Saturday, December 29, 2012

कुरा खस्रा मिठा 1



रक्सी पुरानै

१२० औं माओ त्सेतुङ दिवसको छेक पारेर किरात एकेडेमीले लेखक झलक सुवेदीलाई 'किरात एकेडेमी राष्ट्रिय पुरस्कार' दियो। सम्मानपत्र र ५० हजार रुपैयाँ राशिको थैलो पनि बुझायो।
प्रमुख अतिथि डाकिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आउन निर्धारित समयभन्दा डेढ घण्टा ढिलो भयो। 'यदा यदा ही धर्मस्य...' को ब्यानरमुनि हिन्दु राष्ट्र मागसहित राप्रपा नेपालका रथयात्रीले बाटैमा अल्झाएछन्। यता पुरस्कारदाताहरू प्रचण्ड पर्खेको पर्ख्यै।
मूल कुरो पुरस्कार दिने हो। दिने एकेडेमी र लिने सुवेदी टाइममा आएकै छन्। एक व्यक्तिका लागि हलभरिका सहभागीलाई घण्टौं कुराउनु सर्वथा अनुचित हो। 'नयाँ संस्कृतिको बाहक' एकेडेमी पनि 'पुरानै संस्कृति' को ढर्राबाट मुक्त भएको देखिएन।  देश फेछर्ौं भन्नेहरूले कार्यक्रम गर्ने शैली र संस्कृतिचाहिँ फेर्नुपर्दैन?
…ठूल्ठूला कुरा' बदल्न भनेर उपाध्यक्ष बाबुराम भट्टराई सरकारमा गएकै छन्। ससाना भनिएका विषयवस्तु त लेखक, कलाकारहरूले बदले पनि भयो नि हौ गाँठे।

Sunday, December 23, 2012

ध्रुवेको डायरी

मेरो नाम ध्रुव हो। म एक सामान्य हात्ती हुँ। परिस्थितिले मलाई 'ध्रुवे' बनाइदियो।

डायरी लेख्न थालेको धेरै भएको छैन। मेरो पढ्नेलेख्ने बानी पटक्कै छैन। म ठूलो भएको पढेर हो र?

तर यहाँ प्रेमको कुरो छ। प्रेमले मान्छेलाई कि कवि बनाउँछ भन्छन्, कि पागल। मैले दोस्रो बाटो रोजें त के बिराएँ?

बुधबार बेलुकी ममाथि गोली हानियो। शरीरमा रगतका छिर्काहरू लत्पतिएका छन्। कुनै पनि बेला मारिन सक्छु भन्ने लागेपछि डायरी मेन्टेन गर्न थालेको छु। क्रान्तिकारी स्टाइल!म ३५ वर्षको भएँ। नेपालीको औसत आयुभन्दा हात्तीको उमेर २० वर्ष बढी छ। नेपालीले के फूर्ति लाउनु हामीसँग?
हिटलिस्टमा मेरो नाम चढाएको छ रे सरकारले। नानीदेखि लागेको बानी गएको छैन। इतिहासमा कसले कति मारेको छ, तिनलाई पनि मार्नुपर्योल। नत्र मलाई पनि आममाफी दिनुपर्यो। ठूलालाई चैन, सानालाई ऐन गर्न पाइन्छ लोकतन्त्रमा?

***
हात्तीले प्रेम गर्नु हुँदैन भनेर कहाँ लेखेको छ? मान्छेलाई लाग्दो हो- हावामा हात हल्लाउँदै गफ दिने, दुई खुट्टा टेकेर हिँड्ने, कुम जोर्नेमात्रै प्रेम बुझ्दछन्।

Monday, December 17, 2012

प्रेमका लागि क्यानडा

Photo : Bijay Gajmer/Nagarik
महाराजगन्जको अपार्टमेन्टमा एक्लै छिन् लेखक मञ्जुश्री थापा। क्यानडा उड्न ठिक्क परेकी।
क्यानडामा उनको के छ?
के छ होइन, को छ?
क्यानडामा छन् डेनियल ल्याक। अर्थात् मञ्जुश्रीका मायालु। नत्र उनी कहिले अमेरिका, कहिले नेपाल बसिरहेकी हुन्थिन् - पुराना वर्षहरूमा झैं।
'म मेरो प्रेमका लागि क्यानडा बसिरहेकी छु,' आइतबार बिहान टोरन्टो उड्नुअघि मञ्जुश्रीले मनको कुरा कहिन्। हामी (लगभग मेरै उमेरको फोटोपत्रकार विजय र म) कुत्कुतियौं।
'ल, किन हाँस्न खोज्या?'
'सकसक लागेर।'
'कुनै पनि नेपाली पुरुषभन्दा बढ्ता स्वतन्त्रता मैले पाएँ,' छ अंग्रेजी पुस्तककी लेखक बोलिन्, 'घरिघरि अत्यास लागेर आउँछ, मेरो जिन्दगी नै कम्प्युटरअगाडि बसेर बित्न लाग्यो कि भनेर।'

Friday, December 14, 2012

लो प्रोफाइलका अग्ला मान्छे

Bhimbahadur Tamang. NC Leader
शुक्रबार बिहान ११ बजे – वानेश्वर थापागाउँ भीमबहादुर तामाङको कोठामा आइपुगे कांग्रेस नेता शशांक कोइराला। तामाङले राधेश्याम अधिकारीलाई डाके। कानुनविद् तथा कांग्रेस नेता अधिकारी– जसकहाँ तामाङ १५ वर्षयता बसिरहेथे।

ग्यारेजमाथि तामाङको कोठा छिरे अधिकारी। टेबुलमा आर्थर कोइस्लर, रिचर्ड राइटलगायतको 'द गड द्याट फेल्ड' किताब पल्टिरहेको थियो।

७८ वर्षे तामाङ केही दिनयता त्यो किताब पढिरहेका थिए। उनले त्यो किताबबारे कोइराला र अधिकारीलाई सुनाए।

शशांकले कुरा मोडे,  'सहमतिको सरकार कसरी बनाउने?'

अधिकारीले थपे, 'अनि सहमति भएन भने? के गर्ने?'

तामाङले आत्मविश्वासपूर्वक जवाफ दिए, 'अरु के उपाय छ र! चुनावमा जाने।'

'विश्वसनीय चुनावका लागि चुनावी सरकार तुरुन्त बन्नुपर्छ,' उनैले थपे।

त्यसपछि तामाङ उठे। आफ्नै हातले चिया पकाए। चियाको चुस्की लिँदै  उनीहरूले एक घन्टाजति कुरा गरे।

म सँग एउटा तारा छ मायाको

केटी :  'म सँग एउटा तारा छ मायाको
      यसलाई एउटा आकाश देऊ
केटा :  मसँग एउटा डुंगा छ मायाको
      यसलाई एउटा सागर देऊ।'
  –गीतकार :  वाशु शशि
    गायक :  गणेश रसिक र झुमा लिम्बु (ओरिजनलचाहिँ   थाहा भएन। झुमाको ठाउँमा अर्कै हुनुहुन्थ्यो) 

Sunday, December 9, 2012

नवीन K यात्रा

बुढानीलकन्ठ स्कुलको एउटा विद्यार्थी 'म पनि गाउन सक्छु' भन्दै आयो- संगीतकार गोपाल योन्जनको घरमा। तिनताक योन्जनको घरैमा रेकर्डिङ स्टुडियो थियो।
योन्जन! आफ्नो समयका डन म्युजिसियन। जोकसैलाई 'बाल' नदिने। सिर्जनाको मूल्यमा कत्ति सम्झौता नगर्ने। धेरै गायक उनीकहाँ आउँथे। कति त फेल भएर जान्थे। एसएलसी रिजल्ट कुर्दो लजालु ठिटोले सामुन्ने उभिएर गीत पो गाउँछु भन्छ ए!
'नारायणगोपालका मीत' ले आँखा झिम्क्याए। स्टुडियो पठाए। कन्ट्रोल रुममा बसेर ढाडस दिए।
क्यापमाथि पहिलोपटक हेडफोन लगाएको १६ वर्षे माइक्रोफोननेर उभियो। अनि आफ्नै कम्पोजिसनमाथि यस्तरी सुर हाल्यो कि! योन्जन त स्तब्ध। पुलकित हुँदै कानबाट हेडफोन हटाए। एकै टेकमा भन्दिए- 'ओके।'
गीत थियो 'जिन्दगी बगेको खोला हो।' गायक- 'द स्टिल ह्विल्स' ब्यान्डका नवीन भट्टराई।
उही हो त्यो बेलाको लजालु केटो, जसले आज नेपाली संगीतको व्याकरण बदलेको छ। उही बाजा, तुकबन्दी मिलेका एकनासका गीत, स्थायी र अन्तराको नियममा हिँड्ने बानी परेको संगीतलाई नयाँ गोरेटोमा हिँडाएको छ। त्यसैले आज ऊ सबैले चिनेको नवीन के भट्टराई भएको छ।

