Friday, August 8, 2014

'सुखानीको रगत भुल्यौ कि ?'

 एमाले महाधिवेशन : झापा विद्रोहको सम्झना

सुखानीमा मारिएका झापा विद्रोही रामनाथ दाहालकी जेठी पत्नी जानुका भन्छिन्, 'मेरो घरमा जब नयाँ-नयाँ मान्छे आउन थाल्छन्, तब मलाई थाहा हुन्छ, फेरि फागुन २१ गते आएछ ।'
झापा-इलाम सीमास्थित सुखानी जंगलमा तीन सहकर्मीसँगै २०२९ फागुन २१ गते मारिएका थिए उनका पति । चन्द्रगढीबाट इलाम जेल सार्ने भन्दै लगिएका रामनाथ, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नेत्रलाल अभागीलाईर् पञ्चायती प्रशासनले बाटैमा हत्या गरेको थियो । मार्न त झापालीहरूले पनि 'सामन्त र सुराकी' का नाममा ९ जना मारेकै हुन् । तर आज झापा विद्रोहका नाइकेदेखि कार्यकर्तासम्म स्वीकार्छन्, त्यो माक्र्सवादको नाममा नजानीकन गरिएको व्यक्ति हत्याको राजनीति थियो । यसो भन्नेमा एमाले नेता केपी ओली, माले महासचिव सीपी मैनाली, नेताहरू मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, नरेश खरेललगायत एकमत देखिन्छन् । सीपी भन्छन्, 'त्यो उचित विद्रोह थियो, तर शैली उग्रवादी भयो ।'
झापा विद्रोहकै परिणामस्वरूप ०३२ सालमा कोअर्डिनेसन केन्द्र, ०३५ मा नेकपा माले हुँदै आजको दोस्रो ठूलो दल एमाले निर्माण हुन सकेको हो । त्यही एमाले अहिले नवौं महाधिवेशन गरिरहँदा उम्मेदवार र प्रतिनिधिका रूपमा झापा विद्रोहका हस्तीहरूसमेत सामेल छन् । तर ती असंख्य गुमनामहरू, जो राजनीतिमा स्थापित हुन सकेनन्, आज कहाँ छन् त ?

