Friday, August 8, 2014

इजलासमा भानुभक्त

त्रिविकी अध्यापक रजनी ढकाल पहिलोपटक 'बधूशिक्षा' पढेपछि भानुभक्तसँग हदैसम्म रिसाइन्- आदिकविजस्तो मानिसले यस्तो घटिया कुरो लेख्ने ?

'नारीले हाँस्न हुन्न । लोग्नेले मनलागी सौता ल्याउनु उचित हो । बहुविवाह आवश्यक छ । सतीप्रथा जायज हो ।' बधूशिक्षाभित्र यस्ता पंक्ति त कति हो कति ।

'अलिकति बुझ्ने भएपछि भानुभक्तको समय, समाज, सांस्कृतिक स्तर पनि पढ्दै गएँ । त्यो समयको मनोविज्ञानका ती साक्षीले त्यस्तो लेख्नु अनौठो लागेन,' भानुभक्तको 'वधूशिक्षा' माथि पुस्तक लेख्दै गरेकी उनी भन्छिन्, 'उनको अध्ययनको स्तर खासै थिएन । त्यसैले समाजका परम्परालाई कुनै प्रश्न नगरी खुरुखुरु लेखिदिए ।'

बनारस हिन्दु विश्वविद्यालयबाट भानुभक्तमाथि पीएचडी गरेकी सिक्किम युनिभर्सिटी नेपाली विभागकी प्रमुख कविता लामाको पीएचडी थेसिसमा भानुभक्तको सन्की स्वभावमाथि रोचक वर्णन पढ्न पाइन्छ । साथी तारापतिको घरमा जाँदा सासू-बुहारीको झगडाले रातभरि सुत्न नपाएको झोंकमा उनले तात्तातै कविता लेखेका रहेछन् । बास नपाएको अर्को सन्दर्भमा भानुभक्तले लेखे :

'गजाधर सोतीकी घरबुढी अलच्छिनकी रइछन्

नरक जानालाई सबसित बिदाबादी भइछन् ।'



'रिसाहा भानुभक्तमा कसैलाई पनि सहने स्वभाव थिएन,' लामाले अघिल्लो साता काठमाडौंमा आयोजित भानु द्विशतवाषिर्कीका अवसरमा पेस गरेको कार्यपत्रमा उल्लेख छ, 'एकजना गिरिधारी भाट भन्नेसँग उनको जग्गामा झगडा परेको थियो । भाटले उनलाई मुद्दामा यति अल्झाइदियो कि, भाट शब्दसँग रिस उठेर उनले घरका भाटाहरूसमेत उखालेर फालिदिए ।'


१९१९ सालमा लिखित 'बधूशिक्षा'बारे नेपाली लेखकवृत्तमा आलोचना र समर्थन दुवै पाइन्छ । समर्थन गर्नेहरू भन्छन्- १९७७ सालमा सतीप्रथा अन्त्य भयो, भानुभक्तले सतीको समर्थनमा ५० वर्षअघि लेखेका थिए । अहिले हेर्दा गलत लागे पनि त्यस समयका लागि उनले त्यस्तो लेख्नु स्वाभाविक देखिन्छ ।

भानुभक्तकै समयका अर्का कवि सन्त ज्ञानदिलदासको काव्यशिल्प सामान्य रहे पनि चेतनाको स्तर भानुभक्तभन्दा माथि रहेको बताउँछिन् ढकाल । 'ज्ञानदिलदासले त्यही बेला छुवाछूत, जातपातको विरोध गरी कविता लेखेका थिए, तर भानुभक्तलाई यस्ता मुद्दामा चासै थिएन,' उनी भन्छिन् ।

असार १३ गते प्रज्ञा प्रतिष्ठानमा आयोजित भानुभक्त आचार्य द्विशतवाषिर्कीमा प्राडा वासुदेव त्रिपाठीले कार्यपत्र प्रस्तुत गर्दै भनेका थिए, 'संस्कृतको अध्यात्म रामायणभन्दा भानुभक्तीय रामायण उत्कृष्ट छ । मौलिकतामा त भानुभक्तले वाल्मीकिलाई समेत जितेका छन् ।'