धादिङबेसीमा कुरूप प्रहसन

धादिङ सदरमुकाम धादिङबेसीमा मंगलबार दिउसो कुरूप प्रहसन मञ्चित भयो। नेपाली राजनीतिमा यो पहिलो घटना भने होइन। दलहरूको ताल हेर्दा भन्न सकिन्छ - यो अन्तिम पनि होइन। सोमबार हत्या गरिएका युवा विजय तामाङको शव जिल्ला अस्पतालबाट निकालेर ट्रकमा राखियो। शोक र भयमिश्रित आँखाले हेर्ने स्थानीयको लर्को थियो। टन्नै सुरक्षाकर्मी तैनाथ थिए किनकि सम्भावित मुठभेडको आतंक थियो।
बौद्धमार्गी धार्मिक भेषमा लामा भिक्षुहरू मौन मुद्रामा अघि लागे। बुद्ध धर्म र तामाङ संस्कार जनाउने ध्वजापताकासँगै अघि बढेको जुलुसमा आमा, दिदी, बहिनीहरू रुँदै मिसिए। ट्रकमा राखिएको शवछेऊ आकाश थर्किने गरी उनीहरू रोए। हेर्दाहेर्दै कम्युनिस्ट पार्टीको हँसिया हतौडा कोरिएको रातो झन्डा बोकेर एकीकृत नेकपा माओवादीका नेता कार्यकर्ता आए। ब्यानरमा लेखिएको थियो- 'एमाओवादी धादिङ जिल्ला कमिटी सदस्य विजय तामाङ (कमरेड पेमा) को कांग्रेसी गुन्डाद्वारा गरिएको पाशविक हत्याको घोर भर्त्सना गर्दैछौं।'

जन्मदिनको डायरी

एक जापानी हाइकुको सार यस्तो छ : 'मेरो जन्मदिनमा/एक दिन लामो लाग्छ/ एक वर्षचाहिँ छोटो।' तीन पंक्तिमा लेखिएको यस जापानी कविताले जन्मदिनको महत्व छोटोमा धेरै भनेको छ। विश्वमा सबैभन्दा बढी गाइने गीत 'ह्याप्पी बर्थ डे टु यु' हो। जन्मदिवस मनाउनु ठीक हो कि होइन भनेर यदाकदा बहस हुने गरेका छन्। कसैकसैले त 'जो कोही जन्मिनु कुनै उत्सव मनाइरहनुपर्ने विषय होइन। मानिस त आफ्ना कामका आधारमा महान र साधारण ठहरिने हो। महानहरूको स्मृति दिवस मनाइनुचाहिँ उचित हो' समेत भन्ने गरेका छन्। प्रत्येक व्यक्ति आफ्नो अस्तित्वको शर्तमा महान हो। यदि ऊ महान होइन भने कोही पनि महान होइन। जन्मदिन मनाउनु उचित हो कि होइन भन्नेमै यति साह्रो विवाद हुनुले पनि यो कति महत्वपूर्ण दिन रहेछ भन्ने पुष्टि हुन्छ।

नारायणगोपालले गाएथे चुनावी गीत

स्वरसम्राट नारायणगोपालका निजी मामिलामा थोरै व्यक्ति जोडिए। जो–जो जोडिए, उनको जीवनलाई पूरै प्रभावित पारे। गीतकार नगेन्द्र थापा तीमध्ये एक हुन्।
कवि ईश्वरवल्लभले चिनाइदिएका हुन् नगेन्द्रलाई नारायणगोपालसँग। तिनताक गोपाल योन्जन र नगेन्द्र दार्जिलिङको हिमालय कला मन्दिरमा सँगै काम गर्थे। २०१९ सालतिर।
नारायणगोपाल त्यत्तिखेरै चर्चित। नगेन्द्र पनि दार्जिलिङको साहित्यिक जमातमा छाउँदै थिए। नारायणगोपाललाई नचिन्ने कोही थिएन। 'स्टारडम' ले खडा गरेको दूरी छँदै थियो।
मुडी स्वभावका थिए नारायणगोपाल। हत्तपत्त कसैसँग घुलमिल नहुने। तैपनि उनीसँग नगेन्द्रको यति छिटो हिमचिम भो, मानौं उनीहरू वषर्ौंअघि भेटेका थिए।

Saturday, December 1, 2012

पारिजातकी सखी / बारम्बार आउने अजी

बसन्त बस्नेत
लेखक पारिजातकी एक अमेरिकी साथी थिइन् बारबरा अजिज। प्रत्येक वर्षजसो नेपाल आएको आयै गर्छिन्।
म्हेपीमा बस्थिन् पारिजात। अरु अमेरिकी पर्यटकझैँ हिमाल, पहाड, लुम्बिनी हेर्न पाइएला भन्ने आशले नेपाल आएकी अजिजले काठमाडौँ आएपछि पहिलोपल्ट पारिजातबारे सुनिन्। उनीसँग भेट्ने इच्छा देखाइन्।
पारिजातको घर छिर्न लाग्दा एक जनाले चियोचर्चो गर्‍यो। पञ्चायत उत्कर्षमा पुगेको बेला थियो।
आफ्नो बारे बताएपछि अजिजले सोधिन्, 'तिमीचाहिँ को हौ?'
'म सीआइडी हुँ।'
एउटी कुँजी, अपांग महिला लेखकमाथि राज्यको यति कडा निगरानी देखेपछि अजिजले पारिजातको सौर्य थाहा पाइन्।

Friday, September 28, 2012

म पुरोहित बनें


लेखक बितेपछि अर्थी उठाइने नेपाल एकेडेमीमा आज एक कविले डोली उठाए। मतलब, कवि मित्र विनोदविक्रम केसीले बिहे र पुस्तक विमोचन एकैपल्ट गरे। ललितपुर लेलेकी विमला थापासँग उनको आज सम्पन्न नयाँ शैलीको बिहेमा म पुरोहित बन्न पुगें। पुरोहित, अर्थात उद्घोषक। (मञ्चमा बेहुलाबेहुली, खगेन्द्र संग्रौला र किशोर नेपाल)  

Wednesday, September 26, 2012

पत्रिकाको चाबी लक्ष्मीकै हातमा

Photo courtesy : Nagarik/Bijaya Rai
दुई ठूला दैनिकका सम्पादकलाई 'चाबी बुझाइसकेका' पत्रकार नारायण वाग्लेले सम्पादकहरुलाई सोधे, 'देशको चाबी त अन्तै रहेछ भनी प्रधानमन्त्री भन्दै हुनुहुन्छ, पत्रिकाको चाबी चाहिँ कोसँग हुन्छ?'
नागरिकका प्रधान सम्पादक किशोर नेपालले एक लाइन फर्काए, 'सम्पादकको हात कति बलियो छ, त्यसमा भर पर्छ।' पालो आयो कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माको। 'सम्पादकको हातमा हुन्छ, कम्तीमा सम्पादकको हैसियतमा मैले यति भन्नैपर्छ,' उनले बिस्तार गरे, 'प्रकाशकसँग पनि साझेदारी हुन्छ, संक्रमणकाल भएर होला, दलहरुमा पनि चाबी पुग्न थालेको छ।'

Tuesday, September 18, 2012

प्रतिपक्ष कहाँ छ?

