Friday, August 8, 2014

उनी गायत्री स्पिभाक हुन्

सेत्ताम्मै, ठुट्टै कपाल । रुद्राक्षझैं देखिने माला भिरेको उज्यालो अनुहार । कानमा साना टप, खैरो सारी । बंगाली लवज मिसिएको अंग्रेजी जिब्रो । आवाजमा आत्मविश्वासी 'मोडुलेसन' । समाधिबाट निस्केर आएको योगीको जस्तोे गहिरो मुस्कान । तिखो हेराइ ।

उनी गायत्री चक्रवर्ती स्पिभाक हुन् ।

कोलम्बिया विश्वविद्यालयकी यी ७२ वर्षीया प्राध्यापक तीन वर्षयता नेपाल धाइरहेकी छन् । यहाँ पछिल्लो समय सबाल्टर्न बहस चर्चामा छ । त्यसलाई साढे तीन दशकअघि विश्व बौद्धिक मञ्चमा पहिलोपल्ट 'हाई डेसिबल' को ध्वनिसहित प्रवेश गराउने स्पिभाक पहिलो विद्वान् हुन् ।

बीसौं शताब्दीका गिनेचुनिएका विद्वान्मध्ये ज्याक डेरिडाको नाम अग्रपंक्तिमा आउँछ । उत्तरसंरचनावाद र विनिर्माणवादका प्रवर्तक डेरिडाको नाम उत्तरआधुनिकताको डिस्कोर्समा सबैभन्दा पहिले लिइन्छ । उनै फ्रेन्च दार्शनिकको सर्वाधिक चर्चित तर उत्तिकै कठिन मानिने 'अफ् ग्रामाटोलोजी' लाई फ्रेन्चबाट अंग्रेजीमा अनुवाद गरी वाहवाही लुट्ने यिनै स्पिभाक हुन् ।

स्पिभाक विख्यात भारतीय लेखिका महाश्वेतादेवीका कृतिलाई सुन्दर अंग्रेजी अनुवाद गरी पश्चिमालाई पढाउने व्यक्ति हुन् । अहिले त महाश्वेतादेवी अमेरिका र युरोपतिरका विश्वविद्यालयमा प्राथमिकतासाथ पढाइ पनि हुन्छिन् ।

असीको दशकमा 'क्यान द सबाल्टर्न स्पिक ?' लेखेर ग्लोबल चर्चा बटुलेकी स्पिभाक आफैं भने 'एन्टिग्लोबलिस्ट' हुन् । पश्चिमा सभ्यताले थोपरेको समरूपी संस्कृतिविरुद्ध निरन्तर प्रहार गर्ने उनी हिजोआज आक्रमणमा भन्दा व्याख्यामा रुचि राख्छिन् । मतलब, दक्षिण एसियाले अरूको विरोध गर्नमा समय खेर फाल्नुभन्दा आफ्नो कला, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्न लाग्नुपर्ने उनको मत छ ।

यति सबै चर्चा गरिसक्दा पनि एउटा परिचय भने थप्नैपर्छ । उनी आफूलाई 'व्यावहारिक-माक्र्सवादी-नारीवादी-विनिर्माणवादी' मान्छिन् । यी सबैको व्याख्यातिर लाग्यो भने एउटा पुस्तक तयार हुन सक्छ ।

सन् १९८२ यता अमेरिकी र पश्चिमा बौद्धिकलाई निरन्तर आफूतिर खिचिरहेकी स्पिभाक कुलिनहरूको कब्जामा रहेको विश्वविद्यालय र प्राज्ञिक मञ्चकी खरो आलोचक हुन् । ज्ञानलाई 'एकेडेमिया' भित्र नखुम्च्याई कर्मको लोकेसनमा पुर्‍याउन आह्वान गर्ने यी चिन्तक विश्वविद्यालय र सडकबीच तादात्म्य खोज्छिन् । हिजोआज सबाल्टर्न मुभमेन्टका सहकर्मीहरूप्रति उनको यसै कारण चर्को रोष देखिन्छ । उनी ठान्छिन्, 'रणजीत गुहा, पार्थ चटर्जीहरू विश्वविद्यालयको घुम्ने कुर्सीमा बसेर गरिब, निमुखाहरूको बारेमा घोत्लेझैं गर्छन् । त्यसरी सबाल्टर्न मुभमेन्ट हुँदैन । फिल्डमा जानुपर्छ ।'

'एक्टिभिस्ट' हुनुपर्छ रे ! त्यसो भयो भने सबाल्टर्नहरूको 'कल्पना' लाई नै बदल्न सकिन्छ भन्ने उनको ठम्याइ छ ।

