Friday, August 8, 2014

दर्शनको दोबाटोमा एमाले

२०४९ सालमा आयोजित नेकपा एमालेको पाँचौं महाधिवेशनमा नेता रघु पन्तले साम्यवादको लक्ष्य छाडी समाजवादी बाटो समाउनुपर्ने प्रस्ताव पेस गरेका थिए तर त्यसको व्यापक आलोचना भयो । अन्ततः उनी आफैंले प्रस्ताव फिर्ता लिए ।
    तित्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी एमाले मुख्यालय बल्खु जाँदा माक्र्स र लेनिनको तस्बिर झिकेको भनी एउटा कोणबाट एमालेको खुब आलोचना गरियो ।
-    पार्टीको नाम, झन्डा बदल्नुपर्ने विषय पनि एमालेमा बेलाबखत उठिरहन्छ । वामपन्थी जनमत विकषिर्त हुने देखेर एमालेले त्यस्तो निर्णय भने लिन नसकिरहेको चर्चा चल्छ ।
-    एमालेको वैचारिक, दार्शनिक छटपटी यस्तै ठूला-साना घटनाहरूबाट प्रकट हुने गर्छ । जस्तो कि, आठौं महाधिवेशनबाट पारित विधानको प्रस्तावनामा पार्टीको लक्ष्य 'साम्यवाद' छापिनुपर्नेमा समाजवाद छापिन पुग्यो । केन्द्रीय कमिटीमा हंगामा मच्चिएपछि पुनः मुद्रण ग साम्यवाद नै छापियो ।
-    जारी नवौं महाधिवेशनको उद्घाटनमा जताततै मदन भण्डारी, मनमोहन अधिकारी, पुष्पलालका तस्बिर टाँगिँदा माक्र्स र लेनिन छुटाइएको भनी व्यापक टिप्पणी भयो । स्पष्टीकरण दिइयो, प्राविधिक कारण र हतारोले छुट्न गएको हो । पर्सिपल्टदेखि माक्र्स, एंगेल्स र लेनिन बन्दसत्रका भित्तामा फेरि मुस्काए ।
-    कम्युनिस्ट दर्शन छाडी सामाजिक लोकतन्त्रवादी पार्टी बन्नुपर्ने आवाज यसपटक पनि एमालेमा उठ्यो, उसै गरी विरोध भयो । भीम रावललगायत केही नेताहरूको यो प्रस्तावले प्रतिनिधि र नेता स्वयंबीच द्विविधा उत्पन्न भएपछि अध्यक्ष झलनाथ खनालले एमालेको साम्यवादी लक्ष्य बाँकी नै रहेको, तात्कालिक गन्तव्य भने समाजवाद रहेको प्रस्टीकरण दिनुपर्‍यो ।

