Friday, August 8, 2014

कुन दिनको संजोगले बनेँ लाहुरे

पूर्वी नयाँ दिल्लीको लक्ष्मीनगर मेट्रो स्टेसन आसपास क्रिसमसको कुनै रमझम देखिँदैन। जस्तो कि, दिल्लीका अरू जुनसुकै बजार डिसेम्बर अन्तिम साता सान्ता क्लसको पर्खाइमा सजिएका छन्। मध्यरातको लक्ष्मीनगर शोकसन्तप्त टोलझैं देखिन्छ, मानौं उसले भर्खरै प्रिय मान्छे गुमाएको छ।


विजयचोक, मेनमार्केटको कठ्यांग्रिदो चिसोमा मध्यरात दुई नेपाली भुइँमा काठको मोटो लठ्ठी टकटक बजार्दै हिँडिरहेका छन्। तीन दशकयता हरेक रात चौकीदारी गरिरहेका यी 'गोर्खा बहादुर'को कथा सुन्दै गर्दा भारतको राजधानीमा अहिलेसम्मकै सर्वाधिक जाडो छ। आज लक्ष्मीनगरमा बिजुलीबत्ती पनि छैन।

राति एक बजे। बाजुरा, जयबागेश्वरी–१ पिपलगाउँका शेरबहादुर थापा मेन मार्केट गल्लीमा १०२ मार्काको बिँडी सल्काइरहेका छन्। मुटु काम्ने सिरेटोमा यही बिँडी सहारा बनेको छ। एक हुल कुकुर बेस्मारी भुकिरहेछन्। छेउछाउ अरू पनि नेपाली 'बहादुर'हरू डन्डाले भुइँ हिर्काउँदै ठमठम हिँडिरहेछन्।

मोटो ज्याकेट लगाएका, पाल्पाली ढाका टोपीलाई दोहोरो मफलरले मोहोरेका यी चौकीदारले ३५ हिउँदबर्खा यही दिल्लीका सडक, कोलोनी र गल्लीमा बिताएका छन्। जति जाडो भए पनि खप्ने, खट्ने यी ४८ वर्षेको इखलाई एउटै सपनाले भर दिएको छ– मेरा अनपढ बाउबाजेले जीवनभरि दिल्लीमै चौकीदारी गरे। चार छोरालाई चौकीदार बनाउँदिनँ, जसरी पनि पढाउँछु।


...

शेरबहादुर १३ वर्षको हुँदा साथीहरूको साथ लागेर दिल्ली आए। उनी आएकै भोलिपल्टदेखि 'बहादुर' भए।

उहिले त 'बहादुर' हुनु भनेको बडा गौरवको कुरो थियो रे– शेरबहादुरले सुनेको।

बहादुर नेपालीहरूले भारतमा शासन गर्ने अंग्रेजलाई नेपालमा पस्न नदिएका रे! भोकतिर्खा नभनी लडेका रे! विश्वयुद्धमा सिरुपाते खुकुरी चम्काएरै बमबारुदसँग भिडेका रे!

यस्ता 'रे' का किस्सा अरू पनि थुप्रै थिए रे– शेरबहादुरले सुनेका!

उनी जब दिल्ली आए, उनले सुनेजस्ता 'बहादुर' एउटा पनि भेटेनन्। जो–जो भेटे, वर्षौैंदेखि रातभरका अनिँदा, बिरामी, कमजोर र दयनीय नेपालीमात्रै थिए। तिनलाई जस्तै शेरबहादुरलाई पनि साहुजीहरूले 'बहादुर' भनी बोलाउन थाले। साथीहरू र आफूलाई साहुजीले बहादुर भनी बोलाउँदा कस्तो खस्रो सुनिएको! शेरबहादुरलाई आदर गरेजस्तो पटक्कै लागेन। माया गरेजस्तो पनि सुनिएन। बरु हेपेजस्तो लाग्यो।