भारतीय नेपाली कवि तथा समालोचक मनप्रसाद सुब्बा त्रिपाठीको भनाइसँग सहमति जनाउँछन् । 'संस्कृतका पात्रहरूलाई भानुभक्तले नेपालीकै राम, सीताजस्ता पात्र बनाइदिए, यहींको बोली टिपेर लेखे,' सुब्बा भन्छन्, 'उनले अनुवादमात्रै गरेका होइनन्, नयाँ सिर्जनाकै कोटीको योगदान गरेका हुन् ।'

लेखक सीके लाल भने यस्तो तर्कलाई अस्वीकार गर्छन् । भानुभक्तको लालित्य राम्रो भए पनि उनी आफ्नो समयको राज्य, धर्म, संस्कृति र मान्यताका पक्षपातीमात्रै रहेको उल्लेख गर्दै उनी भन्छन्, 'भाषाको लालित्य सुन्दर छ, तर उत्कृष्ट र कालजयी कवि होइनन् । यति हुँदाहुँदै पनि हिन्दु धर्म, गोर्खाली भाषा र पुरुषप्रधान राज्यले भानुभक्तलाई स्थापित गर्नु स्वाभाविक हुन गयो ।'

लालका अनुसार पञ्चायतले स्थापित गरेको भानुभक्तको छविलाई २०४६ पछि अस्वीकार गर्न थालिए पनि राज्य स्वयंले संरक्षण गरेकाले भावनात्मक उद्वेगकै आधारमा सालिक धमाधम बन्न थाले । सभ्य समाजमा कसैको पनि सालिक भत्किनु अनुचित भए पनि राज्यले बौद्धिक तर्कका आधारमा नभई भावनामा बहकिएर सालिक बनाउने हुँदा पछि त्यसैको द्वन्द्व देखिएको उनको भनाइ छ । अर्थात्, समर्थन पाउन्जेल सालिक सुरक्षित रहे, विरोध सुरु भएपछि भानुभक्त र अरूका पनि सालिक ढल्न थाले ।

'हरेक कालखण्डमा मूलत: छवि निर्माण गर्ने राजनीतिकै अंग हो सालिक,' उनी भन्छन्, 'हेर्दा भौतिकजस्तो देखिए पनि त्यससँग मानसिकता त जोडिएकै हुन्छ । सर्लाहीको दलितलाई भानुभक्त देख्दा निरपेक्ष भाव आउनु भनेको उनको सान्दर्भिकता हराउँदै गएको हो ।'

नेपाली बौद्धिक वृत्तमा एउटा मान्यता जबर्जस्त स्थापित छ- बाइसी चौबीसी टुक्रामा विभाजित नेपाललाई जसरी पृथ्वीनारायण शाहले जोडे, त्यसरी नै भानुभक्तले दर्जनौं भाषाहरूलाई 'नेपाली' भाषाले जोडे । ती दुवै तर्कलाई साम्राज्य विस्तार गर्ने प्रोजेक्टका रूपमा अथ्र्याउने पनि छन् ।

इतिहासकार प्रत्युष वन्तले सन् १९९९ मा लेखेको अनुुसन्धानपत्र 'द करिअर अफ् भानुभक्त एज अ हिस्ट्री अफ् नेपाली नेसनल कल्चर' का अनुसार पञ्चायती व्यवस्थाले निर्माण गरेको पाठयक्रममा भानुभक्तको अतिरन्जनापूर्ण चित्रण गरियो । मोतीराम भट्टले 'रिडिस्कभर' गरेका भानुभक्तलाई बनारस बस्ने विद्वान्हरूले प्राथमिकतासाथ लेखे । 'सन् १९२० देखि ४० को बीचमा दार्जिलिङमा सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधानले नेपाली जातिको उत्थानका लागि आवश्यक पर्ने छविहरू खोजी गर्दा भानुभक्त फेला परे,' वन्त लेख्छन्, 'नेपालको पञ्चायतले त्यसैलाई अनुकरण गरेर राष्ट्रवादका आधारहरू मजबुत बनाउन खोज्यो ।'

भानुभक्त आदिकवि हुन् कि होइनन् भन्नेमा पनि बहस जारी नै छ । मोतीरामले १९४८ सालमा 'भानुभक्त आचार्यको जीवन चरित्र' पुस्तक लेखी पहिलोपल्ट आदिकविका रूपमा सम्बोधन गरे । राणा प्रधानमन्त्री जुद्धशमशेरले त्यसै पुस्तकलाई सदर गर्दै भानुभक्तलाई 'आदिकवि'को राजकीय मान्यता प्रदान गरे । 'उनीभन्दा अघि पनि थुप्रै कवि रहे पनि राज्यले नै वैधानिक मान्यता दिएकाले उनी आदिकवि भइरहे,' वन्त भन्छन् ।