यस्ता दृष्टान्त खोज्दै गयो भने दर्जन नघाउन सकिन्छ । एमालेलाई लक्षित गरी यस्ता मुद्दा र प्रश्नहरू बेलाबेला किन उठिरहन्छन् त ? नेपालको कम्युनिस्ट आन्दोलनलाई नियालिरहेका प्रा. पीताम्बर शर्माले भने, एमाले विचार, दर्शन र सिद्धान्तको दोबाटोमा उभिएको छ । यो पार्टीले कम्युनिस्ट अनुशासन सिकेर आयो, कालान्तरमा लोकतान्त्रिक समाजवाद, पुँजीवादी लोकतान्त्रिक मान्यता आत्मसात् गर्न पुग्यो । 'पुँजीवादी लोकतन्त्रले अघि सारेका प्रस्थापनालाई आत्मसात् त गर्‍यो, तर त्यो मान्यतालाई पार्टीको जीवनमा कसरी प्रयोग गर्ने भन्ने विधिचाहिँ पत्ता लगाइसकेको छैन,' प्रा. शर्माका भनाइमा, 'नाम बदल्नेदेखि, फोटो झुन्डयाउने, हटाउने खालका अलमल यसै कारण उत्पन्न भएका हुन् ।'
एमाले नेता शंकर पोखरेलले भने सामाजिक संक्रमणको गतिलाई बुझ्न नसक्दा एमालेमाथि प्रश्नहरू उठाइने गरेको दाबी गरे । 'समाज बदलिँदा कम्युनिस्टमात्रै परम्परागत शैलीमा रहिरहन्छन् भन्ने छैन । ०४३ मा स्ववियु चुनाव गर्दा हामीसँग एउटा पनि मोटरसाइकल थिएन,' उनले उदाहरण दिए, 'आज मोटरसाइकल चढेर क्याम्पस आउनेको संख्या अधिक छ । यस्ता साना-साना उदाहरणले विचार र संगठनको कार्यशैलीमा परिवर्तनको संकेत गर्छन् ।' फोटो र विधानको प्रस्तावनामा झिकिएको साम्यवादका प्रश्नमा उनले प्राविधिक कारणवश त्यस्तो हुन पुगेको जिकिर गरे । 'आफ्नो मनसाय खुला ढंगले प्रकट गर्न नसक्ने, पार्टीको मञ्चलाई दायाँबायाँबाट उपयोग गरी विचार प्रकट गर्ने चिन्तन हावी हुँदा विधानका शब्द तलमाथि परेका हुन्,' उनले दाबी गरे ।
नेपाली राजनीतिक क्रान्तिको समाप्ति र आर्थिक क्रान्तितर्फ प्रस्थानको प्रस्तावलाई नवौं महाधिवेशनमार्फत अनुमोदन गराएका एमाले नेता घनश्याम भुसालले भने पहिले देखिने गरेका सैद्धान्तिक अलमल समाधान भएको बताए । मदन भण्डारीले जबज पेस गर्दा त्यसका कार्यक्रम दिएको, तर कुनै बहस, छलफल र निष्कर्षबिना पछिका नेताहरूले सिद्धान्त भनिदिएको उनको दाबी छ ।
'एमालेका अलमलहरू समाधान गर्दै जबजलाई सिद्धान्तको उचाइबाट व्याख्या गर्नुपर्ने मुद्दा हामीले स्थापित गरेरै छाड्यौं,' उनले भने, 'साम्यवादको लक्ष्य छाड्ने कुरै छैन, तर हामी आजको साम्यवादको कुरा गर्छौं । लोकतन्त्रको बाटो छाड्ने कुरै छैन, तर हामी श्रमजीवी वर्गको वर्चस्व रहने लोकतन्त्रको कुरा गर्छौं ।'
नीति सही, काममा द्विविधा
एमालेको नवौं महाधिवेशनले पुँजीवादी, जनवादी क्रान्ति पूरा भयो भन्दै गर्दा दुई वटा निष्कर्ष निकालेको थियो । एक, ००७, ०३६, ०४६ हुँदै पछिल्लो ०६२/६३ को जनआन्दोलन सामान्य 'परिवर्तन' मात्र नभई 'राजनीतिक क्रान्ति' नै हो । दुई, राजनीतिक क्रान्ति सकिए पनि आर्थिक, सामाजिक तहमा यसका असर देखिन बाँकी रहेकाले पार्टी कामलाई त्यतापट्टि केन्दि्रत गर्नुपर्छ ।
राजनीति विश्लेषक डा. जुगल भुर्तेलका विचारमा एमालेले निकालेका उपर्युक्त निष्कर्ष 'एकदमै सही' छन् । 'यसबाट एमालेले आफूभित्रको सैद्धान्तिक अलमल समाधान गरेको छ । कम्युनिस्टइतरका शक्तिहरूले समेत सेलेब्रेट गर्नुपर्ने निष्कर्षहरू हुन् यी,' उनले थपे,
'लेनिनवादी शैलीको व्यवस्थातिर जाने कि लोकतान्त्रिक मूल्यतिर आउने भन्ने द्विविधा अझै देखिन्छ, तर ती महाधिवेशनका प्रतिनिधिको सेन्टिमेन्ट लिनका लागिमात्रै रचिएका विषय हुन् ।'
विश्वभरको अनुभवले साम्यवाद र नवउदारवाद दुवै अनुचित ठहर्‍याइसकेको पृष्ठभूमिमा एमालेले विश्वमा आइरहेका परिवर्तनलाई बुझ्न सफल भएको भुर्तेलको भनाइ छ । कम्युनिस्ट भन्ने शब्द र यसको ब्रान्डका कारण जनवादतिर र्फकने कि समाजवादी लोकतन्त्र अपनाउने भन्ने दोधार बाँकी रहे पनि एमाले लोकतान्त्रिक बाटोभन्दा बाहिर जाने सम्भावना नदेखिएको उनले प्रस्ट्याए ।
प्रा. शर्माले भने सबैखाले इच्छाहरूको व्यवस्थापन गर्नुपर्ने भएकाले एमालेले निश्चित बाटो रोज्न नसकिरहेको टिप्पणी गरे । पार्टीको नाम, झन्डा बदल्नेदेखि तस्बिर झुन्डयाउने कि राख्नेजस्ता अन्योलसँग ती प्रश्नहरू जोडिएको उनको भनाइ छ ।
'अहिले घनश्याम भुसाललगायतले ल्याएको कार्यक्रम अनुमोदन भएकामा एकथरीलाई विजयको अनुभव त भएको छ, तर राजनीतिक क्रान्ति सकिएको निष्कर्षले पार्टीको कार्यक्रममा के अन्तर आउँछ भन्नेचाहिँ कसैलाई थाहा छैन,' उनले भने, 'अर्काथरीलाई भने पछि परियो कि भन्ने परेको छ । सामन्तवाद सकिएर पुँजीवादमा गएको निष्कर्षलाई आत्मसात् गर्दा हाम्रो विगतको विरासत नै साथमा नहुने हो कि भन्ने चिन्ता परेको देखिन्छ ।' यति हुँदाहुँदै पनि नेपालको भविष्य लोकतान्त्रिक समाजवाद नै हो भन्नेमा एमाले स्पष्ट भइसकेको शर्माले बताए । नेपाली कांग्रेसले आफ्नो विचार हो भनी दाबी गर्ने गरे पनि त्यो दल नवउदारवादी बाटोतिर गइसकेको उनको दाबी छ । 'जनतामा जाँदा बीपी यसो भन्नुहुन्थ्यो भनी सम्झने हो, नत्र व्यवहारमा कहाँ छ ?' शर्माको प्रश्न छ, 'अब कांग्रेस नवउदारवादबाट र्फकने सम्भावना छैन । त्यसैले एमालेले अलमल समाप्त गरेमा लोकतान्त्रिक समाजवादको स्पेस लिन सक्छ ।'