उनले पनि दरबान दाजुहरूकै सिको गर्दै काम थाले। दिल्लीका रात्रिकालीन गल्लीहरूमा लठ्ठी बजार्दा–बजार्दा, बिहान पाँच बजे साहुजीको गाडी धुँदा–धुँदा उनका सुन्दर जवानीका सबैभन्दा उर्वर साढे तीन दशक बितिसकेका छन्। उनी अब पहिलेझैं हट्टाकट्टा छैनन्। ४८ वर्षको छँदै अनुहारमा चाउरी पर्न थालिसकेको छ। ओठमा कलेटी बसिसकेका छन्। एकछिन हिँडेपछि खुइऒ्ढय गर्छन्। दिल्लीका यी 'वीर/बहादुर/गोर्खा' को बालककाल सुन्यो भने आङ जिरिंग गर्छ।

पिता नरबहादुरले उनलाई स्कुल हाले। गरिब परिवारका शेरबहादुर चार कक्षासम्म सधैं प्रथम हुन्थे। तर पाँचमा उनी प्रथम त के, पास पनि हुन सकेनन्। त्यसको दुःखद कहानी छ।

'पाँचमा पुगेपछि मलाई पढाउन मेरा बाउबाजेको क्षमता पुगेन सर,' हिँड्दा–हिँड्दै गुरुद्वाराको अँध्यारो गल्लीमा शेरबहादुर थामिए। ल्याम्पपोस्टको खम्बामा अडेसो लागेर केही सम्झे। अनि बर्बरी आँसु खसाले। तर, चुइँक्क बोलेनन्।

चारमा प्रथम भएर पाँच कक्षा उक्लिएका शेरबहादुरको पढाइ बैशाख पहिलो साताबाट सुरु हुनेवाला थियो। उनीसँग लाउने कछाड थिएन। लुँगी बाँधेर स्कुल गए। कछाड नलगाई स्कुल गएको भन्दै मास्टरले उनको संवेदनशील अंगमा धागो बाँधे। अनि स्कुलको चउरमा लडाए। 'भोलिदेखि कछाड नलाई स्कुल आइस् भने फेरि यसैगरी बाँध्छु' भने।

त्यो दिनदेखि शेरबहादुर कहिल्यै स्कुल गएनन्। महाकालीपारिको वनबासाबाट बस चढेर सिधै भारत हान्निए। शेरबहादुरले त्यस दिनयता नाम गुमाए, खालि 'बहादुर'मात्रै रहे।

दिल्ली आएको पहिलो महिना उनले साहुजीको हातबाट तलब पाए– पचास रुपैयाँ। आजसम्म दिल्लीका गल्ली चहारिरहेछन्। कहिलेकाहीँ घर आउँछन्।

यतिका वर्ष बितिसके। यमुना नदीमा धेरै पानी बगिसक्यो। अरू बहादुरझैं यी बाजुरेली बहादुरको काया पनि बिस्तारै बदलिँदै गयो। उमेर बढ्दै गयो। महँगी बढ्यो। डेराभाडा बढ्यो। तलब पनि केही न केही बढ्यो।

रातभरि ड्युटी गर्नेबाहेक उनी साहुजीको गाडी धुन्छन्। महिनाको पाँचदेखि छ हजारजति तलब मिल्छ।

उमेर पुगेपछि शेरबहादुर अलिअलि कमाएर घर गए। मनले खाएकी केटी मागे। तर केटी पक्षले सिधै अस्वीकार गरेछ, 'यस्ता गरिबलाई कसले केटी दिन्छ!'

जोरीपारीलाई देखाउनु थियो। इखैले फेरि अर्की केटी मागे। तर उनी पनि कुरो छिनिसकेपछि अर्कोसँग भागिछन्। 'गरिबसँग बिहे नगर्ने रे। अरूसँगै गए। देख्नुभो हजुर, गरिब भएपछि यस्तो हुन्छ,' सर्दीले सताएका शेरबहादुरले केहीबेर खोक्दै भने, 'यस्ता कुरा कति छन् कति हजुर। रात काटिन्छ, दिन ढल्छ। आँखामा आँसु आउँछन्।'

आफूले पढ्न नसके पनि दिल्लीमा कमाएको पैसाले माइलो भाइ रणबहादुर र कान्छो बुद्धिबहादुरलाई पढाउन यत्न गरेछन् शेरबहादुरले। भाइहरूले सोचेजस्तो नतिजा ननिकालेको उनले दुखेसो गरे।