दी इकोनोमिस्ट पत्रिकाले एक पटक भारतबारे लेखेको थियो, 'भारतमा अति धेरै कानुन छन्, न्यायचाहिँ अति थोरै छ।' आफूलाई विश्व लोकतन्त्रको मसिहा ठान्ने भारतको लोकतान्त्रिक अभ्यास कति कमजोर छ भन्ने बुझाउन गरिएको यो एक लाइन व्याख्या निकै सटिक लाग्छ। नेपाली कांग्रेसमा लगेर यसलाई मिसाइदिने हो भने भन्न सकिन्छ- कांग्रेसमा लोकतन्त्रसम्बन्धी अति धेरै नारा छन्, स्वयं लोकतन्त्रचाहिँ अति थोरै छ।'

शब्दहरूको उत्सव

 
यो त्यति बेलाको कुरा हो जब बेलायती लेखक पिको आयर 'टाइम' म्यागजिनमा सहायक सम्पादक थिए। काठमाडौंबाट त्यति बेला निस्कने नेसन विक्लीका पत्रकार अजित बरालले पिकोको इमेल ठेगाना भेटेछन्।
विश्व साहित्य र यससम्बन्धी गतिविधिमा चासो राख्ने अजितले पिकोलाई इमेल लेख्न थाले। उनीहरूको ई–संवाद बाक्लियो। अजितले पिकोसँग इमेलमै गरेको अन्तर्वार्ता आफ्नो कृति 'इन्टरभ्यु एक्रस टाइम एन्ड स्पेस' मा छापेका छन्।
ई–संवाद लामो समयपछि अजित र पिकोबीच भारतको एउटा साहित्यिक कार्यक्रममा भेट भयो। त्यति बेला अजितको संयोजनमा साहित्यिक गतिविधिसम्बन्धी 'रिड' म्यागजिन छापिने तयारी हुँदै थियो। उनले पिकोलाई नेपाल आमन्त्रण गरे। जवाफ पाए, 'काठमाडौंमा साहित्य उत्सव गर न, आउँछु।'
यही एउटा विन्दु थियो जहाँबाट एनसेल लिटरेचर फेस्टिभलको खाका कोरिएको थियो।

Sunday, September 9, 2012

एमाले एकताका आठ महिना


आठ महिनाअघि आन्तरिक एकताको उद्घोष गरेको नेकपा (एमाले) को घरझगडा अझै साम्य हुन सकेको छैन।
लामो समयदेखि गुटउपगुटमा अल्झेको र त्यसकै कारण विभाजन भोगिसकेको एमालेले साढे तीन वर्षअघि बुटवलमा 'एकताको महाधिवेशन' गरेको थियो जहाँ नवनिर्वाचित अध्यक्ष झलनाथ खनालले पार्टीको गुटबन्दी तिनाउ नदीमा सेलाउने दाबी गरेका थिए। त्यही दिनदेखि एमाले संस्थागत गुटबन्दीको सिकार बन्यो।

Friday, September 7, 2012

सहमति गर्दैमा सगरमाथामा मोटर लैजान सकिन्छ ?


एमाले युवा नेता तथा निवर्तमान सभासद् रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिमा छँदा नै चर्चामा थिए। तत्कालीन शाहज्यादा पारस शाहले चलाएको गाडीले लोकगायक प्रवीण गुरुङलाई किचेर मारेपछि उनीमाथि कारबाही हुनुपर्ने, दरबारका सदस्यमाथि संसद र अदालतमा प्रश्न उठाउन पाउनुपर्नेलगायत् मागमात्रै राखेनन्, यिनै मागसहित ५ लाख ९१ हजार जनताको हस्ताक्षर दरबारलाई बुझाए पनि। २०६२/०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेका युवा नेतामध्ये एक अधिकारी अहिले भने गृह जिल्ला कास्कीको सदरमुकाम पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिपरेका छन्। विद्रोही नेताको छवि बनाएका अधिकारी संविधान सभामा खेलेको भूमिकाका लागि प्रशंसित सभासद्मध्ये एक हुन्। संविधान सभा पुनर्स्थापनाका पक्षधर अधिकारीले संविधान सभाकै अर्को चुनावमा उम्मेदवारी नदिने घोषणा गरिसकेका छन्। अधिकारीसँग यही सेरोफेरोमा रहेर गरेको कुराकानी :

संविधान सभा पुनर्स्थापना गर्ने भन्दैछन्। तपाईंंलाई मनमनै खुसी लागिराख्या होला, होइन?
हामी संविधान सभाको निसर्त पुनर्स्थापनाको पक्षमा कहिले पनि रहेनौं। हामी पुनर्स्थापनाको नारा लिएर गएका पनि होइनौं। तर मुख्य प्रश्न बाँकी छ- १२ बुँदे सहमतिदेखि आजसम्मको यात्रालाई सफल बनाउने हो कि होइन? राजतन्त्र त ढल्यो, गणतन्त्रको यो यात्रा सफल पार्ने हो कि होइन? समावेशी लोकतन्त्रका यी उपलब्धि जोगाउने हो कि होइन? संविधान सभाले यति धेरै काम गरेको छ, यिनलाई यत्तिकै छाडिदिने हो भने उपलब्धि संस्थागत हुन सक्दैनन्। थोरै काम बाँकी होलान्, हामीले धेरै काम गरेका छौं।

Sunday, September 2, 2012

लाहुरे कवि




तस्बिर :  विजय राई / नागरिक
तीर्थ श्रेष्ठका पिताले पोखरा टुँडिखेल जाने बाटोमा घर बनाउँदै थिए। छेवैमा एउटी विधवा लाहुरेनीको घर थियो। सानो भुइँतले घरको आँगनमा फक्रिरहेको लाहुरे फूल। कवि तीर्थ झस्के, 'के विधवा लाहुरेनीको आँगनमा लाहुरे फूल लर्किनु संयोग थियो? वा उनकै भाग्यमाथि व्यंग्य? वा बितेका पति सम्झने रहरको फल?'

तीर्थलाई जवाफ सोध्ने हिम्मत आएन। केही महिनापछि उनको प्रश्न कविता भयो, 'लाहुरेफूल, म तिम्रो नाम फेर्न चाहन्छु।' यो ०४३ सालतिरको कुरा हो।

"घनचक्कर–बहस"

लेखक तथा प्राध्यापक सञ्जीव उप्रेतीसँगको "घनचक्कर–बहस"लाई आयोजकले क्यामेरामा कैद गरेछ। यस फाइलभित्रका आफ्ना फोटोहरु हेर्दै आफैं दंग परियो। लेखक सञ्जीवले लेखेझैं तस्बिरमा कथाको संसार देखियो।

फेवातालमा एक गफी

ब्यारीलाई मैले फेवाताल किनारमा भेटेको हुँ। ऊ दुई साथीहरूसँग बिहान छ नबज्दै बियर दन्काइरहेको थियो।
 
आइतबार बिहान पोखरामा कुहिरो थिएन। आकाश सफा देखिन्थ्यो। पोखरा पारिका गाउँ, स्तुपा सबै छर्लंग देखिन्थे। माछापुच्छ्रे हिमालको फेद अलिअलि छेलिएजस्तो देखिन्थ्यो। माछापुच्छे्रकै भाग हो झैं लाग्ने गरी कुहिरो हिमालमा मिल्न गयो।
 
कानमा आइपडको ठेंडी घुसारेको छ ब्यारीले। उसका साथीहरू आराम बेन्चमा बसिरहेका छन्। ऊचाहिँ पक्की गोरेटोमा गुनगुन गर्दै झुमिरहेको।

Wednesday, August 29, 2012

नगरकोटमा उपन्यासकार युग


बलेसीमा पानी बजिरहेछ। क्रिम कलरका पर्दाहरू हावाको हलुका झोक्कासँगै हल्लिरहेछन्। बाँसले बुनेको काउचमा बसेर उपन्यासकार युग पाठक ड्यारोन एसमोग्लु र जेम्स रबिन्सनको 'ह्वाइ नेसन्स फेल' नामक किताब पल्टाइरहेछन्।
स्थान :  नगरकोट हिलसाइड भिलेज रिसोर्ट। समय :  मंगलबार साँझ सात बजे। हामी १२३ नम्बरको कोठा आइपुगेका छौँ। युग यस कोठामा बसेर दोस्रो उपन्यासलाई आखिरी स्पर्श दिइरहेका छन्। काठमाडौँबाट युग चढेको मोटरसाइकल पछ्याउँदै पत्रकार जनकराज सापकोटासँग म नगरकोट हुइँकिएको हुँ। युगलाई हामीले लखेटिरहेको थाहा भयो कि भएन होला!