नक्खु जेल तोडेर उम्केका झापाली विद्रोही जीवन मगर ०२९ माघ १ गते कृष्ण कुइँकेल र नारायण श्रेष्ठसँगै समातिएका थिए । तीमध्ये कृष्ण र नारायण सुखानीमै मारिएका थिए । लामो राजनीतिक क्रियाशीलतापछि उनी सामान्य जीवन बिताइरहेका छन् । भन्छन्, 'राजनीतिमा लाग्ने थप मोह छैन ।'
झापाली विद्रोहीका परिवारलाई राजनीतिक नेतृत्वले यथोचित ध्यान नदिएको गुनासो बेला-बेला उठिरहन्छ । झापा विद्रोहको विरासत पाएर स्थापित एमाले, माओवादीजस्ता दलहरूले आफ्नो लक्ष्य भुलेर अन्तै बरालिएको गुनासो गर्नेमा झापा विद्रोही भीष्म धिमाल पनि पर्छन् । १७ वर्ष जेल जीवन बेहोरेका यी विद्रोही भन्छन्, 'नेताहरूले जब आफ्नो बाटो, गन्तव्य नै भुलिसके भने झापाली विद्रोहीको अब के चिन्ता ?'
जेल यातनाले फतक्कै गलेको प्रौढ शरीर घिसार्दै काठमाडौंका सडकहरूमा हिँडिरहेका भेटिने यी माओवादी पूर्वसभासद अहिले लामाटारमा तरकारी खेती गरिरहेको बताउँछन् । क्रान्तिले देशमा परिवर्तन ल्याउनुपर्नेमा केही नेताहरूको जीवनमा मात्रै परिवर्तन आएको दिक्दारी दर्शाउँदै उनी भन्छन्, 'पार्टीले झापा विद्रोहीलाई धानचामल दिनुपर्छ भनेको होइन, जीवन धान्न नसक्नेहरूका छोराछोरीलाई सीप सिकाइदियो भने आफैं काम गरेर खान सक्छन् । खोई त्यतातिर विचार गरेको ?'
माले, एमालेसँग निराश हुँदै माओवादी छिरेका धिमालको निराशा अहिले झनै चुलिएको छ । झापा विद्रोहका उत्तराधिकारी घोषणा गरे पनि माओवादीले समेत पुरानै ढर्रा अपनाएको उनको कटाक्ष छ । अहिले त कुनै नेताले झापा विद्रोहको प्रसंग उप्काए उनी पुरानो गीत सम्झाउँछन्
'सुखानीको रगतले भन्छ हामीलाई
सही बाटो हिँडैछौ कि भुल्यौ दाजुभाइ ?...'
अघिल्लो शनिबार रिडर्स झापाले काँकरभिट्टामा आयोजना गरेको 'झापा विद्रोहलाई फर्केर हेर्दा' कार्यक्रममा झापाली विद्रोही ठूलो दुर्गा अधिकारी र 'सानो' दुर्गा अधिकारी पनि सामेल थिए । त्यहाँ उनीहरूले राधाकृष्ण मैनाली, सीपी मैनाली, केपी ओली र मोहनचन्द्र अधिकारीसँगसँगै हिँडेका, बसेका, लुकेका, मान्छे मार्न हिँडेका संस्मरणमात्रै उप्काएनन्, त्यो आन्दोलन अचानक स्थगित भएकामा आश्चर्यसमेत प्रकट गरे । 'पहिले गाउँका जमिनदारसँग लडियो,' सानो दुर्गालाई उद्धृत गर्दै आयोजक सौरभ मैनाली भन्छन्, 'अहिले पार्टीमै जमिनदार निक्ले । एउटै लडाइँ सधैं कतिपल्ट लड्ने ?'
'ठूलो' दुर्गा अधिकारी अहिले झापाकै सहरेडाँगीमा बसोबास गरिरहेका छन्, सानो दुर्गा अधिकारीचाहिँ धुलाबारी, हडिया खोलानजिकै सुकुम्बासी बस्तीमा । आन्दोलनकै क्रममा हात गुमाएका मनकुमार गौतम आज एमालेको राजनीतिमा क्रियाशील छन् । नरेश खरेल निवर्तमान पोलिटब्युरो सदस्यका रूपमा एमाले नवौं महाधिवेशनमा सहभागी छन् ।
छविल राजवंशी, भेट्ला राजवंशी, हरिकृष्ण चौधरी, हेमबहादुर खडा, रामप्रसाद श्रेष्ठ, चन्द्र डाँगी झापा आन्दोलन र त्यसपछिको अवधिमा मारिएका थिए । सीमापारि भारतबाट सघाउन आएकामध्ये भोगेन राजवंशी बितिसकेको, राजन राजवंशी भने बागडोग्रामा बसिरहेका बताउँछन् झापा विद्रोहका जानकार पत्रकार चन्द्र भण्डारी ।