रातको तीन बज्न लागिसक्दा हामी ललिता पार्कको एक चिया पसलनेर आइपुगेका थियौं। सिंगो रात चिसो दिल्लीका नेपाली पहरेदारसँग बितिरहेको थियो।

शेरबहादुरले कुराकानीको सुरुवातमा भनेका थिए, 'जति बेला मन लाग्यो, त्यति बेला झोला टिपेर नाइट बस चढिहाल्छु। भोलिपल्ट घर पुगिहालिन्छ। हाम्रो पहाड यहाँबाट कति नै टाढा छ र!'

'सर, मैले तपाईंलाई अघि झुटो बोलेँ, म घर नगएको पाँच साल भयो। मेरा घरमा आमाबुवा दुवै छन्। बुवा हर महिना खर्च चाहिन्छ भन्नुहुन्छ। आमा पनि त्यसै भन्नुहुन्छ। सकेको पठाएकै छु। अब योभन्दा बढी मैले गर्ने के?' शेरबहादुरले खुलाए, 'मनको बह कसैलाई नकह भन्छन्, मैले पनि सुरुमा नकहने सोचेको थिएँ।'

दिल्लीबाट नेपाल आउने–जाने मान्छे पनि पाइरहन्छन् उनी। तिनैमार्फत सकेको जति पैसा पठाउँदा रहेछन्। अचेल फोनको जमाना छ। 'मैले चारै छोराको हातहातमा फोन राखिदिएको छु, फोनमा कुरा गर्छु,' उनी थप्छन्, 'स्वास्नीको माया लाग्छ, बच्चाको माया लाग्छ, दाजुभाइको माया हुन्छ, तर लागेर के गर्ने! मायाले थामिन्न। नत्र म इन्डियाको सर्दीमा यति राति किन भौतारिन्थेँ!'

सुरुमा एक भारतीय मालिकको घरमा चौकीदारी गरे उनले। मालिकले राम्रो व्यवहार गरेन। पैसा पनि कबुल गरेभन्दा कम दिएर पन्छाउन खोज्यो। अपशब्द बोल्थ्यो, दुर्व्यवहार गर्थ्यो।

त्यसपछि उनले त्यहाँ काम छाड्ने विचार गरे। अनि मेन मार्केट, विजयचोक, ललितापार्क आसपास काम थाले। गल्ली चहार्नु, चोरहरूबाट घर जोगाउनु, जँड्याहा र हुल्लडबाजको सामना गर्नु उनको ड्युटी हो।

...

शेरबहादुरलाई लाग्छ– दिल्लीमा बाँच्नु छ भने जे पनि गर्न तयार हुनुपर्छ। नत्र कसले खान दिन्छ! बालबच्चाको सवाल छ।

'मलाई नेपालमा काम गर्न मन छ, के नेपालले मलाई काम दिन सक्छ? यहाँ अनपढ आदमी बिक्छ, त्यसैले हामी जसरी पनि पैसा कमाउन सक्छौं,' शेरबहादुर भन्छन्, 'उहाँ नेपालमा कि बारी खन्नुपर्‍यो, कि ढुंगो फुटाउनुपर्‍यो। अब बूढो भइयो, बलको काम भ्याउन सकिँदैन।'

शेरबहादुरका चार छोरा छन्। जेठा शंकरबहादुर बाजुरामा बिए पढ्छन्। माइला पारसबहादुर, साइँला अक्कलबहादुर, कान्छा वीरजनबहादुर। छोराको पढाइका लागि खर्चको बन्दोबस्त बुवाले दिल्लीका गल्लीहरूबाटै मिलाउँछन्। यत्ति हो, उनले त्यसबापत राति एकैछिन भए पनि आँखा झिमिक्क गर्न पाउँदैनन्।

'मेरो आत्मामा छोरालाई केही बनाएर छोडूँला भन्नेमात्रै छ, कसैको भरोसामा हिँड्नेवाला छैन म। भीख माग्ने कुरो छैन। घडी हेर्नुहोस् हजुर, अहिले रातिको तीन बज्यो,' उनी बिँडीको अर्को खिल्ली सल्काउँदै सन्तुष्ट भए, 'नसुती–नसुती दिल्लीमा डन्डा बजाएर चार छोरालाई बिए पढाउनु कम ठूलो कुरा हो?'