बुद्धिसागरले नागरिक छाडेको साँझ

नागरिक छाडेको रात २०६९ भदौ १२  गते राति बुद्धिसागर
धेरै लेखकहरु लेख्छन्। तर सपना देख्ने लेखकचाहिँ थोरै हुन्छन्। Buddhi Sagar सपना देख्ने लेखक हुन्।उनले हिजो नागरिकको जागिर छाडे। कुनै तनाव, दुःख र कुन्ठा थिएन उनमा। बरु सपना थियो – लेखक हुने सपना। कसैकसैले त जागिर छाडेको खबर पनि कत्तिका लागि इर्ष्याको विषय हुँदो रहेछ।

Friday, August 17, 2012

पुनश्चः अघिको पोस्टबारे।


फेसबुकमा बा को फोटो

बा को मुख हेर्ने दिन आज धेरैका बा को फोटो फेसबुकमा देखियो। आज फोटो पोस्ट गर्नेका छोराछोरीले अबको ३० वर्षपछि यसैगरी फेसबुकका भित्तामा आफ्ना बाको फोटो टाँस्नेछन्। तपाइंलाई ३० वर्षअघि नै मेरो बधाइ। तपाईं महिला हो भने बुझ्नुस्, आज बा को फोटो राख्नेमध्ये कुनै न कुनै तपाईंको पति हो। तपाईंलाई पनि बधाइ।

घुम्ने मेचमाथि अशोक राई

२०३५ सालमा नेता अमृतकुमार बोहराबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका एमाले उपाध्यक्ष अशोक राई अनुशासित नेता मानिन्छन्। अहिले उनै राईलाई पार्टी 'अनुशासन उल्लंघन गरेको' भनी बोहराले अनुशासन आयोग अध्यक्षको हैसियतमा स्पष्टीकरण पत्र काटेका छन्। त्यसैले राईको चर्चा गर्माइरहेको छ र सँगै उनले नेतृत्व गर्ने भनिएको नयाँ दलको पनि। राजधानीको बुद्धनगरस्थित स्वप्नवाटिका विद्यालयमा बिहीबार दिउसो भेटिएका अन्तर्मुखी स्वभावका राईमा बाह्य चर्चाको असर देखिन्नथ्यो। उनी उस्तै शान्त, धीर र संयम भेटिए। समसामयिक राजनीति र पार्टी गठनको भावी योजनाबारे नागरिकका बसन्त बस्नेतले राईसँग गरेको कुराकानी : 

डा. गोविन्द केसीको अभियानलाई ऐक्यबद्धता

यो सरकार बन्दुकको छायामा उभिएर बनेको हो। यसले बन्दुकको भाषामात्रै बुझ्छ, सत्याग्रहको होइन। हामीसँग बन्दुक छैन। बन्दुक हाम्रो अभीष्ट पनि होइन। तै पनि गीत छ नि, 'साथमा केही नहुनेहरु आवाज लिएर उठ।' डा. गोविन्द केसीको अभियानलाई ऐक्यबद्धता। 

Monday, August 13, 2012

रिटायर्ड ओलीको क्यारमबोर्ड

नेकपा एमालेका 'प्रभावशाली' नेता केपी शर्मा ओलीलाई क्यारमबोर्ड खेल असाध्यै मन पर्छ। बालकोटस्थित आफ्नो निवासमा भेट्न आएका कार्यकर्ता, पत्रकार, शुभचिन्तकलाई घन्टौं बाहिर कुराएर भए पनि उनी क्यारमबोर्ड खेलिरहन्छन्। राजनीतिको मैदानमा दिन प्रतिदिन असान्दर्भिक बन्दै गएपछि क्यारमबोर्डमा व्यस्त रहनु अस्वाभाविक होइन। बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनका भाषामा यसरी चिल्याक्स (रिल्याक्स होइन) गर्नु समय कटनीको उपयुक्त मेलो हो। ओली आफैंलाई चाहिँ थाहा छ कि छैन कुन्नि – हिजोआज उनले हानेका राजनीतिक गोटी क्यारमबोर्ड भित्र हैन बाहिर गइरहेका छन्।

Sunday, August 5, 2012

यातनाशिविरमा एक साँझ

सांगीतिक समूह 'आरम्भ' ले इलाममा पाँच वर्षअघि गणेश रसिकको एकल कन्सर्ट आयोजना गरेको थियो। चौथो गीत गाइसकेपछि रसिक बोले– 'अब सुन्नुहोस्, यातना नम्बर पाँच।'

आफ्ना प्रिय साँस्कृतिक अभिभावकलाई एकाग्र भएर सुनिरहेका दर्शकहरू रौसे रसिकको आफैँप्रति क्रूर व्यंग्य सुनेर गलल्ल हाँसे। इलाम जिविस हल गुन्जियो–

धेरै सम्झे धेरै हुन्छ
थोरै सम्झे थोरै हुन्छ
नसम्झेमा केही पनि छैन
तिमीलाई दिएको मेरो माया। 

Friday, August 3, 2012

"आइ एम ड्यास माओवादी"

वैद्यपक्षीय नेता सुरेश आले मगरले एक कार्यक्रममा आफ्नो परिचय दिँदै आफू नेकपा–माओवादीको नेता भएको बताए। कांग्रेस नेता रोमी गौचनले जिस्क्याए– "ड्यास माओवादी कि अर्को माओवादी?" त्यसपछि आलेले सिटबाट उठेर ठूलो स्वरमा जवाफ फर्काए, "यस, आइ एम ड्यास माओवादी, नट द क्यास माओवादी।"

पम्फा भुसालको मोबाइल नम्बर

तीन दिनयता पम्फा भुसालको मोबाइल नम्बर पालैपालो मसँग मागेकोमाग्यै छन्– नागरिक, रिपब्लिका र शुक्रवारका पत्रकार साथीहरु। क्यास माओवादीभन्दा ड्यास माओवादी चर्चित छ कि क्या हो! कि पम्फामात्रै चर्चित हो !

घुम्ने मेचमाथि कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापा विगत ६ बर्षयता आफनो पार्टीमात्रै वैचारिक हिसावले प्रतिपक्षमा रहेको बताउनुहुन्छ। कांग्रेस, एमाले, माओवादीबीच दलगत स्वार्थका कारण मात्रै विवाद भएको तर सदावहार हिसाबले राजनीतिको संस्थापन भएको थापाको जिकीर छ। यो संस्थापन असफल भएकाले जनताले विकल्प खोजेको बताउने थापासँग कुराकानी :
तपाईंहरुलाई अरुले दक्षिणपन्थी, पुनरुत्थानवादी, प्रतिक्रियावादी भन्दा कस्तो लाग्छ?
photo : Bhaswor ojha/Nagarik
अब त पचिसक्या छ। विद्यार्थी जीवनदेखि विभिन्न आरोपहरुकै पृष्ठभूमिमा राजनीतिक यात्रा सुरु भयो। त्यसैले खासै नौलो र असहज लाग्दैन। ०६२/०६३ पछि त हामी 'एन्टिकरेन्ट' हिडिराखेका छौं। मूलधारका व्यक्तिहरुले आफ्नो धारको औचित्य प्रमाणित गर्न अर्को धारलाई आरोप लगाउनु स्वाभाविकै हो।

Monday, July 30, 2012

घुम्ने मेचमाथि बाबुराम भट्टराइ

अर्थमन्त्री छँदा बलियो छवि बनाएका बाबुराम भट्टराईको प्रधानमन्त्रित्व कमजोर देखिएको छ। संविधान सभा अवसान भएपछि कामचलाउ हैसियतमा रहेका उनले मंसिर ७ का लागि तोकेको चुनाव नहुने भइसकेको छ। पूर्ण बजेट ल्याउन असफल उनी अध्यादेशबाटै अगाडि बढ्ने मुडमा देखिन्छन्। तत्काल सिंहदरबार छाड्ने मनसायमा उनी देखिँदैनन्। नागरिकसँगको लामो कुराकानीमा उनले थुप्रै विवादास्पद लाग्ने कुरा गरे। प्रधानमन्त्री बाबुराम भट्टराईसँग गरेको कुराकानी :