'पोस्टकोलोनियल स्टडिज' मा अग्रणी नाम हो स्पिभाक । उनलाई उच्च प्राथमिकतासाथ समेट्दै तीन वर्षअघि नेपाली भाषामा दुई किताब लेखिए- सञ्जीव उप्रेतीको 'सिद्धान्तका कुरा' र तारालाल श्रेष्ठको 'शक्ति, स्रष्टा र सबाल्टर्न ।'

समकालीन बौद्धिक विश्वकी यी सेलिबि्रटी तीन वर्षअघि नेपाल आउनुभन्दा पहिले नै हल्लाखल्ला भइसकेको थियो । बानेश्वर हाइटस्थित पोखरा विश्वविद्यालयको अंगे्रजी विभाग 'आयसर'मा निर्धारित समयभन्दा डेढ घन्टा ढिलो आएकी उनलाई हेर्न, सुन्न, अटोग्राफ लिन र फोटो खिचाउन आउनेहरूले सास रोकेर पर्खेका थिए । दिउँसोदेखि नै बीबीसी, सीएनएन, अलजजिराले उनीसँग लिएका अन्तर्वार्ता प्रोजेक्टरमा देखाइएको थियो । अंग्रेजी, नेपाली र समाजशास्त्रका विद्यार्थीको कुाडुलो देखेर छक्क परेकी उनले त्यसपछि त सम्बन्धितबाहेक अरूलाई सुइँको दिनै छाडिन् । यसपालि कहिले आइन् कहिले गइन्, धेरैलाई पत्तै भएन । गत साता तीन दिनसम्म 'रिथिंकिङ साउथ एसियन स्टडिज्/न्यू रिजनालिज्म' सम्बन्धी कार्यशालामा कोलम्बिया विश्वविद्यालयका अरू दुई प्राध्यापकहरू रब्बी बार्नेट र गौरी विश्वनाथन्सहित सुपरिवेक्षण गरेर उनी फर्किन् । नेपालमा यस अध्ययनको संयोजन डा. अरुण गुप्तोले गरिरहेका छन् । बार्नेट कोलम्बिया विश्वविद्यालयअन्तर्गत 'टिबेटियन स्टडिज' का प्रोफेसर हुन् ।

स्पिभाकले 'रिथिंकिङ साउथ एसियन स्टडिज्'सँगै 'न्यू रिजनालिज्म' भन्ने शब्द जोड्नुको विशेष कारण छ । दक्षिण एसियाली अध्ययनतिर पश्चिमा बौद्धिकको ध्यान त्यस बेलादेखि तानियो, जब असीको दशकमा सबाल्टर्न मुभमेन्ट सुरु भयो । तर यसमा सयका सय वर्चस्व भने भारतीय विद्वान् र लेखकको रह्यो । दक्षिण एसियाका अरू देशहरू पूरै छुटे । जब स्पिभाकलाई यो तथ्य अनुभूति हुन गयो, उनी हिमाली मुलुकतिर आँखा लगाउन थालिन् । उनको पहिलो फोकस नेपालमा छ, जहाँबाट हिमाली लोकसंस्कृति, नेपाल भोट आर्थिक, सांस्कृतिक सम्बन्ध, बौद्ध धर्मजस्ता विषयहरूमा अनुसन्धान गर्न सकिन्छ ।

काठमाडौंमा यीसहित जम्मा १२ विषयमाथि लेखन र अनुसन्धान चलिरहेको छ । स्पिभाक आफैंले नेतृत्व गरिरहेको यो अनुसन्धानमा यहीँका शोधकर्ता सामेल छन् । त्यसपछि छुट्टाछुट्टै १२ पुस्तक प्रकाशित हुने आयसरका अध्यापाक महेश पौडेल बताउँछन् ।

नेपाल अर्धऔपनिवशिक देश हो भनेर यहाँका कम्युनिस्टले भन्दै आए । पछिल्लो समय एमालेका केही युवा नेताले यो व्याख्यालाई गलत ठहराएका छन् । स्पिभाकमातहत चलिरहेको अनुसन्धानको एउटा भाग नेपाल उपनिवेश हो कि होइन भन्नेमा केन्दि्रत छ । राणा-अंग्रेजबीचको कूटनीतिक सम्बन्ध कस्तो थियो भन्नेबारे अध्ययन त्यसैसँग जोडिएर चल्दै छ । अर्को अध्ययनचाहिँ बुद्ध धर्ममा मृत्युचेत भन्ने विषयमा छ । डोरबहादुर विष्टको उपन्यास 'सोताला' का आधारमा नेपाल-तिब्बत सम्बन्धको अर्थ-सांस्कृतिक पक्ष खोजी भइरहेको छ । यी सबै अध्ययनलाई 'आयसर'ले नै संयोजन गरिरहेको छ ।