लेखक लालका अनुसार असी प्रतिशत हिन्दु जनता छन् भनी राज्यले नै दाबी गरिरहेको ठाउँमा रामायण अनुवाद गरेकै भरमा उनलाई आदिकवि भनिनु अनौठो होइन । प्रश्न भने उठ्छ, हिन्दुको धर्मग्रन्थ अनुवाद गर्नुको सट्टा भानुभक्तले 'बाइबल' अनुवाद गरेका भए उनी आदिकवि हुन्थे कि हुँदैनथे ? '८० प्रतिशतलाई आदिकवि लागे पनि २० प्रतिशतको आँखाबाट हेर्ने हो भने रामायण हिन्दु धर्म प्रचारको माध्यममात्रै हो,' लाल जिकिर गर्छन्, 'बाइबल र अरू धर्मका ग्रन्थहरू नेपालीमा अनुवाद भएकै छ, तर तिनका लेखक को हुन् भन्ने कसैलाई थाहा छैन । यस्तो किन भयो भन्नेतर्फ विचार गर्नुपर्छ ।'

मनप्रसाद सुब्बा भने त्यसमा असहमति जनाउँछन् । राज्यले उनलाई जसरी प्रस्तुत गरे पनि त्यो भानुभक्तको कमजोरी नभएको उनको तर्क छ । 'उनी हिन्दु ब्राह्मण भएकाले आफ्नै धर्मसंस्कृति लेख्नु कुन अनौठो भयो र ?' सुब्बा भन्छन्, 'उनले कुनै खास धर्मका मिथकलाई सबैले बुझ्ने साहित्यमा प्रस्तुत गरे । त्यो आफैंमा अतुलनीय योगदान थियो ।'

भानुअध्येता रजनी ढकाल सुब्बाको भनाइलाई समर्थन गर्छिन् । कमीकमजोरीका बीच भानुभक्त प्राथमिककालका त्यस्ता केन्द्रीय प्रतिभा हुन्, जसले शार्दुलविक्रीडितजस्तो संस्कृतको जटिल छन्दलाई सबैले बुझ्नेगरी नेपाली भाषामा मिठो साहित्य दिए । 'आदिकवि भन्ने शब्दलाई सोझो अर्थमा नलिई लाक्षणिक अर्थमा लिनुपर्छ, जस्तो कि माधवप्रसाद घिमिरे राष्ट्रकवि भए पनि अरू कवि पनि राष्ट्रकै कवि हुन्, बाहिरका त होइनन्,' उनी अथ्र्याउँछिन् ।

लोकले बुझ्ने भाषामा रामायण उल्था गरी 'लोकको गरुँ हित' भन्ने भानुभक्तलाई भारतीय नेपाली समुदायले उच्च आदर गर्ने गरेको सुब्बाको भनाइ छ । हरेक वर्ष असार २९ गते भानुजयन्ती चाडकै रूपमा मनाइन्छ, भारतमा । '२०० वर्ष पुगेको उपलक्ष्यमा गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसनले हरेक गाउँ र साना सहरमा भव्य रूपमा यो चाड मनाउँदै छ,' उनी सुनाउँछन्, 'आसाम, बनारस, सिक्किम, डुवर्स, देहरादुन र नयाँ दिल्लीमा समेत भव्य आयोजना चलिरहेका छन् ।

भानुभक्त पहिले पनि कविहरू थिए भन्ने प्रमाण पेस गर्दै दीनानाथ सापकोटा, रामकृष्ण शर्मा, तारानाथ शर्माजस्ता समालोचकहरूले उनलाई आदिकवि भनिनु नहुने तर्क गरेका थिए । लक्ष्मीप्रसाद देवकोटाले भने 'लक्ष्मी निबन्ध संग्रह' मा 'नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष' शीर्षक निबन्धमार्फत् मार्मिक टिप्पणी गरेका छन्, 'हामी भानुभक्त पढेर आफ्नो शिक्षा आरम्भ गर्छौं, भानुभक्तलाई उपेक्षा गरेर आफ्नो पढाइ पूरा गर्छौं ।'

प्रकाशित मिति: २०७१ असार २८ ११:४२

No comments:

Post a Comment