Thursday, December 25, 2014

झन्डाबाहिरका कमान्डर

पञ्चायतका हक्की-झोंकी अर्थसचिव देवेन्द्रराज पाण्डे 'टप करिअर' हापेर बहुदलवादी संघर्षको काँडाघारीमा हाम फाले । काठमाडौंको खानदानी पाण्डे वंशमा जन्मे-हुर्केर १९ वर्ष सरकारी सेवा गरेका ४० वर्षे प्रशासकले पेन्सन पर्खने धैर्य देखाएनन् । सम्भ्रान्तको दैलोबाट निक्लेर भुइँका मानिसहरूसँग संवाद थाले । खिलराज रेग्मी सरकार बन्नपूर्व आएको प्रधानमन्त्री प्रस्ताव सीधै नकारे । यस्तै 'अफबिट' निर्णय गर्ने बानीले उनको उच्चवर्गीय आकांक्षालाई पुनःपरिभाषित गरिदियो । उनले जीवनलाई नयाँ बाटो दिए ।
पाण्डे अहिले पार्टीभन्दा पर, नागरिक आन्दोलनका नेताका रूपमा परिचित छन् । यो नागरिक अगुवा भन्ने यस्तो 'पद' छ, जहाँ कुनै झन्डा छैन । अफिस, नेमप्लेट छैन । तलब छैन, अवकाश, उपदान केही छैन । पाण्डेको नामसँग यस्तो नैतिक बल छ । हेर्दा कहीं छैन, तर सबैतिर छ ।
ट्वीटरमा झुन्डिबस्छन् पाण्डे । राजनीतिक, आर्थिक टिप्पणी गर्दागर्दा दिक्क लाग्यो भने टाइमलाइनमा तन्नेरीसँग भिड्न थाल्छन् । उनको लाइभ ट्वीट सुरु भयो भने बुझे हुन्छ, आज क्रिकेट म्याच छ ।

Thursday, December 4, 2014

जीवन : एक विश्वविद्यालय

केदारभक्त माथेमा तीनपटक त्रिभुवन विश्वविद्यालयबाट निकालिए। पहिलोपटक- २०२७ सालमा त्रिचन्द्र क्याम्पसबाट, जहाँ उनी अंग्रेजी साहित्य पढाउँथे। चार्ल्स डिकेन्सको 'अ टेल् अफ् टु सिटिज्' उपन्यास पढाउँदा क्रान्तिको चर्को आह्वान गरेको आरोप केही पञ्चका छोराहरूले लगाए। उनलाई पनि के खाँचो परेको थियो र ! हापिदिए।
दोस्रोपटक- २०३२ सालमा केन्द्रीय क्याम्पस र्कीर्तिपुरबाट, जहाँ उनी क्याम्पस चिफ थिए। मण्डले भनेर चिनिने राष्ट्रवादी विद्यार्थी मण्डल र आन्दोलित विद्यार्थीबीच झडप हुँदा प्रहरी छिर्न खोज्यो। क्याम्पस हाताभित्र प्रहरी छिर्न नपाउने भनी अडान लिए। प्रहरीले दुर्व्यवहार गर्‍यो। उनीसहित थुप्रै प्राध्यापकहरूले कडा विज्ञप्ति निकाले। दरबारको जाँचबुझ केन्द्रले स्पष्टीकरण सोध्यो। उनले सीधा प्रतिवाद गरे। अर्को क्याम्पस चिफ ल्याउने निर्णय सुनाइयो। उनले राजीनामा दिए।
तेस्रोपटक (२०५१ सालमा त्रिवि केन्द्रबाट, जहाँ उनी उपकुलपति भिसी) थिए। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आग्रहमा भिसी बनेका उनको चारवर्षो कार्यकाल पूरा नहुँदै एमाले सरकार बन्यो। प्रधानमन्त्री मनमोहन अधिकारीले उनलाई डाके। 'तपाईंले धेरै प्रशंसनीय काम गरिरहनुभएको छ। म आएको छु, अब अझै राम्रो गर्दै जानुहोला,' उनले ढाडस दिए। त्यसको दुइ साता नबित्दै केही अनपेक्षित घटना भयो। माथेमाले राजीनामा दिने निर्णयसुनाए। प्रधानमन्त्रीले रोक्न सकेनन्।

गढीमाई मौलो

माहोल हेर्दा लाग्छ, पाँच वर्षमा एकपल्ट लाग्ने गढीमाई मेला रंगैरंगको इन्द्रधनुषी उत्सव हो । नाचगान, रमिता, मित्रमिलन, इच्छापूर्णताको भाकल । तर मधेसको हिउँदमा फूल, रंग र अबिरको यो रंगीन माहोललाई बिर्साउने गरी चर्चामा छ, पशुबलि । यो पशुबलि, जसका कारण बारा सदरमुकाम कलैयाबाट ६ किलोमिटर पूर्वमा अवस्थित गढीमाई देशदेशावरमा चर्चित छ । यही पशुबलिका कारण गढीमाई हिजोआज विवादित पनि बन्न पुगेको छ ।
अघिल्ला वर्षहरूझैं बिहीबार राति ११ बजेदेखि तान्त्रिक विधिबाट रातभरि पूजा गरेपछि शुक्रबार बिहान ४ बजे पहिले सेतो मुसाको बलि दिइयो । त्यसपछि क्रमशः सुँगुर, परेवा, हाँस, कुखुरा चढाइयो । अनि पालो आयो 'नरबलि'को । यो वर्षका लागि बलिदाता तोकिएका धामी दुःखा कछडियाले शरीरका कान, जिब्रो, आंैला, पाखुरा, तिघ्रा गरी पाँच अंगबाट तपतप रगत चुहाए र आफ्नो रगतको अंश गढीमाईका नाममा चढाए । त्यसपछि सुरु भयो- आस्था र आर्तनादको संगम अर्थात् राँगा बलि । बलिका लागि चुनिएका साढे चारसय तरबारधारीले जोसका साथ हावामा हतियार उज्याए र भाकलका राँगालाई गढीमाई देवीको दैलोमा हाजिर गराए ।
रातो कपडाले बेरेर राँगा घिस्याउँदै लगिरहेका दर्शनार्थीले बलि दिनुअघि तिनको धुमधाम पूजा गरेका थिए । आफ्नो भाकलका लागि उनीहरूले बलि चढ्नुपरेकामा पशुसँग क्षमा मागेका थिए । त्यसपछि मात्र राँगामाथि खुकुरी, खुँडा र तरबार चलाइएको थियो, जसलाई शब्दमा वर्णन गर्न साह्रै कठिन छ ।

Monday, November 17, 2014

आँखाभरि बिझाइरहेछन् शरणार्थी

कुनै समयका 'भुटानी मन्डेला' टेकनाथ रिजाल काठमाडौं वा झापाका सडकमा एक्लै हिँडिरहेको भेटिए भने आश्चर्य मान्नु पर्दैन । २५ वर्षअघि एक लाख भुटानी शरणार्थीका 'निर्विकल्प विकल्प' यी अधिकारकर्मी नेता केही समययता गुमनाम छन् । यी यस्ता नेता हुन्, जससँग आज कुनै आन्दोलन छैन । ६७ वर्षीय यी नेताको नाम लिनेबित्तिकै झापा र मोरङका सात शिविरमा बाँकी शरणार्थी भने दुई धारमा विभाजित हुन्छन् । एकथरी भन्छन्, 'रिजालले गर्दा नै भुटानी शरणार्थी आन्दोलनले अन्तर्राष्ट्रिय आयाम पाएको हो, उनको जोडा अर्को छैन ।' अर्काथरी भन्छन्, 'शरणार्थी नेता भएर पनि रिजाल कहिल्यै शिविरमा बसेनन् । आत्मकेन्दि्रत भए, कूटनीतिक पहल लिन सकेनन् ।' रिजाल आफैं भने यसो भन्छन्, 'मलाई नेता हुन्छु भन्ने कहिल्यै लागेन । भुटानी राजाविरुद्ध एकदिन उभिनुपर्ला भन्ने झन् थिएन । दैवको खेल हो यो, परिस्थितिले आफैं बाटो देखायो ।'
सिकिस्त छन् रिजाल । हात थर्थराउँछन् । मधुमेह भएको छ । प्रोस्टेटका रोगी हुन् । पिसाबमा समस्या छ । आँखा धमिलो देख्छन् । चस्माको पावर पुग्न छाडेको छ । दिन-दिनको जाँच, छिन-छिनको औषधि । यही हो, टेकनाथ रिजालको यतिखेरको दैनिकी । एउटा भयानक दुस्वप्नजस्तो केही हुन्छ, अनि थामिन्छ । अस्थिर मन र धमिला आँखाभरि शरणार्थीका निरीह अनुहार बिझाउन आउँछन् । मन भरिएर आउँछ । १० वर्ष जेलनेल र यातना खपेका यी ६७ वर्षीय योद्धा भन्छन्, 'अब ती दिन सम्झँदा पनि डिप्रेसनमा जान्छु कि जस्तो हुन्छ । मनस्थिति पहिलेजस्तो ठीक छैन ।'

गणेशमान जागेका बेला

-२०४६ चैत १६ गते ।वीर अस्पताल । पहिलो तला । कोठा नम्बर १४ ।

जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह साँझको मधुरो उज्यालोमा बसिरहेका थिए । कोठाको दक्षिण र पूर्वपट्टकिा ठूला झ्यालबाट उज्यालो द्रुत गतिमा हराउँदै गइरहेको थियो । बत्ती बाल्ने बेला भइसकेको थियो, तर गणेशमानले बत्ती नबाल्नु भनेर आफ्ना सहयोगीलाई भनेका थिए । किनभने, सात बजेदेखि ब्ल्याकआउट (बत्ती निभाउने कार्यक्रम) सुरु हुनेवाला थियो ।

सात बज्न केही मिनेट बाँकी नै थियो । बाहिर निस्कन र सार्वजनिक समारोहमा उपस्थित हुन रोक लगाइएका गणेशमानले अरू केही नसके पनि आफ्नो कोठाको बत्ती अरूले भन्दा पहिल्यै निभाएर ब्ल्याकआउट थाल्ने निर्णय गरे ।

जापानी पत्रकार कियोको ओगुराले लेखेको 'जनता जागेका बेला' पुस्तकबाट माथिको प्रसंग उद्धृत छ । गणेशमान र उनको पुस्ताले लडेको २००७ सालको क्रान्ति सम्झाउने दिन अर्थात् ०४६ फागुन ७ बाट जनआन्दोलन सुरु गरिएको थियो । बिस्तारै आन्दोलनको ज्वरो ओर्लंदै जान थालेपछि कांग्रेस र वाममोर्चाले हरेक घरका जनता जगाउने उपायको रूपमा 'ब्ल्याकआउट' रोजेका थिए । गणेशमानले नजरबन्दमा बस्नुभन्दा बिरामी भएको नाटक गरी अस्पताल बसे सहरको चहलपहलसँग अभ्यस्त हुन पाइने परिपञ्च रचिएको थियो । त्यसैबमोजिम उनी पत्नी मंगलादेवीसहित चैत १४ गते वीर अस्पताल भर्ना भइदिएका थिए । यसका रणनीतिकार थिए, उनका धर्मछोरा पीएल सिंह, जसले गणेशमानका अतिशय अप्ठयारा दिनहरूमा उनको र सिंगो परिवारको भरथेग गरिदिएका थिए । मंगलादेवीले आफ्नो पुस्तक 'नारी संघर्षका पाइलाहरू' को आखिरी पृष्ठमा लेखेकी छन्, 'एउटा पीएल नहुँदो हो त हामी बूढाबूढीको सायद पहिल्यै मृत्यु भइसक्थ्यो !'

-नागरिक अगुवा देवेन्द्रराज पाण्डेलाई बन्दी अवस्थामा रहेकै बेला संकटकालीन अवस्थाको मन्त्री पद खाइदिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आग्रह गरे । पाण्डेले ठाडै नकारे । भलाद्मी स्वभावका पञ्च प्रधानमन्त्री चन्दले मन्त्री नखाइदिए पनि एकपटक गणेशमानसँग राजा वीरेन्द्र र आफ्नो भेट गराइदिन आग्रह गरे । पाण्डेले भने, 'वार्ता गर्ने तपाईंको कुरा मलाई त स्वीकार्य भएन भने गणेशमानजीले के मान्नुहोला ? तैपनि म सन्देश पुर्‍याइदिउँला ।' वीर अस्पतालको वार्डमा पुगेर पाण्डेले चन्दको सन्देश के सुनाएथे, गणेशमान गर्जे, 'बहुदलीय व्यवस्था स्थापना भएको घोषणा सार्वजनिक नगरुन्जेल म राजालाई भेट्दै भेट्दिनँ । प्रधानमन्त्रीसँग पनि कुरा गर्दिनँ ।' रोचक कुरा, पाण्डेले गणेशमानको आँधीसरी प्रत्युत्तर के सुनाएथे, अघिसम्म मन्त्री खाइदिन अनुनय गर्ने प्रधानमन्त्रीले उनलाई फेरि जेल फर्काइदिए ।

लेखक कारखाना

सिर्जनात्मक लेखनको बारेमा एउटा भनाइ छ- प्रतिभाशालीलाई सिकाउनु पर्दैन । अनि, प्रतिभा नभएको मानिसलाई जति सिकाए पनि काम छैन ।

विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहमा हिजोआज 'क्रिएटिभ राइटिङ' र 'क्रिटिकल रिडिङ/थिंकिङ' का कक्षा सञ्चालन हुने गर्छन् । नेपालमा यस्ता कक्षा हिजोआज विश्वविद्यालयबाहिर पनि चल्न थालेका छन् । 'क्रिएटिभ राइटिङ' का ती कक्षाले लेखन-लडाइँमा होमिन निश्चित सूत्र र सीप हस्तान्तरण गरेको सहभागीहरू बताउँछन् । र, उहिलेदेखिको बहस फेरि एकपटक सतहमा आएको छ- के सिर्जनशील लेखनका लागि तालिम आवश्यक छ ?

त्रिभुवन विश्वविद्यालयमा सिर्जनात्मक लेखनको पहिलो पाठयक्रम डिजाइन गरेका प्राध्यापक मोहनराज शर्मा ठान्छन्, 'एकदमै आवश्यक छ । जोसँग खुट्टा छ, यो कोर्सले उसलाई हिँड्न सिकाउँछ । जो हिँड्न सक्छ, उसलाई शानसँग हिँड्न सिकाउँछ । जो पहिल्यैदेखि शानले हिँड्न सक्थ्यो, उसलाई दौडन सिकाउँछ ।' शर्मा आफ्नो पालामा त्यस्तो कोर्स पढ्न नपाएकामा थकथकी मान्छन् । क्रिएटिभ राइटिङ पढेर साहित्यमा चम्केका केही नाम लिँदै थप्छन्, 'यो कोर्सले प्रतिभाको विकास गराउँछ । लेखनमा देखा पर्ने अलमल समाधान गर्छ ।'

शर्मासँग कुनै समय लेखन-साधना सिकेका लेखक/सम्पादक अविनाश श्रेष्ठ सही थाप्छन्- 'यो कसैलाई गुरुज्ञान दिने कक्षा होइन, परिष्कार भने दिन्छ । यो अभ्यास हो, जानेको मानिसलाई अझै जान्ने बनाउँछ ।'

Wednesday, November 5, 2014

एक प्राध्यापकको पेन्सन

समाजशास्त्री चैतन्य मिश्र त्रिभुवन विश्वविद्यालयको ३५ वर्षे सेवाबाट शुक्रबार निवृत्त भए । विमर्शको खोजीमा तिर्खाइरहेको समकालीन नेपाली समाजका लागि यो 'समाचार' हो । साँच्चै, यो समाचार किन हो ?
किनभने, विश्वविद्यालयलाई आफू बाँचेको समाज र दुनियाँसँग जोड्न सक्ने विरलै विद्वान्मध्ये एक प्राध्यापक कीर्तिपुरको डाँडोबाट बिदा भए । जस्तो कि, उनका विद्यार्थी तथा एमाले नेता घनश्याम भुसालका शब्दमा, 'एउटा राम्रो अभिभावक' घर छाडेर कतै टाढा गएको छ ।
किनभने, 'फुलब्राइट स्कलरसिप' पाएर विदेश पढ्न गएका, उतै बसेका प्रायः बौद्धिकझैं मिश्र पनि उतै बस्न सक्थे । तर उनी नेपाल फर्के । 'हाई' र 'लो प्रोफाइल'को तौल जोखेर बसेनन् । मार्कर र डस्टरलाई जीवनशैली बनाए । हाइटबोर्डमा घोट्टएि ।
किनभने, उनी नेपालबारे नेपालीले लेखेको कुरालाई पाठयक्रममा राख्नुपर्छ भनी जोड गर्ने विभागका प्रमुख थिए । 'हामी पहिलो विभाग हौं, जसले नेपाली समाज पाठ्यक्रममा छुट्नुहुन्न भनी अड्डी लियौं,' मिश्र जिकिर गर्छन्, 'प्राज्ञिक हिसाबले सबल नमानिएका कतिपय पुस्तकमा हामीले नेपाली समाजको ऐना देख्यौं । अन्ततः हाम्रो बुझाइ सही निस्कियो ।'
किनभने, 'विकासे विषय' मानिने समाजशास्त्रलाई हेर्ने आफ्नै अध्ययन पद्धति विकास गरे । 'समाजशास्त्रीले मात्रै बुझ्ने समाजशास्त्रको काम छैन, जनताले बुझ्ने हुनुपर्‍यो,' उनी भन्छन्, 'विश्वविद्यालयको चार दिवारमा मात्रै सीमित ज्ञानले केही चल्दैन ।' विकासको अर्थराजनीतिक पाटोमाथि मुखर मिश्र आफू पनि यदाकदा विकासे मार्गको पेटीपेटी हुँदै हिँडे । तर एउटै कक्षामा गयल परेनन् ।
किनभने, इतिहासको प|mेममा नेपाली समाजलाई राखेर व्याख्या गर्ने परिपाटी थाले । नेपाली समाजलाई पुष्पलालको व्याख्याका आधारमा बुझ्ने बानी परेको एमालेका केही नेता '५० को दशकमा उनको विचारनजिक उभिए । 'अर्धऔपनिवेशिक र अर्धसामन्ती मुलुकमा हतियारमुखी क्रान्ति निर्विकल्प' ठान्ने माओवादीले कालान्तरमा आफूलाई अद्यावधिक गर्‍यो । मिश्रको 'संशोधनवादी/सुधारवादी' बुझाइलाई ढिलोछिटो दुवै 'क्रान्तिकारी पार्टीहरू' ले सदर गरे ।
किनभने, पुग्दो आर्थिक हैसियत बनाएका राजधानीका रैथाने मास्टर गाडी किनेर गुड्न सक्थे । तर उनी सधैं साझाबस र माइक्रोमा कोचिएर चाबहिलदेखि कीर्तिपुर, सडकदेखि सेमिनार धाइरहे । 'बसमा चढदा एउटा वर्गको जीवनसँग अभ्यस्त भइन्छ । मानिसहरू के कुरा गरिरहेका छन् भन्ने थाहा पाइन्छ,' मिश्र जोड्छन्, 'त्यसैले समाजशास्त्रीहरूले बस चढ्नु आवश्यक छ । गाडीवाला समाजशास्त्रीले पनि हप्तामा कमसेकम एक दिन बस चढेको राम्रो ।'

Sunday, October 26, 2014

रामकृष्ण परमहंस और स्वामी विवेकानंद के बीच एक दुर्लभ संवाद

अभी अभी मेल पर हमारे पुरातन कबाड़ी आशुतोष उपाध्याय ने एक शानदार पीस भेजा है. बावजूद इस बात के कि अभी अभी बड़े ग़ुलाम अली ख़ान साहब का इंटरव्यू पोस्ट किया है, मैं इसे यहाँ तुरंत जगह देने का मोह संवरण नहीं कर पा रहा –

रामकृष्ण परमहंस और स्वामी विवेकानंद के बीच एक दुर्लभ संवाद
स्वामी विवेकानंद     :  मैं समय नहीं निकाल पाता. जीवन आप-धापी से भर गया है.

