएका बेला चक्रजीसँग भेट्न गयो भने विकल्पका अनेक सूत्र फेला पर्थ्यो,' कांग्रेस नेता महेश आचार्यले नागरिकसँग भने, 'चाहे पञ्चायतकालमा प्रतिबन्धित भएका बेला होस्, चाहे राजा ज्ञानेन्द्रले सत्ता हत्याउँदा, उहाँ जहिले पनि अरूभन्दा बिल्कुलै नयाँ इस्यु दिनुहुन्थ्यो।'

०४६ सालको परिवर्तनपछि सरकार बनाउनेदेखि घोषणापत्र लेख्ने, रणनीति बनाउनेजस्ता काममा चक्र सधैं अग्रपंक्तिमा उभिए। माओवादी सशस्त्र युद्ध समाधान गर्नेबारे उनीसँग त्यस्तै सूत्र थिए। 'चक्रजीका अनुसार ज्ञानेन्द्रले वार्ताको पहल लिनुको अर्थ कांग्रेसलाई शान्ति स्थापनाको भूमिका नदिनु भन्ने थियो। त्यसअघि नै उहाँले शान्ति प्रक्रियाको नेतृत्व कांग्रेसले लिनुपर्ने लबिङ थालिसक्नुभएको थियो,' आचार्य भन्छन्, 'राजदूत भएर दिल्लीमा बसेका बेला भुटानी शरणार्थीको मुद्दा नयाँ ढंगले कसरी हल गर्ने भन्ने उहाँसँग धेरै विकल्प थिए, धेरै द्विपक्षीय, त्रिपक्षीय वार्ता उहाँले नै संयोजन गर्नुभयो। उहाँ धेरै फरवार्ड नेता हो।'

चक्र रणनीतिकार त छँदैथिए। सिद्धान्त र दर्शनमा गहिरो रुझान राख्ने यी नेता पार्टीभित्र मूल्य र मान्यताको राजनीति स्थापना गर्न चाहन्थे। गिरिजाप्रसाद र कृष्णप्रसाद भट्टराईबीच अन्तर्द्वन्द्व चर्केका बेला दुवैबीच सहमति निर्माण गरेर चुनावमा जाने सुत्रधार पनि चक्र नै भएको आचार्य खुलाउँछन्। 'पार्टी फुट्न नदिन र शेरबहादुर देउवा र गिरिजाबाबुबीच गहिरिएको मतभिन्नता घटाउन उहाँको ठूलो पहल छ। त्यसपछि भने हाम्रो आवाज कमजोर भएकै हो,' उनी थप्छन्।

सधैं 'एसर्टिभ' चक्र तब एकाएक पर्दापछिल्तिर धकेलिए, जब कांग्रेसको पछिल्लो महाधिवेशन सकियो।

माथि भनिएझैं बिपीको समाजवादी स्कुलका औंलामा गन्न सकिने पछिल्ला हिमायतीमध्ये एक चक्रले कांग्रेसमा नैतिक मूल्यको खडेरी पर्दै गएको चिन्ता तारन्तार प्रकट गरिरहेका थिए। मक्किँदो कांग्रेसको मेरुदण्ड बलियो बनाउन नीति र नेतृत्वमा आधारभूत बदलाव ल्याउनुपर्ने उनको मत थियो।

लजालु स्वभावका यी नेताले नेतृत्व लिन आफूलाई केन्द्रमा राखेनन्। बिपीको 'लिगेसी' धान्ने व्यक्तित्व आफूभन्दा पाका नेता भीमबहादुर तामाङ भएको भन्दै उनलाई अघि सारे। नरहरि आचार्य, प्रदीप गिरिसहित आफू पछिल्तिर बसे। तर, पछि के भयो कुन्नि, प्रदीपले बीचमै आफूलाई पुनः देउवा कोटरीमै धकेले। उनीहरूको धार संख्यात्मक हिसाबले कमजोर छँदैथियो, झन् कमजोर भयो। नतिजा, चक्रको वैचारिक दस्ताले महाधिवेशनमा सबका सब कांग्रेसजनको जय नेपाल पायो, भोट पाएन।

'चक्रजीको इच्छा गुटबन्दीरहित, वैचारिक पार्टी बनाउने थियो,' महेश आचार्य भन्छन्, 'पार्टीका स्थापित नेता र उहाँबीच तनाव उत्पन्न हुनुको मूल कारण यही थियो। महाधिवेशनमा पराजित भइसकेपछि उहाँले कुनै स्थान माग्नुभएन, पार्टीले उहाँको स्थानबारे समयमै सोच्न सकेन।'

तब सुरु भयो चक्रको एकान्तबास। तर, उनी निस्त्रि्कय बस्न त कहाँ सक्थे र!