---

सन् १९४२ फेबु्रअरी २४ मा कोलकातामा जन्मेकी स्पिभाक कोलम्बिया विश्वविद्यालयको २ सय ६७ वर्षे इतिहासमा सर्वाधिक आदर पाउने पहिलो दक्षिण एसियाली प्राध्यापक, सिद्धान्तकार र समालोचक हुन् । विश्वविद्यालयका अध्यक्ष ली बोलिंगरले सर्वोच्च फ्याकल्टी र्‍यांकमा स्पिभाकलाई बहाली गर्दा नियुक्तिपत्रमा लेखेका थिए- विनिर्माणवादी सिद्धान्तप्रति आफ्नो मेधा र योगदानले विश्वभर चिनिएकाले मात्र होइन, त्यसको माक्र्सवाद, ग्लोबलाइजेसन, नारीवाद र उत्तरउपनिवेशवादसँग नयाँ सम्बन्धको बेजोड तर्क दिएकाले स्पिभाक यहाँको सर्वोच्च हैसियतमा नियुक्त भएकी हुन् । आशा छ, उनले प्राज्ञिक विश्वलाई अझै नयाँ र महान् विचारहरू दिनेछिन् ।' 

स्पिभाक भने विश्वविद्यालयमा धेरै समय बिताउँदिनन् । यसो गर्न उनलाई झ्याउ लाग्छ रे ! यी वृद्धा छापामार शैलीमा घुम्छिन्, खान्छिन् बस्छिन् । उनी कतिखेर कहाँ गइन्, के गरिन् र कतिखेर फर्किन् भन्ने हम्मेसी कसैले पत्तो पाउँदैन । तेस्रो श्रेणीको टिकट काटेर रेलयात्रा गर्ने, थोत्रा लुगा लगाउनेजस्ता 'आइडियल' काम गर्न मन पर्छ उनलाई । पश्चिम बंगालको उत्तरी भाग वीरभूममा गई स्पिभाक अहिले पनि अनपढहरूलाई साँवाअक्षर चिनाउने, उनीहरूसँगै बस्ने, खाने, गाउने नाच्ने गर्छिन् । माथि भनिएझैं सबाल्टर्नहरूको 'इम्याजिनेसन्' पूरै नबदलुन्जेलसम्म कुनै परिवर्तन आउन सक्दैन भन्ठान्छिन् र त्यसै गर्छिन् उनी । वीरभूममा काम गर्दा गर्दै उनले एउटा पुस्तक पनि लेखिन्, 'मल्टिकल्चरल एजुकेसन इन् द एरा अफ् ग्लोबलाइजेसन् ।' यो पुस्तकमा वीरभूममाथिकै धेरैजसो अनुभवहरू संगृहीत छन् ।

इटालीका विद्वान् तथा कम्युनिस्ट नेता एन्टोनियो ग्राम्सीले जेल बस्दा सबाल्टर्नको पहिलो व्याख्या दिएका थिए । कतिपयका विचारमा जेलको चर्को सेन्सरसिपमा उनले सर्वहारा भन्ने शब्द प्रयोग गर्न नसकेर सबाल्टर्न शब्द सापटी लिएका हुन् । खैर यो पुष्टि हुन बाँकी छ । स्पिभाकका विचारमा भने ग्राम्सीको सबाल्टर्न व्याख्या अपूरो लाग्छ । 'उनको चिन्तनले थप व्याख्या माग्छ, सबाल्टर्न भनेर मात्रै पुग्दैन,' उनी भन्छिन्, 'त्यसैले पछि थप व्याख्याको आवश्यकता परेको हो ।'

ज्ञान निर्माणको विश्वमञ्चमा भूमण्डलीकरणले प्रदूषण छाडेको ठान्ने स्पिभाक पूर्वीय सभ्यता र सौन्दर्यशास्त्रीय शिक्षामा जोड दिनुपर्ने ठान्छिन् । ज्ञान र तर्कको क्षेत्रमा चरम हिंसा हुने गरेको उनको भनाइ छ । 'अब पढेर मात्रै हुँदैन, 'एपिस्टेमोलोजिकल पर्फमेन्स' पनि जरुरी छ,' यी वामपन्थी भन्छिन्, 'ज्ञानजस्तो कुरालाई कुलिनहरूसामु ठेक्का दिन सकिँदैन ।'