अन्डरअचिभर प्रधानमन्त्री

अमेरिकाबाट निस्कने टाइम म्यागजिनले तीन साताअघि भारतका प्रधानमन्त्री मनमोहन सिंहको फोटो आफ्नो आवरणमा छाप्यो र मुन्तिर लेख्यो– द अन्डरअचिभर।

त्यसको दुई साता बित्दा नबित्दै भारतबाट प्रकाशित हुने म्यागजिन आउटलुकले गत हप्ता अमेरिकाका राष्ट्रपति बाराक ओबामाको फोटो उसैगरी आवरणमा छाप्यो। उसैगरि मुन्तिर लेख्यो– द अन्डरअचिभर।

अंग्रेजी शब्दकोशमा अन्डरअचिभरको साधारण अर्थ हुन्छ :  अपेक्षा गरिएभन्दा थोरै नतिजा दिएको व्यक्ति। नेपालका ३६ औं प्रधानमन्त्री बाबुराम भट्टराईलाई अन्डरअचिभर भन्दिए फरक नपर्ला– डिक्सनरीका शब्दहरूले उनकै लागि भनेर आफ्नो अर्थ बदल्दिएनन् भने। 

Sunday, July 22, 2012

घुम्ने मेचमाथि झलनाथ खनाल

अहिलेको राजनीतिक स्थिति, मधेसी तथा जनजाति मुद्दाका साथै सरकारका विषयमा केन्द्रित रहेर नागरिकका बसन्त बस्नेतले एमाले अध्यक्ष झलनाथ खनालसँग गरेको वार्ता :

संविधान सभा चुनावपछि जब महासचिव हुनुभयो, एमालेको पुनर्गठन र पुनर्निमाण गर्ने भन्नुहुन्थ्यो। त्यो अभियान कहाँ पुग्यो?
संविधान सभा चुनावमा गम्भीर धक्का खाएको तीतो इतिहास एमालेसँग छ। हामी किन पराजित भयौं भन्ने विश्लेषण गर्दा विचार, संगठन र कार्यशैलीमा पुनर्गठन गर्ने सोच आयो। त्यसपछि राष्ट्रिय कार्यकर्ता भेला र आठौं महाधिवेशनले पुनर्गठनमा महत्वपूर्ण उचाई लिएर आयो।

घुम्ने मेचमाथि केबी गुरुङ

१९९१ मंसिर ८ गते इलाममा जन्मेका कुलबहादुर गुरुङ नेपाली कांग्रेसका वयोवृद्ध नेता हुन्। बीपी कोइरालाको मेलमिलाप नीति कार्यान्वयन गर्दै पहिलो पटक नेपाल आउन तयार हुने कार्यकर्तामध्ये एक थिए उनी। गुरुङलाई इलामेलीहरु केबी सर भनेर आदर गर्छन्। जनजाति पृष्ठभूमिका नेता गुरुङ जातीय कुरा गर्दा भावुक भए। गुरुङसँग नागरिकका बसन्त बस्नेतले गरेको कुराकानीः

उनमा त्यस्तो के जादु थियो

साप्ताहिक अन्तर्वार्ता स्तम्भ 'घुम्ने मेचमाथि' मा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालदेखि एमाले अध्यक्ष झलनाथ खनालसम्मलाई पंक्तिकारले सोध्यो- 'तपाईंलाई सबैभन्दा बढी प्रभाव पार्ने नेता को हुन्?'
उनीहरूले एउटै जवाफ फर्काए- 'बीपी कोइराला।'
बीपीले खोलेको कांग्रेसलाई प्रधान शत्रु मान्नेदेखि बीपीलाई सम्झौपरस्त मान्ने शक्तिसमेत आज अरु कसैको होइन, बीपीकै नाम पुकार्छन्। इतिहासमा दर्जनौं नेताले स्पेस बनाए। मानिसहरू १८ महिनामात्रै शासन गरेका बीपीलाई नै दोहोर्‍याइ-दोहोर्‍याई सम्भि्करहन्छन्। बीपीमा त्यस्तो के थियो, जसले नेपालको राजनीतिमा उनी सबैभन्दा बढी उल्लेख गरिने व्यक्ति बन्न पुगे?

Friday, July 20, 2012

मैले अटोग्राफ लिएकोमा रिसाएका साथीहरुलाइ

उपेन्द्र यादवसँग मैले अटोग्राफ लिएकोमा केही साथीहरुले कडा प्रश्न र टिप्पणी गर्नुभएको छ। उहाँहरुलाई धन्यवाद छ। यादव नेतामात्रै होइनन्, बौद्धिक उचाइ भएका लेखक पनि हुन्। उनले थुप्रै स्तरीय िकताब लेखेका छन्। मैले नेताको होइन, लेखकको अटोग्राफ त्यो पनि उनकै किताबमा लिएको हो। जहाँसम्म "नेपालका नेतासँग अटोग्राफ लिनेले 'घुम्ने मेचमाथि' का लागि लिएको अन्तर्वार्ता के पढ्नु र खै" भन्ने सवाल छ, प्रश्नहरु त यो भन्दा अघिल्लो लिंकमा छँदैछन्। नपत्याए हेर्नूभए हुन्छ। म त्यति पुरानो पत्रकार त होइन, तर कति निर्मम र संवेदनशील भएर सोध्नुपर्छ भन्ने हेक्का मलाई छ। वास्तवमा म नेताहरुसँग मेरा प्रश्न होइन, तपाईंहरुका प्रश्न र गुनासा सोधिरहेको हुन्छु। जे होस्, फेसबुकमा रमाइलो गर्दागर्दै कहिलेकाहिँ गम्भीर बहस हुन्छ। त्यसमै त रमाइलो छ, होइन? हुन पनि 'ह्वाट्स अन् योर माइन्ड' भनेर सोध्छ। दिमागमा जे छ त्यही त भन्दिने हो। anyway, thanks to all.

Ghumne Mechmathi Upendra Yadav

भन्नेहरु भन्छन्, मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव राजनीतिको केन्द्रभागमा ह्वात्तै आए, स्वात्तै हराए। उनीचाहिँ त्यसलाई ठाडै अस्वीकार गर्छन्। एनजिओलाई पार्टी बनाएर मधेस आन्दोलनसमेत हाँक्न सफल उनी बौद्धिक छवि बनाएका नेता मानिन्छन्। मधेसी नेताहरुमध्ये तुलनात्मक रुपमा कम विवादित पनि उनै हुन्। उनी यसअघि उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री पनि भइसकेका छन्।  यादवले बनाएको र हुर्काएको ठूलो 'फोरम' आज छिन्नभिन्न भइसकेको छ। उनी विचार, संगठन र मधेसी जनताको विश्वास आफ्नै दलसँग रहेको दाबी गर्छन्। नागरिकका बसन्त बस्नेतले उनीसँग गरेको कुराकानी-

Monday, July 16, 2012

सन्तानको सुख


गत हप्ताका अखबारमा प्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले छोरी मानुषीलाई त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा स्वर्ण पदक दिएको तस्बिर छापियो। त्यसको भोलिपल्ट उनकै दलका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशले माओवादी कार्यकर्ता बिना मगरलाई भगाएको समाचार छापियो। क्रान्ति र राजनीतिको मैदानमा यी दुई घटनाले के संकेत गर्लान्?