बौद्धिक बहसमा सधैं रुचि राख्ने मानिस खोजी–खोजी छलफल गर्थे चक्र। पढालेखा र इस्यु बुझेकालाई उनी आफैं खोज्दै जान्थे। राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति, कुटनीतिबारे व्यवस्थित चिन्तन गरेका थिए। सम्बन्धित थुप्रै पुस्तक जम्मा पारेका थिए, पढ्दै थिए। अंग्रेजी, हिन्दीलगायत भाषामा गहिरो पकड राख्ने यी बुद्धिजीवी पढेबुझेका कुरालाई केस्राकेस्रा केलाएर व्याख्या गर्न सक्थे।

सत्ता राजनीतिको चस्माबाट हेर्दा एक्लो, निष्प्रभावी र निस्त्रि्कय देखिने यी हेभिवेटले बौद्धिक गतिविधि तीव्र पारेका थिए। पछिल्लो समय आएका सिद्धान्त, दर्शनबारे पूरै अद्यावधिक थिए।

गिरिजाप्रसाद कोइरालालाई तत्कालीन विद्रोही नेता पुष्पकमल दाहालसँग भेट गराउन र औपचारिक समझदारी निर्माण गर्न चक्र त्यस बेला पापड बेल्दै थिए, जुन बेला माओवादी कांग्रेसलाई 'मुख्य दुस्मन' ठान्दै हिर्काइहेको थियो। कांग्रेस नेतृत्वको सरकारले माओवादी नेताको टाउकाको मोल तोकेको थियो। त्यस्तो बेला चक्रको मेहनत हावादारी ठानियो।

जब पछि राजाले सत्ता हत्याए, तब कोइरालाको कानमा तेल लाग्यो। उनले माओवादीसँग कुरा गर्न चक्रलाई भूमिका दिए। भारतका विभिन्न ठाउँ गएर विश्वासको वातावरण बनाउन उनी अघि सरे।

कोइराला आफ्ना लागि विश्वासपात्र चाहन्थे। जबकि चक्र आफैं नेता थिए। कामका लागि काम गरिदिने भूमिका सायद उनका लागि उचित थिएन। चक्र नीति र योजना बनाउनमा कोइरालालाई पनि माथ गर्न खोज्थे रे! कोइराला दिएको आदेश खरर्र मान्ने मानिस चाहन्थे। चक्रलाई उनले पृष्ठभागमा धकेले। अरू केही नेतालाई अघि सारे। चक्र पनि भाग खोज्दै गएनन्।

जनआन्दोलन ०६२/६३ पछि ब्युँतिएको प्रतिनिधिसभा ०६३ साल असार २ गतेको सरकार–माओवादी आठबुँदे समझदारीपछि भंग हुने भएको थियो। निर्णयले कांग्रेसभित्र आक्रोशको आगो सल्कियो। प्रधानमन्त्री कोइराला एकाएक रक्षात्मक देखिए। त्यस बेला उनलाई दह्रो 'इन्पुट' चाहिएको थियो। कोइरालालाई त्यस बेला चाहियो, उही 'नेसेसरी इभिल' अर्थात् चक्र बाँस्तोला।

सेना, हतियार व्यवस्थापनजस्ता कुरा बाँकी नै थिए। संविधानसभा चुनाव गर्न बाँकी नै थियो। कुशल रणनीतिक योजनाविना लक्ष्य हासिल गर्न गाह्रो थियो। त्यसमाथि सबै उपलब्धिको जस कांग्रेसलाई लिनु पनि थियो।

चक्रसँग सजिला समाधान थिए।

'कोइरालासँग चक्रजी र हाम्रो आरोह–अवरोह लामो छ,' महेश आचार्य भन्छन्, 'गिरिजाबाबु त्यसबीचमा 'एक्स्क्लुसिभ्ली' जान खोज्नुभयो, त्यसपछि संकट आयो।'

वक्ताका रूपमा चक्र मञ्चहरूमा खासै जम्दैनथे। अध्ययनशीलता भने यति बहुआयामिक थियो कि उनका अगाडि टिक्न धेरैलाई हम्मे पर्थ्यो।

कूटनीति, राजनीतिशास्त्र, दर्शन, अध्यात्म, साहित्यजस्ता विषयमा लगाव राख्ने यी नेता पार्टी संगठनका गुटगत जोडघटाउमा पछाडि पर्नु स्वाभाविक थियो किनकि त्यसमा उनको कुनै रुचि थिएन।

'सोफिस्टिकेटेड' चक्रले जे पायो त्यही खाएनन्, लगाएनन्। पुस्तक मागेर कहिल्यै पढेनन्। पुस्तकालयबाट पनि लगेनन्। जति महँगा र दुर्लभ भए पनि किनेरै पढे।

छनोट गरेर सम्बन्ध गाँस्ने यिनले सबैसँग हिमचिम बढाएनन् तर मनले खायो भने गहिरो सम्बन्ध बनाइहाल्थे। कुनै मान्छे उनलाई भेट्न गयो भने आफैंसँग सोधिरहन्थे– 'यो मसँग किन भेट्न आयो? मलाई नै नभेटी नहुने त्यस्तो के जरुरी ठान्यो?'