शेरबहादुरलाई लाग्छ– यो सबै 'उपरवाले'का कारण सम्भव भएको हो। मान्छेहरूले देउता मान्नुहुँदैन भनेर गफ गरेको उनले सुनेका छन्। 'आ..., होस्, म त साँझबिहानै भाक्छु, हे भगवान, म तेरै भरोसामा हिँड्या छु, तैंले गर्दा मेरा चार छोराको भविष्य बन्दै छ,' उनी भगवानलाई आत्मीय पारामा 'तँ' भनी बोलाउँछन्, अनि कृतज्ञ हुन्छन्।

शेरबहादुरका बाजे पदमबहादुरले पनि दिल्लीमा डन्डा बजाए। बा नरबहादुरले पनि बजाए। उनी पनि बजाउँदै छन्। सुदूरपश्चिम नेपालको क्षेत्री समुदायको यो तीन पुस्ताले आफ्नो सबैभन्दा ऊर्जाशील जवानी भारतमा चौकीदारी गरेर सिध्यायो। शेरबहादुरको मनमा यत्ति छ– बाउबाजे र उनीझैं अर्काको देशमा छोरानातिले डन्डा बजाउनु नपरोस्।

हिउँद–बर्खा, जाडो–गर्मी केही नभनी रातभरि ड्युटी गरेकै भरमा उनले बाजुरामा अलिकति जग्गा जोड्न भ्याएका छन्। दुखेम्सुखेम् छोरा पढाउन सकेका छन्। बाउबाजेले गर्न नसकेको, उनले सकेको कुरो त्यत्ति हो। अब ड््युटी गर्न जिउले नधाने पहाडमा आर्जेको त्यही जग्गा बेचेरै भए पनि छोरा पढाउने धोको छ।

'इन्डियामा आएर रातभरि डन्डा बजाउनु नेपालीका लागि लाजमर्दो हो हजुर,' उनी भन्छन्, 'तर छोराको भविष्यको कुरो छ, तिनका लागि यो जिन्दगी हन्ड्रेड पर्सेन्ट लगाउँछु। तिनैका लागि हो मैले राति ड्युटी गरेको, बिहान गाडी धो'को।'

...

बाजुरा हुदुखाती– ५ बाट चौकिदारी गर्न आएका धौले राउत ६५ वर्ष भइसकेका छन्। रातभर आँखा झिमिक्कै नगरी दिल्लीमा उनले चौकीदारी गरेको २९ वर्ष बितिसकेछ। अब त नेपाली बोल्दा पनि वाक्यैपिच्छे हिन्दी शब्द घुस्छन्। लवज पनि हिन्दुस्तानी भइसकेछ।

लक्ष्मीनगर नजिकै रमेश पार्कको एक झुपडीमा किरायामा बसेका छन्, धौले। उनका २२ वर्षे छोरा वीरबहादुर पनि हिजोआज उनीसँगै बस्छन्। उनीझैं ड्युटीमा खटिन्छन्।

महिनाको छ हजार रुपैयाँ कमाउने धौलेका अहिलेका मालिक भने दयालु परेका छन्। तर सबै मालिक एकैनासका कहाँ हुन्छन् र!

'मालिकहरू पैसा दिन ढिलो गर्छन्। किचकिच गर्छन्,' चिसोले खाएका हात लठ्ठीसँगै च्यापेर काखीमुनि लुकाउँदै धौले भन्छन्, 'छिसिक्क यताउति केही बिग्रियो भने हामीलाई नै टोकाइ गर्छन्। चौकीदारी भनेको थर्ड किलास काम रहेछ।'

शेरबहादुर त अलिअलि पढ्न जान्दछन्। धौले भने अक्षर फुटाउन पटक्कै सक्दैनन्। उनीभन्दा पहिलेका चौकीदार पनि यस्तै निरक्षर रहेछन्।