रामकृष्ण परमहंस   :  गतिविधियां तुम्हें घेरे रखती हैं. लेकिन उत्पादकता आजाद करती है.

स्वामी विवेकानंद     :  आज जीवन इतना जटिल क्यों हो गया है?    
      
रामकृष्ण परमहंस   :  जीवन का विश्लेषण करना बंद कर दो. यह इसे जटिल बना देता है. जीवन को सिर्फ जिओ.

Wednesday, October 22, 2014

सिस्नुपानी लाउने देउसी

सबै र नेता विदेशै लागे
संविधान चैं खोई भन हौ- झम्के गुलेली ।'

सिस्नुपानी नेपालका कलाकारको व्यंग्यबाण झेल्न 'भाषाविद्' तथा एमाले अध्यक्ष केपी ओली नीलो रंगको ज्याकेटमाथि कालो रंगको बाक्लो कोट खापेर प्रज्ञा प्रतिष्ठान डबलीमा उक्लिए । देउसेको खस्रो कलात्मक 'ड्रोन'बाट बच्न हो कि ! पृथ्वीमा कसैले ज्याकेटमाथि कोट लगाएको यो पहिलो घटना हुन सक्छ ।

बत्ती र उज्यालोको चाड तिहारको दोस्रो दिनको साँझ, बुधबार कमलादी बाहिर लोडसेडिङ थियो । देश हाँक्ने नेताहरू सिस्नुपानी खप्न एकेडेमीको ल्याम्पपोस्टमुनि अडेस लागेर बसेका थिए । हास्यव्यंग्य देउसी खप्न आउनेमा नेतामात्रै थिएनन्, विभिन्न क्षेत्रका नाइकेहरू र सर्वसाधारण पनि । त्यहाँ थिए- ह्याटि्रकवाला सभामुख, संविधानसभाका 'स्थायी अध्यक्ष' सुवास नेम्वाङ, प्रधानमन्त्री दौडका '१७ औं धावक' रामचन्द्र पौडेल, सधैं गम्भीर भएझैं गर्ने प्रदीप ज्ञवाली र अग्नि खरेल, 'कारिन्दाका नाइके' लीलामणि पौडेल, 'नोटमा सही गर्ने' गभर्नर युवराज खतिवडा । 'भएको कुरा कम लेख्ने, देखेभन्दा धेरै लेख्ने' पत्रकारहरूलाई पनि देउसेले छयाँस्न के छाड्थे ! घुमाई घुमाई ठोके ।

सय वर्ष पुग्न पाँच कम सत्यमोहन जोशी जोशमा मञ्च उक्लिए । अनि चर्को ध्वनिमा भट्टयाउन थाले-
 

महाकविको पुनर्जन्म



पहिलो जन्म- 'मुनामदन' खण्डकाव्यमा । दोस्रो जन्म- 'शाकुन्तल' महाकाव्यमा । तेस्रो जन्म- 'पागल' कवितामा ।

'आफ्नै आँखाको लयमा' कृतिभित्र निबन्धकार खगेन्द्र संग्रौला लेख्छन्, देवकोटाको पुनर्जन्म यत्तिमा सकिँदैन । उनी चौथो पटक जन्मे- 'कृषिबाला' खण्डकाव्यमा । पाँचाैं जन्म- तासकन्द सम्मेलनमा ।

'मुनामदन' मा देवकोटाले लोकबोलीमा तत्कालीन नेपाली समाजको नियतिसँग गाँसेर शक्तिशाली प्रेम-कथानक लेखे । 'शाकुन्तल' मा पौराणिक कथाभित्र अनुभूति र बुद्धिको कलात्मक सन्धि गरे । 'पागल' मा जीवनको वास्तविक यथार्थ र झट्ट बाहिरबाट देखिने यथार्थबीच गहिरो भेद देखाइदिए । 'कृषिबाला' मा उनले युगचेतनाको माइकमा मानवता र सामाजिक न्यायको नयाँ आहान सुनाए । तत्कालीन सोभियत संघको तासकन्दमा आगो ओकल्ने भाषण गरे । उनले भने, 'साहित्य-कला सामन्त, ठालुहरूका सोख र विलासका साधन होइनन्, यी त जनसाधारणका लागि आनन्द र जागृतिका साधन हुन् ।' निबन्धकार संग्रौलाका शब्दमा, 'तासकन्दमा पुगेर उनले आफ्नो साहित्यिक मान्यतालाई सिद्धान्तको धरातलमा उभ्याउने चेष्टा गरेका थिए ।'

Monday, October 20, 2014

टिफिनपछिका मित्र सर

बाह्रखरी सिकेदेखि विश्वविद्यालय छाड्दासम्म्को छात्र-जीवनमा मैले धेरै शिक्षक पाएँ। तीमध्ये केही शिक्षक विशिष्ट प्रतिभासहित शिक्षणमा आएका थिए। कतिपय जीवन निर्वाहका लागि केही न केही गर्ने सिलसिलामा पाठशाला र  विश्वविद्यालय छिरेका थिए। ती जस्तो दृष्टिकोणसहित आए, त्यस्तै दिएर गए। विगतको बहीखातामा स्कुलभित्रका शिक्षक र स्कुलबाहिरका साथी मित्र सरको सम्झना अलि बेग्लै लाग्छ। मित्र सर कुनै विशिष्ट क्षमताको शिक्षक हुनुहुन्नथ्यो  तर उहाँसँगका सम्झना विशिष्ट छन्।

फुएतप्पा-४, इलामका मित्रप्रसाद थापा छेवैको पाँचथर सराङडाँडा गाविस-९ को मझुवा प्राविमा पढाउनुहुँदो रहेछ। हामी ४ कक्षामा पढ्दै गर्दा हाम्रो सप्तमी बजारमा सरुवा भएर आउनुभयो। न्यानो बस्ती मझुवाबाट उहाँ वर्षमा आठ  महिनाजति हुस्सु र कुहिरोले छोपिरहने त्यो लेकाली बजारमा आउनुभएको थियो। सर्ट, पाइन्ट र ढाकाटोपीमा ठाँटिएर सप्तमी छिर्ने त्यो हँसिलो मगर अनुहारको कद ठिक्कैको थियो। तर, मित्र सरलाई खसोखास चिन्न अलिक समय लाग्यो।

दिउँसो १ बजेसम्म कक्षाकोठामा कडा मिजास देखाउने मित्र सर टिफिन टाइमपछि अकस्मात् नौनीझैँ कमलो मन भएर स्कुल र्फकनुहुन्थ्यो। छुकछुके केटाकेटीको कक्षामा अरू के हुन्थ्यो ! हरक्षण होहल्ला भइरहन्थ्यो। पढाउँदै गर्दा पनि  त्यो जारी रहन्थ्यो। टिफिनअघिसम्म उहाँ हामीलाई दप्काउनुहुन्थ्यो, 'चुप लाग है मरेका स्यालहरू !'

केटीहरूलाई झनै लघार्नुहुन्थ्यो, 'पर जाओ छाउरीहरू !'

टिफिनपछि भने बाल कार्यक्रम बज्ने रेडियोझैँ मखमली शब्दले फुल्याउनुहुन्थ्यो, 'मेरा नानीबाबुहरू !'

ज्यान त मित्र सरको एउटा थियो तर त्यसभित्र दुईखाले मिजास थिए। उहाँको प्रस्तुतिलाई छुट्याउने सानो समयरेखा त्यही एकघन्टे टिफिन थियो, जुन बेला उहाँको घाँटी सप्तमी बजारको दुई गिलास रक्सीले भिज्न पाउँथ्यो। त्यसपछि  मित्र सरको पढाइ अकस्मात् 'विशिष्ट कोटी'को अनुभूत हुन्थ्यो। टिफिनअघिसम्म नबुझिएका कुरा टिफिनपछि सहजै अर्थ खुलेजस्तो हुने। के मित्र सरका लागि ज्ञान भन्ने चीज गिलासभित्रै जमेर बसिरहेको हुन्थ्यो?

Sunday, October 19, 2014

लिम्बुवान अान्दाेलन : नयाँ सलेदो, पुरानै टुकी

चारआलीदेखि उत्तर छड्कँदा तपाईं मेची राजमार्गभरि 'नेपाल हाम्रो देश हो, लिम्बुवान हाम्रो घर हो' लेखिएका भित्ताहरू देख्न सक्नुहुन्छ । सार्वजनिक चौतारा, चोकदेखि ल्याम्पपोस्टहरूमा 'लिम्बुवानमा तपाईंलाई स्वागत छ' लेखेको देखिन्छ । इटहरीदेखि पूर्व र उत्तरतिर हरेक सवारी साधन 'जय लिम्बुवान' प्लेट बोकेर दगुुरिरहन्छन् ।
दुई वर्ष अघिसम्म यो बाटो हिँड्दा चन्द्रसूर्य झन्डाभन्दा विलकुल भिन्न 'राष्ट्रिय झन्डा' गाड्ने पल्लो किरात लिम्बुवान पार्टीको चहलपहल देख्न सकिन्थ्यो । विखण्डनकारी गतिविधिमा
उत्रेको भन्दै प्रशासनले कारबाही थालेसँगै उक्त दल निष्त्रिmय हुन थालेको थियो । लिम्बुवानका गतिविधिलाई अवलोकन गरिरहेका पाँचथर हाङ्गुमका शिक्षक गोविन्दराज कुरुम्बाङ भन्छन्, 'आकारमा सानो भए पनि प्रचारमा अरू लिम्बुवान पार्टीलाई उछिनेको त्यो दलको गतिविधि दोस्रो संविधानसभा चुनावयता शून्यप्रायः छ ।'
त्यो प्रचारको ठाउँ लिएको छ संघीय लिम्बुवान पार्टी नेपालले । टुक्राटुक्रामा लिम्बुवान दलहरू छरिएसँगै निभ्न लागेको लिम्बुवान-लडाइँको दियोमा तेल थप्न र नयाँ सलेदो हाल्न यसका नेताहरू कस्सिएका छन् । लिम्बुवानको आन्दोलनलाई उठाउने योजनाअनुरूप उनीहरूले पाँच लिम्बुवान दलहरूलाई मिलाएर गत असोज ४ गते बिर्तामोडमा घोषणासभा गरे । त्यो सभा साउन २० गते धनकुटाको भेडेटारमा उनीहरू एकीकृत हुने निर्णयको प्रतिफल थियो । किरात ज्योतिषी चन्द्रकुमार शेर्माले थमाएको तामाको मानोमा ऐतिहासिक गढी विजयपुरको माटो छोएर नयाँ पार्टीको शपथ लिनेहरूमा थिए- मञ्चसम्बद्ध संघीय लोकतान्त्रिक राज्य परिषद् अध्यक्ष कुमार लिङदेन, संघीय लिम्बुवान राज्य परिषद् अध्यक्ष सञ्जुहाङ पालुङा, लिम्बुवान मुक्ति मोर्चा अध्यक्ष वीर नेम्वाङ, संघीय गणतान्त्रिक राष्ट्रिय पार्टी अध्यक्ष कमल छाराहाङ र लिम्बुवान मुक्ति मोर्चा अध्यक्ष रामभक्त कुरुम्बाङ ।

Sunday, October 12, 2014

मुर्झाउँदै गोर्खाल्यान्ड

दार्जिलिङ, आश्विन २७ - अघिल्ला वर्षमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) का हरेक कार्यक्रममा जोस्सिएर भाग लिने दार्जिलिङ, कागझोडाका ४३ वर्षीय छेवाङ भुटिया मंगलबार चौरस्ता आएनन् । दार्जिलिङको यो सर्वाधिक महत्त्वपूर्ण सार्वजनिक स्थलमा अघिल्लो दिनमात्रै उद्घाटन भएको ओपन एयर थिएटरमा गोजमुमोले आठौं स्थापना दिवस समारोह गरेको थियो । सेतो, हरियो, पहेंलो रंग मिश्रति गोर्खा जनमुक्ति मोर्चाको झन्डा मुख्य कार्यकारी विमल गुरुङ ढाकाटोपी लगाएर फहराइरहेका थिए । उनी स्वयं भने सभामा आएनन् । महासचिव रोशन गिरीको गोर्खाल्यान्ड ल्याइछाड्ने पुरानै प्रतिबद्धता सुनेर कार्यकर्ता फर्के ।

यसपटक चौरस्ता नजानेमा छेवाङमात्रै होइनन्, अधिकांश दार्जिलिङवासी घरैमा बसे । अघिल्ला वर्ष खुट्टा राख्ने ठाउँ पाउन मुस्किल पर्ने चौरस्तामा यसपालि गोजमुमोका सीमित कार्यकर्ता उपस्थित थिए । गोजमुमोका कार्यकर्ताले गोर्खाल्यान्ड माग्दा पुलिसको चुटाइ खाएको, सहिद हुनुपरेका घटना सम्झाउने मार्मिक गीतिनाटक मञ्चबाट प्रस्तुत त गरे । तर, दर्शकदीर्घामा कुनै ताली सुनिएन । दार्जिलिङको नारायणगोपालका रूपमा चर्चित गायक देवनारायण प्रधानलाई मोर्चाले सम्मान गर्‍यो । गोर्खाल्यान्ड मुद्दाप्रति अघिल्ला वर्षमा वाचाल प्रधान यसपालि मौन बसे । हामीले उनको मौनताबारे जिज्ञासा राख्यौं, जवाफमा निधारमात्रै खुम्च्याए ।

Sunday, September 28, 2014

काठमाडौंका कवि गौंडा

पुराना सडकमध्येको राजधानीको नयाँ सडक हिजोआज 'न्युरोड'का रूपमा प्रचलित छ। यही सडकको भूगोलपार्कनेर अवस्थित पीपलबोट नेपाली साहित्य र संस्कृतिको अभेद्य किल्ला बन्न पुगेको छ। यो बूढो रूखको सियाल ताप्ने लेखक, कविका पिढी दरपिढी बदलिइसके, तर छहारी अझै उस्तै छ। काठमाडौंको घडीमा साँझ ५ बज्नासाथ स्रष्टाहरू यो रूखको फेदमा जम्मा भइसक्छन्। त्यसपछि सुरु हुन्छ, चियापान, प्रशंसा, छेडखानी र भत्र्सना। काठमाडौंमा अन्यत्र पनि केही गौंडाहरू छन्, जहाँ कवि, लेखक दिनहुँ आपसमा भेट्छन्। बागबजार, भृकुटीमण्डप, अनामनगर, पुरानो बानेश्वरजस्ता ठाउँमा लेखकहरू सिर्जनात्मक विमर्श गर्छन्। यीमध्ये सर्वाधिक चर्चा र नाम पीपलबोटकै छ।

Friday, September 26, 2014

'हाम्रो मूलधार एकदम सानो छ’

नेपाली समाज र राजनीतिका विषयमा लेख्दै र चिन्तन गर्दै आएका सीके लाल पेसाले इन्जिनियर हुन् । तर, समाजलाई हेर्ने उनको दृष्टिकोण गणीतीय मात्र छैन । उनीसँग मूलधारदेखि सामाजिक नैतिकता र बुद्धिको निर्माणलगायतका विषयमा यज्ञश र बसन्त बस्नेतले गरेको कुराकानी :