'अब ढुलमुले रहेन'

बहुदलकालमा ढुलमुले दल भनी पार्टीभित्र र बाहिरसमेत चर्को आलोचना खेप्दै आएको एमालेले त्यस्तो समस्या समाधान गरेको निष्कर्ष छ प्रा. शर्माको । इतिहासको जिम्मेवारीका कारण दर्शन र सिद्धान्तमा दोधारेपन देखिए पनि दैनन्दिन राजनीतिक प्रश्नमा एमालेले आफूलाई प्रस्ट पार्दै गएको, बरु एमाओवादीचाहिँ ढुलमुले प्रवृत्तिको हुन पुगेको शर्माको ठहर छ ।
'कांग्रेसले हिजो समातेको समाजवादी वैचारिक धरातलमा एमाले आउँदैछ, बरु एमाओवादीचाहिँ ढुलमुले बन्दै गएको देखिएको छ,' शर्माले भने, 'अब के गर्ने भन्नेमा साह्रै अलमलमा देखिन्छ एमाओवादी, कुनै स्पष्ट खाका छैन ।'
माओवादीलगायत कतिपय कम्युनिस्ट दलले 'बुर्जुवा संशोधनवादी' भनी आरोपित एमालेचाहिँ नवउदारवादी बाटोमा नजाला भन्ने आधार के छ ? जबकि यसले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषजस्ता विश्व पुँजीवादका केन्द्रले ल्याएका प्रस्तावमा कताकति सहमति दिएको चर्चा पनि चल्ने गर्छ । प्रा. शर्माका अनुसार अन्तर्राष्ट्रिय पुँजीका कारण उत्पन्न हुने श्रम सम्बन्धलाई कसरी हेर्ने भन्ने प्रस्टता एमालेमा छैन । एमाले नेता पोखरेलले भने संक्रमणकालीन राजनीति र संयुक्त सरकारमा जाँदा अर्को दलका मान्यतालाई पनि ठाउँ दिनुपर्ने हुँदा त्यस्तो हुन गएको बताए । 'हामी लोककल्याणका सिद्धान्तबाटै अघि बढ्न खोजेका छौं, राष्ट्रिय पुँजी परिचालन नै हाम्रो लक्ष्य हो,' पोखरेलले बताए, 'तर ग्लोबल परिवर्तनबाट अलगअलग बस्न नसक्ने भएकाले अन्तर्राष्ट्रिय दातासँग यदाकदा डिलिङमा समस्या देखिने गरेका छन् । अन्ततः हामी उदारवाद होइन, आफ्नै यात्रामा अघि बढ्छौं ।'







प्रकाशित मिति: २०७१ असार २९ ०१:१६

No comments:

Post a Comment