Saturday, July 7, 2012

मार्खेजलाई 'डिमेन्सिया'

चर्चित कोलम्बियाली लेखक ग्याब्रियल गार्सिया मार्खेजलाई बिर्सने रोग 'डिमेन्सिया' लागेछ। आजको रिपब्लिकामा समाचार छ। हिजो नागरिकमा प्रकाशित बुद्धिसागरको "स्मृति बिक्री केन्द्र" मार्खेजले पढेको हुनसक्ने प्रबल सम्भावना छ। नत्र कसरी हिजै लेख छापिनु, आज स्मृति हराउनु??? अनुसन्धानको विषय भएको छ। 
चर्चित कोलम्बियाली लेखक ग्याब्रियल गार्सिया मार्खेजलाई बिर्सने रोग 'डिमेन्सिया' लागेछ। आजको रिपब्लिकामा समाचार छ। हिजो नागरिकमा प्रकाशित बुद्धिसागरको "स्मृति बिक्री केन्द्र" मार्खेजले पढेको हुनसक्ने प्रबल सम्भावना छ। नत्र कसरी हिजै लेख छापिनु, आज स्मृति हराउनु??? अनुसन्धानको विषय भएको छ। 

देउवाको बोली

खगेन्द्र संग्रौलाले मलाई बधाइ दिनु भो – 'घुम्ने मेचमाथि' मा शेरबहादुर देउवाको बोली बुझेर जस्ताको तस्तै टाइप गर्न सफल भएकामा। उहाँले बाह्रबुँदे समझदारी भएका बेला देउवाको अन्तर्वार्ता टिभीमा हेर्नु भएछ। तीनवटा च्यानल फेर्दा बल्ल भेउ पाउनुभएछ। वास्तवमा देउवाले भन्नुभएको रहेछ, 'वार्ता यहाँ गरे पनि हुन्छ, उहाँ (दिल्ली) गरे पनि हुन्छ, जहाँ गरे पनि हुन्छ।'

Tuesday, July 3, 2012

घुम्ने मेचमाथि शेरबहादुर देउवा


 २०५९ जेठ ८, अर्थात् ठीक दश वर्षअघि प्रधान मन्त्री शेरबहादुर देउवाले संसद विघटन गरे, अरुले विरोध गरे। इतिहासको संयोग, दश वर्षपछि व्यवस्थापिका संसदको समेत काम गरिरहेको संविधान सभा विघटन भएको छ। कोही नयाँ चुनावमा जाने भन्दैछन्, कोही अरु विकल्प सुझाइरहेका छन्। उनीचाहिँ पुनर्स्थापना गरेर त्यसैबाट संविधान जारी गर्नुपर्छ भनिरहेका छन्।

बिहीबार बिहान उनीसँग कुरा गर्न नागरिक बूढानिलकण्ठ जाँदा कसैको बिहेको निम्तो मान्न जान दौरा-सुरुवालमा ठाँटिएर बसेका थिए देउवा। अनुहारमा कुनै आक्रोश, आलस्य, हतारो वा आकांक्षा झल्कँदैनथ्यो। बरु रोमाञ्चक मुडमा थिए उनी। घुम्ने मेचमाथि बस्नुअघि उनले ठट्टा गरे- अलि अप्ठेरा प्रश्न सोध्नूस् है।'

काठमाडौं डिस्कोर्स // कम्युनिस्ट गालीको शब्दकोश


बैसाखीविना उभिएका कवि

आजको बिजनेस सकियो।

शोक पर्ने दिन पानी बिर्बिराउँछ भन्छन् गाउँघरतिर। यस्सै त असारको दिन छ।
 
अफिसबाट निस्कने बेला सेलफोनमा लेखक कृष्ण धरावासीको नाम देखियो। उनको आवाज खस्नुअघि नै बोलेँ, 'सुनिसकेँ दाइ।'
 
धरावासीको आवाजमा असार भिजिरहेको थियो। गह्रौँ भइसकेको स्वर भर्खरै दिवंगत कविको करिश्माले थिचिएको थियो।
 
'डबली' ले केही लेख्नु परेन। किनकि यो पालि प्रधानसम्पादक आफैँ ओबिच्युअरी लेखिरहेका थिए। 
 
म अफिसबाट निस्केर कतिखेर गाडीमा बसिसकेछु। त्यसले पछिल्लो सिटमा राखेर १२ वर्षअघिको समयतिर दौडाउँदै फर्कायो।

गुरु पूर्णिमा

यो वर्षको गुरु पूर्णिमा बहिनी कोपिलासँग मनाएँ। उसलाई मैले ग्रीक लेखक निकोलस केजको 'द टिचर हु चेन्ज्ड माइ लाइफ' शीर्षकको संस्मरण आज बिहान पढाएँ। ग्रीसको कम्युनिस्टको दमनमा परेकी आमाले बाबुसँग अमेरिका भगाएका केजको जीवनलाई कसरी एक गुरुआमाले बदल्न प्रेरणा दिइन्

Friday, June 1, 2012

घुम्ने मेचमाथि प्रचण्ड। नागरिकका लागि अघिल्लो हप्तायता सुरु यो साप्ताहिक वार्ता स्तम्भमा प्रचण्डसँग गरेको कुराकानी मेरा लागि स्मरणीय रहनेछ।


संविधानसभा विघटन भएपछि बढ्दो राजनीतिक दबाब र गर्मी छल्दै नगरकोट हानिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधान सम्पादक किशोर नेपाल, फोटो सम्पादक चन्द्रशेखर कार्की र म बिहीबार बिहान लाजिम्पाटस्थित निवास पुग्यौं। अघिल्लो दिन बेलुकी भेट्ने भनिएको सेड्युल 'प्रचण्ड-व्यस्तता' कै कारण सरेको थियो।

११ वर्षअघि आजकै दिन राजा वीरेन्द्रको वंशनाश भएको थियो। लगत्तै प्रचण्डको पार्टी नेकपा माओवादीले गणतन्त्र आइसकेको, औपचारिक रुपमा संस्थागत गर्नमात्रै बाँकी रहेको प्रचार गर्‍यो। आज देशमा राजतन्त्र 'भूमिगत' , टाउकाको मोल तोकिएका 'आतंककारी' प्रचण्डचाहिँ खुला छन्। एकपल्ट मुलुकको प्रमुख कार्यकारी पनि भइसकेका छन्।

Tuesday, May 29, 2012

विदेशीको नेपाल-चिन्ता

 

नेपालका नेताहरू विदेशीको चिन्तामा असाध्यै विश्वास गर्छन्। अथवा यसो भनूँ, नेपाली राजनीतिको हालसम्मको इतिहास विदेशीहरूको हामीमाथिको चिन्ताको इतिहास हो।

Tuesday, May 15, 2012

काठमाडौं डिस्कोर्स // एघारौं घण्टाको एमाले

शान्ति प्रक्रिया सुरु भएयता नेकपा (एमाले) दुई पटक प्रधानमन्त्रीको आसनमा बस्यो। संविधानसभा चुनावबाट तेस्रो हैसियतमा पुगेको यो दल सरकार निर्माण र विघटनमा भने निर्णायक बनिरह्यो। राजनीतिका महत्वपूर्ण मुद्दामा यो दलको अग्रसरता र ढिलासुस्ती दुवैले अवस्था हेरी धेरथोर प्रभाव पारे। यति हुँदाहुँदै पनि संविधान निर्माणको एघारौँ घण्टामा बनेको 'सहमतीय सरकार' मा एमालेको मालले भाउ पाएन, किन?

Monday, April 30, 2012

हेडक्वार्टरमा बम हान्नुअघि


अचेल काठमाडौंका केही भित्ता कालो अक्षरमा लेखिएका 'बमबार्ड द हेडक्वार्टर' नाराले रंगिएका छन्। लोगोझैं देखिने आरएएम संकेत कोरिएको छ। नारा कसले लेखेको हो- जानकारी छैन।
 सशस्त्र युद्धकालमा हेडक्वार्टर पदावलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई बुझाउँथ्यो। धोबीघाट भेलापछि त्यसमा उपाध्यक्षत्रय मोहन वैद्य किरण, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा बादल थपिए। यद्यपि यो ठोस रूपमा स्थापित भएन। हेडक्वार्टर भन्नेबित्तिकै अहिले पनि दाहाल नै बुझिन्छन्। हेडक्वार्टरमा बम हान्नुको अर्थ अध्यक्ष दाहालको नेतृत्वमाथि प्रहार गर भन्ने लाग्छ।