तपाईंको सुरुवाती बेलाको पढाइसम्बन्धी सम्झना कस्तो छ ?
म स्कुलमा पढ्दासम्म गर्मीमा छुट्टी लामो हुन्थ्यो । अलिअलि खेतमा काम गर्ने समयबाहेक फिल्म हेर्न जानेजस्ता विकल्प थिएनन् । मेरा दाइ बीए पढ्नुहुन्थ्यो, उहाँको पुस्तक संकलन राम्रै थियो । यसो पढ्दै गएको, रस बस्दो रहेछ । सजिलोसँग किन्न पाउने अखबारहरू, 'आर्यावर्त' भन्ने हिन्दीमा, 'इन्डियन नेसन' अंग्रेजीमा निस्कन्थ्यो । 'प्रदीप' भन्ने अखबार निस्किन्थ्यो । हिन्दुस्तान, दिनमान, सरिता, कादम्बिनी, नवनीत पनि । जासुसी दुनियाँका किताब आउँथ्यो । जे हात पर्छ, पढ्ने बानी लाग्यो । अगाथा क्रिस्टीजस्ता लेखकका पुस्तक हेरिन्थ्यो । नबुझे पनि हिन्दी, अंग्रेजी शब्दकोश अघिल्तिर राखेर पढ्ने काम सुरु गरियो । सानै उमेरदेखि पढ्ने रस बस्यो ।

एकान्तको अजिङ्गरले कतिको सताउँछ? वैरागी काइँलालाई @basantabasnet को प्रश्न। लाइभ हेर्नुस् http://www.pahilopost.com/content/-646.html …


From Pahilo Post.  कहाँ गए ती दिन? अभि सुवेदीलाई सोध्दै लाइभ हेर्नुस्-

मदन पुरस्कार विजेता राधा पौडेलसग संवाद

मदन पुरस्कार विजेता राधा पौडेलस“ग संवादमा । उनको कुराकानी र प्रतिबद्धता राम्रो लाग्यो ।

बिदा भइन् वीराङ्गना

आमाको चोला उड्दा आँसु नझार्ने सन्तान को पो होला ! मंगलबार दिउँसो वाग्मती किनारमा बसेर छोरी उषा र छोरा उमेश सहाना प्रधानलाई अन्तिमपल्ट हेर्दै रुँदै, हेर्दै रुँदै गर्दै थिए । तर त्यो आँसुमा शोक मात्रै बगेको थिएन, गर्व पनि मिसिएको थियो ।
शोक र सम्झनाको त्यो घडीमा उमेशले कान्तिपुरसँग भावना साटे, 'राणाकाल, पञ्चायतकाल र गणतन्त्रको आन्दोलनमा अघिअघि हिँड्ने मानिस नै मेरी आमा हो भन्दा मलाई कति गर्व लाग्छ होला !'
लामो समयदेखि ओछयानमा थलिएकी सहानालाई गत जेठ २३ गते मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो । १९८४ असार ३ गते असनको व्यापारी परिवारमा जन्मेकी राणाकालीन सहिद गंगालालकी बुहारी, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालकी पत्नीले श्रेष्ठ परिवारसँग जोडिनुअगावै आफ्नो सार्वजनिक छवि बनाइसकेकी थिइन् ।
आमाको अवसान भएलगत्तै उमेशले काकालाई फोन गरे । त्यसपछि एमाले नेता माधवकुमार नेपाललाई । छिप्पिँदो रातमा नेपालको फोन उठेन, सन्देश पठाए । राति ११ बजेर ३४ मिनेट जाँदा माधव नेपालको सेलफोनमा 'एसएमएस' खस्यो, 'दाइ, आमा अघि ११ बजे बित्नुभयो- उमेश ।'

Wednesday, September 17, 2014

नयाँ एसियाको अनुहार


भारतीय इतिहासकार रामचन्द्र गुहाले सम्पादन गरेको 'मेकर्स अफ् मोडर्न एसिया' यो महादेशको आधुनिकीकरणको जग बसाल्ने ११ नेताहरूको वृत्तान्त हो । समकालीन बौद्धिक वृत्तभित्र गिनेचुनिएका विद्वान् गुहाले यसअघि 'मेकर्स अफ् मोडर्न इन्डिया', 'इन्डिया आफ्टर गान्धी', 'गान्धी बिफोर इन्डिया'जस्ता पुस्तक लेखेर नाम कमाइसकेका छन् । यो संग्रहमा चुनिएका करिब दर्जन एसियाली नेताहरूको मापदण्डमाथि भने विवाद गर्न सकिन्छ । किनकि, आधुनिक एसियाका थुप्रै 'ठूला' नेता यसमा परेका छैनन् ।

पुस्तकको आरम्भमा भारतका महात्मा गान्धी छन्, सत्याग्रहको सहारामा उपनिवेश फाल्न कस्सिएका । चीनका च्याङ काइसेक छन्, 'आन्तरिक र बाह्य शत्रु' सँग युद्धैयुद्धबीच अधिनायकी चलाइरहेका । भियतनामका हो ची मिन्ह छन्, अमेरिकी तथा फ्रेन्च प्रभुत्वविरुद्ध लडाइँको नेतृत्व गरेका । चीनका माओत्सेतुङ, चाउ एनलाई र देङ स्याओपिङ छन् लगभग एउटै समयमा तर भिन्न भिन्न शैलीमा कम्युनिस्ट पार्टीमार्फत् चीनमा 'राज्य गरेका ।'

यो पुस्तक आद्योपान्त पढ्दा एसियाको आधुनिकीकरण अभियानमा सबैभन्दा ठूलो बाधक तर नकारात्मक प्रेरक उपनिवेशवाद थियो भन्ने थाहा हुन्छ । उल्लेखित अधिकांश नेताले बेलायती उपनिवेशविरुद्ध लडेका छन् । जापानी प्रभुत्वविरुद्ध लड्ने चीन र सिंगापुरको कथा पनि समेटिएको छ । उपनिवेश र आन्तरिक युद्धले सिर्जेको चरम राजनीतिक अस्थिरताबीच पनि कसरी राष्ट्र बनाउने अभियान थाल्न सकिन्छ भन्ने प्रतिबद्धता बोकेकाहरूको व्यक्तिचित्र हो यो पुस्तक ।

सानदार बुढेसकाल

संस्कृतिविद् सत्यमोहन जोशी उमेरको ९५ वर्षमा ठमठम्ती हिँडिरहेछन्। चस्मा लगाउँदैनन्। लठ्ठी टेक्दैनन्। साँझ टुच्च एक पेग लगाउन पनि छाड्दैनन्। खानपिन, माछामासु केही बार्दैनन्। डाक्टर भेट्दैनन्। बुढयौलीका दैनिकी उनले आजका मितिसम्म अपनाउनुपरेको छैन। जीवनशैली पूरै सरल छ। सक्रिय र सानदार छ। हामीले एक साताअघि नै भेट्न खोजेको तर उनलाई जत्तिखेरै भ्याइनभ्याई।
नेपाली भाषा, सभ्यताको गम्भीर खोजका लागि २०१४, २०१८ र २०२८ साल गरी तीनपल्ट मदन पुरस्कार जितेका यी 'लिभिङ इन्साइक्लोपेडिया' को हरेक बिहानी कालो चियाको कपमा उदाउँछ। सिंगो दिन अध्ययन, भेटघाट र समारोहमा बित्छ। पृथ्वीमा रात खस्दै गर्दा उनको हातमा एक पेग ब्ल्याक लेबल वा अयला चढिसकेको हुन्छ। अनुहारमा हल्का लाली चढ्छ। बिस्तारै स्विच दबाउँछन्। बस्, गहिरो निद्रा पर्छ।
औधी सपना देख्छन् सत्यमोहन, तर बिहान सम्झन सक्दैनन्। बिछयौनाबाट उठेर शीतमा नाङ्गो पैंतालाले टेक्छन्। पूजाआजा गर्छन्। अंग्रेजी र नेपाली गरी दैनिक चार अखबार पढ्छन्। पहिलेभन्दा पुस्तक कम पढ्न थालेका छन्। मोबाइल बोक्दैनन्। 'जहिल्यै टयाङ टयाङ गरिरहन्छ, झ््याउ लागेर बोक्न छाडिदिएँ,' भन्छन्, 'बरु एक्लै शान्त बस्नु ठीक छ।'

Thursday, September 11, 2014

दार्जिलिङको सरगम

आधुनिक नेपालको राजनीतिक नक्सालाई मेची–महाकाली नदीले छुट्याइदिएको छ। संगीत र साहित्यको मानचित्रबाट मेचीपारिको दार्जिलिङलाई मेटिदियो भने नेपाली सभ्यताको मानचित्र सग्लो हुँदैन। दार्जिलिङ र आसपासका भारतीय भूभागमा नेपाली जाति गएर बसेको इतिहास अढाइ सय वर्षभन्दा पुरानो छैन।

बस्ती र चियाबगान बसाएर आवादी गर्न थालेको एक सय १४ वर्ष पुगिसक्यो। यसबीच पटकपटक सानाठूला आन्दोलन चलेका छन्। ती आन्दोलनमार्फत् भारतीय नेपालीले आफ्नो पहिचान खोजेका छन्।
जस्तो कि, सन् १९६२ मा लेखक इन्द्रबहादुर राईले भाषा आन्दोलन सुरु गरे। त्यस बेला पश्चिम बंगालका मुख्यमन्त्री विधानचन्द्र रोय थिए। दार्जिलिङ चोक बजारको डबलीमा संगीतकार अम्बर गुरुङ र साथीहरूले गाए :
सुगौली सन्धि हामीले
भुलेका छैनौं, भनिदेऊ।
यो गीतले पश्चिम बंगालको सत्तावृत्तमा खैलाबैला मच्चियो। अगमसिंह गिरीले लेखेको, अम्बरले गाएको 'नौ लाख तारा उदाए' गीत भारतीय संस्थापनको भावनामाथि आक्रमण गरेको भन्ने अभियोगमा पहिल्यै प्रतिबन्धित भइसकेको थियो। उसमाथि नेपाल र भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धिबारे शब्द राख्दै नेपाली जातिको भारतीयले गाएको गीतको अर्थ उति राम्रो लगाएन भारतले।
नतिजा, अम्बर 'एन्टिनेसनल' भनिए। 'अराष्ट्रिय तŒव।'

Monday, September 8, 2014

खल्तीबाट माननीय

संविधानसभाले काम सुरु गरेको सात महिना बितिसक्दा पनि पूर्णता नपाएकामा लगातार आलोचना भएपछि गत साता मन्त्रिपरिषद्ले २६ मध्ये १७ सभासद मनोनीत गर्‍यो। संविधान निर्माणमा सघाउन स्वतन्त्र र सक्षम व्यक्तिलाई सरकारले मनोनयन गर्नुपर्ने भए पनि आखिर नेताहरूकै गोजीबाट गरियो। मनोनीतमध्ये अधिकांश नेताका नातागोता, पार्टी कार्यकर्ता र निकटवर्ती व्यापारी छन्।
सर्वोच्च अदालतले गत वैशाख २९ गते अन्तरिम संविधानको प्रावधानलाई व्याख्या गर्दै 'तटस्थ, स्वतन्त्र र आफ्नो विषयमा विशिष्टीकृत ज्ञान, अनुभवयुक्त' राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको व्यक्तिलाई सभासद मनोनयन गर्न निर्देशनात्मक आदेश दिएको थियो।
मनोनीत सभासदहरूको भूमिका कस्तो हुनुपर्ने भन्नेमा समेत सर्वोच्च बोलेको छ। आदेशमा भनिएको छ, 'संविधानसभामा दलहरूको प्रतिस्पर्धालाई साम्य पार्ने, मध्यस्थता गर्न सक्ने र तटस्थ तथा स्वतन्त्र विचार तथा प्रयासबाट संविधान निर्माणमा सहजता ल्याउने उद्देश्य हुनुपर्ने छ।'
ठूलो दल कांग्रेसको सिफारिसमा राधेश्याम अधिकारी, शिवबहादुर खड्का, पुष्कर आचार्य, रेशम बानियाँ, सकलदेव सुतिहार, सूर्यदेव दास उराव, उमेश श्रेष्ठ र अनिलकुमार रुङटा सभासद मनोनीत भए। कानुन व्यवसायी राधेश्याम अधिकारी अघिल्लो संविधानसभामा पनि कांग्रेसको कोटामा यसैगरी मनोनीत भएका थिए। उमेश श्रेष्ठ निजी बोर्डिङ तथा कलेज सञ्चालक हुन्। अनिलकुमार रुङटा वरिष्ठ नेता शेरबहादुर देउवा निकट वीरगन्जका व्यापारी हुन्। उनी कांग्रेसका समर्थक हुन्। खड्का रामेछापका पूर्वजिविस सभापति र कांग्रेसका पुराना नेता हुन्। उराव अल्पसंख्यक समुदायबाट ल्याइएका कांग्रेस समर्थक शिक्षक नेता हुन्। आचार्य ट्रेड युनियन कांग्रेसका पूर्वमहासचिव हुन्। सुतिहार कांग्रेस समर्थक डेमोक्रेटिक इन्जिनियर्स एसोसिएसनको सिफारिसमा सभासद भएका हुन्। बानियाँ म्याग्दी कांग्रेस पूर्वसभापति हुन्।
कांग्रेसले प्रधानमन्त्री कोइरालाकै नातेदार रुक्मिणी कोइरालालाई पनि सभासदमा सिफारिस गरेपछि मन्त्रिपरिषद्ले मनोनयन गरेको थियो। तर उनी कांग्रेसको समानुपातिक सूचीमा परेका कारण मनोनयन गर्न नमिल्ने भएकाले मन्त्रिपरिषद्ले उनको नाम हटायो।

हराएको स्कुल

तिम्रो स्कुल एक्कासी हरायो भने तिमी के गर्छौ ?

हिजोसम्म साथीहरुसँग मिलेर पढेको, कुरा गरेको, खेलेको कक्षाकोठा, डेस्कबेन्च, खेल मैदान अकस्मात् गायब हुँदा धेरै बेरसम्म सोच्नै सक्दैनौ होला । साँच्चि, तिमी त पत्याउँदैनौ होला ।

तर कहिलेकाहिँ सपनाजस्ता लाग्ने कुराहरु सत्य भइदिन्छन् । एक महिनाअघि सिन्धुपाल्चोकको मांखा र राम्चे गाउँको सिमानामा खसेको जुरे पहिरोले तिमीजस्तै पढ्ने ३१ साथी पुरिदियो । त्यही निर्दयी पहिरोले मांखा- १ मा रहेको वनसाँघु माविको नामोनिशान नरहने गरी छोपिदियो । २४ वर्षदेखि त्यहाँ पढाइरहेका हेडसर बलराम तिमल्सिनाले त स्कुल कहानेर थियो भनि अन्दाजमात्रै गर्न सकेछन्, खुटयाउनै सकेनछन् । सोच त, त्यो पहिरो कति भयानक थियो होला !

अस्ति शुक्रबार हामीले भेट्दा ती हेडसर रुनमात्रै सकिरहेका थिएनन् । तर रोएर के गर्नु ! आखिर नहुनु भइसक्यो । अघिल्लो दिनसम्म पढाएका विद्यार्थीलाई पहिरोले लगिसकेको थियो । स्कुल पनि थिएन ।

Friday, September 5, 2014

सोसल मिडिया : विमर्शको थलो

एकीकृत माओवादी नेता बाबुराम भट्टराईलाई ‘नयाँ शक्ति'को प्रचार गर्न खुलामञ्चमा आमसभा गर्नुपरेन। उनले हरेक दिन सामाजिक सञ्जालमार्फत आफ्ना विचार प्रवाह गरे। प्रतिक्रिया सुने। आफ्नो र आफूलाई राम्रो लागेका लेख–रचना सेयर गरे।
‘परिवर्तनको राजनीति गर्नेले जनतासँग नजिक हुनैपर्छ। जनता जहाँजहाँ पुगे, त्यहाँत्यहाँ पुग्नैपर्ने ठानेर नियमित सामाजिक सञ्जाल प्रयोग गर्छु,' भट्टराई भन्छन्।
उच्च तहका नेतामध्ये सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय भेटिन्छन् उनी। यसमा उनलाई जनताको साथ पनि धेरै छ। शुक्रबारसम्म उनको फेसबुक पेजलाई ४ लाख २८ हजारभन्दा बढीले लाइक गरेका छन्। टि्वटरमा उनका फलोअर ५३ हजार छन्। उनका हरेक ‘स्टाटस' सेकेन्डभरमा सयौंले ‘लाइक' गर्छन्। ‘सेयर' गर्छन्। ‘कमेन्ट' ठोक्छन्।
आफ्नो विचार पढ्ने र प्रतिक्रिया जनाउनेको संख्या उल्लेखनीय रूपमा बढ्न थालेपछि सोसल मिडियाप्रति उनी अझै आकर्षित छन्।