आङ छेड्लाझैं जाडो भगाउन चाहिने बाक्लो जुत्ता, ज्याकेट, टोपी, मफलर, लठ्ठी आफ्नै गोजीको पैसाले किन्नुपर्छ। गर्मीका बेला पातला लुगा छेड्दै लामखुट्टेले चुसेर हैरान पार्छ। जिउमा मच्छडको दबाइ घसेर हिँड्छन्। त्यसले तीन घन्टाजति काम दिन्छ। राति सुत्न त के, आँखा झिमिक्कै गर्न पाइँदैन।

ड्युटीबाट साढे पाँच बजे डेरा फर्कन्छन् धौले। फर्केर सुतिहाल्ने कुरो छैन। बिहान फर्केपछि पहिले खाना बनाएर खान्छन्। अनि कोठाको भुइँमा मैलो बिस्तरा ओछ्याउँछन्। आँखा चिम्म गर्छन्। कान्छा छोरा वीरबहादुर आएपछि खाना बनाउन, कोठा चलाउन केही सुबिस्ता भएको छ।

बेलुका धौले खाना बनाउँछन्। खाएर फेरि ड्युटीमै खटिन्छन्। राति उही चक्र दोहोरिन्छ। दिल्लीका नेपाली चौकीदारले डायरी लेख्न जान्ने हो भने तिनका मितिमात्रै बदलिन्छन्, कथाव्यथा उही। केवल पानाहरू सधैं एकैनासले पल्टिन्छन्।

चार छोरा र एक छोरीका पिता धौलेका तीन छोरा घरमै छन्। ती पनि बिहे गरीवरी छुट्टिएर अलग्गै बसेका छन्। नाति र नातिना पहाडमै छन्।

दिल्लीमा चौकीदारी गरेर जम्मा गरेको पैसाले नातिनातिनाका लागि लत्ताकपडा पठाउँछन् धौले। एसएलसी पास गरेर काठमाडौंमै पढिरहेका जेठा नातिका लागि धौले सकेको पैसा पठाउँछन्।

यी पाका बहादुरको अनुहारमा कत्ति पनि कान्ति भेटिँदैन। सिंगो जीवन दिल्लीमा चौकीदारी गर्दै बिताए। आजसम्म उनले हजारौं नेपालीलाई आफ्नै हालतमा भेटाएका छन् रे। आर्थिक श्रोत जुटाउन सक्नेले खाडी मुलुक ताके। नसक्नेहरु उनीझैं दिल्लीतिर भासिए। आजसम्म भासिइरहेछन्। थोरै ज्याला र धेरै हेपाई सहेर दुःख खेपिरहेछन्।

'भेट्दा दुःखसुखको कुरो गरिन्छ। कहिलेकाहीँ हाँसी गरिन्छ। बूढो भएपछि दुःखबिमार बढ्दो छ। परदेशमा तातो पानी दिने कोही नहुँदा घरको याद आउँदोरै'छ,' धौले सुँक्सुकाउँछन्, र्‍यालसरीको सिँगान पुछ्छन्, 'कहिले एक्लै बस्छु, कहिले साथीलाई भन्छु। साथीभाइलाई भनेर पनि के हुन्छ र। आफ्नो दुःख आफैंसँग हुन्छ।'

धौले थप्छन्– 'अरू बेला बत्ती हुन्थ्यो। आज त यो खम्बाको बत्ती पनि के भएको हो कोनि। अँध्यारोमा दिक्क लाग्छ।'

धौलेले बोकेको डन्डाको दाम भारतमै सय रुपैयाँ पर्छ। टकटक बजाउँदै हिँड्दा कहिलेकाहीँ त प्वाक्लाक्कै फुक्लिन्छ। अनि नजिकैको बजारमा गएर नयाँ डन्डा किन्नुपर्‍यो।

पाँच–पाँच मिनेटको अन्तरमा पुलिसको भ्यान दगुरिरहन्छ। तीनचार व्यक्ति झुम्मिएर राति कुराकानी गरेको देख्यो भने अनेकथरी प्रश्न सोधेर हैरान पार्छ। चौकीदारहरू पनि कहिलेकाहीँ तिनका सिकार हुन्छन्। रक्सी पिएर आएका केटाहरूले तनाव थप्छन्। 'हामीलाई भेटे भने गोर्खा भनेर खिज्याउँछन्, जँड्याहासँग बा‰ने कुरो भएन, सलाम ठोकेर पठाउँछु,' धौले भन्छन्।