राजा ज्ञानेन्द्रको कदमपछि सम्भव भएको माओवादी र 'संसदवादी' दलबीच कार्यगत एकताका सुरुवाती दिनका मियो थिए चक्र। उनीमार्फत् नै गिरिजाप्रसाद कोइरालाले पहिलोपटक भूमिगत माओवादी अध्यक्ष दाहालसँग भेटेका थिए। घनीभूत छलफल चलाए उनले। सुरुमा उनलाई नै माओवादीप्रति धेरै विश्वास थिएन। उपयोगितावादमा माहिर माओवादीले आफ्नो प्रयासमाथि नै खेल्दिने हो कि भन्ने शंका छँदै थियो। माओवादी नेताहरूसँग पटकपटक छलफलपछि हिजोका दुई दुस्मन शक्तिबीच चक्रले पुल हाले।

पटक–पटकका छलफलपछि सम्भव १२ बुँदे समझदारी, जनआन्दोलन, आठबुँदे सहमति, विस्तृत शान्ति सम्झौता, गणतन्त्र, संविधानसभा चुनाव आदि सम्भव भए। चक्रचाहिँ बीचैमा कतै हराए, वा उनको भूमिका कांग्रेस नेतृत्वले जरुरी ठानेन। इतिहासको गाडी उनलाई छुटाएर अगाडि बढ्यो।

त्यस्तो किन भयो, कसरी भयो! गिरिजाप्रसाद बितिसके। चक्र बोल्दैनन्। अरू भन्दैनन्।

चक्रको यो मौनता स्वेच्छिक होइन। उनी फेरि मुखर भए भने एक दिन बोल्लान्।

बिपीका वैचारिक मानसपुत्र चक्र नाताले कोइराला परिवारसँगै जोडिए। बिपी–गिरिजाप्रसादकी भान्जी, शैलजा आचार्यकी बहिनी मधुसँग बिहे गरेका चक्रले उनी रोगिएर बितेपछि अर्को बिहे नगर्ने अड्डी लिएछन्। परिवारले लामो समय सम्झाएपछि अन्ततः भारत आसामकी कुसुमसँग बिहे गर्न राजी भएछन्। ०४३ सालमा बिहे भए पनि कुसुमतर्फ छोराछोरी जन्माएनन्। जेठी पत्नीपट्टिकै स–साना दुई छोरी हुर्काएर कुसुम बसिन्। अहिले दुवै छोरीको बिहे भइसक्यो।

यस्तो दिन देख्नलाई हो कि! कुसुमको मातृवात्सल्य अन्ततः आफ्नै पतिमा सरेको छ। बैठक कोठामा बच्चालाई को खाई को खाई गरेझैं चक्रलाई खाना खुवाउने कुसुम हरेक बिहान तीन बजे उठ्छिन्। दिसापिसाब गराउँछिन्। लुगा फेरिदिन्छिन्। बिहान छ बजे बच्चाहरूले खाने प्रोटिन दूध चक्रलाई खुवाउँछिन्। आठ बजे ३ सय ५० मिलिलिटर 'ओट्स मिल'। १०ः३० बजे सुप र अन्डा। एक बजे जाउलो।

दाल, सब्जी मटर गाजरलाई पाइपबाट छिराउन मिल्नेगरी मसिनो बनाएर पकाउँछिन्। अपराह्न चार बजे स्याउ उसिनेर दूधसँग खुवाउँछिन्। साँझ छ बजे सुक्खा बनाएर कर्नफ्लेक्स। राति १०ः३० बजे चिकेन हालेर जाउलो। यसरी जम्मा आठपल्ट खाना खुवाउँछिन्। राति ११ बजे सुत्न माथिल्लो तलामा जान्छिन्। त्यहीँ सुत्यो भने त चक्र ननिदाई हेरिरहन्छन् रे! उनी पनि सुत्न सक्दिनन् रे!

ईश्वर छन् कि छैनन्, थाहा छैन। कतै छन् भने तिनले कुसुमको परीक्षा अझै कति लिने हुन्!

Published on Nagarik.
- See more at: http://www.nagariknews.com/feature-article/story/10769/10769#sthash.paiT2qBX.dpuf

No comments:

Post a Comment