Tuesday, September 2, 2014

मनोरोगले व्यथित सहर

उनको ‘एरिया' हो, सुन्धारास्थित बागदरबार परिसर। अधिकांश समय यही क्षेत्रमा भेटिने उनी घरी मूल सडकको ‘डिभाइडर' मा टाँगिएको डोरीमा पिङ खेल्दै हुन्छिन्, घरी सडकपेटीमा चिच्याउँदै। कसैले दया गरेर खान दिए खिलखिलाएर हाँस्छिन्, नभए एकोहोरो दौडिरहन्छिन्। उनको ‘मनले अह्राएपछि' छेउछाउका बार भत्काउन खोज्छिन्, अड्याएर राखिएका साइकल हुत्याइदिन्छिन्। कतिपयलाई लौरो बोकेर खेदाउँछिन्।
झन्डै ४५ वर्षझैं लाग्ने यी महिलाले गएको मंसिरदेखि यस्तै अवस्थामा पुसमाघको ठिही र चैत–वैशाखको गर्मी कटाइन्, एकसरो कपडाको भरमा। मनमा दयाभाव हुनेहरू अलिकति खानेकुरा दिन्छन्, कतिपय छिःछिः दुरदुर गर्दै अनुहार बिगारेर बाटो काट्छन्। हेर्दा, उनले मानसिक सन्तुलन गुमाइसकेजस्तो देखिन्छ। किनकि दिसापिसाब गरेको समेत उनलाई थाहा हुन्न।
अहिले उनको एउटा हात भाँच्चएको छ। उनको पीडामा मलम लगाउन यो सहरमा कुनै मानव–मन उपस्थित छैन।
‘कहिले त रातभर क्वाँक्वाँ रुँदै हिँड्छे। उसलाई हेर्न अहिलेसम्म कुनै संस्था आइपुगेको थाहा छैन,' सिभिल मलअगाडि फुटपाथमा पसल गर्दै आएकी एक महिलाले भनिन्, ‘कसैले उपचार गरिदिए जाती हुन्थी होला। कुनै संस्थाले लगेर हेरविचार गरे हुन्थ्यो।'

सत्याग्रही डाक्टर


कात्तिक तेस्रो साता फिलिपिन्समा भीषण आँधी आयो। आँधी थामिइसक्दा पनि त्यसले छाडेका घाउले फिलिपिन्स छट्पटाइरहेको थियो। एक महिनापछि मंसिर तेस्रो साता नेपालबाट डाक्टर गोविन्द केसी ताक्लोवान सहरमा ओर्लिए। आँधीपीडितको उपचारमा रातदिन, भोकतिर्खा नभनी खटिए।

बिनावर्दीका यी स्वयंसेवकलाई न त नेपाल सरकारले आँधीपीडितको सहयोगका लागि पठाएको थियो, न रेडक्रस, न कुनै विपत्ति उद्धारक संस्थाले।
उनलाई पठाएको थियो, अन्तर्मनको आदेशले।
अढाइ लाख जनसंख्या भएको त्यो सानो सहरमा क्षतिको स्केल भने ठूलो थियो। डाक्टर गोविन्दले दुई सातामै चार सय पीडित बिरामीको उपचार गरे। पाँच दर्जन घाइतेको त अपरेसनै गरे। आँधीले उडाएका ‰यालढोकाविहीन घरका आसपास पाउरोटी र पानी खाएको भरमा रात कटाउँथे गोविन्द। आँखैअगाडि घाइते लडिरहेका छन्, कसरी निद्रा परोस्! दैनिक बीस घन्टासम्म उपचारमा खटिए उनी।
उनी तलबभत्ता कमाउन गएका थिएनन्। उल्टै त्रिवि शिक्षण अस्पताल महाराजगन्जको जागिरले आर्जेको कमाइ आँधीपीडितको औषधोपचारमा सिध्याइरहेका थिए।
अलिकति विवेक। अलिबेसी पागलपन। त्योभन्दा बेसी समर्पण। त्योभन्दा बेसी मानवता। यी सबै चीजका योगफल हुन्, डा. गोविन्द केसी।
उनै गोविन्द सात दिनयता आमरण अनशनमा छन्।
यो उनको अनशनको तेस्रो शृंखला हो।

बन्द 'मूल्यांकन'को मूल्यांकन


मिसन म्यागजिनका रुपमा २२ वर्षनिरन्तर चलेको मूल्यांकन मासिक आठ महिनायता बन्द छ । विचार अन्तक्रिर्यामुखी पत्रिकाका रुपमा यसले छाडेको छाप भने धेरैको मनमा गढेर बसेको छ ।
श्याम श्रेष्ठ, राजेन्द्र महर्जन, हरिगोविन्द लुइ“टेल र श्याम खड्काको प्रारम्भिक कोर टिमका सुरुवाती सम्पादक नारायणकाजी श्रेष्ठ प्रकाश थिए । १० महिनाको तयारीपछि उनको सम्पादकत्वमा पहिलो अंक छापियो २०४८ मंसिरमा । सम्पादक मण्डलका सदस्यमध्ये एक राजेन्द्र महर्जनका अनुसार वामपन्थी आदर्श बोकेको टिमका सदस्य राजनीतिक सम्बद्धताबाट मुक्त हुनुपर्ने मान्यता थियो । नेकपा एकता केन्द्रको महाधिवेशनबाट केन्द्रीय  सदस्यमा चुनिएस“गै नारायणकाजीले सम्पादकीय जिम्मेवारीबाट बिदा लिए । मथुराप्रसाद श्रेष्ठ, पद्मरत्न तुलाधर, चैतन्य मिश्र, कमलकृष्ण जोशी, महेश मास्के, भरत प्रधान, खगेन्द्र संग्रौला, डिआर पोखरेल, महेश्वरमान श्रेष्ठ, कृष्णबहादुर थापाजस्ता समाजशास्त्र, इतिहास, विज्ञान, साहित्य, अर्थशास्त्रका विज्ञहरूले मूल्यांकनलाई पुट दिइरहे ।

सामर्थ्य गुमाउँदै पहिचानवादी


पहिचानवादी दलहरू सदन र सडक दुवैतिर आक्रामक हुँदै गर्दा पहिलो संविधानसभाको दियोमा धिपधिपमात्रै बाँकी थियो। निभ्ने बेलाको बत्ती चहकिलो बल्छ भन्ने नेपाली उखान छ। सभाभित्र जनजाति सभासदहरू 'ककस' मार्फत दलीय नेतृत्वलाई आफ्ना मुद्दा अनुमोदन गराउन च्यापिरहेका थिए। सभा बाहिर दुई कुनामा 'पहिचानवादी' र 'पहिचानविरोधी' का गगनभेदी नारा नयाँबानेश्वरका सडकमा घाम नअस्ताउन्जेल गुन्जिइरहन्थे। नयाँ संविधानको प्रसवमा छट्पटिइरहेको संविधानसभा राज्यको पुनर्संरचना, राज्यशक्तिको बाँडफाँटजस्ता मुद्दा छिन्न नसकेर २०६९ जेठ १४ गते मध्यरात बिनासंविधान तुहियो।

पहिचानको मुद्दा चर्काइरहेको एमाओवादी संंविधानसभा विघटनलगत्तै फुट्यो। एमाले फुटेर संघीय समाजवादी दल बन्यो। कांग्रेस, एमाओवादीबाट समेत नेताहरू यस पार्टीमा आउन थाले। मधेसवादी दलहरू जुट्नै नसक्नेगरी यसअघि नै छिन्नभिन्न भइसकेका थिए। राजनीतिको कम्पासले कुन दिशा देखाउने हो, यकिन गर्न कठिन हुँदै गयो।

संवत्सँगै राजनीतिक माहोल बदल्न कति पनि समय लागेन। पहिचानवादी राजनीतिको झर्दो पारोबीच अर्को वर्ष अर्थात् २०७० मंसिर ४ गते संविधानसभाको दोस्रो चुनावले शक्तिसन्तुलन बदल्यो। एकल जातीय पहिचानको मुद्दामा अलमल बाँकी रहे पनि कमसेकम एमाओवादीले त्यसप्रति कताकति सहानुभूति राखेकै थियो। ऊ आफैं सिट संख्यामा ठूलो अन्तरसहित तेस्रो दलमा खुम्चियो। कत्रो शक्ति बन्ला भनी उत्सुकतापूर्वक हेरिएको संघीय समाजवादी पार्टी नेपालले प्रत्यक्षतर्फ एउटै सिट पनि जितेन। कांग्रेस र एमाले क्रमश: पहिलो र दोस्रो ठूलो शक्तिका रूपमा उदाए। 'पहिचानविरोधी' भनिएको राप्रपा नेपाल आँकलनविपरीत उनीहरूलाई उछिन्दै बेन्चको चौथो लहरमा बस्न पुग्यो। कतिपय जनजातीय समूहले मोहन वैद्य नेतृत्वको माओवादीसँग मिलेर संविधानसभा चुनाव बहिष्कारको निर्णय लिएका थिए। अहिले उनीहरू राजनीतिक 'पहिचान' को लडाइँ कुन विन्दुबाट सुरु गर्ने भन्ने अलमलमा छन्।

के गर्दैछन्, परराष्ट्रका थिंकटयांक ?


त्रिपुरेश्वरस्थित भन्सार विभाग परिसर भित्रपट्टि शान्त दुईतले भवनमा हाम्रो देशको परराष्ट्र मामिला अध्ययन अनुसन्धान गर्ने 'थिंक टयांक' बस्छ। देशभरिमा सानाठूला गरी यस्ता झन्डै एक दर्जन संस्था होलान्, तर सरकारी बजेटमा चलेको 'आईएफए' एक्लो संस्था हो। बीपी कोइराला गृहमन्त्री छँदा भरतशमशेरको समूहबाट खुकुरी आक्रमण प्रयास भएको तत्कालीन मन्त्रीक्वार्टर आजको परराष्ट्र मामिला अध्ययन केन्द्र (आईएफए) भवन हो।

परराष्ट्र मामिलाबारे नेपोलियनको प्रख्यात भनाइ छ, 'कुशल विदेश नीतिको आधारभूत सेक्रेट भनेको कुशल आन्तरिक नीति हो।' जुन भवनबाट बीपीले गृहनीति निर्माण र व्यवस्थापन गर्न खोजे, त्यो भवनबाटै २१ वर्षयता परराष्ट्र नीतिका अध्ययन अनुसन्धानसम्बन्धी काम चलिरहेका छन्।

ह्यासटयाग डिस्कसको पहिलो नेपाली प्रयोग


सत्र वर्षपछि भारतीय प्रधानमन्त्री नेपाल आएको समाचारले नेपालमा मात्रै होइन, विदेशमा त्यसमा पनि भारतमा विशेष चर्चा पाउनु नै थियो । सोसल मिडियामा रहेको प्रभावका आधारमा मोदी अमेरिकी राष्ट्रपति बाराक ओबामापछिकै विश्वका शक्तिशाली नेता मानिन्छन् । नेपालमा उनीसँगै उनको त्यो छवि पनि भित्रियो । भ्रमण अवधि र अघिपछि गरेर झन्डै १० लाख ट्वीट भए । नेपाल जोडिएको विषय विश्वव्यापी ट्रेन्डिङमा पर्‍यो ।

यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रभावशाली व्यक्तित्वको छाप सर्वसाधारणमा राम्रै गरेर परेको थाहा पाउने सजिलो माध्यम बन्यो, सोसल मिडिया । अनौपचारिक रूपमा 'मोदीभिजिटनेपाल', 'मोदीइननेपाल' जस्ता ह्यासटयाग मेन्सन् गरेर ट्वीट गर्ने, फेसबुकमा स्टाटस लेख्नेको संख्या ठूलो थियो । स्वतस्फुर्त सुरु भएको त्यही ह्यासट्याग मञ्चलाई प्रयोग गरेर भ्रमणको खुला छलफल र समीक्षा गर्ने पहिलो पटक औपचारिक मञ्च दिए, काठमाडौंका युवा पत्रकारले ।

धान फाँडेर स्कुल

लामोसाँघुवासीले माङ्खा १ वनसाँघुमा २४ वर्षअघि आफ्नै बलबुतामा खोलेको वनसाँघु मावि ठ्याक्कै कुन ठाउँमा थियो, उनीहरू अनुमान मात्रै गर्न सक्छन्, खुट्याउन सक्दैनन्। साउन १७ गते राति जुरेमा खसेको पहिरोले यो स्कुलको नामोनिसान नरहने गरी पुरिदिएको थियो।
स्थापनाकालदेखि स्कुल चलाएका प्रधानाध्यापक बलराम तिमल्सिना पहिरो पारिपट्टिको टेकानपुर डाँडाबाट स्कुल भएको ठाउँ अन्दाज गर्दै टुलुटुलु हेरिबसे। स्कुलको भग्नावशेषसमेत नदेख्दा आँखा भरिएर आए। बौद्ध धर्मावलम्बीले शान्तिको कामना गर्दै लुङदर टाँग्न सुरु गर्दा मन थाम्न नसकी उनी फरक्क फर्के।

सुनकोशी तालले बेहाल

सुनकोशी नदी थुन्नेगरी एक महिनाअघि गएको पहिरोले सिर्जेको विनाशकारी यो तालको नाम के राख्ने होला - सम्बोधनका लागि आजसम्म कुनै नाम बनेको छैन । हुन त केही 'विज्ञहरू' यसैलाई ताल कायम राखेर पर्यटन उद्योग गर्न सुझाउ“छन् । स्थानीयमा भने आफन्त र छिमेकीको प्राण लिने यो ज्यानमारा कृत्रिम ताल जोगाउने कुरै रहर देखिन्न ।
मांखा, राम्चे, टेकानपुर र धुस्कुनका १८ घरहरू डुबाउ“दै माझमा ५० मिटर गहिरो जमेको यो ताल खोल्न नेपाली सेना कस्सिएको छ । तर उसको काम गर्राईप्रति स्थानीयहरू गुनासोमात्रै होइन, शंका पनि गर्न थालेका छन् । वारिपारि चर्को आक्रोश छ- 'कत्ति ढिलो काम गरेको -'
मानसरोवर हि“डेका दक्षिण भारतीय तमिलनाडु तर्ीथयात्री हुन् या काठमाडौैं झरेका चिनिया“ पर्यटक, सबै यही नवजात् ताल पृष्ठभागमा पर्नेगरी तस्बिर खिचाउन त“छाडमछाड गर्दैछन् । तिनलाई सायद थाहा होला नहोला, साउन १७ गते राति तीन बजे पहिरो र डुबानमा परी यहा“का चार गाविसका २३ स्थानीयको ज्यान गएको थियो । बेपत्ता हुने, अंगभंग हुनेको संख्या अझै यकिन छैन । दर्जनौंको बास उठाउने जुरे पहिरोले थुनेको सुनकोसीबाट जबर्जस्त निर्मित तालले यो पहाडी इलाकाका स्थानीयवासीका लागि भने कत्ति पनि शोभा दिएको छैन ।

भीरबाट घरिघरि ढुंगा खसिरहन्छ

जुरेको पहिराले अरनिको राजमार्ग थुनेको छ । पहिरो गएको भीरबाट घरिघरि ढुंगा खसिरहन्छ । हिडा हिडै कुन बेला ढिस्को खसेर भारीसहित पुरिदेला भन्ने डर छ । तर यही पहिरो सिन्धुपाल्चोकका किसानका लागि एक महिनायता जीवनशैली बन्न थालेको छ । उनीहरू अस्तिसम्म किसानमात्रै थिए, जुरेको पहिराले उनीहरूलाई नयाँ पहिचान दिएको छ, भरियाको ।
पहिले अरू काम गरेर दैनिक पाँच सय रुपैयाँ मुस्किलले कमाउने स्थानीयबासी एक महिनायता भारी बोकेरै रोज तीन हजारसम्म बसाउन थालेका छन् । तर गाती- २ सिन्धुपाल्चोकका २८ वषर्ीय बिर्ख श्रेष्ठ भन्छन्, 'यही पहिरोका कारण ९९ वटा घाटा खपिएको छ, एउटा नाफा आएर के गर्नु । कमाइ बरु घटोस्, हामीलाई बाटो आएकै ठीक छ ।'

Sunday, August 17, 2014

संविधानको आधा बाटो

दोस्रो संविधानसभाले ६ महिना २२ दिन काम गरेपछि नयाँ संविधान निर्माणको काम २०६९ जेठ १ को विन्दुमा पुगेको छ। संविधानसभा अध्यक्ष सुवास नेम्वाङदेखि प्रमुख दलका शीर्ष नेताले ९०/९५ प्रतिशत काम सकिएको दाबी गरे पनि विघटित संविधानसभाको औपचारिक संयन्त्रमा राज्यको पुनर्संरचना, शासकीय स्वरूप, न्याय र निर्वाचन प्रणालीजस्ता मूलभूत राजनीतिक विवाद समाधान भएको थिएन। दोस्रो संविधानसभा यही यक्ष प्रश्नमा सहमति होइन सम्झौता खोजिरहेको छ, पहिलो सभाको सहमतिको असफल प्रयासबाट पाठ सिक्दै।

लोकतन्त्र कसबाट संकटमा छ?