रुसी कम्युनिस्टहरूले एकताका थालेको 'भ्यानगार्डिज्म'सँग स्पिभाकको शाब्दिक विश्वास अझै बाँकी छ । आजको विश्वका मानिसहरू भने त्यसलाई सैन्यकरणसँग जोडेर हेर्छन् । तर उनले व्याख्या गर्ने भ्यानगार्ड भने पुरातन भ्यानगार्ड होइनन् । ती 'एपिस्टेमोलोजिकल भ्यानगार्ड' हुन्, एकेडेमीदेखि फिल्डसम्म बरोबर काम गर्न सक्ने । मानिसको ज्ञान र बौद्धिकताको प्रयोग -एपिस्टेमोलोजिकल पर्फमेन्स) बदल्न सक्ने ।

दुरूह लाग्ने विषयलाई पनि सजिलो गरी बुझाउन खोज्छिन् स्पिभाक । तर दार्शनिकहरूका कुरा बुझ्न कहाँ सजिलो छ र ! दाँतबाट पसिना निक्लेलाझैं हुन्छ । उनको लेखनशैलीबारे एकपटक न्युयोर्क टाइम्सले लेखी नै दिएछ- 'फ्यामस्ली हार्ड टु अन्डस्टयान्ड ।'

---

   'सबाल्टन्र्स आर दोज पिपल, हु अक्सेप्ट दियर ह्रेचेडनेस,' अनि भनिन्, 'विद सबाल्टर्न स्माइल । एन्ड दयाट इज होरिफाइङ ।'

स्पिभाकका अनुसार सबाल्टर्नसँग वर्गचेतना हुँदैन । तिनले आफूमाथिको शोषण बुझ्ने कुरै भएन । 'सबाल्टर्नहरू उनीहरूको पोजिसनलाई सकार्छन्, विद्रोह गर्ने तिनीहरूको हुति हुँदैन,' उनको मत छ, 'किनकि उनीहरूलाई अभिशप्त जीवनबाट बाहिर निस्केर प्रतिरोध गर्नुपर्छ, गर्न सकिन्छ भन्ने थाहै हुँदैन ।'

स्पिभाक वाचाल छिन् । बोलीमा हरियाली लहराउँछ । ध्वनिलाई दृश्यमा बदल्ने कम्प्युटर प्रोग्राममा उनको आवाज पेस्ट गर्ने हो भने त्यो थाहा हुन्छ । अनि जहाँनेर बल पर्छ र माथिल्लो बारलाई छुन्छ, स्रोताले बुझे हुन्छ, त्यो महत्त्वपूर्णभन्दा पनि महत्त्वपूर्ण वाणी हो ।

भावुक भएर बोल्नुपर्‍यो भने मातृभाषा बंगालीमा बोल्दिरहिछन् स्पिभाक । झर्रोपना त उनको स्वभावमै छ । वैंशको उकालो चढ्दै गरेकी किशोरीझैं छिन् उनी । छट्पट छट्पट गरिरहनुपर्छ यिनलाई । सबाल्टर्नका अर्का अगुवा रणजित गुहा उनको चालढाल र बदलिइरहने विचार बुझेर नामै फेरिदिएछन् गायत्री चक्रवात । चक्रवातझैं घुमिरहने, ठेगान नहुने ।

'तिमीहरू हवाइजहाजबाट ओर्लेर देशलाई गाली गर्नेका कुरा नसुन । भुइँमान्छेहरूबीच जाऊ । उनीहरूसँगै काम गर । अनि थाहा हुन्छ- देश भनेको के हो,' स्पिभाक बोल्छिन् । स्पिभाकअगाडि दीपेश चक्रवर्ती, पार्थ चटर्जी, रणजित गुहा, ज्ञानेन्द्र पाण्डे, शुशी थारूजस्ता विद्वान्हरूले 'सबाल्टर्न हिस्टोरियोग्राफी'माथि काम गरेका थिए । उनीहरूसँग सन् २०१० यता स्पिभाकको मतभिन्नता बढ्दै गइरहेको छ । अरू विद्वान्हरू 'सुकिलामुकिला' हुनुमै आनन्दित भइरहे भन्ने उनको आरोप छ । उनीचाहिं मस्तमौलाना भएर भारत, बंगलादेश, नेपालजस्ता एसियाली देश, केन्या नैरोबी, युगान्डा, नाइजेरियालगायत अफ्रिकाली मुलुकहरूका गाउँ घुमिरहन्छिन् ।

अरुण गुप्तो भन्छन्, 'हामी स्पिभाकको लेखन पढेर हुर्कियौं । नेपालका विश्वविद्यालयमा पनि उनका रचना पढाइ हुन्छन् । हाम्रो पुस्ताले भेट्न पाएकी उनीप्रति नेपाली एकेडेमीहरूको उच्च आदर रहिरहनेछ ।'

प्रकाशित मिति: २०७१ असार ७ ११:४४

No comments:

Post a Comment