चौकीदारीका अलावा धौले अरूझैं टोलका मालिकको गाडी धुन्छन्। त्यसको छुट्टै पैसा पाउँछन्। 'कोही मालिक अति समझदार छन्, कोहीचाहिँ अनाडी,' उनी थप्छन्।

धौले घर नगएको एक वर्ष नाघिसकेछ। पहिले गाउँघर, चाडबाड सम्‰यो कि भक्कानो छुट्थ्यो। अब त उनलाई बानी पर्दै गयो। 'हामी चौकीदारलाई के दसैं, के तिहार! गरिबलाई चाडबाड आउँदैन हजुर। अस्ति कात्तिकमा बुढिया भेट्न धनगढीसम्म गएँ। ऊ पनि त परदेशमै छे। पहाडको मान्छेलाई धनगढी पनि परदेश नै भयो नि,' धौले कहन्छन्, 'नाइट बस चढ्यो भने भोलिपल्ट पुगिहालिन्छ। पहाड त किन जान्थेँ र! छोराबुहारी छुट्टिएका छन्। तर छोरा छुट्टिए भनेर नातिको डाहा गर्नु भएन।'

नातिनातिना पढाउने पैसा धौले नै पठाइरहेका छन्। जेठो छोराको गोडा चल्दैन रे। अरू छोराबुहारीलाई पनि बेलाबेला पैसा पठाउँदा रहेछन्। जेठा छोरापट्टि तीन नाति छन्। माइलाका दुई छोरा छन्। साइँलाका बच्चा भइसकेका छैनन्। कान्छाको एक छोरा एक छोरी छन्।

'हामी आएका बेला बहादुर, गोर्खा भनेको प्यारो गरेको जस्तो लाग्थ्यो, अब त्यस्तो छैन,' धौले भन्छन्, 'पुर्खाले बहादुर भनेरै नाम राखे, जुग बदलियो। अहिले बहादुर भनेको त हेपेको हुन्छ।' दिल्लीका सडकमा वर्षौं बिताएका धौले, शेरबहादुरहरूलाई अब त हेपेको पनि सामान्य लाग्छ रे!

एकलाई केही भयो भने अर्कोले भर दिन्छ। नेपाली दाजुभाइको संख्या ठूलो छ। दुःखसुखको कुरा गर्ने मेलो हुन्छ। कहिलेकाहीँ गाउँघरको सम्झनाले मन बिथोलिँदा पश्चिमेली लोकभाका गुन्गुनाउँछन्।

शेरबहादुरको मोबाइलमा साथीले गोपाल योञ्जनको गीत भरिदिएको छ। त्यो गीतले उनकै कथा कहिदिएको जस्तो लाग्छ–

कतै म त पर्छ्याएर राखिएको बोको बनेँ

परदेश र मधेसमा नाम्लो अनि डोको बनेँ

घर त मेरो हिमाली पाखाबेँसी हो रे

कुन दिनको संजोगले बनेँ लाहुरे।

परदेशको चिसोमा घरको अँगेनो सम्भि्कन, आँशु बहाउन यति शब्द नै पर्याप्त छ। शेरबहादुर र धौलेको मिल्ती अलि बेसी छ। सुदुर पश्चिमेली लोकलय भाका हालेर सँगै गाउँदा मनको बोझ हलुको भएझैं लाग्छ रे।

महँगिदै गएको दिल्लीमा प्रौढ धौलेको बजेट किफायती छ। मासिक छ हजार भारु कमाउँदा दुई हजार खाएर चार हजार बचाउँछन्। 'उपरवालेको निगाह मिलुन्जेल दिल्लीमा दरबानी गर्ने हो। यो बुढेसकालमा अब कहाँ जाने? यही हो मेरो ट्याम पास,' धौले भक्कानिए, 'अब बूढो भइयो, चौकीदारीबाहेक दोस्रो काम गर्न सकिन्न। गाउँतिर जाउँ्क भने भएको अलिअलि जग्गा छोराछोरीलाई बाँडिसकेको छु। उहाँ गएर मैले कहाँ बस्ने! मलाई कसले राख्छ!'