लन्डनबाट प्रकाशित हुने ‘द इकोनोमिस्ट' म्यागजिनले मार्च एक तारिख अर्थात् गत शनिबारको अंकमा कभर स्टोरी छपाएको छ– ‘ह्वाट्स गन् रङ् विद् डेमोक्रेसी।' इकोनोमिस्टले अति महत्वका साथ यसलाई छ पृष्ठसम्म छपाएको छ।
शीर्षकले नै आधा स्टोरी बताउँछ, अनि प्रश्न गर्छ– ‘निर्विकल्प विकल्प मानिएको लोकतन्त्रमा के गडबडी भेटियो, जसले गर्दा विश्वका मानिस विद्यमान लोकतन्त्रको मोडलप्रति उदासीन हुन पुगे।' विश्व पुँजीवादको प्रवक्ता मानिने यो म्यागजिनबाट नै पुँजीवादी सारतत्वसहितको लोकतन्त्रमाथि प्रश्न उठ्नु रोचक आश्चर्य हुन गएको छ। नेपालीहरूले साठी वर्षअघिदेखि गर्दै आएको ‘लोकतन्त्र' माथिको निसर्त प्रेममाथि पुनर्विचार गर्न पक्कै यो बहसले सघाउनेछ।

Sunday, August 10, 2014

वामपन्थीका आँखामा बीपी

'बीपी कोइराला बा“चेको भए २०४६ सालको जनआन्दोलन हुने थिएन भनी धेरैले भन्ने गरेको सुनिएको छ । मेरा विचारमा बीपीले बहुदलीय व्यवस्थाको पक्षमा शान्तिपर्ूण्ा आन्दोलन त गर्थे तर वाममोर्चातिर सहकार्य गर्ने भने थिएनन् । उनको बुझाइमा यसो गर्दा नेपाली कांग्रेसको परिचयमाथि प्रश्नचिह्न लाग्ने हुन्थ्यो । आजका सर्न्दर्भमा त्यो कति व्यावहारिक हुन्थ्यो, त्यो भन्न सक्ने कुरा भएन । गणेशमानसिंहले व्यावहारिकताको बाटो लिए र जनआन्दोलनमा वामशक्तिलाई पनि समावेश गरे ।'
     प्राध्यापक लोकराज बराल ः 'रोमाञ्चित जीवन', पृष्ठ २६१
नेपाली कांग्रेसनिकट भनी चिनिएका प्राध्यापक बरालको हालै प्रकाशित आत्मकथाभित्रको यो मूल्यांकनले वामपन्थीलाई हर्ेर्ने बीपी-दृष्टिकोण झल्काउ“छ । कम्युनिस्टइतरका प्रगतिशील शक्तिसमेत वामपन्थी हुनसक्ने ठान्ने उनी आफूलाई वामपन्थी ठान्थे, तर कम्युनिस्टस“ग किमार्थ सहकार्य गर्ने पक्षमा थिएनन् । नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यका अनुसार बीपी आफूलाई मार्क्सवादी हु“ भनी बेलाबखत यसै भन्नलाई भनिदिन्थे, तर मार्क्सवादको नामै सुन्न नचाहने स्वभाव थियो ।
'बीपीमा राजनीतिक कट्टरता थियो । लोकतन्त्रका लागि लडिरहनुभयो, तर लोकतन्त्रमा कम्युनिस्टको अस्तित्व स्वीकार्न हिच्किचाउनुहुन्थ्यो,' यी 'कट्टर मार्क्सवादी' भन्छन्, 'बीपीले जान्नुभएन ।

Friday, August 8, 2014

इजलासमा भानुभक्त

त्रिविकी अध्यापक रजनी ढकाल पहिलोपटक 'बधूशिक्षा' पढेपछि भानुभक्तसँग हदैसम्म रिसाइन्- आदिकविजस्तो मानिसले यस्तो घटिया कुरो लेख्ने ?

'नारीले हाँस्न हुन्न । लोग्नेले मनलागी सौता ल्याउनु उचित हो । बहुविवाह आवश्यक छ । सतीप्रथा जायज हो ।' बधूशिक्षाभित्र यस्ता पंक्ति त कति हो कति ।

'अलिकति बुझ्ने भएपछि भानुभक्तको समय, समाज, सांस्कृतिक स्तर पनि पढ्दै गएँ । त्यो समयको मनोविज्ञानका ती साक्षीले त्यस्तो लेख्नु अनौठो लागेन,' भानुभक्तको 'वधूशिक्षा' माथि पुस्तक लेख्दै गरेकी उनी भन्छिन्, 'उनको अध्ययनको स्तर खासै थिएन । त्यसैले समाजका परम्परालाई कुनै प्रश्न नगरी खुरुखुरु लेखिदिए ।'

बनारस हिन्दु विश्वविद्यालयबाट भानुभक्तमाथि पीएचडी गरेकी सिक्किम युनिभर्सिटी नेपाली विभागकी प्रमुख कविता लामाको पीएचडी थेसिसमा भानुभक्तको सन्की स्वभावमाथि रोचक वर्णन पढ्न पाइन्छ । साथी तारापतिको घरमा जाँदा सासू-बुहारीको झगडाले रातभरि सुत्न नपाएको झोंकमा उनले तात्तातै कविता लेखेका रहेछन् । बास नपाएको अर्को सन्दर्भमा भानुभक्तले लेखे :

'गजाधर सोतीकी घरबुढी अलच्छिनकी रइछन्

नरक जानालाई सबसित बिदाबादी भइछन् ।'



'रिसाहा भानुभक्तमा कसैलाई पनि सहने स्वभाव थिएन,' लामाले अघिल्लो साता काठमाडौंमा आयोजित भानु द्विशतवाषिर्कीका अवसरमा पेस गरेको कार्यपत्रमा उल्लेख छ, 'एकजना गिरिधारी भाट भन्नेसँग उनको जग्गामा झगडा परेको थियो । भाटले उनलाई मुद्दामा यति अल्झाइदियो कि, भाट शब्दसँग रिस उठेर उनले घरका भाटाहरूसमेत उखालेर फालिदिए ।'

उनी गायत्री स्पिभाक हुन्

सेत्ताम्मै, ठुट्टै कपाल । रुद्राक्षझैं देखिने माला भिरेको उज्यालो अनुहार । कानमा साना टप, खैरो सारी । बंगाली लवज मिसिएको अंग्रेजी जिब्रो । आवाजमा आत्मविश्वासी 'मोडुलेसन' । समाधिबाट निस्केर आएको योगीको जस्तोे गहिरो मुस्कान । तिखो हेराइ ।

उनी गायत्री चक्रवर्ती स्पिभाक हुन् ।

कोलम्बिया विश्वविद्यालयकी यी ७२ वर्षीया प्राध्यापक तीन वर्षयता नेपाल धाइरहेकी छन् । यहाँ पछिल्लो समय सबाल्टर्न बहस चर्चामा छ । त्यसलाई साढे तीन दशकअघि विश्व बौद्धिक मञ्चमा पहिलोपल्ट 'हाई डेसिबल' को ध्वनिसहित प्रवेश गराउने स्पिभाक पहिलो विद्वान् हुन् ।

बीसौं शताब्दीका गिनेचुनिएका विद्वान्मध्ये ज्याक डेरिडाको नाम अग्रपंक्तिमा आउँछ । उत्तरसंरचनावाद र विनिर्माणवादका प्रवर्तक डेरिडाको नाम उत्तरआधुनिकताको डिस्कोर्समा सबैभन्दा पहिले लिइन्छ । उनै फ्रेन्च दार्शनिकको सर्वाधिक चर्चित तर उत्तिकै कठिन मानिने 'अफ् ग्रामाटोलोजी' लाई फ्रेन्चबाट अंग्रेजीमा अनुवाद गरी वाहवाही लुट्ने यिनै स्पिभाक हुन् ।

कुन दिनको संजोगले बनेँ लाहुरे

पूर्वी नयाँ दिल्लीको लक्ष्मीनगर मेट्रो स्टेसन आसपास क्रिसमसको कुनै रमझम देखिँदैन। जस्तो कि, दिल्लीका अरू जुनसुकै बजार डिसेम्बर अन्तिम साता सान्ता क्लसको पर्खाइमा सजिएका छन्। मध्यरातको लक्ष्मीनगर शोकसन्तप्त टोलझैं देखिन्छ, मानौं उसले भर्खरै प्रिय मान्छे गुमाएको छ।


विजयचोक, मेनमार्केटको कठ्यांग्रिदो चिसोमा मध्यरात दुई नेपाली भुइँमा काठको मोटो लठ्ठी टकटक बजार्दै हिँडिरहेका छन्। तीन दशकयता हरेक रात चौकीदारी गरिरहेका यी 'गोर्खा बहादुर'को कथा सुन्दै गर्दा भारतको राजधानीमा अहिलेसम्मकै सर्वाधिक जाडो छ। आज लक्ष्मीनगरमा बिजुलीबत्ती पनि छैन।

राति एक बजे। बाजुरा, जयबागेश्वरी–१ पिपलगाउँका शेरबहादुर थापा मेन मार्केट गल्लीमा १०२ मार्काको बिँडी सल्काइरहेका छन्। मुटु काम्ने सिरेटोमा यही बिँडी सहारा बनेको छ। एक हुल कुकुर बेस्मारी भुकिरहेछन्। छेउछाउ अरू पनि नेपाली 'बहादुर'हरू डन्डाले भुइँ हिर्काउँदै ठमठम हिँडिरहेछन्।

मोटो ज्याकेट लगाएका, पाल्पाली ढाका टोपीलाई दोहोरो मफलरले मोहोरेका यी चौकीदारले ३५ हिउँदबर्खा यही दिल्लीका सडक, कोलोनी र गल्लीमा बिताएका छन्। जति जाडो भए पनि खप्ने, खट्ने यी ४८ वर्षेको इखलाई एउटै सपनाले भर दिएको छ– मेरा अनपढ बाउबाजेले जीवनभरि दिल्लीमै चौकीदारी गरे। चार छोरालाई चौकीदार बनाउँदिनँ, जसरी पनि पढाउँछु।

प्रथम विश्वयुद्धको सय वर्ष, हजारौं लाहुरे फूलहरू

पोखराबाट १७ किमी पश्चिम हुइँकिएपछि स्याङ्जाको फेदीखोला पुगिन्छ। कुभिन्डे भन्ने ठाउँमा गाडीबाट ओर्लेर पूर्वतिर तीन किमी उकालो चढेपछि आइपुग्छ साल्मेडाँडा। हिउँदयाममा पनि हरियाली बचाएर राखेको यो पहाडमा दुई दर्जन कामदार अहोरात्र खटिइरहेका छन्। उद्देश्य हो, गोरखा स्मारक निर्माण।
७० वर्षे पूर्व गोर्खा सैनिक तथा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति पदमबहादुर गुरुङ यो स्मारक निर्माणका मुख्य अभियन्ता हुन्। यी तिनै पदमबहादुर हुन्, जसलाई २०६३ असारमा बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनले भेटेर भनेका थिए, ‘मिस्टर प्रेसिडेन्ट, थ्यांक यु फर ह्वाट यु ह्याभ डन।'
कुनै पनि आन्दोलनका नेतालाई मानिस सुरुमा मूर्ख वा पागल भनी उडाउँछन्। सफल हुँदै गयो भने उसकै पछि लाग्छन्। प्रथम र दोस्रो विश्वयुद्धमा लडेका नेपालीको आत्मसम्मानका लागि गेसोको संघर्षमा पनि यही लागू हुन्छ। पदमबहादुर र उनका सहकर्मीले थालेको गेसो आन्दोलनलाई त सुरुमा आतंकवादी गतिविधिसमेत भनिएको थियो। आज त्यो आन्दोलनले मान्यतामात्र पाएको छैन, अभियन्ताहरूलाई सम्मान दिन स्वयं बेलायती सरकार अघि सरेको छ।
बेलायत जसका लागि उनीजस्तै हजारौं नेपालीले लडेका थिए।
बेलायत जसको सरकारविरुद्ध उनीहरू आज लड्दैछन्।
पहिलो विश्वयुद्ध (सन् १९१४–१९१८) सय वर्ष पुगेको सन्दर्भमा नागरिकले उनै पदमबहादुरलाई माछापुच्छ्रे हिमाल अघिल्तिर उभिएको निर्माणाधीन स्मारक स्थल साल्मेडाँडाको उचाइमा भेट्यो। विश्वयुद्धलगायत अनेकन युद्धमा बितेका, घाइते योद्धा र सकुशल फर्केका नेपालीको सम्झनामा उनी गोरखा स्मारक बनाउँदैछन्।

विश्वकप सपना

Basanta Basnet / Raju Ghising

घडीको सुईले बिहानको ५:३० देखाउँदा झापा दमकका १४ वर्षे सेसेहाङ आङदेम्बेका परेली आफसेआफ खुल्छन् । हतार-हतार खाजा टिपेर उनी ६:३० बजे ग्वार्कोस्थित लोकस्मृति सेकेन्डरी स्कुल पुगिसक्छन् । शिक्षकले पढाउँदै गर्दा यी छात्रका आँखा त गुरुतिरै हुन्छन्, दिमाग भने फुटबल मैदानमै दौडिरहन्छ ।
१० कक्षाका यी छात्रको मन मिडफिल्ड र डिबक्सतिर दौडिइरहँदा कक्षा सकिसकेको हुन्छ ।
८:३० बजे कक्षाबाट निस्कँदा आमा जमुनाको फोन आउँछ ।
प्रायः सबै बाबुआमाले गर्ने प्रश्न एउटै हुन्छ- 'कस्तो पढ्दैछस् ? राम्ररी पढ ।'
केही बाबुआमा यस्ता पनि छन्, जसले पढाइभन्दा पहिले सोध्छन्, 'कस्तो खेल्दैछस् ? राम्ररी खेल ।' सन्तानको पढाइभन्दा पहिले खेलखबर सोध्ने थोरै आमामध्ये जमुना एक हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो मुख्यालय सातदोबाटोमा खोलेको एकेडेमीमा देशभरका २५ सयभन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै छानिएर आएका १६ वर्षभन्दा कम उमेरका ५७ प्रशिक्षार्थी खेल्छन्, पढ्छन्, सँगै खान्छन् र सुत्छन् । दुई वर्षअघि छानिएपछि परिवार छाडेर फुटबलको संसारमा प्रवेश गरेका सेसेहाङ यिनैमध्ये एक हुन् । एक समयका चर्चित मिडफिल्डर बालगोपाल महर्जन उनीहरूका मुख्य प्रशिक्षक हुन् ।
चितवन एसओएसबाट छानिएर एन्फा आइपुगेका १४ वर्षे राजेश परियारको मनमा जतिबेला पनि फुटबल हुन्छ । 'पहिले-पहिले घरको यादले साह्रै सताउँथ्यो,' भन्छन्, 'अहिले त साथीहरूसँग खेल्दाबस्दा यहीं रमाइलो लाग्न थालेको छ ।'

पेन्सन पर्खिरहेको धरान

 लेखक राजन मुकारुङ सृजनशील अराजकताको आन्दोलन चलाइरहेका बेला काठमाडौंबाट बेलाबखत धरान जाने गर्थे– सहकर्मी अभियन्ता कवि उपेन्द्र सुब्बालाई भेट्न। धरानको रौनक देखेर छक्क पर्थे। मारवाडी समुदाय बस्ने पुतली लाइनमा हिउँदमा धुलो उड्थ्यो, बर्खामा हिलो भरिन्थ्यो।
राई, लिम्बु भरिएको लाहुरे टोलमा भने एउटा पात, कागजको टुक्रामात्रै खस्यो भने पनि कुचो आएर सिनिक्क पारिहाल्थ्यो। नगरपालिकाको सफाई बाहन आउनुपर्थेन। दुई समुदायको सफाई चेतनाको अन्तर देख्दा मुकारुङ छक्क पर्थे। यो १५ वर्ष अघिको कुरा हो।
एकदिन। स्थानीय अखबारले दुई समुदायको सफाई चेतनालाई तुलना गर्दै टिप्पणी लेख्यो। त्यसले विवाद उत्पन्न गर्‍यो। स्थानीयहरुको प्रयत्नमा थामियो। तर यही कारणले दुई भिन्न समुदायलाई हेर्ने तुलनात्मक दृष्टि भने कायम रहिरह्यो।
'तिनताक ब्रिटिशहरुको क्याम्प थियो घोपामा,' मुकारुङ सम्झन्छन्, 'हाम्रो समुदायका युवायुवती बिगार्न तिनले सघाए, केटाहरु ड्रगिस्ट भए, केटीहरुलाई पनि मोडलिङ गर्नुपर्ने।'
त्यसले धरानमा विकृतिको प्रवेश गराएको उनी बताउँछन्। अर्को पत्रिकाले लेखेछ पनि, 'भित्ते र तिघ्रेको सहर।'
धरान नेपालको पहिलो सहर हो, जसले नेपालमा पहिलो पटक युरोपेली संस्कृति भिœयायो।

र, धरान नै नेपालको त्यस्तो सहर हो, जसमा युरोपेली अत्याधुनिक फेसनको चेतनासँगै जातीय आन्दोलन र चेतनाको बिज रोपिएको थियो। यसको कारण दुई भिन्न समुदायले आफ्नो राजधानी घोषणा गर्नु हो।

लोकतन्त्रका लामा हात

राजनीतिशास्त्री कृष्ण खनालले हालै एक लेखमार्फ् खतरनाक अभिव्यक्ति दिए, 'लोकतन्त्रको अबको विनाशक तत्व भनेका हामीले पत्याएका कथित् लोकतन्त्रवादीहरू नै हुन् । फ्या“किसकेको राजतन्त्र तथा राजावादी वा एकदलीय कम्युनिस्टहरू होइनन् । कांग्रेस, एमाले वा अरु कुनै बहुदलवादी दलको बिल्ला भिर्दैमा सबै लोकतन्त्रवादी हुन सक्दैनन्, होइनन् पनि ।'
शिशु गणतन्त्रले पछिल्ला दिनहरूमा बढ्दो शासकीय स्वेच्छाचारिताको मूल्य चुकाउनुपरिरहेको परिवेशमा आएको खनाल टिप्पणीलाई सदर गर्दै स्वयं सत्ताधारी कांग्रेस नेता शेखर कोइराला, एमाले नेता प्रदीप ज्ञवाली, प्राध्यापक अभि सुवेदीलगायतले लेखिरहेका छन् । संयोगको कुरा, लन्डनबाट प्रकाशित हुने 'द इकोनोमिस्ट' म्यागजिनले गत मे १० तारिखको अंकमा 'द लङ आर्म्स अफ् द ल' शर्ीष्ाकमा लेखेको छ, 'एसियाका अधिकांश पछिल्ला सरकारहरूले आफ्ना देशहरूमा शासकीय नियन्त्रण कायम राख्न कानुनलाई हतियार बनाउन थालेका छन् ।' स्थिर राजनीतिक पद्दति बसिनसकेका र बस्न लागेका थाइल्यान्ड, मलेसिया, पाकिस्तान, म्यानमार, श्रीलंकाजस्ता देशहरूको उदाहरण दि“दै 'इकोनोमिस्ट'ले दैनन्दिन राजनीतिमा अदालतहरूको अनावश्यक सक्रियताले राजनीतिक अस्थिरता उत्पन्न गराइरहेको उदाहरण पेस गरेको छ । म्यागजिनले यस पंक्तिमा चीन र सिंगापुरलाई पनि राखेको छ, जहा“ राजनीतिक स्थिरता त छ, तर अदालतलाई विश्वासमा लिएका अधिनायकले लोकतन्त्रको वृक्ष झन् झन् सुकाइरहेका छन् ।

वैद्य फोबिया

सिद्धान्त शुद्धताका लागि कसैको नाम सम्भि्कनुपर्‍यो भने पहिलो नम्बरमा मोहन वैद्य 'किरण' आउँछन्। उनलाई मार्क्सदेखि माओसम्मका सैद्धान्तिक सूत्र कन्ठै छन्। दुर्भाग्यवश, कुनै बेला 'लिटरेरी एलिट' देखि रामझुपडीसमेतलाई फकाउन र थकाउन प्रयोग हुने राता किताब आज उनका व्यक्तिगत तुष्टि पूरा गर्ने औजारमा बदलिन पुगेका छन्। कुनै बेला त्याग र समर्पणका प्रतिमूर्ति मानिने उनी आज निजी आग्रह र खुद्रा कुण्ठाबाट निर्देशित हुन पुगेका छन्। त्यसको मूल्य संविधान सभाको अर्को चुनावले चुकाउनु परिरहेको छ।
मानिस वैद्य पक्षधरसँग छिटफुट डराउन थालेका छन्। वैद्यदेखि डराउने रोगलाई वैद्य फोबिया भनिन्छ। वैद्य फोबिया केही समय लम्बिने देखिन्छ।

उम्मेदवार कि जमिनदार?