भीष्मका अनुसार उनका साथीहरू मनकुमार तामाङ, धर्म घिमिरे, हर्कराज खडा एमाओवादीमै क्रियाशील छन् । नारद वाग्ले, मनकुमार गौतम, दधिराम उप्रेती अहिले झापामै छन् । सोममडी सतार झापाको गरामनीमा सामान्य गुजारा गरिरहेका छन् । छविल राजवंशी सत्र वर्षको कारावासबाट छुट्ने बेलातिर जेलमै बिते । सबैभन्दा लामो अवधि अर्थात् १८ वर्ष जेल बस्ने झापाली भने मंगलमडी सतार हुन् । पत्रकार भण्डारीका अनुसार वास्तवमा उनी झापा आन्दोलनसँगै असंलग्न थिए । 'मंगलमणि सुनुवार खोज्न आएका जमिनदारले उनलाई नभेटेपछि आवेशमा आई आफ्नै मोही मंगलमडी सतारलाई जेल हालेका थिए,' उनी भन्छन्, 'उनी ०४६ सालमा जेलमुक्त भएको एक वर्षपछि बिते ।'
जेलमै जीवन गुमाउनेमा भेट्ला राजवंशी पनि थिए । अमर अधिकारी भने जेलबाट छुटेर बिते । १७ वर्ष जेल काटेका अर्का झापाली अमर कार्की भने अहिले चितवनमा बस्छन् । चन्द्र डाँगीलाई पञ्चायतकै बेला हत्या गरिएको थियो । गौरा प्रसाई, घनेन्द्र बस्नेत एमालेको राजनीतिमा क्रियाशील छन् ।
विद्रोहका क्रममा पाँच सयभन्दा बढी भागेका, केही जेल परेका, केही मारिएका सुखानी सहिद स्मृति प्रतिष्ठान झापाको स्मारिका 'सुखानी' मा उल्लेख छ । 'झापालीले हत्या गर्ने योजना बनाएका १३ मध्ये ९ जनालाई मार्न सके । तर राज्य पक्षले मारेका र दमन गरेकाको संख्या गनेरै सकिँदैन,' भीष्म धिमाल बताउँछन् ।
झापा विद्रोह झाँगिएसँगै पञ्चायती सरकारले व्यापक दमन थालेको थियो । राधाकृष्ण मैनाली, गौरा प्रसाई, हर्कबहादृर खडा, लीला कट्टेल, नारद वाग्ले र चन्द्रबहादुर डाँगी झापाको नडियाबारीमा समातिएको इतिहासकार सुरेन्द्र केसीको 'ऐतिहासिक दस्तावेज संग्रह' मा उल्लेख छ । झापाली युवा कम्युनिस्टले ०२७ को अन्त्यतिर थालेको उक्त हिंसा दुई वर्ष नपुग्दै स्थगित भए पनि देशभरि कम्युनिस्ट संगठन बनाउने त्यसले प्रेरणाको काम गर्‍यो ।
झापा विद्रोही तथा एमाले नेता मनकुमार गौतमका अनुसार निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध त्यो आन्दोलन सुरु नभएको भए देशको राजनीतिक विकास त्यति छिटछटो हुँदैनथ्यो । 'त्यसले सर्वसाधारणको मनोबल ह्वात्तै बढाइदिएको थियो, पहिले जमिनदारसँग आँखा जुधाएर कुरा गर्न हिम्मत नभएकाहरू आफ्नो अधिकार माग्न थालेका थिए,' उनी सम्झन्छन्, 'यसले आधारभूत वर्गमा परिवर्तनको चेतना बिस्तार गरिदियो ।'
नक्खु जेलसमेत बसेका झापा विद्रोही जीवन मगरका शत्तदमा, 'हामीमध्ये सिद्धान्त बुझ्ने मानिस लगभग सीपीबाहेक कोही थिएन होला तर क्रान्ति गरेर समाजवाद ल्याउने भन्ने आवेग थियो ।' रोचक कुरा सबै झापाली विद्रोहीहरू २० वर्षभन्दा कम उमेरका थिए । उनीहरूको केटौले जोस कति उग्र थियो भन्नलाई त्यस बेला सिर्जित गीतका यिनै दुई लाइन काफी छन् -
'सामन्तलाई नगिँडे
आउँदैन है जनवाद भाषण ठोकेर...'
धेरै लाग्ने खुकुरी छिटो र्झछ भन्ने नेपाली उखान चरितार्थ गर्दै झापा विद्रोह जसरी सुरु भएको थियो, त्यसरी नै सकियो । तर त्यसको अढाई दशक नबित्दै माओवादीले योजनाबद्ध संघर्ष गर्‍यो । एक दशक चलेको त्यो आन्दोलनका अगुवाले आफूहरूलाई झापा विद्रोहको असली उत्तराधिकारी बताउने गरे पनि यी विद्रोहीहरू त्यो स्वीकार्न तयार छैनन् । 'माओवादीले भारतलाई आफ्नो युद्धको आधार बनायो,' विद्रोही जीवन मगर भन्छन्, 'जबकि हामीले विदेशी सहयोग लिने कुनै नीति बनाएका थिएनौं । जेजस्तो अप्ठ्यारो आइपरे पनि देशभित्रै बसेर लड्ने योजना थियो ।'

प्रकाशित मिति: २०७१ असार २२ १२:३९

No comments:

Post a Comment