Friday, August 8, 2014

झलनाथका १५ गीत

 लेखकलाई नेता हुन गाह्रो होला, नेतालाई लेखक हुन गाह्रो छैन। तर ‘राम्रो लेखक' हुन भने साँच्चै गाह्रो छ। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाल कुन काँटका लेखक हुन्, खुट्याउनलाई समीक्षक छँदैछन्। लेखाइबाट भने झल्किन्छ– उनी गम्भीरतापूर्वक लेख्छन्, सम्पूर्ण शक्ति लगाएर लेख्छन्।
गृहजिल्ला इलाम गएका बेला समय बचाएर संगीतकार गणेश रसिककहाँ पुग्छन्, हार्मोनियम बजाउँदै गीत गाउन अनुरोध गर्छन्। आफू पनि गाउँछन्।

इलामको आदर्श हाइस्कुल पढ्दाताक साहित्यिक समूह बनाएर गोष्ठी आयोजना गर्ने कवि जेएन हिमालीले आइएस्सी पढ्दा घरबाट खर्च नपाएको दिक्दारीमा कविता लेखे। एक वर्षे छोरा प्रसन्न २०४२ सालमा बितेको वियोगमा कविता लेखे। २०५४ मा एमाले फुटेका पीडामा कविता लेखे। पार्टी एकीकरणको घोषणापत्रभन्दा पहिले ‘अब म लमजुङ आउँछु' शीर्षकको कविता लेखे। काठमाडांैमा पुलिसको कुटाइ खाएका बेला वीररस लेखे। बागलुङ, इलाम, चन्द्रगढी जेलमा बस्दा रचे। जेएन हिमाली ‘डब्लुटी' (होलटाइमर) नेता बने, पार्टटाइमर कवि।

कुन्नि के मन लाग्यो, जेएन हिमालीले पछिल्लो नाममा इरेजर लगाए। अनि ट्याक्क मिलाए, जेएन खनाल।


तिनै जेएन खनालले रचेका, संगीतकार अशोक राईले धुन भरेका १५ गीत शुक्रबार प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत भए। सधैंझैं भाषण गरेनन्, बरु एमाले नेता माधवकुमार नेपाल, विष्णु पौडेल, युवराज ज्ञवाली, योगेश भट्टराईसँगै दर्शकदीर्घामा बसे। ६६ वर्षे प्रौढ काया ढल्काउँदै दर्शकहरूसँग छमछमी नाचे यी कवि।

‘शताब्दीको पहिलो बिहानी' शीर्षकको कविताकृति छपाइसकेका जेएन खनालका गीतलाई संयोजन गरे एमालेको साँस्कृतिक संगठन राष्ट्रिय जनसाँस्कृतिक महासंघका दर्जनभन्दा बढी कलाकारले। दिनेश डिसीको उद्घोषणसँगै सुरु कन्सर्टमा एमाले नेता, कार्यकर्तामात्रै थिएनन्, युवायुवतीको ठेलमठेल पनि थियो। जेएनरचित पहिलो गीत कन्सर्टमा प्रस्तुत भयो– एउटै रथका दुई पांग्रा।

‘राजनीतिमा आउनुपहिले नै म कवि भइसकेको थिएँ,' कवि जेएनले नागरिकसँग लच्छेदार गद्य बोले, ‘प्रधानमन्त्री र पार्टी अध्यक्ष भएको व्यस्त घडीमा पनि समयका सानातिना टुक्राहरूलाई उपयोग गर्दै गीत कविता लेखें।'

अनि थपे, ‘अहिले पनि लेख्छु।'

‘परिवर्तनका स्वरहरू' नामक गीति एल्बम छपाइसकेका जेएन शुक्रबार प्रस्तुत ‘ढात्रे्क दाइ' बाहेक अरु सबै गीत २०४६ सालपछि लेखेको बताउँछन्। ‘जनक्रान्तिलाई नभुलौं कहिले' जस्ता केही गीत २०६२/०६३ को क्रान्तिको सम्मानमा लेखिएका हुन्,' उनी भन्छन्।

दर्शकदीर्घाबाट वान्स मोर पाएको गीत ‘ढाक्रे दाइ' को रचनागर्भ पनि नागरिकसँग कहे जेएनले। २०३६ सालमा लेखेको यो गीत त्यस बेला लेखियो, जुन बेला पहाडीहरू मधेस झर्ने क्रम तीव्र थियो। पहाडीहरू ताप्लेजुङको फुङलिङदेखि पाँचथर फिदिम हुँदै झापा मोरङ झरिरहेका थिए। नेकपा मालेका संस्थापक यी भूमिगत नेता ‘अभिमन्यु' दिनैपिच्छे देख्थे– सयौं मानिसहरू तोक्मामा ढाकर अड्याएर खुइऒ्ढय गर्दै हिँडेको। पसिना पुछ्दै चौतारीमा थकाइ मारेको। त्यसपछि लेखे :