संविधान सभाको दोस्रो चुनावका लागि दुई महिना तीन दिन बाँकी छ। चुनावको सम्मुखमा को को उम्मेदवार बन्दैछन् भन्ने गाइँगुइँ चुल्नु अनौठो भएन। भूगोलमा खटेर राजनीति गर्नेहरू हुल बाँधेर दलका मुख्यालय र नेताका घरमा देउसी खेल्नु पनि अलिअलि अनौठो भए पनि हाम्रो देशका लागि धेरै अनौठोचाहिँ भएन।
अनौठो नमानिएको तर आजसम्मको नेपाली चुनावको इतिहासमा अनौठो मान्नैपर्ने एउटा प्रवृत्ति छ। शीर्ष र प्रभावशाली भनिएका 'ठूला' नेताहरू घरै बसीबसी जग्गाका कित्ताकाँट गरिरहेछन्। स्पष्ट पारिहालूँ, त्यो जग्गा निर्वाचन क्षेत्र हो। राणा शासकले आफ्नो चाकरी बजाउन आउनेलाई बिर्ता दिएझैं गरी ठूलाहरू आफूले आफैंलाई निर्वाचन क्षेत्रको बिर्ता दिइरहेछन्। त्यस्तो बिर्ता, जो दिलाउन उनीहरूले कसैलाई सोधिरहनुपर्दैन। कसैको चाकरी बजाउनुपर्दैन। कार्यकारी अधिकार आफ्नो हातमा छँदैछ।

अखिलको मोबाइल महाधिवेशन

नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियु हिजोआज दुई महाधिवेशन (सम्मेलन) गर्नेगर्छ । नेतृत्व छान्ने सम्मेलन र विधान सम्मेलन । काठमाडौंमा बिहीबारदेखि जारी सम्मेलन नेतृत्व चुन्न आयोजना गरिएको हो । विडम्बना, यो मोबाइल महाधिवेशनमा परिणत हुन पुगेको छ । मोबाइल महाधिवेशन, अर्थात्, ठाउँ सर्दै सर्दै आयोजित 'गतिशील' सम्मेलन । प्रज्ञा प्रतिष्ठानमा सुरु बन्दसत्र आफ्ना झिटीगुन्टा बोकेर हिँड्दै हिँड्दै प्रदर्शनीमार्ग पुगिसक्दा पनि अझै नतुरिनु मोबाइल महाधिवेशनको विशेषता हो । मोबाइल महाधिवेशन अझै केही दिन लम्बिने खतरा छ ।
वाल्मीकि क्याम्पसमा उद्घाटित सम्मेलनको बन्दसत्र शुक्रबार प्रज्ञा प्रतिष्ठानमा सुरु हुनुपर्ने थियो । सोमबार दिउँसोसम्म अनिर्णयको बन्दी रहेकोे सम्मेलनले यी पंक्ति लेख्दैगर्दासम्म दुईवटा काममात्र ग¥यो । एक, पुरानो केन्द्रीय कमिटी विघटन । दुई, अध्यक्ष मण्डलको घोषणा । दुवै कुनै उल्लेख्य काम होइनन् । यति गर्न अखिल र एमाले नेताले दुई दिन लगाए । तीन दिनका लागि भाडामा लिइएको प्रज्ञा भवनको हलमा नभ्याएपछि अहिले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सार्नुपरेको छ । यस अर्थमा अनेरास्ववियुको यो सम्मेलन मोबाइल महाधिवेशन बन्न पुगेको छ ।

राजनीति कहीँ यस्तो नहोस्

पहिरन कहीँ यस्तो नहोस्, जहाँ पोशाक नै गायब होस्।
शृङ्गार कहीँ यस्तो नहोस्, जहाँ युवती नै गायब होस्।'
पञ्चायतकालताका आफूले लेखेका अखबारी स्तम्भको संग्रह 'जीवनको बाटोमा' मा मोदनाथ प्रश्रितले एक हिन्दी कविताको सन्दर्भ उप्काउँदै थपिदिए–
'सिद्धान्त कहीँ यस्तो नहोस्, जहाँ राजनीति नै गायब होस्।
राजनीति कहीँ यस्तो नहोस्, जहाँ नैतिकता नै गायब होस्।'
वाम राजनीतिमा पछिल्लोपटक दुई/दुई कलाकारको प्रवेश र बहिर्गमनले माथिका दुई पंक्ति सम्झाउँछ। कम्युनिस्ट पार्टी प्रवेश गर्ने दुई होनहार व्यक्तित्व हुन्– कमरेड रेखा थापा र कमरेड भुवन केसी। दशकौं लामो आन्दोलनमा प्रतिबद्ध भएर अन्ततः पार्टी छाडेका दुई योद्धा हुन्– जेबी टुहुरे र माइला लामा।

साझा बसमा सलमान

'बहिष्कार गर्नु पनि चुनावमा भाग लिनु नै हो,' यसो भन्दै उनीहरू बसमा उक्लिँदै गर्दा साँझ साढे सात बजेको छ। साउने झरीमा निथ्रुक्क चार शहीदलाई दायाँ पार्दै कीर्तिपुर यातायात शहीद गेटबाट अघि बढ्दैछ।

विश्वविद्यालयमा पढ्न देशभरिबाट विद्यार्थी जम्मा हुने कीर्तिपुर जाने बसमा बेलुकीपख खुट्टा राख्ने ठाउँ पाउन हम्मे पर्छ। लहरै राखिएका भरिभराउ सिटसँगै सहचालक दुई पंक्ति यात्रुलाई यसरी उभ्याउँछन्– मानौं उनीहरू इँटा हुन्, उनीहरूलाई एउटै सेटमा राखेर उनी घर बनाउन गइरहेछन्।
अफिसबाट, शहरबाट (कीर्तिपुरेहरू काठमाडौंलाई शहर भन्छन्) फर्किरहेका थकित, भोका र क्लान्त शरीरहरूबीच बसेका, उभिएका विद्यार्थी देशदुनियाँबारे आफूले बुझेसम्मको तर्क गर्छन्। कहिले हानथाप पर्छ, कहिले माथापच्ची। झरीमा भिज्दै गुडिरहेको बसभित्रका यात्रु बन्द छाताबाट तपतप चुहाउँदै उनीहरूको गफमा मग्न छन्। कोही कानमा इयरफोनको ठेडी घुसारेर निस्पृहता देखाइरहेका छन्।
यात्रुको चाप बुझेर हुनुपर्छ, कीर्तिपुर यातायातले पछिल्लो पटक दस नयाँ बस थपेको छ। यसै हप्तादेखि १९ रुपियाँको भाडा घटाएर १५ मा झारेको छ। 'जुग नसुहाउँदो काम गरेवापत' ऊ यात्रुबीच हाइहाइको पात्र छ। गाइँगुइँ सुनिन्छ, यो सुविधा 'सीमित अवधिका लागि' हो।

खुर्सानी नहुँदैमा भोज रोकिन्छ?

संविधान सभाको दोस्रो चुनावमा भाग नलिने घोषणा गरेको नेकपा–माओवादीको भाषा बिस्तारै बदलिँदैछ। आफ्नो झण्डामा हँसियासँगै कोरिएको हतौडा आज उसका लागि शोषण र असमानताको जालोबाट लाखौं श्रमजीवीलाई मुक्त गर्न होइन, बरु तिनैको हकहितको मार्गचित्र कोर्ने संविधान सभाको चुनाव बिथोल्न प्रयोग हुँदैछ। चुनाव बिथोल्न हतौडा ताकिरहेका महासचिव रामबहादुर थापा 'बादल' को तस्बिरले यस्तै संकेत गर्छ।

बादलको यो तस्बिर देखेर एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरक्तिएको अर्को तस्बिर पनि अखबारहरूमा छापिएको छ। गुह्य वास्तविकता भने अर्कै छ। यो बेला चुनावको विरोध, सक्रिय बहिष्कार हुँदै बिथोल्ने वैद्य पक्षको चेतावनीले सबैभन्दा खुसी कोही छ भने त्यो प्रचण्ड नै हुन्।
काभ्रेको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै जनमुक्ति सेनाका पूर्वकमान्डर प्रचण्डले वैद्य माओवादीले चुनाव बिथोल्न प्रतिबुथ १० कार्यकर्ता खटाए एक हजार कार्यकर्तामार्फत् प्रतिरोध गर्न कासन दिएका छन्। उनी भन्छन्, 'चुनाव बिथोल्न आउनेलाई लखेट्नू।' कतिपय मतकेन्द्रमा कुल मतदाता नै एक हजार जना होलान्, नहोलान्। उनका कार्यकर्ता त्यसभन्दा बढी हुनुको अंकगणित बुझ्न समायोजनमा जान इच्छुक तत्कालीन माओवादीका लडाकु कति थिए भन्ने उनको दाबी र त्यसले सिर्जेको मनोवैज्ञानिक आतंक सम्झे पुग्छ। फरक यत्ति हो, उनको त्यस बेलाको दाबी लडाकु समायोजन, व्यवस्थापन र पुनर्स्थापनाका नाममा थियो। अहिले चुनावका नाममा छ।

सरदार यदुनाथ खनाल

नेपालको कूटनीतिमा चारवटा देशले विशेष महत्व राख्छन्– भारत, चीन, अमेरिका र बेलायत। यसमध्ये बेलायतबाहेक तीन देशमा राजदूत बनेर काम गरेको अनुभव थियो, सरदार यदुनाथ खनालसँग। उनी त्यस्तो बेला भारत, चीन र अमेरिकाका लागि राजदूत बने, जतिबेला एकातिर उनीहरूको परस्पर स्वार्थ टकराउँदै थियो भने अर्कातिर ती देशसँग नेपालको सम्बन्ध गिर्दो अवस्थामा थियो।
राजा महेन्द्रले ०१७ सालमा शासनसत्ता हत्याएको दुई वर्षपछि यदुनाथलाई राजदूतका रूपमा दिल्ली पठाएका थिए। त्यसबेला भारतको वास्तविक रवैया के थियो भन्नेबारे अन्तर्यमा अनेक रहस्य उद्घाटन हुँदै जाला, तर सार्वजनिक रूपमा भारतले राजाको कदमको विरोध नै गरेको थियो।
यसमा दुइटा पक्ष छन्। पहिलो, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको नेपालप्रतिको नीति सधैं दबाबमूलक रह्यो भन्ने तथ्य इतिहासका पुस्तकहरूमा भेटिन्छ। जसरी पहिले अंग्रेजले भारत र आसपासका राज्यलाई हेर्थ्यो, अंग्रेज धपाइसकेपछि भारतले त्यसरी नै हेर्न पाउनुपर्ने नेहरूको मनसाय थियो। त्यही पेलान प्रवृत्ति सच्याउन यदुनाथ 'सुरवीर' हुन सक्ने नेपालको आँकलन रहेको कूटनीतिज्ञ तथा यदुनाथका जीवनीलेखक जयराज आचार्य बताउँछन्।

थुप्रै योगमायाहरु

 सहाना प्रधान त्यस्तो समय राजनीतिक मैदानमा ओर्लिइन् जुन बेला समाज तीन मान्यताले जेलिएको थियो।
एक– महिलाले राजनीति गर्नुहुन्न।
दुई– गरिहाले पनि व्यवस्थाविरोधी राजनीति त झनै गर्नुहुन्न।
तीन– व्यवस्थाविरोधी नै भइहाले पनि कम्युनिस्ट त झन् हुनैहुन्न।
रहरै रहरमा राजनीतिमा हामफालेकी काठमाडौंकी यी महिला अन्ततः तिनै 'तीन गर्न नहुने' भइन्, निरंकुश जहानियाँ राणाशासनका बेला। सुरुमा शैक्षिक, सामाजिक मुद्दा उठाएर आन्दोलनमा निक्लेकी यी 'व्यवस्थाविरोधी कम्युनिस्ट' महिलाले विस्तारै राजनीतिक सुझबुझको दायरा बढाउँदै लगिन्। अनेक पक्राउ, जेल, यातना, हिरासत खपिन्। कसैका लागि दुनियाँ फेर्न हिँडेकी क्रान्तिकारी भइन् त कसैका लागि अराष्ट्रिय तत्व। राज्यसत्ताविरुद्ध लड्न हिँडेकी उनी कालान्तरमा त्यही राज्यको मन्त्री भइन्। आफ्नै पार्टीभित्र थुप्रै उकालीओराली खपिन्। पार्टी बदलिन्। विवादित भइन्।

'ए, खुशवन्ते मरेछ?'

चर्चित भारतीय लेखक खुशवन्त सिंहले जिन्दगीको 'सेन्चुरी' मार्न भ्याएनन्। यी तीव्र गतिका 'बलपेनर' ९९ वर्षमै 'आउट' भए। सानैदेखि हरदम जोक गरिरहनुपर्ने स्वभावका यी लेखकले २० वर्षको उमेरमा आफ्नै ओबिचुअरी लेखेका थिए।
'प्रख्यात लेखक खुशवन्त सिंहको शवमा माल्यार्पण गर्न भारतका मन्त्रीलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए,' उनले आफैंबारे यस्तो लेखेका थिए। उनी आफूलाई ठूलै मानिस ठान्थे। र, थिए पनि।
तिनै खुशवन्तमाथि १३ वर्षअघि धिरेन भगत नामक लेखकले अर्को ओबिचुअरी थपिदिए, 'यौनउत्तेजक र छाडालेखनका लागि प्रसिद्ध लेखक खुशवन्त बितेका छन्। उनी पछिल्ला वर्षमा तातो पानीको बोतलले ओछ्यान तताउँथे।'

फेरिएकै हो नेपाली समाज?

नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम भुसालले २०५९ सालमा 'नेपालको अर्थराजनीति : संकटको पुनरुत्पादन र रुपान्तरणको दिशा' पुस्तक लेखेका थिए। 'नेपाली समाज पुरातन अवस्थामा रहेको होइन, बरु समाजलाई अध्ययन गर्ने पुरातन पद्दतिले त्यस निष्कर्षमा पुर्यासएको हो,' उनले पुस्तकमा लेखेका थिए, 'नेपाली समाजसम्बन्धी पुष्पलाल–विश्लेषणको लक्ष्मणरेखालाई त्यसपछिको कम्युनिस्ट आन्दोलनका अध्येताले कहिल्यै नाघ्न सकेनन्।'

पुष्पलालपछि मोहनविक्रम सिंह, झलनाथ खनाल र बाबुराम भट्टराईले नेपाली समाजको चरित्रमाथि लेख्न खोजे पनि मौलिक विचार दिने मामिलामा ती सबै नेता चुकेको भुसालले जिकिर गरेका थिए। उनले सोही पुस्तकमार्फत् नेपाली कम्युनिस्ट पार्टीहरूले भनेझंै समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक नरहेको, बरु यो दलाल पुँजीवादी भइसकेको दाबीसमेत अघि सारेका थिए। मार्क्सवादको आलोकबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई चियाउने भुसालको यो प्रयत्नले नेपाली समाजमा भइरहेका आधारभूत परिवर्तनलाई ठम्याउने प्रयत्न गरेको थियो, जसलाई स्वयं उनकै दल एमालेले समेत ११ वर्षपछि स्वीकार्न पुग्यो।

झलनाथका १५ गीत

 लेखकलाई नेता हुन गाह्रो होला, नेतालाई लेखक हुन गाह्रो छैन। तर ‘राम्रो लेखक' हुन भने साँच्चै गाह्रो छ। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाल कुन काँटका लेखक हुन्, खुट्याउनलाई समीक्षक छँदैछन्। लेखाइबाट भने झल्किन्छ– उनी गम्भीरतापूर्वक लेख्छन्, सम्पूर्ण शक्ति लगाएर लेख्छन्।
गृहजिल्ला इलाम गएका बेला समय बचाएर संगीतकार गणेश रसिककहाँ पुग्छन्, हार्मोनियम बजाउँदै गीत गाउन अनुरोध गर्छन्। आफू पनि गाउँछन्।

इलामको आदर्श हाइस्कुल पढ्दाताक साहित्यिक समूह बनाएर गोष्ठी आयोजना गर्ने कवि जेएन हिमालीले आइएस्सी पढ्दा घरबाट खर्च नपाएको दिक्दारीमा कविता लेखे। एक वर्षे छोरा प्रसन्न २०४२ सालमा बितेको वियोगमा कविता लेखे। २०५४ मा एमाले फुटेका पीडामा कविता लेखे। पार्टी एकीकरणको घोषणापत्रभन्दा पहिले ‘अब म लमजुङ आउँछु' शीर्षकको कविता लेखे। काठमाडांैमा पुलिसको कुटाइ खाएका बेला वीररस लेखे। बागलुङ, इलाम, चन्द्रगढी जेलमा बस्दा रचे। जेएन हिमाली ‘डब्लुटी' (होलटाइमर) नेता बने, पार्टटाइमर कवि।

कुन्नि के मन लाग्यो, जेएन हिमालीले पछिल्लो नाममा इरेजर लगाए। अनि ट्याक्क मिलाए, जेएन खनाल।

जुनी फेर्दै वसन्तपुर

तेह्रथुम बसन्तपुर बजारकी छिरिङ फुटिक शेर्पाले सात मिटर जग्गा किनिन्, ६० हजारमा। उत्तिखेरै रंगीन टिभी किनिन्, त्यति नै पैसामा। यो आजको होइन, २०५३ सालको कुरा हो। गुराँसको राजधानी अर्थात्, तीनजुरे–मिल्के–जलजले पुग्ने पदयात्री बास बस्ने बसन्तपुर उस्तो महँगो भइसकेको थिएन।
सुन्दा कथाजस्तै लाग्छ, बसन्तपुर– ४ का वीरबहादुर गुरुङका भनाइमा तेह्रथुम, ताप्लेजुङ, पाँचथर, धनकुटा, भोजपुर, संखुवासभा गरी छ जिल्लाका बासिन्दा हरेक पञ्चमी तिथिमा लाग्ने बसन्तपुर हाट भर्थे। गाउँबस्तीमा गाडी पुगेपछि, पहाडका बासिन्दा बसाइँ सरेपछि यो सानो सहरले अलि अलि गर्दै चहक गुमाउन थाल्यो। नमुना सहर घोषणा र मध्यपहाडी लोकमार्गको निर्माणसँगै बसन्तपुर पुनः जुर्मुराउँदैछ।

भुल्केधाराकी छिरिङ फुटिकलाई यो सबै परिवर्तन रत्तिभर अनौठो लाग्दैन जबकि, यसबीचमा जग्गाको दामले आकाश छोएको छ। टिभीको दाम घटेको छ।

मेची र कोसी दुवै अञ्चलसँग सघन संवादमा रहने इटहरीभन्दा पहिले बसेको हो बसन्तपुर सहर। २०२४ सालमा पूर्व पश्चिम राजमार्ग निर्माण हुँदा पश्चिम तेह्रथुमको यो सिमाना सहर उत्तिखेरै सानो बजार भइसकेको थियो। धनकुटा मारेकटहरेका उदय पौडेल २०२२ सालमा इटहरी झर्दा १२ वर्षका थिए। त्यहाँ बजारको कुनै नामोनिशान थिएन। स्थानीय अगुवा डम्बर माबुहाङ, उदय पौडेललगायतको पहलमा भुल्केधाराको बाटोलाई मोडेर बसाएको यो सहर उत्तिबेलै नामी भइसकेको थियो।

कुनै बेला ‘बिल्मटे' नामले चिनिने बसन्तपुर घोडा कुदाउनेका लागि रोज्जा जग्गा थियो। बिल्मटे शब्दको अर्थ त ‘उल्टो' वा ‘विपरीत' भन्ने लाग्छ। बिल्मटेलाई आफ्नै नाम मन परेन। बस्ती बसेपछि अलि मिलाएर राम्रो नाम राख्नेमा लागे स्थानीय।

मर्स्याङ्दीझैं तीन घण्टा

सहकर्मी सन्तोष न्यौपाने र म अघिल्लो शुक्रबार कपुरधारा पुग्दा अपराह्नको साढे चार बजेको थियो। स्थानीय तरकारी पसलमा कमिज सुरुवाल र ढाकाटोपी लगाएका एक प्रौढ भेटिए। हामीले सोध्यौं, 'माधवप्रसाद घिमिरेको घर कुन हो?'
'को माधवप्रसाद घिमिरे? कवि?'
'हजुर।'
'उहाँको घर थाहा छैन। बरु राजेश हमालको घरचाहिँ थाहा छ।'
'राजेश हमालको कुन हो?'
'ल, यस्तो पनि प्रश्न सोध्ने? बच्चालाई पनि थाहा भएको कुरो!'
हामी हाँस्दै अघि बढ्यौं। तरकारी बेच्दै गरेकी एक दिदीले घर देखाइदिइन्। केही उकालो पार गरेपछि रुख र फूलले सजिएको कविघर पुग्यौं। सेतो कमिज सुरुवालमा ठाँटिएका कवि घिमिरेको श्यामश्वेत तस्बिर बैठककोठामा मुस्कुरायो। कवि माथिल्लो तलाबाट फुत्रुक–फुत्रुक ओर्लिए।

दशक ६० को सौन्दर्य

मदन पुरस्कार विजेता राजन मुकारुङलाई जुनसुकै साहित्य–सभा सम्मेलनमा गए पनि एकैनासका विषय सोधिँदोरहेछ– आञ्चलिक लेखन, सीमान्तकृत लेखन र साँस्कृतिक पहिचान।

नागरिकले पनि उनीसँग यस्तै यस्तै प्रश्न के राखेको थियो, उनी त सोझै पड्किइहाले। ‘तपाईंहरू हामीलाई किन सधैं यस्ता प्रश्नमात्रै सोध्नुहुन्छ?,' उनले आक्रोश व्यक्त गरे, ‘के हामी मूलधारे साहित्यकारजस्तो देखिँदैनौं? के हामी अरु प्रश्नका लागि योग्य छैनौं?'
पछि थुम्थुम्याए, ‘हामी पनि यो देशको मूलधार हौं। पहिले अरुले स्वीकार्न मानेनन् होला, तर अब मूलधार भइसक्यौं।'
मुकारुङ एक प्रतिनिधि पात्र हुन्। नेपाली साहित्यमा साठीको दशकभरि यस्ता विचार राख्नेहरूको जगजगी स्थापित भयो। उनीहरूले साँस्कृतिक लेखनको मौलो गाडे। चिन्तन र सम्बन्धको सीमित घेराभन्दा बाहिर नजाने भनी आलोचित हुँदै आएको मदन पुरस्कार–२०६९ समेत यिनै मुकारुङले पाए। व्याकुल माइला नयाँ राष्ट्रगानका रचयिता छानिए। यी दुई उदाहरण वैकल्पिक ध्रुववाला लेखनको सामाजिक स्वीकृतिका परिचायक मात्रै थिएनन्, उत्कर्ष पनि थिए। समालोचक अभि सुवेदीका अनुसार भारत र अरु देशमा समेत आइनसकेको यस्तो अभूतपूर्व साँस्कृतिक जागरण अन्ततः ‘मूलधारे' लाई पनि स्वीकार्न करै लाग्यो।
अस्तिसम्म अदृश्य मानवझैं लाग्ने यस्ता लेखकहरू आज साहित्य र विचारको सत्तासँग आँखा त जुधाउँछन् नै, ‘केही सिकाइदिने' हिसाबकिताबले पनि कुरा गर्छन्।

खानपिन कूटनीति

केदारभक्त माथेमालाई चिनाउनुपर्दा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भन्ने गर्थे, ‘सुब्बा आदिभक्तका नाति'। र, सुब्बा आदिभक्तको नाम लिनेबित्तिकै भट्टराई भन्थे, ‘उहाँ मलाई ‘जोनी वाकर' चिनाउने मानिस।' त्यही भएर होला, मद्यपानलाई ‘जातैले पाएको' भन्न हिच्किचाउँदैनन् प्राध्यापक माथेमा, जो शिक्षाविद् र कूटनीतिज्ञका रूपमा परिचित छन्।
सम्पन्न आर्थिक पृष्ठभूमिका बाजे आदिभक्तले बनारसमा २० रुपैयाँमा रक्सी खुवाएका भट्टराईका लागि नाति केदारभक्तको कूटनीतिक चिनारी दोस्रो प्राथमिकता बन्न पुग्ने नै भयो। आखिर नाति अझै कडा निक्ले। जापानका लागि यी पूर्वराजदूत त खसोखास ‘डाइनिङ डिप्लोम्याट' दरिन पुगे।
आधुनिक कूटनीतिका दुई आत्मा मानिन्छन्– वाइनिङ र डाइनिङ। पश्चिमी कूटनीतिको वर्चस्व विश्वभरि रहेको परिवेशमा यी दुईको महत्व अझ बढेको छ। धेरैभन्दा धेरै राष्ट्र र संस्थाका उच्च पदस्थलाई खुवाउने, पियाउने, खानपिनमार्फत आफ्ना आकांक्षा स्थापित गर्ने– माथेमा यसलाई आधुनिक कूटनीतिको कला मान्छन्। ‘राम्ररी वाइनिङ र डाइनिङ गराउन सक्नु कला हो, घरमा बोलाएर डिनर खुवाउने कूटनीतिज्ञले नै राम्ररी काम लगाउन सक्छ,' उनी भन्छन्, ‘यो कलामा जो निपुण छैन, उसको कूटनीति कमजोर मानिन्छ।'
धेरै नेता र कूटनीतिक वृत्तका मानिसका आँखामा माथेमा यी दुवै कलामा निपुण छन्। उनले खानपिनका क्रममा ठट्यौली गर्दै भन्ने गरेका रहेछन्, ‘नेपालमा दुई किसिमका मानिस छन्, एकथरीलाई रक्सी भन्ने छुनै हुन्न। अर्काथरीलाई नभई हुँदै हुन्न।'

आन्विकाको आधा चेहरा

सुनसरीको शिशु विकासिनी प्रावि मधेसाकी छात्रा आन्विका गिरी कक्षा पाँचमा पढ्थिन् । स्कुलले कविता प्रतियोगिता आयोजना ग¥यो । 'कलम' शीर्षकको कविता लेखेर उनी प्रथम भइन् । नजिकैको बलाहा गाउँस्थित शारदा माविले अन्तरविद्यालय कविता प्रतियोगिता गर्ने भयो । एक शिक्षकले सोधे, 'तिमीलाई त्यहाँ पनि जित्नु छ, होइन ?'
'हो ।'

'जित्ने हो भने अरूभन्दा फरक भएर देखाउनुपर्छ । तिमी हाउभाउसहित कविता वाचन गर । अरूले जस्तो खरर्र नपढ ।'

बालिकाले आफूले बुझेसम्म बालअधिकारका मुद्दा मिसाउँदै कविता लेखिन् । छोरा र छोरीबीच भेदभाव हटाउनुपर्ने मर्म बोकेको रचनासहित गएकी आन्विकाले गुरुमन्त्र सम्झिन्– 'कविता भनेको हाउभाउसहित भन्नुपर्छ ।'

उनले त्यसै गरिन् । 'छोरा' भन्दा दाहिने हात चलाउने । 'छोरी' भन्दा देब्रे हात चलाउने । 'खबरदार' भन्दा चोर औंलो उज्याउने ।

नतिजा...

मार्खेज :जीवनपछिको जीवन

मञ्जुश्री थापाले कवि श्यामललाई पढ्न भनेर डेढ दशकअघि ग्याब्रियल गार्सिया मार्खेजको उपन्यास ‘नो वान राइट्स टु द कोलोनेल' दिएकी थिइन्। स्पेनिस भाषाबाट अंग्रेजीमा अनूदित लघुकायाको त्यो आख्यानले नेपाली कविहृदयलाई यसरी पगाल्यो, श्यामलले साढे दुई घन्टाभित्र पढिमात्रै सकेनन्, नेपालीमा उल्था नै गरिभ्याए।
चार वर्षअघि त्यो छापियो ‘अभागी कर्नेल' नाममा।
श्यामलले त्यसको नेपाली अनुवाद गर्दै लेखेका छन्, ‘नेपाल र ल्याटिन अमेरिकी संस्कृति भिन्न भए पनि संघर्षका कथाहरुमा समानता पाइन्छ। निरन्तर विद्रोह र चरम गरिबीले यी दुई देशलाई जोडेका छन्। उनको जादुयी भाषा यति शक्तिशाली छ कि स्पेनिस भाषा आउँथ्यो भने त्यसैबाट अनुवाद गर्थें हुँला।'
साहित्यका लागि सन् १९८२ को नोबल पुरस्कार विजेता मार्खेज पृथ्वीका जीवित लेखकमध्ये सबैभन्दा शक्तिशाली मानिन्थे। नेपाली समयअनुसार शुक्रबार बिहान उनको निधन भयो। दर्जनौं उम्मेदवारलाई फराकिलो अन्तरले पछाडि छाड्दै दौडेका यी कोलम्बियाली लेखक सय वर्षको एकान्त बास (वन हन्ड्रेड इयर्स अफ सोलिच्युड) उपन्यासका लागि विश्वचर्चित थिए। सयकडा हान्नु १३ वर्षअघि नै सबैलाई छक्याउँदै उनी दीर्घ एकान्त बासतिर प्रस्थान गरेका छन्। डिमेन्सियाग्रस्त मार्खेजलाई दुई सातायता निमोनिया थियो।
सत्रौं शताब्दीका सर्वान्तेसपछि स्पेनिस भाषामा सबैभन्दा लोकप्रिय मानिने मार्खेजले आख्यानमा रहेको अमेरिकी बर्चस्व तोड्दै कथावाचनको शैली विश्वभरि फैलाए। उनले तल्लो वर्गमा मानिसका लवज टिपे, लोककथा टिपे, नयाँ शैलीमा पुनरुत्पादन गरे। मूलधारभन्दा पृथक उनको लेखन लोकजीवनमा आँधीसरि फैलियो र संसारभर रुचिपूर्वक पढियो।

को हो त्यो अज्ञात समूह?

प्रचण्डद्वारा एकताका आफ्ना राजनीतिक गुरु भनेर उच्चारित नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य 'किरण' समयक्रममा हाँसोका पात्र बन्दैछन्। यी 'नौलो जनवादी क्रान्तिका भाष्यकार' प्रति बचे/खुचेको जनसहानुभूति पूरै निखि्रसकेको छ। हिजोआज मानिस उनी र उनको दलप्रति जताततै क्रुर टिप्पणी गरिरहेका भेटिन्छन्– '...लाई चलाए गन्ध, वैद्यलाई चलाए बन्द।'
मंगलबार अपराह्नसम्म हेर्दा वैद्यको बन्द भूपी शेरचनको 'शुभ्र शान्त मैनबत्तीको शिखा' जस्तै छ। सडकमा गाडी गुडिरहेका छन्। ट्राफिक चाप कम छ। (ड्युटीधारी ट्राफिकहरू चुनावमा खटिएको मर्म काठमाडौंका गाडीवालाले बुझिदिएका पो हुन् कि!) सवारी साधनबाट उत्पन्न हुने कोकोहोलो र धुँवा घटेको छ। बन्द होस् त यस्तो! गाडी पनि चलेकै छन्, पसल पनि खुलेकै छन्। बन्द पनि जारी छ।

Sanjeev Uprety

त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका छात्र सञ्जीव उप्रेती जुनबेला एमएमा गोल्डमेडलका दाबेदार थिए, त्यसबेला उनका बुबा शंकरप्रसाद उप्रेती झापाको चन्द्रगढी जेलमा थिए।

सुदूरपूर्वी नेपालका गरिब, निम्न वर्गका जनतालाई निःशुल्क स्वास्थ्य जाँच र औषधोपचार गरेर नामी शंकर जेल पर्नुका पछाडि एउटै 'अपराध' थियो– पञ्चायत व्यवस्थाको विरोध। यो २०४६ सालको कुरा हो।

सर्वोत्कृष्ट विद्यार्थीलाई राजारानीका नाममा वीरेन्द्र ऐश्वर्यपदक दिने चलन थियो। तर एउटा सर्त, उक्त पदक पाऊँ भनी दरखास्त हाल्नुपर्थ्यो। सञ्जीवलाई लाग्यो– जुन व्यवस्थाले बुवालाई बन्दी बनाइरहेछ, त्यसकहाँ निवेदन हाल्दै किन जाने?