Monday, April 23, 2012

सोकेसमा सजाइएकी दिदी

३४ वर्ष पुरानो कम्युनिस्ट राज ढालेर शक्तिमा उदाएकी पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कंग्रेस प्रमुख ममता बनर्जी फेरि एक पल्ट पश्चिमा मिडियाको सोकेसमा सजाइएकी छन्। ममताको 'ओजपूर्ण छवि' पछिल्ला केही महिनायता बंगाल र भारतमा निरन्तर संकटग्रस्त छ। छवि संकटमा परेकै बेला अमेरिकी साप्ताहिक टाइमले वर्षका एक सय प्रभावशाली व्यक्तिको सूचीमा बुधबार उनको नाम पनि चढाएको छ।
टाइमले अमेरिकी राष्ट्रपति बाराक ओबामा, विदेशमन्त्री हिलारी क्लिन्टन, खर्बपति वारेन बफेटसहितको लिस्टमा ममताको नाम पार्दै 'मार्क्सवादीहरूलाई पछार्ने सडककी लडाकु ममता दिदी' भनेको छ।

अनुहारमा आञ्चलिक प्लटहरू



'झुक्किएको हो भने झुक्किएँ भन्दिनुस्।'
मञ्चअघिल्तिर वारपार राखिएका टेबुलको बायाँ कुनाबाट लेखक उदय अधिकारी कराए। चितवनका रैथाने यी अधिकारी नेपाली साहित्यका त्यस्ता 'लेखक' हुन्, जो लेखकहरूमाझ 'नलेखी नै चर्चित' छन्। उनी पढ्छन्। बेस्मारी पढ्छन्। तर्कले वक्तालाई ठाउँको ठाउँ पानी बनाउँछन्। वैशाख १ गते चितवनको सौराहामा प्रज्ञा प्रतिष्ठान र चितवन साहित्य परिषदले आयोजना गरेको 'नेपाली आख्यान संगोष्ठी' मा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव सनत रेग्मीसामु उनले यसैगरी प्रश्नको घुयेँत्रो हाने।

अनुहारमा आञ्चलिक प्लटहरू

'झुक्किएको हो भने झुक्किएँ भन्दिनुस्।'
मञ्चअघिल्तिर वारपार राखिएका टेबुलको बायाँ कुनाबाट लेखक उदय अधिकारी कराए। चितवनका रैथाने यी अधिकारी नेपाली साहित्यका त्यस्ता 'लेखक' हुन्, जो लेखकहरूमाझ 'नलेखी नै चर्चित' छन्। उनी पढ्छन्। बेस्मारी पढ्छन्। तर्कले वक्तालाई ठाउँको ठाउँ पानी बनाउँछन्। वैशाख १ गते चितवनको सौराहामा प्रज्ञा प्रतिष्ठान र चितवन साहित्य परिषदले आयोजना गरेको 'नेपाली आख्यान संगोष्ठी' मा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव सनत रेग्मीसामु उनले यसैगरी प्रश्नको घुयेँत्रो हाने। आञ्चलिक नेपाली आख्यानबारे आयोजित गोष्ठीको उद्घाटन सत्रमा रेग्मीले भनेका थिए, 'आञ्चलिकतालाई नै केन्द्रमा राखेर ध्रुवचन्द्र गौतमले उपन्यास लेखेका होइनन्।' अधिकारीले प्रतिप्रश्न गरेका थिए, 'ध्रुवचन्द्रले आञ्चलिक उपन्यास लेखेको प्रमाण छ। बरु तपाईं झुुक्किनुभएको हो भने झुक्किएँ भन्दिनुस्।'

Wednesday, April 11, 2012

नयाँ वर्षको पहिलो दिन

नयाँ वर्षको पहिलो दिन
म सबेरै उठेर
एकपटक हेर्नेछु
ऐनामा
आफ्नो अनुहार

'महान् पार्टी' को उदास शुक्रबार


'हामी युद्धकालमा राम्रा राम्रा कोटेसन आफैं सिर्जना गर्थ्यौ, दुस्मनको आँखा छल्दै भित्ता कोर्थ्यौ। त्यसमा अध्यक्ष कमरेड प्रचण्डको नाम लेख्थ्यौं। उहाँले त बिर्सनुभयो होला! आज पनि कति भित्ताहरूमा हाम्रा अक्षर मेटिएका छैनन्।'
अघिल्लो हप्ता राजधानीमा भेटिएका एनेकपा (माओवादी) का कार्यकर्ताको भनाइ हो यो। जनताले युद्धकालतिर पढ्ने गरेका ती 'स्वप्नजीवी' भनाइहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले भनेकै होइनन् रे! आफूले सिर्जेका आकर्षक भनाइ पछिल्तिर प्रचण्डको नाम उनीहरूले जोडिदिएका रे!

Sunday, April 1, 2012

बुहारी डिपार्टमेन्ट !

कक्षामा खुट्टा टेक्ने ठाउँ छैन। समाजशास्त्री तथा प्राध्यापक चैतन्य मिश्र ह्वाइटबोर्डमा घोट्टिइरहेका छन्। बीचैमा एक विद्यार्थी पस्छ। खाली कुर्सी नदेखेपछि आत्तिन्छ। तत्काल आफूलाई सम्हाल्छ। अनि सरले नदेख्ने गरी सबैलाई नमस्कार टक्र्याउँछ। विद्यार्थी 'हाँस्न चाहन्छन्' तर हाँस्दैनन्। लाग्छ, उनीहरू मिश्र सरको एकाग्रता भंग गर्नुलाई सानोतिनो अपराध मान्छन्।

Monday, March 26, 2012

किशोर नेपालसँग ६० मिनेट


साहित्य सम्मेलनको उद्घाटन सत्र सकिएलगत्तै आख्यानकार किशोर नेपालसँग मैले गरेको संवार्ता 'किशोर नेपालसँग ६० मिनेट' तीन दिनभरि चर्चित रह्यो। धेरैले रुचाएको सो सत्रको केही समालोचकबीच तिखो आलोचना पनि भएको थियो। पाँच सेग्मेन्टमा बाँडिएको सो वार्ताका केही अंश यहाँ प्रस्तुत छ :
 

Thursday, March 15, 2012

सञ्जीव उप्रेतीको व्यक्तित्व काउलीजस्तो छ


लेखक, प्राध्यापक, रंगकर्मी सञ्जीव उप्रेतीकी पत्नीमात्रै भनिनु अर्चना थापाका लागि पर्याप्त छैन। स्वअस्तित्वको वकालन गर्ने उनले आफ्नो दोस्रो सम्पादित कृति 'स्वअस्तित्वको खोज' अघिल्लो शुक्रबार सार्वजनिक गरेकी छन्। ३८ नेपाली महिला लेखकका रचना समेटिएको यस किताबअघि उनले नेपाली महिलामाथि नै आधारित 'टेलिङ अ टेल' अंगे्रजी किताब सम्पादन गरिसकेकी छन्। अक्षर क्रियसन्स नामक प्रकाशन गृह चलाइरहेकी थापा पिएचडीको सिलसिलामा यसै वर्ष अमेरिका जाँदैछिन्। उनको पछिल्लो किताबसम्बन्धी प्रसंग र अन्य अनुभूति समेटिएको यो अन्तवार्ता शुक्रवार साप्ताहिकका लागि प्रस्तुत छ।

Thursday, March 8, 2012

कमजोर छैनन् महिला लेखक


यस वर्षको मदन पुरस्कार महिलाको कृतिले पाउन सफल भयो। झमक घिमिरेको 'जीवन काँडा कि फूल' पारिजातपछि व्यापक चर्चा र मदन पुरस्कार दुवै पाउने किताब दोस्रो किताब भइदियो।
अहिलेसम्म पनि महिला लेखक भन्नेबित्तिकै पारिजातको नाम झुन्डिन्छ धेरैको मुखमा। साहित्यको व्यापक बहसमा वानिरा गिरिको नाम लिने पनि छन्।
वर्षेनी नयाँ नयाँ महिला लेखक आइरहन्छन् तर तिनको प्रचार र प्रभाव उति स्थापित हुन सकेको छैन।
पछिल्ला वर्षमा महिला लेखकको संख्या बढ्दो छ। यति हुँदाहुँदै पनि आम गुनासो छहामीलाई लेख्ने वातावरण र प्रोत्साहन छैन।
वातावरण पाउनु भनेको के हो? लेख्ने, साहित्य गोष्ठीमा भाग लिने 'स्वतन्त्रता' पाएका महिला किन अझै पनि पुरुषको दाँजोमा पुग्न सकेका छैनन् त?