ढाक्रेदाइ नुनको ढाकर तोक्मामाथि चढाई
उभिएर हेर्छन् माथि त्यो उकालोलाई :
‘कहिले आउला मोटर यहाँ कहिले आउला विकास
पसिनाले भिज्यो सारी मन हुन्छ निराश'

समय बदलिँदै गयो। उनी सांसद, मन्त्री, प्रधानमन्त्री भए। गाउँमा मोटर पनि गयो। अलिअलि विकास पनि। जनताको निराशा कति हट्यो, त्यो त उनले जान्ने कुरा हो।

अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको आत्मकथा ‘बियोन्ड द ह्वाइटहाउस' पढ्दै गरेका उनी पछिल्लो समय पार्टीभित्र ‘नेपाली ड्रिम' को बहस चलाइरहेका छन्। भन्छन्, ‘कति काम गरियो, कति गर्न सकिएन। मभित्र पनि छट्पटीहरू छन्। ती कहिले गीत हुन्छन्, कहिले कविता।'

२५ नेपाली र अंग्रेजी गीतको संग्रह छाप्नका लागि साझा प्रकाशनलाई दिएका रहेछन्। उनलाई सूचना आएको छ– कर्मचारीको हड्तालका कारण साझामा अड्किरहेको छ गीतसंग्रह।

केही कथाका प्लट छन् उनको दिमागमा। ‘व्यस्तताले लेख्न सकिएको छैन,' भन्छन्, ‘भ्याइएन भने त कल्पनाकै गर्भभित्र रहलान् जस्तो छ।'

र, उनीभित्रको कथाकारलाई छुट्टी चाहिएको छ। तर कसले मिलाइदिने! एमालेको नवौं महाधिवेशन आउँदैछ। घनश्याम भूसाल, योगेश भट्टराईलगायत युवा नेताले चलाएको बदलिँदो नेपाली समाजको बहसलाई अनुमोदन गर्न सघाएका यी अगुवाको जवाफ कुटनीतिक छ– भिड्ने राजनीतिमा नजाने। अलि चेपेर प्रश्न सोध्दा भने यी कवि ‘लक्षणा र व्यञ्जना' फुस्काउँछन्। जवाफ मूर्त बन्छ, ‘सहमतिबाट नेतृत्व लिन आग्रह भए एक कार्यकाल चलाउन तयार छु।'

अनि?

‘त्यसपछि उपयुक्त मान्छेलाई दिने हो।'

त्यसपछि? लेखक बन्ने हो?

शालीन तर चलाख राजनीति–खेलाडीलाई यस्तो सोध्नु धृष्टता हुन्थ्यो। सोधिएन।




छोराको वियोगमा

मैले बेरुतको नरसंहारमा खसेका बमहरू देखिनँ
मैले स्वर्णमन्दिर छियाछिया पार्ने तोपहरू पनि देखिनँ

पिस्करमा बौछार गरिएका असंख्या आग्नेयास्त्रहरू पनि देखिनँ
तर तिमीमाथि असह्य प्रहार भएको देखें
तिमी अनवरत लड्दैगयो
तिमी अभिमन्यु चक्रव्युहमा फस्दै गयौ
बाहिर निस्कन सकेनौ
हेर्दाहेर्र्दै मनको आकाशमा तैरिरहेको सूर्य
झ्याप्प भयो
कष्टका साथ एउटा जीवनको अन्त्य भयो
अनायास वेदनाको कहालीलाग्दो समुद्रले
चारैतिर छोप्यो

हुनसक्छ तिमी मेरो अन्धकारमा बलि दिने सूर्य बन्न सक्थ्यौ
हुनसक्छ वेदनामयी घडीहरूमा
तिमी शीतलताको जून बन्न सक्थ्यौ
हुनसक्छ मेरा कष्टका क्षणमा
खुसी र हाँसोको मुहान बन्न सक्थ्यौ
तर तिम्रो अप्रत्याशित वियोगले
मेरा स्वप्निल रंग छरपष्ट भएका छन्
ढक्कढक्क धड्किरहेको मुटुमा
आगोका लप्का बलिरहेका छन्
मानस्पटलको आकाशमा आँधीबेहरी उर्लिरहेका छन्
जसलाई रोक्न पनि मैले अर्को एउटा युद्ध नै लड्नुपरिरहेछ
एउटा महाभारत फेरि पढ्नुपरिरहेछ

(दिवंगत छोरा प्रसन्नको सम्झनामा ‘शताब्दीको पहिले बिहानी’ कवितासंग्रहबाट)
- See more at: http://nagariknews.com/entertainment/music/story/17435.html#sthash.WoeoCgum.dpuf

No comments:

Post a Comment