उनले गोल्ड मेडलका लागि दरखास्त नै हालेनन्।

अरू कसैले फुत्कायो कि, चासै दिएनन्।

'म पूरै इमानका साथ भन्छु, मलाई यस्ता मेडल, पुरस्कार, सम्मान आदिबारे आजसम्म कुनै मतलब छैन,' आइतबार दिउँसो नागरिकसँग सञ्जीव पूरापूर खुले, यो मेरो रुचि बाहिरको कुरा हो। त्यस बेला मेडल नलिएर मलाई कुनै नोक्सानी भयोजस्तो लाग्दैन।'

चार कृति– 'आलु, नौनी र कफी', अंग्रेजी अनुवाद 'पोटाटो बटर एन्ड कफी', 'घनचक्कर' र 'सिद्धान्तका कुरा'का यी लेखक आजसम्म कुनै पुरस्कार गुठीमा पुस्तक बुझाउन नगएको जिकिर गर्छन्।

चुपचाप अन्तर्मनको यात्रातिर

चुनावी दौडाहामा व्यस्त नेताहरू नरहरि आचार्य, ईश्वर पोखरेल र गगन थापा शुभेच्छुकले लगाइदिएका माला र अबिर पुछेर आर्यघाट दगुरे।पछिल्ला दिनमा जतिसुकै ठूला घटना भए पनि तिनले मिडियामा छाइरहेका चुनावी खबरलाई प्रभाव पार्न सकेका थिएनन् । देशका एक लेखकले सबैको ध्यान आफूतिर खिचे। - See more at: http://nagariknews.com/feature-article/story/9400#sthash.0mf3qqQz.VX8R0vp1.dpuf

चुनावी दौडाहामा व्यस्त नेताहरू नरहरि आचार्य, ईश्वर पोखरेल र गगन थापा शुभेच्छुकले लगाइदिएका माला र अबिर पुछेर आर्यघाट दगुरे।
पछिल्ला दिनमा जतिसुकै ठूला घटना भए पनि तिनले मिडियामा छाइरहेका चुनावी खबरलाई प्रभाव पार्न सकेका थिएनन् । देशका एक लेखकले सबैको ध्यान आफूतिर खिचे।
छ वर्षअघि 'अन्तर्मनको यात्रा' नामक आत्मालापको पुस्तक लेखेर चर्चित भएका लेखक जगदीश घिमिरेले आफ्नो नश्वर चोला बिसाएका दिन पशुपति आर्यघाटमा सानोतिनो शक्ति प्रदर्शनजस्तै भयो ।

मृत्युको सम्मुख लोलाइरहेका ६८ वर्षे यी लेखकलाई वास्तवमा २०६२ सालको आखिरी महिनातिरै आफ्नो समयसीमा थाहा भइसकेको थियो । क्यालेन्डरमा मृत्युका दिन गन्दै जीवनका खुट्किला चढ्नु कति पीडादायी होला ! जगदीशमा भने पटक्कै मृत्युबोध झल्कँदैनथ्यो ।

बुधबार राति । पत्नी दुर्गा, छोरा हिमाल र छोरी जूनसँग लूलो ज्यान अघिल्तिर राखेर जगदीशले दही खाने इच्छा व्यक्त गरे । हिमालले खुवाइदिए । छोरी जूनले माड खुवाइदिन खोजिन् । 'मल्टिपल माइलोमा' क्यान्सरग्रस्त पिताले कतै सन्निकट मृत्युको पाश्र्वछाया देखिसकेका त थिएनन् ? भने, 'भैगो, मेरो मुखलाई जुठो नबनाइदेओ ।'

बागी नेताको भाग्यचक्र

सातदोबाटो–खुमलटार मार्ग। विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) अघिल्तिरको सानो पक्की बाटो केही पर गएर बायाँ मोडिन्छ। भव्य निवासको माथिल्लोपट्टि सुनसान बैठक कोठामा कांग्रेस नेता चक्रप्रसाद बाँस्तोला दीर्घ निःश्वास लिइरहेका छन्। उनको यो एकान्तबास एक वर्षयता निरन्तर छ।


बिपी कोइरालाको वैचारिक भट्टीमा खारिएका यी ७० वर्षे बौद्धिक नेतालाई पोहोर पुसको दोस्रो साता मस्तिष्कघात भएको थियो। त्यसयता सहाराविना जिउ चल्दैन। यो एकान्तबास त्यसपछि मात्रै सुरु भएको भने होइन। एघारौं महाधिवेशनपछि यिनी कांग्रेस राजनीतिको पर्दाभन्दा पर कतै चुपचाप छन्। भर्खरै सम्पन्न नयाँ संविधानसभा चुनावमा उनको दल पहिलो बन्दै सत्तारोहणको तयारीमा छ। समकालीन नेताहरूले बालुवाटारतिर आँखा बिछ्याइरहेका बेला यी खतरनाक 'किङमेकर' यसबेला गुमनाम छन्।

मस्तिष्कघातबाट थलिएयताका एक वर्ष चक्र जीवनमा दोस्रोपल्ट फेरि बालक बनेका छन्। पत्नी कुसुम उनको रेखदेख, स्याहारसुसारमा अहोरात्र खट्छिन्। चक्रले सम्पूर्ण रेखदेख उनीबाटै पाउँछन्। जस्तो, एउटा नवजात शिशुले आमाबाट पाउँछ।

सक्रिय जीवनकालका यी आक्रामक बाघ अहिले चुइँक्क बोल्न सक्दैनन्। बिछ्यौनामा लेटिइरहन्छन्। हेर्न आउने शुभचिन्तकलाई कताकति चिनेझैं गर्छन्। आँखा र शरीरका माध्यमबाट अलिअलि अन्तर्क्रिया गर्छन्। खुसी, पीडा, दुखाइ, वेदना, उत्साह बुझ्न एकमात्रै शक्तिशाली भाषा बनेको छ, इशारा। खुसी हुँदा आँखीभौं तन्किन्छन्। दुःखी हुँदा आँखाको कोश रसाउँछ। चेपचेपबाट आँशु तर्किन्छ। यदाकदा आंैला उठाउन खोज्छन्। त्यत्ति हो।

'कमरेड पास देखाउनुस् ?'

एमाले नवौं महाधिवेशनस्थलको गेटमा पास जाँच्न उभिएकी 'बारकोड-रिडर' मदन भण्डारीकी छोरी हुन् भन्ने थाहा पाउँदा प्रतिनिधिहरू आश्चर्यमा पर्न सक्छन् । उनी एमालेकी निवर्तमान उपाध्यक्ष विद्या भण्डारी र मदनकी जेठी छोरी उषाकिरण हुन् ।
एमालेको मजदुर संगठन जिफन्टको निर्देशनमा खटिएकी यी स्वयंसेवक बिहानदेखि रातिसम्मै प्रतिनिधि र पर्यवेक्षक 'कमरेड' का छातीमा 'बारकोड रिडिङ मेसिन' छुवाउँछिन् । गेटमाथिको स्क्रिनमा जसको अनुहार मिल्यो, त्यो भित्र छिर्न पायो । जसको अनुहार देखिएन, उनी मुस्कानसहित फर्काउँछिन् ।
बहुदलीय प्रजातन्त्रकालका लोकपि्रय तथा जबजका निर्माता भण्डारीकी छोरीलाई 'लो-प्रोफाइल' मा बसेर पार्टीको काम गर्नुपर्दा पटक्कै अप्ठ्यारो लागेको छैन । 'पार्टीले अह्राएको काम इमानदारीसाथ खटेर गर्ने हो,' सुरुमा कुरा गर्न नमाने पनि एकछिनपछि उनले खुलेर भनिन्, 'बुवा र आमाको हैसियतका आधारमा मैले काम गर्ने होइन । आफैं सक्रिय हुने हो ।'
एमालेको भ्रातृ संगठन युवासंघ नेपालको विदेश विभाग सदस्य रहेकी उषाकिरण जिफन्टमा आबद्ध भएर श्रमिकहरूको विषयमा अनुसन्धान गरिरहेको बताउँछिन् । जवाहरलाल नेहरू विश्वविद्यालयमा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उषाकिरणको धारणा छ, 'अब एक पटक फिल्डमा जमेर काम गर्ने हो । त्यहाँबाट पाएको अनुभवका आधारमा फेरि अध्ययन अघि बढाउने योजना छ ।'

दर्शनको दोबाटोमा एमाले

२०४९ सालमा आयोजित नेकपा एमालेको पाँचौं महाधिवेशनमा नेता रघु पन्तले साम्यवादको लक्ष्य छाडी समाजवादी बाटो समाउनुपर्ने प्रस्ताव पेस गरेका थिए तर त्यसको व्यापक आलोचना भयो । अन्ततः उनी आफैंले प्रस्ताव फिर्ता लिए ।
    तित्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी एमाले मुख्यालय बल्खु जाँदा माक्र्स र लेनिनको तस्बिर झिकेको भनी एउटा कोणबाट एमालेको खुब आलोचना गरियो ।
-    पार्टीको नाम, झन्डा बदल्नुपर्ने विषय पनि एमालेमा बेलाबखत उठिरहन्छ । वामपन्थी जनमत विकषिर्त हुने देखेर एमालेले त्यस्तो निर्णय भने लिन नसकिरहेको चर्चा चल्छ ।
-    एमालेको वैचारिक, दार्शनिक छटपटी यस्तै ठूला-साना घटनाहरूबाट प्रकट हुने गर्छ । जस्तो कि, आठौं महाधिवेशनबाट पारित विधानको प्रस्तावनामा पार्टीको लक्ष्य 'साम्यवाद' छापिनुपर्नेमा समाजवाद छापिन पुग्यो । केन्द्रीय कमिटीमा हंगामा मच्चिएपछि पुनः मुद्रण ग साम्यवाद नै छापियो ।
-    जारी नवौं महाधिवेशनको उद्घाटनमा जताततै मदन भण्डारी, मनमोहन अधिकारी, पुष्पलालका तस्बिर टाँगिँदा माक्र्स र लेनिन छुटाइएको भनी व्यापक टिप्पणी भयो । स्पष्टीकरण दिइयो, प्राविधिक कारण र हतारोले छुट्न गएको हो । पर्सिपल्टदेखि माक्र्स, एंगेल्स र लेनिन बन्दसत्रका भित्तामा फेरि मुस्काए ।
-    कम्युनिस्ट दर्शन छाडी सामाजिक लोकतन्त्रवादी पार्टी बन्नुपर्ने आवाज यसपटक पनि एमालेमा उठ्यो, उसै गरी विरोध भयो । भीम रावललगायत केही नेताहरूको यो प्रस्तावले प्रतिनिधि र नेता स्वयंबीच द्विविधा उत्पन्न भएपछि अध्यक्ष झलनाथ खनालले एमालेको साम्यवादी लक्ष्य बाँकी नै रहेको, तात्कालिक गन्तव्य भने समाजवाद रहेको प्रस्टीकरण दिनुपर्‍यो ।

आँखाभरि बिझाइरहेछन् शरणार्थी

कुनै समयका 'भुटानी मन्डेला' टेकनाथ रिजाल काठमाडौं वा झापाका सडकमा एक्लै हिँडिरहेको भेटिए भने आश्चर्य मान्नु पर्दैन । २५ वर्षअघि एक लाख भुटानी शरणार्थीका 'निर्विकल्प विकल्प' यी अधिकारकर्मी नेता केही समययता गुमनाम छन् । यी यस्ता नेता हुन्, जससँग आज कुनै आन्दोलन छैन । ६७ वर्षीय यी नेताको नाम लिनेबित्तिकै झापा र मोरङका सात शिविरमा बाँकी शरणार्थी भने दुई धारमा विभाजित हुन्छन् ।
एकथरी भन्छन्, 'रिजालले गर्दा नै भुटानी शरणार्थी आन्दोलनले अन्तर्राष्ट्रिय आयाम पाएको हो, उनको जोडा अर्को छैन ।' अर्काथरी भन्छन्, 'शरणार्थी नेता भएर पनि रिजाल कहिल्यै शिविरमा बसेनन् । आत्मकेन्दि्रत भए, कूटनीतिक पहल लिन सकेनन् ।' रिजाल आफैं भने यसो भन्छन्, 'मलाई नेता हुन्छु भन्ने कहिल्यै लागेन । भुटानी राजाविरुद्ध एकदिन उभिनुपर्ला भन्ने झन् थिएन । दैवको खेल हो यो, परिस्थितिले आफैं बाटो देखायो ।'
सिकिस्त छन् रिजाल । हात थर्थराउँछन् । मधुमेह भएको छ । प्रोस्टेटका रोगी हुन् । पिसाबमा समस्या छ । आँखा धमिलो देख्छन् । चस्माको पावर पुग्न छाडेको छ । दिन-दिनको जाँच, छिन-छिनको औषधि । यही हो, टेकनाथ रिजालको यतिखेरको दैनिकी । एउटा भयानक दुस्वप्नजस्तो केही हुन्छ, अनि थामिन्छ । अस्थिर मन र धमिला आँखाभरि शरणार्थीका निरीह अनुहार बिझाउन आउँछन् । मन भरिएर आउँछ । १० वर्ष जेलनेल र यातना खपेका यी ६७ वर्षीय योद्धा भन्छन्, 'अब ती दिन सम्झँदा पनि डिप्रेसनमा जान्छु कि जस्तो हुन्छ । मनस्थिति पहिलेजस्तो ठीक छैन ।'
हरेक वर्ष जुन २० विश्व शरणार्थी दिवस भएर आउँछ । तर रिजालको क्यालेन्डरमा कुनै धर्को छैन । शरणार्थी दिवसको अघिल्लो बिहान अर्थात् बिहीबार रिजाललाई भेट्न कान्तिपुर प्रतिनिधि पुग्दा उनी ललितपुर, हरिसिद्धिस्थित माउन्ट भ्यु रेसिडेन्सको फेस-२, ५९ नम्बर ब्लकमा एक्लै धुम्धुम्ती बसिरहेका थिए । लामो समयदेखि एकान्तवासमा रहेका यी नेतासँग ५७ वर्षीया जीवनसंगिनी कौशिला छिन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले उनका तीन छोरालाई तेस्रो मुलुक पुनर्वासको क्रममा क्यानडा लगेको छ । शारीरिक रूपमा कुँजिँदै गरेका रिजाललाई हरक्षण साथ दिइरहने कौशिलाको सेलफोनमा घरिघरि रिङटोन बज्छ-
तेरा साथ है तो, मुझे क्या कमी है,
अँधेरोँ से भी मिलरही रोशनी है..

'सुखानीको रगत भुल्यौ कि ?'

 एमाले महाधिवेशन : झापा विद्रोहको सम्झना

सुखानीमा मारिएका झापा विद्रोही रामनाथ दाहालकी जेठी पत्नी जानुका भन्छिन्, 'मेरो घरमा जब नयाँ-नयाँ मान्छे आउन थाल्छन्, तब मलाई थाहा हुन्छ, फेरि फागुन २१ गते आएछ ।'
झापा-इलाम सीमास्थित सुखानी जंगलमा तीन सहकर्मीसँगै २०२९ फागुन २१ गते मारिएका थिए उनका पति । चन्द्रगढीबाट इलाम जेल सार्ने भन्दै लगिएका रामनाथ, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नेत्रलाल अभागीलाईर् पञ्चायती प्रशासनले बाटैमा हत्या गरेको थियो । मार्न त झापालीहरूले पनि 'सामन्त र सुराकी' का नाममा ९ जना मारेकै हुन् । तर आज झापा विद्रोहका नाइकेदेखि कार्यकर्तासम्म स्वीकार्छन्, त्यो माक्र्सवादको नाममा नजानीकन गरिएको व्यक्ति हत्याको राजनीति थियो । यसो भन्नेमा एमाले नेता केपी ओली, माले महासचिव सीपी मैनाली, नेताहरू मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, नरेश खरेललगायत एकमत देखिन्छन् । सीपी भन्छन्, 'त्यो उचित विद्रोह थियो, तर शैली उग्रवादी भयो ।'
झापा विद्रोहकै परिणामस्वरूप ०३२ सालमा कोअर्डिनेसन केन्द्र, ०३५ मा नेकपा माले हुँदै आजको दोस्रो ठूलो दल एमाले निर्माण हुन सकेको हो । त्यही एमाले अहिले नवौं महाधिवेशन गरिरहँदा उम्मेदवार र प्रतिनिधिका रूपमा झापा विद्रोहका हस्तीहरूसमेत सामेल छन् । तर ती असंख्य गुमनामहरू, जो राजनीतिमा स्थापित हुन सकेनन्, आज कहाँ छन् त ?

सीपीको एकान्तबास

चार दशकअघि आफैंले बीज रोपेको झापा आन्दोलन, त्यसबाट हुर्केको नेकपा मालेले एमालेका रूपमा 'हाइटेक' नवौं महाधिवेशन गर्दैगर्दा संस्थापक महासचिव सीपी मैनाली माले संसदीय दलको कार्यालयमा बिहीबार बिहान चुपचाप एक्लै बसिरहेका थिए । सिंहदरबारस्थित संसद् सचिवालयको भवन नं. २, चौथो तलामा सीपीको कार्यालय भन्नु यत्ति छ- रित्तो दराज, टेबुल, एक लाइन टेलिफोन, रित्ता कुर्सीहरू, चकमन्न कोठा । करिब दुई घन्टा उनीसँग कुराकानी गर्दासमेत बीचमा कुनै पनि आगन्तुक आएर 'डिस्टर्ब' गरेन ।
पञ्चायतको उत्कर्षका दिनहरूमा दन्त्यकथाका रहस्यमयी नायकझैं थिए सीपी मैनाली । ५२ टुक्रामा विभाजित कम्युनिस्ट समूहहरू एकीकृत गरी बागडोर सम्हाल्ने उनको योजना कालान्तरमा नेकपा एमालेका नाममा विस्तारित भयो । इतिहासको संयोग, कालान्तरमा उनी आफैं भने सानो कोटरीका घरमूली हुन पुगे । अर्थात्, सीपीको एमाले फैलिँदै गयो, उनी खुम्चिँदै गए ।
यस्तो किन भयो ?
माले-एमालेबेत्ताहरू भन्छन्- सीपीमा संकीर्णता थियो । उनी आत्मकेन्दि्रत थिए ।
सीपी प्रतिवाद गर्छन्- मेरा शैलीगत कमजोरी थिए, तर ती मुख्य कुरा थिएनन् । मुख्य त राजनीति नै थियो, जहाँ ममाथि अन्याय गरियो ।
माले-एमालेबेत्ताहरू भन्छन्- सीपीले 'क्लासिकल माक्र्सवाद' को गहिरो अध्ययन  त गरेका थिए, विचारमा भने अद्यावधिक थिएनन् । व्यवहारमा चरम यान्त्रिकता र परम्परावाद हावी थियो ।
सीपी स्वीकार्छन्- मैले आफ्नै साथीहरूलाई कुरा बुझाउन सकिनँ । अधैर्य भएर भावनात्मक निर्णय लिने हुँदा झन्-झन् 'आइसोलेसन' मा पर्दै गएँ ।