Saturday, March 3, 2012

KishorNepal writes a story taking me as a character...थ्यांक यू इलाम, लभ यू मच


किशोर नेपाल
खुसीले चहकिएकी थिई विनिता। विनिता खुसी हुनु नौलो कुरा थिएन। ऊ खुसी नहुनु बरु नौलो हुन्थ्यो। खुसी हुनैका लागि जन्म भएको थियो उसको। कन्यामको डाँडामा पाइला टेक्नेबित्तिकै विनिता प्रकृतिको आकर्षणमा चुर्लुम्म डुबेकी थिई। चियाबारीको इन्द्रधनुषी नक्साभित्र हराएकी थिई, मन्त्रमुग्ध! उसले यति रमाइलो ठाउँ अहिलेसम्म कतै देखेकी थिइन।

'इलाम जाने विनिता?' कामको प्रसंगमा इलाम जान लागेको वसन्तले एक दिन अचानक प्रश्न गरेको थियो।

हरियो सहरमा शब्द–उत्सव


इलाम क्याम्पसमा मध्यरातसम्म कवि गोष्ठी हुँदै थियो। प्रकाशपथमा एक्कासि आगलागी भयो। लेखक र पाठकको भीड गोष्ठी छाडेर आगो निभाउन हुर्रियो। साहित्य गोष्ठीका सहभागी संयोगले जागै थिए। नत्र इलाम उबेलै जलेर सखाप हुन्थ्यो।
कुरा २०४५ वैशाख ३१ गतेको हो।
......
इलाम बजारमा आगलागी हुनु नियमित आकस्मिकता जस्तै भएको छ। अघिल्लो वर्ष पनि यस्तै भयो। आकस्मिकताहरूको सहर इलाममा पाँच दशकयता सुरु साहित्य सम्मेलनको परम्पराले फागुन १४ गते आइतबारदेखि तीन दिनसम्म निरन्तरता पायो।

Monday, February 13, 2012

सभासद्लाई होमवर्क ?

'यो संविधान भनेको चाहिँ के हो?'
'त्यति पनि थाहा छैन? यो भनेको बुक हो क्या, बुक।'
'अनि एउटा बुक लेख्न पनि त्यत्रा ६ सय १ मान्छे चाहिन्छ त? अनि फेरि तीन वर्षमा पनि लेखी नसक्या?'

'ज्याला पूरा लिएर संविधान नदिने' सभासद्प्रति लक्षित गर्दै फेसबुक प्रयोगकर्ताको एक समूहले केही महिनाअघि माइतीघर मण्डलामा निकालेको र्‍यालीमा दुई किशोरीबीचको संवाद हो यो। संविधान बनाउन नसक्ने भन्दै कतै सभासद्को श्राद्ध गरियो, कसैले झापड खाए। तुच्छ निन्दा र भद्दा गालीको शृंखला चल्यो। संविधानसभाको पानीखेदो कतिपयका लागि नगरी नहुने काम हुन थालेको छ। मिडियामा सभासद्का लागि होमवर्क, टिप्स आदि सिफारिस हुन थालेका छन्।

Thursday, February 9, 2012

नश्लीय चेतनाको बाहक



(शुक्रबार साप्ताहिकमा माघ २६ गते प्रकाशित)

राजन मुकारुङलिखित हेत्छाकुप्पा उपन्यासको दोस्रो संस्करण यसै हप्ता आएको छ। उपन्यास जातीयताको पक्षमा छ, जातीय विभेदको विरुद्धमा पनि। पात्रहरू अराजक छन्, सिर्जनशील पनि। मुकारुङले भोगेको जीवनको परिमार्जित सारांश हो हेत्छाकुप्पा। पछिल्लो समय छापिएका पठनीय केही उपन्यासमध्ये यो एक हो। राज्यसत्ताको एकमना स्वरुपमाथि तीव्र असहमति राख्ने यसभित्रको मुख्य पात्र साङ्गेन लेखकविचारको माउथपिस हो।

Monday, January 30, 2012

कम्युनिस्ट पार्टीको मृत्यु !


 
मृत्यु सन्दर्भजो उठे

अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले जनवरी ७ तारिखको 'फरेन अफेयर्स' मा नेपालको सन्दर्भ जोड्दै 'द फ्युचर अफ् हिस्ट्री' शीर्षक लामो लेख लेखेका छन्। उनले वर्तमान समाज कार्ल मार्क्सले आकलन गरेभन्दा विपरीत हुँदै गएको, आधुनिक समाजमा बुर्जुवाको भूमिका साँघुरिँदै जाने मार्क्सको दाबी असत्य प्रमाणित भएको, बरु विकसित देशमासमेत तिनै वर्गको वर्चस्व निर्माण भएको जिकिर गरेका छन्।
फुकुयामा लेख्छन्, 'विकसित र धनी देशमा मध्यमवर्गको दबदबा छ। नेपाल, पूर्वी भारतका विपन्न गाउँ र ल्याटिन अमेरिकाजस्ता उच्च आर्थिक असमानता रहेका क्षेत्रमा मात्रै 'लेफ्िटस्ट र्‍याडिकालिज्म' हावी छ।'
यो कस्तो संयोग! इतिहास र विचारधाराको अन्त्य भएको भनी बिसौं शताब्दीको उत्तरआधुनिकता बहसमा तहल्का मच्चाएका फुकुयामाले नेपालजस्ता कमजोर देशमा वाम कट्टरपन्थीको वर्चस्व रहेको दावी गरेकै साता यहाँका 'र्‍याडिकल लेफ्िटस्ट' नेता पुष्पकमल दाहालले आफ्नो पार्टी एनेकपा माओवादी मर्दैगएको प्रतिवेदन लेखेका छन्। दाहालमाथि तुरुन्त केही जवाफ, धेरै प्रश्न र बहस फर्काउँदै मार्क्सवादी चिन्तक घनश्याम भूसालले पुस २० गते कान्तिपुर दैनिकमा 'किन मर्छन् कम्युनिस्ट पार्टीहरू' शीर्षक झण्डै एक पेज लामो लेख लेखेका छन्।

Saturday, January 28, 2012

कुमारी उचाइमा एकछिन

कुमारी उचाइमा एकछिन

कुमारी उचाइमा एकछिन


पनौतीपारिको धुलौटो बाटोमा बस गुडिरहेको छ। छेवैमा केटाकेटी खेलिरहेका छन्। गाउँले महिला धारामा पानी थापिरहेछन्, लुगा धोइरहेछन्। घाँसको भारी लिएर कोही सडकछेउ हुँदै फर्किरहेछन्। तीव्र गतिको बसले बेपर्वाह धुलो उडाउँछ। उनीहरू पुरिन्छन्। 'विकास' गाउँसम्मै पुगेको छ।

Saturday, January 21, 2012

यायावर डट कम


चितवन रत्ननगरको स्टार भेन्यु परिसरमा शिवपार्वती मन्दिर बन्दैछ। त्यसैको आडनेर म समाजवादी चिन्तक प्रदीप गिरीको लेख पढ्दैछु। एउटा पंक्ति लेखिएको छईश्वरको ठाउँ बजारले लिन थालेको छ।
होटलपरिसरमै मन्दिर केका लागि बनाएका होलान्!
'विवाहमण्डपका लागि हो। होटलमै विवाह, होटलमै पार्टी,' होटलकर्मी विनोद लामिछानेले सुनाए।
कुरा ठिकै हो। ईश्वरको ठाउँ बजारले लिन थालेको छ।

Monday, January 16, 2012

विकिपेडियामा नेपालीभन्दा नेवारी पेज धेरै

बसन्त बस्नेत
काठमाडौं, माघ १
इन्टरनेटमा सबैभन्दा चल्तीका पाँच साइटमध्ये एक विकिपेडियामा नेपालीभन्दा नेवारी (नेपाल) भाषाका पेज बढी छन्। विकिपेडियामा नेवारी भाषा ४७ औं स्थानमा छ भने नेपाली ८५ औं स्थानमा।
विकिपेडियामा नेपालीसँगै सुरु भएको हो, नेवारी भाषा। विश्वका २ सय ८३ भाषामा उपलब्ध विकिपेडियाको नेपाली संस्करण सुरु भएको ८ वर्ष भइसक्यो।