निःशब्द।

रातिको गफगाफ एकैछिन रोकियो। केही भन्ने कुरै थिएन।

'अब म जाऊँ होला हजुर,' यति भनेर उनी कोल्टे छड्किए। अँध्यारो गल्लीमा कतै हराए। अलि परसम्म लठ्ठीको टकटक सुनियो। त्यो पनि बिस्तारै कतै हरायो।

... .... ... ...


... .... ... ...

 
नेपाली चौकीदारको तथ्यांक छैन

दिल्लीमा रातभर नसुती चौकीदारी गर्ने नेपाली 'बहादुर'को संख्या कति होला? तथ्यांक कसैसँग छैन। न दूतावाससँग छ, न प्रवासी नेपालीका नाममा खुलेका बग्रेल्ती संगठनसँग।

प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारीका अनुसार नयाँ दिल्लीका करिब ९० प्रतिशत घर, कोलोनीमा नेपाली चौकीदार काम गर्छन्। पहिलेको तुलनामा तिनको आर्थिक हैसियत र जीवनशैली केही सुधि्रएको छ।

'कुनै–कुनै चौकीदारले पैसा पनि राम्रै कमाएको भेटेको छु,' लक्ष्मीनगरमा भेटिएका उनले नागरिकसँग भने, 'उनीहरूको तथ्यांकका लागि पहल गर्न नेपाली दूतावासलाई आग्रह गर्‍यौं, तर अहिलेसम्म राजदूतसमेत नियुक्त भएका छैनन्।' अधिकांश कामदार सुदूरपश्चिम र मध्यपश्चिमबाट जाने गरेको उनले जानकारी दिए।

नयाँ दिल्लीका चौकीदार भने नेपालका विभिन्न दलनिकट प्रवासी संगठनहरूले विभिन्न आश्वासन दिँदै आफ्नो पार्टीको सदस्य हुन आग्रह गरे पनि आफ्ना मर्कामा साथ नदिएको आरोप लगाउँछन्।

सन् २००४ तिर गोर्खा बहादुरहरूका बारेमा टाइम्स अफ इन्डियालगायत भारतीय अखबारमा नकारात्मक सन्देश जाने समाचार छापिएपछि त्यहाँको स्थानीय प्रशासन र घरमालिकले पनि वक्रदृष्टि लगाउन थालेका छन्। बहादुरहरूको वासस्थान लक्ष्मीनगरमात्रै होइन। चाँदनीचोक, छदरबजार, करोलबाग– यीलगायत जुनसुकै चोक, बजार, टोल र गल्ली चहारे पनि नेपालीहरू डन्डा बोकेर चौकीदारी गरिरहेका भेटिन्छन्।

दिल्लीमा सिए अध्ययनरत सुनसरी पाँचकन्या–५ ठिंगाबारीका सुधन महतका अनुसार एक गल्लीमै कम्तीमा १० नेपाली चौकीदार भेटिन्छन्।

भारतका पुराना पत्रकार एमजे अकबरको नेतृत्वमा निस्कने म्यागजिन 'सन्डे गार्जियन'की सम्पादक जोयिता वसुका अनुसार नेपाली चौकीदारबारे भारतीय मिडियामा नकारात्मक समाचार आउन थालेपछि घरमालिकले भारतकै चौकीदार राख्न थालेका छन्। 'पहिले नेपाली चौकीदार व्यक्तिगत सम्पर्ककै भरमा काम पाउँथे, अहिले बिहार र उत्तर प्रदेशका कामदार एजेन्टमार्फत आउन थालेका छन्,' वसुले नागरिकसँग भनिन्, 'नेपाली कामदार पढालेखा हुँदैनन्, एजेन्टकहाँ पुग्न सक्दैनन्, भएका कामदारको पनि रोजगारी झन् जटिल बन्दै छ।'
- See more at: http://www.nagariknews.com/main-story/story/11655#sthash.bf83lHTI.kfx9gU8H.dpuf

No comments:

Post a Comment